कृषिमन्त्री खनाललाई डेँगु, ग्रान्डी अस्पतालमा भर्ना
काठमाडौंः डेँगु संक्रमणका कारण कृषिमन्त्री चक्रपाणि खनाल ‘वलदेव’ अस्पताल भर्ना भएका छन् ।
उनका प्रेस सल्लाहकार बोमलाल गिरिलेका अनुसार बुधबार ज्वरो आएपछि मन्त्री खनाललाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।
उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएका खनालको शुक्रराज ट्रपिकल तथा सरूवा रोग केन्द्र टेकुमा रगत जाँच गराउँदा डेँगुको लक्षण देखिएको गिरिको भनाइ छ । अहिले खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
कैलालीमा ४ थान पेस्तोल र सुनसहित तीन जना पक्राउ
कैलाली । प्रहरीको सिआईबी टोलीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ४ थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट सुनका गहनासमेत बरामद गरिएका छन् । बरामद गरिएको सुनको परिणाम भने खुल्न सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी वडा नम्बर ६ जाईका सञ्जय राणाका नामले चिनिने सञ्जय रानासहित तीन जना भएको स्रोतले बताएको छ । प्रहरी स्रोतले राणा पक्राउ गरेको बताएको छ । उनीसँग राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरीले बताएको छ । मटियारी घर भए पनि उनको समूहले चटकपुरमा अर्काको घरमा भाडा लिएर अबैध गतिबिधि सञ्चालन गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको स्रोतले बतायो । लामो समयको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी अधिकारीस्।ग उठबस र राम्रो सम्बन्ध भएकै कारण उनी जोगिदै आएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले पेस्तोल सहित तीन जना पक्राउ गरेको स्वीकार गरे । घट्नाको बिस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत बिहीवार बाहिर ल्याउने एसपी गिरीले बताए । सिआईवीको टोलीले ढोका फोरेर पेस्तोल, सुन बरामद गरेको स्रोतले बतायो ।
मेलम्चीको बाँकी काममा अवरोध गर्नेमाथि कडा रूपमा प्रस्तुत हुँदै सरकार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काममा अवरोध गर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने भएको छ । गत २९ मंसिरमा आयोजनाको काम छोडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका ८८ पेटी ठेकेदार भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकारले चासो देखाएको हो । मेलम्चीस्थित आयोजनाको कार्यालय अघि पेटी ठेकेदारले बुधबार प्रदर्शन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाको काममा अवरोध गरे कारबाही गर्न गृह मन्त्रालय र खानोपानी मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले बुधबार गृह र खानेपानी मन्त्रालयका प्रतिनिधिलाई बोलाएर आयोजनामा कुनै पनि किसिमका अवरोध सिर्जना नहुने वातावरण बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले कसैले अवरोध गर्न खोजे पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । ‘राष्ट्रिय गौरवको आयोजनामा हुने अवरोधलाई सामान्य रूपमा हेर्न सकिँदैन । अवरोध भए कानुनअनुसारको कदम चाल्न सरकार बाध्य हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । पेटी ठेकेदारले काम ठप्प पार्ने गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सरकारले यस्तो रणनीति तयार पारेको हो । बुधबार मेलम्चीमा भएको विरोध सभामा प्रदेश ३ का सांसद इन्द्रमान गुरुङ र आइतमान तामाङले सिएमसीले भुक्तानी गर्न बाँकी पेटी ठेकेदारको पैसा भुक्तानी नदिए काम गर्न नदिइने बताएका थिए । आयोजनाको हेडबक्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाइसकेको छ । तर, पेटी ठेकेदारहरूले सिनो हाइड्रोको कार्यालय हात्तिसारमै पुगेर भुक्तानी नपाए काम गर्न नदिने चेतावनी दिएका थिए । पेटी ठेकेदारको चेतावनीपछि सिनो हाइड्रोले सुरक्षा चुनौती देखिएको भन्दै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
दक्षिण कोरिया भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता
दक्षिण कोरिया। दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रिय सभा अध्यक्ष मुन हि-साङ (Moon Hee-Sang) बीच भेटवार्ता भएको छ । कोरियाका राष्ट्रिय सभा अध्यक्षको कार्यालयमा बुधबार भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए । दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउँदै उनले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरे । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौं नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्ने अपेक्षा गरे । उनले नेपाल र कोरियाको संसदबीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताए । त्यसैगरी कोरियाका राष्ट्रियसभा अध्यक्ष मुनले नेपाल उर्जावान देश भएको बताए । कोरियाका राष्ट्रपति मुन जायी इन (Moon Jae-In) ले सन् २०१५ को भूकम्प पश्चात गरी तीन पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले नेपाल धेरै मन पराउने जानकारी गराए । उनले कोरियाले लोकतन्त्र स्थापनको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भने, विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मिहिनेति जनताबाट समृद्धी तथा प्रगति हुन सक्छ । अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राखे। तिमिल्सिना र उपविदेशमन्त्री बीच भेट यसैबीच बुधबार नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हि साङ (Hee-Sang) बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गरे । उनले ईपीएस प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको बताए । सो क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्रथामिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राखे । उनले नेपालको विकासमा कोरियाको संधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ, उनले भने, यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ । उनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिनामार्फत नेपाल सरकारलाई आग्रह गरे ।
संस्थाको जग्गा बेच्नेहरू नेकपा पार्टीबाट निलम्बित
विराटनगर । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन समिति सदस्य हर्कमान तामाङ र जिल्ला कमिटी मोरङका पूर्वसदस्य शिव बराल दुई महिनालाई निलम्बनमा परेका हुन् । बराल तत्कालीन बेलबारी गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए । संगठित सदस्य रहेका उनीहरूलाई बुधबार निलम्बन गरिएको पार्टीले जनाएको छ । तामाङ र बरालले बेलबारी–२ मा दुई दशकअघि चार अमेरिकी नागरिकले अनाथ बालबालिकाको संरक्षण र पालनपोषणका लागि स्थापना गरेको सहारा बालग्रामको १ विघा ८ कठ्ठा ३ धुर जमिन व्यवसायी डम्बरबहादुर तामाङका नाममा २०७५ मंसिर ११ गते नामसारी गरेर करिब ७० लाख रुपैयाँ लिएको सार्वजनिक भएको थियो । तामाङ बालग्रामका संस्थापक अध्यक्ष र बराल हालका अध्यक्ष हुन् । प्रकरणपछि नेकपा बेलबारी नगर कमिटीले सचिव रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तामाङ र बरालले सार्वजनिक संस्थाको जमिन नियतवश बिक्री गरेको ठहर गरी कारबाही माग गर्दै प्रतिवेदन बुझाएको थियो । दुवै बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार पनि हुन् । नगर कमिटी अध्यक्ष परशुराम सुवेदी र सचिव थापाले विज्ञप्ति जारी गर्दै सार्वजनिक संस्थाको जग्गा नियतवश बिक्री गरेको पुष्टि भएकाले तामाङ र बराललाई दुई महिनाका लागि निलम्बन गरिएको जनाएका छन् । अमेरिकाको भर्जिनिया राज्यका डयानी अनी, एलिसा हाम्फ्रिन, डा। वाल्ट ज्यामी हर्बर र टेनिसीले बेलबारी–२ मा संस्था स्थापना गरेर सञ्चालनका लागि तत्कालीन प्रतिनिधिसभा सदस्य तामाङलाई २०५६ भदौ ४ गते हस्तान्तरण गरेका थिए । उनले बरालसँग मिलेर जग्गा बेची संस्थाका नाममा १७ धुर मात्र बाँकी राखेका थिए । स्थानीय नागरिक समाजका अगुवा, राजनीतिक दल र विभिन्न संघसस्थाका प्रतिनिधि सामाजिक संस्थाको जमिन विक्री गर्नेलाई कारवाही र जग्गा फिर्ताको माग राख्दै सडकमा उत्रिएकाा थिए । तामाङ र बरालले जग्गा फिर्ता ल्याइसकेको दाबी गरेका छन । आफूहरूले डम्बरबहादुरसँग लिएको रकम ६ महिनाभित्र फिर्ता गर्ने लिखित सर्त गरेर गत शुक्रबारै जमिन संस्थाकै नाममा ल्याइसकेकोबरालले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
गाउँपालिकामा उपाध्यक्षले झुन्ड्याइन् आफ्नै श्रीमानको फोटो
कपिलवस्तुः जिल्लाकाे शुद्धोधन गाउँपालिका कार्यालयमा ‘मोस्ट वान्डेट’ को तस्बिर झन्ड्याइको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनी हुन्, प्रितम पाण्डे। उनको फोटो गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो कार्यकक्षमा राखेकी हुन्। प्रितम सुधाका श्रीमान् हुन्। बिठुवाका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्षभन्दा बढी कैद सजाय तोकेको छ। अन्य ४ हत्या र डाँका चोरी अपराधका फरा हुन् उनी। प्रदेश सरकारले जनप्रतिनिधिको कार्यकक्षमा राष्ट्रपति तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न पत्राचार गरेको छ। गाउँपालिका अध्यक्ष निसारअहमद खाँले भने कार्यकक्षमा कसैको तस्बिर राखेका छैनन्। उपाध्यक्ष पाण्डेले श्रीमानकै तस्बिर राख्दा कार्यालयमा जानेहरू अचम्ममा पर्छन्। पाण्डे २०४८ सालदेखि फरार छन्। उपाध्यक्षले प्रितमलाई गाउँपालिकाको सल्लाहकारसमेत राखेकी छन। प्रितमको डरले गाउँपालिका अध्यक्ष बोल्दैनन्। उपाध्यक्षले भने गाउँपालिकाको सल्लाहकार भएकाले तस्बिर राखेको र कुनै हालतमा नहटाउने बताइन्। उनले श्रीमानकै कारण चुनाव जितेकी हुन्। फरार रहे पनि श्रीमान चुनावका बेला रातारात प्रचारमा खटिएका थिए। यो खबर जनआस्था साप्तहिकबाट लिइएको हो ।
मूलपानीमा ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर भत्कियो
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा निर्माणाधीन एक घर गएराति आएको वर्षाको कारण भत्किएको छ ।प्रहरीका अनुसार मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर अत्यधिक वर्षाको कारण राति २ बजे भत्किएको हो । घर भत्किएपनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार घरको संरचनामात्र तयार भएको छ । निर्माणाधीन घर के कारणले भत्कियो ? अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ ।
अमेरिकामा एक नेपालीलाई ३३८ वर्ष जेल सजाय, ७ सय पटक बलात्कार गरेको आरोप
काठमाडौं । अमेरिकामा नेपालीहरू संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपाली पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्। सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा सात सय ३८ पटक। र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३ सय ३८ वर्ष जेल सजाय सुनाएको छ। उनी अहिले जेल सजाय काटिरहेका छन्। त्यसैगरी हत्या, नक्कली विवाह, ठगीसँगै अबैद्य रुपमा अमेरिका प्रवेश गर्दासमेत नेपाली नागरिक अमेरिकी कारागारमा छन्। यो खबर शुक्रबार साप्ताहिकबाट लिइएको हो।
विप्लवद्धारा बहुराष्ट्रिय कम्पनीलाई धम्की
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो। पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्। ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ। ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने। सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई चन्दा नदिन र धम्की आएमा सरकारलाई सूचना दिन आग्रह गरेका छन्। सरकारले व्यवसायीलाई सुरक्षा दिने वचन दिए पनि शृंखलाशद्ध आक्रमण र विस्फोटका घटनाका कारण व्यवसायी त्रस्त छन्। ‘क्रान्ति सम्पन्न गर्न पार्टीलाई क्रियाशील बनाउनुपर्ने भन्दै ठूलै रकम सहयोग माग आएको छ,’ विदेशी बैंकको संयुक्त लगानीका एकजना सञ्चालक भन्छन्, ‘चन्दा दिएको रकम खर्चमा देखाउन मिल्दैन।’ विप्लवका कार्यकर्ताबाट बारम्बार चेतावनीका सन्देश पाएर पनि व्यवसायीले सरकारसँग गुनासो गर्न सकेका छैनन्। कतिपय व्यवसायी भने चन्दा मागिएको सम्बन्धमा कुरा गर्नै रुचाउँदैनन्। ‘सञ्चारमाध्यममा बोलेर के गर्ने ? भोलि फेरि समस्यामा पार्छन्,’ विदेशी लगानीको एक उद्योगका साझेदारले भने। उनीहरू सरकारलाई गुनासो गर्दा दुवैतिरबाट चेपुवामा पर्ने जोखिम रहेको बताउँछन्। पछिल्ला वर्षमा देशमा भित्रने विदेशी लगानी घटिरहेको छ। भएका लगानीकर्ता पनि असुरक्षित रहेको गुनासो गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
८ बुँदे सहमति भएपछि रसुवा बन्द फिर्ता
रसुवाः टिमुरे प्रहरीले कन्टेनर चालकमाथि गरेको दुर्व्यवहारको घटनाको विरोधमा कन्टेनर चालकले गरेको रसुवा बन्द फिर्ता लिएका छन् । घटनामा संलग्न दुई प्रहरीलाई तत्काल जिल्ला प्रहरी कार्यालय पठाउने र सीमा प्रहरीचौकीका इन्चार्ज प्रहरी उपरीक्षकले कन्टेनर चालकमाथि दुर्व्यवहार गर्न लगाएको हो वा होइन सत्यतथ्य बुझी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्नेगरी सरकारी वकिलको सयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठनलगायत ८ बुँदे सहमति गरिएपछि कन्टेनर चालकले बन्द फिर्ता लिएका हुन् । बुधबार सर्वपक्षीय बैठकको संयोजकत्व गरेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाइने बताए । मंगलबार साँँझ टिमुरे प्रहरीले कन्टेनर चालक श्रीमान तामाङमाथि गरेको दुर्व्यवहारको घटनालाई लिएर दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै कन्टेनर चालकहरुले रसुवा बन्दको आह्वान गरेका थिए ।
पत्रकार भावुक योगीलाई ज्यान मार्ने धम्की,
नेपाल पत्रकार महासंघ बर्दसयाका सचिव, उज्यालोका बर्दिया सहकर्मी एवं रेडियो टाइगर बर्दियाका प्रबन्धक भावुक योगीलाई अपरिचित व्यक्तिको मोबाइल फोनबाट गालीगलौज तथा ज्यान मार्ने धम्की आएको छ । यही भदौ १५ गते आइतबार राति झण्डै ११ बजेको समयमा नेपाल टेलिकमको नम्बरबाट फोन गरी अपरिचित व्यक्ति आफू पनि ‘पत्रकार हुँ’ भन्दै कमल शाही पाल्पा घर बताउनेले पत्रकार भावुक योगीसँगै उहाँकी पत्नीलाई तथानाम गालीगलौज गरी ‘मार्छु, काट्छु’ भन्दै ज्यान मार्ने धम्की आएको हो । अश्लील शब्द प्रयोग गरी विभिन्न तवरले मानसिक तनाव तथा यातना दिएको हुनाले त्यस नम्बरबाट फोन गर्ने व्यक्ति पत्ता लगाई पक्राउ गरी विद्युतीय अपराधअन्तर्गत हदैसम्मको कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा निवेदन पेस गरिएको छ । यो नम्बर र यो नम्बरबाट फोन गर्ने व्यक्तिसँग कुनै पनि परिचय नभएको पत्रकार योगीले बताउनुभयो । फोन गर्ने व्यक्ति पक्राउ नपरुन्जेलसम्म आफू र आफ्नो घरपरिवारको जीउज्यानको सुरक्षा गरिदिनु हुन पत्रकार योगीले पेश गरेको निवेदनमा उल्लेख छ । महासंघका सचिव योगीलाई धम्की दिनेलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउन जोडदार मागसहित प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसमक्ष आग्रह गरिएको नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताउनुभयो ।
टेलिकमद्वारा ६ रुपैयाँमा ‘मिस्ड कल अलर्ट’ सुविधा
काठमाडौं । नेपाल टेलिकमले फोन नलागेको, नेटवर्क नभएको वा मोबाइल अफ भएको समयमा गरिएको फोन सम्पर्क पनि पछि हेर्न मिल्ने गरी ‘मिस्ड कल अलर्ट सुविधा’ उपलब्ध गराएको छ। टेलिकमले मासिक ६ रुपैयाँमा नै मिस्ड कल अलर्ट सेवा दिएको हो। यो सुविधाको प्रयोग गरेर अनुकूल समयमा फोन आएको जानकारी लिन सकिन्छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार मोबाइल नेटवर्क नभएको बेला, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल अफ हुँदा, फोन व्यस्त हुँदा वा अन्य जुनसुकै कारणले फोन उठान नसक्दा मिस्ड कल अलर्ट सुविधा लिन सकिन्छ। यसलाई टेलिकमले आगमन कलबारे सन्देश (एसएमएस) मार्फत जानकारी दिने बताएको छ। रोमिङ सुविधा लिएर विदेश जाँदा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ यो सेवा उपलब्ध हुने टेलिकमको भनाइ छ। मिस्ड कल अलर्ट सेवा जीएसएम पोस्टपेड र प्रिपेड दुवै मोबाइल सेवामा उपलब्ध छ। यस्तो सेवा लिन मोबाइलमार्फत एस्ट्रिक १४०० ह्यास डायल गरेर उपयुक्त विकल्प छनोट गर्नुपर्नेछ। Sub MCA लेखेर १४०० मा एसएमएस पठाउने सुविधा पनि टेलिकमले दिएको छ। टेलिकमको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा गर्न सकिन्छ। यस्तो सेवा सुविधा मासिक ६ रुपैयाँमै लिन सकिने जानकारी पनि टेलिकमले दिएको छ। यसअघि टेलिकमले पोस्ट पेड मोबाइल प्रयोगकर्तालाई २० रुपैयाँमा मिस्ड कल अलर्ट दिएको थियो।
परराष्ट्रमन्त्री ज्ञवाली र सिंगापुरका विदेशमन्त्री भिभिन बालकृष्णबीच भेटवार्ता
काठमाडौंः चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । सौहाद्र्रपूर्ण वातावरणमा उनीहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा सिङ्गापुरको प्रत्यक्ष वैदेशिक लगानी बढाउन त्यहाँका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न आफ्ना समकक्षीसँग अनुरोध गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा सहजीकरण गरेकामा सिङ्गापुर सरकारप्रति हार्दिक आभार व्यक्त गरे । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
अनेरास्ववियू संयोजक ऐन महरसहितका नेतामाथि प्रहरीद्वारा कुटपिट
काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरुमाथि प्रहरीले कुटपिट गरेको छ । बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न महेन्द्र पुलिस क्लब पुगेका विद्यार्थी नेताहरुलाई प्रहरीले लाठीचार्ज गरेको हो । अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरुमाथि कुटपिट भएको हो । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश
काठमाडौंः पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन मंगलबार आदेश गरेको हो। प्रतिवादीहरु टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेल पुर्पक्षका लागि थुना बाहिर रहन धरौटी माग गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालतमा मंगलबार दर्ता मुद्दाको सोही दिन न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको रजिस्ट्रार विकास श्रेष्ठले नेपालखबरलाई बताए। पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उनीहरु सो रकम बुझाएर त्यसै दिन थुनामुक्त भएका थिए। यो बाहेक अदालतले लामिछानेको हकमा विदेश जानुभन्दा अगाडि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं आफू अभियुक्त भएको प्रकरणमा सञ्चार माध्यम प्रयोग गरी विषयवस्तुलाई अतिरञ्जित गर्न नपाइने सर्त राखेको थियो। उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ। न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमसँग सम्बन्धित का दुवै सञ्चारकर्मीसँग जिल्ला अदालत चितवनले फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम आत्महत्या दुरुत्साहन कसुरमा धरौटी माग गरेको थियो।
प्रचण्ड भन्छन्, ‘एक्सनद्वारा जनतालाई आश्वस्त पारे नेपाल विकासको नयाँ युगमा जान्छ’
चितवनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भने, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उनको भनाइ थियो । देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासंँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे । नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंँग छलफल गरिने अध्यक्ष प्रचण्डले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताए । उनले अब यस खालका छलफल र बैठक नगर्न काम अघि बढाइने बताए । मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताए । मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सकिने जानकारी दिए । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहे पनि भरतपुर विमानस्थललाई विस्तार गरिनुपर्नेे, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

