पूर्व–पश्चिम विद्युतीय रेल मार्गः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै
काठमाडौं, साउन १ । नेपाल सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामअघि बढाउने भएको छ ।यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा चार वटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ । चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम चरणमा पुगेपनि बर्दिवास–बुटवाल खण्डमा पुनः अध्ययन हुँदैछ । पूर्व–पश्चिम लम्बाइ झण्डै एक हजार किलोमिटर हुने उनको भनाइ छ ।
पहिलो चरणमा सबै अध्ययन सकिनै लाग्दा चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘एलाइनमेण्ट’ परिवर्तन गर्नुपर्ने भएकाले थप समय लाग्ने देखिएको रेल विभागका सिनियर डिभिजनल इञ्जिनीयर (प्रवक्ता) अमन चित्रकारले बताए । पहिले पथलैयाबाट माडी क्षेत्रको जङ्गल हुँदै रेलमार्ग निर्माणको अध्ययन गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जभित्रबाट निर्माण गर्दा त्यसले त्यहाँका वन्यजन्तु र बोटबिरुवालाई असर गर्ने भन्दै परिवर्तन गर्न लागिएको हो । अब नयाँ ‘एलाइनमेण्ट’ अनुसार निजगढबाट हेटौंडा हुँदै भरतपुर निस्कने गरी रेलमार्गको नयाँ डिपिआर निर्माण गर्न लागिएको छ । यस खण्डमा ‘एलाइनमेण्ट’ परिवर्तनसँगै यसको लम्बाइ केही बढी हुने अनुमान गरिएको छ । यस खण्डअन्तर्गत १०८ किलोमिटर रहेकामा १३६ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।
उनले भने, ‘नयाँ अध्ययनपछि नै रेलमार्गको जम्मा लम्बाइको टुङ्गो लाग्ने छ ।’ चार खण्डमध्ये बर्दिवास पश्चिम निजगढतर्फ अध्ययन सकिएर निर्माणकै काम शुरु भइसकेको प्रवक्ता चित्रकारले बताए । यस खण्डमा आवश्यक पूर्वाधार निर्माण अघि बढेको छ । यस खण्डमा आवश्यक ‘ट्र्याक बेड’ निर्माण र सानाठूला पुल निर्माण भइरहेको छ । उनले भने, ‘आगामी वर्ष थप कामअघि बढ्ने छ।’
रेलमार्ग निर्माणमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गा अधिग्रहण रहेको उनले बताए । सडकमार्ग निर्माणमा जस्तै रेलमार्ग निर्माण जग्गा अधिग्रहणका कारण काम गर्न गाह्रो भएको उनको अनुभव छ । रेलमार्गका धेरै ठाउँमा जग्गा विवाद रहेको छ । विवादरहित जग्गामा काम गर्न सहज भए पनि विवाद भएपछि काम अवरुद्ध हुने उनको भनाइ छ । उनले भने, “हामीले सम्बन्धित जिल्लाका प्रशासन कार्यालय मार्फत जग्गा विवाद सल्टाएर काम अघि बढाइरहेका छौँ ।”
यस रेलमार्गमा जग्गा प्राप्ति र अध्ययन गरेर झण्डै रु दुई अर्ब खर्च भइसकेको छ । जग्गा प्राप्तिसँगै यो रेलमार्ग अध्ययन सम्पन्न गर्नका लागि मात्रै रु सात अर्ब ७० करोड खर्च लाग्ने विभागले जनाएको छ । यो रेलमार्गमा एक किलोमिटर निर्माणका लागि झण्डै रु ९० अर्बसम्म लाग्ने अनुमान गरिएको छ । रेलमार्ग निर्माणमा साझेदार संस्था नहुँदा नेपाल सरकारले नै अध्ययनलगायत निर्माणको काम गरिरहेको छ ।
रेलमार्गमा जानकारी राख्ने व्यक्ति भए पनि दक्ष जनशक्तिको अभाव रहेको उनले बताए । उनले भने, “नेपालमा यसमा दक्ष जनशक्ति अभाव हुँदा हामी चिनियाँ, कोरियाली लगायतलाई परामर्शदाताका रुपमा लिएर काम गरिरहेका छौँ ।” रेलमार्गलाई जम्मा चार भाग बनाएर डिपिआर शुरु गरिएको थियो । जसमा दुई वटा खण्डको प्रतिवेदन प्राप्त भइसकेको रेल विभागले जनाएको छ । लमही–कोहलपुर खण्ड र सुक्खड–गड्डाचौकी गरेर दुई खण्डको अन्तिम प्रतिवेदन आइसकेको छ । कोहलपुर–सुक्खड र बुटवल–लमही खण्डमा भने अध्ययन भइरहेको छ ।
पूर्वपश्चिम रेलमार्गको अध्ययन प्रतिवेदनमा ठाउँठाउँमा राजमार्ग लगायतका सडकसँग काटिएर जाने प्रवक्ता चित्रकारले बताए । त्यस्ता स्थानमा ओभरफ्लाई वा अण्डरपासमार्फत दुवै मार्गलाई सञ्चालन गरिने छ । एकातिर अध्ययनको काम भइरहँदा सरकारले पूर्वाधार निर्माण सकेर पहिलो चरणमा एउटा खण्डमा काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजना बनाएको छ । पहिलो चरणममा बर्दिवास–काँकडभिट्टा खण्डमा रेलमार्गको सबै पूर्वाधार सम्पन्न गर्ने लक्ष्य रहेको छ । उनले भने, “यो खण्डमा शुरुआत गरेपछि नै अरु खण्डमा पनि काम अघि बढाउने लक्ष्य छ ।”
सरकारले निर्माणको योजना बनाएका विभिन्न रेलमार्गमध्ये देशभित्रै धेरै जिल्लामा फैलिएको र बढी लम्बाइको रेलमार्गका रुपमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग रहेको छ । यससँगै अन्दरदेशीय रेलमार्गको समेत अध्ययन भइरहेको छ । सन् २०१० मा भारत सरकारसँग ५ वटा ‘नेपाल भारत अन्दरदेशीय रेलमार्ग’ निर्माणका लागि सम्झौता भएको थियो । जसमध्ये जयनगर–बर्दिवास र जोगबनी–विराटनगरको निर्माण शुरु भइसकेको छ भने अरु तीन वटा अध्ययन भइरहेको छ । सरकारले केरुङ–रसुवागढी रेलमार्ग निर्माणका लागि चीन सरकारसँग वार्ता गरिरहेको छ । रासस
भूमाफियाको दाउ भताभुंगः सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाडौं, श्रावण १ । भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५ रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो । सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ । पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ । यो समाचार आजको कान्तिरपुर दैनिकबाट साभार गरिएको हो ।
न्यून चापीय रेखा नेपालबाट हट्यो, अब अविरल वर्षा नहुनेः मौसमविद्
काठमाडौं, श्रावण १ । अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन्। ‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्, ‘मनसुनका बेला हो, वर्षा त हुन्छ नै, तर अब पहिलेजस्तो अविरल वर्षा हुने सम्भावना छैन।’ न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ। तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ। उक्त रेखा नेपालमै रहेका बेला लगातार वर्षा भएको वा हुने मौसमविद् बताउँछन्। यसअघि न्यून चापीय रेखा नेपालमै थियो भने न्यून चापीय क्षेत्र पनि सक्रिय थियो। यी दुवै प्रणाली सक्रिय रहँदा अविरल तथा भारी वर्षा भएको हो। जसका कारण देशमा बाढीपहिरो आएर ठूलो जनधन क्षति भयो। अब भने बाढीपहिरोको जोखिम कम रहेको मौसमविद् पोखरेलको अनुमान छ। तैपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता भने अपनाउनुपर्ने मौसमविद्को भनाइ छ। कस्तो छ आजको मौसम ? मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ। अहिले पूर्वी भेगका थोरै स्थानहमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। तर मनसुनी गतिविधि देशभर सक्रिय रहेकाले यही ठाउँमा पानी पर्छ वा भारी वर्षा हुन्छ भनेर किटान गर्न नसकिने मौसविद् पोखरेल बताउँछिन्। ‘त्यो यही काठमाडौं उपत्यकामा पनि हुन सक्छ वा तराईतिर पनि,’ उनले भनिन्।
सेनाको १५ हजार जनशक्ति राहत र उद्धारमा
काठमाडौं, श्रावण १ । नेपाली सेनाले वर्षापछिको विपद् उद्धार तथा राहत वितरणका लागि १५ हजार जनशक्ति खटाएको छ । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद् उद्धारका सामग्रीसहित १५ हजार जनशक्ति खटाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । त्यस्तै, सेनाले बाढीपहिरो र डुबानमा परेकाको खोजी, उद्धार र राहतका लागि सातवटा हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको छ । काठमाडौंमा दुईवटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल र धनुषामा एउटा एमआई १७ गरी सात हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ । हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री ढुवानी गरिएको छ । अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्ग सुचारु गरी यातायात सञ्चालनमा सहयोग गर्ने, तटीय क्षेत्रमा तटबन्द निर्माण, नाला सफाइजस्ता कार्य जारी राखिएको पनि निर्देशनालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
विवादित नेकपाकाे राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ
काठमाडौं, असार २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएको छ । १ वर्षअघि नै सहमति जुटेको प्रतिवेदनमा विवाद भएपछि दोस्रो पटक सहमति कायम गरेर प्रतिवेदन प्रकाशनमा गएको हो । अघिल्लो वर्ष नै नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि बल्झिएपछि प्रतिवेदन प्रकाशित हुन सकेको थिएन । यसै साता शीर्ष तहमा जुटेको सहमतिपछि प्रतिवेदन प्रकाशनमा गएको बताइएको छ । एक वर्षअघि सहमति जुटेको प्रतिवेदनमा खासै परिवर्तन नगरिएको बताइएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्
एक लाख घुससहित ३ प्रहरी पक्राउ
काठमाडौं, असार २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो । सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका थिए । उनीहरुलाई टोखा नगरपालिका– १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। यसैबीच आज प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
बाढीपहिरोका पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, असार २९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अविरल वर्षाका कारण गएको बाढी र पहिरोका पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने बताएका छन् । उनले स्थानीय प्रशासन र सुरक्षाकर्मी तदारुकताका साथ लागिरहेको दाबीसमेत गरेका छन् । सामाजिक सञ्जालको आफ्नो पेजमार्फत गृहमन्त्री थापाले घटनाले पुर्याएको क्षतीप्रति दुःख व्यक्त गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘राहत तथा उद्दारमा कुनै कसर बाँकि नराख्न निर्देशन दिईसकिएको छ । आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्दछु ।’
अविरल वर्षाको कारण सर्लाहीको जनजीवन कष्टकर
सर्लाही, असार २८ । अविरल वर्षाले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पानीको निकास नहुँदा सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा परेका छन् । घर डुबानमा परेपछि सयौँ परिवारको विचल्ली भएको छ भने खानेबस्नेको टुंगो नहुँदा दिनचर्या कष्टकर बनेको छ । खोलाको बाढी र वर्षाको भेलले जिल्लाको धनकौल, बसबरिया, बरहथवा, रामनगर, ब्रम्हपुरी लगायतको क्षेत्रमा दर्जनौं बस्तीमा कटान र डुबानको समस्या देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । पानी पर्नेक्रम नरोकिएकाले उद्धार तथा कटान रोक्नका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न समेत समस्या भैरहेको प्रमुख जिल्ला अधिकारी राउतले बताए । कतिपय ठाउँमा स्थानीयवासी आफै सुरक्षित ठाउँमा ओत लागेर बसेका छन् । प्रमुख जिल्ला अधिकारी राउतले वर्षाका कारण जिल्लामा अहिलेसम्म ठूलो किसिमको अप्रिय घटना नभए पनि अधिकांश ठाउँमा डुबान र कटानको समस्या भने रहेको बताए । अविरल वर्षाले बागमती, लखन्देही, मनुष्मारा, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा ठूलो बाढी आइरहेको छ । खोलाको बाढीले ठाउँ ठाउँमा किसानको खेतबारी कटान गरिरहेका छन् ।हुलाकी सहित सर्लाहीका भित्री सडकहरु हिँड्डुल गर्न र सवारी चल्न नसक्ने गरी जलमग्न भएका छन् । वर्षाका कारण अवरुद्ध विद्युत् लालबन्दीलगायतका केही बजार क्षेत्र बाहेक अन्य ठाउँमा सूचारु भएको छैन् । लालबन्दीसहित राजमार्गक्षेत्रमा भने सुक्रवार रातीबाट आंशिक रुपमा विद्युत् सूचारु भएको हो । ग्रामीण भेगमा धेरै बिजुलीको पोल ढलेकाले तत्काल विद्युत् सूचारु हुने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । अन्य क्षेत्रमा विद्युत् सूचारु गर्न मर्मतको काम भने चलिरहेको प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । सदरमुकाम मलंगवामै समेत विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा विपतको समयमा नागरिक सञ्चार सम्पर्कबाट टाढिएका छन् । अविरल वर्षाले हरेक क्षेत्र प्रभावित बनेको छ । गोरखापत्रदैनिकबाट
कोसीमा वर्षकै उच्च बहावः ३० ढोका खुला, सजग रहन एमएमएसबाट सूचना
राजविराज, असार २८ । सप्तकोसी नदीमा यस वर्षकै सबभन्दा उच्च पानीको सतह बढेको छ । सप्तकोसी नदीको शनिबार बिहान ९ बजे मापन गरिएको बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक प्रति सकेन्ड रहेको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको बताइएको छ । ब्यारेजमा ५२ ढोका रहेको छ । बाढी खतराको तहभन्दा माथि रहेको बाढी पूर्व अनुमान महाशाखाको बुलेटिनमा उल्लेख गर्दै कोसी ब्यारेजको नियमित अनुगमन गर्न सुझाव पनि दिएको छ । बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको बताइएको छ । रातो बत्ती बालिएको छ भने सजग रहन तटबन्धबासीलाई एसएमएसमार्फत सूचना पठाइएको उल्लेख छ ।
बाढी–पहिरोको वितण्डाः मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिइने
धनुषा, असार २८ । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको ८ वटै जिल्लाको जनजीवन आक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १० दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ । बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भईरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
प्रदेश १ मा बाढी र पहिरोः ९ को मृत्यु, ४ जना वेपत्ता
विराटनगर, असार २८ । पछिल्ला पाँचदिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा ९ जनाको मृत्यु भएको छ । बाढीमा परी ४ जना वेपत्ता भएका छन् भने दुईजना घाईते भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना समन्वय अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले नौ जनाको मृत्यु, चारजना वेपत्ता र दुईजना घाईते भएको जानकारी दिए । मृत्यु हुनेमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका–९ का १४ वर्षीय जनक बिश्वकर्मा, ओखलढुंगा चिसुङखुगडी गाउँपालिका–४ निवासी ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली गाउँपालिका–१ निवासी ५० वर्षीया अञ्चला लावती भन्छिन् । यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका–२ पहिरोमा पुरिएर २८ वर्षिया रेखा राई, ४ वर्षीय छोरा रमन र ६ महिनाका छोरा रोहन राईको मृत्यु भएको प्रवक्ता दाहालले जानकारी दिए । वेपत्ता रहेका तीनै जनाको शव भेटिएको प्रवक्ता दाहालले बताए । झापाको दमक–१० मा ६ वर्षीया उलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ भने उदयपुर घर भई सुनसरीको इटहरी–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलाले बगाएर मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हस्दा, सुनसरी बराहा नगरपालिका–१ का १० वर्षीय अर्पण राई र मोरङ कानेपोखरी गाउँपालिका–२ मा एकजनालाई खोलाले बगाएर वेपत्ता बनाएको प्रहरीले जानकारी दिइएको छ । मोरङको कानेपोखरीमा वेपत्ता भएका व्यक्तिको नामथर खुल्न सकेको छैन । सुनसरी र खोटाङमा एक–एक जना घाइते भएको प्रहरीले जानकारी दिइएको छ । दुहवीमा पुल र बेलबारीमा टावर जोखिम बाढीका कारण कोशी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ । यसैगरी दुहबी ग्रिडबाट मेचीका लागि बिद्युत प्रसारण गरिने १३२ केभिए लाइनको टावर लोहन्द्रा खोलाको बाढीको जोखिममा परेको छ । दुहबी पुल नजिकैको भाग बुढी खोलाले कटान गरेको छ भने लोहन्द्रा खोलाले जमिन कटान गर्दा बिद्युत प्रसारण लाइनको टावर लड्ने अवस्थामा पुगेको छ । अत्याधिक कटान गरेपछि छ लेन परियोजनाले दुहबी पुल आसपासको क्षेत्रमा तारजालि बिछ्याउने काम सुरु गरेको छ । माटो कटान रोक्नका लागि पुलको मोरङसँग जोडिएको भू–भागमा त्रिपालले छोपिएको छ । दुहबी पुलबाट यातायातका साधन आवात–जावतमा सावधानी अपनाउन भन्दै प्रहरीले रातो झण्डा गाडेर व्यवस्थापन मिलाईरहेको छ ।
उद्धारमा जुट्न नेता–कार्यकर्तालाई नेकपाको निर्देशन
काठमाडौं असार २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ । आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसङ्गठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएका हुन् । वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनीहरुले पीडितको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत जानकारी गराएका छन् । दुवै अध्यक्षले बाढीबाट भएको दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
भरतपुर महानगरवासीलाई ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह
चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हालै परेको अविरल वर्षाका कारण हुनसक्ने डुबान, नदी, कटान र मानवीय एवम् भौतिक रुपमा हुने क्षतिप्रति सजग रहन महानगरवासीलाई आग्रह गरेकी छिन् । शनिबार महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकाका दुई ठूला नदीहरू नारायणी र राप्तीले घेरिएको प्रसङ्ग उल्लेख गर्दै भारी वर्षासँगै दुवै नदीको बहाव तीव्ररूपमा बढिरहेको बताउँदै सबैलाई सजग र सतर्क रहन आग्रह गरेकी छिन् । प्रमुख दाहालले शुक्रबार मध्यान्नदेखि निरन्तर भइरहेको वर्षाका कारण महानगरपालिकाका तल्लो नदी तटीय क्षेत्रहरू डुबान र कटानमा पर्नसक्ने बताउँँदै यसलाई रोकथाम र नियन्त्रण गर्दै सम्भावित क्षतिको न्यूनिकरण गर्न भरतपुर महानगरपालिका विपद व्यवस्थापन इकाइ, जिल्ला विपद ब्यवस्थापन इकाइ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल रेडक्रस सोसाइटी अन्य मानवीय सेवामा क्रियाशील संघसंस्था नागरिक समाज सबैसँग समन्वय गरी तयारी अवस्थामा राखिएको बताए । आ–आफ्नो टोल छिमेक तथा समुदायमा हुनसक्ने विपद्को यथाशीघ्र नजिकको वडा कार्यालय, जनप्रतिनिधि तथा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन समेत सबैलाई आग्रह गरिएको छ । सम्भावित जोखिम न्यूनिकरण र हुनसक्ने क्षतिलाई नियन्त्रण, रोकथाम र पुनर्स्थापनाका लागि भरतपुर महानगरपालिका समन्वयात्मकरूपमा तयारी अवस्थामा रहेको बताउँदै प्रमुख दाहालले वर्षा नियन्त्रणमा नआएसम्म नगरवासीहरूलाई नदी तटीय क्षेत्र वरिपरि नजान महानगरपालिकाले आग्रह गरेको छ । महानगर प्रमुख दाहालले कुनैपनि विपद्का प्रकोपमा बालबालिका, वृद्धवृद्धा अपांगता तथा असहाय बढी प्रभावित हुने बताउँँदै त्यस समुदायलाई विशेष ख्याल गर्न परिवारलााई आग्रह गरिन् । सम्भावित विपदको घडीमा समयमै सजग र सजग हुँदै आआफ्नो टोल छिमेकमा हुनसक्ने दुर्घटनामा उद्धार राहत र पूनस्र्थापनामा तत्काल जुट्न महानगरवासीलाई आग्रह गरेकी छिन्। भरतपुर महानगरपालिकाको नारायणी नदी तटीय क्षेत्र शिवघाटदेखि राप्ती र नारायणीको संगम स्थल गोलघाट, राप्तीको जगतपुर पटिहानी घडगाइ वडा नं.२५, २७, २८ वडाहरूको नदी तटीय क्षेत्रलगायतमा डुबान र कटानको समस्या रहेको हुनाले ती क्षेत्रका सबै संयन्त्रलाई हाईअलर्टमा राखिएको महानगरपालिकाले जनाएको छ । यस्तै वडा नं.२९को पहाडी भागमा पनि पहिरोको जोखिम रहेको हुनाले त्यहाँको संयन्त्रलाई पनि ‘हाई अलर्ट’को अवस्थामा राखिएको भरतपुर महानगरले जनाएको छ ।
बस ठोकिँदा ३४ घाइते, ८ गम्भीर घाइते
सुर्खेत, असार २८ । सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नं.को बस एकआपसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। नेपालगञ्ज जाँदै गरेको बसको स्ट्रिरिङमा च्यापिएका चालक नेपालगञ्ज उपमहानगरपालिका निवासी २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रवक्ता क्षेत्रीले बताए । उनका अनुसार गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्षीय स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा नं.१ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ । बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ । रासस
मेरो दुईवर्षे अवधिमा थुप्रै विकास निर्माणका कामहरु भएः भरतपुर महानगर प्रमुख दाहाल
चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफ्नो कार्यकालको दुईवर्षे अवधिमा थुप्रै विकास निर्माणका कामहरु भएको बताइन् । भरतपुर महानगरपालिका– १९ शारदानगर टाउनमा निर्माण भएको प्रहरी चौकीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दे प्रमुख दाहालले यस्तो बताएकी हुन् । उनले विगतका बिसौं वर्षमा हुन नसकेका विकास निर्माणका कामहरु आफ्नो कार्यकालको दुईवर्षे अवधिमा भएको दावी गरिन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दाहालले भरतपुरलाई देशकै नमुना अनि समृद्ध महानगरपालिका बनाउन लागिपर्ने अठोट गरिन् । भरतपुर महानगर योजनाबद्ध र सन्तुलित विकासको नितीलाई अवलम्ब गर्र्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढिरहेको प्रमुख दाहालको भनाइ छ । उनले समाजमा शान्ति सुरक्षा कायम, अपराध र दुव्र्यसन नियन्त्रण गर्नका लागि स्थानीयसँग मिलेर काम गर्न महानर समुदायमा प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाएको बताइन् ।

