प्रधानमन्त्रीले पत्रकारहरूलाई भने–‘चुनाव हुँदैछ सकारात्मक भूमिका खेल्नुहोला’

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन् ।

नेपाल टेलिभिजन (एनटिभी) को ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधानको संशोधनसँगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सहयोग गर्न आग्रह गरेका हुन् ।

“हामी संविधान कार्यान्वयनको अत्यन्त महत्वपूर्ण चरणमा छौँ, संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ, संविधान कार्यान्वयनसँगै सिङ्गो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ”–प्रधानमन्त्रीले भने ।

नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जानुपर्ने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैँ सम्मान गर्दै आएको समेत प्रस्ट पारे ।

नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको शुभारम्भ गर्दै उनले आमजनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

त्यसैगरी टेलिभिजन डिजिटललाइजेसनको शुभारम्भ गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले डिजिटलाइजनसँगै नेपाल टेलिभिजनको गुणस्तरीयतामा बढ्ने अपेक्षा गरे ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सहर केन्द्रितभन्दा पनि ग्रामीण क्षेत्रका विशेषगरी उत्पीडित समुदायका सवाललाई आम सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिए ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले नेपाल टेलिभिजनले व्यावसायिक प्रतिस्प्रर्धासँगै दुरदराजका मानिसका अनुहारलाई टिभीसम्म ल्याउनुपर्ने बताए ।

सञ्चार सचिव महेन्द्रमान गुरूङले आमसञ्चार नीति २०७३ को आधारमा सञ्चार मन्त्रालयले सरकार मातहतका सञ्चार माध्यमको नीति बनाउने तयारी गरिरहेको जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा ३० वर्ष अवधि पूरा गरेका १२ जना कर्मचारीलाई स्वर्णपदक र २० वर्ष सेवा अवधि पूरा गरेका २६ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।

त्यसैगरी टेलिभिजनका कार्यरत भरत शर्मा (पाल्पा), विधुर खवास (धनकुटा), हिरालाल चौधरी (सिराहा), मन्दिरा थापा (दोलखा) र शिव सिल्वाल (धादिङ) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।

राजेन्द्र श्रेष्ठ भन्छन्-‘एमाले अध्यक्ष ओली विखण्डनवादी’ !

काठमाडौं माघ १७ । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विखण्डकारी भएको आरोप लगाएका छन् । सोमबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै श्रेष्ठले एमालेले देशलाई विखण्डन गर्न खाजेको, र त्यसको मुख्य पात्र केपी ओली भएको गम्भीर ओरोप लगाए । एमालेमा संगठन बलियो रहेको भ्रमका कारण देशका समस्या देख्न छोडेको उनले बताए । अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको कुरा पनि उनले स्पष्ट पारे । अहिलेको संविधान संशोधनमा हलो अड्काएर एमालेले संविधान कार्यान्वयन हुन नदिनुको गम्भीर कारणबारे जनाताले जान्न पाउनुपर्ने बताए । आफू प्रधानमन्त्री भएको बेलामा अध्यक्ष ओलीले किन सात प्रदेशमा सहमति गर्नुभयो ?, त्यो बेलामा सरकारमा उहाँहरू नै हुनुहुन्थ्यो,’ उनले प्रश्न गरे । श्रेष्ठले संविधान संशोधनमार्फद् उत्पीडित समुदायको अधिकार प्राप्त गराउनुपर्ने बताए । हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेको कुरा पनि उनले बताए । उनले संविधान संशोधन नभए कुनै हालतमा स्थानीय चुनाव गर्न नदिने चेतावनी दिए ।

चुनाव मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, मधेसी मोर्चासँग बालुवाटारमा बैठक

काठमाडौँ, माघ १७ । निर्वाचनको मिति र संविधान संशोधनबारे सहमति जुटाउन सरकार र मधेसी मोर्चाका शीर्ष नेताबीच बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आब्हान गरेको बैठकमा सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र मोर्चाका शीर्ष नेता सहभागी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित रहेका छन्। मोर्चासँगको बैठक अघि माओवादी केन्द्रको बैठक पनि बालुवाटारमा बसेको थियो । सरकारको कामकारवाही र समसामयिक विषयमा छफल गर्न माओवादी केन्द्रको शीर्ष नेताहरुको वैठक बसेको हो ।

सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघर मण्डलामा

काठमाडौँ, माघ १६ । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आइतबार माइतीघर मण्डलामा फहराइएको छ । शहीद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ । राष्ट्रियतामा योगदान पु¥याएबापत उक्त कार्यक्रममा खेलाडी मिरा राई, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए । केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै ओलीले केही स्वार्थी तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राखे । “हामी दुःख व्यहोर्न तयार छाँै । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ”– उनले भने– “सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।” ओलीले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको बताए । उनले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे । उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने ठोकुवा गरे । “निर्वाचन नगर्ने प्रयास भइरहेको छ”– उनले भने– “तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।” कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए ।

द्वन्द्वपीडित सबैले राहत पाउने शान्तिमन्त्रीको घोषणा

काठमाडौं, माघ १६ । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले द्वन्द्वपीडित सबैले राहत पाउनजे घोषणा गरेकी छन् । आइतबार काठमाडौंको गोकर्णमा शान्ति मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्तिस्मारकले आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै उनले विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन गरेको जानकारी दिइन । शान्ति प्रक्रियाका वाँकी काम तीव्र रूपमा सम्पन्न हुन लागेको भन्दै मन्त्री यादवले सहिदस्मारक निर्माण सम्पन्न भएपछि शहीदप्रति थोरै भए पनि न्याय हुने उनले बताइन । “विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन भएको छ, अव पीडित सबैले राहत पाउनेछन्, सहिद स्मारक बनेपछि शान्ति स्थापनाका ठोस् आधार तयार हुनेछ, द्वन्द्वपछिको पुनःनिर्माणलाई पनि मन्त्रालयले तीव्रता दिनेछ”–उनले भनिन । मन्त्री यादवले सरकारको निर्णयअनुसार निर्माण भइरहेको स्मारक सम्पन्न गर्न विसं २०७२ वैशाखको भूकम्प र सोही वर्षको असोज पछिको अघोषित नाकाबन्दीले केही ढिलाइ भए पनि अव छिटो सम्पन्न हुने अपेक्षा रहेको बताइन । कार्यक्रममा सांसद रामेश्वर फुयाँल, अम्बिका बस्नेत र पेम्बा लामा, मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताका लागि निर्माण भइरहेको स्मारक सम्पन्न गराउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए । गुरुयोजना बनाएर विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको ७१ प्रतिशत काम सम्पन्न भएकाले बाँकी २९ प्रतिशत काम पनि विसं २०७४ चैत मसान्तसम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको महासचिव त्रिलोचन पौडेलले जानकारी दिए । मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीदका नाममा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । स्मारक अन्तर्गत बन्नेगरी पाँचवटा सहायक पार्क निर्माणको गुरुयोजना पनि मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

राष्ट्रपति भण्डारी भन्छिन-‘दलहरू मिलौं, कसैले शहीद बन्नुनपर्ने गरी लोकतन्त्र जोगाऔं’

काठमाडौँ, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले शहीद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छन् । शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद एवम् वर–पिपल वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।” “अब कसैले सहिद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ, लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्नेछ, सहमति र सहकार्यका साथ अघि बढ्न सबै दललाई शहीद दिवसले प्रेरणा देओस् ” उनले भनिन । सरकारले विसं २०७१ देखि २०८० सम्मलाई वन दशक घोषणा गरेकाले यसले जलवायु परिवर्तन र तापमानलाई सन्तुलनमा ल्याउने विश्वास व्यक्त गर्दै उनले भनिन –“पूर्खाले वर र पिपलको बिरुवा रोप्ने प्रचलन वातावरण सन्तुलन कायम राख्न चलाएको कद्मप्रति सबैको ध्यान जानुपर्दछ ।” शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्तिस्मारकले उक्त कार्यक्रम काठमाडौंको गोकर्णमा गरेको थियो ।

एमालेले मधेसीलाई अर्कै देशको देख्ने गर्छ : निधी

पर्वत, माघ १६ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेले मधेसीलाई अर्के देशको देख्ने गरेको आरोप लगाएका छन् । आइतबार पर्वतमा सहिद स्मारक आवासीय माध्यामिक विद्यालयको रजतजयन्तीको उद्घाटन कार्यक्रममा बोल्दै उनले एमालेले संघीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए । एमालेले अघि सारेका संविधान संशोधनका चार बुँदा कांग्रेस–माओवादी गठबन्धन सरकारले अघि सार्दा भने राष्ट्रघाती भनेको भन्दै एमालेले संविधान संशोधन नचाहेको बताएका छन् । एमालेले पहाड र मधेशको नाममा झुटो प्रचार गरेर फरक भूगोलका जनतालाई भड्काउने रणनिति बनाएको पनि उनले बताएका छन् । निर्वाचनसम्बन्धी सबै कानुन अन्तिम चरणमा पुगेको भन्दै उनले अब जुनसुकै बेला स्थानीय तहको निर्वाचन मिति घोषणा उल्लेख गरे । गृहमन्त्री निधिले एमालेले मधेसलाई अर्को देशको देख्ने गरेको र हिमाल–पहाडसँगको दूरी बढाउने काम गरेको आक्षेप पनि लगाए । संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने भन्दै उनले एमालेले संविधान संशोधनमा सघाउनुपर्ने बताए ।

यस्तो छ कक्षा ११ र १२ को वार्षिक परीक्षा समय तालिका

काठमाडौं, माघ १६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक उक्त गरेको उक्त समय तालिका अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन पाउनेछन्।

चुनाव मिति घोषणा गर्न प्रधानमन्त्रीले भेटे प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग भेट गरेका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको तयारीबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीसँग प्रमुख आयुक्त यादवले निर्वाचन अायोगले देशैभरबाट तयारी तीव्र पारेको जानकारी गराएका थिए ।  उनले सरकारले निर्वाचनसँग सम्बन्धित विधेयक संसदबाट पारित गर्ने वितिक्कै आयोगले चुनावको सबै तयारी गर्ने बताएका थिए । चुनावकै तयारीका लागि अाफूले जिल्ला भ्रमण गरेको अायुक्त यादवले प्रधानमन्त्रीलाई जानकारी गराए । जिल्ला भ्रमणबाट चुनाव गराउन सक्ने अवस्था देखिएपनि संसदमा रोकिएका विधेयक पारित नभएसम्म अप्ठेरो बनेको बताए । उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भने – ‘सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको जानकारी दिदैँ आयोगले सरकारको स्प्रीडलाई ख्याल गरेर काम गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले भने–‘आयोगलाई केही समस्या परेको छ भने भन्नुहोला, तीन दलबीचमा बैशाखको अन्तिमभित्रैमा स्थानीय तहको चुनाव गर्ने सहमति भइसकेको छ कुनै हालतमा पनि चुनावको तयारी रोकिनु हुँदैन ।’ जवाफमा प्रमुख आयुक्त यादवले सरकारको स्प्रीड अनुसार आयोगले काम गर्ने बताए । ‘खासमा चुनावको तयारी गर्न हामीलाई तीन महिनाको समय चाहिने हो, तर हामी सरकारको स्प्रीड अनुसार काम गर्न तयार छौं भरखरै रिक्त आयुक्तमा नाम सिफारिस भएको छ, सरकारले चुनावसँग सम्बन्धित कानुनहरुको संशोधन गरे काम गर्न सहज हुन्छ’ आयुक्त यादवले प्रधानमन्त्रीसँग भने । चुनावकै तयारीलाई लिएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन अायोगका प्रमुख अायुक्त यादवलाई एक हप्ता अघि पनि भेटेका थिए ।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालन, उपत्यकामा कहिल्यै लोडसेडिङ नहुने

काठमाडौँ, माघ १६। लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो । मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खण्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको काम समेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए । उक्त प्रसारणलाइनबाट काठमाडौँमा बढी भएको बिजुली हेटौँडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । केही दिन पहिले मात्रै ढल्केबर– खिम्ती प्रसारणलाइनबाट समेत विद्युत् प्रवाह भइसकेको छ । हेटौँडा मातातीर्थ स्यूचाटार प्रसारणलाइन पनि सञ्चालनमा आएपछि काठमाडौँमा विद्युत् आयात गर्न र काठमाडौँबाट बाहिर लैजानलाई समेत सहज भएको छ । प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटौँडाडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो । उक्त प्रसारण लाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुवै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए । विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले १९ घरपरिवारलाई रु. एक करोड ८४ लाख क्षतिपूर्ति प्रदान गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण प्रशारणलाइन सञ्चालन सहज भएको हो । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा लोडसेडिङ नगर्ने सरकारको लक्ष्य थप सहज भएको छ । मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ ।

नेता मोहनबिक्रमलाई भेट्न प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं, माघ १६ । वयोवृद्ध वामपन्थी नेता तथा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन् । ज्वरो आउने र पेटसम्बन्धी समस्या देखिएपछि नेता सिंह तीन दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सकहरुसँग सिंहको स्वास्थ्य अवस्थाका बारेमा छलफल गर्नुका साथै सिंहसँग कुराकानी गरेका थिए । नेपालको राजनीतिमा माओवादी धारका गुरु भनेर चिनिने ८२ वर्षीय बृद्ध नेता मोहनबिक्रमसँग प्रचण्डको सैद्धान्तिक विमती रहँदै आएपनि भावनात्मक सम्बन्ध भने निकट रहेको छ । सिंहको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले भेटका अवसरमा बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

आर्थिक समृद्धिमा लागे मात्रै शहीदका सपना पुरा हुने– उपराष्ट्रपति पुन

काठमाडौं,माघ १६ उपराष्ट्रपति नन्दकिशोर पुनले आर्थिक समृद्धिको बाटोमा देश हिँडेमा मात्रै शहीदका सपना पुरा हुने बताएका छन् । शहीद दिवसका अवसरमा सन्देश व्यक्त गर्दै उपराष्ट्रपति पुनले दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न अनुरोध गरे । “सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।” वक्तव्यमा पुनले भनेका छन् । पढ्नुस विस्तृतमा ‘जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक परिर्वनकारी क्रान्ति तथा संघर्षमा आफ्नो जीवन बलिदान दिनुहुने सहिदहरुको सम्झनामा प्रत्येक माघ १६ मा सहिद दिवस मनाउँदै आएका छौँ । सहिद दिवस–२०७३ को यस पुण्य तिथिमा म सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज हामी नेपाली जुन अवस्थामा छौँ, यो प्राप्तीका लागि नेपालमा धेरै ठूला क्रान्ति, संघर्ष, आन्दोलनहरु भएका छन् । सबै खाले आन्दोलनमा नेपाली वीर सपुतहरुको वलिदानी रहेको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत पछिल्लो राजनीतिक उपलब्धीहरु प्राप्तीको प्रमुख श्रेय सहिदहरुलाई नै जान्छ । यस अवसरमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको वलिदान गर्नुहुने सम्पूर्ण सहिदहरुको उच्च सम्मान व्यक्त गर्दछु । साथै सम्पूर्ण सहिद परिवारजनमा पनि उच्च सम्मान व्यक्त गर्दछु । सहिदहरुको वलिदानी शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माण तथा सबै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन हो । संविधानसभाबाट जारी संविधान कार्यान्वयनसँगै राजनीतिक रुपमा सहिदहरुको सपना पूरा हुँदै छन् । सहिदहरुलाई स्मरण गर्दै नेपाली जनतालाई पूर्ण अधिकार सम्पन्न र देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न म सबैको ध्यानाकर्षण गराउन चाहान्छु । सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु । महान् सहिदहरुप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।’

जनयुद्द र जनआन्दोलनका कारण प्राप्त संविधानको कार्यान्वयनका लागि हातेमालो गरौं– प्रधानमन्त्री

काठमाडौं, माघ १६ । प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनमार्फत आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले नेपालमा चलेका बिभिन्न आन्दोलनहरुको उपलब्धिका रुपमा प्राप्त उपलब्धि रक्षा गर्न जोड दिएका हुन । पढ्नुस् प्रधानमन्त्रीको सन्देश नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । शहिद दिवस, २०७३ को यस अवसरमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा महान् शहिदहरूको योगदान उच्च रहेको छ । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदहरूको योगदान सधंै स्मरणीय रहनेछ । राणाकाल शुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु । यसका लागि शहिदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक छ । यस अवसरलाई हाम्रो राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महशुस गर्न सकुन् भन्ने उद्देश्यले सरकारले त्यसतर्फ निरन्तर प्रयास गरिरहेको छ । आजको ऐतिहासिक दिनबाट शान्ति र विकास सहितको समुन्नत् भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म सबैमा हार्दिक आव्हान गर्दछु ।

बिहानै त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

रत्ननगर (चितवन),  माघ १६ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ । चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ । बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

बारको आकस्मिक बैठक, देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, १६ माघ । उच्च अदालतका न्यायाधीश सिफारिसमा तीनजना पदाधिकारीको मिलोमतोमा एकतर्फी निर्णय गरेको भन्दै सरकारी वकिलले गरेको इजलास बहिष्कार कार्यक्रम सेलाउन नपाउँदै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलन घोषणा गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– बारको शनिबार बसेको आकस्मिक बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिसले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई बेवास्ता गरेको आरोप प्रधानन्यायाधीश कार्कीविरुद्ध लगाएको छ । आगामी नियुक्तिमा संविधान र न्यायपरिषद् ऐनका प्रावधानलाई ध्यानमा राखिने प्रतिबद्धता र सहमतिपछि सरकारी वकिलले बिहीबार मात्रै आफ्नो आन्दोलन फिर्ता लिएका थिए तर त्यो आश्वासनकै आधारमा आश्वस्त हुन नसक्ने निष्कर्षमा बार पुगेको छ । पुस २८ मा परिषद् सदस्य रहेका आफ्ना प्रतिनिधि र वरिष्ठ न्यायाधीशको उपस्थितिबिनै मध्यरातमा संविधानविपरीत उच्च अदालतमा ८० न्यायाधीश सिफारिस गरिएको भन्दै स्मरणपत्र बुझाउन पुगेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई प्रधानन्यायाधीश कार्कीले भेट्न अस्वीकार गरेपछि बार अपमानित र थप क्रुद्ध बनेको हो । नेपाल बारले शनिबार सर्वोच्च बारको समेत सहमतिमा आन्दोलनमा उत्रने निर्णय लिएको हो । उक्त निर्णय लिनुपूर्व न्यायाधीश सिफारिसमा भएका गतिविधि र भूमिकाबारे बारबाट परिषद् सदस्य रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलासँग पनि बारले छलफल गरेको थियो । छलफलमा सहभागी एक सदस्यका अनुसार सिटौलाले आफूले प्रस्ताव गरेका नाम प्रधानन्यायाधीशद्वारा काटिन थालेपछि बैठकमा सामेल हुनुको औचित्य नदेखेर बहिष्कार गरेको प्रस्टीकरण दिएका थिए । उनले न्यायाधीश नियुक्ति सिफारिसमा आफ्नो कुनै सल्लाह र सम्मति नरहेको पनि प्रस्ट्याएका थिए । बार बैठकले उच्च अदालतमा गरिएको न्यायाधीश सिफारिसको आधार तथा मापदण्ड पारदर्शी नरहेको, परिषद्का दुई सदस्यको अनुपस्थितिमा मध्यरातमा अस्वाभाविक ढंगले संविधानको मर्म र न्यायपरिषद् ऐनको दफा ५ ९१० विपरीत निर्णय भएको, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडिएको क्षेत्रको उचित प्रतिनिधित्व नभएको एवं प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन भएको ठहर गरेको छ । परिषद्को निर्णय हुनुमा प्रधानन्यायाधीश कार्कीको ‘गैरजिम्मेवारपूर्ण’ कार्य जिम्मेवार रहेको भन्दै स्तब्ध भएको बारले जनाएको छ । स्वतन्त्र र सक्षम न्यायपालिकाको जबाफदेही र न्यायप्रति आम नागरिकको अपेक्षाभन्दा बाहिर गई न्यायाधीश नियुक्त भएको निष्कर्षसहित बार आन्दोलनमा उत्रेको हो । गत माघ ११ मा प्रधानन्यायाधीश कार्कीले बार र सर्वोच्च अदालत बार पदाधिकारीलाई भेट्न अस्वीकार गरेपछि उनीहरू तीनदिने अल्मिेटमसहितको ज्ञापनपत्र परिषद् सचिवालय र वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य गोपाल पराजुलीलाई बुझाएर फर्केका थिए । ‘सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष श्री सुशीला कार्कीबाट बार र कानुन व्यवसायीको अस्तित्वलाई स्वीकार नगरी निषेधको मानसिकताबाट अग्रसर भई संविधानले निर्धारण गरेका कतिपय व्यवस्थाको पालना गर्न वर्तमान प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिकाबाट पन्छिएर स्वतन्त्र, सक्षम उत्तरदायी न्यायपालिकामा प्रत्यक्ष रूपमा असर पर्ने गरी निर्देशित न्यायपालिका बनाउन खोजेको नेपाल बारको ठहर छ’, बार केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ । वार्ता, संवाद र सहमतिबाट मात्र न्यायिक स्वाभिमानको रक्षा हुनसक्ने बारले जनाएको छ । बारले आफ्ना मुलुकभरका बार एकाइमा विरोधका कार्यक्रम अघि बढाउन शनिबार नै सर्कुलरसमेत गरेको छ । बारले माघ १७ गते दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म बारपरिसरमा कानुन व्यवसायीको भेला गरी विरोध कार्यक्रममा सहभागिताका लागि आह्वान गर्ने भएको छ । यस्तै १८ गते १० बजेदेखि १२ बजेसम्म कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर विरोध गर्ने र १९ गते दस बजेदेखि १ बजेसम्म मुलुकभरका अदालतमा बहसपैरवी बहिष्कार गर्ने निर्णय बारले लिएको छ । यस्तै प्रधानन्यायाधीश र सर्वोच्च अदालतले आयोजना गर्ने कुनै पनि कार्यक्रमसमेत बहिष्कार गर्ने र बारले पनि प्रधानन्यायाधीशलाई कुनै कार्यक्रममा नबोलाउने निर्णयसमेत लिइएको छ । न्यायपरिषद्बाट संवैधानिक इजलास गठन नहुन्जेलसम्म संवैधानिक मुद्दामा इजलासको सहयोगका लागि नेपाल बार र सर्वोच्च अदालत बारबाट खटिएका ‘एमिकस क्युरी’ बहसपैरवीमा उपस्थित नहुने निर्णयसमेत लिइएको छ । हाल एमिकस क्युरीका लागि नेपाल बार र सर्वोच्च बारबाट बाह्रजना कानुनविद्लाई सर्वोच्चमा खटाइएको छ । नेपाल बारले हाल न्यायाधीश सिफारिसविरुद्ध विभिन्न बार एकाइमा चलिरहेको विरोध कार्यक्रमलाई समर्थन जनाएको छ । बार अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश नियुक्तिमा बारलाई उपेक्षा गर्दै न्यायपालिका नेतृत्वबाट भेट नदिएर अपमानसमेत गरिएको बताए । निर्णय सच्याउन तयार नभएसम्म आन्दोलन नरोकिने भनाइ उनले राखे । ‘उल्लिखित कार्यक्रमप्रति सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्षको गम्भीर ध्यानाकर्षण गराउँदै यथासमयमा यसतर्फ ध्यान नदिएमा आगामी दिनमा योभन्दा कडा कार्यक्रम नेपाल बारले सार्वजनिक गर्ने र यसको सम्पूर्ण जबाफदेही न्यायपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बेहोरासमेत अनुरोध गर्दछु’, बैठकपछि चेतावनीको भाषामा बार महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बारले उच्च अदालतमा भएको न्यायाधीश सिफारिसलाई लिएर अघिल्लो साता वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतसँग रायसुझावसमेत लिएको थियो ।

प्रचण्डले बाबुरामलाई भने- दोधारमा होईन, खुकुरीको धारमा छु

काठमाडौं, १६ माघ । प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच शनिबार एक सार्वजनिक कार्यक्रममा सवाल–जवाफ भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई नेताबीच आसन्न स्थानीय तह निर्वाचनको विषयलाई लिएर सवाल–जवाफ भएको हो । आजको नयाँ पत्रिकामा खबर छ– कार्यक्रमलाई पहिले सम्बोधन गरेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रधानमन्त्री दोधारको अवस्थामा रहेको बताए । ‘मधेसी मोर्चाको माग सम्बोधन गरेर जाने वा त्यसै निर्वाचनमा जाने भन्ने दबाबका कारण प्रधानमन्त्री दबाब र अप्ठ्यारोमा परेको जस्तो देखिँदै छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले के हो प्रस्ट पार्नुपर्छ । यसरी चल्नेवाला छैन ।’ भट्टराईपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफू दोधारमा नभई खुकुरीको धारमा रहेको बताए । ‘दायाँबायाँ दुवैतिर खुकुरकिो धार छ । बीचबाट जोगिएर हिँड्नुपर्ने परिस्थिति हाम्रोसामु छ,’ प्रधानमन्त्रीले भने । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै चुनौतीलाई अवसरमा बदल्न सकिने भन्दै प्रधानमन्त्रीले थपे, ‘हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतीलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’ file photo