मधेशी मोर्चा बालुवाटारमा, नयाँ मोर्चाबन्दीको रणनीति तयार हुने

काठमाडौं, माघ २१ । निर्वाचनका लागि आवश्यक कानुन निर्माण भइसकेकोले तयारीमा जुटन निर्वाचन आयोगलाई औपचारिक अनुरोध गर्ने मन्त्रीपरिषदको निर्णयपछि राजनीति समीकरण नयाँ मोडमा पुगेको छ ।
चुनावको सोझै मिति घोषणा नगरी निर्वाचन आयोगलाई तयारीका लागि अनुरोध गरेर घुमाउरो पाराले चुनावको घोषणा गरेको सरकारले यस विषयमा थप स्पष्ट पार्न मधेसी मोर्चालाई छलफलमा बोलाएको छ । प्रधानमन्त्रीको निमन्त्रणमा व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय निकायको चुनावका बारेमा साझा धारणा बनाउन मधेसी मोर्चाका नेताहरु बालुवाटार पुगेका छन् ।
मधेसी मोर्चाका नेताहरुले पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्नुपर्ने, संविधान संशोधन गरेर मात्रै स्थानीय निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । यद्यपी एमालेले लिएको अडानको भने मोर्चाले समेत कडा बिरोध गर्दै आएको छ । आजको छलफलमा संविधान संशोधन प्रस्तावलाई प्रक्रिया अनुसार अगाडि बढाउने र दुई तिहाई पुर्याउने विषयमा कुरा हुने बताइन्छ ।
प्रधानमन्त्री प्रचण्डले एमालेले बिरोध जारी राखेपनि संशोधन प्रस्तावलाई प्रक्रिया अन्तर्गत टुंगोमा पुर्याउन संसद सचिवालयसँग छलफल गरिसकेको यसअघि नै जनाई सकेका छन् । यसैगरी पुनःसंरचना आयोगको प्रतिवेदनमाथि २ नं. प्रदेशका बारेमा सरकारले समिति गठन गरिसकेको छ । मधेसी मोर्चाको आपत्तीलाई यो समितिले अध्ययन गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा सरकार जुटेको छ ।
आजको छलफलले संविधान संशोधन र निर्वाचनका लागि एमालेलगायतका प्रतिपक्षी दलहरुले जारी राखेको बिरोधलाई एकीकृत ढंगले कसरी सामना गर्ने भन्ने विषयमा छलफल गरेर साझा रणनीति बनाउने देखिन्छ ।

खनालले भने–‘एमालेले चुनाव गराउन प्रचण्ड सरकारलाई सहयोग गर्छ’

काठमाडौँ, माघ २१ । नेकपा एमालेले चुनावको लागि पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सहयोग गर्ने बताएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको चुनाव घोषणा गर्ने तयारी गरेको सरकारलाई एमालेले कुनै हालतमा पनि सहयोग गर्ने एमालेको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । शुक्रबार एक रेडियोलाई अन्तर्वार्ता दिदैँ पूर्वप्रधानमन्त्री खनालले सरकारले ढिलै भएपनि एउटा राम्रो काम गरेको र चुनावका लागि वातावरण बनाएको बताए । यतिबेला राष्ट्रको मुल एजेण्डा चुनाव र संविधान कार्यान्वयन भएको उनले बताए । एमालेले चुनावका विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको उनको भनाई थियो । खनालले संविधान संशोधन भने अहिले हुन नसक्ने दोहार्याए । अहिले संसोधन भन्दा भन्दा पनि कार्यन्वयनमा जोड दिनुपर्ने उनको तर्क छ । “अहिले संविधानको कार्यन्वयन गर्ने समय हो” नेता खनालले भने “सविधान कार्यन्वयन गर्न छोडेर अरू काममा लाग्नु हुँदैन ।” सरकारले पेश गरेको सविधान संशोधन प्रस्तावले राष्ट्रलाई हिंसा, झगडा र अशान्ततिर धकेकलेको उनले बताए । ‘पहिले चुनाव सकौं त्यसपछि संविधान संशोधनतिर लाग्नुपर्छ । जुनपायो त्यही बेला जे विषयमा पनि संशोधन गर्न खोजेर हुन्न’ खनालले भने, ‘समय आएपछि संविधान संसोधन हुन्छ।’

द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग

काठमाडौँ,  माघ २१ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितको माग सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको छ । द्वन्द्वपीडित साझा चौतारीले बिहीबार आयोजना गरेको अन्तरक्रियामा पीडित परिवार तथा अधिकारकर्मीले उच्चस्तरीय मानव अधिकार आयोगले पीडित पक्षलाई सामाजिक न्याय उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । मानवअधिकारकर्मी चरण प्रसाईंले अन्यायमा परेका समुदायलाई न्याय उपलब्ध गराउने जिम्मेवारी आयोगको भए पनि आयोग गठन भएको लामो समय हुँदा पनि पीडितले न्याय प्राप्त गर्न नसकेको औँल्याउनुभयो । अधिवक्ता दिनेश त्रिपाठीले द्वन्द्वका घाउलाई मेटाउन पीडितलाई सामाजिक न्याय दिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके अन्तर्राष्ट्रिय अदालतमा सो विषयलाई केन्द्रित गर्ने बताउनुभयो । एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुइँकेलले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाही गर्नसक्ने गरी सशक्त आयोग बनाउनुपर्ने बताउँदै यी घटनाको समाधान देशभित्रै खोज्नुपर्ने र त्यसो हुन नसके अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने सुझाव दिनुभयो । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका दुई वर्षका उपलब्धि उजुरी दिने कार्यमा मात्र सीमित रहेको बताउनुभयो । रासस

भारतलाई बेच्नै पर्दैन बिजुली, जति उत्पादन गरेपनि हामीलाई नै चाहिन्छ– प्रधानमन्त्री

खिम्ती, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भारतले बिजुली किन्दैन’ भन्ने बहाना बनाएर विद्युत उत्पादनमा अवरोध सिर्जना गरिएको बताएका छन् । खिम्ती–ढल्केबार २२० केभी प्रसारण लाइनको उद्घाटन गर्दै प्रचण्डले विद्युत उत्पादन बिजुली बाल्नका लागि मात्रै नभएर समग्र आर्थिक समृद्धिका लागि अत्यावश्यक रहेको बताए । जलविद्युत र उर्जा क्षेत्रमा नेपाल संसारमा नै उत्तम भएको बताउँदै प्रधानमन्त्रीले प्रसारण लाइनको अभावमा थुप्रै आयोजना रोकिएका वा सम्भाव्यता अध्ययन नै नभएको टिप्पणी गरे । विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार भएकोले नेपालको भविष्य कायापलट ल्याउन सक्ने उनको जिकिर थियो । नेपालमा जलविद्युत उत्पादन गर्न नचाहने तत्वहरुले गर्दा विद्युत उत्पादन हुन नपाएको बताउँदै प्रचण्डले भारतको निहुँ बनाएर किन उत्पादन गर्ने भन्ने तर्क दिने गरेको बताए । “भारतले विजुली किन्दैन, अनि किन बिजुली उत्पादन गरिाख्ने भन्ने सोचाई छ” प्रचण्डले भने, “यो विद्युत उत्पादनबारेको परम्परागत र गलत सोचाईं हो ।” हामीले बिजुलीको उत्पादन बत्ती बाल्नका लागि मात्रै हो भन्ने सोचाई नै गलत भएको उनको टिप्पणी थियो । नेपालमा उत्पादन भएको बिजुली आर्थिक समृद्धिका लागि उपयोग गर्ने हो भने नेपालमा नै यसको खपत हुने उनको भनाई थियो । “उद्योग, कलकारखाना, शिक्षा, पर्यटन, कृषिमा आधुनिकीकरण गर्नमा हामीले उत्पादन गरेको बिजुली खपत हुन्छ ।” उनले भने, “यसबाट हजारौंलाई रोजगारी दिन सकिने र देशलाई नै आर्थिक समृद्धिको दिशामा लैजान सकिन्छ” । हजारौं मेघावट विद्युत् नेपालमै खपत हुन सक्छ ।” उर्जा मन्त्रीमा जनार्दन शर्माको क्षमता बुझेर जिम्मेवारी दिएको प्रचण्डले बताए । “क्षमता देखेर नै उर्जा मन्त्रालयको जिम्मा दिएको हुँ । कुलमानजीलाई कार्यकारी निर्देशक बनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सही जिम्मा दिँदा ठूलो उपलब्धि हुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता देखायो भने ठूलै काम हुँदो रहेछ ।” नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउन समेत ठूलो संघर्ष गर्नुपरेको प्रधानमन्त्रीको भनाई थियो ।

निर्वाचन सम्बन्धी थप एक विधेयक पारित, सरकारलाई चुनाव गराउने बाटो खुल्यो

काठमाडौं, माघ २० । व्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी थप एउटा विधेयक पारित गरेको छ । बिहिबार बसेको संसदको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक पारित गरेको हो । यसले सरकारलाइ स्थानीय तह निर्वाचन गर्ने बाटो खुलेको छ । योसँगै निर्वाचनसँग सम्बन्धित ४ वटा बिधेयक संसदबाट पारित भएका छन । मस्यौदा भएका मध्ये एउटा बिधेयक समितिमा छलफलको क्रममा छ । राजनीतिक दलसम्बन्धी विधेयकबारे राज्यब्यवस्था समितिमा छलफल भएपनि थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्नेमा दलहरुबीच बिबाद भएका कारण सहमति हुन सकेको छैन । बुधबार राज्यव्यवस्था समितिले हिजोको बैठकमा प्रतिवेदन सहित प्रस्तुत गरेको उक्त विधेयक आज बहुमतले पारित भएको हो । संसदले यसअघि निर्वाचन कसुर तथा सजाय, मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी विधेयक पारित गरिसकेको थियो ।

एमाले अध्यक्ष ओलीको प्रस्ताव-हाउजिङ र प्लटिङ निर्माण रोकौं !

काठमाडौँ, माघ २०। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताए । “किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती गर्ने बानी छ”, उनले भने –“नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ ।” भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएकाले भूमिको समान वितरण गरेर राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । उहाँले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर देशलाई राजनीतिक सङ्क्रमणकालबाट टुङ्ग्याउनुपर्ने पनि बताए । एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गरे । सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराए । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ । रासस

जनकपुरबाट पक्राउ परे सीके राउत

जनकपुर, माघ २० । पछिल्लो समय जनकपुर केन्द्र बनाएर तराईका जिल्लामा खुलेआम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै आएका सीके राउतलाई प्रहरीले प्रक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई विखण्डन गर्न खोज्ने कसैलाई नछोड्ने बताइरहेका बेला उनी प्रकाउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले सिराहाले पक्राउका लागि जिप्रका धनुषालाई पत्र पठाएपछि धनुषा प्रहरीले राउतलाई पक्राउ गरेको जनाएको छ । दिउँसो तीन बजे प्रहरी टोली राउत पक्राउ गर्न जनकपुरको पुरानो बसपार्क नजिकै रहेको राउतको डेरामा पुगेको थियो। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै आएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो। सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सभापति देउवाले भने-‘प्रजातन्त्र बलियो बनाउन तीन तहको चुनाव’

काठमाडौँ, माघ २०। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को बिहिबार लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताए । उनले भने “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।” पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा ९एमाले०ले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उहाँको भनाइ थियो । उनले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उल्लेख गरे । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको बताए । उनले भने– “संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ ।” मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरे । पुस्तकका टिप्पणीकार एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले नेपाली काँग्रेसले पछ्याएको बाटोलाई पुस्तकले समेटेको बताउँदै उक्त पुस्तक नेपाली काँग्रेस पार्टीकै दस्तावेज बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने– “काँग्रेसले पार्टीभित्र निष्ठा राख्ने र पार्टीलाई योगदान गरेका व्यक्तिलाई पाखा लगाउने प्रवृत्ति बढेको छ त्यो गलत हो ।” टिप्पणीकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले पुरानो पुस्तादेखि नयाँ पुस्ताका लेखकको विचार समेटेकाले पठनीय रहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको गुटउपगुटको राजनीतिलाई पुस्तकले राम्रोसँग केलाएको उल्लेख गरे । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले काँग्रेसले पटकपटक गरेका आन्दोलन स्थायी हुन नसक्नु काँग्रेसको कमजोरी भएको बताए । समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषाङ्क निकालिसकेको छ । समाजका महासचिव गोकर्ण अर्यालका अनुसार समाजले ४० भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरिसकेको छ ।

मन्त्रीपरिषदको बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने !

  काठमाँडौँ, माघ २० । सरकारले आज स्थानीय तहको चुनाव मिति घोषणा गर्ने भएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचन घोषणा गर्ने तयारी गरेको हो । चुनाव मिति घोषणा गर्ने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती-ढल्केबर प्रशारण लाईन उद्घाटन सकेर राजधानी फर्किसकेका छन् । आज ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डले खिम्तीमा आयोजित एक कार्यक्रममा जानकारी दिए । “यता इतिहासमैं पहिलोपटक २२० केभी प्रसारण लाइनको उदघाटन गरे, एकैछिनपछि संविधान कार्यान्वयनका लागि आवश्यक निर्वाचनबारे निर्वाचन आयोगलाई निर्देशित गर्ने निर्णय हूँदैछ” प्रचण्डले भने संबिधान संशोधनको प्रस्तावलाई समेत प्रक्रियामार्फ़त सदनमा अघि बढाउन संसद सचिवालयसँग छलफल भाएको प्रचण्डले बताए केही तत्वहरू यथास्थितिमैं बस्न खोजेको र एतिहासिक उपलब्धि खोस्न लागेकोमा प्रचण्डले आपत्ति जनाए नेपाल र नेपालीको एकता ख़तरामा पारने, देशलाई बिखण्डन गर्न खोज्ने तत्वहरुलाई कडडा कारवाही गर्ने समेत प्रचण्डले बताए नेपाल र नेपालीको एकत्वलाई कसैले चुनौती दिन नसक्ने प्रचण्डको भनाइ थियो

यस्तो फाइदा हुन्छ खिम्ती-ढल्केबर प्रशारण लाईनबाट

दोलखा, खिम्ती, माघ २० । खिम्ती-ढल्केबर प्रशारण लाईन अौपचारिक रुपमा जोडिएपछि उपत्यका लगायत देशका धेरै जिल्लामा लोडसेडङ अन्त्य गराउन महत्वपूर्ण सफलता मिलेको छ । प्रशारण लाईनको प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार एक कार्यक्रमबीच उद्घाटन गरे । २०६२ ०६३ मा सुरु भएको खिम्ती-ढल्केवर प्रशारण लाइनको निर्माण छिटो सकाउन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले पटक पटक निरीक्षण र ताकेता गरेका कारण समयमै सम्पन्न हुन सकेको हो । विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ सक्रिए भए । ३ वटा निर्माणकम्पनी संलग्न यो प्रसारण लाइनमा ७२० केभीसम्म बिध्युत चार्ज गर्न सकिंने कार्यकारी प्रमुख घिसिङले बताए । तर अहिले भने २२० केभी प्रसारण गरिएको उनले जानकारी दिए । परियोजना निर्माणका क्रममा २ हजार रोपनी जग्गा अधिग्रहण गरिएको थियो । प्रशारण लाईनबाट के फ़ाइदा हुन्छ ?  प्राधिकरणका प्रमुख घिसिङका अनुसार यो प्रशारण लाईन सम्पन्न भएपछि राजधानीमा बिजुली ल्याउँदा अन्य ठाउँलाई भार हुँदैन । यसअघि काठमाडौं उपत्यकामा बिजुली ल्याउँदा पोखराको बिजली प्रयोग गरेर पोखरालाई भार पर्ने गरेको थियो तर अहिले यो प्रसारण लाईनलाई काठमाडौंसँग जोड़ेको कारण खसम्तीको बिजुली सिधै उपत्यका पुर्याउन सजिलो भएको उनले बताए ।   यसले पोखराको लोडशेडिंग अन्त्य गर्न समेत ठुलो सहयोग गरेको उनले जानकारी दिए । अब पोखरामा हामीले निर्धक्क भएर लोडसेडिङ अन्त्य भएको छ । ढल्केबर या खिम्तीमा समस्या आए पनि वैकल्पिक रूपमा  एउटामा समस्या देखिए अर्कों बाट पठाउन सकिने भएको छ । बिरगंज लगायत् का क्षेत्रमा पावर भोल्टेज कम भएर उद्योग चल्न नसकने समस्या अन्त्य भएको छ । यो नेपाल र पहाड़ जोड़ने महत्वपूर्ण प्रसारण लाइन बनेको छ । यसबाट भारतलाई बिजली बेच्न या ख़रीद गर्न महत्वपूर्ण सहयोग पुग्ने घिसिङले जानकारी दिए । खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण भएपछि तामकोशी करिडोर लगायतका क्षेत्रमा निर्माणाधीन बिध्युत परियोजनाहरूबाट उत्पादन हुने बिजुली निर्यात गर्न सकिने भएको छ । यसैगरी रामेछाप दोलखा र ओखलढुङ्गाका परियोजनाको बिध्युतमा पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यो परियोजनाबाट प्रभावित ३ ज़िल्लाका ५५ गाविसमा १ अरबको बिध्युतिकरण कार्यक्रम शुरू भएकों छ ।  नेपाल सरकार, विश्व बैङ्क लगायतको सहयोगमा कुल दुई अरवको लगानीमा यस योजना बनेको हो ।

२२० केभी प्रसारण लाईन उदघाटन गर्न प्रचण्ड खिम्तीमा

खिम्ती, माघ २० । प्रधानमन्त्री रामेछापको खिम्ती २२० केभी प्रशारण लाईनको उद्घाटन गर्न दोलखा पुगेका छन् । यसअघि १३२ केभी प्रशारण लाइन रहेको खिम्ती आजैदेखि २२० प्रशारण लाइनमा जोडिएको हो । बिहिबार विहान पुगेका प्रधानमन्त्रीको साथमा उर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ रहेका छन् । प्रधानमन्त्रीलाई खिम्तीमा भव्य स्वागत गरिएको छ । स्वागतमा नेपाली कांग्रेस, माले, नयाँ शक्ति, विप्लव नेतृत्वको माओवादी र बैद्य माओवादीले स्वागत गरेका हाम्रा सहकर्मी गोकर्ण भट्टले जनाएका छन् । खिम्तीमा रहेको खिम्ती–ढल्केबर प्रशारण लाइनको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको उक्त प्रशारण लाइनको उर्जामन्त्री जनार्दन शर्माको कडा निर्देशनले तीव्र रुपमा निर्माण भएको हो । खिम्ती–ढल्केबर प्रशारण लाइन माघ १ गतेदेखि परीक्षण प्रसारण शुरु गरिएको थियो । उक्त आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका लाभान्वित भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भनिए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो । prachanda-khimti 1 prachanda-khimti 2 prachanda-khimti 3 prachanda-khimti 5 prachanda-khimti 7 prachanda-khimti कार्यक्रमको अध्यक्षयता कुलमान घिसिङले गरेका छन् । प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड रहेका छन् । विशेष अतिथि उर्जामन्त्री जनार्दश शर्मा प्रभाकर रहेका छन् । एमाले कांग्रेस, माओवादी, माले नयाँ शक्ति विप्लव बैद्य माओवादी राप्रपा सबै दल उपस्थित रहेका छन् ।

नेविसंघलाई माउ पार्टीको निर्देशन ! पहिलो बन्नेगरी स्ववियु चुनावमा होमिनु

काठमाडौं, माघ २० । नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन निर्देशन दिएको छ । नेविसंघले त्रिभुवन विश्व विद्यालयले तोकेको उमेर हद अनुसार चुनावमा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएपछि माउ पार्टीले चुनावमा लाग्न निर्देशन दिएको हो । बिहिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन नेविसंघलाई निर्देशन दिएको हो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु र नेविसंघका वर्तमान पदाधिकारीसमेत सहभागी थिए । बैठकमा सभापति देउवाले नेविसंघका नेताहरुलाई सबै असन्तुष्टि त्यागेर स्ववियु निर्वाचनमा होमिन निर्देशन दिएका हुन् । ‘यो निर्देशनसँगै नेविसंघमा जुन समस्या थियो त्यो सबै अन्त्य भएको नेविसंघका सभापति नैनसिंह महरले जानकारी दिए । ‘अब हामी एक भएर स्ववियु निर्वाचनमा जानेछौं,’ उनले भने, ‘म नेविसंघका सबै साथीहरुलाई निर्वाचनमा होमिन र आजैदेखि निर्वाचनको प्रचार प्रसारमा जुट्न निर्देशन दिन्छु,’ उनले भने । नेविसंघको असन्तुष्ट पक्षले उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायत विरोधका कार्यक्रम गरिरहेका थिए। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेको छ। उक्त चुनावमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली लागू गर्ने बताएको छ।

सरकार ! खडेरीले गाउँ खायो, हामी भोकै छौं

मुगु, माघ २० । मुगु हयाङलुकी चिनकला रोकायाको तीन रोपनी खेत छ । पाँच जनाको परिवार, बिहान बेलुकाको छाक टार्न त्यही खेतको भर हो । उनको खेतमा वर्षमा झन्डै छ क्वीन्टल धान फल्थ्यो । तर यो बर्ष खडेरीका कारण धान पसाउनै पाएन । चिनकलाको खेतमा धानका बालामा एक दाना पनि लागेनन् । भन्छिन, ‘धान भएन, कोदो भएन । अहिले रुन परिरहेको छ । सरकारले दया गर्यो भने खाने हो नत्र के गर्नु ? मर्ने त होला ।’ चिनकलाकै जस्तो अवस्था अहिले हयाङलुका सबै परिवारको छ । हयाङलु सँगै मुगु श्रीकोट भेगका सात वटा गाविसका बासिन्दालाई खडेरीले पिरोलेको छ । सीमाना जोडिएको हुम्लाको समस्या पनि उही हो । हुम्लाको श्रीनगरका किसानले बाली भित्र्याउन नपाएको तीन वर्ष भयो । डिपोमा चामल छैन । हुम्ला मैला गाबिसकी धनरुपा जोशी भन्छिन, ‘पहिले पहिले अ‍ैंचो पैँचो नि गरेर खायौं । तर अहिले त सबैको अन्न सकिइसक्यो । नेताले दिन्छौं दिन्छौं भन्छ तर दिन्नन् । अब सुविस्ता हुन्छ कि भन्यो । केही भएको छैन । भोकले मर्ने भयौं ।’ सरकारले खडेरी पिडीतलाई राहत स्वरुप गएको जेठमा चामल दियो । तर त्यति चामलले के पुग्थ्यो ! त्यो त समस्याको क्षणिक समाधानको रुपमा मात्र देखियो । यही खडेरीको समस्यासँग जुधिरहेको बाजुराको उत्तरी क्षेत्रका ११ गाविसमा यो वर्ष ४० बर्ष यताकै लामो खडेरी पर्यो । त्यहाँ मकै कोदो तथा धान भएन । बिउहरु पाइएन । पानीका भएका मुलहरु सुके । मान्छेहरु तीनवटा रोटी खाने ठाउँमा दुईवटा र दुईवटा खाने ठाउँमा एउटा खाएर जीवीकोपार्जन गरिरहेका छन् । तीन साल देखि लगातार खडेरीले थिलाथिलो पारेको ठाउँमा अहिले खुर्सानी पनि नहुने स्थीती छ । खडेरीले गर्दा खाद्यान्न संकट पर्दै गएको छ । समस्या दिनानुदिन बढिरहेको छ । तर जिल्ला कृषि विकास कार्यलय बाजुराका प्रमुख डा. रामकृष्ण श्रेष्ठ भन्छन्, ‘खाद्यान्न अभाव चाहिँ भएको हैन । मान्छेहरुमा क्रय शक्तिको अभाव चाहिँ पक्कै हो । यो एक प्रकारको समस्या हो । त्यसलाइ सम्बोधन गर्न राज्य क्रियाशिल छ । त्यसैले १३ गाविसका दश हजार परिवारलाइ पोहोर एक किलोको दरले गहुँको बिउ बाँड्यौं । यो बर्ष पनि २३५ क्वीन्टल गहुँको बिउ बाँडयौ । यसले सुख्खा खडेरीसँग जुध्न निकै सहयोग गर्ला भन्ने अपेक्षा राखेका छौं । यसका साथै परम्परागत बालीहरु फापर, कागुनो लगाउने र पानीका श्रोतहरु बचाउने अभिनायमा हामी लागेका छौं ।’ तीन बर्ष भयो, हुम्ला मुगु र बाजुराका उत्तरी क्षेत्रका बासिन्दाहरु खडेरी र खडेरीले खाद्यान्न उत्पादनमा भएको ह्राससँग पौंठेजोरी खेलिरहेका छन् । विगत तीन बर्षदेखि त्यहाँका बासिन्दाहरु खडेरीको मारमा छन् । लगाए पनि बाली हुँदैन । कुनै कुनै बाली त नपसाइकन नै सुक्छन् । त्यसै त उत्पादन कम हुने ठाउँ, त्यसमाथि खडेरी, गाउँलेका घरमा अन्नको एक गेडा पनि नभएको अवस्थामा उनीहरु रोजगारीको लागि भारततिर छिर्न बाध्य भएका छन् ।

खिम्ती–ढल्केबर प्रशारण लाइनको आज अौपचारिक उद्घाटन हुने

काठमाडौं, माघ २० । दोलखाको खिम्तीमा रहेको खिम्ती–ढल्केबर प्रशारण लाइनको बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अौपचारिक उद्घाटन गर्ने भएका छन् । आज बिहान  साढे ११ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको उक्त प्रशारण लाइनको निर्माण कामले तीब्रता पाएको थियो । खिम्ती–ढल्केबर प्रशारण लाइन माघ १ गतेदेखि परीक्षण प्रसारण शुरु गरिएको थियो ।  उक्त आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका लाभान्वित भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भनिए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो ।

संशोधन प्रक्रियालाई तत्काल अघि बढाउनु पर्छ : डा.भट्टराई

विराटनगर, माघ १९ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनलाई थाती राखेर चुनावमा जान नसकिने बताएका छन् । उनले संविधानको स्वीकार्यता बढाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका छन् । मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभालाई सम्बोधन गर्दै डा.भट्टराईले संशोधन प्रकृयालाई थाती राखेर अघि बढे यसले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्ने उनले बताए । पूर्वप्रधानमन्त्री भट्टराईले अहिले मुलुक सामु एकल जातीय अहंकारवाद र सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै गएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवादी छ भने अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै जाँदा देशलाई विभिन्न बहानामा टुक्राउने कुरा गरेका छन् ।’

कामकाज ठप्प पारेर देशभरका गाविस सचिवहरु आन्दोलनमा

काठमाडौं, माघ १९ । प्रोत्साहन भत्ता रोकेको विरोधमा देशभरका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कामकाज गर्नुपर्दा शतप्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने लगायत १२ बुँदे माग राखेर गाविस सचिवहरु कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेपछि गाविस सचिवहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुबाईमा आजबाट गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १५ वर्षदेखि जनप्रतिनिधि विहीन भएको अवस्थामा सबै काम गर्नुपरेको र गतवर्षदेखि दिन थालेको प्रोत्साहन भत्ता साउनदेखि नपाएको भन्दै आन्दोलन गरेका छन् । गाविस सचिवले सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तहमा राख्न, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्न, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धि सहितको अवकाश योजना ल्याउन पनि माग गरेका छन् ।