निर्वाचन आयोगमा १ सय २२ दल दर्ता

काठमाडौं – निर्वाचन आयोगमा १ सय बाइस दल दर्ता भएका छन् । सबै दल सबै जिल्लामा सक्रिय छैनन् । सबैभन्दा बढी काठमाडौंमा ४५ र सबैभन्दा कम मनाङमा ६ दल सक्रिय रहेको निर्वाचन आयोगको तथ्यांक छ ।

आयोगले १७ माघभित्र दलहरूलाई अद्यावधिक हुन समयसीमा तोकेको थियो । जसअनुसार दलहरूले जिल्ला निर्वाचन कार्यालयमा अद्यावधिक गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लाबाट आएका नामावली अध्ययन भइरहेका कारण दलको पूर्ण विवरण तयार नभइसकेको बताए । आयोगका अनुसार काठमाडौंपछि पर्सामा ४० दल क्रियाशील छन् । ललितपुरमा ३६ र भक्तपुरमा ३५ दल सक्रिय छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

तराईमा धेरै दल
संविधानको धारा २६९ अनुसार दर्ता भएका दलहरूको जिल्लागत विवरणअनुसार तराईमा धेरै दल क्रियाशील देखिएका छन् । १७ माघमा अद्यावधिक गरेको विवरणमा सर्लाही र सुनसरीमा ३७, मोरङ, धनुषा र बारामा ३६, रौतहटमा ३५, नवलपरासीमा ३२, झापा, सप्तरी, सिरहा र रुपन्देहीमा ३१ दल क्रियाशील छन् ।

सबैभन्दा कम मनाङ र मुस्ताङमा
निर्वाचन आयोगका अनुसार सबैभन्दा कम दल मनाङमा क्रियाशील छन् । मनाङमा ६ र मुस्ताङमा ७, बाजुरा र रसुवामा ९ तथा डोटीमा १० दल क्रियाशील छन् । सोलुखुम्बु, लमजुङ, पाल्पा प्युठान, रोल्पा, डोल्पा, दैलेख र अछाममा ११ दल क्रियाशील रहेको आयोगको तथ्यांक छ । ताप्लेजुङ, खोटाङ, म्याग्दी, जाजरकोट, बझाङ र दार्चुलामा १२ दल क्रियाशील छन् ।

एयरपोर्टमैं हरायो २५ सय डलर

काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला ‘ह्यान्ड ब्याग’ बनाएका थिए । कोरियाली नागरिकको पैसा चोरी भएको घटनाबारे आफूहरूलाई जानकारी नभएको विमानस्थल प्रहरीले जनाएको छ । ‘ह्यान्ड ब्याग’ राख्ने ठाउँमा नअटेपछि कोरियन एयरका कर्मचारीले सुकको झोला अन्य सामान भएकै स्थानमा लगेर राखिदिएका थिए । सुकको अरू सामान कन्टेनरभित्र रहेकाले ह्यान्ड ब्यागमात्र कन्टेनरबाहिर पर्‍यो । त्यसमा सुकको अन्य सामग्रीका साथै पर्समा ५ हजार नेपाली रुपैयाँ र खामभित्र २ हजार ५ सय डलर थियो । उनले ल्याएको जम्मा तीन हजारमध्ये ५ सय डलर विमानस्थल अध्यागमनमा भिसा लिँदा चाहिने भिसा ‘फी’ तिर्न झिकेका थिए । शुक्रबार साँझ काठमाडौं ओर्लिएपछि सुकले ‘ह्यान्ड ब्याग’ हेर्दा खाममा भएको २ हजार ५ सय अमेरिकी डलर र पर्समा रहेको ५ हजार नेपाली रुपैयाँ नभएपछि विमानस्थल प्रहरीलाई खबर गरेको स्रोतले बताएको छ । कोरियाली नागरिकले रकम हराएको जानकारी दिएपछि विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो । ‘म पैसा हराएकोमा कुनै नेपालीलाई दोष लगाउन चाहन्नँ’, कोरियाली नागरिक सुकले भने, ‘मेरो हराएको पैसाभन्दा नेपाल र दक्षिणकोरियाको सम्बन्ध माथि छ।’ नेपाल एयरलाइन्सले कोरियन एयरको ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ । नेपाल एयरलान्यसका कर्मचारीले कोरियन एयरबाट आउने सम्पूर्ण सामान झार्ने र ल्याउने काम गर्छन् । कोरियन नागरिकको पैसा हराएको थाहा पाएपछि विमानस्थल प्रहरीले कोरियन एयरका कर्मचारी, लोडर र ग्राउन्ड ह्यान्डलिङमा काम गर्ने नेपाल एयरलान्सका कर्मचारीलाई सोधपुछ गरेको स्रोतले बताएको छ । प्रहरीले सीसीटीभी दृश्य हेर्दा कसैले पैसा लगेको देखिँदैन । जहाजबाट सामान निकाल्ने क्रममै उक्त रकम चोरिएको हुनसक्ने विमानस्थल स्रोतले बताएको छ ।

बिम्स्टेकको तीन तहका बैठक भोलिदेखि

काठमाडौँ, माघ २२ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि मङ्गलबारसम्म काठमाडौंमा हुँदैछ । बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौँ संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ आयोजना गरेको हो । भोलि र पर्सी हुने संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्नेछन् । माघ २५ गते हुने सदस्य मुलुकका परराष्ट्र/विदेश/बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने हुनेछ भने सचिवस्तरीय बैठकमा बिम्स्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्नेबारेमा मितिसमेत निर्धारण हुनसक्ने संभावना छ । त्यसैगरी बैठकमा बिम्स्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयका साथै बिम्स्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा, कार्यान्वयनको स्थित र भावी कार्ययोजनाबारे छलफल हुने उक्त मन्त्रालयले जनाएको छ । भारतको गोवामा केहीसमय अघि बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷ सरकार प्रमुखहरूको बैठकले सन् २०१७ मा चौथो शिखर सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्का सदस्य रहेको बिम्स्टेक बैठकमा भाग लिन ती मुलुकका उच्च अधिकारी राजधानी आइसकेको महाशाखा प्रमुख भट्टराईले बताए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीले भाग लिने छन् । सदस्य मुलुकबाट १० जनाभन्दा बढी सहभागी हुनेछन् । बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

अनशनरत पक्षलाई सभापति देउवाले दिए यस्तो आश्वासन

सोलुखुम्बु, माघ २२। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस जिल्ला समिति, सोलुखुम्बुको एक वर्षअघि सम्पन्न अधिवेशनबारे छानबिन हुने बताएका छन् । जिल्ला अधिवेशनको मिति घोषणा गर्न माग गर्दै विगत २० दिनदेखि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा रिले अनशन बसिरहेका असन्तुष्ट पक्षका नेता कार्यकर्तासँग भेट गर्दै आज सभापति देउवाले तीन दिनभित्रमा समिति बनाई जिल्ला अधिवेशनका सम्बन्धमा छानबिन सुरु गर्ने आश्वासन दिएका रिले अनशनमा सहभागी काँग्रेस सोलुखुम्बुका नेता चन्द्र आचार्यले जानकारी दिएका छन् । गत वर्ष जिल्ला अधिवेशन स्थगित गरेर केन्द्रीय सदस्य बलबहादुर केसी पक्षधरले एकलौटी रुपमा अधिवेशन सम्पन्न भएको घोषणा गरेको तत्कालीन जिल्ला सभापति आङ्गेलु शेर्पा पक्षधरले आरोप लगाउँदै आएका छन् । उनीहरुले जिल्ला अधिवेशनको माग गर्दै आएका छन् । अहिले जिल्लामा नेपाली काँग्रेसको दुईवटा समानान्तर जिल्ला समिति सक्रिय छन् ।

यथास्थितिकै स्थानीय निकाय निर्वाचन उपयुक्त : डा. कोइराला

पोखरा, माघ २२ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले यथास्थितिकै स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को आयोजनामा ‘राजनीतिक सङ्क्रमण : नेपाली काँग्रेस र अबको वाटो’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै नेता कोइरालाले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसारको स्थानीय तहको निर्वाचन गर्न अझै दुई÷तीन वर्ष लाग्ने भएकाले पुरानै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने सुझाव दिए । संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिनु पर्नेमा जोड दिँदै महामन्त्री डा. कोइरालाले सबै निर्वाचन गराउने अभिभारा काँग्रेसको काँधमा आएको धारणा व्यक्त गरेका छन् । मुलुकमा अब धेरै परिवर्तन गर्न बाँकी रहेको बताउँदै उनले राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

‘दाइजोमा चाहियो लैनो भैँसी’

गोपाल प्रसाद बराल बर्दिवास, माघ २२ । दाइजो प्रथा जस्तो कुरितीलाई हटाउन सरकारले कडा कानुन नल्याउँदा धेरै चेलीले दुःख भोग्नु परेको छ । यसैको ज्वलन्त उदाहरण बनेकी छिन् महोत्तरी र्बिर्दवास–८ की अमृता । गरिबको कुनै जिन्दगी हुन्छ र हजुर ? कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि दाइजो नल्याएका कारण माइतीमै फर्काइएकी अमृताका बाबु अहिले यस्तैप्रश्न गर्छन् । फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले आफू गरिव भएकोमा धिक्कारिरहेका छन् । गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् । धनले गरिब छु, मनले होइन रामप्रकाशले भने । सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएर पनि अहिले पुनः लैनौ भैसी माग्दै छोरीलाई घरबाट निकालिदिएको उनले गुनासो गरे । रामप्रकाश र धनुषाको कान्छिबजारका बेहुलाका बाबु दुखी कापरबीच बिहेमा एउटा होन्डासाइन मोटरसाइकल र नगदसहित साढे तीन लाख दाइजोमा कुरा मिलेर सो रकम बिहेअघि नै पूर्ति गरिए पनि बिहेमा खानाखाने बेलामा दुलहा रौदी कापरले लैनो भैंँसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृताको घर नभएको पूmलबारी टोलका बासिन्दा बताउँछन् । रामप्रकाशले एक वर्षपछि भैँंसी पनि दिने वाचा गरेको भएपनि दुलहापक्षले अहिलेै चाहियो भन्दै विवाह यज्ञस्थलबाट निस्केर कुटपिट नै गर्न खोजेको स्थानीयले बताए । विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको थियो । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् । सहमति भएको रकमसँगै दुलहाको पोसाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बाङ्गिएका रामप्रकाश बताउँछन् । ‘छोरीको बिहेका लागि ज–जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाए, अब सबै कुरा हातबाट गयो – रामप्रकाशले लामो सुस्केरा लगाउँदै दुःख पोखे । यता, बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको बताएका छन् । दुलहाले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास–परिहास न हो, सक्नेले दिन्छन्, नसक्नेले बेहुलालाई कुराले मनाएर ख्वाउन लगाउँछन् भन्छन् वेहुला पक्षले । बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरु दुलाहाकै नेतृत्वमा धक्कामुक्कामा ओर्लिएका दुलही पक्षको भनाइ छ । यता आफ्नो बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखे बुझेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षअघि नौ कक्षा उत्तीर्ण गरेर पढाइ थन्किएकी अमृताले नेपालीमै भनिन्– ‘दुष्ट रहेछन्, जग्गेमै धक्कामुक्कामा ओर्लिए, सायद म त्यो घरमा सञ्चसँग बस्नसक्ने थिइन होला, जे हुनु भयो । अब पढ्न पाए हुन्थ्यो ।’ आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सीप आर्जन गर्नसके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउनसक्ने अमृताको विश्वास छ । बिहे भएर घर ९बेहुलाको घर० नै नपुगी परिबन्दले दुई दिनपछि नै सिन्दूर पुछेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन । गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन् । यसैबीच, महिला अधिकार क्षेत्रमा क्रियाशील महिला नेत्री अन्तर पार्टी महिला सञ्जाल बर्दिवास नगरकी अध्यक्ष शारदा थापाको मनमाफिक दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कार्बाहीको दायरामा ल्याउनुपर्ने भनाइ छ ।

झूठ र भ्रमको पत्रकारिता मौलायो– केपी ओली

विराटनगर, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा उहाँले भन्नुभयो — “नेपाली सञ्चार क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि प्रेस चौतारीले अग्रेणी भूमिका निर्वाह गर्नुपर्छ ।” अध्यक्ष ओलीले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्यादित हुनुपर्दछ भन्नुभयो । नेपालमा दुई किसिमको पत्रकारिता देखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान पत्रकारिता छ भने अर्को झूठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।” अध्यक्ष ओलीले पत्रकारले देश जनताप्रति निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने बताउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिलाई ध्यानमा राखेर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । प्राकृतिक सम्पदा भएको देश नेपालका ४० लाख युवा रोजगारको खोजीका लागि मरुभूमिमा पुगेको दुःखेसो पोख्दै उहाँले भन्नुभयो, “मुलुकलाई समृद्धिमा ल्याउनका लागि पूर्वाधारको विकास, सञ्चार, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, कृषिमा आधारित घरेलु उद्योग र पर्यटन क्षेत्रको विकास लागि हामी सबै एकजुट भएर लाग्नुपर्दछ ।” अध्यक्ष ओलीले विसं २०७४ माघभित्र तिन वटै तहको निर्वाचन नभए मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने बताउँदै सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको आरोप लगाउनुभयो । मुलुकमा अनुकुल अवस्था रहेको समयमा पनि सरकार निर्वाचन गराउन नसकेको उल्लेख गर्दै उहाँले एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्छन् भन्नुभयो । सो अवसरमा अध्यक्ष ओलीले कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट दृष्टान्त साप्ताहिकका सम्पादक शान्ता दाहाललाई सम्मान गर्नुभयो । उक्त पुरस्कारको राशि रु १० हजार छ । कार्यक्रममा सो पुरस्कारका संरक्षकद्वय सीता सिग्देल, कमला मैनाली र प्रेस चौतारी मोरङका संस्थापक सदस्यद्वय यज्ञ शर्मा र दिपेन न्योपानेलाई पनि उहाँले सम्मान गर्नुभयो । प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, केन्द्रीय सदस्य विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टलगायतले प्रेस चौतारी र पत्रकारिताका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

सभामुख ओनसरीद्वारा दलाई लामा सहभागी हुने कार्यक्रमको भ्रमण रोक्न १५ सांसदलाई निर्देशन

काठमाडौं, माघ २२ । सभामुख ओनसरी घर्तीमगरले दलाई लामा सहभागी हुने कार्यक्रममा नजान सांसदहरुलाई निर्देशन दिएकी छिन् । यही फेब्रुअरी ८ देखि भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन गइरहेका १५ जना महिला सांसदलाई सभामुखले उक्त निर्देशन दिएकी हुन । कार्यक्रममा तिब्बती शरणार्थी नेता दलाइ लामाको उपस्थिति हुने भएपछि भविष्यमा आउन सक्ने विवाद रोक्न निर्देशन दिइएको संसद सचिवालय श्रोतले जनाएको छ । कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेपनि अन्तिम चरणमा दलाई लामा समेत उपस्थिति हुने सूचना पाएपछि भ्रमण स्थगित गर्न निर्देशन दिनु परेको हो । उक्त कार्यक्रममा कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो ।

गच्छदारले गरे बार्गेनिङ– मागेअनुसार मन्त्री दिएमात्रै सरकारमा जाने

काठमाडौं, माघ २२ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मन्त्रीका लागि सरकारसँग बार्गेनिङ गरेका छन् । सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले सरकारले २ मन्त्री र २ राज्यमन्त्री दिएको खण्डमा सरकारमा जाने बताए । मागे अनुसार मन्त्रीपद नदिए सरकारमा जाने बारे विचार गरिने उनको भनाई थियो । गच्छदारले आफू भने मन्त्री बन्न नजाने स्पष्ट गरे । कार्यक्रममबा बोल्दै गच्छदारले मधेश टुक्रन नहुनेमा जोड दिए । मधेशको पहिचानलाई राज्यले ग्यारेण्टी गर्नुपर्ने उनको माग थियो । एमालेले संशोधन पारित गर्न नदिनु दुर्भाग्य रहेको भन्दै गच्छदारले संविधान कार्यान्वयनका लागि सबै दलले अतिवाद छोडेर सहमतिमा आउनुपर्नेमा जोड दिए ।

उज्यालो नेपाल अभियानलाई सहयोग गर्न उर्जामन्त्रीको आह्वान

पाँचथर, माघ २२। ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रले नागरिकमा नयाँ उत्साह थपेको बताएका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्रालयले सञ्चालन गरेको उज्यालो नेपाल अभियानलाई सबै क्षेत्रबाट सहयोग गर्न आह्वान गरे । मन्त्री शर्माले अब काम गर्ने कर्मचारीलाई प्रशंसा र गल्ती गर्नेलाई दण्ड गर्दै जाने पनि स्पष्ट गरे । अर्काे प्रसङ्गमा उनले सरकार निर्वाचनमा लागिपरेकाले जसरी पनि चाँडै स्थानीय तहको निर्वाचन हुने बताउँदै निर्वाचन आयोग समेत तयारीका लागि जुटिसकेकाले चाँडै मिति घोषणा गरिने विश्वास दिलाए । काबेली कोरिडोर क्षेत्रको निरीक्षणमा आएका मन्त्री शर्माका साथमा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेत सहभागी छन्। रासस

सिके राउतका एक्काइस समर्थक पक्राउ

लहान,  माघ २२ । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इप्रका लहानमा राखिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले छाड्ने वा मुद्दा लगाउने विषयमा अहिले के भन्ने निक्र्यौल भइनसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । डा राउतको समर्थनमा थप जुलुस प्रदर्शन गर्न नदिन लहानमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । गत माघ ५ गते लहानमा भएको बलिदानी दिवसको सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार राज्यविरुद्ध अपराधको आरोपमा राउतलाई जनकपुरबाट पक्राउ गरी आजै सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ । रासस

निधीले भने : विपद् व्यवस्थापनसम्बन्धी विधेयक कस्तो ल्याउने ?

काठमाडौँ, माघ २१। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विपद् व्यवस्थापनसम्बन्धी विधेयकले अन्तिम रुप लिन थालेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आज बसेकोे बैठकमा मन्त्री निधीले विधेयक सरकारी तवरको वा गैरसरकारी तवरको कस्तो ल्याउने भन्नेबारे केही विवाद भएको बताएका छन् । विवादका कारण विधेयकले मूर्तरुप पाउन नसकेको जानकारी दिँदै मन्त्री निधीले भने, “तपाईहरुले छिटो ऐन चाहियो भन्दै हुनुहन्छ, तर दुःखको कुरा त्यो विधेयक सरकारले भनेजसरी ल्याउने वा गैरसरकारी संस्थाले भनेजस्तो ल्याउने भन्ने विवादले ढिलाइ भइरहेको छ । ’’ उपप्रधान तथा गृहमन्त्री निधिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा विपद् व्यवस्थापनका लागि छुट्टै टोली खडा गरेर तयारी अवस्थामा राखिएको बताउँदै केही विपद् आइहाले उद्धार र राहतका लागि त्यो टोली तत्काल परिचालित हुने र त्यसका लागि माथिको आदेश कुरीराख्न नपर्ने व्यवस्था गरिएको बताए । गृहसचिव लोकदर्शन रेग्मीले राष्ट्रिय विपद् व्यवस्थापन नीतिको मस्यौदा बनाइराखिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का देशीय निर्देशक रिनेड मेयरले गत वर्षको भूकम्पबाट विपद् व्यवस्थापनका लागि नेपालले धेरै शिक्षा लिएको बताउँदै त्यसलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिएका छन् । गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्ण राउतले हालसम्म ५४ जिल्लामा आपतकालीन केन्द्र निर्माण गरिसकिएको जानकारी दिए ।  

संशोधन विधेयक परिर्माजनसहित अघि बढाउन सरकार र मधेसी मोर्चा सहमत

काठमाडौ, माघ २१ । सरकार र मधेसी मोर्चाबीच भएको छलफलबाट संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको माओवादी केन्द्र र मधेशी मोर्चाबीचको छलफलबाट संविधान संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गराउन पहल गर्ने समझदारी भएको हो । ेशुक्रवार साझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक निर्वाचनको तयारी सँगसँगै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेशी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने प्रधानमन्त्रीले स्पष्ट पारेका हुन् ।

प्रम प्रचण्डको घोषणा- मन्त्रीपरिषदको बैठक मुगुको रारामा बस्ने

काठमाडौं,  माघ २१ । प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्यटकीय महत्वको नेपालकै ठूलो रारा तालमा मन्त्रिपरिषद्को बैठक बस्ने घोषणा गरेका छन् । नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेला उद्घाटन गर्दै प्रधानमन्त्रीले रारा तालमा मन्त्रिपरिषदको बैठक बसेर राराको सुन्दरतालाई विश्वमै चिनाउने उद्घोष गरेका हुन् । पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै उनले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेको जानकारी दिए । उनले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने बताए । प्रधानमन्त्रीले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिए । प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरुको बृद्धि हुने बताउँदै अब नेपाललाई एक बलियो, एकतावद्ध र सम्वृद्ध राष्ट्र बन्नवाट कसैले रोक्न नसक्ने स्पष्ट पारे । उनले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेश, पहाड र हिमालमा द्वन्द गराउन चाहनेहरुको भण्डाफोर गर्नुपर्ने वताउँदै वर्तमान सरकार राष्ट्रिय एकता वलियो वनाएर सम्वृद्ध नेपाल निर्माणमा अघि बढेको बताए । उनले नेपालमा राजनीतिक स्थायीत्व र सम्वृद्धि हासिल गर्न सक्यौ भने देश विश्वकै सम्वृद्ध राष्ट्र बन्ने दाबी गरे ।

तीनवटा स्वास्थ्य प्रतिष्ठानका लागि ९ जना सिफारिस (को को परे त ?)

काठमाडौं, माघ २१ । कर्णालीलगायत बिभिन्न स्वास्थ्य प्रतिष्ठानहरुमा रिक्त रहेका उप कुलपतिका लागि ९ जना सिफारिस गरिएका छन् । स्वास्थ्य मन्त्री गगन थापाको नेतत्वमा रहेको तीन सदस्यीय समितिले कुलपति तथा प्रधानमन्त्री प्रचण्डसमक्ष नौ जनाको सिफारिस गरेको हो । नियमानुसार, रिक्त तीन प्रतिष्ठानका लागि प्रस्तावित तीन–तीनजनामध्ये प्रधानमन्त्रीले एकजना छनौट गर्नेछन् । मन्त्री थापा संयोजक रहेको सर्च कमिटीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए । समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा. भरत यादव, डा. गोपी अर्याल र डा. रुपा सिंहको नाम सिफारिस भएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा बुद्धिबहादुर थापा, डा निलाम्बर झा र डा डुकबहादुर क्षेत्रीको नाम सिफारिस गरिएको छ । सर्च कमिटीले उपकुलपति बन्न चाहनेलाई कार्ययोजना सहित प्रस्ताव पेश गर्न आव्हान गरेको थियो ।

अोलीले भने- ‘सरकार दोहोरो चरित्र देखाएर विचित्र रुपमा प्रस्तुत भएको छ’

दमक, माघ २१ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उनले जेठ १५ भित्र चुनाव हुनै नसक्ने गरि सरकारले निर्वाचनको मिति घोषणाको तमासा गरिरहेको बताए । ओलीले भने- ‘संविधान अनुसार जेठ १५ मा बजेट पारित गर्नुपर्छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्छ अनि कसरी हुन्छ चुनाव ?’ उनले सरकारले संविधान संशोधनको बहानामा मुलुकलाई गम्भीर संकटतर्फ अघि बढाउदै लगेको आरोप लगाए । ‘०७४ माघ ७ भित्र तीनै तहको चुनाव भएन भने मुलुक गम्भीर संकटमा फस्छ, एमालेले त्यो हुन दिदैन’ ओलीले भने । ओलीले संशोधन प्रस्ताव पारित हुनै नदिने दोहोर्‍याए । समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्नुहुँदै उनले एमाले कुनै पनि हालतमा निर्वाचन पर धकेल्ने कुनै पनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए। सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो । उनले भने, ‘सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेर मात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्र रुपमा प्रस्तुत भएको छ ।’ निर्वाचन हुने नदिने सबै चालबाजी विरुद्ध एमाले जिम्मेवार ढङ्गले शसक्त रुपमा प्रस्तुत हुने ओलीले चेतावनी दिए । माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने उनले विश्लेषण गरे । ‘यस्तो असहज परिस्थतिलाई रोक्न एमालेले मेचीकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे। कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको समेत बताए।