निर्वाचन आयोगलाई पुर्णता दिन संवैधानिक परिषदको वैठक बस्दै

काठमाडौं, माघ १४ । निर्वाचन आयोगलाई पूर्णता दिन  बिषयमा छलफल  गर्न सिंहदरवारमा अपरान्ह २ वजे संवैधानिक परिषदको वैठक आज वस्दैछ ।   निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्त नियुक्ती सिफारिस सम्बन्धमा आज हुने बैठकमा छलफल हुने  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले निर्वाचन मिति घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएको र आवश्यक कानुन निर्माणले पनि गति लिँदै गरेको अवस्थामा आजको बैठकले आयोगलाई पुर्णता दिने विषयमा छलफल गर्नेछ ।

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त सहित ५ जना रहेने ब्यवस्था छ तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा मात्र छन् । परिषद्ले यही महिनाभित्र आयोगलाई पूर्णता दिने लक्ष्य राखेको छ ।

 

महतकै कारण घट्यो नुवाकोटमा घटना

नुवाकोट, माघ १३ । गाउँपालिका खारेजीको विरोधमा १० दिनदेखि नुवाकोटमा भइरहेको स्थानीयको आन्दोलनमा दबाएको विषयमा नेपाली काँग्रेस पार्टीभित्रै पुर्वअर्थमन्त्री डा.रामशरण महतको आलोचना भएको छ । उनले जिल्लामा सीमाङ्कनको विषयमा आन्दोलन दबाउन बिहिबार खेलेको भूमिका गलत भएको जिल्लामा क्रियाशील नेताहरुले आलोचना गरेका छन् । बुधवार नुवाकोटको ढिकुरेमा प्रहरी र काँग्रेस कार्यकर्ताहरुसहित पुगेका उनको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनमा चलाइएको गोली प्रहारबाट १५ जनाभन्दा बढी स्थानीय घाइते भएका छन् । विद्यालयमा विद्यार्थीहरु अश्रुग्याँसबाट बेहोस् छन् भने कयौँ किसानहरुलाई घर, खेत– खेतबाट महतकै निर्देशनमा गिरफ्तार गरी निर्घात कुटपिट गरिएको छ । प्रस्तावित लिखु गाउँपालिकालाई पुर्नसंरचना आयोगले हटाइएको विरोधमा उक्त गाउँपालिकामा पर्ने खानिगाउँ, चौघडा, थानसिंङ र सुर्यमति गाविसका स्थानियवासी विगत १० दिनदेखि पुर्ण रुपमा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । सयौँको संख्यामा पुगेको प्रहरीले महतकै प्रत्यक्ष उपस्थितिमा आन्दोलन दमन गर्न अश्रुग्याँस र गोली प्रहार गरेपछि स्थानियवासीले ढुंगामुढासहित प्रतिकार सुरु गरेका थिए । स्थानीयको आन्दोलनले उग्र रूप लिएपछि महतलाई जोगाउन भन्दै प्रहरीले अश्रुग्याँस र रबरको गोली चाएको हो । भागेर घरभित्र लुकेका गाउँलेहरुलाई घर–घरबाट थुतेर प्रहरीले लाठी र बुट बर्साएपछि दिनभरजसो गाउँ रणमैदान बनेको थियो । धेरैको घरमा लात हानेर ढोकाहरुसमेत फुटाइदिएको छ भने यस भेगको मुख्य बालीका रुपमा रहेको आलुखेतिसमेत प्रहरीले नष्ट गरिदिएको छ । जनताले जिताएको नेताकै नेतृत्वमा बर्बर दमन गरिएको भन्दै नुवाकोटका सबै राजनीतिक पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका नेता तथा साँसदहरुले विरोध जनाएका छन् । काँग्रेस नेता तथा शहरी विकास मन्त्री अर्जुननरसिँह केसी, कृषि राज्यमन्त्री राधिका तामाङ, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, साँसदहरु जगदिश्वर नरसिंह केसी, राममायाँ बोगटी लगायतले नागरिकले मागेको अधिकार दिलाउनभन्दा महत जस्तो नेता दमनमा उत्रिनु दुखद रहेको प्रतिक्रिया दिएका छन् । ‘महतले आफूखुसी पुर्नसंरचना प्रस्तावलाई भत्काउने र बनाउने अधिकार छैन, पुर्वमन्त्री एवं माओवादी नेता हितबहादुर तामाङले प्रतिक्रिया दिँदै भने, ‘उनको व्यक्तिगत स्वार्थमा आयोगजस्तो निष्पक्ष र संवेदनशील निकाय प्रलोभन र प्रभावमा पर्नु लाजमर्दो विषय हो ।’ अझ जनताको अधिकार खोसेर पनि उल्टै जनतालाई सहानुभूतिको साटो गोली र अश्रुग्याँस खुवाउने महतको यो निरंकुश चरित्र भएकोमा नेता तामाङले आक्रोश पोखे । स्थानीय तह पुन संरचनाप्राविधिक सहयोग समितिले जिल्लाबाट सिफारिस भएको प्रस्तावलाई नेता महतले उल्टाएको चर्को आरोप लगाउँदै नागरिकहरुले त्यसलाई सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छन् । गएको शुक्रवार पनि सदरमुकाम विदुरस्थित जिल्ला विकास कार्यालयमा असन्तुष्ट पक्षले तोडफोड र आगजनी गरेपछि प्रहरीले प्रहार गरेको गोली लागेर केही स्थानीयवासी घाइते भएका थिए । जिविसको आधा दर्जन भन्दा बढी कम्प्युटर, विद्युतिय सञ्चार सामाग्रीहरु, फर्निचर र कार्यालयको दुईवटा गाडी तथा झ्यालका सिसाहरु पुर्णतयाः नष्ट गरेका थिए । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहितका सबै दलहरुसमेतको स्थानिय निकाय पुर्नसंरचना प्राविधिक समितिले ४ महिना लगायर लिखुसहित १२ गाउँपालिका सिफारिस आयोगसमक्ष पेश गरेको थियो । काँग्रससमेतले सहमति जनाएको उक्त प्रस्ताव भने नेपाली काँग्रेसका नेता डा. रामशरण महत र उनीनिकट कार्यकर्ताहरुले असहमति राख्दै आएका थिए । आफ्नो व्यक्तिगत स्वार्थ, भोट र कार्यकर्तालाई पछि चुनावमा उम्मेदवारको रुपमा व्यवस्थापन गर्ने नियतले नै लिखु गाउँपालिकालाई हटाएको स्थानियवासीको आरोप छ ।

नेविसंघको घोषणाः उमेर हद नहटाए स्ववियु निर्वाचनमा नजाने

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले गरेको एक पत्रकार सम्मेलनमा उपस्थित वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा नेविसंघका उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । त्यस्तै जबरजस्ती गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने चेतावनी उनले दिए । त्यस्तै उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनको लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि पनि उमेर नचाहिने बताइन् । नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियु निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने बताए । तोकिएकै समय फागुन १४ गते नै निर्वाचन हुनपर्छ भन्ने पक्षमा भएको भएतापनि उमेर हद खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

आयोगको प्रतिवेदन स्वीकार्य छैन : यादव

काठमाडौं, १३ माघ। संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्विकार्य नभएको जिकिर गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले भने, ‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ?, नयाँ व्यवस्था अनुसार, पूरानो त गैसक्यो ?’ संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए। यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे। अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आँफैले हल गर्न सकिए अरुले केही गर्न नसक्ने समेत स्पष्ट पारे। यादवले अहिलेसम्म सरकार र प्रमुख दलहरु स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्नेमा नै अन्यौलमा रहेको आरोप लगाएका छन् । उनले भने, ‘संविधानमा स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था छ, निकाय पूराने भैसक्यो, तहको गर्ने हो भने आयोगको प्रतिवेदन मन्त्रालयमा थन्किएर बसिरहेको छ, प्रतिवेदनको जताततै विरोध भैरहेको छ।’ फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे। यादवले विदेश नीतिबारे सबै दलहरुवीच एकरुपता हुनुपर्ने बताउँदै भने,‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीवीच भिन्दाभिन्दै होईन।’ यादवले नेपालमा दलैपिच्छै छुट्टाछुट्टै विदेश नीति भएकोले गडबडी भएको गुनासो गरेका छन् । उनले नेपाल–भारतवीचका एक अर्काका संवेदनशिलतालाई कूटनीतिक माध्यमबाट छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नेपालले भारतको आर्थिक विकास, समृद्धिबाट फाईदा लिन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन’

चितवन, माघ १३ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि महामन्त्री कोइरालाले बताए । स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई÷तीन महिना समय रहने भन्दै उनले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताए । राजनीतिक दृढता हुन सके मात्र आउँदो माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न सकिने भन्दै उनले समय थप गर्न नहुने उल्लेख बताए । नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताए ।

चुनावका लागि तयारी रहन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । बिहिबार पोखराको लामपाटनमा अायोजित सशस्त्र प्रहरीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अर्काे वर्षको माघ ७ भित्रै तीनै चरणको चुनाव गराउने भएकोले तयारी रहन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा निकट भविष्यमा घोषणा हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सवेकहरुलाई निर्देशन गर्दछु ।’ ‘हाल मुलुक संक्रमण अवस्थामा गुज्रिरहेको अवस्थामा विधिको शासनको मूल मर्मलाई आत्मसाथ गर्दै कानुन कार्यान्वयन गराउने निकायहरु थप चनाखो एवं होसियार रहेर आफ्ना काम कारवाही संचालन गर्नु अहिलेको आवश्यकता हो’ प्रचण्डले भने । सि.स ११ शसस्त्र प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा २५ जना प्रहरी दीक्षित भएका छन् । ५४ हत्तासम्म चलेको तालिमबाट उनीहरु दीक्षित भएका हुन् । ‘मुलुकमा दोहोरिरहने विपदका घटनाहरुबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि तत्काल खोज उद्धार र राहत दिने कार्यमा लाग्न सकल दर्जालाई न्यूनिकरण दिन चाहन्छु’ उनले भने । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, शसस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई लगायतको सहभागिता रहेको थियो ।  

एक साताभित्र उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने

जुम्ला, माघ १३ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको सम्पूर्ण सेवा ठप्प गर्ने बताएका छन् । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत सहकुलपतिलाई जानकारी गराइएको बताए । “गएको असोज १४ लिखित रुपमा कार्यवाहक उपकुलपतिको जिम्मा पाएका डा. धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आउनुभएको छ, प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन, यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ, यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,” उनले भने । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानको सबै क्षेत्रमा अस्तव्यस्त भएको गुनासो गरे । नेतृत्व गर्ने पदाधिकारी नभएपछि जनशक्तिको अभाव पनि हुँदै गएको डा. रोकायाको भनाइ छ । यता डा सूर्यमान लिम्बूले उपकुलपति मात्र नभई रजिस्ट्रार र अस्पताल निर्देशक समेतका पदाधिकारी नहुँदा लामो समयदेखि कार्य परिषद्को बैठक बस्न नसकेको बताउनुभयो । डा. लिम्बूका अनुसार प्रतिष्ठानको परिचालन तथा व्यवस्थापनमा निकै ठूलो समस्या हुँदै गएको छ । पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय शय्याको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकामा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन् । रासस

बुधबार राती ३९ एसएसपीको सरुवा

काठमाडौं, माघ १३ । लामो समयदेखि रोकिएका एसएसपीहरुलाई रातारात सरुवा गरिएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएका छन् । अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दिपक थापाको लुम्विनी प्रहरी प्रमुखमा, ठुले राईको ललितपुर प्रहरी प्रमुखमा र उत्तम कार्कीको कोशी प्रहरी प्रमुखमा सरुवा भएको छ । लागू औषाध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ । त्यसैगरी एसएसपी सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालय, शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, वलराम शर्मा सगरमाथा प्रहरी प्रमुख र उत्तम कार्की कोशी अंचल प्रहरी प्रमुखमा सरुवा भएका छन् । एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

त्रिभुवन विमानस्थलबाट ४४ थान पासपोर्टसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं, माघ १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठू्रलो संख्यामा राहदानीसहित एकजना चिनियाँ पक्राउ परेका छन् । ड्रागन एयरबाट चिनको कुनमिङ जान लागेका चिनियाँ नागरिक ४१ वर्षीय वीउ बिन छिलाई हिजो साँझ साढे ९ बजे ४४ थान पासपोर्टसहित विमानस्थलबाट पक्राउ गरिएको थियो । छिको साथबाट चिनियाँ नागरिकका ४४ थान पासपोर्ट बरामद भएको छ । ती पासपोर्टमा कुनै देशको भिसा लागेको छैन । छिले भिसा लगाउन पासपोर्ट नेपाल ल्याएको बताएका छन् । चिनियाँ नागरिकलाई नेपालमा ‘अनअरायभल भिसा’ दिने व्यवस्था छ । उनी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । यसबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । उनले दोभाषे ल्याएपछि थप अनुसन्धान हुने पनि बताएका छन् । File photo

डा लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

काठमाडौँ, माघ १२। आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हाल्नुुभएको छ । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो । उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा लोहनीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजाने र मुलुकमा विद्यमान समस्या समाधानमा सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विधिका आधारमा पार्टी सञ्चालन गरी आसन्न महाधिवेशनलाई सफल बनाउने दृढता पनि व्यक्त गर्नुुभयो । केन्द्रीय अध्यक्ष कमल थापाले डा लोहनीको कार्यकालको सफलताको कामना गर्दै अहिले देशमा बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याउनुभयो । निवर्तमान अध्यक्ष राणाले पार्टीलाई बलियो र गतिशील बनाउन नेता तथा कार्यकर्ता सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय अखण्ड पार्टीसँग एकीकरणका लागि पार्टीका उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा राजीव पराजुली र हेमजङ गुरुङ सदस्य रहेको एक समिति गठन गरेको छ । मुलुकको राष्ट्रिय एकता तथा अखण्डता कमजोर बन्दै गइरहेको अहिलेको अवस्थामा आपसी मतभेद बिर्सेर साझा धारणा बनाउन सबै राजनीतिक दललाई बैठकले आग्रह गरेको छ । मधेस केन्द्रित दलका जायज माग पूरा गरी निर्वाचनको वातावरण बनाउन तथा यही माघ १५ गतेभित्र निर्वाचनको मिति तोक्नसमेत बैठकले माग गरेको छ । रासस

“विद्युत चोर” जोगाउन प्राधिकरणमा आन्दोलनको नाटक, कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउँदै

काठमाडौं, माघ १२ । करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् । प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो । कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए । प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दाोलनको बाहाना निकालेका छन । आन्दोलनको बाहाना उनीहरुले त्यो निकालेका छन् कि जसमा प्राधिकरणले पछिल्लो पटक सरुवा गरेका कर्मचारीको प्रसंगलाई लिएर निकालेका छन् । विद्युत् चोरीमा संलग्नलाई कारवाही हुने र त्यसमा आफूहरुको समेत संलग्नता रहेको पुष्टि हुने भएपछि कर्मचारी संघ र युनियनका पदाधिकारी नै आन्दोलनको नाटक रच्न लागेका हुन् । प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसीरहन मिल्दैन । तर चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् । चोरीलाई संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ । व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् । उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोप, पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन्। त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ। ‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ । दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए। उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ। हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दुई दिन अगाडि सिवम् सिमेन्टको लाइन काटेको र दुई दिन पछाडि २५ लाख घुस लिएर लाइन जोडिदिएका थिए । त्यतिखेर समेत प्रधानको संलग्ननता रहेको थियो । उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ। सिभम सिमेन्टलाई दिइएको डेडिकेडेट फिडर बाट २० घन्टा विद्युत् दिदा प्राधिकरणले रु १३ करोड आम्दानी गर्दथ्यो । तर सो उद्योगलाई १९ घन्टाके फाइल स्वीकृत गराएर २४ घन्टा नै विद्युत् दिई बिल भने रु ६ करोडको मात्रै उठ्ने बनाएका थिए । त्यसमा प्रधानको योजनाले काम गरेको बताइन्छ । पेट्रोल पम्पको मिटर बिगार्ने पनि विद्युत् चोरीमा महाशाखा प्रमुख खनालका अनुसार यसरी बिजुलीको मिटर बिगार्दा सबैभन्दा पहिला प्राधिकरण कर्मचारी र उद्योगीबीच ‘सेटिङ’ गरिन्छ । मिटरमा पाँच सय युनिट उठेको छ भने पहिला बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गरिन्छ । यसो गर्दा ४ महिनामा २ हजार युनिट उठेको छ भने २ सयमात्र उठ्ने बनाइन्छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ । यसअघि महाशाखाले डेढ वर्षअघि राजधानीमा पेट्रोल पम्प बिगारेर ठगी गर्ने पम्प सञ्चालकहरूलाई पनि पक्राउ गरेको थियो । सुपरभाइजर श्रेष्ठ पम्पको सिल बिर्गान विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् । यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् । अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले यही माघ गते प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए । विद्युत्चोरीमा संलग्नलाई धमाधम कारवाही हुन थालेपछि उनीहरुलाई कारवाहीबाट जोगाउन कर्मचारी सरुवाको विषयलाई लिएर आन्दोलन सुरु गरिएको भन्दै प्राधिकरणका उच्च अधिकारी पनि आश्चर्यमा परेका छन् ।

मतदाता नामावलीसम्बन्धी विधेयक पारित

काठमाडौं, माघ १२ । राज्य व्यवस्था समितिले तयार पारेको मतदाता नामावली सम्बन्धी विधेयक संसदले पारित गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको विधेयक सर्वसहमतिले पारित गरेको हो। आनन्द ढुंगनाको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदनमा सामान्य परिमार्जनपछि संसदमा पेश भएको थियो। मतदाता सम्बन्धी केही कसुरको व्यवस्थासहित विधेयकको परिमार्जन भएको थियो। मतदाता विधेयक बिपरीत काम गर्नेलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद हुने प्रावधान राखिएको छ। संसदमा निर्वाचन सम्बन्धी विधेयकहरु प्रक्रियामा लगिएको छ।

माओवादी केन्द्रका ७० जना केन्द्रीय नेताहरुले दिए राजीनामा

चौतारा,  माघ १२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ७० जना केन्द्रीय नेताहरुले संयुक्त राजीनामा दिएका छन् । कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, युवराज दुलाल, अमृता नेपाल लगायत ७० नेताहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी केन्द्र सिन्धुपाल्चोकले आज सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा दिएका हुन् । राजीनामा दिनेमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य देखि केन्द्रीय सदस्य समेत छन् । जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै युवराज दुलालले पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको घोषणा गरे । उनले गरेको विशेष प्रस्तावलाई ७० जना केन्द्रमा रहेका नेताहरुले हस्ताक्षर गरी अनुमोदन गरेका छन् । सो राजीनामापत्रलाई तत्कालै केन्द्रमा पठाईने जनाईएको छ । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटाले माओेवादीलाई शसक्त र जुझारु बनाउन राजीनामा दिनुपरेको बताए । ‘हामी पद होईन पार्टी सुदृढ गर्न चाहान्छौं,’ उनले भने । ‘हामी केन्द्रीय समितिमा छौं, त्यो भद्दा र अर्थपूर्ण छैन’, माओवादी केन्द्रका जिल्ला संयोजक दावा तामाङले भने– ‘हामी जिल्लामानै रहेर पार्टी मजबुद बनाउन चाहान्छौं ।’ राजीनामा पछि पार्टीलाई अझ मजबुद् बनाउन आपूmहरु लाग्ने उनले बताए । राजीनामा दिएपनि पार्टीको जिम्मेवारीबाट बाहिर नजाने भन्दै उनले आपूmहरु चुनौतीसँग हार नमान्ने पनि बताए । केन्द्रीय समितिको बैठक बस्न पनि नसक्ने र महत्वपूर्ण निर्णय हुन नसक्ने भएकोले प्रकृयाको आधारमा पार्टी निर्माण गर्न राजीनामा दिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक माधव सापकोटाको तर्क छ । ‘प्रकृयाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएका हौं’, उनले भने– तर महत्वपूर्ण कुरा के हो भने हामी पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं ।’ं पार्टी केन्द्र चुस्त बनाउन सहयोग गर्ने हेतुले राजीनामा गरिएको उनले प्रष्ट्याए । यता नेताहरुले केन्द्रीय समितिबाट राजीनामा दिएको घोषणा गरेलगत्तै कार्यकर्ताहरु भने खुसी भएका छन् । ‘पार्टीलाई सुदृढ बनाउन यो कदम अति आवश्यक थियो’, भेलामा उपस्थित नारायणप्रसाद तिमल्सिनाले भने– ‘अब पार्टी मजबुद बनाउँदै जनवादी अभ्यास गर्न जरुरी छ ।’ भेलामा जिल्लाभरका ३ सय बढी नेता कार्यकर्ताहरु उपस्थित थिए ।

निर्वाचनसम्बन्धि विधेयक १६ महिनापछि संसदमा

काठमाडौं, माघ १२ । तीनै तहको निर्वाचनका लागि आवश्यक कानुन निर्माणको कार्यादेश पाएको रुपान्तरित संसदले १६ महिनापछि बल्ल संसदमा स्थान पाएको छ । सरकारले ल्याएका निर्वाचनसम्बन्धि दुई वटा विधेयक संसदबाट आज पारित गर्न लागिएको हो । अपरान्ह २ बजे बस्ने संसद बैठकले प्रतिवेदनमाथि सामान्य छलफलपछि दुवै वटा विधेयक पारित बताइएको छ । दलहरुबीच निर्वाचनबारे सहमति हुन नसक्दा लामो समय अड्किएर रहेको दुई वटा विधेयकलाई संसदले आज पारित गर्ने भएको हो । राज्यब्यवस्था समितिमा अड्कीएका मतदाता नामावली तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी दुई वटा विधेयकलाई कार्यसूचीमा राख्दै संसदले आज पारित गर्न लागेको हो । निर्वाचनका लागि आवश्यक पर्ने अन्य तीन वटा विधेयक समितिमा छलफलका क्रममा छन् । थप ४ वटा विधेयकको मस्यौदा भने तयार हुन बाँकी छ ।

एकाबिहानै बालुवाटार किन पुगे कमल थापा ?

काठमाडौं, माघ १२ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । संविधान संशोधन प्रस्तावमा प्रतिपक्षले अवरोध सिर्जना गरिरहेको बेला थापाको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । थापा बुधबार बिहान ८ नबज्दै बालुवाटार पुगेका थिए । बालुवाटार श्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डसँगको भेटमा थापाले संविधान संशोधन प्रस्ताव र सरकार बिस्तारका बारेमा छलफल गरेका थिए । धर्मनिरपेक्षताको विषयमा फरक मत राख्दै आएपनि राप्रपाले सरकारलाई समर्थन गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्न राप्रपा नेपालले संविधान कार्यान्वयनका लागि सहयोग गर्नुपर्ने धारणा राखेको बताइन्छ । प्रचण्डले सरकार स्थानीय निर्वाचनका लागि तयार रहेको र संविधान संशोधनलगायतका विषयलाई समेत टुंग्याएर संविधान कार्यान्वयनलाई अन्तिम चरणमा पुर्याउन अघि बढेकोले यसमा राप्रपाको समर्थन खोजेका थिए । अध्यक्ष थापाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको र प्राविधिक कुराहरु मिलेमा छिट्टै नै सहभागी हुने बताएका थिए । स्थानीय निर्वाचनका लागि राप्रपाको पूर्ण समर्थन रहने र संविधान संशोधन प्रस्तावमा सबै पक्षबीच फेरी छलफल चलाएर अधिकतम सहमतिसहित परिमार्जन गर्ने र पारित गर्न राप्रपाले सहयोग गर्ने उनले जनाएका थिए ।

हुण्डीबाट रकम पठाउनेमाथि कारबाही हुने, सुचना दिन दुतावासको अनुरोध

काठमाडौं, माघ १२ । अबुधाबी स्थित नेपाली दुताबासले युनाइटेट अरब इमिरेटसमा बसोवास गर्ने नेपाली नागरिकलाई हुण्डीमार्फत कुनै पनि कारोवार नगर्न र नगाराउन अनुरोध गरेको छ । नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै दुताबासले हुण्डी वा अन्य गैरकानुनी तवरले पैसा पठाउनेहरुको बारेमा जानकारी भएमा युएई सरकारलाई जानकारी गराउन अनुरोध गरेको छ । गैर कानुनी तरिकाले पैसा पठाउने २५ वटा दोकानलाई युएई सरकारले कारबाही गरेको समाचार स्थानिय गल्फ न्युजमा छापिए पश्चात दुताबासले हुण्डीबाट गैर कानुनी रुपमा पैशा नपठाउन आग्रह गरेको हो । नेपाली दुताबासले गल्फ न्युजको उक्त समाचारलाई आफ्नो फेसबूक पेजमा शेयर गर्दै हुण्डी प्रयोग गर्नेहरुको बारेमा जानकारी भए ६००५४५५५५ मा फोन गरेर युएई सरकारलाई सुचना दिन सबैलाई आह्बान गरेको छ । हुण्डीबाट आउने रकम राष्ट्रिय आयमा गणना हुँदैन । साथै यसरी अबैध तरिकाले आउने रकम आतंककारी गतिबिधी, सुन तस्करी, हतियार खरिदबिक्री, लागु औषध आदिमा प्रयोग हुने भएकोले यसको न्युनिकरण गर्नको दुताबासले कानुनी तवरले मात्र पैसा पठाउन सबैमा अनुरोध समेत गरेको छ ।