कार्यवाहक प्रधानमन्त्रीले भने, ‘एमालेले मधेसमा भ्रम सिर्जना गर्न खोज्दैछ, सावधान !’

वीरगन्ज, ३ माघ । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले एमालेले तराईमा भ्रम सिर्जना गर्न खोजेको भन्दै सावधान रहन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस, पर्साका कार्यकर्तालाई सम्बोधन गर्दै सोमबार मन्त्री निधीले सो निर्देशन दिएका हुन् । उनले भने, ‘संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेका बेला नेकपा (एमाले)ले भने मधेसमा भ्रम सिर्जना गरिरहेका छ ।’ उनले उक्त भ्रमप्रति सजग रहन सबैसँग आग्रह गरे । उनीले अब जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले निर्वाचनका लागि कर्मचारीहरुलाई तयारी रहन आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकै बेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गरे ।

आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले यहाँ भइरहेका विकासका कामलाई दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषद्को बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले एउटै ज्ञापनपत्रमा व्यापारीहरुले पटकपटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने बताए ।

यसअघि मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षास्थितिबारे जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पर्न निर्देशन दिइका थिए ।

धनकुटामा भ्यान दुर्घटना, तीन जनाको मुत्यु

धनकुटा, माघ ३ । फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिनुभयो । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । रासस

कञ्चनपुरमा फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

कञ्चनपुर,  माघ ३ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् । निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् । ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिको कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताए । एक महिनासम्म सञ्चालन हुने नामावली सङ्कलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले एकै साथ सुरु गरेको हो । नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल भट्टले बताए । नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ । पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ । जिल्ला निर्वाचन कार्यालयले गत वर्षसमेत मतदाताको नामावली सङ्कलन र अद्यावधिको कार्य गरेको थियो । जसमा नयाँ दुई हजार छ सय ६६ मतदाता थपिएका थिए । सोही क्रममा तीस जना मतदाताको त्रुटि भएको नामावली सच्याइएको र ४० जना मतदाताको नामावली हटाइएको थियो । रासस

शाखा अधिकृत पदमा ५४ गुणा बढीले भरे आवेदन

काठमाडौँ माघ, २ । लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताए । प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरेका थिए । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको थियो ।

अमेरिकामा परराष्ट्रमन्त्रीले भने- ‘भारततिर झुकेका छैनौं’

न्यूयोर्क, माघ २ । ‘न हामी न चीनतिर झुकेका छौं, न त भारततिर नै, हामी नेपालतिर अवश्य झुकेका छौं,’ परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले अमेरिकाको टेक्सासमा भने । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको मन्त्री महतले स्पष्ट पारे । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाको डालासमा शनिबारदेखि सुरु भएको साधारण सभाको उद्घाट्न गर्दै परराष्ट्रमन्त्री महतले हल्ला गरेर राष्ट्रवादी नभइने र त्यसले राष्ट्र बलियो नहुँने बताए । बाबुराम भट्टराईले भारतसँग विप्पा सम्झौता गरेर देशलाई घाटा लागेको बताए । महतको भनाइ थियो ‘आन्तरिक पार्टीको स्वार्थ, व्यक्तिगत स्वार्थ र विदेश नीति सँग मिसमास गर्दा देशलाई घाटा हुन्छ र अहिलेसम्म देशलाई घाटा भईरहेको मैले महसुश गरेको छु,’ उनले भने । सडकमा आन्दोलन गरेर कुनै कुराको सम्बोधन नहुँने र त्यसले छिमेकीहरुमा नराम्रो सन्देश जानेतर्फ सबै सचेत रहनुपर्ने उनको भनाई थियो । भने– ‘कुटनीतिक टेबलमा ठोस कुरा गर्नुपर्छ, हाम्रा आवश्यकता र अधिकारहरु ठोसरुपमा राख्नुपर्छ,’ मन्त्रीमहतले भने‘ सहि ठाँउ र समयमा भनौ, सडकमा होइन् ।’ उदघाटन सत्रमा अमेरिकाकालागि नेपाली राजदूत अर्जुन कार्की, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल लगायतकाले आआफनो मन्तव्य राखेका थिए । साधारण सभाको उदघाटनकै लागि मन्त्री महत, पत्नीसहित बिहीबार टेक्सास आएका हुन् ।

भेटिन्छ सुन, भेटिँदैनन् सुन मालिक, फेरी समातियो १३ किलो

काठमाडौं, माघ १, २०७३ विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ । रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो । पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ किलो सुन थानकोटबाट बरामद गरेको थियो । सुन तस्करीका यी तीनै घटनामा एउटै समानता देखिन्छ । त्यो हो, भरिया पक्राउ पर्छन्, सुनका मालिक पत्ता लाग्दैनन् । विमानस्थल बाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड छ भने शनिबार बरामद सुनको करिब ७ करोड २ लाख र पुस १३ मा बरामद सुनको ३ करोड १७ लाख २६ हजार रुपैयाँ छ । रसुवा हुँदै काठमाडौं भित्रिएको अवैध सुन ओसारपसारमा समान प्रवृत्ति देखिन्छ । दुवैमा भाडाका गाडी प्रयोग गरिएका छन् । दुवैमा चालक मात्रै पक्राउ परेका छन् र दुवै चालकले अहिलेसम्म सुन कसका निम्ति लैजान लागिएको भन्ने बताएका छैनन् । ७ किलो सुन ओसार्न बा८च ७४२० नम्बरको हाइलक्स गाडी प्रयोग भएको थियो । जसका चालक थिए, सिन्धुपाल्चोकको लिस्तीका कुन्साल लामा । शनिबार बरामद १५ किलो सुन ओसार्न ना१ज ४९६४ नम्बरको टाटा सुमो गाडी प्रयोग भएको थियो । जसका चालक थिए, भक्तपुर सूर्यविनायकका रवीन्द्र भुजेल । विमानस्थलबाट सुन ओसार्न भने बाँकेका गोपालबहादुर शाही भरिया बनेका थिए । पुस १३ को सुन बरामद घटनालाई महाशाखाले थप अनुसन्धान निम्ति राजस्व अनुसन्धान विभागमा बुझाइसकेको छ । सुन ओसार्न प्रयोग भएको गाडी धनीका आधारमा सुन मालिक पक्रन विभागले प्रयास त थालेको छ, तर त्यसमा सफलता भने पाइसकेको छैन । राजस्व अनुसन्धान विभागले नै महाशाखालाई गाडी मालिकलाई उपस्थित गराउन भनेको थियो । तर सिन्धुपाल्चोक लिस्तीका गाडी धनी इन्द्र श्रेष्ठ अहिलेसम्म फरार छन् । महाशाखाले श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँग पनि मद्दत मागेको छ । तर त्यसमा सफलता मिलिसकेको छैन । स्रोतका अनुसार बयानमा चालक कुन्साल लामाले आफूलाई चिनियाँ नागरिकले नै सुन दिएको दाबी गरेका थिए । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल सुनको असली मालिक धेरै हुन सक्ने बताउँछन् । खनालले गाडी धनी श्रेष्ठको पनि सुनमा धेरथोर लगानी भएको सूचना मिलेको बताए । ‘अवैध गितिविधिमा कोही पनि उम्किन पाउँदैन । ढिलो९चाँडोको कुरा मात्रै हो,’ उनले भने । शनिबारको घटनामा पनि सुन मालिक समात्ने प्रहरीको योजना फेल खायो । प्रहरीका अनुसार गाडी चालक रवीन्द्रसँगै केरुङबाट आएका अर्का एकलाई समात्न प्रहरीले शुक्रबार रातभर कोसिस गरेको थियो । तर प्रहरीले गाडी समात्नुअघि नै ती व्यक्ति फरार भए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्नकुमार कार्कीका अनुसार अन्य दुईबारे पनि सूचना मिलेको छ । उनले भने, ‘तिनीहरूलाई पनि समात्न प्रहरी सक्रिय छ ।’ अवैध सुन बरामदका प्रत्येक घटनामा चालक मात्रै पक्राउ पर्ने र असली मालिकसम्म अनुसन्धान नै नपुग्ने भएकैले परिसरले यो घटनामा संगठित अपराध कसुर ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । ‘अवैध सुन समात्ने, राजस्वमा बुझाउने तर मालिक पत्ता नलाग्ने समस्या नहोस् भनेर यसपालि फरक ढंगले अनुसन्धान थालिएको हो,’ कार्कीले भने । उनका अनुसार सुन तस्करीका अनेक तह हुन्छन् । एउटा तहबारे अर्को तहलाई थाहा हुँदैन । त्यस्ता सेटिङका अनेक ‘कोड’ भाषासमेत हुन्छन् । ‘यो गम्भीर संगठित अपराध हो,’ उनले भने । सुन समात्न सक्रिय बालाजु वृत्तका डीएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्र रहेको सुन पत्ता लगाउन पनि प्रहरीलाई घण्टौं लागेको थियो । पुस १३ मा पनि यस्तै भएको थियो । पठाउनेले सुन लगेर एकान्तकुना पुर्‍याउनु र गाडीको चाबी एक जना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ । डीएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयन् पटक सुन ओसारेको देखिन्छ । फलामे बक्सको वेल्डिङ निकै पुरानो छ ।’ अवैध सुनका मालिक फेला नपर्ने घटना नयाँ भने होइन । विमानस्थलको भन्सार हुँदै बाहिरिएको सुनको मालिक को हुन् भन्ने पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फरक ढंगले अनुसन्धान जारी राखेको छ । प्रहरीले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दीनबन्धु थापा र सन्तोष काफ्ले तथा काभ्रेको पनौतीबाट रामहरि कार्कीसहित अन्य एकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रामहरि सुनका रिसिभर भए पनि मालिक होइनन् । उनीहरूको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार स्रोतका अनुसार आठ वर्षभन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत यादव तथ्यांक अधिकृत हुन् भने प्राविधिक कर्मचारी ढकाल करारमा नियुक्त हुन् । सुन तस्करीको घटनाबारे बुझ्न पुस २७ मा बसेको संसदको अर्थ समितिले अधिकार सम्पन्न छानबिन समिति गठन गर्न आदेश दिइसकेको छ । त्यस्तै भन्सार विभागले पनि सुन पक्राउको भोलिपल्ट अर्थात् २२ गते विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । यसअघि अवैध सुन बरामदपछि राजस्व अनुसन्धान विभागलाई बुझाउने गरिएको थियो । पछिल्ला सुन तस्करीको घटनामा भने प्रहरीले संगठित अपराध कसुर ऐन लगाएर मुद्दा चलाएको छ । पुस २६ को अर्थ समिति बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सधैं भरिया मात्रै समातिने र खलनायक बाहिरै रहने हो भने यस्तोखाले आर्थिक अपराध निरन्तर चलिराख्ने बताएका थिए । उनले भनेका थिए, ‘तस्करीमा कुन९कुन निकायका को९को संलग्न छन् र तस्करीको लाभ कसले प्राप्त गरिरहेको छ, पत्ता नलगाई हुँदैन ।’ त्यही बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले तस्करीको घटना राष्ट्रिय लज्जाको विषय भएको बताउँदै भनेका थिए, ‘यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ ।’ भूकम्पलगत्तै चीन जोडने तातोपानी नाका बन्द भएपछि नेपाल, चीन, भारत जोडने त्रिदेशीय मार्ग तस्करीमा सक्रिय देखिएको छ । पुस पहिलो साता रसुवाको टिमुरेबाट मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याइँदै गरेको पाँच किलो सुन बरामद भएको थियो । पक्राउ परेका विरेन लामाले उक्त सुन केरुङ नाका हुँदै ल्याएको बताएका थिए । त्यसअघि चैत १४ गते धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको नारायण दल गुल्मले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । चैत १७ गते धुन्चेबाट पनि २२ तोला सुनसहित ५ जना पक्राउ परेका थिए । भूकम्पपछिका सुन तस्करीका घटना हेर्दा केरुङ नाका तस्करीको रुट बन्दै गएको देखिन्छ । साढे चार वर्षमा ४ सय १७ केजी बरामद नेपाल प्रहरीको तथ्यांकले पछिल्ला साढे चार वर्षमा करिब ४ सय १७ किलो अवैध सुन बरामद भएको देखाउँछ । प्रहरीका अनुसार आर्थिक वर्ष ०६९र७० मा ८३ किलो दुई सय पाँच ग्राम, ६ सय ९० मिलिग्राम सुन बरामद भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७०र७१ मा ८९ किलो ९ सय ६५ ग्राम ७ सय ४१ मिलिग्राम सुन बरामद भएको थियो । आर्थिक वर्ष ०७१र७२ मा अवैध सुन बरामदको परिणाम हवात्तै बढेर १ सय ११ किलो ४ सय ४५ ग्राम पाँच सय ९४ मिलिग्राम पुगेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष ०७२र७३ मा ६८ किलो ५ सय ६ ग्राम, ७ सय ७३ मिलिग्राम सुन प्रहरीले बरामद गरेको थियो । आर्थिक वर्ष ०७३र७४ को चार महिनामा ७० किलो ९ सय ७५ ग्राम र ३ सय १० मिलिग्राम सुन बरामद भएको छ । विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ, सुन तस्करसँग साँठगाँठ हुन सक्ने आशंका महानगरीय अपराध महाशाखाले राजस्व छलेर विदेशी मुद्रा विदेश लैजान आँटेका तीन चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रसुवाको केरुङ जान लागेका ४७ वर्षीय चोङ तोङ फाङ, ४३ वर्षीय चौस लियन, ४४ वर्षीय चाउ लियाङ फुङ र गाडीका चालक ३९ वर्षीय पेम्बा तामाङ शनिबार बिहान सवा २ बजे नागढुंगामा पक्राउ परेका हुन् । पर्यटक बोक्न प्रयोग हुने बा१य १२३२ को हरियो नम्बर प्लेटको स्कारपियो गाडीमा उनीहरू सवार थिए । प्रहरीले पक्राउ परेका विदेशी नागरिकको साथबाट २ लाख ७० हजार ६ सय एक अमेरिकन डलर, १ लाख ३२ हजार ४ सय ५० युरोपियन डलर, ४ हजार ६ सय ५० अस्ट्रेलियन डलर, २ हजार ४ सय क्यानेडियन डलर, २१ लाख ४७ हजार ३ सय जापानी येन, ३ हजार २ सय ७० चाइनिज युयान, २ हजार स्वीस फ्र्यांक बरामद गरेको छ । महाशाखाका अनुसार बरामद विदेशी मुद्राको नेपाली सटही रकम करिब ४ करोड ७१ लाख १३ हजार ७ सय ९० छ । प्रहरीले यो घटनालाई सुन तस्करीसँग जोडेर अनुसन्धान थालेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल अवैध मुद्राको प्रयोग सुन तस्करी, लागूऔषध वा अन्य अवैध काममा प्रयोग गर्न लागिएको हुन सक्ने बताउँछन् । उनले अवैध मुद्रालाई पछिल्ला सुन तस्करीको घटनासँग जोडेर अनुसन्धान थालिएको पनि बताए । ‘यतिका धेरै रकम बोक्नुको प्रयोजन के थियो भन्नेमा अनुसन्धान केन्द्रित छ,’ उनले भने । ज्याठाबाट चढेका तीन चिनियाँ नागरिक यसअघि पनि आफ्नो गाडीमा केरुङ जाने गरेको चालक पेम्बाले बताए । पेम्बाका अनुसार केरुङबाट बोलाएपछि उनी तिनलाई लिन काठमाडौं आएका हुन् । पेम्बाले भने, ‘अरू बेला पनि यसैगरी राति मात्रै यात्रा गर्थे ।’ चोङ ताङ फुङले दोभासेको सहायतामा आफू करिब आठ वर्षदेखि काठमाडौंमा ब्यागको व्यापार गरिरहेको बताए । प्रहरीले तीन चिनियाँबीचको चिनजान र सम्बन्ध के हो, उनीहरू कसरी एउटै गाडीमा सवार रहे भन्नेमा अनुसन्धान गरिरहेको छ । – जनकराज सापकोटा, काठमाडौं

अर्घाखाँची घटनामा मेरो हात छैन, वक्ता र जनता दुबै दोषी– टोपबहादुर रायमाझी

काठमाडौं, माघ १ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीले अर्घाघाँचीमा भएको ढुंगामुढाको घटनाको निन्दा गरेका छन् । गत पौष २८ गते उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा तथा माओवादी नेता डिलाराम आचार्यमाथि अर्घाखाँचीको महोत्सव उद्घाटनका क्रममा ढुंगामुढा भएको घटना दुर्भाग्र्यपूर्ण भएको उनले टिप्पणी गरे । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै नेता रायमाझीले स्थानीय जनताको मनोविज्ञानविपरित वक्ताहरुले सम्बोधन गरेका कारण ढुंगामुढा भएको दावी गरे । “स्थानीय जनताको मनोविज्ञान एउटा छ, डिलारामजीले त्यसको विपरित बोल्नुभएछ । ५ नं. प्रदेश टुक्र्याउन नहुने पक्षमा रहेका जनताका बीचमा त्यसरी बोलेको कारण घटना घटेको देखिन्छ ।” उनले भने । नेता रायमाझीले घटनाका पछाडि आफ्नो नरहेको स्पष्ट पारे । तपाईकै मान्छेहरुले नियतवश आक्रमण गरेको चर्चा पनि छ नि ? भन्ने प्रश्नमा रायमाझीले उक्त घटना दुर्भाग्यपूर्ण भएको र आफूले त्यसो गराउने कुरा कल्पना पनि गर्न नसक्ने बताए । “मलाई प्रमुख अतिथीका रुपमा महोत्सवको उद्घाटन गर्न निमन्त्रणा गरिएको थियो, तर म कार्यव्यवस्तताका कारण जान सकिनँ” उनले भने, “पछि उद्घाटन बालकृष्ण खाँड या अरु मन्त्रीबाट गराउने तर समापनमा मलाई नै आइदिनुपर्ने प्रस्ताव राखेका थिए स्थानीयस्तरबाट ।” उनले बताए । रायमाझीले के कति कार्यव्यस्तताका कारण आफ्नो गृह जिल्लामा आयोजित कार्यक्रममा जान नसकेको हो भन्ने कुरा भने खुलाएनन् । पार्टीले नै तपाईलाई नपठाएको हो र ? भन्ने प्रश्नमा रायमाझीले सहभागी भएका उर्जामन्त्री जनार्दन शर्मा समेत पार्टीको निर्णयबाट नभई स्थानीयले आमन्त्रण गरेर गएको बताए । “पछि वहाँले डिलारामलाई समेत लगेर जानुभएछ । डिलारामजीले जनभावनाविपरित उनीहरुको मनोविज्ञान नबुझेर भाषण गरेछन् । त्यसपछि दुर्भाग्यपूर्ण घटना भयो ।’ उनले भने, “यसमा मेरो नाम जोडिनु पनि दुर्भाग्यपूर्ण नै हो ।” अर्घाखाँची घटनामा नेता डिलाराम आचार्यको सम्बोधन र त्यसपछिको दृश्य डिलाराम आचार्य र टोप बहादुर रायमाझी दुबैको गृह जिल्ला अर्घाखाँची हो । मसालको राजनीतिक पृष्ठभूमि भएका दुबै नेता पछि माओवादी प्रवेश गरेका हुन । डिलाराम आचार्य भने माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी बनेका थिए । एउटै गृह जिल्ला भएकोले डिलाराम आचार्यसँग राम्रो सम्बन्ध नभएका कारण आफू प्रमुख अतिथी भएको कार्यक्रममा डिलारामलाई लगेका कारण त्यसको बिरोध गर्नुपर्ने जनमत टोपबहादुर रायमाझीले सिर्जना गरेको भन्ने माओवादी भित्र चलेको हल्लाको भने रायमाझीले खण्डन गरे । “यो गलत प्रचार हो, डिलारामजीले नै जनताको मतविपरित बोले । त्यसैले यो घटनामा वक्ता र जनता दुबै दोषी छन् ।” संशोधन प्रस्तावको विपक्षमा मत हाल्ने नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा भने नेता रायमाझीले विपक्षमा मत हाल्ने संकेत गरेका छन् । एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै नेता रायमाझीले भने, “यो ५ नं. प्रदेश टुक्रयाउने कुरामा मेरो सहमति छैन । यो संघीयताको मर्मविपरितको प्रस्ताव हो । यो जुनसुकै प्रक्रियामा गएपनि मेरो समर्थन हुन्न ।” रायमाझीले उक्त प्रस्ताव पार्टीको नभई सरकारको भएको बताए । माओवादी पार्टीका अध्यक्ष नै सरकारको समेत नेतृत्व गरिरहेपनि यो पार्टीको निर्णय नभई विशुद्ध सरकारको निर्णय भएकोले आफूलाई ह्विप नलाग्ने उनको जिकिर थियो । “कतिपयले यसलाई माओवादी केन्द्रको प्रस्तावका रुपमा लिएका छन् । तर यो पार्टीको नभई सरकारको प्रस्ताव हो । यसको बिरोध गर्न अनुशासन उल्लंघन गरेको मानिन्न ।” रायमाझीको तर्क छ, “पार्टीको निर्णय भए कुन कमिटिमा कहिले यो निर्णय भयो हुनुपर्ने होइन र ?” उनले प्रतिप्रश्न गरे । पार्टीले औपचारिक निर्णय नगरेपनि व्यवस्थापिका संसदमा यस विषयमा पार्टीकै सांसदका नाताले उनको भूमिका के हुन्छ त भन्ने विषयमा समेत रायमाझीले आफूले सरकारी प्रस्तावको विरुद्धमा नै मतदान दिने स्पष्ट गरे । “म यो सीमांकनको प्रस्तावको पक्षमा छैन । ५ नं. प्रदेशको प्रस्ताव अर्थात् मधेसलाई पहाडबाट अलग गर्ने प्रस्ताव संघीयताको मर्म विपरितको प्रस्ताव हो । त्यसैले त्यसमा मेरो सहमति हुन्न ।” उनले स्पष्ट गरे ।

कानुनमन्त्रीले भने–‘सहमतिमै न्यायाधीश नियुक्ती गरिएको हो, निर्णय हेरफेर हुँदैन’

काठमाडौं, माघ १ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उच्च अदालतमा संविधानसम्मत् ८० जना न्यायाधीशको नियुक्त गरिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधान सम्म गरिएको निर्णय कुनै हालतमा फिर्ता नहुने बताए । मन्त्री नायकले भने–‘हामीले ऐन, कानून अनुसार, संविधान अनुसार नै न्यायाधीश नियुक्ती गरेका हौं, यो निर्णय कुनै हालतमा पनि फिर्ता हुँदैन्, यो निर्णय सबैलाई स्विकार्य छ।’ उनले समावेशी, समानूपातिक आधारमा परिषदका सदस्यहरुको सहमतिमै न्यायाधीस नियुक्ति गरेको दाबी गरे । ‘हामीले एक दिन होईन, एक महिनासम्म बैठक बसेर यो विचमा हामीले १० पटक बैठक गर्यौं, परिषदका ५ जनै सदस्यहरु बसेर हामीले गृहकार्य गरेका हौं,’ उनले भने । न्यायपरिषद्का सबै सदस्यको सहमतिमा नियुक्त गरिएको उनले दाबी गरे । मन्त्री नायकले भने–‘बैठकबाट राम प्रसाद सिटौला एक्कासी निस्किनुभएको हो, उहाँले धेरे वटा बैठकमा यस्तो गर्नुभएको छ, बैधनाथ उपाध्याय श्रीमानले त म आउन सक्दिन् भन्नुभएको हो, तर उहाँले हामीले गर्ने निर्णयमा समर्थन गर्छु भन्नुभएको थियो, उहाँसँग प्रधानन्याधीशज्यूले फोनबाटै कुरा गर्नुभएको थियो, उहाँले समर्थन जनाउनुभएको हो।’ उनले बारले नियुक्तीलाई लिएर गरेको विरोधको कुनै औचित्य नभएको बताए । ‘यो कुनै राजनीतिक भागबण्डामा गरिएको होईन, कानूनव्यवसायीहरु कतै न कतै हिजो विभिन्न समूहमा जोडिएपनि अब न्यायाधीश भएपछि त्यस्तो हुँदैन, उहाँहरुले निश्पक्ष र स्वतन्त्र काम गर्नुहुनेछ।’ उनले मधेशी मोर्चालेपनि विरोध गर्नुको कुनै अर्थ नभएको बताए । ‘८० जनामा समावेशीको कुरा गरिएको छ, तर ८० जनामा ३४ जना न्याय सेवाबाट लिईएको हो, १४ जना कर्मचारीबाट लिईएको छ, ३४ जनामा हेरौं न, हामीले त सकेसम्म समानूपातिक–समावेशी बनाएकै हौं नि, त्यसमा ६ जना महिला छन्, ७ जना मधेशी छन्, २ जना पिछडिएको क्षेत्रबाट छन्, यसरी हेरौं न।’

उपराष्ट्रपतिले भने-‘जनआन्दोलन होस् वा जनयुद्ध’हरेक आन्दोलनमा मगर समुदाय अगाडि

दमौली, माघ १ । उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको शनिबार उद्घाटन गर्दै उनले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गरे । उपराष्ट्रपति पुनले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन गर्न दलहरु अघि बढनुपर्ने बताउँदै ‘जनआन्दोलन होस् वा जनयुद्ध होस्’ हरेक आन्दोलनमा मगर समुदायले पुर्‍याएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसकिने बताए । नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता हो भन्दै उनले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताए । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष सिद्धान्त थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । यसैगरी उपराष्ट्रपति पुनले शनिबार नै महर्षि बेद व्यासको जन्मस्थलमा पुगी व्यास गुफाको समेत अवलोकन गरे । रासस

उपत्यकाको तापक्रम शून्यमा झर्यो, जाडो अझै बढ्ने

काठमाडौँ, माघ १ । न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ । न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन अझै चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक/दुई स्थानमा हल्का बर्षात् हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ । तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

कांग्रेसका भण्डारी र अमरसिंह पुनले पार्टीको निर्देशन नमान्ने

रुपन्देही, माघ १ । नेपाली कांग्रेसका दुई जना सांसदले संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पाका सांसद रोल्पाका पार्टी सभापति अमरसिंह पुनले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका हुन् । राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने उनीहरुले बताए । कार्यक्रममा नेता भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताए । उनले अहिले कै रफ्तारमा अंगिकृतलाई नागरिकता दिने हो भने पाँच वर्षपछि नेपालको भविष्य नै संकटमा पर्ने बताए । सांसद पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताए । उनी कांग्रेस रोल्पा जिल्ला सभापति हुन् ।

शिक्षा मन्त्रीद्वारा पुन निर्माण गरिएको विद्यालय भवनको उद्घाटन

काठमाडौ, माघ १ । भूकम्पले क्षतिग्रस्त कालीका ६ सिन्धुपाल्चोकमा रहेको महेन्द्र कान्ति माध्यमिक विद्यालयमा निर्माण गरिएको ट्रस भवनको शिक्षा मन्त्री धनिराम पौडेलले उद्घाटन गरेका छन् । शुक्रवार विद्यालयको ५५ औं वार्षिकोत्सव तथा  ५२ औं अभिभावक भेलाको अवसरमा शिक्षा मन्त्री पौडेलले ६ कोठे ट्रस भवनसँगै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाको पनि उद्घाटन गरे । विभिन्न संघसस्थाको ३५ लाख १० हजार ४ सय ९८ रुपैयाँको लागतमा ६ कोठे ट्रस भवन निर्माण गरिएको हो । ट्रस भवन वनेपछि विद्यालयमा पठनपाठन केही सहज भएको प्रधानाध्यापक केदारप्रसाद भण्डारीले जानकारी दिए। विहेल्फ नेपालले प्रदान गरेको १० वटा कम्प्युटर तथा शिक्षा मन्त्रालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले महेन्द्र कान्ति माविको २९ कोठे विद्यालय भवन पूरै क्षतिग्रस्त भएको थियो । विद्यालयमा अध्ययनरत ५ जना बालबालिका, १ जना शिक्षिका र १६ जना अभिभावकले पनि भुकम्पमा परी ज्यान गुमाएका थिए । कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले भूकम्पले तहसनहस भएर पनि सिन्धुपाल्चोक जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताउनुभयो । दुर्गम र भूकम्प अति प्रभावित जिल्ला भएर पनि सिन्धुपाल्चोक मध्यमाञ्चाल क्षेत्रका १९ जिल्लाको शैक्षिक मूल्यांङ्कनमा पहिलो हुनु गौरवको विषय भएको मन्त्री पौडेलको भनाई थियो । विगतमा निर्माण भएका विद्यालयको भौतिक संरचना कमजोर हुँदा भूकम्पले बढी क्षति पु¥याएको भन्दै उहाँले सरकारले अब बनाउने शैक्षिक संरचना भूकम्प प्रतिरोधी हुने बताउनुभयो ।  उहाँले भूकम्प अति प्रभावित १४ जिल्लामा विद्यालय भवन निर्माणको लागि सरकारले यस बर्ष ४ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारप्रसाद भण्डारीले विभिन्न दाताहरुको सहयोगमा विद्यालयमा ट्रस भवन बनेपछि पठनपाठन केही सहज भएको बताए । भवन अभावले विद्यालयका ७ वटा कक्षा अहिले पनि अस्थायी टहरामा संचालन भैरहेका भन्दै उहाँले त्यसप्रति ध्यानदिन शिक्षा मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा केद्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष गंगा बेल्बासे, विहेल्फ नेपालका सन्देश पौडेल, टुकी संघ सुनकोशीका अध्यक्ष कृष्ण थापा, चाइल्ड फण्ड जापानकी कोअर्डिनेटर आइलिन शान्तिआवो लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक, विद्यालयलाई विभिन्न ढंगले सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी र विभिन्न खेलकूद प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई शिक्षा मन्त्री पौडेलले नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

समावेशी तरिकाले न्यायाधीश नियुक्तिः कानुनमन्त्री नायक

काठमाडौँ,  माघ १ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताएका छन् । परिषद्का सदस्य नायकले रासससँग कुरा गर्दै २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित छ महिला, आठ जनजाति, पाँच मधेसी, दुई कर्णाली तथा एक एक थारु र मुसलमान समावेश गरी समानुपातिक समावेशिताको सन्देश दिन खोजिएको बताए । बिहीबार राति न्यायपरिषद्को सिफारिसमा नियुक्त उच्च अदालतका न्यायाधीशको कार्य विभाजनसमेत भइसकेको छ । रासस

पञ्जीकरण विभागमा मन्त्रीको छड्के, बैंकिङ प्रणालीबाट भत्ता दिन निर्देशन

काठमाडौँ, २९ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन् । अनुगमनका क्रममा चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई मन्त्रीले निर्देशन दिए । सरकारले समाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन नसकेको उल्लेख गर्दै मन्त्रीले जसरी भए पनि तेकिएको समयभित्रै समाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने बताए । सामाजिक सुरक्षाभत्ता लक्षित व्यक्तिको हातमा नपुग्ने गरेको गुनासो व्यापक रहेको भन्दै मन्त्री पाण्डेले बैंकिङ प्रणालीमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा भत्ता वितरणको व्यवस्था मिलाउन निर्देशन दिए । बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्दा सामाजिक सुरक्षाभत्ता बापतको रकम नगरपालिका वा गाविसबाटै हिनामिना हुने सम्भावना कम हुने उनको भनाइ थियो । मन्त्री पाण्डेले अब स्थानीय निकाय भङ्ग हुने र स्थानीय तह कार्यान्वयनमा आउने चरणमा रहेकाले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर पञ्जीकरणको कामलाई अघि बढाइनुपर्ने बताए । सो अवसरमा विभागका निर्देशक शालिकराम रिजालले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराइँ जस्ता व्यक्तिगत घटनाको दर्ता व्यवस्थापन एवम् नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापनको काम विभागले गर्दै आएको बताएका थिए । उनले कुल २१७ नगरपालिकामध्ये ११८ नगरपालिका र १८० गाविसले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । गाउँगाउँमा बैंकको शाखा नभएको र बैंकसम्म लक्षित वर्गको पहुँच नभएकाले पनि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न नसकएको मन्त्रीलाई जानकारी दिए । सामाजिक सुरक्षाभत्ता पाउने देशभरका कुल २३ लाखमध्ये ३९ जिल्लाका करिब १३ लाख व्यक्तिको नाम अनलाइनमा प्रविष्ट गरिसकिएको बताउँदै निर्देशक रिजालले हाल १७६ युनिटबाट अनलाइनमार्फत घटना दर्ताको काम भइरहेको बताए । स्याङ्जा, धनकुटा, कास्कीका सबै नगरपालिका र गाविसले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न थालेका छन् भने पर्वतको चार गाविसबाहेक सबै गाविसले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको विभागले जनाएको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई मासिक रु एक हजार, पूर्णअपाङ्गता (क) वर्ग र लोपोन्मुख आदिवासी÷जनजाति (बनकरिया, राउटे, सुरेल, हायु, राजी, लेप्चा, मेचे र कुसबडिया) जातिका व्यक्तिलाई मासिक रु दुई हजार तथा अशक्त÷अपाङ्गता भएका (ख) वर्गका व्यक्तिलाई मासिक रु ६०० र पाँच वर्षमुनीका कर्णाली अञ्चल तथा देशभरका दलित परिवारका दुई सन्तानलाई मासिक रु ४०० सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्रीले गरे ४० स्रष्टाको सम्मान

काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड देशभक्त गणतान्त्रिक मञ्चले समाजमा उल्लेखनीय योगदान गर्ने ४० स्रष्टालाई सम्मान गरेको छ । समाजसेवा, साहित्य, कला, सङ्गीत, पत्रकारिता लगायतका क्षेत्रमा योगदान गर्ने ४० जना स्रष्टा र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्रष्टाहरुलाई सम्मानित गरिएको हो । गणतान्त्रिक मञ्चले शिक्षा क्षेत्रबाट नवीन जोशी, सामाजिक सुरक्षाबाट जयबहादुर चन्द, समाजसेवाबाट अस्मिता सुमार्गी, व्यवसायीबाट तेजेन्द्र खड्का, खेलकूदबाट सुनिल कटुवाल, चलचित्रबाट अमित ढुङ्गाना, समाजसेवाबाट जितबहादुर बि.क.लाई सम्मान गरेको हो । त्यसै गरी मञ्चले चलचित्रबाट अभिनेत्री बिमला केसी, जनसंस्कृतिकर्मीबाट लक्ष्मी गुरुङ, प्रगति महरा, केशरी घर्तिमगर, कुस्मिता दर्लामी, प्रगति महरा, साहित्यकारहरुबाट शान्ता श्रेष्ठ, सुशीला प्रधानाङ्ग, बिन्दा मैनाली, सीता शर्मा, सुमित्रा वाङ्देल चेली, पञ्चकुमारी परियार, राधा कार्की, लक्ष्मी माली, सरला शर्मा, अमृता नेपाल, रत्नलक्ष्मी श्रेष्ठ, सत्या पहाडी, बाबा बस्नेत, नाट्यकर्मीबाट लता कार्की, प्रनिता परियार, रीता थापा, पत्रकारबाट सुनिता रेग्मी, आस्था के.सी., रुवी श्रेष्ठ, प्रभा बोगटी, सङ्गीता खड्का, रुपा महर्जन, लक्ष्मी पुन, सुमिता तामाङ, ललितकलाबाट सौरगंगा दर्शनधारी, अनिता भट्टराई र अनिता लामालाई सम्मान गरिएको हो । कार्यक्रममा साहित्यकार बाबा बस्नेतको ‘युद्धको बाँसुरी’ कविता सङ्ग्रह बिमोचन गरिएको थियो । बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘स्रष्टाको सम्मान गर्ने परम्पराको थालनी गर्नुभएकोमा खुसीको महशुस भएको छ । थुप्रै घुम्ती मोडहरुका बीच पनि समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टा र व्यक्तित्वहरुको सम्मानले नयाँ पुस्ताका लागि पनि प्रेरणा दिनेछ ।’ कार्यक्रममा माओवादी केन्द्रका नेता एवं स्रष्टा दीनानाथ शर्माले साहित्यकारहरुले साहित्यका माध्यमबाट समाज परिवर्तनमा मौलिक योगदान दिनसक्ने बताउनु भयो । सो अवसरमा गीति एल्वम् ‘बिहानी’को पनि बिमोचन गरिएको थियो ।

मोहन बैद्यले भने–‘जनयुद्ध आफैँमा किताब हो’

काठमाडौँ, पुस २९ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताउनुभएको छ । सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने–“जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको विषय बन्यो ।” चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले क्रान्तिको पूर्णता बिना सहिदको सपना पूरा हुन नसक्ने बताए । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टले सहिद कुनै गुट वा उपगुटको नहुने उल्लेख गर्दै माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्नेमा जोड दिए । एकै परिवारबाट पाँचजना सहिद भएको बलिदानीलाई समेटेर ‘कालजयी योद्धाहरु’ पुस्तक तयार पारिएको हो । सो पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर गिरीले परिवर्तनपछि सहिदको अवमूल्यन हुँदैआएको दुखेसो पोखे । सो पुस्तक सहिदद्वय कमल भुजेल र सुमित्रा घिमिरेकी एकमात्र छोरी अस्मिता भुजेलले विमोचन गरेकी थिइन । एउटै परिवारका तीर्थ भुजेल, माधव घिमिरे, नारायण घिमिरे, सुमित्रा घिमिरे र कमल भुजेलले द्वन्द्वकालमा विभिन्न ठाउँमा सहादत प्राप्त गरेका थिए ।