स्थानीय चुनावमा सेनाको प्रयोग नहुने

विराटनगर, चैत २९ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्रगतिमा भइरहेको बताएका छन् ।

यहाँ मंगलबार बिहान पत्रकारसँगको भेटघाटमा उनले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षणकाअन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास व्यक्त गरे।

प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उनले आयोगले एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि बताए ।

पत्रकारको जिज्ञासामा उहाँलेसेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा रहने स्पष्ट गरे ।

सरकारले आज नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने, पछि सर्यो सीमांकनको मुद्दा

काठमाडौं, चैत २९ । सीमांकनका बारेमा देखिएको विवाद आयोगमार्फत टुंगिने गरी सरकारले आज संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्ने भएको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले व्यवस्थापिका संसदमा यसअघि दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो । संविधानमा असन्तुष्टि राख्दै आएको मधेसी मोर्चा र संशोधन आवश्यक नभएको जिकिर गर्दै आएको नेकपा एमालेलाई सहमतिमा ल्याएर चुनाव सम्पन्न गर्ने उद्देश्य राखेर सरकारले यसअघिको संशोधनप्रस्तावमा परिमार्जन गरेको हो । नयाँ संशोधन प्रस्तावमा यसअघि प्रस्ताव गरिएको सीमांकनको विषयलाई अधिकार सम्पन्न संघीय आयोगले टुंगो लगाउने प्रावधान राखिएको छ । व्यवस्थापिका संसदमा दर्ता भएको प्रस्तावमा रहेका नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व सम्वन्धी व्यवस्थामा भने कुनै परिमार्जन गरिएको छैन । यसबाहेक राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने विषय संशोधनमा थपिएका छन् । सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले जुटाएको सहमति अनुसारनै संशोधन विधेयक प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मधेसी मोर्चासँगको कार्यदलले तयार पारेको अनौपचारिक सहमतिलाई नै सरकारले नयाँ संशोधन विधेयकका रुपमा दर्ता गर्न लागेकोले यो संशोधन विधेयक पारित हुने सरकारको विश्वास रहेको प्रधानमन्त्रीले बताएका छन । एमालेको मुख्य असहमति सीमांकनमा रहेकोले अन्य विषयमा एमाले समेत सहमत हुने उनले बताए । देश निर्वाचनमा अघि बढिसकेकोले संशोधन प्रस्ताव पारित भएसँगै संविधान कार्यान्वयनमा नयाँ फड्को मारिने प्रधानमन्त्रीले बताउँदै आएका छन् । एमालेले भने सरकारले ल्याउन खोजेको नयाँ विधेयकबारे औपचारिक प्रतिक्रिया दिएको छैन । अनौपचारिकरुपमा भने एमालेले लिखित प्रस्ताव आएमा त्यसमा छलफल गर्न सकिने जनाएको छ ।

सरकारद्वारा डिआइजी अर्याललाई महानिरिक्षकमा नियुक्त,आजै पदबहाली

काठमाडौं, चैत २८ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको आधारमा पहिलो नम्बरमा रहेका अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले फागुन १ गते आइजिपीमा बढुवा गरेका डिआइजी जयबहादुर चन्दको बढुवालाई सर्वोच्च अदालतले बदर गरेपछि सरकारले नयाँ आइजिपी नियुक्त गर्न चारजना डिआइजीको कार्यसम्पादन मूल्यांकन गरेर नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्यालको आइजिपीमा बढुवा भएको हो । कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ । ८ चैतमा सर्वोच्चले आइजिपी नियुक्तिमा कार्यसम्पादन मुल्याकंनकै ख्याल नगरी मन्त्रीपरिषद्ले गरेको नियुक्ती विधीसम्म नभएको ठहर गर्दै कार्यसम्पादनका आधारमा आइजिपी नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि सरकारले प्रहरी नियमावली संशोधन गरेर निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई दिएको थियो । नवनियुक्त महानिरिक्षक अर्याललाई आजै फूली लगाउने भएका छन् । गृह मन्त्रालयले गृहका उच्च अधिकारी लगायत नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिकारी र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीलाई मन्त्रालय बोलाएर उनलाई फुली लगाएको छ । महानिरिक्षकको नियुक्ती पाएका ५३ वर्षे अर्याल दाङ त्रिभुवन नगरपालिका वडा नम्बर ११ मा जन्मेका हुन् । २०६९ पुष ४ मा डिआईजीमा बढुवा भएका अर्यालले पछिल्लो समय महानगरिय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनले अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

एमाले अध्यक्ष ओलीलाई सभापति देउवाको तिखो तिर

तुलसिपुर, चैत २८ । दाङको तुलसिपुरमा नेपाली कांग्रेसको दोस्रो चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । प्रदेश नम्बर ५ अन्तर्गत तुलसिपुरमा कांग्रेसले आयोजना गरेको शक्ति प्रर्दशन सभामा सभापति देउवाले एमालेले संविधान कार्यान्वयन नचाहेको आरोप लगाएका छन् । मधेसी मोर्चाको विरोधका बाबजुद पनि एमालेले मेची महाकाली अभियान चलाएर मधेसमा वितण्डा मच्चाएको उनले आरोप लगाएका छन् । सभापति देउवाले भने, ‘मधेसको सन्दर्भमा एमाले जसरी प्रस्तुत भएको छ, त्यो गलत छ, एउटा शक्तिलाई वाइपास गरेर चुनावमा जाँदा पछि द्वन्द्व निम्तिने खतरा हुन्छ । त्यसैले मधेसलाई पनि सँगै लिएर चुनावमा जाने हो ।’ सभापति देउवाले नेपाली कांग्रेसका विषयमा नानाथरी भ्रम फैलाएर एमालेले राष्ट्रलाई निकास दिने भन्दा पनि वितण्डा मच्चाउने काम गरेको आरोप लगाए । उनले एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको त हैन भन्ने प्रश्न गरे । कांग्रेस सभापति देउवाले भने,‘ एमालेका गतिविधि हेर्दा हामीलाई शंका लाग्न थालेको छ, ओलीजीका उखान टुक्का सुन्दा संविधानलाई कार्यान्वयन गर्न नदिएर असफल बनाउन खोजेको महशुस भइरहेको छ ।’ सभापति देउवाले आेलीका उखान टुक्काले देश नचल्ने भन्दै ‘उखान टुक्काले नै देश चल्ने भए त ओलीलाई भन्दा कलाकारलाई नै त्यसको भार सुम्पे भो नि !’ कांग्रेस सभापति देउवाले दलहरुको एकताले नै समृद्धि र विकास सम्भव हुने भन्दै स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई भारी मतले विजय गराउने विश्वास पनि ब्यक्त गरे । सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा चुनावमा आउने विश्वास ब्यक्त गर्दै एमालेलाई संविधान असफल बनाउने खेलमा नलाग्न आग्रह गरेका छन् । महामन्त्री शशांक कोइरालाले स्थानिय तह अधिकार सम्पन्न रहेको भन्दै सक्षम र सवल ब्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए । कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सिचाइमन्त्री दिपक गिरी लगायतले सम्बोधन गरे । कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर ५ का १० वटा जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता दाङको तुलसिपुरमा भेला भएका थिए ।

पाँचथरको सुवाङमा भीषण आगलागीमा आठ घर जले

ताप्लेजुङ, चैत २८ । पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ । दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका–७ सुबाङ गाविसको दोभानबाट सल्किन सुरु आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ती घरहरुमध्ये दुईवटामा मानिसको बसोबास रहेको र अन्य भने खाली थिए । घर जल्दा सामान र अन्नपात भने जलेर नष्ट भएका छन् । आगलागीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी र स्थानीयवासिन्दा लागिपरेको भएपनि अझैसम्म आगलागी नियन्त्रणमा आउन नसकेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिएका छन् । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ । आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ ।

ख्याल ख्यालमा बल्झियो साँच्चैको व्यथा

शब्द /तस्बीर श्रीधर न्यौपाने सिन्धुपाल्चोक, चैत २० । कार्यक्रम ख्याल ख्याल तर भैदियो साँच्चै । “घटनास्थल : सिन्धुपाल्चोक सदरमुकाम चौतारा । समय शुक्रबार विहान ९ : ३० बजे । जिल्ला समन्वय समितिका अधिकृत एवं विपद जोखिम न्युनिकरण समितिका सम्पर्क व्यक्ति अनिरुद्र नेपालले सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्पको ठूलो धक्काले जनधनको क्षति भएको जानकारी दिए । उनले घरबाटै बाहिरै सुरक्षित स्थानमा बस्न सर्बसाधारणलाई आव्हान गरे । उनैले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बस्न लागेको जानकारी गराए । उनलाई जिल्ला प्रशासन कार्यालयका अधिकृत हेमराज फुँयालले पनि सघाए । करिब ५ मिनेट पछि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु चौतारा टुँडिखेलमा आईपुगे । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित विषयगत कार्यालयका प्रमुखहरु सहित दैविप्रकोप उद्धार समितिको बैठक बस्यो, मिनेट मिनेटमा विपदबाट भएको मानविय एवं भौतिक क्षतिबारे जानकारी गराईयो । केहीबेरपछि सञ्चारकर्मीहरु पनि पुगे । स्थानीय रेडियोहरुले घटनाको प्रत्यक्ष प्रशारण गरे । प्रमुख जिल्ला अधिकारीले विपदको सामना गर्न सरकार एक्लैको प्रयास पर्याप्त नरहेको भन्दै तत्काल जिल्लामा कार्यरत एनजिओ, आईएनजिओलाई सहकार्यका लागि आग्रह गरे । त्यस लगत्तै गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोकका सचिव राजेन्द्र शर्माले घरबार विहिन बनेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका नागरिहरु र अरु सर्बसाधारणलाई दिउँसो खानको व्यवस्था गर्न सकिने जानकारी गराए । त्यतिबेला सम्म सुरक्षा निकायहरुसंग समन्वय गरि रेडक्रस लगाएतका संस्थाहरुले भूकम्पमा परि घरभित्रै फसेका, पुरीएका मानिसहरुलाई उद्धार गरेर टुँडिखेल ल्याईपुर्याए । जिल्ला अस्पतालको टोलीले उपचारमा ध्यान दियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको नेतृत्वमा रहेको वास क्लष्टरले अक्सफाम तथा वल्डभिजनको सहयोगमा तत्काल खानेपानीको ब्यवस्था गर्यो । शिक्षा कार्यालयले विपदमा फसेका विद्यार्थीको उद्धारमा ध्यान दियो । महिला बालबालिका कार्यालयले महिला बालबालिकाहरुकै ध्यान दियो र आफ्नो कार्यालय भत्किएर कर्मचारी पुरिएकोले उद्धार गर्न आग्रह गर्यो । जिल्ला दैवि प्रकोप उद्धार समितिको दोस्रो बैठकले सुरक्षा निकायलाई सो सरकारी भवन खाली गर्न र बाटो हिड्न खतरा भएकोले खोजि र उद्धार पछि भत्काउन निर्देशन दियो । सुरक्षाकर्मीले त्यहि अनुसार काम गरे । त्यतिबेलासम्म जिल्ला कृषिविकास कार्यालयको नेतृत्वमा रहेको खाद्यान्ह क्लष्टरले तत्कालका लागि आबस्यक पर्ने खाना जुटाएको जानकारी गरायो । अनि भबन निर्माण विभाग संगको समन्वयमा रहेको आवास क्लष्टरले अस्थाई बसोबासको ब्यवस्था गरिएको जानकारी दियो । भूकम्पमा परि ज्यान गएकाहरुको शब टुँडिखेलको एकाकुनामा जम्मा गरियो । घाईतेलाई उपचार अनि बेपत्ता भएकाहरुको खोजि जारी राखियो । पटक पटक आईरहेका पराकम्पनको सुचना दिंदै सुरक्षित रहन दैविप्रकोप उद्धार समितिले आग्रह गरिरह्यो । केही बेरमा डोजर चलाएर भुकम्पले भत्कीएर बाटोमा जोखिमपुर्ण अबस्थामा रहेको घर पनि भत्काउन थालियो । घटनास्थल वरपर रातो डोरी टाँगेर सर्बसाधारणलाई प्रवेशमा रोक लगाईयो । ठिक त्यहि बेला नजिकको स्याउलेबाट आईपुग्यो अनि राहतका लागि आग्रह गर्यो । अधिकारीहरुले धैर्य गर्न भन्दै थियो । समुहले एउटा गाडिमा आएको राहतको सामाग्री लुट्न थाल्यो । प्रहरीले बल प्रयोग गरेर सामान फिर्ता लियो । टुँडिखेलमा कतै घाईतेको रुवावासी, कतै आफन्त गुमाएकाहरुको रुवाबासी, कतै राहतका लागि नाराबाजी कतै शान्त रहन आब्हान चलिरह्यो । ” यस्तै देखियो शुक्रबार दिनभर चौतारामा । चुनाबी माहौलले रन्किएको बेला शुक्रबार सिन्धुबासी अर्कै तयारीमा थिए । sindhupalchok-earthquake sindhupalchok-earthquake 2 sindhupalchok-earthquake 1 sindhupalchok-earthquake 3 sindhupalchok-earthquake 4 sindhupalchok- earthquake 5 जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा विषयगत सरकारी कार्यालयका अधिकारीहरु, गैरसरकारी क्षेत्र, सुरक्षाकर्मी र सर्बसाधारणको बाक्लो उपस्थितिमा भूकम्पमा आधारित कृतिम घटना अभ्यासको कार्यक्रम थियो । वि स २०७२ साल बैशाख १२ गतेको जस्तै भूकम्प वा त्यति नै क्षति पुर्याउने खालको अर्को बिपत्ती आयो भने कसरी सामना गर्न सकिएला भनेर कृतिम अभ्यास आयोजना गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ । त्यहि अभ्यासका क्रममा भईदियो साँचिकै अर्को अर्को घटना । पछिल्लो तीन वर्ष, २०७१ सालमा जुरे पहिरोले सयौंको ज्यान लिएको र भोटेकोशी नदिनै थुनिएको संकट खेपेको सिन्धुपाल्चोकले २०७२ साल बैशाख १२ को भूकम्पमा देशभर ज्यान गुमाएमा मध्य आधा ३ हजार पाँच सय ७० जनाले ज्यान गुमाए । फेरि ७३ सालमा भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोकले ठूलो क्षति बेहोर्नु पर्यो । ति विपदहरु र खासगरि भूकम्पमा उद्धार गरिएका, आफै उद्धारमा खटेका र पराकम्पनबाट घाईते भएकाहरु पनि कृतिम अभ्यासमा सहभागी थियो । उद्धार र रातको काम अनि माहौल । उपस्थित मध्य ४ जना फरक फरक समयमा टुँडिखेलमा लडे र बेहोस भए । प्राथमिक उपचार पछि होस खुल्दा पो थाहा भयो, उनीहरु कोही भूकम्पले पुरिएर बाँचेका, कोही सख्त घाईते भई बल्ल निको भएका, कोही आफन्त गुमाएकाहरु रहेछन् । किन यस्तो भएछ त, जिज्ञासामा जनहितका राजेन्द्र शर्माले भने, पुरानो घटनाले व्यथा बल्झिएछ, ख्याल ख्याल भनेको साँच्ची भयो । विनाशकारी भूकम्प गएको २ वर्ष बितिसक्दा पनि भूकम्पको त्रासले सिन्धुका सर्वधारणको मानसपटलमा बास जमाईरहेको प्रमाण थियो त्यो । विपदले हामीलाई पछ्याईरहेको छ, हामी संधैभरी सचेत रहनुपर्ने अबस्था छ, गैरसरकारी संस्था महासंघका जिल्ला सचिब समेत रहेका जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा भन्छन उद्धार, राहत र पुनःर्थापनाको कार्यक्रममा गैरसरकारी संस्थाहरुको जिम्मेवारी अझ महत्वपुर्ण देखिएको छ । उनल कृतिम अभ्यासबाट तत्काल खोज तथा उद्धार र तात्कालीन राहतका लागि सबै तयारी अबस्थामा रहेको पाईएको सुनाए । कृतिम अभ्यासको चाँजोपाँजोमा सक्रिय जनहितकै विपद जोखिम न्युनिकरण अधिकृत चिरन कट्टेलले भूकम्पमा आधारित कृतिम अभ्यासमा संलग्न भईरहँदा आफूलाई दुईबर्ष अघिको भूकम्पमा उद्धारमा खटेको झल्झली याद आएको बताए । हाल अक्सफामसँगको साझेदारीमा जनहितले जिल्लाका साबिकका २२ गाविसमा सञ्चालन गरेको स्थानीय विपद जोखिम न्युनिकरण व्यवस्थापन योजना बनाई सकेका उनी उद्धारमै लागेको बेला गएको पराकंपनमा लडेको घरले किचेर गम्भीर घाईते बनेका थिए । घाउ थाक्दै गर्दा आगामी दिनमा आईपर्नसक्ने अप्ठेरो र तयारीबारे उनले सबैलाई सचेत गराए । विपद सामाना गर्न हामी कत्तीको तयार छौं भनेर पनि यस्ता कृतिम अभ्यास गर्नुपर्ने खाँचो रहेको अक्सफामका विपद जोखिम न्युनिकरण अधिकृत द्रोण उप्रेतिको तर्क छ । विपद जानकारी दिएर आउँदैन, जुनसुकै बेला तयारी अबस्थामै रहनुपर्छ, उनले थप प्रष्ट पारे ।

प्रहरी हवल्दार सहित ६ जना सुन चोरीको आरोपमा पक्राउ

काठमाडौं, चैत २० । सोह्रखुट्टे प्रहरी वृत्तका हबल्दारसहित ६४ तोला सुन चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । सोह्रखुट्टे प्रहरी बृत्तका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी विष्णु केसीले जानकारी दिए । न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६४ तोला सुन लुटपाट भएको थियो । पक्राउ गरिएकाहरुसँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबुरामकै अनुरोधमा प्रहरीबाट गिरफ्तार गराएको खुलासा

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईकै आग्रहमा प्रहरीले पक्राउ गरेको खुलासा भएको छ । आइतबार दललाई सरह चुनाव चिन्ह दिनुपर्ने माग राखेर काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराई सहित सय जना नेतालाई भट्टराईकै आग्रहमा पक्राउ गरिएको गृह स्रोतले एभरेष्टदैनिक डटकमलाई बताएको छ । गृहमन्त्रालय स्रोतका अनुसार बाबुराम भट्टराईले गृहमन्त्री विमलेन्द्र निधि र गृहसचिव लोकदर्शन रेग्मीलाई फोन गरी आफैँलाई गिरफ्तारी गर्न आग्रह गरेका थिए । उनले गणतान्त्रिक सरकारले अाफूलाई पक्राउ गर्यो भनेर प्रचार गर्न पनि अाँफै पक्राउ गराउन खोजेका थिए भट्टराईको भनाइ उधृत गर्दै स्रोतले जनाएको छ । ‘कार्यकर्ता प्रदर्शनमा उत्रिन सक्छन,लाठी चार्ज नगरी सिधैँ हामीलाई पक्राउ गरिदिनु,’ भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो । निर्वाचन कार्यलयमा रहेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, अायोग घेर्न जानू अघि भट्टराईले अाक्रामक ट्वीट गरेका थिए । उनले लेखेका छन् । भट्टराईकै अनुरोधमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मधेसी मोर्चाकै सहभागितामा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्रीको भनाई

काठमाडौं, चैत २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अतिवादमा जान नदिन सबै दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन् । आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मधेशी जातीय समन्वय समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले सरकारले मधेशी मोर्चालाई साथमा लिएर निर्वाचन सम्पन्न गर्न अधिकतम प्रयास गरिरहेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन मधेसी मोर्चाको सहभागितामा सहज रुपमा सम्पन्न हुने दावी गरे । उनले अतिवादले देश र जनता सबैलाई घाटा पुर्याउने उल्लेख गर्दै मिलेर अघि बढन आन्दोलनरत मधेशी मोर्चालाई पुनः आह्वान गरे । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि दुई तिहाई मत पुग्ने अवस्था नरहेकाले तत्काल त्यसलाई अघि नबढाइएको विषय बारेमा जानकारी दिए । भेटमा समाजले प्रधानमन्त्री दाहाललाई मधेशको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने लगायतका मागसहितको १० बुदे ज्ञापन पत्र बुझाएको छ । मधेश केन्द्रित विभिन्न २३ वटा जातीय संगठनद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा सप्तरी घटनाका दोषीमाथि कडा कार्वाही गर्न र पीडित परिवारलाई एथेष्ट क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

बाबुरामले लेखे-जीवनमा पाँच पटक जेल परेँ, पाँचौं गिरफ्तारी गणतान्त्रिक सरकारबाट

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जीवनमा पाचौं राजनीतिक गिरफ्तारी भोगेको बताएका छन् । आइतबार काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन कार्यालय घेराउ गर्न गएका उनी सहित सयजनलाई प्रहरीले पक्राउ गरेपछि उनले जीवनको पाँचौं गिरफ्तारी भएको बताएका हुन् । भट्टराईसहित हिसिला यमी बैद्य माअोवादीका सीपि गजुरेल लगायतका सय जना नेतालाई प्रहरीले नेपाल प्रहरी २ नम्बर गण महाराजगन्जबाट महेन्द्र पुलिस क्लब सारिएको छ । भट्टराईले कुन सरकारको पालामा कहाँ कहाँ पक्राउ परेको उल्लेख गरेका छन् । राजनीतिक जीवनको सुरुवात सुरु गर्दा भट्टराई पहिलो पल्ट २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा पक्राउ परेका थिए । दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा पक्राउ परेका थिए भने चौथो बहुदलीय व्यवस्थामा गिरीजा प्रसाद कोइरालाको पालामा २०५० सालमा पक्राउ परेको समाजिक सञ्जाल फेसबुक र टवीटरमा सार्वजनिक गरेका छन् । उनले गणतान्त्रिक सरकारले पनि अन्य सरकारले जस्तै पक्राउ गरेकोमा व्यङ्ग गरेका छन् । पाँचौं पटकको पक्राउ भने प्रचण्ड नेतृत्वको गणतान्त्रिक सरकारले गरेको उनले लेखेका छन् ।

बीमाको चुक्ता पूँजी बढाउने निर्णयले गर्दा आइतबार शेयर बजार बढ्ने

काठमाडौं, चैत २० । आइतबार शेयर बजार बढने संकेत देखिएको छ । बीमा समितिले बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी चार गुणाले वृद्धि गरेपछि त्यसको शेयर बजार  ह्वात्तै बढ्ने भएको हो । शुक्रबार बसेको बीमा समिति सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको ४ गुणले वृद्धि गरि न्यूनतम जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको छ । २०७५ साल असार मसान्तभित्र वीमा कम्पनीहरुले तोकिएको चुक्ता पूँजी पु¥याइ सक्नुपर्छ । बजारमा यो खबरको सकारात्मक प्रभाव पर्ने भएको हो । कारण बिमा कम्पनीहरुको चुक्तापूँर्जी वृद्धिको हल्ला मात्र आउँदा समेत बिमा समूहको सूचकले बुुर्कुुसी माथ्र्यो भने अब निर्णय नै भएपछि नबढ्ने भन्ने प्रश्नै उठ्दैन । अबको केही दिनसम्म बिमा कम्पनीहरुको सेयर किनबेचमा मारामार हुुने प्रष्ट संभावना छ । यस्तै, चुक्तापूँजी वृद्धि गर्नुपर्ने हुँदा कतिपय बिमा कम्पनीबीच मर्जर हुने, आफैं पूँजी पुर्याउनुपर्ने कम्पनीहरुले ठूलो मात्रामा हकप्रद र बोनस सेयर जारी गर्नुपर्ने अवस्था समेत आउनेछ । यसले ठूलो परिमाणमा सेयरको आपूर्ति बढाई बजारमा अवसरहरुका थप बाटो खोलिदिने विश्वास गर्न सकिन्छ । समितिले शुक्रबार निर्णय गर्दै विद्यमान जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५० करोडबाट २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँबाट १ अर्ब रुपैयाँ पु¥याउने निर्णय गरेको हो । ‘हामीले बिमा कम्पनीहरुलाई पूँजी बढाउन तीन वटा विकल्प दिएका छौं’ बिमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एभरेष्ट दैनिक डटकमसँग भने, ‘नाफाबाट वोनस, लगानीकर्ताले हकप्रदबाट पूँजी थप्ने वा मर्जर गरेर भए पनि पूँजी पु¥याउनु पर्छ ।’ बिमा समितिले यसअघि पूँजी बृद्धि योजना नल्याए पनि पूँजी बढाउने उद्देश्यले नगद लाभांस वितरण गर्न रोकेको थियो । कम्पनीहरुले नाफा वितरण वोनस शेयर गरेर दिनुपर्थ्यो । चापागाईँले विदेशी बिमा कम्पनीहरुका शाखाहरुलाई पनि नयाँ ब्यवस्थाभित्र समेटिएको जानकारी दिए । उनका अनुसार नेपालमा सञ्चालनमा रहेका स्वदेशीका साथै विदेशीले पनि पूँजी बढाउनु पर्ने वाध्यात्मक व्यवस्था गरिएको हो । हाल नेपालमा जीवन बीमा कम्पनी ९ वटा र निर्जीवन बीमा कम्पनी १७ वटा रहेका छन् ।  

बाबुराम भट्टराई गिरफ्तार

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपाल संयोजक बाबुराम भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । दलीय हैसियतमा निर्वाचन चिन्ह पाउनुपर्ने माग राख्दै आइतबार निर्वाचन कार्यालय घेराउ गर्न पुगेका उनलाई कान्तिपथबाट प्रहरीले प्रक्राउ गरेको हो । उनीसँगै हिसिला यमी, सांसद गंगा चौधरी, पर्शुराम खापुंग लगाएत गिरफ्तारीमा परेका छन् ।नयाँ शक्ति पार्टी सहित ६२ साना दलले आज देशैभरका निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका थिए । बाबुरामले निर्वाचन अायोगको निषेधित क्षेत्र घेर्नको लागि सार्वजनिक अपिल गरेर ट्वीट गरेका थिए । प्रहरीले भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको छ । महेन्द्र पुलिस क्लवमा धर्ना सुरु निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । २ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् । संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् । निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।  

चुनाव चिन्ह नपाएको झोंकमा नयाँ शक्ति आजदेखि आन्दोलनमा

काठमाडौं, चैत १९ । नयाँ दललाई स्थायी चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्ति नेपालले आजदेखि देशभरी आन्दोलन गर्दै छ । निर्वाचन आयोगले आफूलाई रोजेको चुनाव चिन्ह नदिएकोमा नयाँ शक्ति नेपाल रुष्ट छ । निर्वाचन आयोगको यो निर्णय पहिलोपटक भने होइन । यसअघि पनि नयाँ राजनीतिक दल र स्वतन्त्रले स्थायी चुनाव चिन्ह पाउने गरेका थिएनन् । तर नयाँ शक्ति नेपालले भने निर्वाचन ऐनलाई नै संशोधन गरी आफूहरुलाई स्थायी चुनाव चिन्ह दिन माग गरेको छ । यसका लागि नयाँ शक्तिले केही साना र नयाँ दलहरुलाई साथ लिएर प्रधानमन्त्रीसमक्ष ज्ञापन समेत बुझाएको छ । निर्वाचन आयोगले भने ५१ जिल्लामा मतपत्र छाप्ने काम करिब करिब सम्पन्न भएको बताउँदै निर्वाचन चिन्हमा कुनै हेरफेर गर्न नसक्ने स्पष्ट गरिसकेको छ । कतिपयले नयाँ शक्तिको आन्दोलन जनताको सहानुभूति बटुल्ने अर्थमा समेत लिएका छन् । नयाँ शक्तिले निर्वाचन ऐन संशोधनको माग गर्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो । आन्दोलनका कार्यक्रम अनुसार, नयाँ शक्तिले आज आइतबार देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने छ । चैत १५ र १६ मा बसेको नयाँ शक्ति पार्टीको संघीय परिषद्को बैठकले दलकै चुनाव चिन्हबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने निर्णय गरेको थियो । ऐन संशोधन लगायत निर्वाचनको वातावरणका लागि विभिन्न ६ वटा पूवशर्त राख्दै संघर्ष र निर्वाचनमा सहभागिताको नीति संघीय परिषद्को बैठकले लिएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधनबाहेक निर्वाचनको वातावरण बनाउनका लागि नयाँ शक्तिले संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन, विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुनःसंरचना, लगायतका माग राखेको छ ।

अमेरिकी गोप्य सूचनाको आधारमा त्रिभुवन विमानस्थलबाट इरानी नागरिक पक्राउ

काठमाडौं – अमेरिकी दूतावासको गोप्य सूचनाका आधारमा अध्यागमन विभागले गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक इरानी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अमेरिकी राहदानीवाहक इरानी नागरिकलाई बिहीबार पक्राउ गरेको हो । अमेरिकी राहदानीमा ती इरानीको नाम अब्दुल लातिफ तासिन सलमान लेखिएको छ । कागजपत्रमा उनको इरानी नाम हमिद छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ । नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।सलमानले हराएको अमेरिकी राहदानी (स्टोलन लस्ट ट्राभल डकुमेन्ट पासपोर्ट) मा किर्ते गरी आफ्नो फोटो टाँसेको आशंकामा दिल्ली विमानस्थल अध्यागमनले इन्ट्री रिफ्युज गरेको स्रोतले बताएको छ । सलमानले बिहीबार भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भने सहजै पार गरेका थिए । उनले हराएको अमेरिकी राहदानी प्रयोग गरेका थिए । अमेरिकाले सलमानले हराएको अमेरिकी राहदानी ट्र्याकिङ गरिरहेको थियो । त्यही क्रममा उनी नयाँदिल्ली अध्यागमनको नियन्त्रणमा परेका हुन् । भारतबाट इन्ट्री रिफ्युज भएर काठमाडौं आएलगत्तै विमानस्थल अध्यागमन कार्यालयले सलमानलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागको हिरासतमा रहेका सलमानलाई शुक्रबार अमेरिकी दूतावासका अधिकारीले बयान लिएका छन् । अध्यागमन अधिकारीले बयान लिनुअघि नै अमेरिकी दूतावासका अधिकारीले सलमानको बयान लिएको जानकारी स्रोतले दिएको छ । अमेरिकी दूतावासका अधिकारीले सलमानको लगेज र आवश्यक कागजपत्रसमेत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।अमेरिकी दूतावासले आतंकवादी संगठन आईएसमा आबद्ध भएको आशंकामा सलमानमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको विशेष ब्युरोले समेत ती इरानीको गतिविधिप्रति चासो राखेको छ । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले इरानी नागरिक सलमानलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । महानिर्देशक गेलालले भने, ‘इरानी नागरिक अध्यागमनको नियन्त्रणमा छन् । उनको कागजपत्रको अनुसन्धान भइरहेको छ ।’महानिर्देशक गेलालले इरानी नागरिक सलमानलाई प्रवेशाज्ञा (भिसा) र प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि पनि छानबिन हुने बताए । केही दिनअघि टर्कीको इस्तानबुलबाट नेपाल आएका सलमानले टर्की विमानस्थलमा इरानको राहदानीमा प्रस्थान अनुमति लिएका थिए । काठमाडौं ओर्लिएपछि उनले इरानको राहदानी लुकाएर अमेरिकी राहदानीमा प्रवेशाज्ञा (भिसा) लिएका थिए ।’विमानस्थलपिच्छे उनले राहदानी फेरेका छन् । उनको गतिविधि शंकास्पद देखिएको छ’, विमानस्थलका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘उनी कुनै आतंकवादी संगठनमा आबद्ध भएको आशंकामा अमेरिकी दूतावासले गम्भीर अनुसन्धान गरिरहेको छ ।’ भारतीय अध्यागमनले इरानी नागरिक सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै फिर्ता गरेको थियो । सलमानले साउदी अरेबियाको जाली राहदानीसमेत लिएका थिए । अमेरिकी दूतावासका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई सलमान भारतबाट इन्ट्री रिफ्युज भएको अग्रीम जानकारी दिएका थिए । ‘प्राविधिक रूपमा हामी कमजोर छौं । उनको राहदानी शंस्कास्पद भएनभएको छुट्ट्याउन सकेनौं’, विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले भने, ‘भारतबाट इन्ट्री रिफ्युज भएपछि मात्र सलमानको राहदानी शंकास्पद भएको थाहा भयो ।’ विगतमा इरानीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी युरोप र अमेरिका छिर्ने प्रयस गर्दै आएका थिए ।नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो । File Photo

सीमांकन बाहेकको नयाँ संशोधन प्रस्तावमा एमाले सहमत हुने

संविधान संशोधनको नयाँ प्रस्ताव तयार गर्ने विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहेको सो दलका एकजना नेताले बताएका छन्। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरे जस्तो प्रदेशको सिमाना हेरफेरसँग सम्बन्धित संविधानका केही प्रवधान खारेज गर्न भने एमाले तयार देखिन्न। दुई दिनभित्र असहमतिका विषयमा प्रधानमन्त्री एउटा टुंगोमा पुग्ने उनका एकजना सल्लाहकारले बताएका छन्। संविधान संशोधनको नयाँ प्रस्तावमा सहमति खोज्न सत्तापक्ष र मोर्चाबीच शुक्रुबार भएको भनिएको समझदारीपछि धेरैको ध्यान विपक्षी एमालेतर्फ मोडिएको छ। उसले चरम आक्रोश व्यक्त गरिरहेको प्रदेश सीमांकन आयोगलाई जिम्मा लगाउन मोर्चा तयार भएपछि लामो समयदेखि अवरुद्ध राजनीतिले गति लिने कतिपयको आंकलन पाइन्छ। त्यसका लागि सरकारसामू दुई विकल्प रहेको बताउँदै एमाले उपमहासचिव विष्णु पौडेल भन्छन्, “एउटा बाँकी विषयलाई प्रक्रियामा लैजाने र परिणाम मानेर अगाडि बढ्ने, दोस्रो विकल्प संशोधन प्रस्ताव फिर्ता लिनुस् र नयाँ ढंगले प्रक्रिया अगाडि बढाउनुस् भन्ने हो। सहमतिका साथ संशोधन प्रस्तावलाई अगाडि बढाउनका लागि उहाँ सहमत हुनुहुन्छ भने त्यो छलफलमा हामी पनि सहभागी हुन्छौँ।” सरकार भने विधेयक फिर्ता नलिइ त्यसमाथि परेका संशोधन समेटेर सहमति खोज्ने मनस्थितिमा देखिन्छ। प्रधामनमन्त्रीले त्यसबारे शीर्षस्थ नेतासँग छलफल गर्ने भनिएको थियो। एमालेसँग सहमति हुनेमा आशावादी हुँदै प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल भन्छन्, “जे जति कुरा भइरहेको छ। सिमाना बाहेकका अन्य विषयमा चाहिँ एउटा सहमति गरेर जाऊँ भनेर उहाँहरुले पनि राखिराख्नुभएको छ। करिब-करिब सोमबारसम्ममा धेरै कुरा टुंग्याइसक्नुहुन्छ जस्तो लाग्छ। ” मोर्चा संविधानको धारा २७४ का केही उपधारा खारेज हुनुपर्ने पक्षमा छ। ती प्रावधानले प्रदेश सीमांकन फेरबदल गर्ने ढोका करिब बन्द नै गरिदिएको मोर्चाको बुझाई छ। उपमहासचिव पौडेलको भनाईबाट एमाले ती धाराको खारेजीको विपक्षमा बुझिन्छ। उनी भन्छन्, “प्रदेशको सिमाना अपरिवर्तनीय हुने भन्ने संविधानले भनेको छैन। तर परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा संविधानको धारा २७४ ले बोलेको छ र त्यो सर्बथा उचित छ। त्यसमा किन फेरि अर्को प्रहार? ” सत्तापक्ष ती उपधारालाई थप प्रष्ट पार्ने गरी संशोधन गर्न तयार देखिन्छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालका भनाईमा मतभेदको एउटा मुख्य विषय त्यो पनि हो। उनले थपे, “शुक्रबार पनि यो विषयमा निकै छलफल चल्यो। जुन कार्यदल बनेको थियो। उहाँहरुबीचमा पनि यस्तै यस्तै विषयमा अड्किएको हुनाले प्रधानमन्त्रीलाई नै जिम्मा दिएर निष्कर्ष निकाल्न भनिएको हो।” सहभागी सत्तापक्षका एकजना वरिष्ठ नेताका बुझाईमा शुक्रबारको बैठकमा मोर्चाका नेताको भावभङ्गीबाट चुनावमा जाने चाहना प्रष्ट प्रकट भएको थियो। सहमति भएमा उनीहरुको आग्रहमा केही जिल्लामा चुनाव केही पछि धकेल्न सरकारले पहल गर्न सक्ने बताउने ती नेताका भनाईमा सहमति नभए केही जिल्लामा राजनीतिक जटिलताका देखा परे पनि चुनाव रोकिने सम्भावना अब छैन। बिबिसी नेपाली सेवाबाट

सयौं कार्यकर्ता वाईसीएलमा प्रवेश

सिन्धुपाल्चोक, १९ चैत । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल नेपालमा कांग्रेस, एमाले राप्रपााबाट सयौं कार्यकर्ता वाईसीयलमा प्रवेश गरेका छन् । वाईसीएल सिन्धुपाल्चोकको चौथो जिल्ला सम्मेलनमा एमाले, कांग्रेस र राप्रपाका क्षेत्रीय तहका कार्यकर्ता सहित १ सय भन्दा बढी कार्यकर्ताहरु प्रवेश गरेका हुन । चौताराको शहीद स्मृति भवनको सभाहलमा भएको वाईसीयलको उद्घाटन समाराेह केन्द्रका फ्याक्सन सहईन्चार्ज आरसी शर्मा विज्ञानको प्रमुख आतिथ्यमा भएको थियाे । सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्मवोधन गर्दे प्रमुख अतिथि शर्माले एमालेको नक्कली राष्ट्रवादको भ्रमलाई चिर्न वाईसीयलको सम्मेलन महत्वपूर्ण हुने बताए । एमाले जनतालाई केही समय भ्रम छर्न देखिएपनि धेरै समय नटिक्ने बताए । जिल्लाभरबाट हलमा उपस्थित सयौं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता शर्माले माओवादी आन्दोलन र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई जोगानको लागी वाईसीयलको सबभन्दा महत्वपूर्ण भूमिका रहने बताए । त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका पार्टी ईन्चार्ज कृष्ण प्रसाद सापकोटा देश बन्धुले सिंहदरवारमा भएको अधिकारलाई माओवादी केन्द्रले स्थानीय चुनाव मार्फ जनताको बीचमा ल्याउन सफल भएको वताए । उनले बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता लगाएत एजेण्डाहरु स्थानीय चुनाबमा माओवादी केन्द्रको सुनिश्चत रहेको बताए । त्यस्तै जिल्ला सह–इन्चार्च केशव नेपालले कार्यक्रममा उपस्थित हजारैं युवाहरुको अबको जागरणले माओवादी केन्द्रले आफ्नो शक्ति मजवुत सहयोगी भूमिका रहने बताए । त्यसैगरी कार्यक्रमका अर्का विशेष अतिथि माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक दावा तामाङले अबको चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन कसैले नरोक्ने ठोकुवा गरे । संयोजक तामाङले वाईसीयल सिन्धुपाल्चोकमा देखिएको उत्साहाले विरोधीहरुमा भूंईचालो आएको बताए । कार्यक्रममा जिल्ला पार्टी नेताहरु झम्क पराजुली, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, युवराज दुलाल, माधव सापकोटा, प्रेम सापकोटा, अमानसिं तामाङ, नेत्रप्रसाद दंगाल, भोला सापकोटा, अमृता नेपाल र सरलसहयात्री पौड्याल लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम वाईसीयल जिल्ला संयोजक ललित श्रेष्ठको सभापतित्व तथा प्रलाद चौलागाईले कार्यक्रमको सञ्चालन गरेका थिए । सम्मेलनले पदाधिकारीको टुङ्गो आइतबारसम्म टुङ्निे आयोजक समितिका संयोजक ललित श्रेष्ठले जानकारी दिए ।