प्रधानमन्त्री प्रचण्डले भने–‘नेपालको सफलतालाई ठूला देशले प्रचार गरेनन्’
काठमाडौं, चैत १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताएका छन् ।
नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्रीले भने– ‘नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन् ।’
उनले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गरे ।
राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताए ।
प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उहाँले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।
नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गरे ।
छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा एमालेका पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी थिए ।
इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा. राम थपलियाले म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्राष्ट्रिय समुदायमा मान्यता हासिल गर्नु रहेको बताए । म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ । रासस
एसीसी इमर्जिङ कपमा नेपालले लियो हङ्कङको चौथो विकेट
ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाल विरुद्ध व्याटिङ गरिरहेको हङकङले चार विकेट गुमाएर १३९ रन बनाएको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले चार विकेट गुमाएर १३९ रन बनाएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले दुई र भुवन कार्की र सन्दीप लामिछानेले एक एक विकेट लिए । हङकङका ओपनर अन्सुमन रथले अर्धसतक बनाएर अाउट भए । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।
प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं,चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच शिष्टाचार भेट भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएका छन्। प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे र राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।
म्यादी प्रहरीमा युवाको आकर्षण बढ्दो
बर्दिया, चैत १७ । स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही अनुसारको जागिर नपाएका र म्यादी प्रहरीमा भर्ना हुन आएको गोला गाविसका नरबहादुर चौधरीले बताउनुभयो । आवेदन फारम जिल्ला प्रहरी कार्यालय बर्दियाबाट वितरण भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम शाहीले बताउनुभयो । बिहानदेखि फाराम भर्नेको भीड भएका कारण बेलुकी ६ बजेसम्म फारम बुझ्ने गरेको उहाँले बताउनुभयो । चैत १७ गतेसम्म मात्र आवेदन फारम भर्न सकिने भएकाले बुधबारसम्म करिब पाँच हजारजनाले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ । म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडकमा सङ्घर्ष गरिरहेका बेला निर्वाचनलाई लक्षित गरी सरकारले आह्वान गरेको म्यादी प्रहरी भर्नामा भने मधेसकै युवाको सहभागिता अत्यधिक रहेको छ । रासस
फास्ट ट्रयाकमा भारतको आँखा, मन्त्री लेखकले भने–‘धेरै ढिला भइसक्यो’
काठमाडौं, चैत १७ । नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन पुनः प्रस्ताव गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उनले यस्तो प्रस्ताव गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलोपटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत फास्ट ट्रयाक निर्माण आयोजना निर्माण गर्ने आसयपत्र आह्वान गरेको थियो । त्यसपटक भारतका दुई बहुराष्ट्रिय कम्पनीहरू ल्यान्डमार्क र रिलायन्स सर्टलिस्टमा परेका थिए । तर, त्यसपछि कुनै पनि प्रक्रियामा आयोजना प्रवेश गरेन । दोस्रोपटक सन् २०१२ मा पुनः बोलपत्र आह्वान गरियो । यसपटक रिलायन्स, लार्सेन एन्ड टर्बो र आइएल एन्ड एफएस छनोट भए । तर, दोस्रो सूचनामा निर्माण प्रस्ताव आह्वान गर्दा कुनै पनि कम्पनीले प्रस्ताव दर्ता गराएनन् । आयोजना निर्माणमा ढिलाइ भइरहेकोमा चर्को विरोध भएपछि ५ चैत ०७० मा राष्ट्रिय योजना आयोगले पिपिपी÷बुट मोडलबाहेक अन्य मोडललाई पनि खुला राखेर प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दियो । त्यसलगत्तै अन्तिमपटक सन् २०१४ मा आयोजना निर्माणका लागि तेस्रोपटक आसयपत्र आह्वान गरियो । सुरुमा चार चिनियाँ र चार भारतीय कम्पनीले आसयपत्रको कागजात खरिद गरे पनि तीनवटा भारतीय कम्पनीले मात्र दाखिला गरे । तिनीहरूमा आइएल एन्ड एफएस, ओएसई र रिलायन्स इन्डिया थिए । तीनवटै कम्पनी आयोजना निर्माण प्रस्ताव दाखिला गर्न योग्य हुने गरी छनोट भए । तर, रिलायन्स इन्डियाले प्रस्ताव दर्ता गरेन । सरकारले अन्य कम्पनीबाट पनि निर्माणको प्रस्ताव (रिक्वेस्ट फर प्रोपोजल) नआउने सम्भावना देखेर न्यूनतम राजस्व प्रत्याभूति (एमआरजी) उपलब्ध गराउने घोषणा गर्यो । जसअन्तर्गत वार्षिक १५ अर्ब रुपैयाँ आयोजना निर्माण गर्ने कम्पनीलाई नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरियो । यही व्यवस्थालाई मानेर प्रस्ताव दर्ता गराएका दुई कम्पनीमध्ये आइएल एन्ड एफएसले गरेको निर्माण प्रस्ताव सरकारले स्वीकृत गर्यो । साथै सो कम्पनी सफल प्रवद्र्धक घोषणासमेत भयो । निर्माण कम्पनीसँग मन्त्रालयले टिम बनाएर आयोजना निर्माणको वार्तासमेत सुरु भएको थियो । यसैबीचमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको उपस्थितिमा कम्पनीले सरकारको लगानीविना नै आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सम्झौता गरी कामसमेत सम्पन्न गर्यो । यहीबीचमा विभिन्न क्षेत्रबाट सरकारले न्यूनतम राजस्व प्रत्याभूतिबापत वार्षिक १५ अर्ब रुपैयाँ दिन निर्णयको विरोध सुरु भयो । संसदीय समितिदेखि राजनीतिक पार्टीसमेत पक्ष र विपक्षमा लागे । त्यसपछि भारतले लगाएको नाकाबन्दीको कारण पनि फास्ट ट्र्याक आयोजना भारतीय कम्पनीलाई दिने विषयमा नकारात्मक धारणा बन्यो । यसैक्रममा सर्वोच्च अदालतमा आयोजना विदेशी कम्पनीलाई निर्माण गर्न दिन नहुने भन्दै रिट गर्यो । अदालतले ‘स्टे अर्डर’ जारी गर्यो । त्यसपछि करिब एक वर्षसम्म आयोजनामा कुनै प्रगति हुन सकेन । बजेटमार्फत नेपालले बनाउने घोषणा र रद्दको निर्णय : आयोजना अदालतमा गएर अड्किएपछि यसअघिको केपी ओली नेतृत्वको सरकारले नेपाल सरकार आफैँले आयोजना निर्माण गर्ने घोषणा ग¥यो । आर्थिक वर्ष ०७३-७४ को बजेटमार्फत यस्तो घोषणा गरेको हो । १५ जेठमा सरकारले आफैँ निर्माण गर्ने घोषणा गरेको ३५ दिनपछि सर्वोच्च अदालतले गत २० असारमा सो रिट खारेज गरी सरकारले आफ्नै स्रोतबाट काम अघि बढाउन भन्यो । त्यसपछि वर्तमान सरकार गठन भयो र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा पुगेका रमेश लेखकले गत ५ मंसिरमा फास्ट ट्र्याक आयोजना निर्माणका लागि प्रवद्र्धकका रूपमा रहेको भारतीय कम्पनी आइएल एन्ड एफएससँगको सबै प्रकारका समझदारी र सहमति रद्द गर्ने निर्णय गर्यो । सो निर्णयलाई ७ पुसमा बसेको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्यो । यससँगै पछिल्लो (सन् २००८) आठ वर्षदेखि पिपिपी मोडलअन्तर्गत रहेको बुट (निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा आयोजना निर्माण गर्ने प्रक्रियाको अन्त्य भएको थियो । ढिला भइसक्यो : मन्त्री लेखक भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फास्ट ट्र्याक आयोजना निर्माणका लागि भारतीय प्रस्ताव धेरै ढिला भइसकेको बताए । ‘यो आयोजना हामी आफैँ (नेपाल सरकार)ले निर्माण गर्ने निर्णय गरिसकेका छौँ । यसमा अब परिवर्तन हुन सक्दैन,’ मन्त्रीको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव जनक भट्टले भने । मन्त्री लेखकले नेपाल सरकार फास्ट ट्र्याकजस्तै अन्य आयोजना कार्यान्वयन गर्ने चरणमा रहेको र त्यस्ता आयोजनामा भारतले निर्माण वा निर्माणका लागि सहयोग गर्न सक्ने जवाफ दिएको उनको भनाइ छ । त्यसबाहेक भारतीय लाइन अफ क्रेडिट (एलओसी)अन्तर्गतका आयोजना, हुलाकी राजमार्ग र पूर्व–पश्चिम रेलमार्गलगायतका आयोजनामा पनि भारतीय सहयोग अपेक्षित रहेको बताएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
यी हुन् प्रचण्डका चीन भ्रमणको उपलब्धी ?
काठमाडौँ, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सबै दलको सहमतिमा निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ उच्च नेतृत्वको चाहना रहेको बताएका छन् । साताव्यापी अनौपचारिक चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री दाहालले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्। बोआओ फोर फर एसिया सम्मेलनमा भाग लिन चीन गएका दाहालले बेइजिङ, सिचुवान र तिब्बतसमेत भ्रमण गरेका छन् । ‘अरू मुलुकको आन्तरिक राजनीतिक मामिलामा कुनै हस्तक्षेप नगर्ने चीनको घोषित नीति रहेको हामी सबैलाई थाहा भएकै कुरा हो’, प्रधानमन्त्री दाहालले भने, ‘हामीसँग भएका राष्ट्रपति तथा उपप्रधानमन्त्री सम्मका भेटमा उहाँहरूले नेपालका सबै राजनीतिक दलको बीचमा सहमतिले निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण होस् । हाम्रो शुभकामना छ भन्ने कुरा राख्नुभयो । उहाँहरूले नेपालको राजनीतिबारे त्योभन्दा अरू केही भन्नुभएन ।’ उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी सम्बन्ध थप सुदृढ भएको उनले बताए । ‘यसबाट नेपाल-चीन सम्बन्धमा आगामी दिनमा नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास मैले लिएको छु’, उनले भने । चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता आफूले राष्ट्रपतिसँग व्यक्त गरेको दाहालले बताए । उक्त अवधारणामा सहभागिताबाट नेपाल-चीनबीच रेलमार्ग र सडक सञ्जाल निर्माण, ऊर्जा क्षेत्रमा सहकार्य, सीमापार विद्युतीय प्रसारण लाइन, औद्योगिक पार्कलगायत महत्ववपूर्ण पूर्वाधार निर्माण गर्ने विषयमा फाइदा लिन चाहेको दाहालले बताए । दाहालले वान बेल्ट वान रोड अवधारणामा सहभागिताले नेपालका भौतिक पूर्वाधारको स्तरोन्नति, नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने, दुई देशबीच अन्तरसञ्जाल निर्माण र विस्तार गर्ने, जनस्तर र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउनेजस्ता विषयबाट नेपाली जनता लाभान्वित हुने बताए । चीनमा भएका उच्चस्तरीय छलफलमा दुवै मुलुकमा विद्यमान अवसर र सम्भावनालाई भरपुर सदुयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा महत्ववपूर्ण समझदारी भएको उनले बताए । ‘यस खालका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट दुवै देशबीचको सम्बन्धलाई विस्तार एवं थप मजबुत बनाउन दुवै देश सहमत भएका छन्’, दाहालले भने । नेपालका राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको दाहालले बताए । ‘चिनियाँ राष्ट्रपतिले दुवै पक्षलाई अनुकूल हुने गरी छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभएको छ’, उनले भने । नेपाल-चीनबीच उच्च राजनीतिक तह, सांसद, सरकारी अधिकारी र राजनीतिक दलका प्रतिनिधिको नियमित रूपमा भ्रमणको आदानप्रदान गरी आपसी मित्रता र सहयोगलाई थप सुदृढ गर्ने समझदारी भएको उनले बताए । भूकम्पपछि अवरुद्ध तातोपानी नाकालाई पुनःसञ्चालनमा ल्याउने अपेक्षा राख्दा चिनियाँ राष्ट्रपतिले आफूले व्यक्तिगत रूपमा उक्त विषयलाई समेत ध्यान दिएको र प्रतिवेदन अध्ययनपश्चात् नाका खुल्ने विश्वास व्यक्त गरेको उनले बताए । चिनियाँ उपप्रधानमन्त्रीद्वय वाङ् याङ् र झाङ् गाओलीसँगको भेटमा नेपालको आर्थिक विकासका लागि थप चिनियाँ लगानीका लागि पहल गर्न आग्रह गरेको दाहालले बताए । उनले बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन गर्न, नेपालको पूर्वाधार विकास र व्यापार क्षमता अभिवृद्धि गर्न तथा चिनियाँ बजारमा नेपाली उत्पादनको सहुलियतपूर्ण पहुँचको व्यवस्था गर्न जोड दिएको स्मरण गरे। भ्रमणका क्रममा पारवहन यातायात सम्झौताको प्रोटोकल तयार गरी शीघ्र हस्ताक्षर गर्न, तातोपानी नाका सञ्चालनमा ल्याउन, रसुवागढी नाकाको स्तरोन्नति गर्न, उक्त नाकामा रहेको एकदिने पासको समस्या समाधान गर्न, बढ्दो व्यापार घाटा कम गर्न चीनले सक्दो सहुलियत प्रदान गर्ने विषयमा कुराकानी भएको उनले बताए । भ्रमणका उपलब्धि – उच्चस्तरीय भेटबाट विश्वास र समझदारी सुदृढ – विकासका लागि आवश्यक सहयोग र समर्थन – वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता – चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता – तातोपानी नाका पुनःसञ्चालनमा चिनियाँ राष्ट्रपतिको चासो – चिनियाँ लगानीका लागि पहल – चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
नेपाल–चीन सम्बन्ध अद्वितीय
काठमाडौँ, चैत १७। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल¬–चीन सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले पारस्परिक सम्बन्धलाई नयाँ उचाई दिएको बताउनुभएको छ । चीनको सछुवान प्रान्त र यहाँस्थित चिनियाँ दूतावासले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–सछुवान पाक कला सांस्कृतिक सप्ताह’मा उहाँले उक्त कुरा बताउनुभएको हो । “भूगोललेमात्र नेपाल र चीनलाई जोडेको छैन, संस्कृतिले दुवै देशलाई अझ सुदृढ बनाएको छ¬”¬–उपप्रधानमन्त्री महराले भन्नुभयो । नेपालका लागि चीनका राजदूत यू होङले एकअर्काबीच राजनीतिक विश्वास, प्रवद्र्धन, पारस्परिक समर्थन, द्विपक्षीय लाभ र सहयोग चीन र नेपाल सम्बन्धका प्रमुख आधार भएको बताउनुभयो । स्वतन्त्र व्यापार, ‘एक क्षेत्र एक मार्ग’, कृषि, ऊर्जालगायतका क्षेत्रमा चीन र नेपालको सहकार्य निरन्तर रहेको बताउँदै उहाँले भविश्यमा पारस्परिक सम्बन्ध अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)बाट पाक कलाको उपाधि पाउने एसियाको पहिलो सहर चीनको छन्दु हो । उक्त सहर सछुवान प्रान्तको राजधानी पनि हो । रासस
आरआर क्याम्पसविरुद्ध अदालतमा प्रचण्ड क्रान्तिकारी
काठमाडौं, चैत १६ । सर्वोच्च अदालतको आदेश गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गरेको भन्दै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अदालतमा रिट दायर गरेको छ । मंगलबार आरआर क्याम्पसको स्ववियु निर्वाचनविरुद्ध अखिल क्रान्तिकारीले आरआर क्याम्पस प्रमुख डां. निर्मलाकुमारी सुवाल, निर्वाचन अधिकृत हरिप्रसाद पराजुली, नेविसंघका उत्तमबहादुर साउद लगायतलाई विपक्षी बनाई अदालतमा रिट दायर गरेको हो । उक्त दायर रिटमा स्ववियु निर्वाचन खारेज गर्न माग गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । विवादकै कारण तोकिएको समय फागुन १८ गते आरआर क्याम्पसमा स्ववियु चुनाव हुन सकेको थिएन् । प्रवक्ता बस्नेतकानुसार स्ववियु चुनाव यथावत अबस्थामै गर्न भनेकोमा क्याम्पस प्रशासनको मिलेमत्तोमा रातारात मनोनयन दर्ता गराएको चुनाव गरिएको हो । ‘पहिला नेविसंघले उम्मेदवारी दर्ता गराएको थिएन्, अहिले रातारात बोलाएर दर्ता गर्न लगाईयो’ बस्नेतले भने । रिटको पेशी बिहीबार बिहान १० बजे तोकिएको छ । क्रान्तिकारीका आरआर क्याम्पसका सभापतिका उम्मेदवार धु्रवराज वाग्लेले दायर गरेको रिटमा भनिएको छ ‘सम्माननिय अदालतको आदेश बिरुद्ध निर्वाचन भयो, अदालतले यथास्थितिमै निर्वाचन गर्नु भनेकोमा नयाँ ढंगबाट निर्वाचान गरियो यसलाई खारेज गरि पाउँ ।’
मधेसी पनि निर्वाचनमा सहभागी हुन्छन् : नेता पौडेल
मोरङ, चैत १६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी जनताको माग पूरा गर्न काँग्रेस तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संञ्चारकर्मीलाई सङ्क्षिप्त कुरा गर्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउँदै मधेसी माेर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन्, त्यसका लागि मधेसीलाई पनि संबोधन गर्नुपर्ने हुन्छ ।’ नेता पौडेलले निर्वाचनको तयारी पूरा भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नबिथोल्ने बताउँदै मधेसी मोर्चालाईसमेत निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनेतर्फ गृहकार्य भइरहेको बताए । मधेसी मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास उनले व्यक्त गरेका छन् ।
काँग्रेस नेता हत्याको विरोधमा राजधानीमा प्रदर्शन
काठमाडौं, चैत १६ । जाजरकोटका नेपाल कांग्रेसका युवा नेता मारिएको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ । भेरीमालिका–३, जाजरकोटका काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले उक्त प्रदर्शन गरेको हो । बुधबार बसेको नेविसंघको आकस्मिक बैठकले शाहको हत्याको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। मंगलबार राति शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै अज्ञात समूहले ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । हत्या कसले र किन ग¥यो भन्नेबारे अझै खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पत्रकार श्रेष्ठको उपचारमा ५१९५० सहयोग
बिर्तामोड, चैत १६ । अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । महासंघको ६२ औं स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघका उपाध्यक्ष तथा पत्रकार–सहारा उपचार कोषका संयोजक एकराज गिरीले उक्त रकम श्रेष्ठलाई हस्तान्तरण गरे । महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीका अनुसार झापाका सञ्चारकर्मी, विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिले श्रेष्ठको उपचारका लागि स्वस्फूर्त रुपमा सहयोग प्रदान गरेका थिए । सहयोग जुट्नेक्रम जारी रहेको छ । मेचीनगर घर भएका पत्रकार श्रेष्ठ केही समयअघि मात्र राष्ट्रिय समाचार समितिबाट अवकास भएका हुन् । दुबै मृगौला खराब भएका कारण सातामा दुईपटकसम्म डाइलोसिस गराउनुपर्ने र उपचारमा ठूलो आर्थिक भार परिरहेको श्रेष्ठले परिवारले बताएको छ ।
फुट्यो राप्रपा, लोहनीको नेतृत्वमा नयाँ राजावादी पार्टीको घोषणा
काठमाडौं, चैत १६ । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी औपचारिकरुपमा विभाजन भएको छ । नयाँ पाटीृको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेक छन् । लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० पार्टीको घोषणा गरिएको छ । पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै जाने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए । केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर समेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।
नेपाली सेनालाई भारतबाट घोडा प्रदान
काठमाडौँ, चैत १६। प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँग समेत भेट गर्नुभएको थियो । उहाँ प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मङ्गलबार चारदिने भ्रमणका लागि यहाँ आउनुभएको हो । भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गर्नुभयो । त्यसअघि भारतीय सेनाध्यक्ष रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुभएको थियो । जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।
नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो: प्रधानमन्त्री
काठमाडौँ, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको छ भन्नुभयो । उहाँले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “यस भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको छ । नेपालसँग सिमाना जोडिएको राजनीतिक, आर्थिक, सामाजिक एवम् भौगोलिक तथा संस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिब्बत स्वशासित क्षेत्रमा सम्बन्धलाई थप विस्तार गर्ने सहमति भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुवैतर्फका निकायलाई थप समन्वय र सहकार्यमा काम गर्ने आत्मविकासको आधारसमेत तयार भएको छ ।” उहाँले भ्रमणमा चीन सरकारले तय गरेको आतिथ्यता र सदाशयताका लागि प्रतिनिधिमण्डलका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार र चिनियाँ जनताका साथै सम्बद्ध सबै अधिकारीलाई धन्यवादसमेत दिनुभयो । नेपालसँग जोडिएको तिब्बतमा भएको भएको छलफलमा स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रको नियमित बैठक गर्नुपर्ने विषयमा विचारको आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । निर्वाचनमा मधेसकेन्द्रित दल आउने प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताउनुभयो । निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।” संविधान संशोधनका विषयमा सीमाङ्कनमा मात्र सबै समस्या हो, अन्य विषयमा कुनै समस्या छैन । संविधान संशोधन अहिले नै गर्ने हो भन्दै उहाँले सहमति गर्न बाँकी रहेका विषयमा केन्द्रीय निर्वाचनभन्दा अघि टुङ्ग्याइने स्पष्ट पार्नुुभयो ।
प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने ऐननियम अस्वीकार्यः पोख्रेल
दाङ, चैत १६ । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने कुनै पनि ऐन नियम अस्वीकार्य भएको बताएका छन् । सञ्चारमाध्यमले मस्यौदा गरेको सुशासन तथा व्यवस्थापन सम्बन्धी ऐनमाथि संकेत गर्दै पोख्रेलले अनलाइन पत्रकारितालाई संकुचन गर्ने गरी आउने ऐन कानूनका विरुद्धमा नेपाली पत्रकारिता क्षेत्रले सशक्त आवाज उठाउनुपर्ने बताए । ‘पत्रकारितालाई बलियो बनाई पत्रकारहरुका पेशागत सुरक्षाको सुनिश्चित गर्ने सन्दर्भमा बनेको श्रमजीवी ऐन कार्यान्वयनमा सरकार उदासिन देखिएको छ’ उनले भने– ‘फेरि अर्को ऐन बनाएर अनलाईन पत्रकारितालाई कमजोर र जटिल बनाउने सरकारको चरित्रले राज्य स्वतन्त्र प्रेसका सन्दर्भमा अनुदार देखिएको प्रष्ट भयो ।’ पत्रकार महासंघको स्थापना दिवसका अवसर पारी दाङको तुलसीपुरबाट प्रारम्भ भएको ‘सूचनापत्र’ अनलाईन पत्रिकाको शुभारम्भ समारोहलाई सम्बोधन गर्नै पूर्व उपसभापति पोख्रेलले राज्यको चरित्र नै स्वतन्त्र प्रेससंग तर्सिने खालको हुने बताए । ‘राज्यको यसप्रकारको चरित्र हटाई लोकतान्त्रिक चरित्रका साथ राज्यलाई जनउत्तरदायी शासन व्यवस्थामा अभ्यस्त गराउने दायित्व पनि पत्रकारिताकै हो’ उनले भने– ‘अबको पत्रकारिताले राज्यलाई पारदर्शी चरित्र ग्रहण गर्नका लागि प्रोत्साहित गर्नुपर्दछ ।’ पोख्रेलले पत्रकारहरुले कुनै कानूनको अधिनमा रहेर भन्दा पनि समाजप्रतिको आफ्नो दायित्वबोध गरी पत्रकारिता गर्नुपर्ने बताए । ‘नेपाली पत्रकारिता कानूनको अधिनमा रही प्रेस स्वतन्त्रतासंग संझौता गर्ने चरित्रको छैन’ उनले भने– ‘‘यो क्षेत्रले समाजप्रतिको आफ्नो बहुआयामिक दायित्वबोध गरेर स्वच्छन्दतामा विचरण गराउने हैसियत निर्माण गर्दै गएको छ ।’ यद्यपि पत्रकारिता भित्रका केही चरित्रहरुप्रति नागरिकको गुनासो रहदै आएको स्वीकार्दै पोख्रेलले भने– ‘हामी पत्रकारहरु थप जिम्मेवार हुन र पत्रकारलाई जिम्मेवारीबोध गराउन पत्रकार महासंघले भूमिका खेल्न आबश्यक छ ।’ उनले श्रमजीवी ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको व्यबस्था तथा सिफारिसको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न तर्फ पनि पत्रकार महासंघले थप प्रभावकारी भूमिका खेल्न आबश्यक रहेको बताए । ‘यति भयो भने पत्रकारिता भित्रका बिकृत पक्ष त्यसै ओझेलमा पर्दै जानेछन्’ उनको तर्क थियो ।
चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री, भ्रमण सफल भएको दावी
काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकसाता चीन भ्रमणबाट आज नेपाल फर्किएका छन् । विहान ११ वजे एयर चाईनाबाट फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन भ्रमण सफल भएको बताएका छन् । उनले मधेसी मोर्चा पनि स्थानिय तहको चुनावमा सहभागी हुने दावी गरेका छन् । उनले भने–‘ सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन हुन्छ, र मलाई विश्वास छ मधेसी मोर्चा पनि चुनावमा सहभागी हुनुहुन्छ । ’ उनले चुनाव हुँदैन की भनेर शंका नगर्न पनि आग्रह गरेका छन् । प्रचण्डले आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको बताउँदै अब मधेसी मोर्चाको माग सम्बोधन गर्दै सहमतिमा चुनावमा जाने बताउनुभयो । हाईनानस्थित बोआओ फोरममा सहभागी हुन गत बिहीवार चीन गएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपुर्ण भेटवार्ता गरेका थिए ।

