माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) माओवादी बैद्य विच धादिङमा पार्टी एकता

धादिङ, चैत १६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशका विभिन्न स्थान तथा पार्टी कमिटीमा पार्टी प्रवेशको लहर चलेको वेला धादिङमा भने दुई पार्टीबीच एकता भएको छ ।

मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङबीच एकता भएको छ ।

बुधबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी शैलेशले जानकारी दिए ।

लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यही छलफलको परिणामस्वरुप पार्टी एकता गरिएको भण्डारीले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धादिङमा अन्य पार्टीबाट माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरुको भीड रहेको पाईन्छ ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र सोहीअनुरुप हामी पार्टी एकता गर्न तयार भएको निवर्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । जिल्लामा यथास्थितिवादी र जडसुत्रवादीको हाबी हुन नदिन दुई पार्टीबीच एकता भएको कार्यकताहरुको बुझाई रहेको पाइन्छ ।

नेकपा (क्रान्तिकारी) माओवादी जिल्ला सेक्रेटर हरि अधिकारीको नेतृत्वमा रहेको सिङ्गो जिल्ला कमिटी र माओवादी केन्द्रबीच एकता भएको छ ।

एकता भएसँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगबहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास विक (विद्यार्थी अध्यक्ष) ज्ञानबहादुर घले, मानबहादुर तामाङ, गणेश घले, मदन तामाङ, चन्द्रबहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यीय कमिटीमध्ये १६ सदस्य माओवादी केन्द्रसँग एकता भएको छ ।

एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्काे पोलिटव्युरो सदस्य शालिकराम जम्कटेलको विशेष आतिथ्यता रहेको थियो ।

दुई पार्टीको पदाधिकारी तथा कार्य समितिबीच एकता पश्चात अब धादिङको माओवादी आन्दोलनले नयाँ उचाई लिने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए ।

नयाँ शक्तिले ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग नलिने’ !

काठमाडौं, चैत १५ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग नलिने चेतावनी दिएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने बताए । उनले भने– ‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं ।’ भट्टराईले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले भाग लिन आँखा चिन्ह चाहिने बताएका छन् । ‘हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं,’ संयोजक भट्टराईले भने । स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बद्नियतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको प्रति उनी आक्रोशित भएका हुन् । देशमा संविधान संशोधन कि चुनाव भन्ने सवालमा बहस सिर्जना भइरहेको बताउँदै नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने उनले बताए । चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नका लागि नयाँ शक्तिले यस्तो कार्यनीति अवलम्बन गर्ने उनको भनाई थियो । ‘चुनावी माहोल बढ्दै गएको सन्दर्भमा आदिवासी जनजाति, मधेशी÷थारु लगायतका उत्पीडित समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरी घोषित निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्तिले चुनावलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा लिनेछ,’ भट्टराईले भने । संयोजक भट्टराईले घोषित निर्वाचन सम्पन्न गरी देशलाई निकास दिनका लागि पार्टीले अगाडि सारेको ६ सूत्रीय पूर्वशर्तहरु सम्बोधन हुनुपर्ने बताए । निर्वाचनका लागि प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेखित क्षेत्रहरुको पनि टुंगो लाग्नुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने, तीनवटै निर्वाचनहरु एकैचोटी गर्नुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने मागहरु पूरा गर्न सरकारसँग माग गरे । उनले सरकारले चुनावको मुखमा अर्बौं रुपैयाँ बजेट रकमान्तर गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यही भ्रष्टाचारको भण्डाफोर गरेर चुनावी मैदानमा उत्रिन निर्देशन दिए । संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधार पेश गरेका छन् । जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने उनको भनाइ थियो ।

स्थानीय चुनाव रणनीति बनाउन नयाँ शक्तिको केन्द्रीय परिषद् बैठक सुरु

काठमाडौं चैत १५ । स्थानीय तहको चुनावको रणनीति बनाउन नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । वुद्धनगरस्थित एक व्याङ्क्वेटमा जारी दुई दिने बैठकमा पार्टी संयोजक बाबुराम भट्टराईले पेस गरेको निर्वाचन लक्षित प्रतिवेदन माथि छलफल भईरहेको सो पार्टीले जनाएको छ । सो पार्टीको निर्वाचन केन्द्रीत कार्ययोजनामा छिटो भन्दा छिटो देशको भरपर्दो वैकल्पिक शक्तिमा रुपान्तरण गर्न घोषित लक्ष्य, उद्धेश्य, नीति, कार्यक्रम मिल्नेसँग एकीकरण र ध्रुबिकरण गर्ने उल्लेख छ । यस्तै संगठन विभाग मार्फत पार्टीका माथिल्लो तहको सम्पुर्ण कामलाई सहजीकरण गर्न नगर र गाउँपालिकामा केन्द्रीय परिषद सदस्यलाई इन्चार्ज तोक्ने तयारी गरेको सो पार्टीले जनाएको छ । स्थानीय निर्वाचनको तयारीमा जुटेको नयाँ शक्तिले केही दिनमा नै संघीय समाजवादी फोरमसँग पार्टी एकताको तयारी समेत गरेको छ । चुनावी मोर्चाका रुपमा वृहत्त राष्ट्रिय गठबन्धन निर्माणका लागी प्रयास गर्ने संयोजक भट्टराइको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०२२ सम्ममा मुलुकमा गरिबीको अन्त्य गर्ने, २०३० सम्म जनताको जीवन स्तरलाई मध्यम वर्गमा उकास्ने लगायत ११ बुँदै प्रतिवद्धता पनि उल्लेख गरिएको छ । नयाँ शक्तिले निर्वाचनमा पुराना शक्तिले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, र भ्रष्टाचारसँग प्रतिस्पर्धा नगर्ने भन्दै मितव्ययीता र पारदर्शिता अपनाउनुपर्ने कार्यविधी तयार पारेको छ ।

सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

भक्तपुर, चैत १५ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका तथा गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण केन्द्रले भक्तपुरको नगरकोटमा आज आयोजना गरेको ‘तीन दिने स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । ३ नम्बर प्रदेशका स्थानीय तहका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री थापाले भन्नुभयो— राजनीतिक दलहरु निर्वाचन उन्मुख भइसकेको र जनता निर्वाचनप्रति उत्साही भएकाले यसमा सक्रिय सहयोग पु¥याउन आग्रह गर्नुभयो । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यास भएकाले यसलाई सहज ढङ्गबाट ग्रहण गर्न आग्रह गर्दै उहाँले संविधानमा स्थानीय तहलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायिक अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न समेत कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारमान बुढाथोकीले अहिलेको संरचनाअन्तर्गत स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको हुँदा प्राप्त गरेको जिम्मेवारी, अधिकार र भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

संसदीय टोलीको ठहरः महिला तस्करीमा अध्यागमन कर्मचारीको मिलेमतो

काठमाडौं, चैत १५ । अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ । नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही चैत ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताए । उनले भने – ुत्यसरी अवधै रुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगगरी गएको देखियो । बाँकीमात्रै भारत र श्रीलङ्का हुँदै गएको भेटियो । मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदीअरब, कतार, ओमन पठाउने गरेको भ्रमणको क्रममा भेटिएको उनले बताए । साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रुपमा घरेलु कामदारका रुपमा गएको र अन्य मुलुकमा समेत त्यो सङ्ख्या धेरै रहेको संसदीय समितिले जनाएको छ । खाडीमा अवैध रुपमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताए । चार मुलुकको दूतावासमा अस्थायी रुपमा दर्जनौं महिलालाई उद्धार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो । निःशुल्क प्रवेशाज्ञा र टिकटमा जाने कोही भेटिएनन् भ्रमणका क्रममा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्क रुपमा आफू नआएको संसदीय टोलीसमक्ष बताएका थिए । सभापति साहले भने– ुनिःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ ।ु समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय छन् । टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली सङ्घ सङ्गठन र कामदारसँग छलफल गरेको जनाएको छ । रासस

नेपाल भ्रमणमा चारदिने भ्रमणमा भारतीय सेनाध्यक्ष रावत

काठमाडौँ, चैत १५ । भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चार दिने आैपचारिक भ्रमणमा आज यहाँ आउनुभएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आउनुभएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भोलि बुधबार आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सेनाध्यक्ष रावतले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मीकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उहाँले निरीक्षण गर्नुहुने कार्यक्रम छ । छिमेकी उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

राप्रपाले सकायाे ६० जिल्लामा विस्तारित बैठक

काठमाडौँ, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ । पार्टीको सङ्गठन देशैभर पार्टी सुदृढीकरणका लागि गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो । तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो । देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ । निर्वाचनका लागि उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड तथा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा पनि मूल्याङ्कन गरिनेछ । जनताका माझमा पार्टीलाई कसरी पुर्याउन सकिन्छ ? आगामी निर्वाचनमा पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकअन्तर्गत केही जिल्लामा कार्यकर्ता भेला समेत गराइएको थियो । बाँकी रहेका १५ जिल्लामा एक साताभित्र बैठक सम्पन्न गरिने बताइएको छ ।

आरआर क्याम्पसभित्र स्ववियु चुनाव, बाहिर पत्रकारलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार

काठमाडौं चैत १५ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनाव भइरहेको काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस बाहिर पत्रकारलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार भएको छ । निर्वाचनको विरोधमा रहेका विद्यार्थी संगठनहरु र प्रहरीबीच झडपका क्रममा पेट्रोल बम प्रहार भएको हो । सडकमा बम पड्किए पनि कुनै मानवीय क्षति भएको छैन, तर केही पत्रकारहरु भागदौड गर्दा सामान्य घाइते भएका छन् । फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि उनीहरु सामान्य घाइते भएका छन् । बम कसले हानेको हो भन्ने पत्ता लागेको छैन । निर्वाचनको विरोधमा रहेका विद्यार्थीहरुले आफूहरुले बम नहानेको दाबी गरेका छन् । स्ववियु निर्वाचन बहिष्कार गरेका अखिल (क्रान्तिकारी) लगायत आधा दर्जन विद्यार्थी संगठन आवद्ध विद्यार्थी र प्रहरीबीच बिहानदेखि पटक पटक झडप भएका थिए । क्याम्पस बाहिर प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान, लाठीचार्ज भइरहे पनि क्याम्पसभित्र भने निर्वाचन जारी छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थी संगठनहरुले चुनाव रोक्न माग गर्दै आएका छन् । प्रदर्शनकारी विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले चार पटक लाठीचार्ज गरिसकेको अखिल (क्रान्तिकारी)का नेता इन्द्र लामाले बताए । उनका अनुसार अखिल क्रान्तिकारी, नयाँ शक्ति, संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठन, अखिल (पाँचौ), अखिल (छैटौं) लगायतले निर्वाचन बहिष्कार गरेका छन् । क्याम्पस परिसरमा नेपाल प्रहरी र सशस्त्र गरी झन्डै चार सय सुरक्षाकर्मी परिचालित छन् । निर्वाचनको विरोध गरिरहेका विद्यार्थी संगठनले आफूहरुमाथि प्रहरीले संकटकालमा जसरी दमन गरेको आरोप लगाएका छन् । फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चुनाव भएको हो । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत चुनाव गरिएको भन्दै क्रान्तिकारी लगायतले विद्यार्थीहरु स्ववियु चुनावविरुद्ध बिहानैदेखि प्रदर्शनमा छन् । यसअघि संयुक्त विद्यार्थी संगठनमार्फत चुनाव रोक्न माग गर्दै आएको नेविसंघ सम्वद्ध विद्यार्थी भने विरोधमा उत्रिएका छैनन् । चुनाव फागुन २३ गते चुनाव रोकिएको दिनसम्म मनोनयन दर्ता नगरेको नेविसंघले सोमबार एकाएक मनोनयन दर्ता गरेको थियो ।

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

दाङ, चैत १५ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आएको देखिएको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षकनै अनभिज्ञ छन् । तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रुपमा लिनुभएको छ । उहाँले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताउनुभयो । “प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उहाँले बताउनुभयो । तर उहाँको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ । साथै, उहाँले एसइइ परीक्षामा पनि यदि कुनै केन्द्रमा प्रश्नपत्र आउट भएको भए सोही विद्यालयका विषयगत शिक्षकले प्रश्नपत्र बनाएर परीक्षा लिनसक्ने पनि शिक्षा नियमावलीमा उल्लेख भएको बताउनुभयो । एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परिक्षा सुरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रवधान भएपनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् । त्यसैगरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् । चुहावट भएका विज्ञान, गणितलगायतका प्रश्नपत्र बजारमा देखिएका छन् । रासस

बैद्य माअोवादी पनि निर्वाचनमा जाने तयारीमा

काठमाडौं, चैत १५ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ । संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । पछिल्लो पटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी गृहकार्य अगाडि बढाएको हो । वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने भएको छ । पार्टीले एउटै चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय नहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको छ । राजधानीमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह स्थानीय सरकार भएकाले त्यसभन्दा बाहिर बस्न नहुने भएकाले पार्टीको तर्फबाट स्वतन्त्र रुपमा भए पनि उम्मेदवारी दिएर सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् ।  यो खबर आजको राजधानी दैनिकमा छ ।  

दुई दर्जन बढी एमाले छोडी माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोक, चैत १४ । नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले एक कार्यक्रमबीच उनीहरूलाइ स्वागत गरेका छन् । नेकपा एमाले परित्याग गरि परेबहादुर तामाङको नेतृत्वमा दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका २ नंम्बर र ३ नम्बरमा अायाेजना गरेकाे कार्यक्रममार्फत उनीहरुले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका नेता माधब सापकोटा ‘सुबोध’ले जानकारी दिएका छन् । पूर्वमन्त्री सापकोटाले सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय चुनावमा लाग्न निर्देशनसमेत दिएका छन् । ‘अहिले देश माओवादीकै एजेण्डा अनुसार चलेको भन्दै सापकोटाले भने ‘परिर्वतनका विरोधिहरु अहिले माओवादी देखि आत्तिएका छन् ।’ त्यस्तै विष्णुप्रसाद सापकोटा ‘हरि’को अध्यक्षतामा नेकपा माओवादी केन्द्र बतासेले २१ सदस्यीय वडा पार्टी कमिटि गठन गरेको छ भने वडा नं ३ को भेलाले लनाम लामाको अध्यक्षमा २१ सदस्यीय गठन गरिएको छ । वडामा वाईसीएल, किसान, तामाङ, महिलालगायतका जनसंगठनहरूको वडा कमिटि गठन गरिएको छ ।

नयाँ शक्तिका चार केन्द्रीय सदस्य निष्कासित

काठमाडौं, चैत १४। नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ । सोमबार बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकले साधारण सदस्य नरहने गरि उनीहरुलाई निष्कासन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन् । निष्कासित हुनेहरुमा केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई रहेका छन् । पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा लागेको भन्दै निष्कासित गरेको जनाएको छ ।

राष्ट्रपतिसँगकाे भेटमा प्रचण्डको २२ बुँदे सम्बोधन: रेलवे सञ्चालनदेखि तातोपानी नाका खोल्नेसम्म

बेइजिङ, चैत १४ । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग आज भएको करिब ४० मिनेट लामो भेटवार्ताका क्रममा नेपालका तर्फबाट द्विपक्षीय हितका महत्वपूर्ण विषयबस्तु प्रस्तुत गरेका छन् । चिनियाँ राष्ट्रपतिसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्याउनुपर्ने चाहना नेपाली जनताले राखेको बताए । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, उक्त अवसरमा भारतको गोवामा भएको भेटको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले यो नयाँ सम्बन्धबाट नेपाल र चीन दुबैले लाभ लिने समेत बताए । नेपालमा संविधान कार्यान्वयनका लागि स्थानीय चुनावको तयारी तीब्र भएको जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानमा सबै पक्षको स्वीकार्यताका लागि सरकारले सबै पक्षसँग संवादको प्रक्रियालाई घनिभूत बनाउँदै आएको समेत बताए । उनले भने, “नेपालमा भइरहेको स्थानीय तहको चुनाव सम्पन्न गर्न चिनियाँ पक्षको सहयोगको अपेक्षा नेपालले राखेको छ । नेपालले आफ्नो भूमि प्रयोग गरेर चीनविरुद्धका कुनै गतिविधि हुन नदिने र एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई पालना गर्दै आएको प्रधानमन्त्रीले बताए । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणाले यो क्षेत्रमा अभूतपूर्व विकास गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “वान बेल्ट वान रोडको अवधारणालाई नेपालले पूर्ण सहयोग र समर्थन गरेको छ । एउटा छिमेकी भएको नाताले नेपाललाई यो योजनाको फ्रेमवर्कमा प्राथमिकता दिइनुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं ।” भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको समग्र विकासका लागि चिनियाँ लगानीको समेत कुरा गरे । हालै मात्र सम्पन्न लगानी सम्मेलनमा उल्लेख्य मात्रामा चिनियाँ लगानीको प्रतिबद्धता देखिएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री पर्यटनलगायतका क्षेत्रमा चीनको महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । दुबै देशबीच आर्थिक विकासका लागि क्रस बर्डर रेल, सडक, ट्रान्सिमिशन जस्ता विषयलाई द्धिपक्षीय सम्बन्धको केन्द्रमा राख्नुपर्ने उनले बताए । नेपाललाई चीनसँग जोड्ने रेलवे निर्माण हुन सके यसले दुबै देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने प्रधानमन्त्रीको भनाई थियो । तातोपानी नाका खोल्न अनुरोध राष्ट्रपति सीसँगको भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न अनुरोध गरे । “अरनिको राजमार्ग नेपाली अर्थतन्त्रको जीवनरेखा हो” उनले भने, “यसलाई तत्काल खोल्नका लागि चीनका तर्फबाट विशेष पहल गरियोस्” । प्रधानमन्त्री प्रचण्डको सम्बोधनपछि चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध नेपालमा हुने राजनीतिक परिवर्तनबाट प्रभावित नहुने स्पष्ट पारे । भेटलाई प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक भएको बताएका छन् । नेपालले तातोपानी नाका खोल्न गरेको अनुरोधलाई प्रधानमन्त्री शीले सकारात्मकरुपमा लिएर यसबारेमा कुराकानी अगाडि बढाउने बताएको सचिवालयले जनाएको छ । सोही अवसरमा चीनका तर्फबाट स्थानीय निकायको निर्वाचनका लागि १३ करोड ६२ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच ३० मिनेट भेटवार्ता

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गरेका हुन् । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग केहीबेर अघि भेटवार्ता गरेका हुन् । हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसारको सबैभन्दा लामो र ठूलो ग्रेटवाल पर्खालको अवलोकन पुगेका छन् । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । आइतबार विहानैदेखि चिनियाँ उच्च अधिकारीसँग भेटघाटमा रहेका प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी परिसरमा स्थापना भएको नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्दै  विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्वोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आइतबार नै चिनियाँ व्यवसायीसँग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल गरे । उनले चिनियाँ व्यावसायीसँग नेपालमा ढुक्क भएर लगानी गर्न अाग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग पनि अाइतबार भेटवार्ता गरेका थिए । तस्वीर/एभरेष्टदैनिक (कपीराइट)

उपेन्द्र यादब भन्छन्–‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन’

सप्तरी, चैत १४ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । सप्तरीमा प्रहरीको गोलीबाट ज्यान गुमाएका पाँच जना मधेसी सर्वसाधारणको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताएका हुन्। मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उनले भने “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।” तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भर्इआएको बताए । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भने । सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राखेका थिए। मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् । दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए । रासस

गृहमन्त्रीको दाबी–‘तपाईंहरु ढुक्क हुनुहोस्, मधेसी मोर्चा चुनावमा आउँछ’

मोरङ, चैत १४ । सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चा पनि चुनावमा आउने दाबी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मोर्चासंग सीमांकनको विषयलाई चुनाव अगाडि नै पारित गरेर जाने कि अधिकार सम्पन्न संघीय आयोग बनाएर प्रदेश र केन्द्रको चुनाव अगाडि टुंग्याउने भन्ने विषयमा कुरा भइरहेको बताए । ‘संयूक्त मधेसी मोर्चासंग कुरा भइरहेको छ, अधिकार सम्पन्न संघीय आयोग बनाएर अघी बढछौं,’ उनले भने, ‘मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुन्छ तपाईंहरु ढुक्क हुनुहोस् ।’ मन्त्री निधिले तोकिएकै समयमा चुनाव गर्नेगरी काम भएको र एकैदिनमा मतदान सकाउने सरकारको तयारी रहेको स्पष्ट पारे । उनले प्रहरी महानिरीक्षक नियुक्ती छिटै हुने पनि बताए । स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा निधि पूर्वको सुरक्षा अवस्था बारेको क्षेत्रिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आएका हुन् । गृहमन्त्री निधिले २०६७ सालमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली लागेर मृत्यु भएको अमाही बरियाती–७ खयरबनाका वासुदेव साहका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान गरेका छन् । विराटनगरमा पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, अनुसन्धान प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षकको भेला भएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङमा सुरक्षा संवेदनशीलता भए पनि पहाडी जिल्लाहरुमा सहज अवस्था रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।