श्रद्धाञ्जलीसभामा सरिक हुन सप्तरी जाँदैछन मधेशी मोर्चाका शीर्ष नेता
काठमाडौं, चैत १३ । सप्तरीको मलेठमा प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनाको श्रद्धान्जली सभामा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु आइतबार सप्तरी जाने भएका छन् ।
मोर्चा आबद्ध संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पाटीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा सप्तरी जान लागेका हुन् ।
फागुन २३ गते एमालेको मेची–महाकाली अभियानको राजविराजमा भएको सभा विथोल्न खोज्दा प्रहरीसँगको भिडन्तमा पाँच जना सर्वसाधारणको ज्यान गएको थियो । प्रहरीसँगको झडप भएको भनिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिक आज दिउँसो आयोजना हुने श्रद्धान्जली सभामा मोर्चाका शीर्ष नेताहरुका सहित संघिय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन, ताम्सालिङ संयुक्त संघर्ष समितीका संयोजक जय गोले र शेर्पा स्वायत प्रदेश संयुक्त आन्दोलन परिचालन समितीका संयोजक लाक्पा सेर्पा समेत सहितका नेताहरु श्रद्धाञ्जली सभामा उपस्थित हुने भएका हुन् ।
युद्धस्तरमा माओवादी केन्द्रको चुनाव तयारी, यसरी छानिँदैछन् उम्मेदवार
काठमाडौं, चैत १३ । माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ । उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारी माओवादीले अन्तिम तहमा पु¥याएको छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ– माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार, युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको छ । माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन गर्दै चुनावी तयारी तीव्र बनाएको प्रवक्ता भुसालले बताइन् । प्रतिबद्धता (घोषणा)पत्र तयार माओवादी नेताद्वय देव गुरुङ र वर्षमान पुनले स्थानीय तह चुनावका लागि पार्टीका तर्फबाट चुनावी प्रतिबद्धतापत्र केन्द्रीय तहमा तयार पारेका छन् । केन्द्रीय कार्यालयले उक्त प्रतिबद्धतापत्रलाई पारित गरेर सुझाबका लागि सातवटै प्रदेशमा आन्तरिक रूपमा सर्कुलर गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले जानकारी दिए । ‘केन्द्रीय तहमा चुनावका लागि प्रतिबद्धतापत्र तयार भइसकेको छ, स्थानीयस्तरमा त्यहाँका सापेक्षतामा थप केही बुँदा राखेर पनि तयार पार्न सकिने बनाइएको छ,’ बुढाथोकीले भने, ‘आन्तरिक रूपमा पठाइएको प्रतिबद्धतापत्रमा आन्तरिक सुझाब आएपछि केही सुधार गरी एक–दुई दिनभित्रै अन्तिम फाइनल गरेर सार्वजनिक गर्छौँ ।’ माओवादी केन्द्रले घोषणापत्रमा स्थानीय तहको गठनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमै जनतालाई आफ्नो सत्ता आफैँले हस्तान्तरण गर्ने कामलाई उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेको छ । निर्वाचन परिचालन समिति गठन माओवादीले केन्द्रमा केन्द्रीय निर्वाचन परिचालन समिति र जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहसम्म स्थानीय निर्वाचन परिचालन समिति बनाइसकेको छ । गत २३ फागुनमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले केन्द्रमा नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, विश्वनाथ साह, हितमान शाक्य, शक्ति बस्नेत, लेखराज भट्ट र विश्वभक्त दुलाललगायतका नेताहरू सदस्य छन् । उक्त समितिले निर्वाचन कार्यविधि, निर्देशिका, चुनावी प्रतिबद्धतापत्रको मस्यौदा तयार पारेर केन्द्रीय कार्यालयमा पेस गरेको थियो । त्यसलाई केन्द्रीय कार्यालयले पारित गरेर आन्तरिक रूपमा तल्ला निकायमा पठाइसकिएको मुख्यसचिव बुढाथोकीले बताए । चैतभित्रै सबै उम्मेदवार छानिसक्ने माओवादी केन्द्रले उम्मेदवारका लागि कार्यविधि तय गरी तल्लो समितिसम्म पठाइसकेको छ । ३१ वैशाखका लागि घोषित स्थानीय तह चुनावका लागि १६ वैशाखमा दलहरूले उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि १६ वैशाखको दिन तोकेको छ । ‘निर्वाचन कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ, सोहीअनुसार, उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू अहिले धमाधम बसिरहेका छन्,’ मुख्यसचिव बुढाथोकीले भने, ‘ढिलोमा चैत मसान्तसम्म हाम्रा सबै उम्मेदवारहरू छनोट भइसक्नेछन् ।’ उम्मेदवार छान्न कार्यविधि माओवादीले स्थानीय तहका वडादेखि प्रमुखसम्मका उम्मेदवार छनोटका लागि आन्तरिक रूपमा सम्बन्धित पार्टी कमिटीले तीनजनाको दरले सिफारिस गर्ने, सो कमिटीभन्दा माथिल्लो निकायले अनुमोदन गर्ने र त्यसमभन्दा माथिको निकायले स्वीकृति दिएपछि मात्र उम्मेदवार चयन हुने गरी कार्यविधि बनाएको छ । यसो हुँदा गाउँ तथा नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्ने, उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने तथा महानगरपालिका मेयरका लागि भने पार्टी केन्द्रले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी कार्यविधि बनाएको छ । नेताहरूको दौडधुप तीव्र चुनाव लक्षित गर्दै माओवादीले स्थानीय स्तरमा चुनावी सभा तथा आमसभा गर्नेलगायतका काम सुरु गरेको छ । स्थानीय तहमा हुने चुनावी कार्यक्रममा पार्टी केन्द्रका नेताहरू नै परिचालित भएका छन् । सुर्खेतमा शुक्रबार भएको जनसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा, शक्ति बस्नेतलगायतका नेताहरूले सम्बोधन गरेका थिए । उनी शनिबार सल्यान पुगेका थिए । नेता थापा एक साताका लागि जिल्ला दौडाहमा निस्किएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि काठमाडौं बाहिर छन् । वर्षमान पुन आफ्नै जिम्मेवारीमा रहेको ५ नम्बर प्रदेशमा खटिरहेका छन् । स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टीका आन्तरिक संगठनहरू निर्माण गर्दै चुनावी तयारीका लागि माओवादी नेताहरू देशव्यापी रूपमा गाउँ तथा नगरसम्म कार्यक्रम लिएर झरेका छन् । लीलामणि पोखरेल, मणि थापालगायतका नेताहरू प्युठान पुगेका छन् ।
‘चीनको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको आर्थिक विकासको नीतिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताएका छन् । चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा बोल्दै प्रधानमन्त्री प्रचण्डले साे कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन् । हाइनानमा आयोजित बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन पश्चात शनिवार साँझ बेइजिङ्स्थित नेपाली दूतावासको रात्रीभोजमा सरिक भएका प्रचण्डले सहभागीहरुलाई संक्षिप्त सम्बोधन गरेका थिए । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका उघार्न सक्ने बताए । उनले भने ‘नेपालले पनि चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिनुपर्छ।’ रात्रीभोजमा नेपालका लागि पूर्व राजदूतहरु तथा बेइजिङस्थित नेपाली समुदाय, नेपालका शुभेच्छुक मित्रहरु उपस्थित थिए । उनीहरुतर्फ संकेत गर्दै प्रचण्डले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह गरेका छन् । दूतावासमा आयोजित रात्रीभोजमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी सहभागी भएका थिए । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री प्रचण्डलगायत चीन भ्रमणमा रहेको टोलीलाई स्वागत गरेका थिए ।
गोँगबुमा एक गेस्टहाउसमा आगलागी, ३० लाख बराबरको क्षति
काठमाडौँ, चैत १२ । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले दमकलको प्रयोगबाट समयमै आगो नियन्त्रणमा लिइएकाले दोस्रो तल्लाभन्दा माथि फैलिन पाएन । रासस
बोआओ सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘लगानी गर्नुस् नेपालमा प्रशस्तै ठाउँ छन्’
काठमाडौं, चैत १२ । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी विस्तार गर्न विश्व समुदायलाई आह्वान गर्दै नेपालमा प्रशस्त लगानी गर्ने ठाउँ रहेको प्रस्ष्टयाएका छन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई चीनको बोआओमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरुले सघाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ । द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो ।” नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेका तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै उहाँले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले नेपालको बढ्दो बजार र एसियाका विशाल अर्थतन्त्र भएका दुई ठूला छिमेकीबीचको अवस्थितिले हाम्रो मुलुकलाई आर्थिक गतिविधिको मुख्य केन्द्र बनाउन सकिने अपार सम्भावना रहेको बताए । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताए । भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन सहयोग र सहकार्यको खाका तयार गर्नुपर्ने भन्दै त्यसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुने उनले बताए । बितेका केही दशकमा भूमण्डलीकरण अन्तर्राट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको भन्दै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैनः गृहमन्त्री निधि
पुनर्वास , कञ्चनपुर, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो । आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उहाँले बताउनुभयो । “मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु”– गृहमन्त्री निधिले भन्नुभयो, “भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उहाँले सिमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताउनुभयो । “पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन”– निधिले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।” उहाँले भन्नुभयो, “स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।” आनन्द बजारमा विवादका बेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिनुभयो । “शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ,” मन्त्री निधिले भन्नुभयो । घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उहाँले बताउनुभयो । “सीमाको विषय टुङ्ग्याउन थप दुईवटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ,”– निधिले भन्नुभयो, “संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुङ्गिनेमा विश्वस्त छु ।” कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभयो । पुनर्वास पुग्नुभएका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशङ्कर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रको समेत निरीक्षण गर्नुभयो । सहिद परिवारलाई काँग्रेसको रु सात लाख सहयोग नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ । काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । रासस ९तस्बिर उपलब्ध छ०
भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै
काठमाडौँ, चैत १२। भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल भ्रमणमा आउने भएका छन् । यही चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । भारतीय सेनाको २७ आैं सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत गर्ने कार्यक्रम रहेको छ ।
नयाँ शक्त्ति नवलपुरका १७० नेता तथा कार्यकर्ता माअोवादी केन्द्र प्रवेश
काठमाडौं, चैत १२ । नयाँ शक्ति नेपाल नवलपुरका १७० जना नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमबीच नयाँ शक्त्ति नवलपुरका नेता तारा भुसाल को नेतृत्वमा इस्वोरी महत्तो , रामराज पण्डित, हरिश चन्द्र पोख्रेल, भोज बहादुर भुजेल बिबस, रोहित सारु सहित १७०जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ती सबै नेता तथा कार्यकर्तालाइ नवलपुरका माअोवादी केन्द्रका स्थानिय नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पछिल्लो समय नयाँ शक्त्ति तथा अन्य पार्टीबाट माअोवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको छ । सरकारले स्थानिय तहको चुनाव अागामी बैसाख ३१ गते गर्ने घोषणा गरेपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गर्ने लहर चलेको हाे । बिहिबारमात्र बैद्य माअोवादीका एक दर्जन केन्द्रिय नेताहरु माअोवादी केन्द्र प्रवेश गरेका थिए ।
आर्थिक समृद्धि बिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ, जलविद्युत् नै राष्ट्र निर्माणको प्रमुख आधारः उर्जामन्त्री शर्मा
काठमाडौँ, चैत १२ । ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई यहाँ आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताउनुभयो । ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक/एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुुभयो । राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो । वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ राजनीतिक दलको घेराभन्दा माथि उठेर सम्पूर्ण युवा शक्ति अगाडि आउने हो भने नेपालको समृद्धि धेरै टाढा छैन । ऊर्जा मन्त्रालय सोही लक्ष्यका साथ काम गरिरहेको छ ।” क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार भएको बताउनुभयो । परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने लक्ष्यका साथ माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले पनि स्थानीय तहमा युवाले जित्नैपर्ने आवश्यकता औँल्याउनुभयो । उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो । आर्थिक समृद्धिबिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ मात्रै हुने भएकाले यथार्थमा आउन र मुलुकलाई समृद्धिको दिशामा लैजान तर्कसङ्गत कुरा अगाडि सार्न उहाँले नेकपा(एमाले)लाई आग्रह गर्नुभयो । सो अवसरमा नेकपा(माओवादी केन्द्रका नेता झक्कुुप्रसाद सुवेदीले परिवर्तनको कार्यभार पूरा गर्नका लागि आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा विजयी हुनैपर्ने धारणा राख्नुभयो । उहाँले माओवादी आन्दोलनले उठाएको विषय लागू हुने चरणमा रहेको र स्थानीय तहलाई दिइएको अधिकार त्यसैको एउटा स्वरुप भएको बताउनुभयो । माओवादी केन्द्रका अर्का तथा काठमाडौँ जिल्ला इन्चार्ज नेता लेखनाथ न्यौपानेले माओवादी विजयी हुने लक्ष्यका साथ जनताका माझमा जान सबै नेता तथा कार्यकर्ताको दायित्व भएको बताउनुभयो । आइतबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै स्थानीय तहको निर्वाचन सफल बनाउन वाइसियल परिचालित हुने वाइसियलका नेता युवराज दुलालले जानकारी दिनुभयो । रासस
सरकारको तर्फबाट शहिद गौतम परिवारलाई रु १० लाख हस्तान्तरण
काठमाडौं, चैत १२ । कञ्चनपुर घटनामा शहिद भएका गोविन्द गौतमका परिवारलाई सरकारले १० लाख रुपैया हस्तान्तरण गरेको छ । गृहमन्त्री विमलेन्द्र निधि शनिबार कन्चनपुरको पुर्नवास पुगि सरकारको तर्फबाट गौतम परिवार रु १० लाख रुपैया हस्तान्तरण गरेका हुन् । कन्चनपुरको पुर्नवासमा कल्र्भट निर्माण विषयमा झगडामा भारतीय एसएसबीले अन्धाधुन्धा चलाएको गोली लागि स्थानिय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई शहिद घोषणा गरेर क्षतिपुर्ति सहित रु १० लाख दिने घोषणा गरेको थियो । गृहमन्धी निधिले गौतमको घरमा पुगी सरकारको तर्फबाट १० लाख र नेपाली कांग्रेसको तर्फबाट रु ७ लाख रुपैया गौतम श्रीमति लक्ष्मि गौतमलाई हस्तान्तरण गरेका छन् । यसअघि शहीद परिवारलाई नेकपा एमाले र माओवादी केन्द्रले ५ लाख र ६ लाख राहत प्रदान गरेका थिए । गृहमन्त्री निधिले रकम हस्तान्तरणपछि घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्दै परिवारलाई क्षतिपुर्ति दिनुपर्ने बताए । निधिले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त्त गरेका छन् ।
बेइजिङमा प्रचण्डको भव्य स्वागत, सडक खाली गराएर स्टेट गेष्ट हाउस लगियो
बेइजिङ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बेइजिङमा भव्य स्वागत गरिएको छ । बोआओ सम्मेलनमा भाग लिन बिहिबार चीनको हेनान पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री बेइजिङ विमानस्थल पुग्नेवितिकै उनलाई चीनको विदेश मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरुले भव्य स्वागत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई सडक खाली गराएर स्टेट गेष्ट हाउस लगिएको छ । उनलाई चिनियाँ उच्च सुरक्षा दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ रात्रीभोजको आयोजना गरेको छ। प्रधानमन्त्री दायोतल स्टेट गेष्टहाउसबाट बेइजिङको समय अनुसार ६ः४० मा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सरिक हुने कार्यक्रम तय गरिएको छ। बेइजिङ उड्नुअघि प्रधानमन्त्रीले शनिबार बिहान बोअाअो सम्मेलनलाई सम्बोधन गरेका थिए । बोअाअो सम्मेलनका लागि विशेष बक्ताको रुपमा प्रधानमन्त्री चीन पुगेका हुन् । प्रधानमन्त्रीले भोली आइतबारका दिन बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमासम्बोधन गर्ने छन् । आइतबार नै प्रधानमन्त्रीले चिनियाँ व्यापारीसँग नेपालमा लगानीलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।
संविधानअनुसार पहिले केन्द्रीय चुनाव हुनुपर्छ – अध्यक्ष यादव
काठमाडौँ, चैत १२ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानअनुसार पहिले संसद्को निर्वाचन हुनुपर्ने र त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले सबै दलको समन्वय र सहमतिमा पहिला केन्द्रीय चुनाव गरेपछि अन्य निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भन्नुभयो । अध्यक्ष यादवले संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुनःलेखन नगरिएसम्म मुलुकमा स्थायित्व तथा शान्ति कायम हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । संविधान संशोधन नगरी समस्याको समाधान हुन सक्दैन्, उहाँले भन्नुभयो — “संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमाङ्कनको विवाद समाधान गर्नका लागि आयोग गठन गर्ने हो भने पनि त्यसलाई शक्तिशाली बनाउनुपर्छ ।” अध्यक्ष यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा समस्या नै आउँदैन थियो भन्दै “हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भीरता देखाएन, फलस्वरु समस्या बल्झिदै गएको बताउनुभयो ।” रासस (श्रव्य सामग्री उपलब्ध छ)
विगतमा भएका समझदारी लागू हुनुपर्ने– अध्यक्ष ठाकुर
विराटनगर, चैत १२ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान रहेको बताउँदै सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गर्नुभयो । वार्ताको पक्षमा मोर्चा सदैव तत्पर छ, उहाँले भन्नुभयो — ‘सिके राउतको एजेन्डा मोर्चाको एजेन्डा भन्दा बिल्कुलै फरक छ ।’ अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको उल्लेख गर्दै “५१ प्रतिशत जनसङ्ख्या भएको मधेसमा मात्र ३५ प्रतिशत र ४९ प्रतिशत जनसङ्ख्या भएको हिमाल, पहाडका लागि ६५ प्रतिशत भाग छुट्याएका संरचनाको तह मान्य हुने छैन भन्नुभयो ।” सङ्घीयतामा केन्द्र र प्रदेश दुई तह हुनुपर्नेमा नेपालमा स्थानीय तहसमेत गरी तीन तह गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘प्रदेशको माहतहमा स्थानीय तह राखेर दुई तह बनाउनुपर्ने मोर्चाको माग छ ।’ अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पार्नुभयो । दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उहाँले संसद्देखि सडकसम्म यसको विरोध गर्ने जानकारी गराउनुभयो ।
भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै, राष्ट्रपति भवनमा सम्मान कार्यक्रम
काठमाडौँ, चैत १२ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । भारतीय सेनाको २७ आँै सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उहाँले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नुहुनेछ ।
प्रधानमंत्री बन्ने कुनै रहर छैन- अध्यक्ष ओली
काठमाडौं, चैत १२–एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुनः प्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले अब बन्ने सरकार एमालेको हुने दाबी गरे । अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी गर्दै ओलीले भने, ‘मलाई प्रम हुने पटक्कै मन छैन । म नबनेपनि अबको सरकारले १० वर्षभित्र समृद्ध देश बनाउने छ । ’ नेपालको विकास गर्न इच्छाशक्तिमात्रै भए पुग्ने दाबी गर्दै ओलीले भने, ‘म प्रम हुँदा विकास गर्न पैसा नचाहिने अनुभव गरे । खाली योजनामात्रै बनाउन आवश्यक छ ।’ तर विकासका लागि चाहिने योजना अहिले सम्म बन्नै नसकेको बताउँदै उनले योजना बनेको खण्डमा रकमको कुनै खाँचो नपर्ने बताए ।
एमाले संसारकै अराजक पार्टी- शेखर कोईराला
काठमाडौं, चैत १२ । काँग्रेस नेता डा शेखर कोईरालाले एमाले दुनियाँकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेकै कारण मुलुकमा समस्या निम्तिएको पनि दावी गरे । नेता कोइरालाले एमाले जन्मनुभन्दा अगाडि देखि नै काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रको लागी संघर्ष गरेको इतिहास रहेको भन्दै एमालेले काँग्रेसलार्य राष्ट्रियताको पाठ पढाउन आबश्यकन नरहेको बताए । एमालेसँग काँग्रेसलाई राष्ट्रियताको पाठ पढाउने नैतिकता पनि नरहेको नेता कोइरालाको भनाई छ । नेता कोइरालाले नक्कली राष्ट्रबादको नारा लिएर एमालेले मेची–महाकाली यात्रा थालेको भन्दै एमाले निर्वाचन बिथोल्न लागेको आरोप लगाए । ‘सूदुरपश्चिम पुगेर हाम्रा सभापति शेरबहादुर देउवाजीलाई तथानाम गाली गर्ने केपी ओलीजी को हो ?’ काँग्रेस ललितपूर क्षेत्र नं–२ को क्षेत्रिय सम्मेलनको उदघाटन कोइरालाले भने । उनले मधेसी मोर्चाको सहमति बिना गरिने निर्बाचनले मूलुकलाई बिखण्डनमा लैजाने बताए । कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य किरण यादव,सांसदहरू चन्द्र महर्जन,उदयशमशेर राणा,पूर्व सांसद रामक्रृष्ण चित्रकार लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

