मतपत्र छपाई तीव्र, राजतन्त्र र हिन्दु राज्य संविधानविपरीत भएकोले राप्रपाको उक्त वाक्यांश हटाईएको- निर्वाचन आयोग

विराटनगर, १२ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातापत्र छपाइ लगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताए ।

प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको प्रसङ्ग उल्लेख गर्दै उनले यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गरे ।

पत्रकारको जिज्ञासामा उनले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘‘वाक्यांश’ हटाइएको स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सकिने हो कि भनी सोधिएको एक प्रश्नमा प्रमुख आयुक्त यादवले छोटो अवधि भएकाले दुईटै निर्वाचन एकैसाथ गर्न नसकिने जानकारी गराए ।
निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने उनको भनाइ थियो । रासस

बर्खास्त गरिएका प्राधिकरण प्रमुख ज्ञवालीले फर्जी तथ्यांक प्रस्तुत गर्ने गरेको खुलासा

काठमाडौँ, चैत १२– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क हटाइएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ थियो । तर यससम्बन्धी समाचार सार्वजनिक भएसँगै फर्जी तथ्याङ्क हटाइएको हो । वेभसाइटमा उल्लेख भएको सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ । प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै थियो । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार ४८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए । “ निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारीस गरिएकाको सङ्ख्या पाँच हजार ७३० छ, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”– उनले भने । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक वर्षको प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहायता लिएको रहस्य खुलेको छ । ज्ञवालीले पुस १२ गते ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’ शीर्षकमा प्राधिकरणको वेभसाइटमा राखेको विवरणमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको गलत तथ्याङ्क छ । यो शीर्षकको विज्ञापन त्यस दिनका पत्रपत्रिकामा पनि छपाइएको थियो । यस सम्बन्धमा प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । ज्ञवाली कार्यरत रहँदा उनको प्रेस संयोजकका रुपमा काम गरेका भुवन केसीले केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षणका क्रममा ल्याएको प्रतिवेदनका आधारमा सो विवरण राखिएको दाबी गरे । रातोपाटीबाट

महन्थ ठाकुरले भने- चुनावमा भाग लिन्छौं

बिराटनगर, चैत १२ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा सहभागि हुने बताएका छन् । शनिबार तमलोपा जिल्ला कार्यसमिति मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावमा भाग लिनको लागि सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गनु्ृपर्ने बताएका हुन्। सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताए । नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेको भए पनि सहमति भने भइनसकेको जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संसोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने बताए । संविधान संसोधनबारे लिखित र मौखिक सहमति भन्दा पनि कार्यरुपमा नआएसम्म निर्वाचनमा सहभागी नहुने उनले स्पष्ट पारे । सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफुहरुको मागलाई सरकाले तत्काल सम्वोधन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाइ थियो ।

प्रधानमन्त्रीले प्रस्तुत गरे भूमण्डलिकरणको एशियाली मोडेल, नेपालमा लगानी गर्न प्रस्ताव

बेइजिङ, चैत १२ । विश्वका राजनेता सामु प्रधानमन्त्री प्रचण्डले एशियाली मोडेलको भूमण्डलिकरणको प्रस्ताव राखेका छन् । चीनमा आयोजना भइरहेको बोआओ सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलिकरणले विश्वमा स्तरीकरण बढाएको भन्दै यसलाई समावेशी मोडेलमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन । चीनको हेनान प्रान्तमा आयोजना भइरहेको बोआओ फोरमको उदघाटन समारोहलाई शनिबार बिहान सम्बोधन गर्दै प्रचण्डले मैदानमा दौडिन सबै सक्षम हुनुपर्ने बताए । “भूमण्डलिकरणमा सफलता र स्थिरतालाई सामेल गर्नुपर्छ । हामीले अवसरको समानता एवं विश्वव्यापीकरणको लाभलाई सबैले उपभोग गर्न सकेको सुनिश्चित गनुपर्छ” प्रधानमन्त्रीले भने, “हामीले गुणस्तरीय खेल मैदानका लागि प्रयास गर्नुपर्छ । यो निष्पक्ष समेत हुनुपर्छ ।” “ग्लोबलाइजेसन र स्वतन्त्र व्यापार” विषयमा एशियाली दृष्टिकोणको खोजी गर्न आयोजना गरिएको फोरममा प्रधानमन्त्री प्रचण्डले ग्लोबलाईजेसनले एक तहमा आर्थिक विकासमा फडको मारेको भएपनि यसले विकास, प्रगति, समृद्धि र गतिशीलतालाई आत्मसात गर्न नसके यसको अर्थ नहुने बताए । यसले लाखौं मानिसलाई लाभ पुर्याएको भएपनि यसका कैयन् दोषहरु रहेको उनको भनाइ थियो । भूमण्डलिकरण र स्वतन्त्र व्यापारको भूमिकालाई नकार्न नमिलेपनि यसबाट लाभ लिन नसकेका वर्ग र जनसंख्यालाई समेटनुपर्नेमा उनको जोड थियो । “अहिले पनि केही अवरोधहरु छन् जसले विकासका दृष्टिले पछाडि परेका देशहरुको समान र सेवाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याएका छन् । यसलाई नसच्याएसम्म भूमण्डिलकरणले सही अर्थ बोक्न सक्दैन ।” उनले भने । प्रधानमन्त्री प्रचण्डले विषमताका कारण विश्वको बिभिन्न भागमा एकैपटक विकास हुने सम्भावना नभएको र यसले अनिश्चितता र संशयको अवस्था पैदा गरेको बताए । विश्वव्यापारिकरणको वेफाइदाबाट जोगिन जरुरी रहेका भन्दै उनले एशियाली देशहरुले सेवा र स्वतन्त्र व्यापारलाई अनिश्चितताबाट जोगाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । एशियाली जनजीवन समावेशी रहेकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले अहिेलेको शताब्दी एशियाको शताब्दी रहेको बताए । एशियाले भूमण्डलिकरणको समावेशीकरणमा जोड दिनुपर्ने बताउँदै उनले भने, “एशियाली मोडलको विश्वव्यापीकरण को अभ्यास गर्नु जरुरी छ । यसका लागि हामीले एउटा सहयोग मोडलको निर्माण गर्नुपर्छ, जसले विचारको मुक्त प्रवाहलाई सक्षम गराओस्, व्यापारको नियमित सञ्जाल र स्थितिको स्थायीत्व कायम गर्न सकोस्” सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी गर्न समेत आव्हान गरे । नेपालमा जलविद्युत, पूर्वाधार विकास र पर्यटनलगायतका कतिपय क्षेत्रमा लगानी गर्न एशियाली व्यापारीक समुदायले उनले आग्रह गरे । प्रधानमन्त्रीले नेपालमा श्रोतको समृद्ध आधार रहेकोले समान लाभको सम्भावना रहेको बताए । एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुनसक्ने सम्भावना रहेको बताउँदै प्रधानम्नत्रीले नेपाल केही राजनीतिक कोशेढुंगा पार गरेर आर्थिक विकासको चरणमा प्रवेश गरेको समेत बताए ।

चुनाव बहिष्कार गर्दा ‘ठगियौ’: थबाङबासी

थबाङ रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो । सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए । वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।’यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् । थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’ खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् । सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् । सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन् । ‘चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न’, बुढा भन्छन्, ‘स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।’ २०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । ‘हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं’, उनी भन्छन्, ‘पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।’ थबाङ गाउँपालिकाको केन्द्र पनि हो । ‘हामी विकासविरोधी होइनौं तर थबाङलाई सधैं राज्यको विद्रोही भनियो, हामीलाई सधैं हेला गरियो’, रेशम भन्छन्, ‘त्यसैले हामी खासखास समयमा आफ्नो निर्णय गर्छ । स्थानीय जनता पनि यसपालिको चुनावबाट गाउँको नेता छान्न चाहन्छन् ।’ आफूहरूले समर्थन गरेको पार्टीले नै चुनाव बहिष्कारको नीति पारित गरेपछि पार्टीका तर्फबाट उम्मेदवार भने हुने छैनन् । उनीहरूले कसैलाई समर्थन गरेर उम्मेदवार बनाउने पनि छैनन् ।’तर हामी सबै गाउँलेहरू सल्लाह गरेर कसलाई भोट हाल्ने भन्ने निर्णय गर्छौं’, स्थानीय विष्णुज्योति घर्ती भन्छिन्, ‘गाउँका हाम्रा नेताले पनि त्यस्तै भन्छन् । गाउँको विकास गर्ने नेता त चाहियो नि ।’ आजको अन्नपूर्णबाट

राजधानीमा सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

काठमाडौं, चैत १२  । उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ । काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ । काठमाडौंको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंवासीको स्वास्थ्यमा गम्भीर असर पार्ने विशेषज्ञले बताउँदै आएका छन् । पछिल्लो समयमा वायु प्रदूषणका कारण काठमाडौंका अस्पतालहरूमा श्वास प्रश्वास र मुटुरोगीको संख्या उल्लेख्य रूपमा बढेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदूषणको सिकार भइरहेका छन् । परिषद्को अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छाला रोगको जोखिम बढेको छ । वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वभर बर्सेनि ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्न अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात् प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । ‘दि इकोनोमिक कन्सेक्वेन्सिज अफ आउटडोर एयर पोलुसन’को आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओईसीडी) को प्रतिवेदनले २०१६ मा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु बताएको छ । यस्तै धुलो–धुँवाले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला विश्व स्वास्थ्य संगठनको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भायरोमेन्ट’ विभागका संयोजक डा. कार्लोस डोराले उपत्यकामा धूमपानले (१६ हजार) भन्दा झन्डै दोब्बर मानिसको प्रदूषित हावाले (३० हजार) ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन् । मानिसले श्वास लिँदा नाक मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ । प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि सरकारले काम थालनी गरेको छ । विभागले दिएको तथ्यांकअनुसार उपत्यकामा सवारीसाधनबाट निस्कने धुँवाले पीएम २.५ को ३८ प्रतिशत भाग लिन्छ । यसैगरी सडकको धुलोका कारण २५ प्रतिशत, कृषिका कारण १८ प्रतिशत, इँटाभट्टाका कारण ११ प्रतिशत, घरबाट खाना पकाउँदा वा अन्य कारणले ३ प्रतिशत, डढेलो वा फोहोर जलाउने कारणबाट एक प्रतिशत, उद्योगधन्धाबाट तीन प्रतिशत र अन्य कारणहरूबाट एक प्रतिशत पीएम २.५ को मात्रा वायुमण्डलमा फैलिन्छ । पीएम २ दशमलव ५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सिर्जित भई मृत्युसम्म हुन्छ । गर्मीभन्दा जाडोयाममा धेरै वायु प्रदूषण हुने गरेको विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले बताए । राजधानी दैनिकबाट

अपडेट : स्वर्गद्वारी जिप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

काठमाडौं, चैत ११ । स्वर्गद्वारी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज विहान प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ४ रुमालेमा भएको बा ८ च १५६१नम्वरको जीप दुर्घट्नामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा गम्भिर घाइते भएका अर्का एक जनालाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा ललितपुर १४ तिखेदेवलका एकै परिवार ४ जना रहेका छन् भने अन्य ललितपुरकै तीन जना रहेका छन् । मृत्यु हुनेहरुमा दिनेश ध्वज बस्नेत, उनकी श्रीमती पद्मा बस्नेत, छोरीहरू दिया बस्नेत, दीक्षा बस्नेत रहेका छन् । त्यस्तै सोही स्थानका श्रृष्टी जि सी र अम्बिका गजुरेलको घटना स्थलमै मृत्यु भएको हो भने सुनिता श्रेष्ठको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका अन्य दुई जनाको उपचार भइरहेको छ भने घटनाको कारण भने अझैसम्म खुल्न सकेको छैन । याे पनि पढ्नुस् प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत अपडेट : प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत  

डा. सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

लहान, चैत ११ । राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई सिरहा अदालतले शुक्रबार पाँचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रोपटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पाचौंपटक शुक्रबार चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । अन्तिमपटकका लागि शुक्रबार अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेस गर्ने प्रहरी उपरीक्षक कोइरालाले जानकारी  दिए । स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गएका माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

उपप्रधानमन्त्री निधि र चीनिया रक्षामन्त्री चाङबीच भेटवार्ता

काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज शिष्टाचार भेटबार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहाँ आइपुगेका चिनिया रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच आज दिउँसो गृहमन्त्रालयमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका बिषयमा कुराकानी भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकिकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा पनि छलफल भएको थियो । गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए । भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीयाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गरे । गत बर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराएका छन् । चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरे । साथै, उनलले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैब सहयोग गर्ने पनि बताएका छन् । त्यस अबसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

मधेस केन्द्रित दलहरुपनि निर्वाचन नजिकै छन् : उपप्रधानमन्त्री महरा

रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनका लागि मधेसकेन्द्रित दलहरु पनि सहमति नजिक भएको बताएका छन् । रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महराले वैशाख ३१ गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचन समयमै हुने भन्दै त्यसका लागि मधेस केन्द्रित दल पनि सहमति नजिक आइसकेको बताएका छन् । उनले भने “सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधन गर्ने विषयमा मोर्चा सकारात्मक देखिएका छन् भने सीमाङ्कनको विषय थाति राखेर अगाडि बढ्ने कुरामा नेकपा एमाले पनि सहमत भएका छन् ।’ “राजनीतिक गाँठो पनि क्रमशः फुकिँदै छ, जनताको ठूलो हिस्सा निर्वाचनलाई महोत्सवको रुपमा स्वागत गर्न आतुर छन्, यस्तो अवस्थामा निर्वाचन रोकिने कुनै बहाना छैन’ महराले भने । मोर्चासँग निकट भविष्यमा हुने सहमतिपछि मुलुकमा निर्वाचनको माहोल बन्ने उनको भनाई छ । उपप्रधानमन्त्री महराले स्थानीय तहको संरचना कार्यान्वयनलाई इतिहासकै ठूलो उपलब्धि भएको बताउँदै स्थानीय तहको केन्द्रका बारे सानातिना विवाद आए पनि आपसी सहमतिमा त्यसलाई समाधान गरिने धारणा व्यक्त गरे । सिंहदरबारमा भएको अधिकार गाउँ/गाउँसम्म पुग्ने गरी राज्य पुनःसंरचना हुनु नेपालको इतिहासमा चानचुने विषय नभएको बताए । उपप्रधानमन्त्री महराले “तयारी अभावका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै विषयमा लिखित सम्झौता नभए पनि सबै विषयमा द्विपक्षीय कुराकानी हुने बताउँदै विशेषगरी वन वेल्ट वन रोड, केरुङ काठमाडौँ रेलमार्ग विस्तार, विशेष आर्थिक क्षेत्र, तेल भण्डारण तथा ऊर्जासँग सम्बन्धित विषयमा नेतृत्व तहमा द्विपक्षीय कुराकानी हुने र त्यसै आधारमा निकट भविष्यमा सो सम्बन्धी सम्झौता हुने बताए ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड भेटघाटमा व्यस्त

काठमाडौं, चैत ११। बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहिवार राति चीन प्रस्थान गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ शुक्रबार विहानैदेखि भेटघाटमा व्यस्त भएका रहेका छन् । प्रधानमन्त्री प्रचण्डले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका छन् । त्यस्तै मध्यान्ह बोआओ होटलमा बसेका उनले त्यहाँको थाङ्का प्रदर्शनी अवलोकन गरेका गरे । गौतम बुद्धको जीवन दर्शनमा आधारित थाङ्का प्रदर्शनीको उनले अवलोकन गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । अपरान्ह चिनियाँ प्रधानमन्त्री प्रचण्डले त्यहाँका उपप्रधानमन्त्री झाङ गावलीसँग भेट गरेका छन् । आज साँझ उपप्रधानमन्त्री गावलीले दिने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चैत १६ गते स्वदेश फर्किने छन् ।

अपडेट : प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत

प्यूठान, चैत ११ । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरुमा ललितपुर–१४ तिखेदेवलका एकै परवारका ४ जना रहेका छन् भने अन्य दुई जनाको पनि मृत्यु भएको छ । मृत्यु हुनेहरमा दिनेशध्वज बस्नेत, पद्मा बस्नेत , दिक्षा बस्नेत र डिहा बस्नेत एकै परिवारका रहेका छन् भने ललितपुर–१४ कै श्रृष्टी बराल, र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान दुर्घटनामा परि मृत्युह हुनेहरुको प्रहरीले सनाखत गरेको छ । घाइते हुनेमा चालक सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल रहेका छन् । घाइतेहरुलाई भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ज्यान गुमाएकाको शव हेलिकप्टरबाट ललितपुर लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । याे पनि पढ्नुस् स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

बैद्य माअोवादीका केन्द्रिय नेता सहित एक दर्जन कार्यकर्ता माअोवादी केन्द्र प्रवेश

काठमाडौं, चैत ११ । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नै कार्यक्रम गरी वैद्यका केन्द्रीय नेताहरुसहित दर्जन कार्यकर्तालाई एकै साथ पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश गराउँदै प्रचण्डले  प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै माओवादी केन्द्रले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताएका छन् । प्रधानमन्त्रीले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु माओवादी नेतृत्वमै प्राप्त भएकाले यसको रक्षा र थप उपलब्धी हासिल गर्न पनि माओवादीकै नेतृत्व अपरिहार्य रहेकोमा जोड दिए । प्रधानमन्त्रीले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा आफू लागेको बताउँदै छरिएर रहेका सबै माओवादीलाई एकतावद्ध हुन आग्रह गरे । उनले माओवादीहरु एकतावद्ध हुँदा जनतामा आशाको सञ्चार भइरहेको बताउँदै एकता अभियान जारी रहने बताए । माओवादी केन्द्रमा समाहित हुनेहरुमा माओवादी क्रान्तिकारी भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहित सयभन्दा बढी नेता, कार्यकर्ता छन् ।

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्यूठान, चैत ११ । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ । बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन । घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुग्नुभएका टेकप्रसाद भण्डारीले जानकारी दिनुभयो । घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ । इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् । रासस

सरकारलको अनलाइन निर्देशिकाप्रति महासंघको आपत्ति

काठमाडौं, चैत ११ । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा नेपाल पत्रकार महासंघ आपत्ती प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकारवाला संस्थाको संलग्नतामा कार्यदल बनाइएकोमा कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएको वर्तमान संवेदनशील अवस्थामा पुरानै निर्देशिकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ निर्देशिका जारी गरिनुले सरकारको नियतमाथिसमेत प्रश्न खडा गरेको महासंघले जनाएको छ । महासंघका महासचिव उजिर मगरले जारी गरेको प्रेस विज्ञप्तिम भनिएको छ, ‘सुशासन ऐनलाई टेकेर ल्याइएको यस निर्देशिकाले भर्खर फस्टाउँदै गरेको अनलाइन माध्यमको भूमिकालाई संकुचित गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने भएकोले महासंघ यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गर्दछ ।’ अनलाइनसम्बन्धी कुनै कानुनी प्रबन्ध गर्नुपर्दा प्रेससम्बन्धी विद्यमान संबैधानिक तथा कानुनी ब्यवस्था र अनलाइनमाध्यमको प्राविधिक पक्षलाई मनन गर्न एवं जनताको सार्वभौम थलो संसदमार्फत नयाँ कानुन निर्माणको प्रक्रिया अवलम्बन गर्न महासंघले आग्रह गरेको छ । महासंघले उक्त निर्देशिका तत्काल फिर्ता नलिए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान

काठमाडौ‌ं,  चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहिवार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनुभएको छ । प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उहाँ बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नुहुनेछ । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनुहुनेछ । रासस