देउवाले भने–‘आइजीपी बनाउने अधिकार सरकारको हो’
बिराटनगर, चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरी आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले प्रहरीको नियमावली अनुसार आइजिपी नियुक्त गर्ने बताएका हुन् ।
सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गर्ने गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । र, अदालतले प्रहरीको मापदण्डको आधारमा आइजिपी नियुक्त गर्नुपर्ने फैसला सुनाए पछि देउवाले उक्त कुरा बताएका हुन् ।
यसबारेमा पत्रकारले जिज्ञासा राख्दा कांग्रेस सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताए ।
सञ्चारकर्मीले फेरि जयबहादुर चन्दलाई आइजीइपी बनाउने हो ? भनेर देउवालाई प्रश्न गरेका थिए । जवाफमा देउवाले भने– ‘हेर्दै जाउँ, आईजीपी को हुन्छ ?’
देउवा विराटनगर हाटखोलमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर आएका हुन् ।
देउवाले मधेसी मोर्चाविना पनि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
देउवाले भने- मधेसी जनता चुनावको पक्षमा छन्, पार्टीले भन्दैमा चुनाव रोकिन्न, चुनाव कुनै पनि हालतमा हुन्छ ।’
कांग्रेस सभापति देउवाले चुनाव एकै चरणमा सम्पन्न हुने बताए । सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले सीमाङ्कन बाहेकका अन्य विषयलाई टुङ्गाएर मधेसी मोर्चालाई पनि चुनावका सहभागी गराउने प्रयत्न भने भइरहेको जानकारी दिए ।
सत्तापक्षको प्रयास अहिले पनि स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई पनि सहभागी गराउने छ र सोही ढंबाट मधेसी मोर्चासँग वार्ता र छलफल चलिरहेको भन्दै देउवाले मधेसी मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुने बताए ।
असन्तुष्ट पक्षलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्छः फोरम लोकतान्त्रिक
काठमाडौँ, चैत १७ । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउन असन्तुष्ट पक्षलाई निर्वाचनमा सामेल गराउनुपर्ने माग गरेको छ । पार्टीको बिहिबार सम्पन्न दुईदिने कार्यसम्पादन समिति बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई पनि सामेल गराउनुपर्ने ठहर गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावलाई तत्काल अघि बढाई सबै दल निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष रामजनम चौधरीले राससलाई जानकारी दिनुभयो । बैठकले एक साताभित्र संशोधन अघि बढाउनुपर्ने, थरुहट मधेसको माग सम्बोधन गर्नुपर्ने, टीकापुर घटनालगायत मुद्दामा पक्राउ परेकालाई रिहाइ गरिनुपर्ने र सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पनि उपाध्यक्ष चौधरीले बताउनुभयो । रासस
पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना
काठमाडौं, चैत १८ । पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख रुपियाँसम्म जरिवाना गर्ने अधिकारसहित सरकारले विद्युत् नियमन आयोग गठन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गरेको छ । सरकारका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्माले संसद्मा दर्ता गर्नुभएको विधेयकले पूर्व सूचनाबिना विद्युत् सेवा अवरोधलाई दण्डनीय मान्दै जरिवानाको प्रस्ताव गरेको हो । संसद्मा दर्ता भएको विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । आयोग गठनसम्बन्धी विधेयकमा आयोगलाई ऐन बमोजिमका काम नभएकोमा जरिवानाको अधिकार तोकिएको छ । विधेयकको दफा १९ ले जरिवानासम्बन्धी व्यवस्था गरेको छ । आयोगका निर्णय निर्देशन कार्यान्वयन नगर्ने व्यक्तिलाई जरिवानाको व्यवस्था गरेको छ । विधेयकले विद्युत् उत्पादन, प्रसारण वितरण वा व्यापार गर्न कानुनबमोजिम अनुमति प्राप्त व्यक्ति वा सङ्गठित संस्थालाई अनुमति प्राप्त व्यक्तिको परिभाषामा राखेको छ । विधेयकको दफा १९ मा भनिएको छ, “यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने वा पूर्व सूचना नदिई विद्युत् सेवा अवरुद्ध गर्ने वा गराउने अनुमतिपत्र प्राप्त व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ । ” सरकारले विद्युत् उत्पादन, प्रसारण वितरण वा व्यापारलाई नियमित गर्न आयोग गठनका लागि विधेयक संसद्मा दर्ता गरेको हो । अनुमति प्राप्त व्यक्ति वा उपभोक्ताले दिएको कुनै पनि विवादका विषयमा जारी भएको आदेश वा निर्णय कार्यान्वयन नभएमा जरिवाना गर्नसक्ने व्यवस्था विधेयकले आयोगलाई दिएको छ । आयोगले अनुमति प्राप्त व्यक्तिलाई दिएको निर्देशन कार्यान्वयन नभएमा पनि जरिवाना गर्न सक्नेछ । आयोगको निर्णयसम्बन्धी पुनरावलोकन चाहनेले निर्णय थाहा पाएको १५ दिनभित्र आवश्यक कागजातसहित आयोगमा निवेदन दिनुपर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
कुलमान र हरिमान ‘एक्सिलेन्ट’
काठमाडौं, चैत १८ । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गर्ने भएकोछ । नेपालको जलविद्युत क्षेत्रमा योगदान पुर्याएको भन्दै कुलमान र हरिमानलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्च प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा कार्यकारी निर्देशक घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । यो खबर आजको कारोबारमा छ ।
म्यादी प्रहरीका लागि एक लाख ७२ हजारको आवेदन
काठमाडौँ, चैत १७ । स्थायी निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा आजसम्म एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । सोअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ । रासस
तोकिएको समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएकाछन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका थिए । प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्त सो छलफलमा उपस्थित थिए । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए । “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो” –यादवले भने । प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास व्यक्त गरेका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गरेका थिए । तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुग्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेको उनले बताए । निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली र मतदान केन्द्रलगायत सबै तयारी भइसकेको तथा वैशाख ३१ को निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट पनि पूर्ण सुरक्षाको प्रत्याभूति आएको आइसकेको उनले बताए । छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए ।
नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विद्रोही सेनाको प्रमुख कमाण्डरबाट शान्ति प्रक्रियामा आई दुई पटकसम्म प्रधानमन्त्री भएको संसारमै पहिलो उदाहरण भएको बताउँदै यसबाट संसारले सिक्नसक्ने कुरा बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय सेना प्रमुख विपीन रावतसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया मौलिक रहेको बताउँदै नेपालको शान्ति प्रक्रियावाट संसारले सिक्न सक्ने बताएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले भारतीय सेना र नेपाली सेनाबीचको सहकार्यप्रति खुशी व्यक्त गरेका थिए । भारतीय सेनापति रावतले नेपालको शान्ति प्रक्रियाका अनुभव भारतका लागि पनि उपयोगी हुने बताउँदै नेपाली सेनासँगको सहकार्यका लागि खुशी व्यक्त गरेका थिए ।
नेपाल प्रहरी विद्यालयमा एक छात्रको रहस्यमयी मृत्यु
काठमाडौं, चैत १७ । नेपाल प्रहरी विद्यालय सामाखुसीमा कक्षा ८ मा अध्ययनरत एक छात्रको रहस्यमयी मृत्यु भएको छ । कक्षा ८ को परीक्षा दिएर बसेका १४ वर्षीय कुन्दन थापालाई विद्यालय छुटी भएको अवस्थामा पनि विद्यालय प्रशासनले बोलाई उनको रहस्यमयी मृत्यु भएको परिवारजनले बताएका छन् । कुन्दनले सामाजिक संञ्जालको दुरुपयोग गरेको भन्दै विद्यालय पुनः संचालन हुने बेलासम्ममा उक्त विषयमा विकराल रुप लिनसक्ने भन्दै प्रशासनले छालफलका लागि कुन्दनलाई बोलाएको बताएको छ । स्कुल भवनको तीन तलामाथिको कोठामा केही बेरको छलफलपश्चात कुन्दन बाहिर निस्किई हामफालेको स्कुल प्रशासनले जनाएको छ । घटनालगत्तै उपचारका लागि त्रिवि शिक्षक अस्पताल महाराजगञ्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । विद्यार्थीले गल्ती नै गरेको भएपनि अभिभावकलाई पो जानकारी दिनुपर्ने भन्दै स्कुलले विद्यार्थीलाई मात्रै बोलाई विद्यार्थीमाथि के कस्तो कारवाही गरेको भन्दै घटनाको शुक्ष्म छानविन हुनुपर्ने कुन्दनका आफन्तले दवाव दिएका छन् । कुन्दनको आँखाको मुनि गहिरो निलो डाम पनि भएका कारण विद्यालय प्रशासनले कुन्दनको हत्या गरेको हुनसक्ने परिवारजनले आरोप लगाएका छन् ।
रामचन्द्रले भने, ‘मधेसी जनता चुनावको पक्षमा छन्, त्यसको अगुवाई गर्नुहोस्’
सुनसरी, चैत १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै त्यसलाई अगुवाई गर्न मधेसी नेताहरुलाई आग्रह गरेका छन् । सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले संविधान संशोधन विद्येयक पास हुने बताउँदै निर्वाचनमा भाग लिन मधेसवादी दलका नेताहरुलाई आग्रह गरेका हुन् । नेता पौडेलले भने, ‘संविधानका उपलब्धिलाई संस्थागत गर्दै अघि नबढे पाएको उपलब्धि पनि गुम्नेछ त्यसैले जनताको चाहना अनुरुप चुनावको अगुवाई गर्नोस् ।’ मधेसका जनता निर्वाचनको पक्षमा रहेको जान्दाजान्दै पनि निर्वाचनमा उनीहरुको अगुवा हुनुको साटो निर्वाचनबाट भागेर लुक्न खोज्नु जनतालाई नै धोका दिनुभएको उनले बताए । संविधान संशोधन र सीमांकनका कुरा पास गराउने पक्षमा नेपाली कांग्रेस रहेको जनाउँदै जनताको हातमा अधिकार दिने निर्वाचनमा मधेसवादी सहभागी नहुनु भनेको यहाँका ठालुहरुको चालमात्र भएको आरोप लगाए । मधेसलाई बाहिर राखेर एमाले राष्ट्रवादी पार्टी बन्न नसक्ने धारणा राख्दै पौडेलले भने, ‘राष्ट्रियता भनेकै हिमाल, पहाड र तराईलाई जोड्नु हो ।’ नेपाली कांग्रेसले अबको १० वर्षमा मुलुकलाई समृद्ध राष्ट्रको हाराहारीमा पुर्याउने दावी गर्दै निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिन आग्रह गरे ।
आँखा नपाए आन्दोलन गर्छाै : डा.भट्टराई
काठमाडौं, चैत १७ । नयाँ शक्ति पार्टीले चुनाव चिन्ह पहिले घोषित अनुसार ‘आँखा’ नपाए आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा नजाने घोषणा गरेको छ । पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने, ‘चुनाव चिन्ह नपाए निर्वाचन हुन दिँदैनौ ।’ उनले स्थानीय निर्वाचनमा मधेश केन्द्रीत दललाई पनि समावेश गर्न असन्तुष्ट पक्षको माग सम्वोधन गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । डा.भट्टराइले भने, “सबै राजनीतिक दललाई समेट्न, संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्छ ।” स्थानीय निर्वाचनका लागि आफूहरुले चुनाव चिन्ह पाउन निर्वाचन आयोगमा धर्ना दिने, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम रहेको बताएका छन् । नयाँ शक्तिले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न समिति बनाएको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधन, विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको घोषणा, सर्वदलीय सरकार, तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्नेलगायतका छ वटा सर्त पार्टीले अगाडि सारेको जानकारी दिएका छन् । संयोजक डा. भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन तथा निर्वाचनका लागि सात वटै प्रदेशको उत्प्रेरक र संयोजक समेत तोकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
चुनाव बहिष्कार गर्ने विप्लव पार्टीको घोषणा
सर्लाही, चैत १७ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने घोषणा गरेका छन् । सर्लाहीको हजरियामा बिहीबार एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा महासचिव बिप्लवले आगामी वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई आफ्नो पार्टीले प्रतिकार गर्ने बताएका हुन् । संसदीय व्यवस्थालाई आफूहरुले स्वीकार गर्न नसकिने बताउँदै नेता चन्दले संसदीय व्यवस्थालाई हटाई मुलुकलाई वैज्ञानिक साम्यवादी व्यवस्थामा लानुपर्ने तर्क दिएका थियो । जनआन्दोलनको भावना विपरीत गएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई आरोप लगाउन समेत भ्याए । पुराना कम्युनिष्ट नेता चित्रबहादुर आलेको निजी आवास शिलान्याश गर्न विप्लव समूहका नेताहरु बिहीबार सर्लाही पुगेका थिए ।
मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले तोड्दै
लहान, चैत १७। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताउनुभयो ।
एसीसी इमर्जिङ कप क्रिकेटमा हङकङ विरुद्ध एेरीले बनाए अर्धशतक
ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि ऐरीले ४ चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । एेरीको अर्धशतक मद्दतमा नेपालले तीन विकेट गुमाएर जीत हासिल गरेको छ । हङ्कङ् विरुद्ध कप्तान ज्ञानेन्द्र मल्ल ऐरीले र शरद भेषवाकरले अर्धशतक पूरा गरेका छन् । ऐरीले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए । यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् । नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।
समयमा चुनाव हुने/नहुने आशंकाबीच तीन ठूला दलले तयारीमा जु्ट्दै
लहान, चैत १७ । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने/नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन् मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् । काँग्रेस निकट नेपाल महिला सङ्घले केही दिनअघि सिरहाको लहानमा प्रदेश स्तरीय प्रशिक्षण गरेदेखि नै निर्वाचनको तयारी थालेको काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँ गाउँसम्म पु¥याइआएको छ । काँग्रेसका सिरहा जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारहरुको छनोट, अगुवा कार्यकर्ताहरुको प्रशिक्षक तथा नियमित बैठक र छलफल लगायतका गतिविधि गरिरहेको छ । “मधेसवादी दलहरुले यथास्थितिमा हुने निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलन जारी राखेकाले समयमै निर्वाचन हुने वा नहुने अन्योलका बीच निर्वाचनको तयारी थालेका छौं,” सभापति यादव भन्नुहुन्छ – “निर्वाचन र संगठन सुदृढीकरणलाई लक्ष्य गरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अहिले दिनहुँ नियमित रुपमा बैठक र छलफलमा हुने गरेको छ ।” एमालेले केही दिनअघि सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रमको क्रममा सप्तरीमा झडप भएपछि एमालेका नेता कार्यकर्ताले सिरहामा खुलेर निर्वाचनको तयारी गर्न नसकेपनि आन्तरिक रुपमा तयारी भइरहेको एमाले नेताहरु बताउँछन् । एमालेले निर्वाचनलाई लक्ष्य गरी पार्टीको २ नम्बर प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा आयोजना गरेपनि सप्तरीको घटना पछि एमालेले सिरहामा कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन । संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्ष्य गरी आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी एक साताअघि सिरहाको गोलबजारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको सूची तयारीको सन्दर्भमा बैठक तथा छलफलहरु नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “निर्वाचन र सांगठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता र कार्यकर्तासँग नियमित छलफल, अन्तरक्रिया गर्नुका साथै जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीहरुको समेत सूची तयार गरिरहेका छौं ।” ठूला तीन दल बाहेक अन्य केही दलले पनि छिटफुट रुपमा आन्तरिक चुनावी तयारी थाले पनि उनीहरुको गतिविधि औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेपछि सिरहामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ। म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय सिरहामा दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवा वर्गको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी ठूला दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भएको छ । तर पनि मधेसवादी दलहरुको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । संविधान संशोधन गरी मधेसवादी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउन सकिए निर्वाचनको वातावरण सहज रुपमा बन्ने स्थानीय बुद्धिजीवीहरुको विश्वास छ । सिरहा जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा मधेसवादी दलहरु गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
हङकङविरुद्ध शरदले बनाए अर्धशतक
ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका शरद भेषवाकरले अर्धशतक बनाएका छन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि शरदले तीनवटा छक्का रतीनवटै चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । शरद भेषवाकरले व्यक्तिगत ५० बलमा ५४ रन बनाएका हुन् । यसैगरी दीपेन्द्रसिंह ऐरी पनि अर्धशतक बनाएका छन् । उनले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए । यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् । नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।
गाडीको डिकीमा राखेर नेपाली महिलालाई खाडी मुलुक पुर्याइने गरेको खुलासा
काठमाडौं, चैत १७ । नेपाली महिलालाई विमानस्थलबाटै गाडीको डिकीमा राखेर नेपाली महिलालाई खाडी मुलुक पुर्याइने गरेको खुलासा भएको छ । बिहिबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर नेपाली महिलालाई खाडीका विभिन्न मुलुकमा पुर्याइने गरेको उल्लेख छ । संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पुर्याइने गरेको देखाएको हो । समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पुर्याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाएर पुर्याइएको देखिएको हो । उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक पुर्याएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ । उपसमितिले महिलालाई गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने गरेको पाइएको जनाएको छ । त्यसरी गैरकानुनी काम गर्नेहरुको पहिचान भने हुन नसकेको ठहर समितिले गरेको छ । तर महिलालाई खाडी मुलुकसम्म पुर्याएर गैरकानुनी क्रियाकलापमा लगाउन उच्च राजनीतिक तहकै संलग्नता हुन सक्ने आशंका उपसमितिले गरेको छ । उपसमितिले नेपाली कामदारसँग वैदेशिक रोजगारीमा जानुअघि गरिएको श्रम सम्झौताबमाजिम तलव र सुविधा नदिने गरिएको र एउटा कामका लागि भनेर लगिएकाहरुलाई अर्कै काम लगाउने गरेको पाइएको जनाएको छ । त्यसैगरी समितिको बैठकमा श्रमसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७२ सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएको छ ।

