देउवाले भने-‘नेपालमा लगानी गरेर आर्थिक समृद्धिमा सहयोगी बन्नुस’
काठमाडौं, फागुन १९ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
उनले अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताए। बिहीबारबाट सुरु भएको ‘नेपाल लगानी सम्मेलन’को उद्धघाट्नमा बोल्दै सभापति देउवाले नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने र त्यसमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरे।
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो ।
नेपाल अन्तर्रा्ष्ट्रिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उनले सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गरे।
दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पुँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराए।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंह गिरफ्तार
काठमाडौं, फागुन १९ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता सिंहलाई बुधबार सल्यान बहुमुखी क्याम्पसबाट सल्यान प्रहरीले गिरफ्तार गरेको हो । अखिल क्रान्तिकारीका सल्यान संयोजक भुमप्रकाश भण्डारीले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र केही विद्यार्थी नेताहरुले चुनावी प्रक्रियामै नगई एकलौटी रुपमा स्ववियु जितेको प्रमाणपत्रलाई चोरी गरी भाग्ने लागेको बेला अबरोध गर्ने क्रममा सिंहलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन् । एकलौटी रुपमा गरिएको चुनावी घोषणलाई आफ्नो संगठनले नमान्ने भन्दै सिंहको रिहाईका माग गरेका छन् ।
स्ववियु निर्वाचन परिणाम आउनेक्रम जारी
काठमाडौं, फागुन १९ । आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ। बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ। बनेपा : काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम आएको छ। जिल्लाका दुई क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन स्थगन भएको छ भने दुई क्याम्पस प्रकाश क्याम्पस भुम्लुटार र कानपुर क्याम्पस कानपुरमा सर्वसम्मत स्ववियु चयन भएको छ। त्यस्तै डेडीथुम्का क्याम्पसमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल, प्रभा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोद चौलागाइको संयुक्त प्यानल, दाप्चाकृष्ण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत अधिकारीको संयुक्त प्यालन, चैतन्य बहुमुखी क्याम्पस बनेपामा नेपाल विद्यार्थी सङ्घका माधव शर्माको संयुक्त प्यानल विजयी भएको छ। त्यस्तै पार्वती बहुमुखी क्याम्पस, ढुङखर्कमा नेविसङ्घका पुरुषोत्तम तिमल्सीनाको प्यानल, मङ्गलजन विजय क्याम्पस, मङ्गलटारमा नेविसङ्घका भीमकुमार श्रेष्ठको प्यानल, सञ्जीवनी कलेज धुलिखेलमा अनेरास्ववियुका रमेश सिंह ठकुरी, जनक क्याम्पस भकुण्डेमा अनेरास्ववियुकी सरला दाहालको प्यालन, कुशादेवी क्याम्पस, कुशादेवीमा अनेरास्वियुकी मन्दिरा घिमिरेको प्यानल विजयी भएका छन्। सिन्धुली : सिन्धुलीका पाँचवटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। निर्वाचनबाट भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोटमा अनेरास्ववियु, सरस्वती बहुमुखी क्याम्पस डकाहामा अनेरास्ववियु, गौमती बहुमुखी क्याम्पस माडीबजारमा अनेरास्ववियु, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र राप्रपा विद्यार्थी सघङ्, लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घको संयुक्त प्यानले जित हाँसिल गरेको छ। सिन्धुलीमा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी सङ्गठनका विवादका कारण ११ वटा क्याम्पसमा निर्वाचन हुन सकेन। डडेल्धुरा – डडेल्धुराको जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सङका कृष्ण धामीको प्यानल विजयी भएको छ। तेह्रथुम : तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्ले जितेको छ। एक त्रिवि आङ्गिक क्याम्पससहित छवटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेन। मुगु : मुगु जिल्लास्थित रारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा एमाले सर्मथक विद्यार्थी सङ्गठन अनेरास्ववियुका चन्दप्रकाश मल्लको प्यानल विजयी भएको छ । बिर्तामोड : झापाका नौवटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदात सम्पन्न भएको छ । हालसम्मको प्राप्त मत परिणामअनुसार गौरीगञ्ज उमाविमा नेविसङ्घका देवकुमार ताजपुरिया, गरामनी क्याम्पसका नेविसङ्घका विनोद उप्रेती, गौरादह क्याम्पसमा अनेरास्ववियुका कमल पौडेल, त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुकै लक्ष्मी न्यौपाने र काँकरभिट्टा क्याम्पसमा नेविसङ्घका सुरज सुवेदी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुर, देवी उमावि र कनकाई क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस सुरुङ र दमक बहुमुखी क्याम्पसमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । पोखरा : पृथ्वीनारायण क्याम्पसबाहेक पोखराका अन्य पाँचवटा क्याम्पसमा भएको आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। पोखराका पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा आज स्ववियु निर्वाचन भएको थियो । विन्दुवासिनी संस्कृत विद्यापीठमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने अन्यमा मतपरिणाम आएको छैन । सोलुखुम्बु : आज सोलुखुम्बुका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सङ्घले बर्चस्व कायम गरेको छ । जिल्लामा रहेका पाँच क्याम्पसमध्ये तीनवटामा नेविसङ्घ, एउटामा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने एउटामा निर्वाचन स्थगित भएको छ । निर्वाचन परिणामअनुसार सोलुुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा नेपाल विद्यार्थी सङ्घ, हिमालदर्शन क्याम्पस नेचाबतासेमा उद्योग राईको सभापतित्वमा नेविसङ्घकै प्यानल दुधकोसी बहुमुखी क्याम्पस सल्यानमा मिलन केसीको सभापतित्वमा नेविसङ्घको प्यानल निर्विरोध चयन भएको छ । रासस
हारबाट अत्तालियो एमाले अखिल, चुनाव नभएका क्याम्पसमा पनि जितेको प्रचार
काठमाँड़ौ, फागुन १८ । बिगतको निर्वाचनको तुलनामा नराम्रोसँग पराजय भोग्नु परेपछि एमाले निकट अखिलले चुनाव नै नभएका क्याम्पसमा समेत जितेको प्रचार गरेको छ । “एमाले अखिलले दावी गरेको तुलनामा आज सम्पन्न चुनावमा बिजय हासिल गर्न सकेन “क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र केसीले भने “अहिले धेरै क्यापसमा जितेको भनेर झूटो आत्मरतीमा रमाउन खोजेका छन ।” एमाले अखिलले ६० भन्दा बढि क्याम्पसमा जितेको सूची सार्वजनिक गरेको छ । बस्नेतका अनुसार यी मध्ये कतिपय क्याम्पस एमाले समर्थकहरूले सन्चालन गरेका सामुदायिक क्याम्पस छन भने अन्य विश्वविद्यालय अन्तर्गतका क्याम्पसको समेत नाम राखीएको छ। दोलख़ाको प्रताप बहुमुखी क्याम्पसदेखी कैयन अन्य क्याम्पसको हास्यास्पद सूची एमाले अखिलले चुनाव जितेको भनेर प्रचार गरिएको बस्नेतले जनाए । आधिकारिक र वास्तविकरूपमा अखिल क्रान्तिकारीले ४१ क्याम्पसमा जितेको र सबै नतीजा आउदा ८० क्याम्पसमा जित्ने अपेक्षा गरिएको उनले बताए । एमाले अखिलको धरातल खुस्केकोले आत्तालिएको बस्नेतको जिकिर छ । पुल्चोक ज़स्तो उनिहरूको गढ़मा क्रान्तिकारीले जीतेबाट यसको पुष्टी भएको बस्नेत बताउँछन । “हारको डरले ठुला क्याम्पसमा चुनाव बीथोलेको अहिले स्पष्ट भएकों छ” बस्नेतले भने ।
स्थानीय निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी
काठमाडौ, फाल्गुन १८ । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनको सुरक्षा योजना २०७३र७४ पारित गरेको हो । वैठकले २०७४ बैशाख ३१ मा हुने निर्वाचनका लागि सुरक्षाका लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय निर्णय गरेको हो । बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले निर्बाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महत लगायतको उपस्थिती रहेको थियो ।
सकियो बैठक, जुटेन सहमति !
काठमाडौं, फागुन १८ । संविधान संशोधन र स्थानीय चुनावबारे सहमति जुटाउन आज बसेको सत्तारुढ दल र मधेसीमोर्चाबीचको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी, मधेसी मोर्चासहित राप्रपा र फोरम लोकतान्त्रिकलगायतलाई आज बालुवाटारमा बोलाएको वैठक विना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पारित गर्न दुई तिहाईको कसरत सफल नहुने संकेत देखेकाले अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने प्रस्ताव असन्तुष्ट मधेसी दलसँग राखेका थिए । दलहरुभने आ–आफ्नै अडानतर्फ लागेका थिए । प्रधानमन्त्री प्रचण्डले भने संविधान संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै स्थानीय तहको चुनावपछि अहिले होल्ड गरिएको संशोधन अघि बढाउने पुरानै अघि सारेका थिए । सत्ता घटक माओवादी केन्द्र, कांग्रेस, राप्रपा सहित मधेसी मोर्चा र फोरम लोकतान्त्रिकको संयुक्त बैठकमा गच्छदारले सत्तारोहणको सात महिनापछि बल्ले सम्झने फुर्सद पाएको भन्ने अनौठो प्रश्न गरेका थिए । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘वैगुनी रैछन’ भन्दै थिए । गच्छदारकै शैलीमा राप्रपा अध्यक्ष कमल थापाले पनि सरकार बनाउने बेला र संविधान संशोधन हाल्ने बेला आफूहरुलाई मतलब नगरेको भन्दै आलोचना गर्दै थिए । सत्तारुढ दलहरुको बैठकमा मधेसी मोर्चाले भने संविधान संशोधन नभए चुनावमा नजाने बताएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान र संविधानलाई आफूहरुलाई स्वीकार नगरेको भन्दै भने, संशोधन नभएसम्म भाग लिन सक्ने स्थित छैन, हामीलाई बाहिर राखेर जानुस् ।’ मधेसी मोर्चाका नेता एवं रामसपाका महासचिव केशव झाले भने, ‘हामीले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिन्नौं भनेर हामीले प्रष्ट भनेका छौं ।’
जलविद्युत उत्पादनका लागि हंगेरीले नेपाललाई ११ अर्ब दिने
काठमाडौँ, फागुन १८ गते । युरोपेली मुलुक हंगेरीले नेपाललाई जलविद्युत उत्पादनका लागि करिब ११ अर्ब २० करोड रुपियाँ ऋण सहयोग गराउने भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग जेनेभामा मंगलबार भएको भेटका क्रममा हंगेरीका विदेशमन्त्री पिटर सिजार्ताेले सो कुरा बताउनुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभएको हो । जलविद्युत उत्पादनका लागि प्रदान गरिने सो ऋण सहयोग हंगेरीले नेपाललाई एक प्रतिशतभन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ३४ औं सत्रमा सहभागी हुने क्रममा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री डा.महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो । भेटमा मन्त्री सिजार्ताेले हंगेरी सरकारले प्रत्येक वर्ष दशजना नेपाली विद्यार्थीलाई हंगेरीका विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको पनि जानकारी दिनुभएको थियो । विदेशमन्त्री सिजार्ताेले राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यका लागि नेपालले दिएको उम्मेदवारीको समर्थन गर्दै नेपालका पक्षमा मतदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री डा. महतले राष्ट्रसंघीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानव अधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ । नेपालले सन् २०१८ देखि २०२० का लागि राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यमा उम्मेदवारी दिएको छ ।
विपी पुत्रको नेतृत्वमा ‘नेपाली कांग्रेस राष्ट्रवादी’ गठन
काठमाडौं, १८ फागुन । ४० वर्षसम्म नेपाली काँग्रेसका कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा नेपाली कांग्रेस ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको छ । काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री एवम् काठमाडौं उपत्यकाका पूर्व मेयर पि.एल सिंह, नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका वि।वि पि पुत्र प्रकाश कोईराला तथा ने.वि संघका संस्थापक संयोजक,वरिष्ठ अधिवक्ता ,१३ वर्ष जेल जीवन बिताएका ०४७ को संविधानका मस्यौदाकार समेत रहेका देवेन्द्र नेपालीसहितका वरिष्ठ नेताहरुले ०७२ को संविधान नेपाल र नेपालीको हितमा नभएको र ०४७ को संबिधान नै नेपालका लागि उत्कृष्ट संबिधान भएको निष्कर्ष निकाल्दै नेपाली काँगेसले यसको मर्मविपरित कार्य गरेको भन्दै असन्तुष्ट नेताहरुले अपिल निकालेर ‘नेपाली काँग्रेस राष्ट्रवादी’ पार्टी खोलेको बताएका छन् । नेपालको संबिधान २०७२ ले देशलाई दलको दास बनाउन खोजेको भन्दै संबिधानको पद्धतिमा राज्य प्रम’ख दलहरुको निकटमा निर्वाचन पद्धतिबाट आउने भएकाले राज्य प्रम’खको निर्वाचनको माध्यमबाट नेपालमा विदेशी शक्ति र तत्वहरुले खेल्न खेल्न खोजेको आरोप नवगठित नेपाली काँग्रेस राष्ट्रवादीका नेताहरुले आरोप लगाएका छन् । ‘अबैध रुपमा जवरजस्ती लाद्न खोजिएको ०७२ को संबिधानलाई पूर्णतः खारेज गरि २०४७ को नेपाल अधिराज्यको संबिधान पुनस्र्थापना गरि क्रियाशिल गराउन सार्वभौम जनता र राज्यका सबै पक्ष अहिंसक जनआन्दोलनमा सक्रिय हुन सबैको कर्तव्य हो’अपिलमा भनिएको छ ।
स्थगित क्याम्पसमा स्ववियू चुनाव २ वर्षपछि मात्र हुने
भक्तपुर, फागुन १८ । त्रिभुवन विश्वविद्यालयले आजका लागि तोकेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्रै चुनाव हुने त्रिविले स्पष्ट पारेको छ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीका अनुसार, निर्वाचन हुन नसकेका क्याम्पसमा अबको दुई वर्षपछिमात्र निर्वाचन हुने छ । बुधबार भक्तपुरमा गरिएको साक्षात्कारमा निर्वाचन समिति संयोजक तथा शिक्षाध्यक्ष डा। त्रिपाठीले आज फागुन १८ गते निर्वाचन हुन नसकेका क्याम्पसको स्ववियु निर्वाचन दुई वर्षपछिमात्र गरिने बताएकी हुन् । शिक्षाध्यक्ष डा. त्रिपाठीले बुधबार उपत्यकाका ७ ओटा र उपत्यकाबाहिरका १५ ओटा क्याम्पसमा निर्वाचन भएको जानकारी दिइन् । उनले क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमतिमा स्ववियु निर्वाचन गर्नसक्ने भएपनि त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन नगर्ने स्पस्ट पारिन् ।
एमाले अखिलको गढ पुल्चोक क्याम्पसमा क्रान्तिकारी विजयी
ललितपुर, फागुन १८ । नेकपा एमाले समर्थित अनेरास्ववियूको गढ मानिने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियू नेतृत्वमा सफलता हात पारेको छ । क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार, उक्त क्याम्पसमा क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार रोशन थापामगरले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूका सुमन चालिसेलाई हराएका हुन । थापामगरले ४९७ मत प्राप्त गरे पनि चालिसको मत ४३५ रहेको बस्नेतले जनाए ।
पार्टीको नाम यस्तो राखे रविन्द्र मिश्रले, चुनाव चिन्ह तराजु प्रस्ताव
काठमाडौं, फागुन १८ । पत्रकार रविन्द्र मिश्रको पहलमा गैर राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु मिलेर खोल्न लागिएको नयाँ पार्टीको नाम जुराइएको छ । निर्वाचन आयोगमा दल दर्ता नभएपनि मिश्रले आफ्ना निकटतम सहयोगीहरुसँग छलफल गरेपछि पार्टीका नाम राखेका हुन । मिश्रको नयाँ पार्टीको नाम ‘साझा पार्टी’ राखिने बताइएको छ । मिश्रले चुनाव चिन्ह भने तराजुको प्रस्ताव गरेका छन् । मिश्रको पार्टीमा माओवादीबाट नयाँ शक्तिमा प्रवेश गरेका र पछि राजीनामा दिएका नेता मुमाराम खनाललगायत पूर्व प्रशासक, कर्मचारी, पत्रकार आदि सम्मिलित हुने चर्चा चलेको छ ।
चुनावमा हेलिकप्टर प्रयोग गर्न नपाउने भएपछि निर्वाचन आयोग र मन्त्रीबीच चर्काचर्की
काठमाडौं, फाल्गुन १८ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताबारे आयोगका पदाधिकारी र मन्त्रीका बीचमा चर्को बहस भएको छ । आचारसंहिताका प्रावधानबारे उपप्रधानमन्त्री एवम् मन्त्रीलाई जानकारी दिन बुधबार आयोजित कार्यक्रममा आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्ने माध्यम आचारसंहिता रहेकाले यसलाई पालन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । सरकारमा सहभागी मन्त्रीले सामूहिक रुपमा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र र गाउँमा जान पाउनुपर्ने र सरकारका नीति तथा कार्यक्रम एवम् बजेटमा निर्धारित कार्यक्रमानुसार शिलान्यास एवं उद्घाटन गर्न पाउनुपर्ने जिकिर गरेका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने यो राष्ट्रिय निर्वाचन नभई स्थानीय तहको भएकाले मन्त्रीले सरकारको प्रतिनिधित्व गर्ने हुनाले शिलान्यास र उद्घाटन गर्न नपाइने बताए । प्रमुख निर्वाचन आयुक्तको यस्तो जवाफप्रति मन्त्रीहरुले यसबाट सामूहिक रुपमा नै जनताको विकासमा अवरोध हुने बताएको थिए । त्यसको प्रत्युत्तरमा ुदुई महिना शिलान्यास, उद्घाटनका काम रोकिँदा के हुन्छ रु” भन्ने प्रश्न प्रमुख निर्वाचन आयुक्तले गर्दै निर्वाचन मन्त्रालयले गराउने होइन, आयोगले गराउने हो भने । हेलिकोप्टरको प्रयोग पूर्ण निषेध आयोगले निर्वाचन प्रयोजन (निर्वाचनमा संलग्न व्यक्ति) बाहेक अन्य प्रयोजन ९राजनीतिक दल, सरकार० मा हेलिकोप्टर पूर्ण निषेध गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह पुनःसंरचना आयोगसम्बन्धी प्रतिवेदन छिटो आयोगलाई पठाउन मागसमेत गरे । उप्रप्रधानमन्त्री विमलेन्द्र निधिले गृह मन्त्रालयले निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना’ योजना बनाई कार्यान्वयन सुरु गरेको र शान्ति सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । गृहमन्त्री निधिका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान आयोग, नेपाली सेना, म्यादी प्रहरी ९निर्वाचन प्रयोजनका निम्ति० गरी दुई लाख २६ सुरक्षाकर्मी परिचालन हुने छ । निर्वाचनमा २१ हजार बुथ रहने छन् । गृहमन्त्री निधिले निर्वाचन आचारसंहिता पालन गर्न र गराउन सरकारका तर्फबाट आयोगलाई सहयोग हुने जानकारी दिए । उपप्रधानमन्त्री कृष्णबहादुर महराले निर्वाचनलाई आवश्यक पर्ने बजेट निकासा हुने जानकारी दिँदै नियमित कार्यक्रममा परेका विकासका योजनालाई अगाडि बढाउन आचारसंहिता अवरोधक हुनुहुन्न भने । उनले राजनीतिक दलकै सहमतिमा आचारसंहिता आएको हुँदा यसलाई सरकारले पालना गर्ने जानकारी दिए । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नियमित प्रक्रियामा परेका पूर्वाधार विकास योजनालाई अगाडि बढाउन आचारसंहिताले रोक्न नहुने धारणा राखेका थिए । उनले मन्त्रीले आफ्नो क्षेत्र, गाउँमा गई शिलान्यास, उद्घाटन गर्दा आचारसंहिता उल्लङ्घन नहुने धारणा राखे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्गम क्षेत्रमा हेलिकोप्टर प्रयोग नगरी कसरी निर्वाचन गर्नुहुन्छ भन्ने प्रश्न गरे । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोले बुधबारदेखि आचारसंहिता २०७३ जारी गरेको छ । आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, नेपाल सरकार, स्थानीय निकाय तथा सार्वजनिक संस्था, कर्मचारी तथा आमसञ्चारका माध्यम, गैरसरकारी संस्था र पर्यवेक्षकका लागि लागू हुनेछ । रासस
अनलाईन हेर्नुस, भोटर लिष्टमा तपाईको नाम छ कि छैन ?
काठमाडौं । सरकारले घोषणा गरेको स्थानिय निकायको निर्बाचन नजिकिदैँ गर्दा चुनावको माहोल बनिरहेको छ । स्थानिय चुनावमा तपाई उम्मेदवार वा भोट दिने सोचमा पक्कै हुनुहुन्छ होला । तर तपाईको नाम भोटरलिष्टमा नभएको खण्डमा तपाईले न उम्मेदवार बन्न पाउनुहुन्छ न भोट हाल्न नै । तपाईले आफ्नो नाम भोटरलिष्टमा भए नभएको थाहा पाउनका लागी अनलाइनबाटै कोशिष गर्न सक्नुहुन्छ । हामी तपाईलाई निर्बाचन आयोगले सार्वजनिक गरेको भोटरलिष्ट दिईरहेका छौं । यो लिङकमा जानुस् र केही त्रुटि भए नभएको हेर्नुहोस् http://www.election.gov.np/election/np/bbvrs
सरकारलाई समर्थन गर्ने सबै दललाई बालुवाटार बोलाए प्रधानमन्त्रीले
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरुलाई बालुवाटार डाकेका छन् । स्थानीय निकायको निर्वाचन र संविधान संशोधन प्रस्तावबारे साझा सहमति खोज्न प्रधानमन्त्रीले सबै दललाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन । आज ४ बजे आव्हान गरिएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालगायतका दल सहभागी रहने प्रधानमन्त्री सचिवालयले जनाएको छ । मधेसी मोर्चाले स्थानीय तहमा संख्या थप्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखिरहेको बेला प्रधानमन्त्रीले यस विषयमा थप छलफल गरी साझा सहमति निर्माण गर्न छलफल बोलाएका हुन । File Photo
उम्मेदवारले दुई भन्दा बढी मोटरसाइकल प्रयोग गर्न नपाउने
काठमाडौं, फागुन १८ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । यो आचारसंहिता, राजनीतिक, दल, कर्मचारी, गैरसरकारी संस्था, सुरक्षा निकाय, आमसञ्चारमाध्यमलगायत सबैलाई लागु हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७२ लाई नै स्थानीय तहको निर्वाचनको आचारसंहिताका रुपमा लागु गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता २०७२मा उल्लेख भएका विषय बाहेक स्थानीय तहको निर्वाचन २०७३ मा आयोगले सवारी साधनसम्बन्धी आचारसंहिता थप गरेको छ । कसले कति गाडी प्रयोग गर्न पाउँछन् त ? आयोगले सार्वजनिक गरेको स्थानीय तहको निर्वाचन २०७३ मा उल्लेख भएअनुसार, उम्मेदवारले दुईभन्दा बढी मोटरसाइकलको प्रयोग चुनाव अभियानमा पाउने छैनन् । स्थानीय तहको निर्वाचन २०७३ को आचारसंहितामा उल्लेख छः (क) महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन एउटा मोटर साइकल प्रयोग गर्न सक्ने, (ख) उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न सक्ने, तर त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने । (ग) एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने । निर्वाचन आचारसंहिता २०७२ मा उल्लेख छ: (ख) सवारी साधन प्रयोग गर्दा पालन गर्नु पर्ने आचरण ः (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने, (२) निर्वाचन प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ । आयोगले अनुमति दिएका मुख्य प्रचारकलेमात्र हेलिकोप्टर प्रयोग गर्ने र हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्चको विवरण सम्बन्धित राजनीतिक दलले पेश गर्ने निर्वाचन खर्चमा समावेश गर्ने गरी निर्वाचन प्रचार प्रसार गर्न पाउने, (३) एउटा उम्मेदवार वा राजनीतिक दलको नाममा स्वीकृत वा प्रयोग गरेको सवारी साधन अन्य उम्मेदवार वा राजनीतिक दलले प्रयोग गर्न वा गराउन नहुने, (४) राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्नसक्ने, (५) स्थानीय निकायको कुनै पदको निर्वाचनको प्रचार प्रसारको लागि उम्मेदवार वा राजनीतिक दलले आयोगले तोकेको सङ्ख्या र प्रकारका सवारी साधनकोमात्र प्रयोग गर्नुपर्ने ।
आजदेखि निर्वाचन आचारसंहिता लागु, क–कसलाई लाग्छ त आचारसंहिता ?
काठमाडौं, फागुन १८ । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि आजदेखि निर्वाचन आचार संहिता लागु भएको छ । आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले निर्वाचन आचार संहिता लागु गर्ने औपचारिक निर्णय गरेको हो । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको आयोगले जनाएको छ । कसलाई लाग्छ आचारसंहिता ? आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय र कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आचारसंहिता लाग्नेछ । उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुने जनाइएको छ । सुरक्षा योजनाबारे छलफल आयोगले गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे पनि छलफल गरेको जनाएको छ । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा योजना पेश गर्दै केन्द्र, क्षेत्र, जिल्लामा समेत सबै सुरक्षा निकायबीच समन्वय गरी जिम्मेवारी पूरा गरिने बताए । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन स्रोत सम्पन्न बनाउन, जिल्लास्तरमा प्रहरी प्रशासनलाई निर्वाचन आचारसंहिता पालना गराउन अविलम्ब निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने भएकाले यसलाई समेत ध्यान दिई सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए । कार्यक्रममा चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

