सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध
काठमाडौँ, फागुन २१ । आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । रासस
देउवाको गुनासो–‘पार्टीभित्रैकै नेताले गरेको गुटबन्दीले दिक्क भए’
काठमाडौं, फागुन २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका नेताहरुको प्रवृत्तिले दिक्क भएको बताएका छन् । कीर्तिपुरमा काँग्रेस निकट प्राध्यापकहरुको संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार उद्घाटन गर्दै देउवाले पार्टीभित्रका नेताले नचाहिदो गुटबन्दी र भागवण्डा खोजेर आफूलाई हैरान पारेको बताए । उनले भने– ‘बाहिर भागवण्डाकै विरोध गर्नेहरुले नै भित्र हरेक ठाउँमा भागवण्डा मागेका कारण म वाक्क भएको छु।’ नाम नलिइ उनले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलादेखि खुमबहादुर खड्कासम्मका नेताले भागवण्डा खोजेर हैरान पारेको बताए । सरकारका मन्त्रीहरुको चयनदेखि भातृसंस्थाहरुको गठन प्रक्रियामा पार्टी नेता माग गरेपछि पार्टी संचालन प्रक्रियामा देउवाले अप्ठ्यारो बेहोरिरहेका छन्। प्राध्यापक संघको नेतृत्व चयनमा विवाद देखिएपछि देउवाले भने, ‘तपार्इंहरु प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई अँगाल्ने साथीहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न लाग्नु भएको छ। यो प्रजातान्त्रिक पद्दतीबाट जो आएपनि हुन्छ र यसले भागवण्डाको अन्त्य हुन्छ।’ नेपालका सबै राजनीतिक परिवर्तनमा नेतृत्व प्रदान गर्दै गणतन्त्र र संघीयता सहितको संविधान जारी गराउन सफल नेपाली काँग्रेसले परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न संविधानको सफल कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु परेको उनले बताए। संविधानको व्यवस्था अनुसार आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने भनिएपनि मंसिर १५ भन्दा पछाडि निर्वाचन गर्न मौसमको प्रतिकूलताका कारण सम्भव नभएको भन्दै मंसिरभित्रै निर्वाचन सम्पन्न गराउनु पार्टीको ठूलो चुनौती रहेको उनले बताए। त्यसका लागि आफूले संविधानमा असहमति राख्दै आएका असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सफल गराउन लागि परेको देउवाले बताए ।
राप्रपाको विवाद मिल्यो, चुनाव चिन्ह ‘गाई’ हुने
काठमाडौं, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता मोहन श्रेष्ठले ट्वीट गरेर जानकारी दिएका छन् । राप्रपा र राप्रपा नेपाबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो । केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गााई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरिएको श्रेष्ठले उल्लेख गरेका छन् । केन्द्रिय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ । बैठकमा आसन्न स्थानीय निकायको निर्वाचनको तयारी, स्थानीय तहमा निर्माण गरिने सांठगठिक संरचना तथा जिम्मेवारी बाँडफाँडका बिषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।
सप्तरीमा एमाले नेतालाई कालोमोसो, ओलीलाई मधेस प्रवेश गर्न नदिने चेतावनी
सप्तरी, फागुन २० । मेची–महाकाली अभियानको प्रचारमा रहेको एमालेका नेतामाथि शुक्रबार सयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेको छन् । राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गरे । उनले आफ्नो पार्टीलाई कार्यक्रम नै गर्न नदिएकोमा अराजकताको पाराकाष्टा भएको प्रतिक्रिया दिए । उनले आफ्नो पार्टीले जसरी भएपनि अभियान सफल पार्न आवश्यक परे प्रतिरोध गर्ने बताए । न्यौपानेले भने-‘हाम्रा कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक ब्यवहार गरियो भने प्रतिरोध गर्छौं ।’ उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू राजतन्त्रभन्दा पनि बढी तानाशाही बन्न खोजेको आरोप लगाए । ‘हामी हाम्रा कार्यक्रम लिएर जनतामा जान्छौं, कसैले रोक्न सक्दैनौं,’ उनले भने । मधेसी मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले मार्चाको निर्णय नभएको बताए । एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गरेको हुन सक्ने बताए । ‘कालोमोसो दल्ने हाम्रो निर्णय होइन् तर मधेसी जनताले प्रतिकार गरेको हुन सक्छ, हाम्रा युवा विद्यार्थी पनि सामेल भएको हुन सक्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीलाई राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिए । आउँदो फागुन २३ गते ओलीले राजविराजमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं’ मोर्चा संयोजक यादवले भने । बिहीबार पनि मधेसी मोर्चाले राजविराजमा एमालेको मेचीमहाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न लाठी जुलुस निकालेको थियो ।
गृहमन्त्रीसँग ओलीले भने-‘कार्यकर्ताको चित्त बुझाउन संशोधन राष्ट्रघाती भनियो’
काठमाडौं, फागुन २० । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर कार्यकर्तासँग सरकारलाई राष्ट्रघाती भनेपनि एमालेको आधिकारिक डकुमेन्टमा त्यस्तो शब्द उल्लेख नभएको स्पष्ट पारेका छन् । बिहिबार अबेर राती ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग उनले कार्यकर्तालाई निर्देशन दिएको जस्तो संशोधनलाई राष्ट्रघाती नभनेको स्पष्ट पारेका हुन् । गृहमन्त्रीले एमालेको सभा विथोल्न निर्देशन दिएको आरोपबारे निधि ओलीलाई भेट्न पुगेका थिए । उनले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । भेटमा गृहमन्त्री निधिल सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई ‘लखेट्न पर्छ’ भन्ने शब्द प्रयोग नगरेको दाबी गरेका हुन् । “मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्, भेटमा एमाले अध्यक्ष ओलीले सोधेका थिए, तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन । ” एमालेले मंगलबार विज्ञप्ति जारी गर्दैमन्त्री निधिले एमाले कार्यकर्तालाई मेची– महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए । अध्यक्ष ओलीसँगको भेटमा मन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । मन्त्री निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्नेप्रश्नमा अध्यक्ष ओलीले संबिधान संशोधन देशको हितमा नभएको बताए पनि राष्ट्रघाती नभनेको बताएका थिए । भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराए ।
नेपाली राजनीतिका भाइरसहरु, सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता
भाइरसले सधैं तहसनहस गर्ने कुरामात्रै गर्छ । यसलाई रोक्न एन्टीभाइरस चाहिन्छ । बैज्ञानिक प्रविधिको विकाससँगै भाइरसहरुको पनि तीब्र गतिमा विकास भएको पाइन्छ तर हरेक समस्याको पछाडी समाधान पनि छ भन्ने तथ्यलाई आत्मसात गर्दै भाइरसहरुको निर्मूलको लागि एन्टीभाइरसको पनि विकास भएको छ । विज्ञानमा भाइरसको मान्यताजस्तै राजनीतिमा पनि गतिशीलतालाई रोक्ने र भाँजो हाल्ने तत्व हुन्छन्। यदि भाइरस (समस्या) हुदैनथ्यो भने चुनौतीहरुको सामना पनि गर्नु पर्ने थिएन । जति चुनौतीहरु थपिदै जान्छ त्यति नै अवसरको बाटोहरु पनि खुल्दै जान्छन । राजनीतिमा पनि यस्तै हो । सामन्ती शासकहरुको इतिहासलाई गहिरोसँग विश्लेषण गर्ने हो भने तिनीहरुको तमाम भाइरसयुक्त ब्यबहारहरु निर्मूल पार्नको लागि नेपाली जनताहरुले समयानुकुल एन्टिभाइरसहरुको पनि विकास गर्दै आइरहेका छन् अर्थात परिवर्तनका लागि धक्का मुलक एजेन्डाहरुको पनि उत्पत्ति गर्दै आइरहेका छन् । कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । माओवादी केन्द्र समग्र राजनीतिलाई आफ्नो कक्षमा सन्तुलित रुपमा घुमाउन सक्ने नेतृत्व भएको पोलिटिकल पावर कन्ट्रोलर हो । मागिखाने भाँडो बनाएको नेपाली राजनीतिलाई राज्यको नीति र आम जनताको हितको लागि हुनुपर्छ भन्ने सिद्धान्तले प्रतिस्थापन गरेकाले नै माओवादी केन्द्र आज राष्ट्रिय राजनीतिको केन्द्रमा छ । राजनैतिक रुपमा हाइ भोल्टेज भएको माओवादी केन्द्र सामन्तीहरुको दिमागमा करेन्ट लगाएर जनताको लागि उज्यालो प्रकाश दिने परिवर्तन र अग्रगामी उदेश्य भएको जनवादी पार्टी हो भन्ने कुरामा कुनै दुइमत छैन । माओवादी केन्द्र गठन पश्चात यो एउटा पावर सेटरको रुपमा रुपमा स्थापित भैसकेको हुदा यसले आफ्नो पावर सेयरिङ ससक्त रुपमा देशब्यापी फैलाएर जनतालाई उर्जाशील बनाउने काम तीव्र गतिमा गरिरहेको छ । नेपालको हरेक परिवर्तनको पछाडी माओवादी र कमरेड प्रचण्डको नाम सवैभन्दा अगाडी आउछ चाहे त्यो जनजाति आन्दोलनको सवालमा होस या सिमान्तकृत समुदायको हक अधिकार र पहिचानको सवालमा । यदि १० वर्षीय जनयुद्ध भन्दा पहिले र जनयुद्ध पछिको आम जनताको चेतनास्तरको मुल्यांकन गर्ने हो भने पनि माओवादी आन्दोलनको उपलब्धी मज्जा देख्न सकिन्छ । यथास्थितिवादी चिन्तन बोकेका तत्वहरुलाइ एउटै जाति र धर्मका ब्यक्तिहरुले निरन्तर यो देशमा राज गरेको देख्न चाहन्छन तर माओवादी आन्दोलनले बृद्धि गरेको चेतनास्तरको कारण अब त्यो रहन सक्दैन । अब कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । यावत कुराहरु सुन्दा अनौठो जस्तो लागि पनि सबै परिवर्तन मात्रै माओवादीको कारणले सम्भव भएको हो । यी अथाह परिवर्तनको पछाडि सिंगो माओवादी आन्दोलन र त्यसका कमान्डर प्रचण्डको नाम अग्रपंक्तिमा आउछ । वर्ग विभेदयुक्त समाजको भाइरसहरुलाई स्क्यान गरेर स्वच्छ समाजको निर्माण गर्ने एन्टिभाइरसको भुमिका प्रचण्डले गरेका छन् । तर यी सबै परिवर्तनहरुलाई तहसनहस गर्नको लागि जातिवादी मिडियाको दुरुपयोग गर्दै जनतालाई भ्रमित बनाउन एमाले कांग्रेस लगायतका भाइरसहरु लागि परिरहेका छन तर जबसम्म एन्टिभाइरसको भुमिकामा प्रचण्ड रहन्छन् प्रतिक्रियावादी शक्तिहरुले संसारको जस्तो सुकै भाइरसहरुको प्रयोग गरे नि केही हुनेवाला छैन । माओवादी इतिहास रगतले कोरिएको इतिहास हुन । हजारौ जनताका छोराछोरीहरुको त्याग तपस्या र बलिदानको इतिहाससँग जोडिएको छ माओवादी केन्द्र । समय र परिस्थितिको अभाव/आवश्यकतामा पिल्सिएर जन्मेको यो पार्टी अरुभन्दा धेरै भिन्न छ । राज्यबाट पिछडिएका समुदायहरु आदिवासी जनजाति,मदेसी लगायत उत्पिडनमा परेका जातिहरुको मुद्दाहरु प्रतिनिधित्व गर्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । उत्पीडनमा परेका विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, भाषा, पहिचानहरुको अधिकार सुनिश्चितताका लागि लडेको माओवादी केन्द्रलाई आउदो निर्वाचनमा भोट दिनुको कुनै विकल्प छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरिसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्नै पर्ने हुन्छ । हारजीत सामान्य प्रक्रिया भएपनि परिवर्तनलाई आत्मसात गर्ने शक्ति नै पहिलो रोजाइमा पर्नु अनिवार्य सर्त हो । कतिपय जनजाति समुदायहरु चुनाबलाई कमाइको भाँडो ठान्ने गर्छन । अहिलेसम्म पनि एकहातमा नोट र अर्को हातले भोट साटिरहेका छन् । यसै गरि आफ्नो अमुल्य भोट दुई चार पैसाको लोभमा भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई सुम्पिरहेका हुन्छन् । अनि पछि गएर राजनैतिक हक अधिकारहरु प्राप्त गर्नुपर्ने बेलामा माओवादी लगायत परिवर्तनकामी दलहरुलाई धारेहात लगाउदै बस्ने गर्छन् । तर परिवर्तनकारी शक्तिलाई वेवास्ता गरेर दुईचार पैसाको लोभलालचमा आफ्नो भोट बेच्दाको परिणाम हो भन्ने कुरामा पश्चाताप गरेको कदापी देखिदैन । अब यो पटक पनि हामीले त्यही गल्ती दोहोरायौ भने इतिहासले कदापी माफ गर्नेवाला छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । देशमा निरंकुश राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत उत्पीडित वर्गमा स्थापित गराएका अधिकारका मुद्धाहरुलाई फेरी पनि अँध्यारो कोठामा बसेर उल्टाउने कसरत भइरहेको छ । यदि ती उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसक्ने हो भने हामी हाम्रा हक अधिकारका बारेमा एकादेशको कथा सुन्दै पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै उपाय रहने छैन । त्यसैले देशको त्यो अवस्था आउने पहिले नै हामीले सचेतता पुर्वक समाजका यस्ता भाइरसहरुलाई निर्मुल पार्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थपा उपलब्धिका लागि पनि नेकपा ९माओवादी केन्द्र० लाई भोट हाल्नुको विकल्प छैन । आवादी रोज्ने कि बर्वादी रोज्ने बेलैमा सोचेनौ भने हामीलाई हाम्रा सन्ततिले अनन्तकाल सम्म धिक्कारी रहनेछन् । लेखक प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन्
नेपालले कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा भियतनामसँग सहकार्य गर्ने
काठमाडौँ, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउलाई शिष्टाचार भेट दिदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । चाउले कृषि, प्रविधि, जलविद्युत् र पर्यटन र जलविद्युत्को क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्न चाहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामी जनता र त्यहाँको सरकारको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए । प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गर्नुभएको उहाँका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका थिए । भियतनामका विदेशमन्त्री चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताएका थिए । रासस
कांग्रेस, एमाले परित्याग गरेर चितवनमा १ सय ३७ माओवादी केन्द्रमा प्रवेश
चितवन, फागुन २० । चितवनमा नेपाली काङ्ग्रेस, एमाले पार्टी परित्याग गरि १ सय ३७ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । भरतपुर नगरपालिका वडा नम्बर २७मा बिहिबार भएको बडा कमिटी भेलामा ठूलो संख्यामा माओवादी केन्द्मा प्रवेश गरेका हुन् । स्थानिय तहको निर्वाचन घोषण भएसगैं चुनाव सफल बनाउन पश्चिम चितवनको पटिहानीमा थालिएको अभियानमा माओवादीमा आउन चाहनेहरु बढेको २७ नम्बर वडा कमिटीका संयोजक दिननाथ आचार्यले जानकारी दिए । माओवादी केन्द्र वडा कमिटी भरतपुर – २७ को वडा एकता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा कांग्रेस र एमालेबाट असन्तुष्ट भइ माओवादी केन्द्र प्रवेश गरेको उनले बताए । उनीहरुलाई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबम चितवन जिल्ला सह–ईन्चार्ज घनश्याम दाहालले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गरेकाहरुले माओवादीले मात्रै जनताको भावना कदर गरेको भन्दै माओवादीमा प्रवेश गरेको बताए । वडा ईन्चार्ज खेम भट्टले स्वागत मन्त्व्य राखेको कार्यक्रममा माओवादीका पोलिट्ब्युरो सदस्य एबम् चितवन जिल्ला संयोजक यम बहादुर परियार “ईन्द्रजित” जिल्ला पार्टी कार्यालय सदस्य मधुसूदन सापकोटा लगायतले बालेका थिए । कार्यक्रम वडा संयोजक दिननाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गाउँपालिकाको केन्द्र माग गर्दै बेनीमा प्रदर्शन
म्याग्दी, फागुन २० । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमूलक विशाल जनप्रदर्शन गरिएको छ । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिको आह्वानमा बिहीबार सदरमुकाम बेनीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरी पाँच गाविसवासीले नाराबाजी सहित विरोध ¥याली गरेका हुन् । स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले रघुगङ्गा गाउँपालिकाको केन्द्रको विषयमा देखिएको विवादका कारण गुगल नक्साङ्कनका आधारमा अस्थायी केन्द्रका रुपमा पाखापानीलाई तोकेपछि उक्त केन्द्र अपायक पर्ने पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलावासीले चरणबद्ध आन्दोनमा उत्रिएका छन् । कालीपुलबाट सुरु भएको बृहत् विरोध ¥यालीले गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले साङ्केतिक रुपमा जिल्ला प्रशासन कार्यालयअगाडि ‘काम रोक’ धर्ना दिएर गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन दबाबसमेत दिएका थिए । कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवा देवेन्द्र केसी, भवबहादुर भण्डारी, बालकृष्ण सुवेदी, विनोद केसी र गमबहादुर पुनले बहुसङ्ख्यक जनतालाई सास्ती हुनेगरी गाउँपालिकाको केन्द्र तोकिनु गम्भीर गल्ती आरोप लगाए । उनीहरुले तत्काल जिल्लास्थित राजनीतिक नेतृत्व र सम्बन्धित सरोकारवालाले गल्ती नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए । आफ्ना मागलाई बेवास्ता गरी यथास्थितिमा आगामी निर्वाचन गर्न खोजिएमा त्यसको सशक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिष्कार तथा अवज्ञा गर्ने उद्घोष गर्दै उनीहरुले गाउँपालिकामा समावेश भूगोलको करिब ८५ प्रतिशत जनसङ्ख्यालाई भौगोलिक सुगमता हुने गरी मौवाफाँटलाई केन्द्र नतोकेसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् । मौवाफाँट केन्द्र तोक्न माग गर्दै आन्दोलित बनेका स्थानीयवासीले बुधबार जिल्ला निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी गरिसकेका छन् । उनीहरुले गाउँपालिकामा पर्ने बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् जसका कारण हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रु समस्यामा परेका छन् । फाइल तस्वीर
बीबीएस र बीएस्सी चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित)
काठमाडौं, फागुन २० । वार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको चार वर्षे स्नातक तह बीबीएस चौथो वर्ष र विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो वर्षको परीक्षा चैत २० बाट सुरू हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले शुक्रबार परीक्षा कार्यतालिका सार्वजनिक गरेको परीक्षा तालिकामा कानुन संकायको एलएलएम प्रथम वर्षको परीक्षा पनि चैत २० गतेबाटै हुने भनेको छ।
निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ, फागुन २०। सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७ गतेभित्र तीनै निकायको निर्वाचनको प्रगति र कार्ययोजनाबारे १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “तीनै निकायको निर्वाचन गर्नका लागि के–के कानुन बन्यो ?, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्रक्रिया के भयो ? र तीनै निकायको निर्वाचनको कार्ययोजना संविधानबमोजिम कसरी बनेको छ, त्यो १० दिनभित्र पेस गर्नु ।” अधिवक्ताहरु डा चन्द्रकान्त ज्ञवाली, बिमल ज्ञवाली, लीलाधर उपाध्याय र शशी कार्कीले २०७३ असोज २० गते प्रदेश संसद र सङ्घीय संसद्को निर्वाचन तिथि, मिति तत्काल तोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिट निवेदनको सुनुवाइमा सर्वोच्चले सो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले यसअघि पनि संविधानमा व्यवस्था भएअनुसार तीनै निकायको निर्वाचन गर्नका लागि आदेश जारी गरिसकेको छ । रासस
सहमति र सहकार्य नेपालको राजनीतिक संस्कार : प्रधानमन्त्री
काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताएका छन् । दोस्रो लगानी सम्मेलनका लागि आज मात्रै नेपाल आईपुगेका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले दलको सहमतिमा सरकार स्थानीय तहको निर्वाचनमा जुटेको र एकता र सहकार्यका आधारमा नै आफू अगाडि बढिरहेको बताउँदै सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, प्रसारण लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत् आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्वयनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराएका छन् । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उनले उल्लेख गरे । भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे । जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले अघि बढाएको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताउनुभयो । रासस
स्थानीय चुनाव विथोल्ने विप्लव माओवादीको घोषणा, पार्टीका नेताहरुले निजी सम्पती राख्न नपाउने
काठमाडौं, फागुन १९ । पार्टीको आठौं महाधिवेशनमा आफ्नो नाम फेरेको विप्लव माओवादीले पार्टीको राजनीतिक कार्यदिशा र कार्यनीति सार्वजनिक गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै विप्लव माओवादीले नेपाली क्रातिको राजनीतिक कार्यदिशा, तत्कालिन राजनीतिक कार्यभार, राजनीतिक मुद्धाहरुमा संगठनका दृष्टिकोबारे जानकारी गराएका हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकीकृत जनक्रान्तिको माध्यमबाट मात्रै आम नेपाली जनताको मुक्ति हुने कुरामा जोड दिए । स्थानीय चुनाव विथोल्ने सरकारले ०७४ बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाव कुनै हालतमा हुन नदिने विप्लवले बताएका छन् । देश विकास गर्न नलागेर सरकारले विभिन्न बहाना बनाउँदै हुन लागेको स्थानीय तहको निर्वाचन विफल बनाउने चेतावनी दिएका हुन् । विप्लवले पत्रकार सम्मेलनमा भने जस्तोसुकै मूल्य चुकाएर भएपनि चुनाव हुन नदिने बताएका छन् । विप्लवले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले दमन गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । पत्रकार सम्मेलनमा विप्लवले भने ‘संसदवादलाई फाल्नु नै अहिलेको प्रमुख काम हो’ । अहिलेको विकल्प भनेको संसदवाद हैन, वैज्ञानिक समाजवाद हो । त्यो ल्याउन अरु कसैले सकेनन् । अब हामी लडेर भएपनि ल्याउने उनको भनाई छ । पार्टी नेताहरुकाे निजी जीवन नहुने विप्लवले महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादमा नागरिकलाई कामअनुसार दामसहितको निजि जीवन को स्वतन्त्रता हुने तर पार्टीका मुख्य नेताहरुमा निजि जीवनको अन्त्य हुनुपर्ने परिकल्पना गरिएको बताए । विप्लवले त्यस्ता नेताहरुको लागि आवश्यक पर्ने व्यवस्था संस्थाले गर्ने र नेताले जीवनभर देश र जनताको लागि काम समय दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै विप्लवले पुँजीवादीहरुले समाजवादमा राजनीतिक जीवन र नीजि जीवन हुँदैन भन्ने गरेको कुरा सही नभएको बताउँदै पार्टीको केन्द्रीय समिति र महासचिवमा बाहेक अरुमा नीजि जीवन हुने बताए । आर्दश नेता र समृद्ध जनता भएपमात्र समाजवाद हुँदै सम्यावादमा पुग्न सकिने धारणा राखे । उनले देश र जनताको हितमा हुने बाहेक बाह्य दलाल पुँजीलाई प्रतिवन्द लगाउनु पर्ने बताए ।
चुनाव चिह्नको विषयलाई लिएर राप्रपाभित्र चुलियो विवाद
काठमाडौं, फागुन १९ । चुनाव चिह्नको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । राप्रपाको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच चुनाव चिह्नको विषयलाई लिएर विवाद भएको हो । अध्यक्ष थापाले पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने प्रस्ताव गरेका थिए भने नेता लोहनीले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरेका थिए । यस विषयमा सदस्यहरुबीच पनि चर्को विवाद भएपछि बैठकले ठोस निर्णय गर्न सकेको छैन । बैठकमा अध्यक्ष थापाले संविधान संशोधनको विषयमा सरकारले आफ्नो पार्टीसँग कुनै छलफलसमेत नगरेकाले समर्थन गर्न नसकिने बताए । उनले मधेसी मोर्चालगायतका दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउनुपर्ने र त्यसो हुन नसके मुलुक अप्ठ्यारोमा जानेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
लगानीकर्तालाई प्रधानमन्त्रीले भने- ‘ढुक्क भएर लगानी गर्नुहोस, सरकार सुरक्षा दिन तयार छ’
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान जारी भएपछि नेपाल आर्थिक विकासमा केन्द्रीत भएकाले लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्रीले लगानी सुरक्षाका लागि सरकार पूर्णप्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे । उनले संविधान जारीपछि मुलुक आर्थिक विकासमा केन्द्रित भएको, लगानीको वातावरण तयार हुँदै गएको र राजनीतिक दल पनि आर्थिक मुद्धामा एकजुट भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । लगानी लिएर आउनेको जिम्मा सरकारले लिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन दलहरु पूर्ण प्रतिबद्ध रहेको बताए । उनीहरुले लगानीको वातावरण तयार पार्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वानले नेपालको विकासका लागि नेपाल सरकार एवं निजी क्षेत्रसँग काम गर्ने इच्छा व्यक्त गरे । उनले पूर्वाधार लगानी बैंकले जनताले चाहेको परियोजनामा मात्रै लगानी गर्ने भन्दै नेपालको जलविद्युत् एवं प्राकृतिक स्रोतमा काम गर्न इच्छुक रहेको बताए । सम्मेलनमा पूर्व अर्थमन्त्री डा। रामशरण महतले लगानी आकर्षित गर्न नेपालले अवलम्बन गर्दै आएको नीतिगत व्यवस्थाबारे जानकारी गरे । अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योग मन्त्री नविन्द्रराज जोशी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि सरकारले अलम्बन गरेका नीति स्पष्ट रहेकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ मुलुकका २ सय ५० विदेशी तथा झन्डै ३ सय स्वदेशी लगानीकर्ता सहभागी छन् । सम्मेलनमा विभिन्न क्षेत्रमा करिव एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने सरकारले आशा गरेको छ ।
स्ववियु चुनाव : उपत्यकाका बढी क्याम्पसमा अखिल क्रान्तिकारीको विजयी अग्रता
काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकको ननिजा आउने क्रम जारी छ । उपत्यकामा रहेका तीन जिल्लामा रहेका क्याम्पसमा भएको स्ववियु चनावमा मचाओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले बढी स्थान जितेको छ । क्रान्तिकारीले अहिलेसम्म उपत्यकाका चार ठूला क्याम्पसमा अध्यक्ष सहित प्यानलै जितेको छ । यस्तै नेविसंघले एक वटा र अनेरास्ववियुले दुई वटा क्याम्पस जितेका छन् । नेपाल मजदुर किसान पार्टी निकट नेक्राविसंघले एक क्याम्पस जितेका छन् । विवाद, आगजनी र तालाबन्दीका कारण कतिपय क्याम्पसमा चुनाव स्थगित भएको छ । सानोठिमी शिक्षा क्याम्पस भक्तपुर स्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल विजयी भएको छ । जसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्का अध्यक्षमा बिजयी भएका छन् । खड्काले कुल खसेको मत मध्ये चार सय ६६ मत प्राप्त गरेका थिए । खड्काका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै, सचिवमा नेविसंघका रामबहादुर केसी बिजयी भएका छन् । केसीले चार सय ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा बिजयी भएकी छिन् । शर्माले कुल खसेको मत मध्ये चार सय २५ मत प्राप्त गरेकी थिइन् । उनको प्रतिद्धन्दी अखिल क्रान्तिकारी विप्लवका मान बहादुर डाँगीले दुइ सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाट नै बिजयी भएका छन्। भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल बिजयी भएको छ । संयुक्त प्यानलबाट बिजयी अध्यक्ष दिनेश खड्गीले पाँच सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका दिपकबहादुर विष्टले तीन सय ७ मत ल्याएका छन् । त्यस्तै, सचिवमा संयुक्त प्यानलको तर्फबाट बिजयी विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । लामिछानेका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा संयुक्त प्यानलका मिलन गणेजुले चार सय ९९ मत प्राप्त गरि बिजय भएका छन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुकी सुनिता रोकाले दुइसय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा सातै सदस्य संयुक्त प्यानलबाटै बिजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा कुल नौ सय ८० मत खसेको थियो । महाराजगञ्ज मेडिकल क्याम्पस महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार मिलन गैरे अध्यक्षमा बिजयी भएका छन् । गैरेले कुल खसेको मत मध्ये पाँचसय १३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा युथ ईक्वालिटिकी स्वेता महतो बिजयी भएकी छिन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । महतोका प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले चार सय २३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा नेविसंघका केशव आचार्य बिजयी भएका छन् । उनले चार सय ७३ मत प्राप्त गरी विजय भएका हुन् । आचार्यका प्रतिद्धन्दी युथ फर इक्वालिटिका सञ्जिव शाहले चार सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । सो क्याम्पसमा कुल नौ सय ६६ मत खसेको थियो । महाराजगञ्ज नर्सिङ क्याम्पस महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । जसमा बिमला धमलाले कुल खुसेको मत मध्ये दुई सय २० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् । साथै उनको प्रतिद्धन्दी नेविसंघकी उम्मेदवार समिक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छिन् । सचिवमा पनि अनेरास्ववियुकि उम्मेदवार आचल रेग्मी बिजयी भएकी छिन् । उनले दुई सय पाँच मत ल्याएकी थिईन् भने प्रतिद्धन्दी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी शुशिला पोखरेलले एक सय २७ मत ल्याएकी थिइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरे विजयी भएकी छिन् । उनले कुल खसेको मतमध्ये दुईसय ११ मत ल्याएकी छिन् भने उनको प्रतिद्धन्दी नेविसंघकी पुजा पाण्डेले एकसय २० मत प्राप्त गरेकी छिन् । यसैगरी ६ सदस्य पनि अनेरास्ववियुकै उम्मेदवार बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनिययिरङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का उम्मेदवार रोशन थापामगर विजयी भएका छन् । थापामगरले चार सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । थापामगरका प्रतिद्धन्द्धि अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा अनेरास्ववियुका ओमप्रकास अधिकारी बिजयी भएका छन् । सचिवमा अनेरास्ववियुका ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निवाचित भए । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा अदिती गजुरेल, नविन न्यौपाने, अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल, अर्जुन खतिवडा, रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् । जनप्रशासन क्याम्पस जनप्रशासन क्याम्पसमा नेविसंघका उम्मेदवार पंकज सुबेदी क्षेत्रि अध्यक्षमा बिजयी भएका छन् । श्रेत्रीले कुल खसेको मत मध्ये एकसय ८७ मत प्राप्त गरेका थिए । क्षेत्रीका प्रतिद्धन्दी अनेरास्ववियुका टिकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा नेविसंघकै सन्देश आचार्य बिजयी भएका छन् । उनले दुई सय ५८ पत प्राप्त गरेका छन् । आचार्यका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तबहादुर तामाङले एकसय १३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारी (प्रचण्ड)का जगदीस जोशी बिजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरेका छन् । जोशीका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुकी शारदा जोशीले एकसय ६० मत प्राप्त गरेकी छिन् । जसमा पाँच जना सदस्य पनि संयुक्त प्यानलबाट नै बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । उपत्यकाभित्र त्रिविका सातओटा आंगिक क्याम्पसमा स्ववियु चुनाव भएका थिए । जसमध्ये थापाथली इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ ।

