सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

काठमाडौं, फागुन २५ । सप्तरीमा भएको मधेसीमोर्चा र प्रहरीबीचको झडपमा प्रहरीको गोलीबाट हालसम्म चार जनाको ज्यान गएको घटनाले अहिले तराई तनावग्रस्त बनेको छ । घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिने तराई बन्दको आह्वान गरेको थियो ।

आज दोस्रो दिन पनि तराईका जिल्लाहरु तनावग्रस्त बनेको छ । बन्दकर्ताले बिहानैदेखि चोकचोकमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ ।
बन्दका कारण तराईमा यातायात संचालनमा आउने सकेको छैन भने धेरै ठाउँहरुमा बजारसमेत बन्छ रहेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै तराईमा प्रदर्शन गरिरहेका छन् । कपिलबस्तुको सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन समेत गरेका छन् ।

मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट ठप्प भएको छ ।

त्यस्तै मधेसी मोर्चाको बन्दका कारण पूर्वी तथा मध्य तराईको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना बन्द रहेका छन् ।

त्यस्तै मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत एमाले नेताहरुको घर छानीछानी तोडफोड गरेका छन् ।

राजविराज–९ स्थित यादवको घरमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । त्यस्तै एमाले सांसद रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयामासमेत मोर्चाका कार्यकर्ताहरूले तोडफोड गरेका छन् ।

राजविराजस्थित एमाले पार्टीकार्यालयमा पनि मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् भने व्यानर र झण्डा जलाएका छन् । राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् ।

स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमासमेत तोडफोड गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुंगामुढा गरिएको छ ।

निकै आक्रमक रुपमा देखिएका मधेसीमोर्चाका कार्यकर्ताहरुले पसल बन्द गराउँदै हिड्ने क्रममा वीरगन्जको घण्टाघरमा व्यवसायीमाथि हातपात गरेका छन् । पसलहरु बन्द नगरेको भन्दै व्यवसायीमाथि हातपात गरेपछि व्यवसायीहरुले प्रतिकार गर्दा केहीबेर झडप भएको हो ।

एमालेकाे मेची महाकाली अभियानलाइ विथाेल्न खाेज्दा प्रहरी र माेर्चाका कार्यकतार्बीच साेमबार झडप भएकाे थियाे । झडपमा प्रहरीले गाेली चलाउँदा तीन जनाकाे साेमबार नै र एक जनाले बुधबार ज्यान गुमाएका छन् । त्यसैकाे विराेधमा तराइमा अहिले माेर्चा अाक्राेसित बनेका हुन् ।

मधेसका निजामति कर्मचारी पनि आन्दोलनमा, एमालेलाई हठ र अहंकार त्याग्न अाग्रह

काठमाडौं, फागुन २५ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सप्तरी घटनाको बिरोध गर्दै मधेस बन्दमा ऐक्यबद्धता जनाएको छ । सप्तरी घटनाको बिरोधमा विज्ञप्ती सार्वजनिक गर्दै मञ्चले राज्यको आतंक विरुद्घ एक शान्तिपूर्ण आन्दोलनमा जुट्न अपील गरेको छ । मञ्चका अध्यक्ष विनोदकुमार सिंहले एक विज्ञप्ति जारी गरी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गरेका छन् । साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गरेका छन् । सरकार अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानवीय क्षति हुन पुगेको निष्कर्ष निकाल्दै यस्तो नरसंहारका लागी सरकारले जिम्मेवारी लिनुपर्ने धारणा मञ्चको छ । पढ्नुस् विज्ञप्ती शान्ति सुरक्षाको कारण देखाउदै कुनै दलको भ्रामक र उत्तेजित राजनैतिक यात्रालाई सरकारी अभियानको रुपमा परिभाषित गर्न आफ्नो हक, अधिकार र पहिचानका खातिर शान्तिपुर्ण तरिकाले आन्दोलनरत रहेका मधेशी समुदायको अधिकारमुखी लोकतान्त्रिक आन्दोलनलाई सुनियोजित रुपमै दवाउन सरकारद्वारा मिति २०७३ फाल्गुन २३ गते सप्तरीमा गराईएको ७ जनाको हत्या उपर यस मञ्चको गहिरो ध्यानाकर्षण भएको छ । यस मानेमा राष्ट्रिय खोप अभियानका लागी आफ्नो कर्तव्यपालनाको शिलशिलामा मघेशी भएकै कारण सप्तरी मै कार्यरत सि।अ।हे।व। आन्नद साह लगायतको हत्या र करिब २५ जना भन्दा बढी मधेशीहरुलाई घर घरवाट समातेर गहु वारीमा घिसार्दै लगी ताकी ताकी टाउको, छाती र पेटमा सुरक्षाका ठेकेदारहरुको गोलीवाट भए गराइएको निहत्ता र सोझासाझा मधेशीहरुको पाश्विक हत्या र हत्या प्रयास मध्ययुगिन क्रुर र वर्वर भएको मञ्चको ठहर छ । मञ्च उपरोक्त योजनागत हत्या र नश्लिय चिन्तन को घोर भत्र्सना गर्दै घटनामा शहादत प्राप्त गर्ने मधेशी शहिदहरु प्रति हार्दिक श्रद्घाञ्जली सहित मृतकका परिवार प्रति समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै घटनाको उच्चस्तरीय न्यायिक छानविन गरी दोषीहरु उपर कडा कारवाहीको माँग गर्दछौ । साथै मधेशी मोर्चाको आन्दोलन उपर एक्यवद्घता समेत जाहेर गर्दछौ । आदरणिय जनसमुदाय, देशभक्ति सहितको राष्ट्रिय एकताका लागी राजनैतिक सहमति, राजनैतिक विश्वास र सहकार्य मार्फत मात्र समावेशी विकास र समृद्घ नेपालको परिकल्पना गर्न सकिन्छ । आपसी असमझदारी, टकराव र विभाजनले भावनात्मक ध्रुविकरणलाई मात्र पृष्ठपोषण गर्दछ । दिगो शान्ति, एकता र समृद्घीको लागी शान्तिपुर्ण, निष्पक्ष र प्रभावकारी निर्वाचन नै एक विकल्प हो, यसलाई नकार्न सकिन्न । तर सर्व स्वीकार्य निर्वाचनको लागी वर्तमान संविधानको संसोधन एक मात्र पुर्वाधार हुन सक्ने यर्थात सवैले वुझेका नै छौ । संविधान संसोधनले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई मजवुति प्रदान गर्ने वैज्ञानिक तर्कलाई आत्मसात गरि सकेका नै छौ । तर पनि गणितिय अहन्कार र हठवादिताको उन्माद चढेको गैर मधेशवादी सरकारी दलहरुको उत्तेजक अभिव्यक्ति र व्यवहारले मधेशलाई उत्तेजित र अपमानित गरि रहेको छ । त्यही दलीय उत्तेजना, अहन्कार र सरकारी लाचारीपनको परिणाम सप्तरी घटना भएको हाम्रो ठहर हो । यस्तो वेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण वनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानविय क्षति हुन पुगेको हो । यसतो नरसंभारको लागी सरकारले जिम्मेवारी लिनै पर्दछ । आदरणिय आन्दोलनकर्मी मधेशी जनसमुदाय, इतिहास साक्षी छ, शान्तिपुर्ण आन्दोलन सफल भएकै छ । राज्यको आतँक विरुद्घ एक ढिक्का भई शान्तिपुर्ण आन्दोलन मार्फत राज्य विरुद्घ ज्वारभाटा सिर्जना गर्दै धैर्यता र साहसका साथ अहिँसाको पथमा किमार्थ विचलित नहुन तमाम आन्दोलनरत मधेशी जनसमुदाय सँग मञ्च हार्दिक अपिल गर्दछ । अनत्यमा, एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गर्दछौ । साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गर्दछौ । जय मधेश । विनोद कुमार सिंह अध्यक्ष

एसआरएस म्यानपावरलाई कारबाही र अलपत्र ११७ जनाको टिकट व्यवस्था गर्न दूतावासको अनुरोध

काठमाडौं, फागुन २५ । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपाली दूतावासले एक सय १७ जना अलपत्र नेपालीहरुलाई स्वदेश फिर्तीका लागि टिकट व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ । योसँगै दूतावासले साढे ८ लाख रुपैयाँसम्म लिएर सुरक्षा गार्डलाई संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पार्ने एसआरएस म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । दूतावासले पीडितलाई टिकट उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई अनुरोध गरेको बताएको छ । यूएईको हिमाया सेक्युरिटी सर्भिसमा कामविहीन भएपछि १ सय १७ नेपाली कामदारले आफूहरूमाथि अन्याय भएको भन्दै नेपाली दूतावासमा उजुरी गरेका थिए । त्यसमध्ये ५२ जना सुरक्षा गार्डलाई एसआरएसले पठाएको थियो । बाँकी कामदारलाई दलालले भिजिट भिसामा यूएई लगेका थिए । उनीहरू आठ महिनादेखि कामविहीन भएर बसेका छन् । दूतावासले मानव तस्करीको शैलीमा सेटिङ गरेर यूएई पुर्‍याउन भूमिका खेल्ने एजेन्ट ओमबहादुर थापा र सुमेरा म्यानपावरका देवेन्द्र कार्कीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । कामदारले म्यानपावर र एजेन्टलाई ७ लाखदेखि ८ लाख ५० हजार रुपैयाँसम्म बुझाएका छन् ।

मधेसमा एमालेको संगठन र दुर्भाग्यपूर्ण मेची महाकाली अभियान

काठमाडौं, फागुन २५। मधेसबाट मूलधारको राजनीतिका नेतामध्ये एक हुन भरत बिमल यादव । सात राजनीतिक दलको प्रतिगमन विरुद्धको आन्दोलनताका मुख्य भूमिकामा रहेका यादव यतिबेला जनकपुरमै बसोबास गर्छन । उनी मधेसको मूलधार राजनीतिलाई सहि बोटोमा ल्याउने प्रयासमा देखिन्छन । ता कि मधेसको मुद्दा कुनै पनि ‘अतिवादी’को हातमा नपुगोस् । मधेसमा भएका पटक–पटकको आन्दोलनलाई नजिकबाट हेरेका यादवको आफ्नो अडान प्रष्ट रुपमा राख्न सक्ने नेतामा गनिन्छन । शाही प्रतिगमनविरुद्धको आन्दोलन होस्, वा मधेसमा पछिल्लो पटकसम्मको घट्नालाई हल्का रुपमा नलिन उनको भनाई छ । गणतन्त्र स्थापनाका लागि उनले जे–जति भूमिका खेले, त्यसको हिस्सेदार हुनु पर्नेमा उनले त्यस्तो मोह देखाएनन् । बरु, मधेसमै फर्किएर आफ्नो भूमिका त्यहींबाट पुरा गर्नेमा रहे । मधेसको राजनीति के हो ? उनीसँग लामो अनुभव छ । सप्तरीमा सोमबार भएको घट्नालाई उनले गम्भिर रुपमा विश्लेषण गरेका छन् । जनकपुरबाट एभरेष्टदैनिक डटकमसँग यादवले भने– ‘६ महिने नाकाबन्दी सहितको आन्दोलनबाट मधेसी मोर्चा वार्ताको टेबुलमा थियो । मधेसी मोर्चा सहितको सहमतिमा संविधान कार्यन्वयन गर्ने भनेर सरकारले भनिराखेको बेला एमालेले अहंमताका साथ शक्ति प्रर्दशन गर्नु गलत हो । चुनाव घोषणा भइसकेको थियो । मधेसी मोर्चालाई समेत संविधान कार्यन्वयनमा सहमत गराएर चुनावमा त्यो शक्ति प्रर्दशन गरेको भए यस्तो घट्ना हुने थिएन ।’ मधेसमा यतिबेला तीन धारको राजनीति मौल्याएको बारे राजनीतिक दलहरुलाई सुझाउँदै यादवले भने– ‘सशस्त्र संघर्षबाट स्वायत्त मधेस भन्ने जयकृष्ण गोइत, अलग्गै मधेस भन्ने सीके राउत र हामी शान्तिपूर्ण ढंगबाट अधिकार सम्पन्न मधेस भन्नेहरु छौं । जो हामीले लिएको बाटो मधेसी मूलधारको राजनीतिक बाटो हो ।’ ‘हामीले उठाएका मागलाई जुन किसिमले हल्का रुपमा लिएर एमालेले आफ्नो दम्भ प्रस्तुत गर्यो, त्यो नै दुर्भाग्य हो । यो दम्भले अन्तत मधेसी जनतालाई बाध्यात्मक रुपमा जयकृष्ण र सीके राउटतिर ढकेल्न खोजिएको छ’, यादवले मधेसको मर्म प्रष्टाउँदै भने । यो पनि नहुने, त्यो पनि नहुने भएपछि अन्तिममा विकल्प खोज्न बाध्य नपार्न यादवले आग्रह गरे । ‘एमालेहरुले पनि बुझ्नु पर्ने हो । प्रमुख प्रतिपक्षी दलको भूमिका झन महत्वपूर्ण हुन्छ । हामीले अहिले अप्नाएको मधेसको मूलधारबाट मधेसको ग्रिप फुस्कियो भने को जिम्मेवार ? अहिले मधेस विरामी हो, उपचार गरे निको हुन्छ । भोली मरिसकेपछि डाक्टर खोज्ने शैलीमा एमाले आउनु भएन’, उनले भने । …….. संगठन, कांग्रेस, एमाले र माओवादीकै, जनता मधेसीतिर एमालेको खरो आलोचनामा उत्रेका राजनीतिक विश्लेषक सीके लालको भनाई अलिक खरो छ । सप्तरीको घट्नालाई लिएर उनले भने– ‘राजा गए, अब हाम्रो पालो भनेर एमाले मधेसी विरुद्ध उत्रियो । जसको परिणाम हिजोको घट्ना हो ।’ मध्य मधेसमा रहेर कलम चलाउने टिप्पणीकार चन्द्रकिशोरको भनाई पनि यादवसँग मिल्दोजुल्दो छ । मधेसी जनता संगठनात्मक भन्दा भावनामा अहिले सडकमा उत्रेको टिप्पणी चन्द्रकिशोरले गरे । वीरगञ्जबाट उनले भने– ‘हिजो मर्ने पनि कांग्रेसकै कार्यकर्ता भएको पुष्टि भयो । एमालेले भनेको के सत्य हो भने मधेसमा उसको संगठन छ । तर, जनता मधेसी भावना बोकेर उत्रेका छन् ।’ उनको टिप्पणी थियो– ‘चुनावमा मधेसी मोर्चा कमजोर छ, उसको पक्षमा परिणाम आउँदैन । किन भने उसको संगठन छैन । संगठन भएका कांग्रेस, एमाले र माओवादी नै हो आउने । तर, एमालेले संगठन भएको आडमा जुन किसिमले मधेसी विरुद्ध उत्रिएको छ, त्यसले उत्तेजना फैल्याएको हो ।’ मधेस, मधेसी जनताको मनोभावनालाई नजिकबाट बुझेर टिप्पणी गर्ने चन्द्रकिशोरले सदनबाटै राजनीतिक सहमतिमा जानु पर्ने सुझाव भिडन्तमा उत्रेका ‘एमाले–मधेसी मोर्चा’लाई सुझाए । ‘केही मधेसी नागरिक समाजका अगुवाले सदन नै त्यागेर सडकमा आउने भनेका छन् । त्यो गलत हुन्छ । राजनीतिक अधिकारका लागि सदनमै भिड्नुपर्छ । सदन छोडेपछि सीके राउट पथमा आन्दोलन जाने सम्भावना बढि देखिन्छ ।’ गोली लागेर पिताम्बर मण्डल ढलेको स्थान देखाउँदै स्थानीय। मुलुकको आधा बढि जनसंख्या ओगटेको मधेसमा चलेको यो भावना, उत्तेजनालाई के गर्ने भन्ने एमालेले गम्भिर रुपमा बुझ्न जरुरी छ । सांगठनिक रुपले मुलुकको सबै भूभागमा राम्रै पकड राख्ने एमालेले अब संयमताका साथ अघि बढ्ने आठोतका साथ सप्तरीबाट फर्किएको छ । मधेस के हो ? मधेसी जनता के चहान्छन ? एमालेले राम्ररी बुझेको छ । त्यही बुझेरै ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु हुन अघिल्लो दिन केही मधेसी नेताहरुको केन्द्रीय कमिटीमा बढुवा गर्यो । त्यसले मधेसको राजनीतिमा एमालेको दिर्घकालिन महत्वको फाइदा र उनीहरुप्रतिको सम्मान त देला । तर, संगठन हुँदा हुँदै पनि मधेसीमा कसले गरायो एमालेप्रति यस्तो आक्रोश ? यसलाई एमालेले खुट्टाउँनै पर्छ । एमालेले आफूले संचालन गरेको ‘मेची–महाकाली अभियान’लाई जतिसुकै ठीक भने पनि यो उसका लागि दुर्भाग्य सावित हुने देखिन्छ । मधेसको मनोविज्ञान बुझ्न मधेसको सानो साँस्कृतिक प्रचलन बुझे पुग्छ । मधेसमा पान खानु शुभ साइत हो । कुनै मुखियाको घरमा शुभकार्य हुनेबेला मुखियाको भनाई हुन्छ– पञ्च पान्ना ? मुख पन्ना । जवाफमा उपस्थितले भन्ने गर्छन । जसले मुख पन्ना भन्दैन उसैले पान खुवाउनु पर्ने संस्कृति छ । अहिले मधेसको मनोभावना यसैगरी प्रेरित भएको देखिन्छ । जुन दलले जे जति गरे पनि मधेसी जनता हेपिएका छौं, अधिकारबाट बञ्चित छौं भन्ने एजेन्डामा उनीहरु प्रष्ट देखिन्छन । यो मनोभावनाको सामाधान सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसको मुलधार राजनीतिक गरेका मधेसी मोर्चाले समेत मनन नगरे अन्ततः मुलुकमा अर्को दुर्घट्नाका लागि ‘मलिलो वातावरण’ बनाउने खेल प्रष्ट देखिन्छ ।

प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु, सप्तरी घटनाको समीक्षा गर्दै

काठमाडौं, फागुन २५ । प्रमुख तीन दलको शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सप्तरी घटनापछि बद्लिएको राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न प्रमुख तीन दल सत्तापक्ष नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र  प्रतिपक्ष नेकपा एमालेका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, कंग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली  लगायतका शीर्ष नेता सहभागी भएका छन् । सप्तरी घटनापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसंग केही बेर अघि पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो ।मोर्चाले स्थानिय चुनाव रोक्न तथा सप्तरी घटनाको दोषीलाई कारबाही गर्न माग गरेको थियो । एमालेको मेची महाकाली अभियान अन्र्तगत सोमबार राजविराजमा भएको मोर्चाको कार्यकर्ता र प्रहरीको झडपमा ३ जनाको मृत्यु र दर्जनौं घाइतेभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो माग पुरा नभए सरकारबाट समर्थन फिर्ता लिने जनाएको छ । मोर्चाले एमालेको हठ र उदण्ड प्रवृतिको कारण सप्तरी घटना घटेको आरोप लगाएको छ भने एमालेले सप्तरीको घटनाको जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । सप्तरी घटनाको विषयमा समिक्षा गर्न प्रमुख तीन दलको बैठक बसिएको बताइएको छ ।

प्रधानमन्त्री र मधेसी मोर्चाबीचको छलफल सकियो, के भयो बैठकमा?

काठमाडौं, फागुन २५ । आज बिहान साढे नौ बजे बालुवाटारमा बसेको प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीचको बैठक सकिएको छ । बैठकमा मोर्चाका नेताहरुले स‌ंबिधान संसोधन बिधेयक पास गर्ने, स्थानिय चुनाव रोक्नुपर्ने, सप्तरी घटनाको दोषीलाई कारवाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दे  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । साथै बैठकमा मोर्चाका नेताहरुले ८ दिनभित्र माग पुरा नभए मधेसी मोर्चाको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको  छ। प्रधानमन्त्रीले भने सत्तापक्षका बिभिन्न दलहरुसंग छलफल गरेर आवश्यक निर्णय लिने बताएका छन् ।

सोह्रवर्षदेखि चिकित्सकविहीन स्वास्थ्य केन्द्र

बैतडी, फागुन २५  । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् । स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए । त्योबाहेक प्राथमिक स्वास्थ्यकेन्द्र स्थापना भएको १६ वर्ष बितिसक्दासमेत तल्लो स्वराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । प्राथमिक स्वासथ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भएपनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले बताउनुभयो । दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा, मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिकरुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको भएपनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएन ।” सरकारले चालु आर्थिक वर्षको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा यही फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । तर मेलौलीमा चिकित्सक नभएका कारण सेवा सञ्चालन गर्न समस्या भएको छ । रासस

प्रधानमन्त्री र मधेसी मोर्चाबीच वालुवाटारमा छलफल सुरु

काठमाडौं, फागुन २५ ।  एमालेको मेची महाकाली अभियानमा सप्तरीमा घटेको घटनापछि रुष्ट मधेसी मोर्चा र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल सुरु भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको  बैठकमा संबिधान संसोधन, निर्वाचन र सप्तरी घटनाको बिषयमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए ।  छलफलमा प्रधानमन्त्रीले मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिने बताइएको छ । तीन जनाको ज्यान जानेगरि भएको सप्तरी घटनापछि मधेसी मोर्चा आक्रोशित भएर मंगलबार र बुधबार बन्दको घोषणा गरेका छन्। हिजो बसेको संयुत्त लोकतान्त्रिक मोर्चाको बैठकले सप्तरी घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै ७ दिनभित्र संबिधान संसोधन नगरे सरकारबाट मोर्चाको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग हिजो भएको टेलिफोन वार्ता सकारात्मक भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेको मोर्चा लचक बनेपछि प्रधानमन्त्री प्रचण्डले थप छलफल गरेका हुन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसहित केही मन्त्री, कांग्रेस र माओवादी केन्द्रका नेता समेत सहभागी हुनेछन् । सप्तरी घटनाबारे समीक्षा गर्न दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएपछि सो बारे आवश्यक निर्णय गर्नुअघि प्रधानमन्त्रीले मधेशी मोर्चाको धारणा बुझ्न लागेका हुन् ।

सप्तरी घटनापछि मधेसी मोर्चासंग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, फागुन २५ । एमालेको मेची महाकाली अभियानमा सप्तरीमा घटेको घटनापछि रुष्ट मधेसी मोर्चासंग  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्न  लागेका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा हुने बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासंग सप्तरी घटनाबारे समिक्षा गर्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गर्ने बताइएको छ । तीन जनाको ज्यान जानेगरि भएको सप्तरी घटनापछि मधेसी मोर्चा आक्रोशित भएर मंगलबार र बुधबार बन्दको घोषणा गरेका छन्। हिजो बसेको संयुत्त लोकतान्त्रिक मोर्चाको बैठकले सप्तरी घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै ७ दिनभित्र संबिधान संसोधन नगरे सरकारबाट मोर्चाको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग हिजो भएको टेलिफोन वार्ता सकारात्मक भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेको मोर्चा लचक बनेपछि प्रधानमन्त्री दाहालले थप छलफल गर्न लागेका हुन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसहित केही मन्त्री, कांग्रेस र माओवादी केन्द्रका नेता समेत सहभागी हुनेछन् । सप्तरी घटनाबारे समीक्षा गर्न दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएपछि सो बारे आवश्यक निर्णय गर्नुअघि प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको धारणा बुझ्न लागेका हुन् ।

चितवनमा एक क्विन्टल चरेस बरामद, दुइ जना पक्राउ

चितवन, फागुन २३ । चितवन प्रहरीले आज ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ९९ किलो चरेस बरामद गरेको जानकारी दिएको छ । प्रहरीले चरेससँगै गाडीका चालक भारत कठियामठिया–७ का ३७ वर्षीय सुधन साह र रक्सौल कोइरिया टोल–६ का २५ वर्षीय आदित्य साहलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयको ‘इन्टिलिजेन्स’ टोली, क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय इन्टिलिजेन्स टोली र क्राइम एक्सन प्लान (सिएपी) टोली समेतको संयुक्त प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जुगेडीस्थित प्रहरी चेकप्वाइन्टबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो । जेएच–०४बी ०४४५ भारतीय नं प्लेटको टाटा सुमो गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सो परिमाणको चरेस बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । उहाँले गाडीको अगाडिको डिक्कीमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा १०६ पोका, गाडीको पछाडि चक्का माथि फल्स बटम बनाइ राखेको अवस्थामा ९२ पोका गरी पाँच सय ग्रामका १९८ पोका चरेस बरामद गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । रासस

मोर्चाले भन्यो, ‘सप्तरी हत्याकाण्डको मुख्य कारक एमाले’,२ दिने बन्दको घाेषणा

काठमाडौं, फागुन २३ । सप्तरीमा प्रहरीको गोली लागि चार जनाको हत्याबारे मधेसीमोर्चाले घटनाको मुख्य कारक एमाले भएको ठहर गरेको छ । मोर्चाको आज बसेको आकस्मिक वैठकले एमालेका शीर्ष नेताहरुले मधेश र मधेसीविरुद्ध विषवमन गर्ने, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने जस्ता गैर जिम्मेवार, भड्काउपूर्ण र उत्तेजक अभिव्यक्ति नै सप्तरी घटनाको मुख्य कारक भएको उल्लेख गरेको छ । मोर्चाले घटनाको विरोमा दुई दिने मधेस बन्द गरेको छ । वैठकले घाइतेहरुको उपचार र हत्याराहरुमाथि कारवाहीको माग गरेको छ । केही मिडियामा मधेसले सरकारलाई दिइएको समर्थन फिर्ता भन्ने प्रचार गरिएपनि मोर्चाद्वारा जारी विज्ञप्तिमा भने यसबारे कुनै कुरा उल्लेख गरिएको छैन । मधेसवादी दलले हस्ताक्षर गरेको ४ बुँदे विज्ञप्तिमा सप्तरी घटनामा सरकारले गरेको राज्यातंकको भत्सना गरिएको छ । यस्ताे छ विज्ञप्ती

एमालेद्वारा मेची महाकाली अभियान तीन दिनलाई स्थगित

काठमाडौ, फागुन २३ । एमालेले सुरु गरेको मेची–महाकाली अभियान आगामी तीन दिनका लागि स्थगित गरेको छ । सप्तरीमा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि एमाले स्थायी कमिटीको आकस्मिक वैठक बसी आगामी दिन दिनका लागि अभियान स्थगित गरेको हो । शनिबार झापाबाट सुरु भएको अभियान सोमबार सप्तरी आइपुग्दा मधेसी मोर्चाको चर्काे विरोधको सामना गर्नुप¥यो । त्यस्तै प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

सप्तरीमा एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं, फागुन २३ । राजविराज मधेसीमोर्चा र प्रहरीबीचको झडपमा दुई जनाले ज्यान गुमाएपछि एमाले स्थायी कमिटीका नेताहरु आकस्मिक वैठक बस्दैछन् । सशस्त्र प्रहरी वेश क्याम्प बरमझियामा एमाले अध्यक्ष केपी अाेलीसहितका बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतकाे सभागिता रहनेछ । एमालेको मेची–महाकाली अभियान अन्तरर्गत सप्तरीमा आज भएको कार्यक्रम विथोल्न आएका मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा दुई जना मधेसीमोर्चाका कार्यकर्ताहरुको ज्यान गएको छ । बैठकले यसै घटनासम्बन्धमा र भोलिदेखि हुने मेची महाकाली राष्ट्रिय अभियानबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

मोर्चाले गर्यो एमाले उदयपुर जिल्ला अध्यक्षको गाडीमा तोडफोड

उदयपुर, फागुन २३ । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको कार्यक्रममा भाग लिएर फर्किने क्रममा नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउत चढेको गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । सुनसरीबाट सप्तरीको राजबिराज जाने क्रममा उनको गाडीमाथि तोडफोड गरिएको हो । उदयपुरबाट एमालेको टोली लिएर मेची–महाकाली राष्ट्रिय अभियानमा भाग लिन गएका अध्यक्ष राउतको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगा हानेका हुन् । ढुंगा प्रहारबाट गाडीकाे सिसा फुटेकाे र ढुंगाले लागेर राउद घाईते समेत भएको जिल्ला सचिव परमेश्वर घिमिरेले जानकारी दिएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको लागि उदयपुरबाट ६ वटा यात्रुवहाक बस, २ सय मोटर साइकल र ३० वटा जीपमा एमाले कार्यकर्ता सहभागी भएका छन् ।

राजविराजमा गोली चल्यो, एमालेको हठका कारण एकको मृत्यु, तीन दर्जन घाइते

काठमाडाै, फागुन २३।  नेकपा एमाले र अध्यक्ष ओलीको हठका कारण सप्तरीमा भएको हिंसात्मक झडपमा एक जनाले ज्यान गुमाउनु परेको छ । राजविराजमा प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएको भने अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ । एमालेको मेची–महाकाली अभियान  अन्तरर्गत सप्तरीमा भएको कार्यक्रम सकिएलगत्तै त्यहाँ भएकाे झडपमा रञ्जन मेहताको मृत्यु भएकाे छ भने रञ्जन नेपालकाे टाउकाे गाेली लागी गम्भिर घाइते भएका छन् । त्यस्तै अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ । कार्यक्रम विथोल्न उपस्थित मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा कारण त्यसक्षेत्र विहानैदेखि तनावग्रस्त थियो । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच भएकाे झडपमा प्रहरीले चलाएकाे थियाे  । एमालेको कार्यक्रम स्थलबाट झण्डै २०० मिटरको दूरीमा प्रहरीले चलाएकाे गाेली लागेर संजन मेहताको मृत्यु भएको हो । झडपमा प्रहरीसहित तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीलाइ साेध्दा ‘गाेली चलेकाे हाे, के- कति घाइते भए भन्नेबारे विवरण आउन बाँकी छ’  भन्ने जवाफ अाएकाे छ ।

एमाले सभास्थल नजिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ, फागुन २३ । सप्तरीमा एमालेको सभास्थल नजिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरी बीच झडप भइरहेको छ । सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको पूवपट्टीको गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोलीबीच झडप भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले जानकारी दिए । उनले भने- ‘मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुङ्गामुढा गरेपछि झडप भएको हो, दुईचार जना घाइते भएर अस्पताल लगिएको छ ।’ यसैबीच प्रजिअ तिमल्सिनाले एमालेका नेताहरु कार्यक्रम स्थल प्रवेश गरिसकेको जानकारी दिए । एमालेले मेची-महाकाली अभियानको तेस्रो दिन तराईका विभिन्न जिल्लामा सभा सकाएर सप्तरीमा सुरु गर्न लागेको हो । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा अोली, बरिष्ठ नेताहरु माधबकुमार नेपाल,झलनाथ खनाल महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्दैछन् । एमालेको उक्त सभा विथोल्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहानैदेखि प्रदर्शन र चक्का जाम गरेको छ । सभा वरपर ठूलो संख्यामा सुरक्षाफौज तैनाथ गरिएको प्रजिअ तिमल्सिनाले बताए ।