कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा

काठमाडौँ, फागुन ३० । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने–नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गरे । उनले भने– “सरकार निर्वाचनका लागि जुटिरहेको छ निर्वाचन निश्चित रुपमा हुन्छ, सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।”

उनले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसदमा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताए । उनले भने– “मधेस केन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।”

राप्रपाका अध्यक्षसमेत रहनुभएका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताए । उनले भने– “पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छोड्नु राम्रो काम होइन ।” डा.लोहनीले पार्टी छाड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उनको भनाइ छ ।

निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको होः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताएको छ । आज यहाँ आयोजना गरेको साक्षात्कारमा राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताएको हो ।

निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै डा यादवले भने, “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ ।”

उनले भने, “मतदाता नामावलीलाई अन्तिम चरण पुगेको छ, मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन् त्यो आधारमा मतपत्र छाप्ने काम, कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएका छौँ ।”

प्रमुख आयुक्त डा यादवले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई बोलाएर चैत पहिलो हप्तासम्म कर्मचारी खटाउन निर्देशन दिइसकेको जानकारी दिए । उनले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलभित्र सहमतिको खाँचो रहेको बताउँदै निर्वाचनमा सबै दलको प्रतिनिधित्व होस् भन्ने आयोगले चाहेको बताए ।

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले यसलाई सबैले उत्सवका रुपमा लिनुपर्ने यादवको भनाइ थियो । उनले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको उल्लेख गरे ।

राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

कञ्चनपुर,  फागुन २९। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उहाँको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उहाँको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो । नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । रासस(तस्बिर संलग्न छ)

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

काठमाडौँ,  फागुन २९ । महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । रासस

९ तस्वीरमा हेर्नुस् उपत्यका सहित पहाडी जिल्लामा होलीको रौनक !

काठमाडौं, फागुन २९ । उपत्यकासहित पहाडी जिल्लामा आइतबार उल्लासपूर्वक होली पर्व मनाइएको छ । सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौंमा होलीको उल्लास हेर्नलायक थियो । एक अर्कामा अबीर दलेर सर्वसाधारणले होली मनाए । विभिन्न संघ संस्था तथा व्यवसायिक कम्पनीहरुलेसमेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरे । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ । होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रममा हजारौंको उपस्थिति थियो । विदेशी पर्यटकसमेत होलीमा रमाइरहेका देखिन्थे । अक्षय कोषका लागि पनि होली खेलेका छन् । कञ्चनपुरको ७ नतसीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसका विद्यार्थीले अक्षय कोष स्थापनाका लागि आइतबार होली खेले । सबै तस्वीर : रासस holi-7 holi-6 holi-3 holi-8 holi-5 holi-4 holi-5

प्रकाशचन्द्र लोहनीले छोडे राप्रपा

काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले आइतबार पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन् । ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु,’ डा. लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्। उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् । साथै मन्त्रिपरिषदमा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको उनले आरोप लगाएका छन्। लोहनीले केहीबेरमा पत्रकार सम्मेलन मार्फद पार्टी छोड्नुको कारण खुलाउने बताएका छन् ।

‘एनसेललाई कर उन्मुक्ति दिएर सरकारले राष्ट्रघात गर्यो’: डा. बाबुराम

काठमाडौँ, फागुन २९ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले एनसेललाई कर उन्मुक्ति दिएर राष्ट्रघात गरेको आरोप लगाएका छन् । सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रिपरिषदबाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गरेको भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ । ‘एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेत समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ,’ विज्ञप्तीमा भनिएको छ, ‘हरेक मालपोत कार्यालयले सुरुमा किन्दा र बिक्री हुँदाबीच फरक भएको रकममा निश्चित प्रतिशतले लाभकर (राजश्व) उठाउने गरेका छन् । तर, सोही प्रकृतिको सम्पत्ति, एनसेल, बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्रै हैन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।’ एनसेलको ८० प्रतिशत सेयरको बिक्रेता युरोपेली कम्पनी टेलियासोनेरा र खरिदकर्ता मलेसियन कम्पनी आजियाटाले ‘अफसोर’ कारोबार गरी लाभकर छल्न खोजेको समाचार सार्वजनिक भएको थियो । एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिए ३३ अर्ब रुपैयाँ राजश्व राज्यले गुमाउने छ । पढ्नुस् विज्ञप्ती

एमालेको मेची-महाकाली अभियान देश बिखण्डन र राष्ट्रिय एकता तोड्न: उपेन्द्र यादव

राजविराज, फागुन २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान राष्ट्रिय एकता तोड्ने र देश विखण्डनको विजारोपण गर्न गरिएको आरोप लगाएका छन् । सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा संघीय गठबन्धन र मधेसी मोर्चाले अब राष्ट्रिय चरित्रको आन्दोलन गर्ने चेतावनी दिए । सप्तरी घटनामा नेपालीलाई ताकेर गोली हान्न लगाउने एमालेको शासकवादी तथा नश्लीय चरित्रलाई उदांगो पारेको आरोप लगाए । ‘मधेसीलाई हेर्नेवित्तिकै अनुहारकै कारण प्रहरी प्रशासनलाई एर्लजी हुने गरेको छ’ यादवले भने ‘जुन नश्लवादी चिन्तनको उपज हो’ उनले भने । यादवले भेदभाव र असमानता रहुञ्जेल संघर्ष जारी रहने बताए । उनले भने– ‘काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाए जसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको हो ।’ एमाले नेताहरुको सामूहिक हत्या गर्ने आरोपको यादवले खण्डन गरे । ‘एमालेसित मुठभेड भएको होइन्, एमालेको उक्साहटमा सरकारले गोली चलाएर पाँचजनाको नरसंहार गरेको हो ।’ सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको यादवले बताए । उनले मधेसी जनताविरुद्ध सरकारले गरेको युद्धको घोषणा मधेसी जनता दिन तयार रहेको बताए । उनले भने, ‘राजनैतिक शिष्टाचार अनुरुप एक हप्ताको समय दिएका हौं, त्यो अवधीमा माग पूरा नभए राष्ट्रिय रुपमै आन्दोलनको घोषणा हुन्छ, जसको संकेत २७ फागुनको बन्दले देखाइसकेको छ ।’ कञ्चनपुरमा एसएसबीको गोली लागि नेपालीको मृत्यु भएको सन्दर्भमा यादवले स्पष्टिकरण दिए । कञ्चनपुर घटनाका बारेमा सरकारले छानबिन गरी जवाफ दिनुपर्छ, भारत सरकारले आफ्नो तर्फवाट गोली नचलाइएको बताइरहेकाले स्पष्ट के हो सरकारले जवाफ दिनुपर्छ ।’ उनले एकातिर नेपाली जनतालाई गोली ठाकेर मार्ने अर्कोतिर कञ्चनपुरमा नेपाली जनतालाई सुरक्षा गर्न नसक्ने सरकार असक्षम भएको आरोप लगाए । आफूहरु निर्वाचनविरोधी नभएको बताउँदै यादवले भने, ‘संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म निर्वाचन हुन सक्दैन, हुन दिँदैनौ ।’

प्रचण्डको एउटा ‘प्लान’ सफल, अब सर्वसाधारणले सिंहदरबार धाउन नपर्ने

सरकारले सिंहदरबार धाउनै नपर्ने गरी स्थानीय तहमा गाउँपालिका नै अधिकार दिएको छ । विकेन्द्रीकरणको माध्यमबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरीतो र प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई अधिकार दिएको हो । नेपालको संविधानमा व्यवस्था भए अनुसारका सुरक्षा, आर्थिक, सामाजिक, स्थानीय पूर्वाधार, बन तथा वातावरण, तथ्याँक संकलन तथा अभिलेख, सूचना संचार, भूमि व्यवस्थापन, उद्योग, पर्यटन, औषधी तथा विषादी, स्वास्थ्य प्रणाली र पशु चिकित्सा, मानव संसाधन विकास एवं समाज कल्याण अन्तर्गतका अधिकार गाउँपालिका तथा नगरपालिकालाई दिने गरी ऐन बनाउन लागिएको हो । स्थानीय तह शासन ऐन, २०७३ मा १३ सय ६० वटा विभिन्न अधिकारको उल्लेख गरिएको छ । जसमा मन्त्रालय, विभाग, क्षेत्र, अञ्चल तथा जिल्लाबाट सम्पादन हुने विभिन्न काम अव गाउँ गाउँमै हुने उल्लेख छ । ऐनको मस्यौदा तयार पारेर स्थानीय विकास मन्त्रालयले सहमतिको लागि कानुन मन्त्रालयमा पठाएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । सरकारले यसरी स्थानीय तहमा अधिकार प्रत्यायोजन गरेसँगै जनयुद्धकालदेखि माओवादीले जनतालाई गाउँमै सरकारको अनुभुति दिलाउन भन्दै दिएको आश्वासन पनि पूरा हुने भएको छ । विभाग धाउनुपर्ने अस्पत्ताल र नर्सिङ्ग होमको अनु्मति स्थानीय तहमै सरकारको नयाँ व्यवस्था अनुसार अस्पत्तालको अनुमति गाउँ तथा नगरपालिकाले नै दिन सक्नेछन् । १ सय सैया सम्मको जनरल अस्पत्ताल, नर्सिङ्ग होम, निदान केन्द्र, नीजि स्वास्थ्य संस्था, क्लिनिक लगायतको सञ्चालन अनुमति, नविकरण र नियमनको काम गाउँ तथा नगरपालिकाले गर्न पाउने भएका छन् । अहिलेसम्म १०० सैया सम्मको अस्पत्ताल र नसिंङ्गहोम, निदान केन्द्र र क्लिनिकहरुको दर्ता स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । औषधी पसलको लागि विभिन्न क्षेत्रमा रहेका औषधी व्यवस्था विभागका शाखाहरुबाट अनुमति लिने र नविकरण गर्नुपर्ने व्यवस्था थियो । सूर्ति मदिरा र लागपदार्थमा नियन्त्रण गर्ने अधिकार पनि सरकारले गाउँ तथा नगरपालिकालाई नै दिने भएको छ । त्यसैगरी औषधी पसल दर्ता, स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा स्किम लागु गर्ने, खोप कार्यक्रम सञ्चालन, एम्बुलेन्स, रक्त सञ्चारसेवा लगायतको काम पनि गाउँ नगरबाटै हुने भएको छ । विद्यालय स्थापना, गाभ्ने र सार्ने पनि अधिकार गाउँ तथा नगरपालिकाले आधारभूत र माध्यमिक तहसम्मको विद्यालय स्थापनाको अनुमति दिन सक्ने अधिकार पाएका छन् । यसअघि आधारभूत तहको जिल्ला शिक्षा कार्यालय र माध्यमिक तहको विद्यालयको अनुमति क्षेत्रले मात्र दिने पाउने व्यवस्था थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालयको अधिकार क्षेत्रको विद्यालय सार्ने, गाभ्ने र बन्द गर्ने तथा नियमन गर्ने अधिकार पनि गाउँ गाउँमा पुगेको छ । राष्ट्रिय र प्रादेशिक प्रारुप बमोजिमका पाढ्यक्रम र पाठ्यसामग्री निर्माण, कार्यान्वयन गर्ने अधिकार पनि गाउँ तथा नगरपालिकाले पाएका छन् । अनौपचारीक तथा पूर्ण साक्षरता कक्षा सञ्चालन, विशेष शिक्षा, शैक्षिक परामर्श सेवाको अनुमति एवं शैक्षिक कार्यक्रमहरुको अनुगमन पनि गाउँपालिकाबाटै हुने भएको छ । जिल्ला प्रशासनले गर्ने राहदानी सिफारीस र क्लव दर्ता गाउँबाटै सरकारले जिल्लाबाटमात्र सिफारीस गर्दै आएको राहदानी अव गाउँ वा नगरपालिकाबाटै सिफारीस हुने भएको छ । स्थानीय तह शासन ऐन अनुसार स्थानीय तथ्यांक संकलन, अभिलेख, व्यक्तिगत घटना दर्ता, पाश्र्वचित्र तथा नक्सा तयार लगायतका अधिकार गाउँ र नगरपालिकालाई दिईएको छ । अहिलेसम्म तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक विभागले गर्दै आएको थियो । संघ संस्था र क्लव दर्ता अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले मात्र गर्ने गरेको संघसंस्था तथा क्लव दर्ताको काम अव गाउँपालिकाले गर्ने भएका छन् । दर्ता गर्दा प्रहरी रीपोर्ट, गाविसको सिफारीस, जिविसको अनुमति लागयतका झण्झटिलो प्रकृयाले गर्दा हप्तौ लाग्ने काम अव गाउँपालिकाबाट सहजै हुने भएको छ । समाज कल्याण सम्बन्धि अन्य कार्यपनि गाउँपालिकाको क्षेत्राधिकारमा सरेका छन् । सार्वजनिक विदा गाउँ नगरको अधिकार स्थानीय तहमा सार्वजनिक विदा ब्यवस्थापन गाउँपालिकाबाटै हुने भएको छ । स्थानीय तह शासन ऐनले बिदा, उत्सव, जात्रा, उर्दी आदिमा विदा व्यस्थागर्ने अधिकार गाउँ र नगरपालिकालाई दिएको हो । भाषा संस्कृति लिलतकलाको संरक्ष र विकास तथा पुरातत्व प्राचीन स्मारक र संग्राहलय सम्बन्धि अधिकार गाउँ नगरलाई दिएको उल्लेख छ । रेडियो नविकरण, पत्रपत्रिका दर्ता र साना उद्योग तथा गेष्टहाउस दर्ता स्थानीय क्षेत्रभित्र १ सय वाट सम्मका एफ एम रेडियो सञ्चालन, नविकरण र नियमन गर्ने अधिकार गाउँ तथा नगरपालिकालाई दिएको छ । अहिलेसम्म त्यो अधिकार सूचना तथा सञ्चार मन्त्रालयलाई मात्र थियो । त्यस्तै कुनै गाउँपालिकामा ईण्टरनेट, टेलिसेण्टर लगायतको अनुमति, नविकरण र नियमन पनि गाउँपालिकाले गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मात्र गर्दै आएको पत्रपत्रिका दर्ता, अनुगमन, अभिलेख र व्यवस्थापनको काम पनि अव स्थानीय तहबाट हुने छ । अहिले सम्म जिल्ला सदरमुकाममा हुने घरेलु तथा साना उद्योग विकास समितिले मात्र अनुमति दिने घरेलु तथा साना उद्योग दर्ता नविकरण अव गाउँ तथा नगरपालिकाले गर्न पाउने भएका छन् । उद्योग प्रवद्धनका लागि सीप विकास, तालिम, बजार सूचना, जिविकोपार्जनमा सुधार, लघुवित्त प्रवद्र्धन, कार्यस्थल सुरक्षा मापदण्डको लगायतको अधिकार पनि गाउँ तथा नगरपालिकाको क्षेत्रधिकारभित्र पर्ने भएको छ । यो बाहेक होमस्टे तथा गेष्टहाउस दर्ता, नविकरण र नियमनको काम पनि गाउँ तथा नगरपालिकाले गर्ने भएका छन् । स्थानीय पर्यटन पूवाधार विकास र पर्यटन सूचना केन्द्र स्थापना एवं सञ्चालनको काम पनि स्थानीय तहलाई नै दिईएको छ । लालपुर्जा वितरण घरजग्ग्गा धनी पुर्जा वितरण कार्यलाई स्थानीय नागरीकको सहज पहुँच हुने गरी वितरण गर्ने, घरजग्गा रजिष्ट्रेसन, नापी, नक्सापासको काम अव गाउँपालिकाबाटे हुने भएको छ । त्यस्तै मालपोत, घरजग्गा तथा म्पत्ती कर बुझाउन जनताहरु जिल्ला सदरमुकाम पुग्नु नपर्ने भएको छ । कर तथा जग्गाको कित्ताकाट एवं श्रेस्ताको काम गाउँपालिका तथा नगरपालिकाबाटै हुने भएको छ । जिल्लाबाट अनुमति लिनुपर्ने घरजग्गा व्यवसाय दर्ता पनि गाउँ तथा नगरपालिकाले गर्ने भएका छन् । त्यस्तै निर्माण सामग्री एवं ज्याला मजदुरीको दररेट तोक्ने काम पनि गाउँबाटै हुने भएको छ । भू उपयोग नीति, योजना र कार्यक्रम तर्जुमा गरी भुीम व्यवस्थापनका काम गर्ने कार्यपनि स्थानीय तहले गर्न सक्नेछन् । सहकारी दर्ता र ठेक्का ब्यापार दर्ता सहकारी डिभीजन कार्यलय पुग्नुपर्ने र धेरै समय धाउनुपर्ने सहकारी संस्था दर्ताको काम अव गाउँ तथा नगरपालिकाले आफै गर्ने भएका छन् । यसका लागि भने कार्यक्षेत्र तोकिएको गाउँ वा नगरभित्र हुनुपर्ने छ । यस्तै स्थानीय स्तरका व्यापारीक फर्म दर्ता अनुमति, नबिकरण र खारेजीको काम पनि स्थानीय तहबाटै हुने भएका छन् । निजि घर निर्माणको ठेक्का व्यवसाय, पेशा र सिपगत व्यवसाय आदिको पनि दर्ता, प्रमाणीकरण र नियमन स्थनीय तहको क्षेत्राधिकारभित्र सरेका छन् । अहिलेसम्म जिल्ला प्रशासन कार्यलय र आपूर्ति विभाग तथा मन्त्रालयले गर्ने गरेको बजार अनुगमन र मूल्य निर्धारण र नियमनको काम पनि स्थानीय तहले गर्न पाउने भएका छन् । उनीहरुले बजार मूल्य सूचि सम्बन्धि काम पनि गर्ने छन् । कृषि तथा पशुविमा र फर्म तथा सहकारी दर्ता गाउ वा नगरपालिका भित्र कार्यक्षेत्र हुने कृषि सहकारी तथा कृषि फर्महरुको दर्ताको अधिकार सम्बन्धित स्थानीय तहलाई दिईएको छ । दर्ता खारेजी र नियमनको अधिकार समेत उसैलाई हुने छ । जेटि÷जेटिएको तालिम, प्रशिक्षण र व्यवस्थापनको काम पनि गाउँ वा नगरपालिकाले गर्ने छ । यसका साथै कृषि तथा पशुविमा, बधशालाहरुको अनुमति पनि स्थानीय तहको कार्यक्षेत्रका अधिकार भएका छन् । पशु नश्ल सुधार, चरण, आहारा, बधशाला स्थापना लगायत जिल्ला कृषि विकास कार्यालयले गर्ने सबै अधिकार अव गाउँ तथा नगरपालिकाले गर्नेछन् । रेल चलाउन पनि गाउँ नगरले पाउने आफ्नो गाउँपालिका वा नगरपालिकाभित्र रेल चलाउन पाउने अधिकार पनि सम्बन्धित कार्यपालिकालाई दिईएको छ । आफ्नो क्षेत्रभित्र सवारी साधनको भाडा निर्धारण, सवारी रुट निर्धारण र अनुमति दिनुका साथै निजी यातायातको नियमन गर्न पाउने सम्मको अधिकार स्थानीय तहमा विकेन्द्रित गरी जनतालाई सेवा लिन माथील्लो निकायमा धाउने काम बन्द गरीएको छ । आफ्नो सिमाना क्षेत्रभित्र सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन एवं सार्वजनिक यातायातको भरपर्दो व्यवस्था गर्ने अधिकार पनि गाउँपालिकाको हातमा परेको छ । पानीको महशुल निर्धारण तथा १० मेगावाटसम्मको विजुली निकाल्न पाउने अव खानेपानी उपभोक्ताले प्रति लिटर कति पैसा बुझाउने भन्ने विषयको किनारा गाउँ तथा नगरपालिकाले नै लगाउन सक्ने छन् । त्यसैगरी आफ्नो क्षेत्र भित्र १० मेगावाटसम्मको विजुली निकाल्ने अधिकार पनि स्थानीय तहलाई छ । डिभिजन कार्यालयमा रहेको सिँचाईको कार्य र अंचलहरुमा रहेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका नदि नियन्त्रण सम्बन्धि अधिकार अव गाउँ तथा नगरपालिकाले पाएका छन् । सुकुम्बासीलाई बसोबासको ब्यवस्थापन सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला स्थित शाखाहरुले गर्ने सुकुम्बासी व्यवस्थापनको काम अव गाउँ तथा नगरपालिकाले नै गर्ने छन् । सुकुम्बासीको पहिचान, तथ्यांक संकलन गरी उचित व्यवस्थापनको लागि स्थानीय तहलाई सरकारले अधिकार दिएको हो । यसका साथै बेरोजगारको तथ्यांक संकलन, गरीबको तथ्याँक संकलन तथा गरीबि निबारणका कार्यक्रम, र सहारकारी संस्था सञ्चालन अनुमति तथा स्थानीय बजार व्यवस्थापनको काम पनि स्थानीय तहबाट हुने छ । ज्येष्ठ नागरीक, अपांगता भएका व्यक्तिहरुको व्यवस्थापन, पुनस्थापना केन्द्र संचालन एवं सामाजिक सुरक्षा कार्यक्रम, दलित, जनजाती, महिला, बालबालिका, यूवा, अल्पसंख्यक, सिमान्तीकृत, विपन्न समुदाय लक्षित विभीन्न कार्यक्रम पनि स्थानीय तहबाटै हुने गरी अधिकार प्रत्यायोजन गरीएको छ । बन दर्ता र नविकरण तथा विपद् व्यवस्थापन जिल्ला बन कार्यालयबाट हुने सामुदायिक , धार्मिक, कबुलियती र निजी बन तथा शहरी बन उपभोक्ता समितिको काम अव गाउँ तथा नगरपालिकाले गर्ने छन् । नसरी, जडिबुटी, मुहान संरक्षण र पोखरी निर्माण, बन डढेलो नियन्त्रण र रोकथाम लगायतका बन तथा भूसंरक्षणका सबै काम स्थानीय तहबाट हुने छन् । वातावरण संरक्षण, पर्यावरण तथा जैविक विविधता एर्व जलबायू परीवर्तन अनुकुलका सबै कार्यक्रम पनि गाउँपालिकाले गर्न पाउने छन् । विपद जोखिम न्यूनिकरणका लागि यसअघि जिल्ला तहबाट हुने सबै प्रकारका काम गाउँ तथा नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र सरेको छ । जिल्ला विकास समितिले गर्र्दै आएको खानीजन्य बस्तुहरु ढुंगागिटी, बालुवा, माटो, स्लेट, खरी आदिको संरक्षण उत्खनन र उपयोगको अधिकार स्थानीय तहले पाएका छन् ।

एमालेले आज भैरहवा र बुटवलमा आमसभा गर्दै, मधेसी मोर्चाद्वारा रुपन्देही बन्द

भैरहवा, फागुन २९ । नेकपा एमालेले रुपन्देहीको भैरहवा र बुटवलमा मेची- महाकाली राष्ट्रिय अभियानको आमसभा गर्ने भएको छ । तर, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रुपन्देही बन्द गराएको छ । एमालेलाई मधेस विरोधीको आरोप लगाउँदै मोर्चाले उसलाई अवरोध गर्ने उद्देश्यले रुपन्देही बन्द आह्वान गरेको हो । अभियानको क्रममा अहिले नवलपरासीको भूमहीमा रहेका एमाले नेता कार्यकर्ता त्यहाँ कार्यक्रम सकेर रुपन्देहीको भैरहवा पुग्ने कार्यक्रम रहेको छ । शनिबार चितवन र नवलपरासीमा सभा गरेको एमालेले आइतबार रुपन्देही र बुटवलमा आमसभा गर्न लागेको हो । दिउसो १ बजे भैरहवा र अपरान्ह ३ बजे रुपन्देहीमा आमसभा हुन लागेको हो । सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्दैछन । सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सहभागी हुने छन् । रुपन्देहीका सभास्थलमा बिहानैदेखि एमाले कार्यकर्ताको चहलपहल बढेको छ । सम्भावित घटनालाई ध्यानमा राख्दै स्थानिय प्रशासनले सभास्थलमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

होलीमा कडा सुरक्षा, थपिए ३ हजार प्रहरी, ४ सय ठाउँमा सुरक्षा जाँच

काठमाडौं, फागुन २९ । रङ्ग र उल्लासको पर्व होलीमा आम सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले व्यापक सुरक्षा सतर्कता अपनाएको छ । होलीमा जथाभावी रङ्ग छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्ने जनाएको छ । प्रहरीले पानी छ्याप्ने, हिलो छ्याप्ने र मादकपदार्थ सेवन गर्नेहरुमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा समेत चलाउन सक्ने बताएको छ ।  सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । काठमाडौं उपत्यकामा मात्र होलीका लागि थप तीन हजार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । उपत्यकाका करिब ४ सय ठाउँमा सुरक्षा जाँचको व्यवस्था गरिएको छ । सुरक्षा जाँचमा बर्दिधारी प्रहरी र ट्राफिक प्रहरी सहभागी भएका छन् । त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ । होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइनमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ । मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ । होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

गच्छदार पनि ‘सरकारमा’

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० लाई सरकारमा ल्याउने तयारी गरेका छन्। मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका प्रमुख सत्तारूढ पार्टी कांग्रेस र माओवादी केन्द्रले फोरम  (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउने तयारी गरेका हुन्। स्रोतका अनुसार मन्त्रालय र मर्यादाक्रमका विषयमा कुरा मिल्नासाथ गच्छदार सरकारमा आउनेछन्। गच्छदारले मन्त्रिपरिषद्मा आफू दोस्रो मर्यादाक्रममा हुनुपर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका छन्। अहिले कांग्रेसबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको मर्यादाक्रममा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि कांग्रेसकै भागमा छ । मर्यादाक्रम छाड्न गृहमन्त्री निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट अन्य मन्त्रालयमा सर्न लेखक नमानेकाले गच्छदारको सिंहदरबार प्रवेशमा ढिलाइ भएको स्रोतको दाबी छ। प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच संशोधन प्रस्तावको पक्षमा संसद्मा दुई तिहाइ मत पुर्‍याउन गच्छदारसहित अन्य साना दललाई सरकारमा ल्याउने विषयमा निरन्तर छलफल चलिरहेको छ । संविधान संशोधन नगरिकन मधेसमा निर्वाचन सम्भव नदेखेपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा दुई तिहाई पुर्‍याउन खेलमा केन्द्रित हुन थालेको कांग्रेसका एक नेताले बताए। सत्तारूढ राप्रपा र प्रधानमन्त्री निर्वाचनमा मत हालेको फोरम लोकतान्त्रिकले यथास्थितिमा संविधान संशोधनको पक्षमा मत हाल्न नसक्ने अडान राख्दै आएका थिए। दाहाल र देउवाले संशोधनको पक्षमा दुई तिहाइ पुर्‍याउन संसदको चौथो ठूलो दलका अध्यक्ष कमल थापालाई उपप्रधान र स्थानीय विकासमन्त्री दिएर मन्त्रिपरिषद्मा सामेल गरिसकेका छन्। पाँचौं ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको प्रवेशसँगै अन्य केही साना दललाई पनि सरकारमा ल्याउने र प्रमुख प्रतिपक्ष एमालेबाहेक पनि संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउने योजना सत्तारूढ दलको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले गच्छदारलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको स्विकारे। कहिले ल्याउने र कुन मन्त्रालय दिनेबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै लेखकले भने, ‘मन्त्रिपरिषद् विस्तार सरकार टिकाउनका लागि मात्रै नभएर सरकारले प्रस्तुत गरेको संविधान संशोधन पारित गर्न हो।’ आजको कान्तिपुरबाट

निर्वाचनपछि मुलुकको राजनीति सफा हुन्छः प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निर्वाचनपश्चात राजनीतिक सफा हुने बताएका छन् । सिंगै मुलुक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जुटेको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमार्फत् मुलुकको राजनीति सफा हुने विश्वास पनि व्यक्त गरेका छन् । बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले निर्वाचनलाई सम्पन्न गर्न स्थानीय तहले स्वयम्सेवी भावनाका साथ काम गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल विभिन्न संस्कृतिले धनी मुलुक रहेको उल्लेख गर्दै यसको संरक्षण र संवद्र्धन गर्न नेपालीहरु आफै सक्षम रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालीहरुले कहिल्यै पनि कसैसँग नझुकेको ऐतिहासिक तथ्य उल्लेख गर्दै आत्मा सम्मानका साथ बाँच्न नेपालीहरु सधैं प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

कञ्चनपुर घटनाबारे जनताले आन्दोलन गरिराख्नु आवश्यक छैन : गृहमन्त्री

काठमाडौं, फागुन २८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कन्चनपुर घटनाबारे सरकारले भारतसँग कुरा गरिरहेकाले अहिले जनस्तरबाट आन्दोलन गरिरहनुपर्ने अवस्था नभएको बताएका छन् । आवश्यक परे सरकारले नै जनतालाई आन्दोलनका लागि आह्वान गर्ने स्पष्ट पार्दै गृहमन्त्री निधिले सीमावर्ती क्षेत्र कैलाली र कन्चनपुरमा भइरहेका आन्दोलन रोकेर संयमता अपनाउन आग्रह गरेका छन् । शनिवार मन्त्री निधिले मिडियासँग कुरा गर्दै भारतसँगको सहमतिमै कल्भर्ट बनाइएकाले भारतले सहमतिविपरीतको काम गर्नु निन्दनीय भएको बताएका छन् । उपप्रधानमन्त्री निधिले राष्ट्रिय एकता, अखन्डता र सीमारक्षाका विषयमा सरकारले कसैसँग सम्झौता नगर्ने स्पस्ट पारे । उनले भारतीय उच्चतहमै सीमाकाबारेमा कुरा भइरहेको बताए । सीमा विवादलाई दीर्घकालीनरुपमै समाधानको पहल गरिनुपर्ने उनको भनाइ थियो ।

एसएसबीद्वारा हत्या गरिएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

कञ्चनपुर, फागुन २८ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिएर अन्त्यष्टि गरिने भएको हो । गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल-भारत सीमाको कल्भर्ट जहाँ एसएसबीले गोविन्द गौतमलाई गोली हानेको थियो उता कञ्चनपुरको आनन्दबजार आज पनि दिनभर तनावग्रस्त रहृयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्दबजार क्षेत्रलाई विहान ९ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि स्थानियहरु प्रदर्शनमा उत्रिएका थिए । सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद भएपछि सीमा क्षेत्रका भारतीय र नेपालीबीच झडप भएको थियो ।

सहाराले दियो रेडक्रसलाई १७ लाखको कम्पोनेन्ट मेशीन, ४३ औं अधिवेशन सम्पन्न

बिर्तामोड, फागुन २८ । नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका लागि सहारा नेपाल साकोसले १७ लाख मूल्य पर्ने कम्पोनेन्ट मेसिन हस्तान्तरण गरेको छ । रेडक्रस झापाको ४३औं जिल्ला अधिवेशन उद्घाटन समारोहको अवसरमा शनिबार सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई उक्त मेसिन हस्तान्तरण गरे । रगतमा रहेका तत्व वर्गीकरण गर्ने उक्त कम्पोनेन्ट मेसिनको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद सुधीरकुमार शिवाकोटीले शनिबार नै उद्घाटन गरे । रेडक्रस अधिवेशनको समेत सांसद शिवाकोटीले उद्घाटन गरेका थिए । १६ लाख ८९ हजार ३ सय ५० रुपैयाँ मूल्यको उक्त मेसिन सहाराले रेडक्रसको बिर्तामोडस्थित रक्तसञ्चार सेवालाई प्रदान गरेको हो । सोही प्रकारको मेसिन स्वास्थ्य मन्त्रालयले समेत प्रदान गर्न लागेको उक्त अवसरमा जानकारी दिइयो । कम्पोनेन्ट मेसिनबाट रक्तदाताले उपलब्ध गराएको १ युनिट रगतबाट बिरामीलाई रगतको जुन तत्वको आवश्यकता भएको हो सोही तत्व उपलब्ध गराउन सकिने बताइएको छ । अब १ युनिट रगतको वर्गीकरणबाट बन्ने विभिन्न चार प्रकारका तत्वहरुबाट चार जना बिरामीलाई एकैसाथ सेवा पुर्याउन सकिने सभापति ढकालले बताए । कम्पोनेन्ट मेसिनले रगतमा रहेको तत्वहरु डब्लुबीसी, आरबीसी, प्लेटलेट र प्लाज्मालाई वर्गीकरण गर्नेछ । जसलाई जुन तत्व आवश्यक भएको हो त्यही मात्र उपलब्ध गराइने रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए । रेडक्रस झापाले उक्त अवसरमा रेडक्रसको दमक उपशाखालाई उत्कृष्ट प्रथम र बुधबारेलाई द्वितीय घोषणा गरी क्रमशः नगद १५ हजार १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । वर्षभरिमा उत्कृष्ट रक्तदान गर्ने तीन संस्थालाई समेत रेडक्रसले सम्मान गरेको छ । यसवर्ष उत्कृष्ट रक्तदान गर्ने संस्थाको रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई सम्मान गरियो । १ सय ४८ जनाले एनएमसी मार्फत रक्तदान गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सम्मान ग्रहण गरेका थिए । त्यस्तै नेपाली कांग्रेसले मेचीनगरमा आयोजना गरेको स्वास्थ्य महोत्सव समितिलाई दोस्रो उत्कृष्ट रक्तदाता र महेन्द्र बहुमुखी क्याम्पस इलामको युवा रेडक्रस समितिलाई तेस्रो उत्कृष्ट रक्तदाता संस्थाको सम्मान प्रदान गरियो । ती संस्थाबाट क्रमशः १०६ र ९६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद शिवाकोटीले प्राकृतिक विपद र द्वन्द्वका समयमा रेडक्रसले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले मानवीय सेवामा रेडक्रसले पु¥याएको योगदान अनुकरणीय रहेको बताउँदै रेडक्रस अभियानले मानिसलाई सेवामार्गमा लाग्न प्रेरित गरेको जनाए । समारोहका अध्यक्ष रेडक्रस झापाका सभापति लोकराज ढकालले नेपालमा रेडक्रस कानून नहुँदा धेरै समस्या भएको बताउँदै अरु देशमा झैं रेडक्रस कानून बनाएर लागू गर्नुपर्नेमा जोड दिए । रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्ले स्वागत गरेको कार्यक्रममा मन्त्रि कृष्णकुमार मैनालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष बद्रीबहादुर कार्कीले ८७ लाख रुपैयाँको बितेको वर्षको आय–व्यय विवरण प्रस्तुत गरे । उनले रेडक्रसका विभिन्न कोषमा ८६ लाख ५५ हजार ५ सय ६८ रुपैयाँ रहेको जनाउँदै आर्थिक वर्ष २०७३/०७४ का लागि १ करोड २४ लाख ६४ हजार रुपैयाँको बजेट समेत प्रस्तुत गरे । शनिबार नै सम्पन्न बन्दसत्रले मन्त्रि मैनाली र कोषाध्यक्ष कार्कीको प्रतिवेदन पारित गरेको छ । मन्त्रि मैनालीका अनुसार रेडक्रस झापाले लैंगिक तथा सामाजिक समावेशीकरण, विपद तथा संकट व्यवस्थापनका लागि राहत तथा उद्धार सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै एकीकृत विपद उत्थानशील कार्यक्रम, कनकाई नदी तटीय, बाढी उत्थानशील सवलीकरण कार्यक्रम, ट्रेसिङ सेवा, स्वास्थ्य सेवा, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, स्वास्थ्य शिविर, शव वाहन सेवा, सर्पदंश उपचार सेवा, दादुरा रुबेला खोप अभियान, सञ्चार तथा मानवीय मूल्य प्रबद्र्धन, जुनियर तथा युवा रेडक्रस विकास, प्राथमिक उपचार र सडक सुरक्षा सप्ताह रेडक्रस झापाले सञ्चालन गर्दै आएका कार्यक्रम हुन् । २०२५ साल चैत १६ गते स्थापित रेडक्रस झापा शाखा अन्तर्गत हाल १३ वटा समिति, उपसमिति २६ उपशाखा, ६५ यसस्कर सदस्य १२५ विशिष्ट सदस्य, ८१२० आजीवन सदस्य, १४ संस्थागत सदस्य, १४ युवा रेडक्रस सर्कल, ७१ जुनियर रेडक्रस सर्कल र परियोजनासहित ३९ जना कर्मचारी रहेका छन् ।

सप्तरीको मलेठमा मारिएका पाँच जनाको सामूहिक शवयात्रा, शनिबार नै अन्त्यष्टि

राजविराज, फागुन २८ । सप्तरीको मलेठमा प्रहरीको गाली लागी ज्यान गुमाएका पाँच जनाको शनिबार सामूहिक शवयात्रा निकालिएको छ । गत सोमबार एमालेको सप्तरीमा भएको मेची महाकाली अभियानको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको सभा बिथोल्नविथोल्न खोज्दा प्रहरीसँग झडप हुँदा उनीहरुको ज्यान गएको थियो । राजविराजस्थित गजेन्द्रनारायण चोकबाट निस्केको शवयात्रा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भारदह कञ्चनपुर रुपनी हुँदै सिराहको लाहानसम्म जाने र त्यसपछि सप्तरी ल्याएर शनिबार नै अन्त्यष्टि गरिने कार्यक्रम छ । राजविराज घटनामा मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, इनरदेव यादव र वीरेन्द्रकुमार महतोको मृत्यु भएको थियो । शवयात्रामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा लगायत मोर्चाका शीर्ष नेताहरु सहभागी छन् । प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए । त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा अन्य दुईको मृत्यु भएपछि सप्तरी घटनामा मृतकको संख्या ५ पुगेको छ ।