वर्षाले खेल रोकियो

काठमाडौँ, फागुन २८ । आइसीसी वल्र्ड क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदान किर्तीपुरमा नेपालले टस हारेर व्याटिङ गरिरहेको थियो ।

३६ ओभरको खेल हुँदा वर्षाले खेल रोकिएको हो ।

पानी पर्न थालेपछि पिच कभर गरिएको छ। नेपाल ३६ ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११२ रन बनाउँदै खेलिरहेको छ।

भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड र आगजनी

काठमाडौं, फागुन २८ । कञ्चनपुरमा भारतीय सीमा प्रहरीले नेपाली हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकासहित मुलुकभर केही मात्रामा देखिएको छ। आज बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन्। बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन पर्याप्त गुडेका छैनन्। निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यस्तै फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ४०–४४२४ नम्बरको मिनी ट्रकमा शुक्रबार राति तुलसीपुरको रानीघाट खोलामा आगजनी भएको छ । अज्ञात समूह आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विप्लव माओवादीद्वारा भारतीय नम्बर प्लेटको गाडी तोडफोड

काठमाडौं, २८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार विहानै भारतीय गाडीमा तोडफोड गरेका छन् । पार्टीका कार्यकर्ताले काठमाडौंको गोंगबुमा एच पी ६४ ५०६६ नम्बरको भारतीय गाडी तोडफोड गरेका हुन् । कञ्चनपुरको पुर्नवासमा भारतीय भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेर गोली हानी नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले भारतले नेपालमाथि गर्दै आएको हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दूताबासमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

अपर कर्णालीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

काठमाडौँ, फागुन २८ । गैरकानुनी, गैरसंवैधानिक ढंगले माथिल्लो कर्णाली जलविद्युत आयोजना पीडीएको म्याद थपिएको भन्दै खारेजीको माग गरी सर्वोच्चमा मुद्दा दायर भएको छ । कर्णाली जलधार क्षेत्रका जन्मदेवसहित पाँचको तर्फबाट डम्बरबहादुर रावलले आयोजना विकास सम्झौता (पीडीए( सम्बन्धी कार्यहरु राष्ट्रहित विपरित भएको भन्दै खारेजीको मागसहित रिट दायर गरेका हुन् । सरकार र जीएमआरबीच २०७१ असोज ३ गते दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्ने भन्दै पीडीए भएको थियो । दुई वर्षभित्र पनि जिएमआरले वित्तीय व्यवस्थापना गर्न नसकेको तर सरकारले थप एकवर्ष म्याद थपेर गैरकानुनी काम गरेको निवेदकको दाबी छ । ‘दुुई वर्षभित्र जीएमआर कम्पनीले वित्तीय व्यवस्थान गर्न नसकी पुनः एकवर्ष म्याद थपको माग लगानी बोर्डसमक्ष गरेको र लगानी बोर्डबाट एक वर्षे म्याद थप भएको कार्य हामी सरोकारवाला नागरिकहरुको सरोकार, चासो र चिन्ताको विषय भएको र उक्त कार्यले राष्ट्रिय महत्व राख्ने कर्णालीजस्तो व्यापक जनसरोकार र हक–हितमा आघात पारेकोले प्रत्यर्थीहरुबाट भए गरेका उक्त पीडीए सम्बन्धी कार्यहरु राष्ट्रहित विपरित गैरसंवैधानिक एवं गैरकानुनी भई बदरभागी छन् । बदर गरिपाउँ” निवेदनमा उल्लेख छ । शुक्रबार दर्ता भएको रिटमा माथिल्लो कर्णालीजस्तो महत्वपूर्ण आयोजना विद्यमान संविधान, कानुन, जनहित र राष्ट्रहितको भावनाअनुसार स्थानीय जनताको अधिकार संरक्षणको लागि आयोजनाको सर्वेक्षण, अनुमति, सम्झौता, निर्माण, म्याद थपलगायत आयोजनासँग सम्बन्धित सम्पूर्ण कार्य गर्न गराउन सरकारको नाममा परमादेशको माग निवेदकले गरेका छन् । सम्झौताअनुसार दुई वर्षमा लगानी जुटाउन नसकेपछि खारेज गर्नुको साटो म्याद थपेकाले रिट दायर गर्नु परेको निवेदक रावलले बताए । जीएमआरले २०७२ जेठ २२ गते म्याद थपको लागि निवदेन दिएको थियो । निवदेनको आधारमा लगानी बोर्डको २४ औं बैठकले २०७३ पुस २४ गते म्याद थप गरेको थियो । यसअघि पीडीए राष्ट्रहित विपरित भएको भन्दै कर्णाली जलाधार क्षेत्रका ३६ नाकरिकको तर्फबाट डम्बरबहादुर रावलले २०७१ असोज ८ गते दर्ता गरेको रिट निवेदन विचारधिन अवस्थामा छ । सर्वोच्चले रिट निवदेनको पेशी यही फागुन ३० गते विहान १० बजे तोकेको छ ।

२५ वर्षपछि देशभरका गाविस र नगरपालिका विघटन

काठमाडौं, फागुन २७ । सरकारले गाउँ विकास समिति र नगरपालिकाको संरचना भंग घोषणा गरेको छ । नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको घोषणा गरेका हुन्। ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन्,’ उपप्रधान एवम् स्थानीय विकास मन्त्री थापाले भने। मुलुकमा आजबाट औपचारिक रुपमा ७ सय ४४ वटा स्थानीय तह बनेका छन् । सरकारले स्थानिय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदनलाई आज राजपत्रमा प्रकाशित गरेसँगै पुरानो स्थानीय निकायको अस्तित्व समाप्त भई नयाँ तह कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ । काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर २ नम्बर प्रदेशमा कम भएको गुनासोपछि सरकारले तत्कालिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल बनाएर त्यसकै सिफारिसका आधारमा संख्या बढाएको हो । यसअघि मुलुकमा ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए । अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन्। अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन्। गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ । यसअघिनै तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराइसकेका थिए।

गृहमन्त्रीको स्पष्टिकरणः सप्तरीमा बाध्य भएर प्रहरीले गोली चलायो

काठमाडौं, फागुन २७ । गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको राजविराजमा प्रहरीले बाध्य भएर गोली चलाएको बताएका छन् । शुक्रबार व्यवस्थापिका संसदमा जवाफ दिँदै उनले सप्तरीमा विरोधका लागि उत्रिएको जुलुसले कार्यक्रमस्थलको २ सय मिटर नजिक आएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाएको बताए । सरकारले कार्यक्रमस्थल भन्दा टाढै रोक्न कोशिश गर्दा गर्दै विरोधमा उत्रेका आन्दोलनकारीले आक्रमक हुँदै घरेलु हतियार प्रयोग गरी ४८ जना सुरक्षाकर्मी घाइते बनाएको बताए । नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १७ जना सुरक्षाकर्मी घाइते भएका छन्। तत्काल सुरक्षाकर्मीले सबै उपाय अबलम्बन गर्दा पनि सुरक्षा घेरा तोडी कार्यक्रमस्थलमा प्रवेश गर्नसक्ने र त्यसले थप स्थिति तनावपूर्ण हुने अवस्था भएको कारण सुरक्षाकर्मीले गोली चलाएको बताए। सुरक्षा अधिकारीले स्थानीय सुरक्षा ऐन बमोजिम घुँडामुनी गोली चलाउन दिएको आदेश अनुसार चलाएको गोली लागेर एकको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा निधन भएको गृहमन्त्री निधिले जानकारी दिए । फागुन २३ गते सोमबार नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजको सभा विथोल्न संघीय गठबन्धन सहितको मधेसी मोर्चासँगको झडपमा प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो । घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले १० लाख प्रति परिवार क्षतिपूर्ति दिने निर्णय गरेको उनले बताए ।

सांसदहरुले भने-कञ्चनपुरमा नेपाली हत्या गर्ने भारतले माफी माग्नुपर्छ

काठमाडौँ, फागुन २७ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले भारतीय सीमा सुरक्षा बलले गोली हानेर नेपाली मारेको विषयमा तत्काल भारतले माफी माग्नुपर्ने बताएका छन् । सरकारको ध्यानाकर्षण गराउँदै ती सांसदहरुले सार्वभौम मुलुकको भूमिमा प्रवेश गरेर हस्तक्षेप भएकाले भारत सरकारसँग कुटनीतिक माध्यमबाट संवाद गरी समाधान खोज्न माग गरे ।बिहिबार कञ्चनपुरको पुनर्वास वार्ड नम्बर ८ आनन्द बजारमा एसएसबीले हानेको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । बैठकको विशेष र शून्य समयमा बोल्दै सांसदहरुले नेपाल सरकारले भारत सरकारलाई गम्भीर गल्ती गरेकोमा क्षमा माग्ने वातावरण सिर्जना गर्न माग गरे । नेकपा (माओवादी केन्द्र) का अग्नि सापकोटाले नेपाल सानो मुलुक भए पनि यसको आफ्नै स्वाभिमान भएकाले राष्ट्रिय अस्मिताको रक्षामा सरकार पछि हट्न नहुने र भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्ने बताए । उहाँले मृतक गौतमलाई योद्धा घोषणा गर्न पनि माग गरे । नेकपा (एमाले) का युवराज ज्ञवालीले कञ्चनपुर र सप्तरी घटनाबारे सरकारले सदनलाई सत्य तथ्य स्पष्ट पार्न ध्यानाकर्षण गराए । उनले स्थानीय तहको निर्वाचन नगराउन देशमा यस्ता घटना गराइएका त होइनन् भन्ने प्रश्न गरे । सोही पार्टीका केशवप्रसाद बडालले कञ्चनपुर घटनामा भारतीय पक्षले माफी माग्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले सिमानामा बस्ने नागरिक हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताडीत हुनुपरेको विषयमा सरकार मौन बसेको प्रति आपत्ति जनाइन । नेपाली काँग्रेसका तारिणीदत्त चटौत, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापामगर, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चाका मीना पुन, सांसद्हरु रुक्मिणी चौधरी, श्यामकुमार श्रेष्ठ, गीता राणा, तेजुलाल चौधरीलगायतले कञ्चनपुरमा भारतीय प्रहरीको दादागिरीबारेमा सरकारको ध्यानाकर्षण गराए ।

सरकारको आपत्तिपछि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारले टेलिफोन गरे प्रचण्डलाई

काठमाडौँ, फागुन २७ । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली लागि एक नेपालीको ज्यान गएको घटनाप्रति भारतीय सरकारले दुख व्यक्त गरेको छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेका छन् । सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनताप्रति समवेदना प्रकट गरेका छन् । दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् । टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए । प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताए ।

मोर्चाका सांसदहरुद्वारा संसदमा नाराबाजी, रोष्टम घेराऊ

काठमाडौँ, २७ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् । बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ । नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । राईले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो । रासस File Photo

भारतीय विदेश मन्त्रालयद्वारा हत्या गरिएका गौतमको पोष्टमार्टम रिपोर्ट मागियो

काठमाडौं, फागुन २७ । गृहमन्त्री विमलेन्द्र निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पुनर्वास घटनाबारे आपत्ती जनाएपछि भारतीय विदेश मन्त्रालयले यसबारेमा विज्ञप्ती जारी गरेको छ । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनामा विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयले गोली लागेर नेपालीको ज्यान गएको विषयमा एसएसबीसँग सोधपुछ भइरहेको उल्लेख गरिएको छ। विज्ञप्तीमा मृतकको पोष्टमार्टम लगायतका फोरेन्सिक रिर्पोटहरु कूटनीतिक माध्यमबाट आफूलाई पनि उपलब्ध गराउन आग्रह गरेको छ। विज्ञप्तीमा लखिपुर खिरी र कन्चनपुर जिल्लाका स्थानीय अधिकारीहरु विवाद सुल्झाउन वार्तामा बसेको समेत उल्लेख छ ।

एमालेले हेटौडाबाट पुन: राष्ट्रिय अभियान चलाउने, तराईमा स्थगित

काठमाडौं, फागुन २७ । सप्तरी घटनापछि स्थगित गरेको एमालेको मेची– महाकाली राष्ट्रिय अभियान हेटौडाबाट सुरु गर्ने भएको छ । सप्तरीको मलेठमा सभाका क्रममा गत सोमवार भएको झडपमा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । तराईका बिभिन्न २२ जिल्लाका ३५ स्थानमा सभा गर्ने बताएको एमालेले प्रदेश नम्बर दुई अन्तरगत सप्तरी बाहेकका अन्य जिल्लाको कार्यक्रम भने स्थगित गरिसकेको छ । शुक्रबार हेटौडामा दिउँसो एक बजेपछि सुरु हुने सभालाई अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने एमालेले जानएको छ । ब्यवस्थापिका संसद बैठकमा सम्बोधन गरेर एमालेका नेताहरु हेटौडा जाने तयारीमा छन् । सप्तरी घटनाको विरोधमा संघीय मधेस गठबन्धन सहितको मधेसी मोर्चाले आजै नेपाल बन्दको कार्यक्रम राखेका छन् । बन्दकै बीच एमालेको हेटौडामा आमसभा राखिएको छ । एमालेको सभालाई ध्यानमा राखी स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था भने कडा बनाएको छ । सप्तरी घटनाबारे जानकारी दिने उद्देश्यसहित सवै जिल्लामा गर्ने भनिएको अगुवा कार्यकर्ता भेला समेत जारी राख्ने भट्टराईले जानकारी दिए ।

अपडेट : जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने २६ पुगे, २३ को सनाखत (नाम सहित)

जाजरकोट, फागुन २६ । ६२ यात्रु लिएर सदरमुकाम खलंगाबाट पश्चिम खारा बजार जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस जाजरकोटको भेरिमालिका नगरपालिका–४ बोहरागाउँ नजिक दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २६ पुगेको प्रहरीले जनाएको छ । बिहिबार दिउँसो सडकबाट २ सय मिटर तल पासागाड खोलामा खसेर भएको दुर्घटनामा ३० जना गम्भीर घाइते छन् । घाइतेमध्ये २२ जनालाई उपचारका लागि नेपालगञ्ज तथा पाँच जनालाई रुकुमको चौरजहारी अस्पताल लगिएको छ । सामान्य घाइते ६ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । १६ जनाको जाजरकोट अस्पतालमा, एक जनाको चौरजहारी र ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये २३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक अधिकांश जाजरकोटका छन् । जाजरकोटका रामबहादुर बस्नेत, नन्दलाल जैसी, मदन पुन, सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, गणेश बोहरा, नबीन चन्द, शान्ता सुनार र दिलबहादुर बुढा दशेराको दुर्घटनामा मृत्यु भएको हो । यस्तै जिते गामी, आईते गामी, मनीराम जैसी, बहादुर भनारी, दले तिरुवा, हिउँसरा गिरी, गोब्ली सुनार, नैनी दमाई, चैते खत्री, भरत विसी र हरिबहादुर शाहीको खनाखत भएको छ । दुर्घटनामा सल्यान सुइकोटका उदय बुढा र रुकुम चौरजहारी–२ का कृष्ण गिरीको पनि मृत्यु भएको छ । मृतक ३ जनाको भने खनाखत हुन सकेको छैन ।

गौतमको हत्या बिरोधमा सुदुरपश्चिमभर प्रर्दशन, भन्सार कार्यालयको ब्यारियर तोडियो

कञ्चनपुर, फागुन २७ । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)को गोली लागी एक नेपालीको मृत्यु भएको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर प्रदर्शन सुरु भएको छ । भारतीय अातङ्क र हत्याको बिरोधमा  कैलालीस्थित नेपाल भारत सिमा क्षेत्र गौरीफन्टामा  माओवादि केन्द्र र नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल क्म्युनिष्ट पार्टी र अन्य सर्वसाधारण बिरोध प्रर्दशनमा उत्रेका हुन् । करिब ५ सय को संख्यामा रहेका प्रर्दशनकारीले सिमा क्षेत्रमा रहेको भन्सार कार्यालयको ब्यारियर तोडेका छन् । भारतीय सिमा प्रवेश गर्न खोज्दा प्रर्दशनकारी र नेपाल प्रहरीबिच सामान्य झडप भएको छ । उनीहरुलाई प्रहरीले सिमा क्षेत्रमै रोकेको छ । हत्याको बिरोधमा महेन्द्रनगरमा समेत प्रर्दशन भएको छ । उनीहरुले भारतीय ज्यादतीबिरुद्ध नाराबाजी गर्दै महेन्द्रनगर, घटनास्थल पुनर्वास लगायत क्षेत्रमा प्रर्दशन जारी राखेका छन् । सीमा क्षेत्रबाट ५ सय मिटर भित्र नेपाली भुभागमा निर्माण गरिएको कल्र्भटका बिषयमा भारतीय पक्षसँग विवाद हुँदा हिजो एसएसबीले चलाएको गोली लागि स्थानीय गोबिन्द गौतमको मृत्यु भएको थियो । एसएसबीको गोलीले ज्यान गुमाएका गौतमको शवयात्रा गर्ने तयारी भएपनि सम्भावित झडपलाई ध्यानमा राखी प्रहरीले शव आफन्तलाई दिएको छैन् । स्थानीय प्रशासनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रमा ससस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ भने मुख्य चोकमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मनोजप्रसाद खनालले बताए ।

नेता पौडेल भने– स्थानीय तह निर्वाचनको वातावरण बनेन

चितवन,फागुन २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताउनुभएको छ । जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताउनुभयो । उहाँले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउनुहुँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ ।” समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कतै यो पुस्ता नै राजनीतिमा असफल त हुँदैन भन्ने डर बढेको छ ।” निर्वाचनबाट मधेसी मोर्चालाई बाहिर राख्न नहुने बताउँदै उहाँले संविधान जारी गर्दा मोर्चा बाहिर भएका कारण अहिले समस्या देखिएको बताउनुभयो । हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउनुहुँदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताउनुभयो । “यसले नै राष्ट्रिय एकता कायम गर्छ” पौडेलले भन्नुभयो । सप्तरी घटना दुःखद् भएको बताउँदै वरिष्ठ नेता पौडेलले घटनाले मधेसी मोर्चाको माग सम्बोधन नभएको र कुनै पनि दल कुनै पनि कार्यक्रम लिएर तराई जान नसक्ने वातावरण बन्नुले निर्वाचनलाई बाधा पुगेको बताउनुभयो । कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, रामचन्द्र पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पुस्तकका लेखक कृष्णलाल सापकोटा लगायतले बोल्नुभएको थियो । पुस्तकमा सापकोटाको राजनीतिक, सामाजिक जीवन र आन्दोलनका बारेमा चर्चा गरिएको छ । कार्यक्रम महासंघका सभापति कृष्णप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

मनाङमा हिमपात

मनाङ, फागुन २५ । मनाङमा फागुनको अन्तिम साता सुरु भइसक्दा पनि हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा अझै चिसो र जीवन कष्टकर बनेको छ । मनाङ जिल्लाको मनाङ गाउँ यतिखेर पूरै हिउँले सेताम्मे भएको छ । वसन्त ऋतु विस्तारै बढ्दै गइरहे पनि मङ्गलबारदेखि परेको हिउँले यहाँको जनजीवनमा असर परेको छ । हिमपातसँगै पानी पर्ने सम्भावनासमेत बढेको छ । हिमपातसँगै परेको पानीले झन् मनाङवासीका साथै अन्नपूर्ण पदमार्गमा बढी असर गरेको छ । रासस

सप्तरी घटनाका मृतकलाई दश लाख, घाइतेको खर्च सरकारले व्यहोर्ने

फागुन २५, काठमाडौं । सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई दश लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ । घटनामा मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।