यथास्थितिमा निर्वाचनमा जान सकिँदैन: नेता महतो
चितवन, चैत ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताउनुभयो ।
आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताउनुभयो ।
सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उहाँले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउनुभयो । उहाँले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताउनुभयो । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताउनुभयो ।
नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उहाँले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उहाँले त्यसको प्रतिवादमा जनता आएको बताउनुभयो । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उहाँले आरोप लगाउनुभयो ।
११ महिनादेखि साउदीको जेलमा नेपाली युवा, जीवन रक्षाको लागि सरकारसंग अपिल
इलाम, चैत ३ । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिनुभयो । कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रबहादुरले बताउनुभयो । सन् २०१२ मा साउदी गएका राई सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गई गाडी चलाउन थालेका थिए । अल सहलावी कम्पनीमा काम गर्दै आएका राईले लहरी (गाडी)मा केवल तार लिएर जाँदा कम्पनीबाट १० किलोमिटर टाढा साथीको कोठामा निस्किएका बेला गाडीसहित सामान चोरी भएको थियो । उनले चोरी लगत्तै कम्पनी र प्रहरीलाई जानकारीसमेत दिएका थिए । चोरी भएको दुई दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा लहरी भेटिए पनि केवलको तार नभेटिएको चक्रबहादुरले जानकारी गराउनुभयो । सोही आरोपमा प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो । सो भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ गरी तीन लाख दस हजार रियाल जरिवाना सुनाई हालसम्म कारागारमा राखिएकाले दैनिक शारीरिक र मानसिक पीडा सहेर बस्नुपरेको प्रेमका दाजु चक्रले दुखेसो पोख्नुभयो । राजदूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको भनाइ छ । क्राउन इम्प्लोयमेन्ट प्रालि काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङमा साउदी गएका थिए । उनलाई राजकुमार नामका एजेन्टले विदेश पठाएको हुँदा उनीमार्फत कम्पनीमा निर्दोष रहेको प्रमाणित गराउन सहयोगको अपेक्षा गर्दासमेत सहयोग नपाएको चक्रबहादुर गुनासो गर्छन् । रासस –––––––
सप्तरीका एलडिओसँग स्पष्टीकरण माग
काठमाडौँ, चैत २ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै आज सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताउनुभयो । मन्त्रालयले गत फागुन २४ गते सबै स्थानीय विकास अधिकारीलाई स्थानीय तहको कार्यान्वयनमा सहजीकरण गर्न आफू कार्यरत जिल्ला÷कार्यालय नछाड्न तथा बिदा÷काजमा भएको भए यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन दिँदै स्थानीय तह कार्यान्वयन नहुँदासम्म बिदा÷काज स्वीकृत नहुने जनाएको थियो । “मन्त्रालयले दिएको निर्देशन पालना नगरी लामो समयदेखि हालसम्म के कति कारणले आफू कार्यरत कार्यालय छाडी गैरहाजिर हुनुभएको हो, तपाईंलाई निजामती सेवा ऐन, २०४९ (संशोधनसहित)को दफा ६० को (क) र (घ) मा उल्लेखित अभियोगमा ऐनको दफा ५९ को (क) २ बमोजिम विभागीय सजाय किन नगर्ने, सोको चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ”, जारी सूचनामा भनिएको छ । रासस
मोर्चासँग प्रधानमन्त्रीको यस्तो आग्रह
काठमाडौं, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गरेका छन् । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संबिधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सिमाङ्कनको विषय प्रदेश र केन्द्रको चुनाव अगाडि नै आयोगमार्फत् टुंग्याउने गरी अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गरेका थिए । मधेशी मोर्चाका नेताहरुले मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको प्रस्तावका विषयमा छलफल गरी औपाचारिक जवाफ दिने बताएका छन् ।
आरआर क्याम्पसमा स्ववियु चुनाव गराउन सर्वोच्चको आदेश
काठमाडौं, चैत २ । सर्वोच्च अदालतले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउन निर्देशन दिएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआरका उम्मेदवार टपेन्द्रबहादुर शाहीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आरआरमा चुनाव गराउन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिएको हो । फागुन १८ गतेका लागि तोकिएको चुनाव हुन नसेपछि क्याम्पस प्रशासनले २३ गते चुनाव गर्ने तयारी गरे पनि सुरक्षाकर्मीको अवरोधका कारण चुनाव हुन नसकेपछि शाहीले मुद्दा दायर गरेका थिए । सर्वोच्चले फागुन २३ गते चुनाव हुन नसक्नुको कारण पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको छ ।
प्रधानमन्त्रीले भने, ‘लोडसेडिङ्ग अन्त्य, उज्यालो यूगको सुरुआत हो’
काठमाडौ, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ्ग अन्त्य अँध्यारो यूगको अन्त्य भई उज्यालो यूगको सुरुआतको प्रतिक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘लोडसेडिङको अन्त्य नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुआत हो ।’ नेपाल औषधी विक्री प्रवन्धक संघको सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो प्रतिकात्मक रुपमा अँध्यारो यूगबाट उज्यालोमा लैजाने यूगको सुरुआत हो ।’ उनले थपे, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो ।’ प्रधानन्त्री प्रचण्डले देशमा चौविसै घण्टा विद्युत उपलब्ध गराउन कठोर निर्णय गरेको भन्दै नेपालमा औषधी विक्रेताहरुको संस्था नेपाल औषधी विक्री प्रवन्धक संघले उनलाई सम्मान गरेको हो । यो सम्मानबाट सरकारलाई अझ गम्भिर रुपले काम गर्न जिम्मेवारी दिएको चुनौतीका रुपमा आफूले लिएको प्रधानमन्त्री दाहालले बताए । ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुआत हो, अझ धेरै गर्न बाँकी छ’ ‘प्रचण्ड’ले भने । अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधीहरु सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए ।
साझामा ‘स्मार्ट ट्राभल कार्ड’को प्रयोग, अब मेसिनले नै भाडा उठाउने
काठमाडौ, चैत २ । लामो समयको परीक्षणपछि साझा यातायात आफ्नो बसमा ‘स्मार्ट ट्राभल कार्ड’ व्यवस्था गरेको छ । लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट उक्त ‘स्मार्ट ट्राभल कार्ड’को प्रयोग सुरु गरेको हो । बसको ढोकामा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान गरिएको र अब यात्रुहरुसँग उक्त मेसिनले नै भाडा उठाउने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएका छन् । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको र अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । सर्वसाधारणका लागि अब स्मार्ट कार्डबाटै भाडा तिर्न सक्ने पाण्डेयले बताए । सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिने उनले बताए । बस चढ्दा यो कार्ड पछिल्लो ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ । यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ ।
प्रधानमन्त्री ‘प्रचण्ड’सँग स्विस राजदूतको भेट
काठमाडौँ, चैत २। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिनुभएको छ । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गर्नुभयोे । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राख्नुभयो । उहाँले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गर्नुभयो । रासस
मधेसी मोर्चामा फूट, फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं, चैत्र २ । मधेसी मोर्चाभित्र स्पष्ट विभाजन देखिएको छ । यसअघि स्थानीय निर्वाचनको बिरोधमा नयाँ शक्तिसँग संयुक्त विज्ञप्ती जारी गरेको संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मोर्चाभित्र फूट देखिएको हो । मोर्चाका अन्य घटकले भने समर्थन फिर्ताबारे कुनै औपचारिक निर्णय गरेका छैनन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाललाई भारतीय जासुसी संस्था र ले सरकार ढाल्न प्रयोग गरेको खुलासासहितका समाचार यसअघि प्रकाशित भएका थिए । मोर्चाले यसअघि सात दिने अल्टिमेटम दिएको थियो । मंगलबार भने फोरमले सरकारलाई समर्थन नदिने तर समर्थन फिर्ताको पत्र पनि नपठाउने जनाएको थियो । मोर्चाका अन्य घटकसँग असहमति राख्दै फोरमले भने सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुख ओनसरी घर्ती मगरलाई बुझाएको छ । फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका हुन । १५ जना सांसद रहेको संघीय समाजवादी फोरमले संविधान संशोधन नगरी चुनाव गर्न नहुने अडान राखेको छ । अन्य मोर्चा घटकले भने सीमांकनलाई थाती राखेर संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव सकारात्मक रहेको बताएका थिए । मोर्चाले यी विषयमा थप छलफल गरी औपचारिक निर्णय गर्न आज बैठक डाकेको छ ।
ज्योतिषीले गरे भविष्यवाणीः संविधान कार्यान्वयन हुँदैन
काठमाडौं, चैत्र २ । ज्यो.दीपक सुवेदीले संविधान कार्यान्वयन नहुने बताएका छन् । बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने उनले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आम सर्वसाधारणको ध्यानाकर्षण गरेका छन् । नयाँ वर्ष २०७४ को सन्दर्भमा उनले नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभीको लागि दिएको अन्तर्वार्तामा सो कुरा व्यक्त गरेका छन् । अन्तर्वार्तामा बडो गम्भिरताका साथमा देशको बारेमा उनले अझै केही कठिनाई आइपर्न सक्ने कुराको संकेत गरेका छन् । नेपालको नयाँ संविधान निकै नराम्रो समयमा घोषणा भएको हुनाले सो संविधान कार्यान्वयन हुन नसक्ने कुरा बताएका छन् र सो संविधानलाई आधार मानेर गरिने कार्यहरू प्रभावित हुने उनको भनाई छ । स्थानीय निकायको निर्वाचन, राज्य पुनःसंरचना आदिको प्रकृया चलिरहेको यस अवस्थामा उनको भविष्यवाणीले मान्छेहरुको ध्यान खिच्नु स्वभाविक पनि हो । अन्तर्वातामा स्थानीय निर्वाचनलगायत भविष्यको बारेमा सोधिएको प्रश्नको उत्तरमा उनले घुमाउरो पाराल निर्वाचन गर्न अथवा संविधानको कार्यान्वयन हुन असम्भव हुने ठोकुवा गरेका छन् । राजसंस्था पुनः फर्कने भन्ने हल्लाको बारेमा सोधिएको प्रश्नको उत्तरमा समेत उनको तर्क स्वभाविक जस्तो रहेको छ । संविधानको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्ने देखिन्छ भने त्यस्तै अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ । तसर्थ हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तै शेभलेण्डिङ्ग गराउन प्रार्थना गरौं । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गर्नुपर्छ । सकारात्मक भावनाले रहनुपर्छ उनको भनाई छ । सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेका छन् । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्दै आएका छन् । २०७३ को पहिलो दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको सुवेदीले बताएका थिए । लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरे र लगत्तै उनी प्रधानमन्त्री पनि भए । २०६२÷६३ को आन्दोलन पछि भएको शान्तिसम्झौता नै गलत समयमा भएको उनको भनाई छ । त्यही कारणले पहिलो संविधानसभाले संविधान नदिई अवसान हुनपरेको सुवेदी बताउँछन् । ज्यो. सुवेदीले राजा वीरेन्द्रको मृत्युको बारेमा दिव्यज्ञान पत्रिकामा २०५८ सालको वार्षिक भविष्यफल लेख्नेक्रममा लेखेका थिए । त्यो समयमा राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिमको कुरा हुन्थ्यो । ज्यो. सुवेदीले सानै उमेरमा गरेको त्यो भविष्यवाणी मिलेपछि राम्रो प्रख्याति पनि कमाएका हुन् । त्यसो त संविधान घोषणा भएपछि पनि उनले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्रलाई उपलब्ध गराउने गरेका छन् । यहाँले ज्यो. दीपक सुवेदीको अन्तर्वार्ताको भिडियो जस्ताको तस्तै हेर्न सक्नु हुनेछ । युट्युब लिंक छ –
स्ववियु निर्वाचनले माओवादी आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको छ: अखिल क्रान्तिकारी
ललितपुर, २ चैत्र । त्रिभुवन विश्वविद्यालयमा हालै भएको स्ववियु निर्वाचनको परिणामले माओवादी आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरुले बताएका छन् । आज लुभुस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा आयोजित स्वागत कार्यक्रममा वोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने– ‘यसपटकको स्ववियु निर्वाचनले माओवादी पुनर्जागरणको नयाँ अध्यायको थालनी गरेको छ।’ कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव एवं ३ नं.प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे । बस्नेतले देशका हजारौं विद्यार्थीवाट छानिएका अब्वल विद्यार्थी पढ्ने इन्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली, सानोठिमी लगायतका प्रमुख क्याम्पसमा जित्न सफल भएको चर्चा गर्दै क्रान्तिकारीको जीत माउ पार्टीका लागि प्रेरणादायी रहेको दावी गरे। कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव एवं ३ नं.प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे । त्यस्तै पुवाञ्चल विश्वविद्यालयका संयोजक गोपाल कार्कीले समग्र पुर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारी पहिलो संगठन रहेको दावी गरे। सोही कार्यक्रमबाट आगामी कार्याकालका लागि सजु शिवाकोटीको नेतृत्वमा ४५ सदस्यीय नयाँ इकाई समिति निर्वाचित भएको कलेज इन्चार्ज उज्वल अधिकारीले बताए ।
प्रधानमन्त्री दाहालले सीमांकन बाहेकका संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह
काठमाडौं, चैत्र २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमांकन बाहेकका संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेको छ । बुधबार बिहान मोर्चा र प्रधानमन्त्रीबीच भएको बैठकमा प्रधानमन्त्रीले सीमांकनबाहेकका बुँदा पारित गर्ने र त्यसलाई मानेर निर्वाचनमा जान मोर्चालाई आग्रह गरेका हुन् । बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनबाहेकका विषयमा संशोधन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनमा सहभागी हुन मार्चालाई आग्रह गरेको जानकारी दिए । उनले मोर्चाको तर्फबाट बैठक बसेर मात्रै औपचारिक जवाफ दिने प्रधानमन्त्री दाहाल बताएका थिए । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिनसमेत आग्रह गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने–नगर्ने, आगामी आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने र प्रधानमन्त्री दाहालसँग आज बिहान शीर्षनेताहरुले गरेको छलफलका विषयमा मोर्चाको बैठक बस्दैछ । मोर्चाको बैठक अहिले १ बजेका लागि तमलोपाको कार्यालय बिजुलीबजारमा बोलाइएको छ । सप्तरीमा एमालेको मेची महाकाली अभियानमा अवरोध पुर्याउन खोज्ने मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो । सरकारले दमनकारी नीति लिएको र आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको सात दिनको अल्टिमेटम थियो । संविधान संशोधन प्रस्ताव पारित लगायतका आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने बताउँदै मोर्चा दिएको अल्टिमेटम मंगलबार सकिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएसँग सर्वसाधारणमा उत्साह
काठमाडौं, चैत २ । स्थानीय तह कार्यान्वयनमा आएसँगै सर्वसाधारणमा उत्साह छ । तह कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनेमा आशावादी देखिए । जिल्ला समन्वय समितिले २ नगर र १० गाउँपालिकाका लागि सोमबार कार्यकारी अधिकृत नियुक्ति गरेसँगै मंगलबारदेखि सबै कार्यालय सञ्चालनमा आएका छन् । सबै गाउँ र नगरपालिकाको बोर्ड फेरिएको छ । सबै नगर र गाउँपालिकामा कर्मचारी पुगेका छन् । ‘आज कार्यालय उद्घाटन गरियो,’ सबैभन्दा दुर्गम मानिएको कालीगण्डकी गाउँपालिका प्रमुख शिवहरि मरासिनीले भने, ‘अब कार्यालयको थप व्यवस्थापनका काम क्रमशः गर्छौं ।’ भुर्तुङ, खड्गकोट, फोक्सिङ, पूर्तिघाट, जयखानी, अर्बेनी र हर्मिचौरका सर्वसाधारणले सेवा लिने गाउँपालिकाको केन्द्र रहने पूर्तिघाट पूर्वाधारमा भने कमजोर छ । २ नगर र १० गाउँपालिकामध्ये मुसिकोट नगरपालिका सबैभन्दा ठूलो बनेको छ । ९ वडा रहेको मुसिकोटमा ३२ हजार ८ सय २ जनसंख्या छ । त्यस्तै रेसुंगा नगरपालिकाको वार्ड नं.१३ सबै भन्दा कम ९ सय १६ जनाको वडा बनेको छ । रेसुङगाकै वडा नं.५ मा पनि १ हजार ६ सय ६० मात्र जनसंख्या छ । जिल्लामा केन्द्र माग गर्दै झन्डै एक साता आन्दोलन गरेका तुराङ, आँपचौर र रूपाकोटका सर्वसाधारणलाई आयोगले तुराङ र रूपाकोटलाई चन्द्रकोट गाउँपालिका र आँपचौरलाई मुसिकोट नगरपालिकामा गाभेको छ । भौगोलिक बनावट मिलेको भए पनि पूर्वाधार र विकासमा अगाडि रहेको तुराङको मजुवामा केन्द्र हुनुपर्ने स्थानीयको माग थियो । जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले जिल्लाका सबै नगर र गाउँपालिकामा मंगलबारदेखि नै कार्यालय स्थापना भइसकेको बताइन् ।
ऊर्जामन्त्री शर्मा सम्मानित
काठमाडौँ, चैत २ । मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो । सङ्गठनका काठमाडौँ अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो । सो अवसरमा ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो । जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो – “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।” मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै सङ्गठनले आजै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ । विद्युत्भार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस
प्रधानमन्त्री प्रचण्ड चीन जाँदै
काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणका लागि जाने भएका छन् । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरी नेपालको रेलमार्ग तथा पारवहनलगायतका महत्वपूर्ण विषयमा सम्झौता हुने बताइएको छ । त्यस्तै भ्रमणकै क्रममा देशको दीर्घकालिन हितका लागि पनि कुरा हुने बताइएको छ । नेपालस्थित चिनियाँ दूताबासले प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएको हाे । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।
प्रधानमन्त्रीले भने : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने हाे
काठमाडौ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ शक्ति पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विगत लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत दर्ज गरेर यसलाई जनताका बीचमा राखेको प्रष्ट पार्दै आगामी दिनमा पनि यो मुद्धालाई अगाडि बढाउने बताएका छन् । प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै आगामी निर्वाचनमा यो मुद्धालाई जनताबीच लानुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह गरेका छन् । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग नेपालको १० लाख जनताको हस्ताक्षरसहितको उक्त ज्ञापनपत्र बुझाएको थियो ।

