आक्रमण उत्रियो मोर्चा, कतै कालोझण्डा, कतै तालाबन्दी र तोडफोड
लहान, चैत ४। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन् । स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन् ।
सिरहामा ११ गाउँपालिका र ६ नगरपालिकामध्ये अधिकांश कार्यालयमा मोर्चा कार्यकर्ताले तोडफोड गरी साइनबोर्ड हटाइदिएका छन् ।
जिल्ला विकाश समितिबाट रुपान्तरित जिल्ला समन्वय समिति सिरहाको कार्यालयमा पनि मोर्चा कार्यकर्ताले तालाबन्दी गरिदिएका छन् ।
यसैगरी लहान नगरपालिका र सिरहा नगरपालिका कार्यालय तथा सखुवाननकारकट्टी, लक्ष्मीपुरपतार, बलगावा, नवराजपुर गाउँपालिका तथा धनगडिमाई नगरपालिकामा मोर्चाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।
सरकारले स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरी कार्यालय प्रमुखहरुलाई नियुक्त गरे पनि मोर्चा कार्यकर्ताले कामकाज ठप्प पारेका छन् । सरकारको समर्थन फिर्ता लिएको मोर्चाले स्थानीय तह कार्यान्वयनमा अवरोध पुर्याउने निर्णय गरेपछि प्रदेश २ का जिल्लाहरुमा अवरोध भएको छ ।
यता, सिरहाको सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा स्थानीयवासी झाडु बाकेर सडकमा उत्रिएका छन् । साविक सुखीपुर नगरपालिका बचाउ सघर्ष समितिले बिहीबार झाडु सहित प्रदर्शन गरेको छ ।
२०७२ असार १ गते मन्त्री परिषद्को निर्णय अनुरुप विभिन्न ७ वटा गाविसहरु समायोजन गरी नगरपालिका घोषणा गरेको थियो । हाल मन्त्री परिषद्को निर्णयअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाइएको छ । मोर्चाका कार्यकर्ताले विहीबार सप्तरीको जिल्ला समन्वय परिषद्मा तालाबन्दी गरिदिएका थिए ।
एमाले र मधेसवादी दललाई राष्ट्रिय सरकारमा आउन सञ्चारमन्त्रीको आब्ह्वान
भक्तपुर, फागुन ४ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया कार्याक्रममा उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै एमालेसहित मधेसवादी दललाई सरकारमा आउन आग्रह गरेका हुन् । उनले भने- ‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’ मन्त्री कार्कीले एमाले र मधेशवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन हुने बताए । अहिले प्रतिपक्षमा रहेको एमालेले राष्ट्रवादको टिका लगाएर चुनाव जित्ने रणनीतिमा लागेकोमा उनले असन्तुष्टि जनाए । “एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु,” उनले भने । मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँगको ‘कनेक्सन’ नटुटेको बताए । मन्त्री र्काीले भने– “सरकारसँग मधेसी मोर्चाको संवाद, छलफल टुटेको छैन, संवाद अन्त्य भएको पनि छैन, मधेसवादी दल पनि निर्वाचनमा आउनुको विकल्प छैन, आउनुहुन्छ ।” मधेसवादी दललाई चुनाव जितेर आफूले चाहेजस्तो संविधान बनाउन मन्त्री कार्कीले सुझाव दिए । अनावश्यक माग राखेर संविधानबारे अनवश्यक हल्ला फैलाइएकोमा मन्त्रीले असन्तुष्टि जनाए । “नेताहरुले यति लाख जनताको माग भन्दै ‘इमोस्नल वार्गेनिङ’ गर्दै आएका छन्, त्यसरी होइन, यो जिउँदो संविधान हो, संशोधन गर्न सकिन्छ,’ उनले भने– जनताको अभिमत जितेर संसद्बाटै आफूले भनेजस्तै गरी संविधान संशोधन गर्नुस् ।” मन्त्री कार्कीले गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै सिंहदरबार वरिपरि रहेका नेता गाउँ गाउँ पुगेको बताए ।“निर्वाचन हुन्न कि भनेर शङ्का नगर्नुस्, सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँ÷गाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ,” उनले भने । अर्काे प्रसङ्गमा मन्त्री कार्कीले मन्त्रीपरिषदबाट एनसेललाई कर छुट दिने निर्णय नभएको स्पष्ट पारे । मोफसलमा रहेका साना लगानीका पत्रपत्रिकालाई न्यूनतम पारिश्रमिक दिनसक्ने बनाउन सरकारले आवश्यक सुविधा दिन पहल गरेको र न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएका ठूला मिडियामा भने कडाइका साथ यसलाई लागू गर्ने उनले बताए ।
स्थानीय तह चुनावलाई शनिबारदेखि मतपत्र छापिने, कर्णेलको नेतृत्वमा सुरक्षा प्रवन्ध
काठमाडौं, चैत ४ । स्थानीय तहको चुनावको लागि लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबारबाट सुरु हुने भएको छ। छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारबाट मतपत्र छाप्न सुरु गर्ने जनाएको छ। मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए । मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको चुनावको लागि १ करोड ६० लाख प्रति मतपत्र छाप्ने तयारी भएको बताए । एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए । सरकारले घोषणा गरेर कार्यान्वयनमा ल्याएको ७४४ स्थानीय तहमा बैशाख ३१ गते चुनाव हुने भएको हो । एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने र उक्त संख्याको कागज आफूसँग स्टकमा रहेकाले कागजका लागि चिन्ता नभएको केन्द्रका निर्देशक पोख्रेलले बताए । यसपटक आधा फिटदेखि तीन फिटसम्म लम्बाइ हुने विभिन्न प्रकारका मतपत्र चाहिने छ। दलहरूको संख्याका आधारमा जिल्लाहरूलाई अहिले ६ किसिमका मतपत्र छाप्ने तयरी भइरहेको आयोगका प्रवक्ता शर्माले बताए । सबैभन्दा कम दल दर्ता भएको मनाङका लागि सबैभन्दा छोटो मतपत्र छापिने छ भने सबैभन्दा धेरै दल दर्ता भएको काठमाडौंका लागि सबैभन्दा लामो मतपत्र बन्ने छ । एउटा समूहमा परेका जिल्लामा एकै प्रकारको मतपत्र पठाउने आयोगको तयारी छ। त्यसैले, यसपालिको चुनावमा कतिपय गाउँपालिका वा नगरपालिकामा उम्मेदवार नभए पनि चुनाव चिन्ह हुनसक्ने आयोगका प्रवक्ता शर्मा बताउँछन् । दलको संख्याका आधारमा जिल्लाहरूको समूह बनाएर मतपत्र पठाउने हुँदा केही स्थानमा उम्मेदवार नभए पनि मतपत्रमा चुनाव चिन्ह भने हुनसक्ने उनले बताए । स्केच सौजन्य : अनलाइनखबर
अझै नियन्त्रणमा आएन म्याजिक चप्पल उद्योगको आगलागी
मोरङ, चैत ४ । मोरङको म्याजिक चप्पल उद्योगको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मोरङको टंकिसिनबारीस्थित जयश्री पियुटेक उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो निभाउने प्रयास जारी भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्नका लागि विराटनगर, दमक, इटहरी, धरान, इनरुवा, राजविराज लगायत नगरपालिकाका दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आउन कठिन भएकाले उद्योग आसपासका क्षेत्राका बासिन्दा र अन्य उद्योगमा सतर्कता अपनाउन थालिएको छ । आगो फैलिएर थप क्षति नहोस् भनेर सतर्क गराइएको प्रहरीको भनाइ छ । उद्योग परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मर विष्फोट भएकाले त्यही कारण आगलागी सुरु भएको अनुमान गरिएको छ । म्याजिक चप्पल र जुत्ताको उत्पादक सो उद्योग सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा पर्छ । मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दालगायत बिहानैदेखि सक्रिय छन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्लाका १० वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगोले उद्योगका कच्चपदार्थ र तयारी सामान जलेको छ । क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट, निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी
काठमाडौँ, चैत ४। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो । आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो – “वैशाख ३१ मा हुने महाअभियानमा सबैको सहभागिता होस् भन्ने निर्वाचन आयोगको चाहना हो ।” प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्दछ भन्नुभयो । “संसद्मा भएका राजनीतिक दल तथा नभएका दल सबै निर्वाचनमा भाग लिन चाहेका छन्, त्यसका लागि सहकार्य गरेर अगाडि जानुपर्छ,” उहाँले भन्नुभयो – निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ । आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई विश्वस्त पार्नुभएको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनुभएको जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उहाँले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताउनुभयो । रासस
स्थानीय चुनावको लागि कतारबाट माओवादी समर्थक युवा नेपाल फर्कन सुरु
होम बस्नेत, दोहा/कतार, चैत ४ । सरकारले १९ बर्ष पछि ३१ बैशाखमा स्थानीय तहको चुनाव गर्ने भएपछि कतारमा रहेका नेपालीहरु उत्साहित हुँदै नेपाल फर्किन सुरु गरेका छ्न । बिदेशमा विभिन्न क्षेत्र रोड, निर्माण ,घर, हस्पिटल, स्टुडियम, मेट्रोरेल, होटल, सुपरमार्केट ,फ्याक्ट्रीमा काम गर्ने युवाहरु अहिले फुर्सदको समयमा चुनाव लक्षित गर्दै आफु समर्थित पार्टीलाई सहयोग गर्न सक्रिय हुन थालेका छन् । माओवादी सरकारले देशमा परिवर्तनकारी काम गरिरहेको तर त्यसको प्रचार हुन नसकेको महसुस गर्दै देशमै केही गर्न नेपाली युवा विदेशबाट नेपाल फर्कने सोच बनाउन थालेको नेपाली जनप्रगतिशिल मन्चका सल्लाहकार मोहन कार्कीले बताए । माओवादी समर्थक कार्यकर्ता बढी बैदेशिक रोजगारमा गएका र स्थानीय तहको चुनावले देशमा केही परिवर्तन हुने विश्वास लिएर नेपाल फर्कन युवाहरु उत्साहित भएको पनि उनले बताए । उनी हालै नेपाल फर्किसकेका छ्न । उनी जस्तै कतार बाट धेरै फर्की सकेका र अन्य फर्किने प्रक्रिया रहेको माओवादी पार्टीका गल्फ उप समयोजक शनि कुमार ओलिले बताए । स्थानीय तहको चुनावको लागि भनेर बिदेशबाट फर्किएका युवाहरुलाइ जिल्ला कमिटी देखि गाउँकमिटी सम्म महत्वपुर्ण जिम्मेवारी दिनुपर्ने माग युवाहरुले राखेका छन् । युवाहरुले विदेशमा सिकेको सिप र क्षमता गाउँपालिका र नगरपालिकामा देखाउने बताएका छन् । स्थानीय हतमा आफ्नो पार्टीलाई जिताउन बिदेशबाट आर्थिक चलखेल बढेको छ । कतारमा रहेका व्यावसायिकले आफ्नो पार्टीलाई जिताउन स्थानीय तहका मतदातालाइ आर्थिक सहयोग गरि आफ्नो पार्टीमा भोट हाल्न पैसा पठाउन थालिएको नाम नबताउने सर्तमा एमालेका एक समर्थकले बताए । आफुले इच्छाएको ब्याक्तीले जित्नु पर्ने भन्दै पैसा उठाउदै नेपाल पठाउन लागिएको उनले बताए ।
यी हुन गाउँपालिका खटाइएका ४ सय ८१ अधिकृत (नामावलीसहित)
काठमाडौं, चैत ४ । चुनावको तयारीसँगै हरेक गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको छ । स्थानीय विकास मन्त्रालयले देशैभरी गाउँपालिकामा कार्यकारी अधिकृत खताउँदै चुनावको तयारी तीब्र पार्न निर्देशन दिएको छ । नवगठित अधिकृतहरुले गाउँपालिकाको सम्पूर्ण कार्यक्रहरुलाई अघि बढाउन र चुनावका लागि आवश्यक तयारी गर्ने छन् । को को छन् त खटिएका अधिकृतहरु यो लिंकमा क्लिक गरेर हेर्नुस् । Local level.pdf
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण राजकीय हुने !
काठमाडौं, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण राजकीय हुने भएको छ । उनलाई बेइजिङमा राष्ट्रपति सी जिनपिङसँगको भेटघाटमा रेड कार्पेट ओछ्याइने भएको हो । उनले बेइजिङमा उच्चस्तरको भेटघाट गरेपछि मात्र बोआओ फोरममा सहभागी गराउने गरी तयारी अघि बढेको परराष्ट्र स्रोतले बतायो । चैत १० मा दाहाल चीन जानेगरी प्रक्रिया अघि बढेको छ । उनी सुरुमा बेइजिङ पुग्नेछन् त्यहाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेर वोआओ फोरम आउने तयारी छ । यसअघि वोआओबाट त्यसतर्फ जाने भनिएको थियो । बेइजिङमा राजनीतिक वार्ता गरेर मात्र वोआओ फोरममा आउने भएपछि त्यहीअनुरूप मिलाइने भएको हो । प्रचण्डको भ्रमणलाई लिएर चिनियाँ राजदूत यू होङले सहितको टोलीले परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग बिहीबार भेटेर तयारीबारे छलफल समेत गरेकी थिइन् । परराष्ट्र सचिव र अर्थ सचिवस्तरीय बैठक नभएको अवस्थामा बिनातयारी दुईपक्षीय भ्रमण हुन लागेको भन्दै प्रधानमन्त्रीले यसलाई बढी राजनीतिक भ्रमणको रूपमा उपयोग गर्ने अवस्थामा भ्रमणलाई चीनले राजकीय बनाउन लागेको हो । गत वर्ष भएका सम्झौतालाई कुन रूपमा अघि बढाउने भन्ने विषयमा अन्तरमन्त्रालय छलफल पनि भइरहेका छन् । पारवहन तथा यातायात, हिल्सा यारीमा पुल निर्माण तथा मर्मत–सम्भार, पोखरा विमानस्थलसम्बन्धी तीन फरकफरक सम्झौता, चीनलाई दिने उपहार, नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन, नेपालको व्यापार प्रवद्र्धन सम्भाव्यता अध्ययन, नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने र सोलार प्यानल चीनले उपलब्ध गराउने विषयलाई अघि बढाउने तयारी छ । भ्रमणमा पाँचभन्दा बढी महत्त्वपूर्ण विषयमा सहमति हुने गरी तयारी अघि बढेको छ । अधिकारीहरूका अनुसार भ्रमणमा प्रधानमन्त्री दाहालले ‘वान बेल्ट वान रोड’ (ओबर) मा नेपालको प्रतिबद्धता जाहेर गर्नेछन् । प्रधानमन्त्रीले यसअघि नै ओबरमा सम्झौता गर्ने बताइसकेका थिए । चिनियाँ मुद्रा नेपालमा सहज उपलब्धताका लागि छुट्टै सहमति गर्ने तयारी छ । त्यसका अलवा इन्धन भण्डारण, रेलमार्गको विषय पनि रहेको छ । तातोपानी नाका खुलाउने विषयमा पनि उनले पहल गर्नेछन् । चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा बढावा दिन पनि औपचारिक आग्रह गर्ने बताइएको छ । स्वतन्त्र व्यापार क्षेत्र, आर्थिक जोन लगायतका विषयमा समेत छलफल हुने बताइएको छ । चिनियाँ नागरिकलाई दिँदै आएको फ्री भिसाको विषयमा पनि छलफल हुने सम्भावना रहेको छ । राजनीतिक स्तरमा सहमति भएपछि कर्मचारी तहमा कामै नहुँदा यस्ता विषय अल्झिने पुरानै व्यथा रहेकाले यसलाई सुधार गर्न समेत आग्रह गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषिराज अधिकारीले तयारी अघि बढेको उल्लेख गर्दै दुईपक्षीय हितमा केन्द्रित रहेर भ्रमण हुने बताइए पनि उनले भ्रमणको मोडल अझै आइनसकेको जानकारी दिए । चैत १० देखि १३ सम्म हाइनान प्रान्तमा हुने ‘वोआओ फोरम फर एसिया’मा जान लागेका उनी सिधै बेइजिङ जाने र भोलिपल्ट वोआओ आउने गरी काम अघि बढेको भन्दै त्यसलाई अन्तिम रूप दिन लागिएको एक अधिकारीले बताए । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलाई विशेष वक्ताका रूपमा निमन्त्रणा गरिएको छ । उनी फोरममा भाग लिनुअघि नै उच्चस्तरको भेटघाट गर्न लागेका हुन् । इकान्तिपुर अनलाइनबाट
महोत्तरीमा ४४ विद्यार्थी निष्कासित
गौशाला, चैत ४ । देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन् । प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । प्रजिअ यादवको परीक्षा अनुगमन टोलीले जिल्लाको मनरा उच्च माविबाट ६, साँढा माविबाट ११, कोल्हुवा बगेया माविबाट आठ र बखरीभाठ उच्च माविबाट १९ गरी ४४ जना विद्यार्थीलाई निष्कासित गरेको जनाइएको छ । साथै चिट चोराउन सहयोग गरेको भन्दै मनरा उमाविबाट निरीक्षक नागेन्द्रकुमार ओझालाई समेत निष्कासित गरिएको छ । महोत्तरीमा यसपालि २८ परीक्षा केन्द्रमा जिल्लाका एक सयतीन विद्यालयका नौ हजार एकसय तीनजना विद्यार्थीले परीक्षा दिइरहेका छन् । रासस
वार्ताबाटै समस्या समाधान हुनेमा मोर्चाको विश्वास
काठमाडौँ, चैत ४। प्रमुख सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच समसामयिक परिस्थितिबारे बिहिबार सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकारात्मक भएको सत्ता पक्षले जनाएको छ । मोर्चाले भने छलफल खासै उपलब्धिमूलक नभएको प्रतिक्रिया दिए पनि वार्ताबाटै समस्याको समाधान निस्कने धारणा राखेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विद्यमान गतिरोध अन्त्य गरी निर्वाचनतर्फ जानुपर्ने प्रस्ताव राख्नुभएकामा मोर्चाले संशोधन प्रस्तावलाई टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने अडान दोहोर्याएको थियो । प्रधानमन्त्रीले सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गर्नुभएकामा मोर्चाले कुनै पनि विषयलाई थाती राखेर अघि बढ्न नसकिने जनाएको बताइएको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मोर्चासँगको छलफल निकै सकारात्मक रहेको र समस्याको समाधान निस्कने जिकिर गर्नुभयो । “बैठकमा प्रधानमन्त्रीले जति पनि समस्या छन् तिनको समाधान गरेर निर्वाचनमा जानुपर्छ भन्नुभयो, हाम्रो बटमलाइन समाधान हो, सबैलाई समाधानमा ल्याउन सकिन्छ, समस्या समाधान हुन्छ र निर्वाचन हुन्छ भन्ने विश्वास छ,”, उहाँले भन्नुभयो । मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रक्रिया टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनसँगै स्थानीय निकायलाई प्रादेशिक क्षेत्राधिकारभित्र नल्याइकन, जनसङ्ख्या र स्थानीय तहको सन्तुलन नमिलाइकन, प्रदेशको सीमाङ्कनलाई नसच्याइकन समस्याको हल हुँदैन, अहिलेसम्म यो विषयमा मोर्चा र सरकारबीच कुरो मिलेको छैन, हामी कुनै पनि विषय थाती राखेर जाँदैनौँ ।” सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनलाई कसरी अघि बढाउने भन्नेबारे दुवै पक्षबीच खुलस्त छलफल भए पनि कुनै निष्कर्ष ननिक्लेको बताउनुभयो । उहाँले भन्नुभयो–“मोर्चा आन्दोलनसँगै वार्ताको पक्षमा छ, वार्ताबाटै समाधानमा जान सकिन्छ । ” बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका कोषाध्यक्ष एवम् शान्ति तथा पुनः निर्माणमन्त्री सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री कमल थापा तथा मोर्चाका तर्फबाट नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतको सहभागिता थियो । रासस
के के निर्णय गरिए आजको मन्त्रिपरिषद बैठकबाट ?
काठमाडौं, चैत्र ३ । सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरुमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मन्त्री परिषदको आज बसेको बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो । ‘प्रशासन, सामान्य प्रशासन, ईन्जिनीयर, लेखा लगायत राजपत्र अनंकित कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने । मन्त्री परिषदले विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त १० अर्ब ७० करोड बराबरको सफ्ट लोन स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी सम्बन्धी योजनाहरुको अनुगमनका लागि उद्योगमन्त्रीको नेतृत्वमा सम्बिन्धित मन्त्रालयका सचिव सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको छ । त्यस्तै नेपालमा अन्तराष्ट्रिय स्तरको ब्यापार मेला तथा प्रदर्शनीका लागि आवश्यक प्रदर्शनी स्थल निर्माण प्रक्रिया अघि बढाउन बाणिज्य मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै एनसेनको कर छुट दिने बारे बाहिर प्रचार गरिए जस्तो कुनै निर्णय नभएको प्रवक्ता कार्कीले बताए ।
प्रधानमन्त्री प्रचण्ड भन्छन्–‘चुनावलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन’
भक्तपुर चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको माध्यमवाट जनताले गणतन्त्रको उज्यालो भेट्ने वताएका छन्।उनले शुरुआतमा आफुहरुले संघीयताको मुद्दा उठाउँदा अनेक आरोप लगाइएको स्मरण गर्दै वल्ल जनताले संघीयता वुझ्न थालेकोमा सन्तोष ब्यक्त गरे । आज भक्तपुर स्थित सानोठिमी क्याम्पसमा आयोजित अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारी वैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘अब वैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन, ‘संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ ।’ हालै भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)ले निकै उत्साहजनक परिणाम हासिल गरेकोमा प्रधानमन्त्री दाहालले विशेष वधाई समेत दिए। ‘स्ववियु मार्फत तँपाईहरुले निकै राम्रो सन्देश दिनुभएको छ। म विशेष वधाई दिनका निम्ति पनि तँपाईहरुको वैठकमा आएको हुँ,’ प्रधानमन्त्रीले भने । वैठकमा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले पाँच पृष्ठको समीक्षा तथा आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव पेश गरेका थिए। त्यसअघि सातवटै प्रदेशका संयोजकहरुले रिपोर्टिङ राखेका थिए। क्रान्तिकारीको जारी पदाधिकारी वैठक स्ववियुको निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरी विद्यार्थीको सम्पूर्ण तागतलाई स्थानीय निर्वाचनमा लगाउने विषयमा केन्द्रित रहेको क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले वताए ।
प्रधानमन्त्रीले भने, ‘जित्नु र हार्नु ठूलो कुरा होइन, निर्वाचन हुनुपर्छ’
भक्तपुर, चैत्र ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न युवा बिद्यार्थीहरुलाई आग्रह गरेका छन् । बिहिबार भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनमा जित्नु र हार्नु ठूलो कुरा नभएको भन्दै नजिकिँदै गरेको निर्वाचनलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ र लोकतान्त्रिक प्रक्रियाले जित्नु पर्छ यो नै प्रमुख हो ।’ प्रधानमन्त्रीले स्वतन्त्र बिद्यार्थी यूनियनमा क्रान्तिकारी बिद्यार्थीहरुको बिजयले माओवादी पार्टी कमजोर होइन, झनै बलियो भएको छ भन्ने पुष्टि भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितका जे जति उपलब्धीहरु हासिल भएका छन्, तिनको रक्षाका लागि फेरि माओवादी केन्द्रले जित्नु जरुरी भएको स्पष्ट पारेका छन् ।
मोर्चाले समर्थन फिर्ता लियो
काठमाडौँ, चैत ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् । सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो । सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ । सदनमा सङ्घीय समाजवादी फोरम १५, तमलोपाका ११ , सद्भावना पार्टीका ५, फोरम गणतन्त्रिक १, राष्ट्रिय मधेस समाजवादी पार्टी ३ सदस्य सङ्ख्या रहेको छ । मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सभामुखको सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै मोर्चा प्रतिपक्षमा बस्ने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सुध्रिन्छ, आफ्नो कार्यशैली परिवर्तन गर्छ भने सहकार्य हुनसक्छ भन्नुभयो ।
सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै
काठमाडौँ, चैत ३ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धुँदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ । हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छ्रैन । हाल झोलजन्य पदार्थ ढलमार्फत व्यवस्थापन हुँदै आएको छ । मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए । सचिव उपाध्यायले सो उपकरणको रु २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिनुभयो । सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् ।
‘वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड’लाई मेगा वैङ्कले प्रायोजन गर्ने
काठमाडौं, चैत ३ । “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधाको प्रायोजकका लागि मेगा बैङ्क नेपाल लिमिटेडले प्रायोजन गर्ने भएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्सर्न रहेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । २५ हजार रुपैयाँ पुरस्कार राशीको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” लाई मेगा बैङ्कले प्रायोजन गर्ने भएको हो । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका तर्फबाट अध्यक्ष ध्रुुब आलेले बुधबार संझौंतापत्रमा हस्ताक्षर गरेका छन् । हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाईफ फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड , विजनेस फोटो पत्रकारिता अवार्ड , पर्यटन तथा सस्कृति अवार्ड र एनएफपीजे एक्टिभ मेम्बर अवार्ड हुनेछन् । एनएफपीजे एक्टिभ मेम्बर अवार्ड बाहेक बांकी उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जना सर्वोकृष्ट फोटोपत्रकारलाई “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” बाट सम्मानित गरिने एनएफपीजेले जनाएकोछ । पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईन लगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा उक्त पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।

