ज्ञवालीलाई हटाएकोमा राप्रपाको आपत्ति ?

भक्तपुर, पुस २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपति शम्सेर रााणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेकोमा आपत्ति जनाए ।
भूकम्प पिडितलाई राहत दिन छोडेर सरकार सिइओ र्फर्न लागेको आरोप लगाए ।
अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको पनि बताए । मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गरेको उनले खुलाए ।

उनले मधेशी मोर्चालाई साथमा नलिई निर्वाचनमा जानै नसकिने बताए । सरकारले चुनावको तयारी गरिरहेका बेला उनले मधेसी मोर्चालाई साथमा लिनुपर्ने बताए । राणाले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने पनि स्पष्ट पारे।

सत्ता साझेदार राप्रपाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा संशोधन गर्नुपर्ने अडान जारी राखेको छ ।

अबदेखि प्रधानमन्त्री, मन्त्रीलाई सांसदले प्रत्यक्ष प्रश्न सोध्न पाउने

काठमाडौं, पुस २६ । अबदेखि सांसदले प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । यसअघि सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीसँग संवाद गर्ने व्यवस्था थिएन । झन्डै डेढ महिना लामो अवरुद्ध संसद सोमबार शुरु भएपछि प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ पारित भएको छ। पारित कार्याविधि अनुसार प्रश्न सोध्न चाहने सांसदले आफ्नो प्रश्न संसद सचिवालयमा दर्ता गर्नुपर्नेछ। बढीमा २० वटा प्रश्न र एउटा बैठकमा दुई जना मन्त्रीसंग मात्र प्रश्न सोधिने व्यवस्था गरिएको बताइएको छ। प्रधानमन्त्री, मन्त्री र सांसदलाई जनताप्रति प्रत्यक्ष जिम्मेवार बनाउने ठानिएको संसदको उक्त प्रश्नोत्तरको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने संसद सचिवालयले जनाएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई प्रत्येक महिनाको दोस्रो आइतबार तथा अन्य मन्त्रीहरुलाई प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार दुई घण्टाको समय निर्धारण गरिएको जनाइएको छ। सोमबार संसदमा कार्याविधि अनुमोदन भएपछि त्यसको शुरुवात प्रधानमन्त्रीबाट गरिने सभामुख ओनसरी घर्तीले बताइन्। उनले भनिन्, ‘संसदमा कस्तो प्रकारका प्रश्न आँउछन् र कुन विषयमा आँउछन् अनि ती कुन मन्त्रालय अन्तर्गत पर्दछन् भन्ने कुराले मन्त्रीहरुको प्रश्नोत्तर निर्धारण गर्दछ। हामीले यसको शुरुवात प्रधामन्त्रीबाट गर्ने भनी उहाँसंग कुराकानी गरिसकेका छौं।’ संसदमा यसअघि सांसदहरुले शून्य समय वा विशेष समय लिएर प्रश्नहरु राख्ने गरेपनि प्रत्यक्ष संवा गर्ने व्यवस्था थिएन । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले भने, ‘जनताले उनीहरुको प्रतिनिधिले प्रधानमन्त्री वा मन्त्रीसंग उनीहरुको सरोकारको विषयमा प्रश्न गरेको वा नगरेको वा उदासीन रहेको भन्ने देख्न पाउने भए। यसले गर्दा उनीहरुमा नैतिक जबाफदेहीता बढ्छ।’

चितवनको १० वटा विकासमा प्रधानमन्त्रीको चासो, सरकारबाट अर्वौ लगानी गर्ने

चितवन, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले जिल्लाको समग्र विकासमा सरकारबाट अर्बाै लगानी गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीले भने ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पूनः सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’ खानेपानीको हक जनताको मौलिक हक भएको उनले बताए । ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले भने । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो । मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलगत निरीक्षण गरे । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने- ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’

देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच एकता आवश्यकः अोली

विराटनगर, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेकपा (एमाले) मोरङको आठौं जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले भने – “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डो¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।” अध्यक्ष ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन गरी मुलुकलाई निर्वाचनतर्फ अग्रसर गराउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै  उनले भने—“यतिबेला स्वार्थहरु टकराएका छन्, त्यसैले गणतन्त्रको स्थायित्वका लागि नेपाली जनता सजग हुनुपर्दछ ।” देशलाई पछाडि धकेल्नका लागि क्षेत्र, भाषा र जातीय एकताबीच वैमन्स्यता फैलाउने काम अहिले भइरहेको छ, उनले भने– देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच सबल एकता हुनुपर्दछ । अध्यक्ष ओलीले द्वन्द्व यतिखेर उद्योगको रुपमा फस्टाएर व्यवसाय गर्न खोजिँदै छ, यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले संसद्बाट पारित हुन नसक्ने बताए । तीन दिने सो अधिवेशनको सफलताको कामना गर्दै उनले पार्टीे सङ्गठनलाई अझ सशक्त र बलियो बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिए । रासस

संगीत संघमा विवाद चुलियो, उपाध्यक्ष र सचिव सहित बहुमत सदस्यले दिए राजीनामा

काठमाडौं, पुस २५ । नेपाल संगीत उद्योग संघ भित्रको विवाद चुलिएको छ । संघमा अध्यक्षले एकलौटी मनोमानी गरेको भन्दै उपाध्यक्ष र सचिवसहित बहुमत छ जना असन्तुष्ट सदस्यले सोमबार राजीनामा दिएका छन् । संघका उपाध्यक्ष रामजीप्रसाद पन्त र सचिव टुकराज काफ्ले सहित विमल अधिकारी, सुविन लामिछाने, केशब सापकोटा, घनश्याम अधिकारी लगायत छ जनाले सोमबार राजीनामा दिदैँ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएका छन् । राजीनामा पत्रमा उनीहरुले संघका अध्यक्ष सुर्य मगरले मनोमानी ढंगले संस्था चलाएको आरोप लगाएका छन् । अध्यक्ष मगरले संस्थाको नियम विपरित आजीवन सस्यता बाँडेको, आर्थिक पारदर्शीता नदेखाएको, कार्यसमितीलाई जानकारी नै नदिइ एकलौटी संस्थागत निर्णय गरेको, संस्थाका फर्निचर समेत तोडफोड गरि मर्मत सम्म नगरेको आरोप लगाउँदै नैतिकताले संस्थामा रहन उपयुुक्त नठानेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । गोपाल योञ्जन,मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, शम्भु राईजस्ता दिग्गज व्यक्तिले हाँकेको संघ अहिले धराशायी अवस्थामा छ । एक वर्ष अगाडि अध्यक्षमा निर्वाचित भएका मगरले संस्थागत काम नगरेको भन्दै आलोचित बन्दै आएका थिए । १३ सदस्य रहेको कार्यसमितीमा यसअघिनै दुई सदस्यलाई कारवाही गरिएकोले ११ जना मात्र सदस्य बाँकी थिए । बहुमत सदस्यले राजीनामा बुझाएपछि संघ अहिले बैधानिक संकटमा परेको छ ।

एमालेको सहमतिमै संशोधन प्रस्ताव टेबल गरिएको प्रधानमन्त्रीको भनाई

चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेको सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबल गरेको बताएका छन् । चितवन महोत्सवको उद्‌घाटन तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले प्रेस सेन्टर चितवनले सोमबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बाहिर कुरा आएजस्तो जबरजस्ती नभई एमालेसँगकै सहमतिमा संशोधनको प्रस्ताव टेबल गरिएको प्रष्ट्याए । ‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’ आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने– ‘संशोधनको प्रस्ताव टेबल गर्नुअघि केही प्रमुख नेताहरुलाई सभामुखले बोलाइसकेपछि छलफल भएको थियो । यसपछि एमाले अध्यक्ष ओलीजीसँग आफ्नो एक घण्टा छलफल गरेको र विषयमा सहमति नबनेपनि प्रक्रिया अगाडि बढाउनेमा सहमति भएपछि प्रस्ताव पेश गरिएको हो ।’ देशलाई समझदारी साथ अगाडि बढाउन र संविधान कार्यान्वन गर्न ओलीजीसँग गम्भीरतापूर्वक साथ कुराकानी भएको बताए । ‘कुनै न कुनै उपाय खोजेर यो स्थितीलाई अगाडि बढाउने र देशलाई निर्वाचनतिर लैजाने भएकोले यो चाँडै नै टुगिन्छ,’ उनले भने– अब टुङ्गयाएर निर्वाचनमा जाने तयारीमा छौं ।’ उनले पहिला जस्तो हतारमा कुनै काम नगर्ने बताए । ‘विगतमा हतारमा निर्णय गर्दा जनताको काम गर्न सकिएको थिएन, जनताको काम गर्न सत्तामा पुगेको छु अब हतार गरेर निर्णय गर्दिन’ उनले भने । ‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्र छाड्छु ।’ उनले पुरक बजेटको पनि कुरा अगाडि बढेको र चितवनलाई लक्षित गरेर महत्वपूर्ण प्याकेज ल्याउने घोषणा गर्ने बताए ।

चुनावको माहोल बन्यो–शशांक

पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको सोमबार शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए । देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उनले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उनको जोड थियो । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए। नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले निर्माणाधीन पार्क निर्माणका लागि नेपाली काँग्रेस कास्कीका साथै अन्य निकायबाट सहयोग जुटाइने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी नेताहरू आशिष शर्मा, आदर्श लामिछानेलगायतले आ–आफ्ना धारणा राखे ।

दोलखामा ७ हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

दोलखा, पुस २५ । भूकम्प गएको २० महिना पछि जिल्लामा ८८.०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन्। जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भए पनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ। प्राधिकरणका अनुसार सम्झौता सकिएको तर रकम बैंक खातामा जम्मा नभएका एक हजार ६५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ। चार हजार ५४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी छ। प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ। पैँतालीस हजार ७४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको सङ्ख्या शून्य रहेको हो। दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो। भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो। छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७१२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए। उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ। सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन्। भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन्।

राप्रपा नेतासँग उपराष्ट्रपति पुनले यसो भने

काठमाडौँ, पुस २५ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन्। ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन्। सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए। राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ । सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।

सुवास नेम्वाङ भन्छन–‘हाम्रो आन्दोलन जारी नै रहन्छ, संसद् चल्न दिँदैनौं’

काठमाडौं, पुस २५ । एमाले संसदीय दलका उपनेता तथा सभामुख सुवास नेम्वाङले संसदीय मान्यता विपरित संशोधन विधेयक टेबल भएकोले एमालेले आन्दोलन गर्ने बताएका छन् । एक रेडियो अन्तर्वार्तामा नेम्वाङले भने–‘सरकारको संविधान संशोधन विधेयक औचित्यहीन एवं मुलुकको हितविपरीत रहेकाले हाम्रो सहमति हुँदैन, हाम्रो आन्दोलन जारी नै रहन्छ संसद् चल्न दिँदैनौं ।’ प्रतिपक्षीको विरोध गर्दा गर्दै संविधान संशोधन विधेयक प्रस्तुत भएको भन्दै उनले विधेयकमाथि छलफल हुन नदिने स्पष्ट पारेका हुन् । ‘संसोधन असफल बनाउने आन्दोलन जारी रहनेछ विधेयक अब पास हुन सक्दैन ।’ उनले औचित्यहीन एवं मुलुकको हितविपरीत सरकारले संशोधन विधेयक अगाडि बढाएकाले संसद्मा छलफल गर्न नदिई शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । तर, नेम्वाङले संशोधन विधेयकबाहेक निर्वाचन, महाअभियोगलगायतका विषयमा एमालेले छलफल गर्न संसद् अवरुद्ध नगर्ने जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले संविधान संशोधनविरुद्ध आन्दोलन गर्दै आएका छन् । १४ मंसिरमा सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि विपक्षी नौ दलहरूले १६ मंसिरदेखि नै संसद् र सडकमा आन्दोलन गर्दै आएका थिए ।

ऊर्जामन्त्री शर्माले भने–‘राष्ट्रवादको नाराभित्र राष्ट्रघाति काम भइरहेको छ’

काठमाडौं, पुस २५। ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गरेका छन् । अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नाराभित्र आन्तरिक राष्ट्रियता विथोल्न लागि परेको बताएका हुन् । उनले भने– “कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन” मन्त्री शर्माले भन्नुभयो “ मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन ।” संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उनले मधेशी समुदायलाई अधिकारविहीन अवस्थामा राखेर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्क गरे ।  विपक्षीको आन्दोलले निर्वाचनको तालिका पर धकेल्ने काम गरेको मन्त्री शर्माले बताए । अर्को एक प्रसंगमा उनले इन्जिनीयरिङका विद्यार्थीहरुलाई वर्षमा एक पटक ३ महिने अभियान लिएर गाँउ टोलहरुमा प्रयोगात्मक शिक्षा लिने कार्यक्रम बनाउन सुझाव दिए । जनतासँग जोडिएको प्रयोगात्मक शिक्षाले मात्र स्वरोजगारयोग्य जनशक्ति उत्पादन गर्ने भन्दै मन्त्री शर्माले गाँउ जाने अभियानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

योजना आयोगको बैठकद्वारा चौधौं योजना पारित

काठमाडौं,पुस २५ । राष्ट्रिय योजना आयोगको बैठकले चौधौं योजना (आर्थिक वर्ष २०७३/०७४—२०७५/०७६) को बिस्तृत दस्तावेज स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले चौधौं योजना पारित गरेको हो । बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयअगावै १४ औं योजना आएको र यसले योजनाको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रधानमन्त्रीले भने–‘राष्ट्रिय योजना आयोगले समयअगावै १४ औं योजना प्रस्तुत गरेको छ । अहिले पनि हामी संक्रमणकै चरणमा छौं । संविधान निर्माणपछि राजनीतिक संक्रमण केही हदसम्म समाधान भएपनि संघीयताको कार्यान्वयन नहुँदासम्म आर्थिक योजना र संरचनाको संक्रमण बाँकी नै रहन्छ । अबको हाम्रो आर्थिक योजना पनि संघीयता कार्यान्वयन, प्रादेशिक संरचना र योजना निर्माणमा केन्द्रित हुनुपर्छ ।’ बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १४ औं योजनाको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले संघीयता कार्यान्वयनको चरणमा रहेकाले आगामी योजनाले संघीयता कार्यान्वयन, कर्मृचारी व्यवस्थापन र प्रादेशिक संरचना र पूर्वाधार निर्माणमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।

लोकमान पदमुक्त, सर्वोच्चद्वारा योग्यता नपुगेको ठहर

कठमाडौं, पुष २४ । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ । यो सँगै लोकमान पदमुक्त भएका छन् । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले कार्कीको योग्यता नपुगेको ठहर गरेको हो । आज रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट  वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले प्रत्युत्तर बहस गरेका थिए । यही  ७ पुसबाट शुरु भएको बहस ८, २१, २२ हुँदै आजसम्म चलेको थियोे । कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेकामा अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा रिट पुनरवलोकनका लागि निवेदन दिएका थिए ।  साढे तीन वर्षअघि  २५ वैशाख २०७० मा लोकमान अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा समेत महाअभियोग प्रस्ताव दर्ता छ । सर्वोच्चको फैसलालले लोकामानको योग्यउता नै नपुगेको स्पष्ट गरेपछि उनीमाथिको महाअभियोग के हुने विषयमा भने थप बहस शुरु भएको छ । File Photo

सप्तरीको जेल पुगेर बाबुराम भट्टराईले सोधे – ‘९५ वर्षका वृद्धलाई कुन कानुन अन्तर्गत थुनियो ?’

सप्तारी, पुस २४ । आफ्ना कार्यकर्तालाई भेट्न सप्तरीको जेल भ्रमण गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जेल व्यवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन् । ‘सप्तरीको जेलमा कैदी जीवन विताइरहेका ९५ वर्षीय सुरी नारायण मण्डललाई कुन कानुनअन्तर्गत जेलमा थुनिएको हो ?’ भन्दै बाबुराम भट्टराईले नेपालका जेलहरु सुधार गृह नभएर अमानवीय यातना गृह जस्ता रहेको टिप्पणी गरे । baburam-4 dr-baburam baburam-3 Dr. Baburam in Saptari Prison आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले जेलको अवस्थाका बारेमा तस्वीरसमेत राखेका छन् । सप्तरीको जेलमा जनयुद्धकालीन मुद्दामा फसाइएका नयाँ शक्ति नेपालका युवा नेता अरूणकुमार साह (अनिल) लाई भेट्न डा. भट्टराई सप्तरी पुगेका हुन् ।

बाटो खोल्न गएको सेनाको गाडी दुर्घटना, तीन दर्जन सैनिक घाइते

डोटी, पुस २४ । डोडीको अत्तरिया–स्याउले जोड्ने भिमदत्त राजमार्गमा हिमपातका कारण सडक अवरुद्ध भएपछि बाटो खोल्न गएका नेपाली सेनाको एक गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीन दर्जन नेपाली सेना घाइते भएका छन् । डडेल्धुरामा रहेको नेपाली सेनाको गरुडदल गणबाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको थियो । टोलीले बाटो खन्ने काम सकेर फर्किने क्रममा दुर्घटना भएको सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी दिएको छ । दुर्घटनामा ३६ जना सैनिकहरु घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको सेनाले जनाएको छ ।

व्यवस्थापिका वैठकमा शोक प्रस्ताव पारित, वैठक ३ बजे बस्ने

काठमाडौं, पुस २४ । प्रतिपक्षी एमाले तथा अन्य नौ दलले लगातार स्थगित गराउँदै आएको व्यवस्थापिका संसदको वैठकमा आज पूर्व सांसद मनिराम पोखरेलको शोक प्रस्ताव पारित भएको छ । २०१५ सालका सांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ । शोक प्रस्तावसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएपछि व्यवस्थापिका संसदको वैठक आज अपराह्न ३ बजे बस्ने भएको हो । २०१५ सालमा खोटाङ क्षेत्र नं। १६ बाट निर्वाचित सांसद पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको थियो ।