कानुनमन्त्रीले भने–‘सहमतिमै न्यायाधीश नियुक्ती गरिएको हो, निर्णय हेरफेर हुँदैन’
काठमाडौं, माघ १ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उच्च अदालतमा संविधानसम्मत् ८० जना न्यायाधीशको नियुक्त गरिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधान सम्म गरिएको निर्णय कुनै हालतमा फिर्ता नहुने बताए ।
मन्त्री नायकले भने–‘हामीले ऐन, कानून अनुसार, संविधान अनुसार नै न्यायाधीश नियुक्ती गरेका हौं, यो निर्णय कुनै हालतमा पनि फिर्ता हुँदैन्, यो निर्णय सबैलाई स्विकार्य छ।’
उनले समावेशी, समानूपातिक आधारमा परिषदका सदस्यहरुको सहमतिमै न्यायाधीस नियुक्ति गरेको दाबी गरे ।
‘हामीले एक दिन होईन, एक महिनासम्म बैठक बसेर यो विचमा हामीले १० पटक बैठक गर्यौं, परिषदका ५ जनै सदस्यहरु बसेर हामीले गृहकार्य गरेका हौं,’ उनले भने ।
न्यायपरिषद्का सबै सदस्यको सहमतिमा नियुक्त गरिएको उनले दाबी गरे । मन्त्री नायकले भने–‘बैठकबाट राम प्रसाद सिटौला एक्कासी निस्किनुभएको हो, उहाँले धेरे वटा बैठकमा यस्तो गर्नुभएको छ, बैधनाथ उपाध्याय श्रीमानले त म आउन सक्दिन् भन्नुभएको हो, तर उहाँले हामीले गर्ने निर्णयमा समर्थन गर्छु भन्नुभएको थियो, उहाँसँग प्रधानन्याधीशज्यूले फोनबाटै कुरा गर्नुभएको थियो, उहाँले समर्थन जनाउनुभएको हो।’
उनले बारले नियुक्तीलाई लिएर गरेको विरोधको कुनै औचित्य नभएको बताए ।
‘यो कुनै राजनीतिक भागबण्डामा गरिएको होईन, कानूनव्यवसायीहरु कतै न कतै हिजो विभिन्न समूहमा जोडिएपनि अब न्यायाधीश भएपछि त्यस्तो हुँदैन, उहाँहरुले निश्पक्ष र स्वतन्त्र काम गर्नुहुनेछ।’
उनले मधेशी मोर्चालेपनि विरोध गर्नुको कुनै अर्थ नभएको बताए । ‘८० जनामा समावेशीको कुरा गरिएको छ, तर ८० जनामा ३४ जना न्याय सेवाबाट लिईएको हो, १४ जना कर्मचारीबाट लिईएको छ, ३४ जनामा हेरौं न, हामीले त सकेसम्म समानूपातिक–समावेशी बनाएकै हौं नि, त्यसमा ६ जना महिला छन्, ७ जना मधेशी छन्, २ जना पिछडिएको क्षेत्रबाट छन्, यसरी हेरौं न।’
शिक्षा मन्त्रीद्वारा पुन निर्माण गरिएको विद्यालय भवनको उद्घाटन
काठमाडौ, माघ १ । भूकम्पले क्षतिग्रस्त कालीका ६ सिन्धुपाल्चोकमा रहेको महेन्द्र कान्ति माध्यमिक विद्यालयमा निर्माण गरिएको ट्रस भवनको शिक्षा मन्त्री धनिराम पौडेलले उद्घाटन गरेका छन् । शुक्रवार विद्यालयको ५५ औं वार्षिकोत्सव तथा ५२ औं अभिभावक भेलाको अवसरमा शिक्षा मन्त्री पौडेलले ६ कोठे ट्रस भवनसँगै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाको पनि उद्घाटन गरे । विभिन्न संघसस्थाको ३५ लाख १० हजार ४ सय ९८ रुपैयाँको लागतमा ६ कोठे ट्रस भवन निर्माण गरिएको हो । ट्रस भवन वनेपछि विद्यालयमा पठनपाठन केही सहज भएको प्रधानाध्यापक केदारप्रसाद भण्डारीले जानकारी दिए। विहेल्फ नेपालले प्रदान गरेको १० वटा कम्प्युटर तथा शिक्षा मन्त्रालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले महेन्द्र कान्ति माविको २९ कोठे विद्यालय भवन पूरै क्षतिग्रस्त भएको थियो । विद्यालयमा अध्ययनरत ५ जना बालबालिका, १ जना शिक्षिका र १६ जना अभिभावकले पनि भुकम्पमा परी ज्यान गुमाएका थिए । कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले भूकम्पले तहसनहस भएर पनि सिन्धुपाल्चोक जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताउनुभयो । दुर्गम र भूकम्प अति प्रभावित जिल्ला भएर पनि सिन्धुपाल्चोक मध्यमाञ्चाल क्षेत्रका १९ जिल्लाको शैक्षिक मूल्यांङ्कनमा पहिलो हुनु गौरवको विषय भएको मन्त्री पौडेलको भनाई थियो । विगतमा निर्माण भएका विद्यालयको भौतिक संरचना कमजोर हुँदा भूकम्पले बढी क्षति पु¥याएको भन्दै उहाँले सरकारले अब बनाउने शैक्षिक संरचना भूकम्प प्रतिरोधी हुने बताउनुभयो । उहाँले भूकम्प अति प्रभावित १४ जिल्लामा विद्यालय भवन निर्माणको लागि सरकारले यस बर्ष ४ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारप्रसाद भण्डारीले विभिन्न दाताहरुको सहयोगमा विद्यालयमा ट्रस भवन बनेपछि पठनपाठन केही सहज भएको बताए । भवन अभावले विद्यालयका ७ वटा कक्षा अहिले पनि अस्थायी टहरामा संचालन भैरहेका भन्दै उहाँले त्यसप्रति ध्यानदिन शिक्षा मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा केद्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष गंगा बेल्बासे, विहेल्फ नेपालका सन्देश पौडेल, टुकी संघ सुनकोशीका अध्यक्ष कृष्ण थापा, चाइल्ड फण्ड जापानकी कोअर्डिनेटर आइलिन शान्तिआवो लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक, विद्यालयलाई विभिन्न ढंगले सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी र विभिन्न खेलकूद प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई शिक्षा मन्त्री पौडेलले नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
समावेशी तरिकाले न्यायाधीश नियुक्तिः कानुनमन्त्री नायक
काठमाडौँ, माघ १ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताएका छन् । परिषद्का सदस्य नायकले रासससँग कुरा गर्दै २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित छ महिला, आठ जनजाति, पाँच मधेसी, दुई कर्णाली तथा एक एक थारु र मुसलमान समावेश गरी समानुपातिक समावेशिताको सन्देश दिन खोजिएको बताए । बिहीबार राति न्यायपरिषद्को सिफारिसमा नियुक्त उच्च अदालतका न्यायाधीशको कार्य विभाजनसमेत भइसकेको छ । रासस
पञ्जीकरण विभागमा मन्त्रीको छड्के, बैंकिङ प्रणालीबाट भत्ता दिन निर्देशन
काठमाडौँ, २९ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन् । अनुगमनका क्रममा चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई मन्त्रीले निर्देशन दिए । सरकारले समाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन नसकेको उल्लेख गर्दै मन्त्रीले जसरी भए पनि तेकिएको समयभित्रै समाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने बताए । सामाजिक सुरक्षाभत्ता लक्षित व्यक्तिको हातमा नपुग्ने गरेको गुनासो व्यापक रहेको भन्दै मन्त्री पाण्डेले बैंकिङ प्रणालीमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा भत्ता वितरणको व्यवस्था मिलाउन निर्देशन दिए । बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्दा सामाजिक सुरक्षाभत्ता बापतको रकम नगरपालिका वा गाविसबाटै हिनामिना हुने सम्भावना कम हुने उनको भनाइ थियो । मन्त्री पाण्डेले अब स्थानीय निकाय भङ्ग हुने र स्थानीय तह कार्यान्वयनमा आउने चरणमा रहेकाले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर पञ्जीकरणको कामलाई अघि बढाइनुपर्ने बताए । सो अवसरमा विभागका निर्देशक शालिकराम रिजालले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराइँ जस्ता व्यक्तिगत घटनाको दर्ता व्यवस्थापन एवम् नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापनको काम विभागले गर्दै आएको बताएका थिए । उनले कुल २१७ नगरपालिकामध्ये ११८ नगरपालिका र १८० गाविसले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । गाउँगाउँमा बैंकको शाखा नभएको र बैंकसम्म लक्षित वर्गको पहुँच नभएकाले पनि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न नसकएको मन्त्रीलाई जानकारी दिए । सामाजिक सुरक्षाभत्ता पाउने देशभरका कुल २३ लाखमध्ये ३९ जिल्लाका करिब १३ लाख व्यक्तिको नाम अनलाइनमा प्रविष्ट गरिसकिएको बताउँदै निर्देशक रिजालले हाल १७६ युनिटबाट अनलाइनमार्फत घटना दर्ताको काम भइरहेको बताए । स्याङ्जा, धनकुटा, कास्कीका सबै नगरपालिका र गाविसले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न थालेका छन् भने पर्वतको चार गाविसबाहेक सबै गाविसले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको विभागले जनाएको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई मासिक रु एक हजार, पूर्णअपाङ्गता (क) वर्ग र लोपोन्मुख आदिवासी÷जनजाति (बनकरिया, राउटे, सुरेल, हायु, राजी, लेप्चा, मेचे र कुसबडिया) जातिका व्यक्तिलाई मासिक रु दुई हजार तथा अशक्त÷अपाङ्गता भएका (ख) वर्गका व्यक्तिलाई मासिक रु ६०० र पाँच वर्षमुनीका कर्णाली अञ्चल तथा देशभरका दलित परिवारका दुई सन्तानलाई मासिक रु ४०० सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ ।
प्रधानमन्त्रीले गरे ४० स्रष्टाको सम्मान
काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड देशभक्त गणतान्त्रिक मञ्चले समाजमा उल्लेखनीय योगदान गर्ने ४० स्रष्टालाई सम्मान गरेको छ । समाजसेवा, साहित्य, कला, सङ्गीत, पत्रकारिता लगायतका क्षेत्रमा योगदान गर्ने ४० जना स्रष्टा र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्रष्टाहरुलाई सम्मानित गरिएको हो । गणतान्त्रिक मञ्चले शिक्षा क्षेत्रबाट नवीन जोशी, सामाजिक सुरक्षाबाट जयबहादुर चन्द, समाजसेवाबाट अस्मिता सुमार्गी, व्यवसायीबाट तेजेन्द्र खड्का, खेलकूदबाट सुनिल कटुवाल, चलचित्रबाट अमित ढुङ्गाना, समाजसेवाबाट जितबहादुर बि.क.लाई सम्मान गरेको हो । त्यसै गरी मञ्चले चलचित्रबाट अभिनेत्री बिमला केसी, जनसंस्कृतिकर्मीबाट लक्ष्मी गुरुङ, प्रगति महरा, केशरी घर्तिमगर, कुस्मिता दर्लामी, प्रगति महरा, साहित्यकारहरुबाट शान्ता श्रेष्ठ, सुशीला प्रधानाङ्ग, बिन्दा मैनाली, सीता शर्मा, सुमित्रा वाङ्देल चेली, पञ्चकुमारी परियार, राधा कार्की, लक्ष्मी माली, सरला शर्मा, अमृता नेपाल, रत्नलक्ष्मी श्रेष्ठ, सत्या पहाडी, बाबा बस्नेत, नाट्यकर्मीबाट लता कार्की, प्रनिता परियार, रीता थापा, पत्रकारबाट सुनिता रेग्मी, आस्था के.सी., रुवी श्रेष्ठ, प्रभा बोगटी, सङ्गीता खड्का, रुपा महर्जन, लक्ष्मी पुन, सुमिता तामाङ, ललितकलाबाट सौरगंगा दर्शनधारी, अनिता भट्टराई र अनिता लामालाई सम्मान गरिएको हो । कार्यक्रममा साहित्यकार बाबा बस्नेतको ‘युद्धको बाँसुरी’ कविता सङ्ग्रह बिमोचन गरिएको थियो । बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘स्रष्टाको सम्मान गर्ने परम्पराको थालनी गर्नुभएकोमा खुसीको महशुस भएको छ । थुप्रै घुम्ती मोडहरुका बीच पनि समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टा र व्यक्तित्वहरुको सम्मानले नयाँ पुस्ताका लागि पनि प्रेरणा दिनेछ ।’ कार्यक्रममा माओवादी केन्द्रका नेता एवं स्रष्टा दीनानाथ शर्माले साहित्यकारहरुले साहित्यका माध्यमबाट समाज परिवर्तनमा मौलिक योगदान दिनसक्ने बताउनु भयो । सो अवसरमा गीति एल्वम् ‘बिहानी’को पनि बिमोचन गरिएको थियो ।
मोहन बैद्यले भने–‘जनयुद्ध आफैँमा किताब हो’
काठमाडौँ, पुस २९ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताउनुभएको छ । सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने–“जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको विषय बन्यो ।” चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले क्रान्तिको पूर्णता बिना सहिदको सपना पूरा हुन नसक्ने बताए । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टले सहिद कुनै गुट वा उपगुटको नहुने उल्लेख गर्दै माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्नेमा जोड दिए । एकै परिवारबाट पाँचजना सहिद भएको बलिदानीलाई समेटेर ‘कालजयी योद्धाहरु’ पुस्तक तयार पारिएको हो । सो पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर गिरीले परिवर्तनपछि सहिदको अवमूल्यन हुँदैआएको दुखेसो पोखे । सो पुस्तक सहिदद्वय कमल भुजेल र सुमित्रा घिमिरेकी एकमात्र छोरी अस्मिता भुजेलले विमोचन गरेकी थिइन । एउटै परिवारका तीर्थ भुजेल, माधव घिमिरे, नारायण घिमिरे, सुमित्रा घिमिरे र कमल भुजेलले द्वन्द्वकालमा विभिन्न ठाउँमा सहादत प्राप्त गरेका थिए ।
आजको संसद बैठकमा कसले के भने ?
काठमाडौँ, पुस २९ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानकर्षण गराउनुभयो । नेपाली काँग्रेसका दीपकप्रसाद कुइँकेलले स्थानीय निर्वाचन यथाशीघ्र गराउने व्यवस्था हुनुपर्ने बताउँदै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन हुनुपर्ने माग गर्नुभयो । नेकपा ९एमाले०का भवानीप्रसाद खापुङले निजामती सेवाका कर्मचारीको सेवाकाल बढाउन नहुने अभिमत प्रकट गर्दै तेह्रथुमको सङ्क्रान्ति बजारका अग्निपीडितलाई सहयोग गर्न माग गर्नुभयो । नेपाली काँग्रेसका सीता गुरुङले पनि उक्त बजारका अग्निपीडितलाई पर्याप्त राहत सामग्री उपलब्ध गराउन र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था अविलम्ब गर्न माग गर्नुभयो । नेकपा माओवादी (केन्द्र)का सूर्यप्रकाश बालाराईले सरकार र विपक्षी मिलेर राष्ट्र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका शिवजी यादवले किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो । राप्रपाका सांसद कान्ता भट्टराईले नेपालको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको योगदानलाई राज्यले बिर्सन नहुनेमा जोड दिनुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नसच्याए तराईमा आन्दोलन हुने चेतावनी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १४ प्रदेश उपयुक्त हुने बताउँदै नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । तराई मधेस सद्भावना पार्टीका महिन्द्रराय यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै स्थानीय तहका समस्या उक्त प्रतिवेदनले समाधान नगर्ने बताउनुभयो । नेपाल परिवार दलका एकनाथ ढकालले बूढीगण्डकी जलविद्युत् आयोजनाका पीडितलाई मुआब्जा वितरणमा असमानता रहेको भन्दै त्यसलाई पुनरवलोकन गर्नुपर्ने बताउनुभयो । नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले विदेशी कूटनीतिक नियोगले नै नेपालीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नु मुलुकका निम्ति दुर्भाग्यको विषय भएकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने माग गर्नुभयो । नेकपा ९एमाले०का पाँचकर्ण राईले स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय जनताको भावना विपरीत प्रतिवेदन पेस गरेकामा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग गर्नुभयो । नेकपा माओवादी ९केन्द्र०का कर्णबहादुर विकले काभ्रेका अजित मिजार र लक्ष्मी परियारको शव शिक्षण अस्पतालमा राखिएको धेरै समय भएकाले अन्त्येष्टिको व्यवस्था र दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताउनुभयो । नेकपा ९एमाले०का गुरुप्रसाद बुर्लाकोटीले धादिङका वन क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणले दुःख पाएको भन्दै राज्यले तिनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । वनका कर्मचारीले स्थानीयवासी लाई दुःख दिएको उहाँको आरोप थियो । नेकपा माओवादी ९केन्द्र०का सुरेन्द्रप्रसाद जयसवालले जनतान्त्रिक तराई मुक्ति मोर्चालगायत भूमिगत समूहबाट तराई क्षेत्रमा मारिएकाहरुका परिवारजनलाई राहत दिनुपर्ने माग गर्नुभयो । रासस File photo
व्यवसायमा आधुनिककरण आजको आवश्यकता : प्रधानमन्त्री
काठमाडौं, पौष २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायमा आधुनिकीकरण नै आजको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पोल्टी व्यवसायीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आधुनिकरणबाट मात्रै आत्मनिर्भर बन्न र अर्थतन्त्रको आधार निर्माण गर्न सकिने बताएका छन् । ‘उनले भने, ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ ।’ पोल्टी व्यवसायीहरुले गरेको प्रयासलाई सकारात्मक रहेको बताउँदैन उनले भने, ‘व्यवसायको आधुनिकीकरण र बजारीकरणले मात्रै आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गर्ने जानकारी समेत दिए । कार्यक्रममा उर्जा सङ्कट निवारणमा सरकार र प्रधानमन्त्री प्रचण्डले सार्थक पहल गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।
बाबुरामले भने– स्वार्थी व्यक्तिहरुको हौवा पछाडि दौडिँदा ‘ओलीवाद’को हावा बग्ने खतरा
काठमाडौं, पौष २९ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा ‘ओलीवाद’को खतराप्रति युवाहरुलाई सचेत तुल्याएका छन् । माघे संक्रान्तिको पूर्वसन्ध्यामा शुभकामना दिने क्रममा डा. भट्टराईले अमेरिकामा ट्रम्पवादको खतराजस्तै नेपालमा पनि ओलीवादको हावा बग्ने खतरा बढेको भन्दै युवाहरुलाई मानव समाजको अध्ययन गर्न सुझाव समेत दिएका छन् । “विश्व यतिबेला ट्रम्पिज्म’काृ खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि ओलिज्मको हावा बग्ने खतरा देखिएको छ” डा. भट्टराईले आफ्नो फेसबुक भित्तामा लेखेका छन, “यसको मुख्य कारण २१ औं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रा जुन ठूला आविस्कारहरु भएका छन्, तीबारे हाम्रो युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहिति स्वार्थी व्यक्तिहरुको हौवापछाडि दौडिन पुग्नु हो । उनको तर्क छ । डा. भट्टराईले तीनवटा पुस्तक पढ्न सुझाव दिँदै अगाडि भनेका छन् ः हामीले यतिवेला बुझ्नुपर्ने मुख्य कुरा भनेको – हामी मानव जाति को हौं? हामी कहिले, कहाँबाट, कसरी विकसित हुँदै आयौं ? हामी विभिन्न जाति, राष्ट्र, समुदायमा कसरी विभाजित भयौं? हामी बीचको साझापन र भिन्नता के हो? मान्छेमा निजीपन र सामुहिकता कसरी उत्पति भयो र ती दुइ वीचको अन्तर्सम्बन्ध के हो? मानव जाति र मानव सभ्यता भविष्यमा कुन दिशातिर उन्मुख हुँदैछ? हामी सचेत मान्छेहरूले हाम्रो मानव जातिलाई सुखसमृद्धि सहित सुरक्षित राख्ने हो भने के गर्नुपर्ला? आदि इत्यादि! यी सबैको उत्तर म जस्तो एउटा विपन्न ठाउँमा बस्ने मान्छेसंग हुने कुरो भएन! तर आजको सूचनासंचारको विकसित युगमा तपाइँहरूले खोज्न र पाउन सक्नुहुन्छ! त्यो दिशामा अघि बढ्न तपाईंहरूलाई यी निम्न पुस्तकहरू राम्रो रिफरेन्स बन्न सक्छन् कि? : 1. Edward O. Wilson (2012 ) The Social Conquest of Earth 2. Yuval Noah Harari ( 2014 ) Sapiens: A Brief History of Humankind 3. – do – Homo Deus: A Brief History of Tomorrow माघे संक्रान्ति २०७३ को हार्दिक शुभकामना !
काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको मेट्रो बस चल्ने, बन्यो उपत्यका नगर यातायात
काठमाडौं, पुस २९ । सरकारले राजधानीमा लामा र स्तरीय ठूला बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मार्फत जनताका नाममा सम्बोधन गर्दै छ महिनाभित्र सय लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौँ, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत सहरमा नगरपालिकामार्फत सञ्चालन गरिने घोषणा गरेका थिए । कम्पनी दर्ता अन्तिम चरणमा बस सञ्चालनका लागि मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । मन्त्रालयले पुसको दोस्रो साता कामपाका अधिकृत राज्यप्रकाश प्रधानाङ्गसहितको समिति गठन गरेर १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो । यो कमिटीलाई कम्पनीको कार्यालय सञ्चालन र जनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको छ । सोही कम्पनीमार्फत स्तरीय बस चलाएर व्यवस्थापनको जिम्मा पनि उसैलाई दिने मन्त्रालयको योजना छ । सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा उपलब्ध गराइने, विमानस्थलमा सार्वजनिक यातायातको सुलभ पहुँच पुर्याइने र विभिन्न पर्यटकीय गन्तव्यमा सेवा पु¥याई पर्यटन प्रवद्र्धनमा सहयोग गरिने कम्पनीको उद्देश्य रहेको मन्त्रालयको पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । मन्त्रालयले कामपाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा ‘स्फेसिफिकेसन र बोलपत्र पुस्तिका’ बनाउन अर्को प्राविधिक समिति पनि गठन गरेको छ । कामपाले कम्पनीको बहुमत हिस्सा लिने बस सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त अनुदान २५ करोड र चालु पुँजी २० प्रतिशत तथा नगरपालिकाले आआफ्नो सेयरबापत जम्मा गरेको १० करोडबाट कोष बनाइनेछ । मन्त्रालयले कामपालाई रु दुई करोड सञ्चालन खर्च व्यहोर्न प्रस्ताव गरे पनि महानगरपालिकाले कम्पनीको बहुमत हिस्सा लिने इच्छा व्यक्त गरेको छ । त्यस्तै काठमाडौँमा रहेका कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा र नागर्जुन नगरपालिकाले रु ३५–३५ लाख तथा चन्द्रागिरि, दक्षिणकाली, शङ्खरापुर, कागेश्वरी मनहरा र तारकेश्वर नगरपालिकाले रु १०–१० लाख सेयर राख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यस्तै कम्पनीमा ललितपुरको रु एक करोड तथा कार्यविनायक, गोदावरी, महालक्ष्मी र वज्रवाराही नगरपालिकाका रु १०–१० लाख सेयर हुनेछ । त्यसैगरी भक्तपुरले रु ६० लाख, मध्यपुरथिमिले रु ३५ लाख तथा अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले रु १० –१० लाख सेयर राख्नेछन् । बीस बस माग काठमाडौँ उपत्यका बाहिरका नगरपालिकाले पनि स्थानीयस्तरमा नगरस्तरीय बस सञ्चालन गर्न प्रस्ताव गरेका छन् । मन्त्रालयले विराटनगर, बुटवल, वीरगन्ज, नेपालगन्ज र पोखरा उपमहानगरपालिका र दाङ नगरपालिकासँग नगर बस सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकासँग सहकार्य गर्दै दश मार्गमा बस चलाउन २० बस माग गरेको छ । खास गरी चिसापानी–कोहलपुर–नेपालगन्ज–जमुनाहा, धम्बोजी–गणेशमान चोक–परसपुर–गौघाट, नेपालगन्ज ९सल्यानी बङ्गला०, –फुल्टेक्रा–पुरौनी ९खलवा० र वनकटवा–मदनचोक–कोहलपुर–चिसापानी मार्गमा नगर बस सञ्चालन गर्न प्रस्ताव गरिएको नेपालगन्ज उपमहानगपालिकाका कार्यकारी प्रमुख गिरिराज ज्ञवालीले बताउनुभयो । त्यस्तै विराटनगर उपमहानगरपालिका पनि नगर बस सञ्चालनका लागि कम्पनी दर्ता गर्ने चरणमा पुगेको छ । अपाङ्गतामैत्री ‘मेट्रो बस’ सरकारले उपलब्ध गराउने सबै बस अपाङ्गमैत्री हुनेछन् । त्यस्तै अपाङ्गता भएका यात्रुलाई सहज होस् भनेर ‘अडियो नोटिस बोर्ड’ र स्थान जनाउने ‘डिस्प्ले बोर्ड’का व्यवस्था हुने छ । चालिस सिट क्षमता भएका ती बस १०।६ मि लम्बाइ, २।६ मि चौडाइ र ३।८ मि उचाइका हुनेछन् । बसलाई सूचना प्रविधिमैत्री बनाउन निःशुल्क वाइफाइको व्यवस्था हुनेछ । त्यस्तै मोबाइल चार्ज गर्ने सुविधासमेत रहनेछ । मन्त्रालयले प्रधानमन्त्रीको घोषणालाई साकार बनाउनका लागि सय बस किन्न अर्थ मन्त्रालयसँग रु ६८ करोड बजेट विनियोजन गर्न पत्राचार गरिसकेको छ । उक्त रकमबाट बस किनेर नगरपालिकालाई चलाउन दिइने छ । मन्त्रालयले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाबाट रत्नपार्कलाई केन्द्र मानेर बस चलाउने योजना बनाएको छ । ती बस रत्नपार्कबाट आआफ्नो गन्तव्यमा जानेछन् र सोही रुट हुँदै फर्कनेछन् ।
विद्यार्थी राजनीति गतिरोधको अन्त्य गर्न स्ववियू निर्वाचन आवश्यकः प्रधानमन्त्री
काठमाडौं, पुष २९ । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक भएको बताउनुभयाे । उनले भने, ‘हामी स्थानीय निर्वाचनको दिशामा जाँदैछौं, स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हो, त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्नुस् ।’ स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद तपाईहरुको एजेण्डा हो, त्यही उमेर हदको व्यवस्थासहित निर्वाचन हुँदैछ । एजेण्डामा तपाईहरुले जित्नुभएको छ । अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।’ बैठकमा क्रान्तिकारीका नेताहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे रिपोर्ट राखेका थिए ।
संविधान संशोधन प्रस्तावमा आदिबासी जनजातिको समर्थन
काठमाडौं, पुष २९ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । बिहीबार नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन् । भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । भेटमा जनजाति अगुवाहरुले विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गरे । साथै प्रधानमन्त्रीले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने जानकारी दिए।
जेठमा स्थानीय, मंसिरमा प्रदेश र केन्द्रीय चुनाव गर्ने सरकारको तयारी
काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेब’ले जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्। बिहीबार रिपोट्र्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चुनावको मिति घोषणा गरेर संशोधन प्रस्ताव पारित गराउने बताए । उनले भने–‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’ सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको जानकारी दिए । खनालले जेठसम्म स्थानीय तहको चुनाव गर्ने र मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्ने गरी सरकारले तयारी गरेको बताए । उनले भने–‘सरकारले संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए। संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको उनले बताए। उनले भने-‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’
स्ववियु चुनावमा होमियो क्रान्तिकारी, प्रत्येक कलेजमा कमाण्डर खटाउने
काठमाडौं, पुस २८ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) स्ववियु चुनावमा होमिएको छ । स्ववियु चुनाव आगामी फागुन १४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनका लागि क्रान्तिकारीले स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमाण्डर तोक्ने भएको छ । डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी पदाधिकारीको वैठक शुरु भएको छ। वैठकमा अध्यक्ष नरेन्द्र न्यौपानेले देशभरका सम्पुर्ण कलेजका कमाण्डर तोकेर सम्पुर्ण रुपमा स्ववियुमा होमिने वताएका छन्। आज वुधबार अध्यक्षद्वारा वैठकमा ऐजेण्डा प्रस्तुत र देशभरको रिपोर्टिङ भएको छ।भोलि विहिवार वैठकलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेता नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादलले प्रशिक्षण दिने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।भोलि नै कलेज कमाण्डर टुंगो लागेपछि वैठक समापन हुनेछ।
अनलाईनबाट हाइड्रोमा लगानी गर्नेको ओइरो, तीनदिनमा पौने दुई अर्व जुट्यो
काठमाडौं, पुस, २८ । सरकारले अनलाईनबाट हाइड्रोमा लगानी गर्ने आवेदन खोलेपछि पौने दुई अर्व लगानी प्रतिवद्धता आएको मन्त्रालयले जानकारी दिएको छ । सोमबारदेखि खुलेको अनलाईनमा बिहिबार साँझसम्म एक अर्व ६० करोड लगानी प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । बिहिबार मात्रै पन्ध्रसय ५२ जनाले २३ करोड ५६ लाख ६७ हजार ६५५ रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् । सोमबार साँझदेखि खुलेको अनलाईन आवेदनमा हालसम्म अठार हजार दुईसय सात जनाले एक अर्व ५१ करोड ७० लाख रुपैयाँको लगानी गर्ने उल्लेख गरेका छन् । लगानी गर्नका लागि कम्पनीहरुले पनि चासो जनाएका छन् । अनलाईन खुलेको दिनदेखि आजसम्म सोह्र वटा कम्पनीले ५२ करोड अठार लाख रुपैयाँको लगानी गर्ने जनाएका छन् । नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गराएको लगानी प्रतिवद्धताले थुप्रै हाइड्रो बनाउन सक्ने बताइएको छ । ‘सर्वसाधारण जनता जलस्रोतमा लगानी गर्न खोजिरहेका छन्, हामीले लगानी सुनिश्चित गराउन पर्छ थुप्रै हाइड्रोमा लगानी जुट्छ’ मन्त्री शर्माले भने ।
विप्लव माओवादीले पार्टीको नाम फेर्ने !
रोल्पा, पुस २८ । विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम फेर्ने तयारी गरेको छ । मोहन बैद्य नेतृत्वको माअोवादीबाट फुटेको उसले धेरै माअोवादी भएकोले पार्टीको नाम नै फेर्ने तयारी गरेको रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले बताए । माओवादी भन्दा प्रचण्डले नेतृत्व गरेको पार्टीलाई बुझ्ने र नाम पनि पुरानो भएकाले पार्टीभित्र नाम परिवर्तन गर्ने बहस सुरु भएको उनले बताए । नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएको उनले स्वीकारे । तर, यसको टुङ्गो भने आगामी फागुन १ गते बस्ने महाधिवेशनले टुङ्ग्याउने उनले बताए । विप्लव माओवादीको फागुन १ गतेदेखि आठौं महाधिवेशन काठमाडौं र रोल्पामा हुँदैछ । उनले भने– ‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ ।’ पार्टीको पछाडि व्यक्तिको नाम जोड्नु राम्रो होइन, तर नेपालमा जोड्ने परम्परा बसेकोमा आफ्नो पार्टीले नयाँ थालनी गर्न खोजेको उनले जानकारी दिए । ‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको साझा हुनुपर्छ अहिले हाम्रो पार्टीमा व्यक्तिको नाम झुण्डाउने गरिएकोले पार्टीको नाम फेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने । विप्लवले मार्क्स विचारमा केही थप गरी नयाँ जनवादी क्रान्ति सुरु गर्ने तयारी गरेको छ । यो विषयमा थप निर्णय आगामी ८ औं महाधिवेशनको बन्द सत्रले गर्ने उनले बताए ।


>