कोइरालेमा पजेरो दुर्घटना, तीनको मृत्यु
मलेखु (धादिङ), पुस १ । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न.ं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
बालकको अपहरणपछि हत्या, तीन पक्राउ
राजविराज, पुस १। सप्तरीको हरिपुर गाविसमा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिवेश लोहनीले हरिपुर –३ निवासी रामगोविन्द साहका आठ वर्षीय छोरा दुर्गानन्दलाई छिमेकी २७ वर्षीय चूडामणि ठाकुरले मङ्सिर ११ गते खरायो देखाइदिने भन्दै अपहरण गरी आफ्नो घर लगेको प्रहरी अनुसन्धानबाट देखिएको बताउनुभयो । ठाकुरले अन्य सहयोगीसहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरी छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताइएको छ । अपहरण र हत्या गरेको छ दिनपछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा म्यासेज पठाउँदै रु पाँच लाख फिरौती माग गरेको थियो । बालक हराएपछि आमा ममतादेवीले इप्रका कडरबोनामा मङ्सिर १२ गते जाहेरी दिएपछि अनुसन्धानमा जुटेका प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर –३ का चूडामणि ठाकुरसहित उनका सहयोगी वडा नं १ का सामबाबु गुप्ता र देउरी गाविस–२ का कपिलदेव दासलाई समेत अपहरण गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको छ । शव सेफ्टी ट्याङ्कीबाट बरामद गरिएको थियो । कुहिएको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । रासस
पार्टी मुख्यालयमै एमाले सांसद कुटिए
काठमाडौं, मंसिर ३० । नेकपा एमालेका सांसद लालबहादुर रावलमाथि पार्टी मुख्यालय धुम्बाराहीमा आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन् । बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता मानबीर बोहोराले हातपात गरेका हुन् । बोहोराले सांसद रावलको छातीमा मुक्का हानेका थिए । पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेका बेला रावलमाथि आक्रमण भएको हो । बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले तयार संरचनामा असन्तुष्ट पक्षको १ टोली मुख्यालयमा डेलिगेशन आएको र उनीहरुको उक्त ज्ञापनपत्रमा रावलले हस्ताक्षर गर्न नमानेपछि उनीमाथि बोहोराले आक्रमण गरेका हुन् । रावलमाथि हातपात भएपछि एमाले नेताहरु ठाकुर गैरे, सुर्य थापा र राजन भट्टराईले छुट्याएका थिए । फोटो स्रोत–रातोपाटी
एमालेसँग देउवा अाक्रोशित भने– ‘कुनै हालतमा संशोधन प्रस्ताव फिर्ता हुँदैन !’
चितवन, मंसिर ३० । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुँने स्पष्ट पारेका छन् । बिहिबार भरतपुरमा चितवन कांग्रेसको २ महिने जागरण अभियानको उदघाटन गर्दै उनले भने– ‘बरु प्रस्ताव फेल होस, फिर्ता हुँदैन । देउवाले संसद अवरुद्ध गरेर विपक्षी एमालेले संसदीय अभ्यासलाई असहयोग गरेको आरोप लगाए । उन भने– ‘एमालेले कति दिनसम्म संसद चल्न दिदैन हेरौं । संसोधन प्रस्ताव पास गर्न एमालेले सघाउनु पर्छ, असहयोग गरे उसैलाई घाटा पुग्छ ।’ प्रमुख तीन दलबीच संविधान संशोधन प्रस्तावलाई निष्क्रिय बनाएर स्थानीय निकाय निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको चर्चा चलिरहेका बेला सभापति देउवाले जसरी भएपनि संशोधन प्रस्ताव फिर्ता नहुँने स्पष्ट पारेका हुन् । एमालेले संसोधन प्रस्तावमा अवरोध पुर्याएर मधेशी–पहाडी झगडा गराउन खोजेको आरोप लगाए । एमाले जस्तो राजनीतिक पार्टीले नेपाली नागरिक बीच दुरी बढाउनु राष्ट्र बिरोधी कदम भएको उनले बताए । आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेगरी काम गर्न कार्यकर्तालाई उनले निर्देशन दिए ।
उर्जामन्त्रीको घोषणाः दश वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन !
काठमाडौं, मंसिर ३० । सरकारले १० वर्षभित्रमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको बताएको छ । काठमाडौंमा सुरु दुईदिने उर्जा सम्मेलनमा उर्जा मन्त्री जनार्दन शर्माले सरकारकातर्फबाट ८ हजार मेगावाट, निजी क्षेत्रले ८ हजार र वैदेशिक लगानीबाट ४ हजार मेगावाट सहित बीसहजार मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको बताए । मन्त्री शर्माले उर्जा क्षेत्रमा सुरक्षित लगानीको वातावरण बनाउने दाबी गरेका छन् । स्वदेशीसँगै विदेशी लगानीकर्तालाई पनि उर्जा क्षेत्रमा आकर्षित गराउने खालका कार्यक्रम ल्याउने उनको भनाइ छ । भारतले भर्खरै ल्याएको सीमापार विद्युत व्यापार निर्देशिकाले नेपालमा कुनै असर नपर्ने बताए । भारतसँगको विद्युत व्यापार सम्झौतामा भारत सिमा पार विद्युत व्यापार गर्न कुनै अवरोध नहुने उल्लेख गरिएकाले ढुक्क हुन उनले आग्रह गरे । निजी क्षेत्रका विद्युत उत्पादकहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादक संघ (इप्यान)ले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । इप्यानका अध्यक्ष खड्क विष्टले स्पष्ट नीति ल्याएर सुरक्षित लगानीको वातावरण बनाए उत्पादन बढाउन सकिने बताए । शुक्रबार सकिने उर्जा सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवं आपूर्तिको विश्लेषण जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा नेपाल लगायत भारत, चीन, कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशबाट सरकारी प्रतिनिधि लगायत झण्डै ५ सय जनाको सहभागिता रहेको छ ।
नयाँ प्रक्रियामार्फत संसदमा दवाव
काठमाडौँ, मंसिर ३० । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले नयाँ प्रक्रिया अपनाएर व्यवस्थापिका–संसद्का सांसदलाई दवाव दिएका छन् । उनीहरुले मोबाइलमा एसएमएसमार्फत सन्देश प्रवाह गरी संविधान संशोधन प्रस्ताव फिर्ता लिन दवाव दिएका हुन् । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् लगायत विभिन शब्दहरुमार्फत मोबाइलमा एसएमएस प्रवाह गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् ।
संसद बैठक पाँच दिनलाई स्थगित
काठमाडौं, मंसिर ३० । व्यवस्थापिका संसदको बैठक आउँदो सोमबारसम्मको लागि स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो । संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले बैठक स्थगित भएको बताइएको छ । दलहरुबिच चुनावको लागि आवश्यक ऐनबारे छलफल गरेर चैत वा वैशाखमा स्थानीय निकायको चुनाव गराउने विषयमा भइरहेको छलफल सहमति नजिक पुगेको नेताहरुले बताउदै आएका छन् । संशोधन विधयेक गएको १४ गते मंगलबार सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । लगातार बैठक अवरुद्ध हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अन्यौलमा परेको छ ।
एमालेको अगुवाइमा प्यूठान र रोल्पामा चार दिने आमहड्ताल घोषणा
काठमाडौं, मंसिर ३० । संविधान संशोधनको विरोधमा रहेको उमालेले बिहिबारदेखि चार दिने रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको अगुवाईमा हड्ताल भएको हो । रोल्पा प्यूठान संयुक्त संघर्ष समितिको आव्हानमा पुस ३ गतेसम्मका लागि दुई जिल्ला बन्द गरिएको छ । बन्दले बुधबार बिहानैदेखि यातायात सेवा, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । विद्यार्थी र सर्वसाधारणलाई मर्का पर्ने गरी आयोजना गरिएको बन्द र हडतालमा एमालेका नेताहरुले अगुवाइ गरेका छन् । संविधान संशोधन जनभावना विपरीत भएको र सरकारले संशोधन मार्फत प्रदेश टुक्राउन लागेकाले चरणवद्ध आन्दोलन सुरु गरिएको नेकपा एमाले प्यूठानले जनाएको छ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेका छन् । संविधान संशोधन गरी पूर्वी नेपालका ९ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ् र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पाटीले बुधबार एक दिने पूर्व बन्दको आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द छन् । तर बन्दमा एम्बुलेन्स र मोटरसाईकल चल्न दिने उनीहरुले बताएका छन् । सरकारले संसदमा पेश गरेको संसोधन प्रस्तानमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटेकोमा सो पार्टीको असन्तुष्टि रहको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने–‘संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन’
लाहान, मंसीर ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारद्वारा व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । बुधबार दिउँसो लाहनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने– ‘सरकारको गोल निर्वाचनमार्फत् संविधान कार्यान्वयन नै हो । संविधान कार्यान्वयनको वातावरणका लागि सरकारले संविधान संशोधनको प्रक्रिया सुरु गरेको छ । हिमाल, पहाड र तराई मिलाएर राष्ट्रिय एकता कायम गर्न अघि सारिएको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । प्रस्ताव फिर्ता होला कि भन्ने आशंका नराख्दा हुन्छ ।’ सरकार संसदमा दर्ता गरेको प्रस्ताव पारित गराउने तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले थप्दै भने– ‘प्रस्ताव फिर्ता हुँदैन । संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको बिकल्प छैन । तर, संसदीय प्रक्रियाबाटै प्रस्तावमा केही हेरफेर वा परिमार्जन गर्न सकिन्छ । यसका लागि सरकार आवश्यक लचकता प्रदर्शन गर्न तयार छ ।’ स्थानीय निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि तत्कालै स्थानीय निर्वाचनमा जानुको बिकल्प नभएको बताए । उनले दलहरुबीच छलफलमै कायम भएको र स्थानीय तहको निर्वाचन गर्ने कि पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्ने भन्ने टुंगो केही दिनमा लाग्ने बताए । उनले निर्वाचनमा जाने कुरामा बिलम्व गर्न नसकिने जिकिर गरे । पत्रकार भेटघाटमा प्रधानमन्त्रीले मधेशको विकासप्रति सरकार संवदेनशील रहेको बताउँदै सिरहा–५ को निर्वाचन क्षेत्र विकास कोषको बजेट सहमतिमै बिनियोजन गरिएको जानकारी दिए । तराई–मधेश भ्रमणका क्रममा बुधबार नै प्रधानमन्त्रीले ढल्केबरको सव–स्टेशन ट्रान्समिसन लाइनको स्थलगत निरीक्षण गरेका छन् । उर्जामन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ढल्केबर पुग्नुभएका प्रधानमन्त्रीले समयभित्रै आयोजना सम्पन्न गर्न आयोजना प्रमूख र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
ट्याक्सी चालक लामाको हत्यामा संग्लग्न रहेको आरोपमा ५ पक्राउ
काठमाडौँ, २९ मङ्सिर । बौद्धस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ उपत्यका बाहिर घर भई नयाँ बस्तीमा बस्ने २० वर्षीया माया तामाङ, ३४ वर्षीया सङ्गीता राई, २६ वर्षीय मागधन राई, २० वर्षीय अरुण माझी र २२ वर्षीय दिया माझी छन् । घाइते अवस्थामा भेटिएका दोलखाका ३६ वर्षीय लामाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै नयाँ बस्तीमा रहेको प्रहरी बिटमा मृतकका आफन्त तथा स्थानीयवासीले यही मङ्सिर २६ गते आक्रमण गरेका थिए । महानगरीय अपराध महाशाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले मृतक लामाको माया तामाङसँग सामान्य मित्रता रहेको र यही मङ्सिर २५ गते शारीरिक सम्पर्क राख्न खोजेपछि भएको विवाद बढेर घटना घट्न पुगेको जानकारी दिनुभयो । घाइते अवस्थामा प्रहरीले अस्पतालमा पु¥याएका लामाको उपचारका क्रममा मृत्यु भएको थियो । रासस
अब विदेशमा मृत्यु भए क्षतिपूर्तीको निवेदन अनलाइनबाटै
काठमाडौँ, २९ मङ्सिर । अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नै अनलाइन प्रणालीमार्फत क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि काठमाडौँ आउने झन्झट हटाउन आ–आफ्नो ठाउँबाट निवेदन दिनका लागि अनलाइन प्रणाली सुरु गर्न लागिएको बताउनुभयो । महानिर्देशक राजभण्डारीले विभागबाटै विदेशमा केही समस्या परेर पीडितलाई ‘अन्तर्राष्ट्रिय फोन’को व्यवस्था गर्न लागिएको हो भन्नुभयो । उहाँले तुरुन्तै उद्धार गर्न र क्षतिपूर्तिका लागि सजिलो होस् भनेर पीडितलाई विभागबाट नै विदेशस्थित नेपालका दूतावास र कम्पनीमा फोनको व्यवस्था गर्न लागिएको बताउनुभयो । कार्यक्रममा झापा पाँचगाछीका देवीप्रसाद तिवारीले छोरा रमेश तिवारीको साउदी अरबमा कामकै सिलसिलामा ज्यान गएपनि अझै क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । २०६८ सालमा छोराको ट्रकले किचेर ज्यान गएपनि क्षतिपूर्तिका लागि पटकपटक काठमाडौँ धाएपनि नपाएको बताउनुभयो । कार्यक्रममा धनुषाकी बबिता साहले कुवेतमा श्रीमान् सत्यनारायणको ज्यान गएपनि अहिलेसम्म बिमा कम्पनीले क्षतिपूर्तिबापतको रकम नदिएको बताउनुभयो । उहाँले कम्पनी र प्रर्वद्धन बोर्डबाट क्षतिपूर्ति पाएपनि बिमाबापतको रकम प्राइम लाइफ इन्स्योरेन्सले नदिएको गुनासो गर्नु भयो । “बिमा कम्पनीले पहिले नाता प्रमाणित गरेर ल्याउ भनेको थियो, त्यो पनि बुझाएँ”–उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि दिएको छैन ।” कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की र सुरक्षित आप्रवास परियोजनाकी रोनी प्रधानले वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु कसरी कम गराउन सकिन्छ त्यसतर्फ अभिमुखिकरण कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो । समितिले प्रस्तुत गरेको प्रतिवेदनमा सन् २०१६ मा प्राकृतिक कारणले सबभन्दा बढी मृत्यु हुने गरेको उल्लेख छ । त्यसपछि क्रमशः आत्महत्या, कार्यस्थलमा दुर्घटना, ट्राफिक दुर्घटना हुने गरेको छ । रासस
प्रचण्डको सम्पत्ती ३ तोला सुन र १ कट्ठा जग्गा, अरु मन्त्रीहरूको के छ त ?
काठमाडौँ, २९ मङ्सिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेष्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ । त्यस्तै सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसहित २७ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी १४ जना राज्यमन्त्रीको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस
ढल्केबर सबस्टेसन निर्माण सन्तोषजनक : प्रधानमन्त्री (फोटो फिचरसहित)
सिरहा, मंसिर २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढल्केबर सबस्टेसन निर्माण तथा स्थरउन्नती कार्यको निरिक्षण गरेका छन् । सोही क्रममा चुस्त र दुरुस्त हिसावले कार्यको प्रगति भएकोमा खुसी व्यक्त गर्दै देशभर यही गतिमा कामको खाँचो रहेको औल्याए । प्रचण्डले भने, ‘यस्तै द्रुत गतिमा काम भयो भने अवस्य सफल भइन्छ ।’ प्रधानमन्त्री प्रचण्डले छिट्टैनै भारत किन्ने भनिएको २२० मेगावाट विजुलीलाई देशभरि वितरण गरिने बताएका छन् । यसले देश भरि धेरैहदसम्म लोडसेंडिग अन्त्य हुने समेत उनले बताए ।
संसद् अवरुद्ध अन्त्य गरियोस : गृहमन्त्री निधी
काठमाडौँ, मंसिर २९ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई लिएर बारम्बार संसद् अवरुद्ध पार्ने काम उचित नभएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायतलाई आग्रह गरेका छन् । महिला, कानुन र विकास मञ्चले बुधबार आयोजना गरेको ‘नागरिकतासम्बन्धी नेपाली कानुनको विश्लेषण’ विषयक सार्वजनिक कार्यक्रममा गृहमन्त्री निधीले संविधान संशोधनको प्रस्ताव सही भएको भन्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्ने बताए । उपप्रधानमन्त्री निधिले भने, “संविधान संशोधनको प्रस्ताव संसद्को प्रक्रियाबाटै पूरा गर्नुपर्छ, एमालेले संसद् अवरुद्ध नगर्दा राम्रो हुन्छ ।” गृहमन्त्री निधीले एमालेतर्फ लक्षित गर्दै भने, ‘सरकारमा रहँदा एमालेले त्यही कुरा उठाउँदा राष्ट्रवादी हुने अहिले अर्को सरकार आउँदा अराष्ट्रवादी कसरी हुन सक्छ’ त्यसैले सहमतिबाटै समस्याको निकास पर्छ भन्दै अनवश्यक संसद् अवरुद्ध पार्नु गलत रहेको औँल्याए । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनु हुँदैन, नेपाली नागरिकलाई नागरिकबाट वञ्चित हुनेखालको कानुनको संशोधन गरेर जान सकिन्छ उनले भने ।
तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको दवाव
काठमाडौं, मंसिर २९। अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न दवाव दिएका छन् । बुधबार शिक्षा मन्त्री धनिराम पौडेललाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरुले सो दवाव दिएका हुन् । शिक्षा मन्त्रालयमा काठमाडौं विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयसंग सम्वन्धित ६ सूत्रीय मागसहित अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले सो ज्ञापनपत्र पेश गरेका हुन्। ज्ञापनपत्रमा मेडिकल शिक्षाको शुल्क अविलम्ब निर्धारण गर्नुपर्ने र शुल्क निर्धारण समितिको विभेदकारी शुल्क खारेजीको माग गरिएको छ। मन्त्री पौडेलले उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसक्दा सो ढिलाई भएको खुलासा गरेका छन् । शिक्षा मन्त्रीको संयोजकत्वमा गठित शिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा.सुरेसराज शर्मा र पूर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन् । स्रोतका अनुसार शर्माले पुरानै उपकुलपति डा.रामकण्ठ माकाजुमा अडान लिएका छन् भने शिक्षामन्त्री नयाँ उपकुलपतिको पक्षमा देखिएका छन्। शिफारिश समितिले ३ जनासम्मको नाम कुलपति एवं प्रधानमन्त्रीलाई शिफारिश गरेपछि त्यस मध्येका एकजनाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। क्रान्तिकारीले मेडिकल कलेजले एकमुष्ठ र वढि लिएको शुल्क फिर्ता गर्न र त्यसका लागि अनुगमन समिति वनाउन समेत माग गरेको छ। विवाद अविलम्ब टुङ्ग्याएर उपकुलपति तत्काल नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी अखिल(क्रान्तिकारी)का प्रबक्ता सुरेन्द्र बस्नेतले दिएका छन्।

