एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल

 

कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो ।

काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।

एमालेले भन्यो–‘चुनाव गराउने भए संसद चल्न दिन्छौ’

काठमाडौं, मंसिर २५ । एमालेले संसदमा गरिरहेको अवरोध हटाउने संकेत गरेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानको कार्यान्वयन, निर्वाचन र मुलुकलाई समाधान दिने सन्दर्भमा आफ्नो दल बाधक नहुने बताए । ‘एमालेको अवरोधले निर्वाचनका कानुन अघि बढ्न नसकेको भन्ने सरकारको आरोप हो भने गृहमन्त्रीको टेबलमा रहेका ती विधेयक उसले संसद्मा ल्याओस्, त्यसपछि निकास दिन हामी तयार छौ ।’ नेता ढकालले भने- ‘हाम्रो पहिलो अडान संविधान संशोधनको विधेयक फिर्ता गरेर निर्वाचनका तयारी अघि बढून् भन्ने हो, अब सरकारले निर्वाचनका कामलाई सहमतिसाथ ल्याउँछ वा ल्याउँदैन भन्ने हेर्न बाँकी छ ।’ आगामी २०७४ माघ ७ भित्र केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता छ । विपक्षीको अवरोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमा पनि छलफल अघि बढ्न सकेको छैन । सरकारले भने नेपालको संविधानको धारा २९६ बमोजिम सो संविधान संशोधनको विधेयकको दर्ता गरिएको र त्यसमा आवश्यक परिमार्जन गरेर समाधान निकाल्ने जनाएको छ । सरकारमा रहेका केही दलले संसद् अवरोध गर्नु लोकतान्त्रिक चरित्र नभएको टिप्पणी गर्दै आएका छन् । सदनको गतिरोध फुकाउन सभामुख ओनसरी घर्तीले दलका शीर्ष नेतासँग निरन्तर संवाद गरिरहेकी छन । संसद्को अर्को बैठक यही मङ्सिर ३० गतेका लागि तय गरिएको छ । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि जनताको आवाज बुलन्द हुने स्थल संसद्लाई लामो समय अवरोधमा राख्न नहुने बताउँदै निर्वाचनका कानुन ल्याइएमा आफूहरुले सदनको गतिरोध अन्त्य गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । यसबारे एमालेको संस्थागत धारणा बाहिर आइसकेको छैन । यही मङ्सिर २० गते बसेको एमाले स्थायी कमिटीको बैठकले संविधान संशोधन विधेयक असंवैधानिक भएको जनाउँदै संसद भित्र र बाहिर जारी विरोध तथा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकले विधेयक फिर्ता गरी संवाद र सहमतिको माध्यमबाट समस्याको हल गर्दै अविलम्ब निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो । रासस

प्रमुख दलहरु जिम्मेवार बन : कांग्रेस नेता

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिहले प्रतिपक्षीहरुले हाल चर्चामा ल्याएको संविधान संशोधनको विषय बाहिरी इसारामा आयो भन्ने हल्ला गलत रहेको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गरे । ‘मधेशी मोर्चा लगायतले उठाएका जायज मागका सबन्धमा हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे । सरकारले अहिले राखेको संशोधन आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार समेत उनले बताए । अहिलेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रमुख दलहरु मिलेर संविधान कायन्यनको प्रमुख आधार निर्वाचनको वातावरण बनाएर चुनावमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्नेछ । त्यसैले परिवर्तनकारी शक्ति मिलेर अघि बढ्नुको बिकल्प छैन ।

स्वास्थ्यमन्त्री थापालाई साक्षी राखेर तिवारीले तोडे अनशन

राजविराज, मंसिर २५ । अठार दिनदेखि अनशनरत विकास तिवारीले अनसन तोडेका छन् । तिवारी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै विगत मंसिर ८ गतेदेखि अनशनमा थिए ।  सरकारी पक्षबीच चार बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका थिए । तिवारीले कुपोषणले ग्रसित १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनसन तोडेका हुन् । शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुवैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकारले आफ्ना माग पूरा गर्ने सहमति जनाएपछि तिवारीले अहिले केहीबेरमा अनशन तोड्दै छन् । सहमतिअनुसार एक महिनाभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायत बुँदा समेटिएका छन् । अनशनरत तिवारी नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष पनि हुन् । तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनसनरत बसेका थिए । उनले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बेथिति छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरिय समिति बनाउनुपर्ने, अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूल गेटको निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए ।

सोलिडारिटी कप विजेताले जनही तीन लाख पाउने

काठमाडौँ मङ्सिर, २५ । अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । मलेसियामा सम्पन्न सोलिडारिटी कप फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै कार्यसमिति बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवरलाई मनोनीत गरेको छ । बैठकले उपाध्यक्ष कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । उहाँ गत ८ कात्तिकमा निर्वाचनबाट उपाध्यक्षमा विजयी भएका थिए । त्यसपछि रिक्त रहेको उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घका अध्यक्ष वीरबहादुर खड्का मनोनीत भएका छन् । एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न कुँवरको नेतृत्वमा समिति बनाएको छ । बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएको बारे छानबिन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जीव मिश्र सम्मिलित समिति गठन गरेको छ । उनीहरूलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । एन्फाले समयमै खेलाडीको नाम दर्ता नगरी दिँदा थ्रीस्टार प्रतियोगिताबाट बाहिरिएको छ । महिला साफका लागि २० खेलाडी छनोट यसैगरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय टोली छनोट गरिएको छ । जसमा ३ गोलकिपर, ६ डिफेन्डर, ४ स्ट्राइकर र ७ मिडफिल्डर छन् । प्रशिक्षकमा कुमार थापा र अस्मिता खवास सहायक प्रशिक्षक छन् । नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । अन्य खेलाडीमा नमिताकुमारी दली, गीता राना, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा राजभण्डारी, कृष्णा खत्री, अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कविता धिमाल, सरु लिम्बू र निर्मला विक छन् । तीस खेलाडीबाट छनोट गरेर अन्तिम २० को सार्वजनिक गरिएको थियो । समूहमा ‘ए’मा रहेको नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्नेछ । भारत, अफगानिस्तान र बङ्गलादेश समूह ‘बी’मा छन् । रासस  

अर्थमन्त्री महराले भने- संबिधान कार्यान्वयन नगरि हुन्न,संशोधन प्रस्ताव फिर्ता लिईन्न

बेंसीसहर (लमजुङ), २४ मङ्सिर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ । आज सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री महराले परिमार्जन गरेर भएपनि संविधान संशोधन गरिने दाबी गर्नुभयो । संविधान संशोधनको विषयमा चर्किएको विवाद सान्दर्भिक भएको बताउँदै उहाँले संविधान संशोधन गम्भीर विषय भएकाले यसलाई व्यापक बहसमा ल्याउन जरुरी भएको उल्लेख गर्नु भयो । “सविधान संशोधनको प्रस्तावमा विरोध आउनु असान्दर्भिक छैन्” उपप्रधानमन्त्री महराले भन्नुभयो, “यस विषयमा व्यापक छलफल हुन जरुरी छ ।” व्यापक छलफलपछि प्रस्तावित बुँदाहरूलाई परिमार्जन गरेर भएपनि संविधान संशोधन गर्नुपर्छ ।” मन्त्री महराले भन्नुभयो “संविधानका विषयमा कोही सन्तुष्ट छन् कोही असन्तुष्ट छन् तर सवैलाई सन्तुष्ट गराउन समय लाग्छ ।” वर्तमान सरकार संविधान संशोधनसहित भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाको बाँकी काम, मूलुकको आर्थिक समृद्धि र संविधान कार्यन्वयनको विषयमा गम्भीर भएको बताउनु भयो । रासस

छिट्टै चुनावको मिति घोषणा हुन्छ, ‘प्रधानमन्त्री’

सुर्खेत, मंसीर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए । संविधान संशोधन प्रस्तावबारे प्रचण्डले भने, ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षड्यन्त्र छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धीहरु माओवादीको पहलमा भयो, ति सबैलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’ उनले थपे, ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपिल गरे । हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भावना रहेको भन्दै कार्यकर्ताहरुलाई निरास नहुन र नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न आग्रह गरे । उनले भने, ‘हामी बलियो भएनौं भने सबै उपलब्धी उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’ प्रचण्डले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास व्यक्त गरेका छन् ।

दर्शनार्थी बोकेको बस उदयपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

उदयपुर, मंसिर २४ । उदयपुरमा शुक्रबार विहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्डमा पर्ने लेखानी ५ भदौरेमा बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना भएको हो । ४१ भन्दा बढी यात्रु चढेको सो बस खोटाङको हलेसी दर्शन गरेर फर्कदै गर्दा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा ५ जान भन्दा बढि दर्शनार्थीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । प्रहरी दुर्घटनास्थलतर्फ जाँदै गरेकाले थप विवरण आउन बाँकी छ ।

झापाका बरिष्ठ पत्रकार मदन ढकालको ६५ बर्षको उमेरमा निधन

बिर्तामोड, मंसीर २४। झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवारराति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । एक बर्षअघिबाट मधुमेह र मृगौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । २००९ साल जेठ १९ गते आइतवार अनारमनी १मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् । स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गराएका छन् । २०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए । ढकालका गरिमा(काठमाडौं), बाडुली(शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काडमौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा समाजलेख रचना प्रकाशित छन् । त्यस्तै उनको प्रकाशोन्मुख कृतिका रुपमा कविता संग्रह–१, कथा संग्रह– १, सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ । नवरंग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन शनिश्चरे माध्यमक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतिराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार संघ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याए वापत शिलगढी–बागडोगररा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार(अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभन्न संघ–संस्थाहरुबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दन तथा सम्मानित व्यक्तित्व हुन्– ढकाल । भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र चिनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशिया साहित्य, पत्रकारिता एव्म् विभिन्न सामाजिक संघ–संस्थाको माध्यमबाट भ्रमण ढकालले गरेका छन् । स्वर्गीय ढकालका बुबा परशुराम ढकाल, श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, बुहारी एलिना ढकाल, छोरीज्वाई सीमा–लीलाप्रसाद घिमिरे, उमा चन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन ढकाल, लक्ष्मण ढकाल, अरुण ढकाल, सुरेश ढकाल र बहिनी दुर्गा आचार्य रहेका छन् ।

सभामुखद्वारा सदन खुलाउन पहल

काठमाडौँ,  मङ्सिर २४ । अवरुद्ध संसद् खुलाउने सम्बन्धमा सभामुख ओनसरी घर्तीले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो छलफल गरेकि छिन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाएर सभामुख घर्तीले प्रमुख राजनीतिक दलले सहमति गरेर सदन पुनःसञ्चालन गर्न आग्रह गरिन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस सभापति देउवाले भने, “व्यवस्थापिका–संसद्मा दर्ता भएको विधेयकमा सहमति गरेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।” सरकारले एक साता अगाडि दर्ता गराएको संशोधन प्रस्ताव दर्ता गराएपछि प्रतिपक्षले सदन अवरोध गर्दै आएका छन् । छलफलबारे प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुने बताए । रासस  

कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन

धनगढी, मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कैलालीको गेटामा आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए । त्यसका लागि आफ्ना कार्यकर्ताहरुलाई तयारी रहन उनले निर्देशन दिए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्नेमा प्रचण्डले जोड दिए । उनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने समेत दावी गरे । प्रशिक्षणमा ७ नं प्रदेशका नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताको सहभागिता थियो ।

संविधान संशोधन आवश्यक छ : देउवा

काठमाडौँ, मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को लोकार्पण कार्यक्रममा बोलदै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव अघि सारिएको बताए । सभापति देउवाले भन्नुभयो – ‘समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा (एमाले)ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’ देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे ।

सभामुखद्वारा कांग्रेस र एमालेसँग छलफल गर्दै

काठमाडौं, मंसिर २३ । अवरुद्ध संसद खुलाउने बिषयमा सभामुख ओनसरी घर्तीले मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् । सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछिन् । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा उनले कांग्रेस सभापति देउवासँग छलफल भइरहेको उनको स्वकिय सचिवालयले जनाएको छ । त्यसलगत्तै एमाले अध्यक्ष ओलीसँग छलफल हुने कार्यक्रम रहेको पनि बुझिएको छ । प्रधानमन्त्री दाहाल जिल्ला बाहिर रहेकाले फर्केपछि छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी एमाले सहितका दलले लगातार चौथो पटक संसद बैठक अवरुद्ध पारेका कारण सभामुखको ध्यानाकर्षण भएको बताइएको छ ।

डा‍. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार, एकजना नियन्त्रणमा

काठमाडौं, मंसिर २३ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि एक विद्यार्थीले जुत्ता प्रहार गरेका छन् । पोखरामा एक कार्यक्रममा सञ्जिव भट्टराईले डा‍. भट्टराईमाथि जुत्ता प्रहार गरेका थिए । सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले बताए । पक्राउ पर्ने विद्यार्थी पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र हुन् । नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार क्याम्पस हातामा आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा गएका बाबुराममाथि ताकेर जुत्ता प्रहार गरेपनिकाे भएपनि उनलाई लागेन । त्यसपछि उनले नयाँ शक्ती तथा भट्टराईविरुद्ध नारा लागएका थिए ।

उपराष्ट्रपति पुनद्धारा स्तुपको अवलोकन

नवलपरसी, मंसिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गरेका छन् । उनले आज (बिहीबार) विहान रामाग्रामा स्तुप पुगेर अवलोकन गर्नुका साथै शान्तिको कामना गर्दै दिप प्रज्वलन गरे । सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन आग्रह गरे । अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताए । उनले रामग्राम स्तुप विश्वभरका बुद्ध धर्मलावम्बीहरुहरुको आस्थाका केन्द्र भएको बताउँदै वर्षमा हजारौँ पर्यटक रामग्राम भित्र्याउन सकिने बताए । उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी आईपुगेका हुन् । उनले बुधबार साँझ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र उद्योग व्यवसायीहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसँग छलफल

नवलपरासी,  मङ्सिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नवलपरासीका उद्योगी–व्यवसायीसँग बुधबार छलफल गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार बेलुुका जिल्लाको सुनवलस्थित लोटस रिसोर्टमा जिल्लाका उद्योगी–व्यवसायीसँग छलफल गरेका हुन् । सो क्रममा उपराष्ट्रपति पुनले नवलपरासी जिल्लाको आर्थिक र औद्योगिक अवस्थाबारे उद्योगी–व्यवसायीसँग छलफल गरेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष भीमबहादुर थापा (भरत)ले जानकारी दिए। यसैगरी, उपराष्ट्रपति पुनले बुधबार बेलुुका नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग समेत जिल्लामा पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । आजदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा उपराष्ट्रपति पुनः बुधबार साँझ नै नवलपरासी आएका हुन् । बुधबार राति लोटस रिसोर्टमा बस्नु उपराष्ट्रपति पुन आज बिहान भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन र अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो १२ः३० बजे औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा आज सुरु हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ । मेलामा करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भरतले बताए । तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रूपमा रहेको छ । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ । रासस