सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौं: प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

२४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।”

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प तेही हो, आज पनि त्यही छ ।”

सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए। 

आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताए। 

निराषा बाड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे।

सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ । यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ ।”

काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुने

काठमाडौं । विद्युतीय लाइन भूमिगत कार्यका भन्दै नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले रत्नपार्क  वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा शनिबार, सोमबार, बुधवार,  असार २ र ३ गते विद्युत् कटौती गर्न लागेको हो। यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ। यी स्थानमा हुनेछ विद्युत् कटौती

रास्वपाका सांसदहरु नेपाली टीमको जर्सी लगाएर संसदमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि भन्दै संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर सहभागी भएका छन् ।  नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले बताएका छन् ।   रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा संसदमा पुगेका थिए ।  नेपालले आईसीसी टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिएका छन् ।

राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो । यसअघि उनी ठूला करदाता कार्यालयका प्रमुखको रुपमा काम गरिसकेका छन्। अहिले अर्थ मन्त्रालय आउनुअघि भने उनी वातावरण विभागका महानिर्देशकको रुपमा कार्यरत थिए।  आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद खाली थियो । त्यसैगरी अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाएको हो । तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा ल्याइएको छ ।  अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुख शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको हो । यस्तै, धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा सरुवा गरिएको छ । बजेट महाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ ।

राजेन्द्र महतोको नयाँ पार्टी घोषणा

 काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी  र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।

बाँकेको नरैनापुरमा हैजा पुष्टि भएन

नेपालगञ्ज । चार जनाको ज्यान जाने गरी बाँकेको नरैनापुर गाउँपालिका– ३ गेग्लीमा देखिएको प्रकोप झाडापखाला नभएको पुष्टि भएको छ ।  मृत्यु भएका तीनजनामा झाडापखाला समस्या देखिएको परिवारका सदस्यले बताए पनि ल्याब रिपोर्टमा कोलेराको परजीवी नदेखिएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । ‘भेरी अस्पतालमा उपचाररत नितेश पासीको दिसामा कोलेराको पराजीवी नभएको ल्याब रिपोर्ट आएको छ’– उहाँले भन्नुभयो– ‘चार जनाको फरक–फरक मितिमा मृत्यु भएको हो, अहिले झाडापखालाको प्रकोप छैन ।’ एकै घरका तीनजनाको मृत्यु भए पनि फरक–फरक दिन मृत्यु भएको जानकारी भन्दै उहाँले १२ भदौ ०८१ मा ३८ वर्षीया उषा पासीको, ६५ वर्षीया शान्ति पासीको १४ भदौमा र १२ महिनाकी नन्दनी पासीको १६ भदौमा मृत्यु भएको बताउनुभयो । सोही गाउँका १०  वर्षीय युसुफ अलि शेखमा ११ भदौको मध्यरात टाउको दुख्ने र ज्वरोको समस्या देखिएपछि उपचारका लागि भोलिपल्ट बिहान भारतको भिंगा लगिएको थियो। उपचारपछि घर फर्किएका बालकको त्यही दिन दिउँसो घरमै मृत्यु भएको हो ।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

केन्यामा भएको सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

काठमाडौं । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले बताएको छ। केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन्।

मोदीको शपथ ग्रहणमा प्रधानमन्त्रीसँग को को जाँदैछन् ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत जाने टोलीको तय भएको छ ।  मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण आइतबार हुँदैछ । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री सुपुत्री एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतम छन् । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डसहितको टोली आइतबार भारत जाने कार्यक्रम छ ।

१५.५४ अंकले बढ्यो नेप्से

काठमाडौं ।चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ । शेयर बजारको उत्साह बुधबार पनि निरन्तरता पाएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको छ। बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ। आज नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ । आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ। ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम सेक्टरको शेयर बढको छ । उक्त समूह ९८.२४ अंकले बढेको छ । वाणिज्य बैंकको पनि ४८.४४ अंकले बढेको छ । आज १३ वटा समूहमा ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूहको शेयर मूल्य घटेको छ । आज एउटा लघुवित्तको र एउटा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

तीन सिडिओको सरुवा तथा पदस्थापन

काठमाडौँ ।सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ। गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्माको प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्ला प्रशासन कार्यालय पर्वत र सहसचिव नेत्र प्रसाद सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ । यसैगरी, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

लगानीकर्तालाई समस्या भए कानुन सुधार्ने राजनीतिक प्रतिबद्धता

काठमाडौं। नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन्। आइतबार काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो मुख्य सत्रका वक्ता तथा राजनीतिक दलका प्रतिनिधिहरुले नेपालमा लगानीको अवसर खोजिरहेका लगानीकर्तालाई यहाँको वातावरणको अवस्थाबारे जानकारी दिँदै उच्च मनोबलका साथ काम गर्न सन्देश दिएका हुन्। ‘नेपालमा लगानी अवसरको खोजी’ विषयक पहिलो मुख्य सत्रको अध्यक्षता गरेका अर्थमन्त्री वर्षमान पुनले अध्यादेशमार्फत् कानुन संशोधनलाई लगानी वातावरण सुधारप्रतिको सरकारको प्रतिबद्धताको प्रमाणका रुपमा बुझ्नुपर्ने बताए। कानुन संशोधनका लागि निजी क्षेत्रसँग पर्याप्त छलफल भएको र निजी क्षेत्रको सुझावका आधारमै कानुन संशोधन प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। अर्थमन्त्री पुनका अनुसार सरकारले करसम्बन्धी कानुनलाई थप लगानीमैत्री बनाउँदैछ। नेपाल रणनीतिक रूपमा दुई ठूला र बढ्दो अर्थतन्त्रका रुपमा रहेका चीन र भारतको बीचमा अवस्थित छ। यसले नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर प्रदान गरेको छ। अध्यादेशमार्फत ल्याइएको केही नेपाल ऐन संशोधमार्फत् सरकारले विश्व भन्सार संगठन र विश्व व्यापार संगठनको सिद्धान्त तथा अभ्यास अनुरूप नयाँ भन्सार विधेयक पनि संसदमा पेस गरेको उनले उल्लेख गरे। ुनेपाल रणनीतिक रूपमा दुई ठूला र बढ्दो अर्थतन्त्रका रुपमा रहेका चीन र भारतको बीचमा अवस्थित छ। यसले नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर प्रदान गरेको छ। नेपालको आर्थिक वृद्धिका प्रमुख संवाहक ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्र हुन्,ु अर्थमन्त्री पुनले भने। उक्त सत्रमा पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा। प्रकाशशरण महत, प्रतिनिधिसभा सदस्य डा। स्वर्णिय वाग्ले, पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालगायत विशिष्ट व्यक्तित्वहरु वक्ताका रुपमा थिए। पूर्वअर्थमन्त्री डा। महतले नेपालको विकास तथा समृद्धिका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नभएका कारण प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने निष्कर्ष रहेको र यहाँ लगानीका लागि क्षेत्रगत प्राथमिकतासमेत निर्धारण गरिएको बताए। त्यस्तै, पूर्वअर्थमन्त्री डा। खतिवडाले सहज प्रवेश, सहज निकास र प्रतिफल सुनिश्चितताको अवस्था सिर्जना गरिनुपर्ने बताए। डा. वाग्लेले विदेशी लगानीकर्तालाई नेपालमा सहजीकरण गर्नका लागि कानुनी रुपमा खुकुलो वातावरण सँगै कुनै विवाद वा समस्या देखिएको अवस्थामा मध्यस्थताका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको पनि बताए। उक्त सत्रमा दक्षिण एसियाका लागि व्यापार आयुक्त तथा पश्चिम भारतका लागि बेलायतका उच्च आयुक्त हरजिन्दर काङ, संयुक्त राष्ट्रसंघका नेपालका लागि आवासीय संयोजक हाना सिंगर हाम्डी, विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस एच। हदाद जेर्बोस, अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० को बंगलादेश, भुटान तथा नेपालका देशीय प्रबन्धक मार्टिन हल्टम्यान, अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को नेपाल मिसन प्रमुख टिडिएन किन्दालगायत वक्ता थिए। त्यसैगरी, चीनको सिचुआन प्रान्तका महासचिव रेज जिङवेन, भारतीय चेम्बर अफ् कमर्सका महानिर्देशक राजीव सिंह, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली वक्ताका रुपमा थिए। यो सत्रमा नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले पनि प्रस्तुतीकरण दिए।

कानुन व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिंदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा गम्भीर रुपमा छलफल भएको बताइन्। साथै उनले यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय बैठकले जानकारी दिइन्।

नागरिक उन्मुक्तिका उपाध्यक्षसहित २५ नेता राजेन्द्र महतोको दलमा

काठमाडौं ।  रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका २५ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । धनुषाका केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २५ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा आवद्ध भएका हुन् । उनीहरूले अत्यन्तै मिहिनेत गरि बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु अडिदेखि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियतापूर्वक साथ दिइरहेका थियौँ’, बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्वहरू नसुध्रिने छाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’ उनीहरूले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको पनि आरोप लगाएका छन् । उनीहरूले पहिचानसहितको संघीयता, संघीय लोकतान्तित्रक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट नभएको पनि बताएका छन् ।  

रेकर्डबाट ‘हिंसा’ शब्द नहटाइएसम्म सदन अवरोध जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।  शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । संसद्‌मा तपाईँहरूले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए । संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए । सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।