यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए।

“उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए।  

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री प्रचण्डले भने, “विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उनले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे। 

‘ठूला जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाइन्छ’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने बताए।

“१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एकहजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “साथै देशलाई दिर्घकालिन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।”

विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एशियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको बित्तिय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत बृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशानिर्देश गर्ने बताए । 

अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताउनुभयो । उनले भने, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धी हो । नेपालको विकासमा यो एउटा मूख्य खुडकिलो हो ।”

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने  काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । 

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।  नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे ।   “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।”  निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीहरूको पुँजीगत सामथ्र्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।  निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको जानकारी दिए। उनले भने, “छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ ।”

राजस्व अनुसन्धान विभागद्धारा ७९ करोड रुपैयाँको मागदाबी सहित मुद्दा दायर

काठमाडौं।राजस्व अनुसन्धान विभागले ७९ करोड रुपैयाँको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।दुई फरकफरक मुद्दामा विभागले कुल ७९ करोड रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो।  राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभागले दुई फरकफरक मुद्दामा कुल ७९ करोडको मागदाबी लिइएको हो। सूचना अधिकारीका अनुसार उनीहरुले नक्कली कारोबार देखाएको र भ्याट छली गरेको, नक्कली कारोबार देखाएर भ्याट रिटर्न लिएको लगायतको कसुरमा अनुसन्धान भई मुद्दा दायर भएको हो।  विभागले पहिलो मुद्दा संदिप ट्रेडर्सविरुद्ध दर्ता गराएको छ। स्थायी लेखा नम्बर ६१८७४५१०६ को बिजनेस फर्मले ६ लाख ४९ हजार ४ सय रुपैयाँको सामान खरिद गरी ६ करोड ५४ लाख २२ हजार ६६० रुपैयाँको सामान विक्री गरेको र भ्याट बिल बेचेको भन्दै मुद्दा दायर गरेको हो। उक्त बिजनेस फर्मका मुख्य कारोबारी दयाशंकर चौधरी र सञ्चालक विमलावती देवी चौधरीले राजस्व चुहावट गरेको भन्दै उनीहरुले राजस्व चुहावट गरेको ६ करोड ५४ लाख २२ हजार ६६० को व्यापार गर्दा ६ लाख ४९ हजार ४ सय रुपैयाँको मात्रै सामान खरिद गरेको देखिएको भन्दै विक्री भएको सामानबाट खरिद भएको सामान घटाई हुन आउने रकममा ब्याज, हर्जाना, जरिवाना आदि सबै रकम जोडेर १२ करोड ८५ लाख २६ हजार २८० रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो।  त्यस्तै अर्को मुद्दामा विभिन्न बिजनेस फर्महरूले नक्कली भ्याट बिलको कारोबार गरेको लगायतका कसुरमा मुद्दा दायर गर्दै हदैसम्मको सजाय समेत मागदाबी  लिइएको छ। विभागको अनुसन्धानको क्रममा भिसिटिएस प्रणालीको अध्ययन गर्दा कैफियत भेटिएपछि भएको विस्तृत छानबिनमा राजस्व हिनामिना भएको पाइएको हो।  मुद्दा दायर गरिएका जया एण्ड जिया ईम्पेक्शका प्रोपाइटर राहुल कुमार दुवेदीले प्रविष्ट गरेको खरिद बिक्रीको विवरण, निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त गरेको भ्याट रिटर्न आदिको अध्ययन गर्दा कैफियत भेटिएको हो।  दुवेदीले गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तव, एस।पी। कन्सर्नका प्रोपाइटर प्रभुशंकर रौनियार र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग मिलेर भ्याट रिटर्न लिएको र राजस्व हिनामिना गरेको पाइएको हो। अनुसन्धानका क्रममा राहुल कुमार दुवेदी, सीताराम प्रसाद रौनियार, रिजवान अन्सारी, मिरा कुमारी श्रीवास्तव, प्रभुशंकर रौनियार, रामछत्री सा कलवार र बिरबलजी भनिने भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा भन्सार छली गरी ल्याउने गरेको पाइएको थियो। अनुसन्धानका क्रममा राजस्व हिनामिना भएको पाइएपछि जया एण्ड जिया ईम्पेक्शका प्रोप्राईटर राहुल कुमार दुवेदीलाई १७ करोड ३८ लाख ८० हजार २४० रुपैयाँ, श्री गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियारलाई १ करोड ८२ लाख ९४ हजार ४७८ रुपैयाँ, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारीसँग २ करोड ११ लाख १९ हजार २३६ रुपैयाँ, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तवसँग २ करोड ११ लाख ८१ हजार ९०४ रुपैैयाँ, एस.पी.कन्सर्नका प्रोप्राइटर प्रभुशंकर रौनियारसँग १ करोड ७८ लाख ४० हजार २०० रुपैयाँ र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग १ करोड ७७ लाख २८ हजार ६६० रुपैयाँ बिगो कायम गरेको छ।उनीहरूसँग बिगो बराबरकै जरिवाना मागदाबी  लिइएको छ।  राजस्व अनुसन्धान विभागका महानिर्देशक नव राज ढुङ्गानाले विभागले पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छलीको घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको बताउँदै त्यसको परिणाम पनि आउने दाबी गरेका छन्।

राष्ट्रियसभा अध्यक्ष बन्दै नारायण दाहाल, यस्तो छ अंक गणित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।        राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेको प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन् । हिसाबअनुसार, ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षको चुनाव जित्दै छ । गठबन्धनबाट उमेदवार बनेका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्दै छन् ।   

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा।रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा.राजेश संभाजीराव पाण्डवबिच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  स्वास्थ्य सचिव डा.पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठुलो योगदान पुर्‍याउने बताए। उनले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भएपनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिए। डब्लुएचओका नेपाल प्रमुख डा।पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताए।  “नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवामा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकामध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ”, उनले भने, “समझदारीले औषधि उपलब्धतासँगै क्यान्सरको उपचारमा पहुँच बढाउन मद्दत गर्नेछ ।”  मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले समझदारीमा अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने छ । उनका अनुसार आगामी सेप्टेम्बरदेखि उक्त औषधि नेपाल आउने क्रम सुरु हुनेछ । समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्ने छन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रूपमा सन् २०२० मा छनोट भएको थियो ।  हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।  नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताए।  उनले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताए। उनले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताए। उनका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ । बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ ।

रबि गृहमन्त्री बनेकोमा कांग्रेसको संसद अवरोध, माओवादीको नियमापत्ति

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे । संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने पाण्डेले बताए । ‘प्रतिनिधि सभा नियमावलीको नियम २६ अन्तर्गत म नियमापत्ति गरिरहेको छु । हाम्रो नियमावलीको नियम २० को झ पालना भएन’ पाण्डेले भने, ‘चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । व्यवस्थित रूपमा सदन अगाडि बढाइरहेको अवस्थामा सदनको कामकारबाही अगाडि बढाउन नदिइकन जसरी रोक्न खोजिएको छ यसमा नियमापत्ति छ ।’ शुक्रबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने बित्तिकै कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्। प्रतिपक्ष उभिएको बेला सत्तापक्षले नियमापत्ति गर्ने विषय सदनमा देखा परेको भन्दै उनले संसदीय मर्यादा ख्याल गर्न सभामुख र सत्तारुढ दलहरूलाई आग्रह गरे ।सत्तारुढ दलको मुख्य सचेतकले नै नियमापत्ति गरेपछि कांग्रेसका सांसदहरूले फेरि सभामुख घिमिरेसँग समय मागे । सभामुखले समय दिएपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूलाई वेलमा आउन बाध्य नपार्न चेतावनी दिए । साथै उनले प्रधानमन्त्रीको जवाफ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको रूपमा रोष्ट्रममा बोल्न नदिने बताए ।कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

मिटरब्याज पीडितद्वारा काठमाडौंमा सिट्ठी जुलुस

काठमाडौं, १७ फागुन । मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस प्रदर्शन गरेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् । ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेका पीडितहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।  उनीहरूको माग सम्बोधनको प्रयास स्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।  माग पूरा नभए पछि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । 

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्नुभएको हो । सम्मेलन उद्घाटनमा पार्टीका अधिकांश केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको छ । अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नेताहरुले शुभकामना दिने क्रम सुरु भएको छ । सम्मेलनको बन्दसत्र भोलि ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । भोलि नै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ । असोज १२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समूहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  असोज १३ गते उम्मेदवारी दर्ता दाबी बिरोध आदि सकेर असोज  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको सो संगठनले जनाएको छ । 

देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसकेः पुन

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताउनुभएको छ ।  पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै उहाँले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताउनुभयो । ‘‘हाम्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस–एमालेलाई मिलाइदिए भन्नुभएको थियो’– पुनले भन्नुभयो– ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठुलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’  आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उहाँको भनाइ थियो । ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको नेताले पुनले टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाउनुभयो ।  

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। यससँगै यही भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेज भएको हो । अन्तरिम आदेश खारेज भएसँगै नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ऐन र नियमावलीअनुसार नियमित सञ्चालनको बाटो फुकेको हो ।  नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित अवकाशको पत्र पाएका २१ जनाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उहाँहरूले अनुभवलाई प्रयोग गर्नुको साटो अवकाश दिँदा राज्यलाई आर्थिकरूपमा र आफूहरूलाई सेवा र सन्तुलनका हिसाबले घाटा भएको दाबीसहित रिट दायर गर्नुभएको थियो। उहाँहरूको रिटमा न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश जारी गर्दै अवकाशको पत्र कार्यान्वयन नगर्न, ३० वर्षे सेवा अवधिका आधारमा थप अवकाशको पत्राचार नगर्न भनेको थियो । अवकाशको पत्र पाइसकेका र एक तह बढुवासमेत लिइसकेका सहित नयाँ पत्राचारसमेत रोकिएपछि सरकार आदेश  कार्यान्वयनमा जटिलता भएको भन्दै आदेश खारेजीको निवेदन (भ्याकेट)का लागि गएको थियो ।

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए। “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेकाे स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गरे।   एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो। स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए।  उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गरे। जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए। 

कैलाश पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीले बताए। ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा ?’, बिहीबार झापामा एक सडक उद्घाटका कार्यक्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।उनले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए। उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए । 

इलाममा खस्यो ५७ प्रतिशत मत, आज रातिदेखि मत गणना गरिने

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए । ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ ।  एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान जिल्ला निर्वाचन आयोगको छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु गरिनेछ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । विभागले दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशलगायत कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

भत्केको पुलमुनि एक पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।  उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएको छैन ।