चलचित्र बनाउन दुई करोड मागे स्वास्थ्य मन्त्रालयसँग झलनाथ खनालले

काठमाडौं, फागुन २० । स्वास्थ्य मन्त्रालयसँग अस्पताल उपकरण, चिकित्सक र उपचारका लागि सबैले माग गर्ने गर्दछन् । तर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले भने चलचित्र निर्माण गर्नका लागि दुई करोड स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन् ।

नेता खनालले आफ्नो नाममा खोलिएको संस्था ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि स्वास्थ्य मन्त्रालयबाट दुई करोड रुपैयाँ अनुदान माग गरेका हुन् । प्रतिष्ठानले तलब वितरण, शाखा विस्तार, भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वृत्तचित्र निर्माण लगायतका शीर्षकमा दुई करोड रुपैयाँ माग गरेको हो।

मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित यस्ता संस्थालाई अनुदान रकम उपलब्ध गराउने कुनै कानुनी आधार नभएपछि उक्त फाइललाई रोकेर राखेको छ । प्रतिष्ठानले पुस १९ गते दुई करोड रकम उपलब्ध गराइदिनु भन्ने प्रस्तावसहितको फाइल मन्त्रालयमा दर्ता गरेको थियो।

भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख र कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ।
प्रस्तावमा भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख र कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ।

गत आर्थिक वर्ष पनि मन्त्रालयले अनुदान दिन अस्वीकार गरेपछि नेता खनालको चर्को दबाबमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । प्रतिष्ठानले ‘सर्पदशंकको औषधि उत्पादन शीर्षक’मा एक करोड लैजान सफल भएको थियो । तर, प्रतिष्ठानले सो रकम अन्य शीर्षकमा खर्च गरेको विभाग स्रोतको भनाइ छ। ‘प्रतिष्ठानले गत वर्ष लगेको अनुदानको खर्च विवरण समेत बुझाउन अटेरी गरेको छ,’ विभाग स्रोत भन्छ ।

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

मेलम्ची, फाल्गुन २०। सिन्धुपाल्चोकको खाडीचौरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ काठमाडौँबाट खाडीचौरतर्फ जाँदै गरेको ना ३ ख ६९४५ नं ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बा ३१ प ८५१९ नं को मोटरसाइकललाई ठक्कर दिँदा फुल्पिङडाँडा–५ का सोनाम तामाङको मृत्यु भएको र अन्य दुई घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भक्तपुर निवासी मोटरसाइकल चालक अमृत खड्का र विजय भारतीको सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले बताउनुभयो । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करका चालक दुर्घटनालगत्तै फरार रहेको र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । रासस

भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको मिश्रित नतिजा

भोजपुर, फागुन १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ । यसैक्रममा भोजपुर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सचिव बाहेकका पद जितेको छ । उक्त क्याम्पसले बिहिबार बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार एमाले अखिलका प्रकाशसिं राईले १ सय २७ मत ल्याएर जितेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेविसंघका टार्जन राईले १ सय १० मत ल्याए । सचिवमा भने अनेरास्ववियुका प्रताप तामाङलाई ९ मतले पराजित गर्दै नेवि संघका अनोज कार्की विजयी भए । उनले १ सय ३४ ल्याए । निर्वाचनमा जम्मा ३ सय ३० मत खसेको थियो ।

स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित

काठमाडौँ, फागुन १९ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । विसं २०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महतलगायतको उपस्थिति रहेको थियो । रासस

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंह गिरफ्तार

काठमाडौं, फागुन १९ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता सिंहलाई बुधबार सल्यान बहुमुखी क्याम्पसबाट सल्यान प्रहरीले गिरफ्तार गरेको हो । अखिल क्रान्तिकारीका सल्यान संयोजक भुमप्रकाश भण्डारीले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र केही विद्यार्थी नेताहरुले चुनावी प्रक्रियामै नगई एकलौटी रुपमा स्ववियु जितेको प्रमाणपत्रलाई चोरी गरी भाग्ने लागेको बेला अबरोध गर्ने क्रममा सिंहलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन् । एकलौटी रुपमा गरिएको चुनावी घोषणलाई आफ्नो संगठनले नमान्ने भन्दै सिंहको रिहाईका माग गरेका छन् ।

चुनावले ‘ढोकामा विकास, ढोकामा सरकार’को सपना साकार पार्ने– प्रधानमन्त्री

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री प्रचण्डले निर्वाचन जनताको सबैभन्दा ठूलो उत्सव भएकोले सबैमा उत्साहका साथ सहभागी हुन अपील गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई सामान्य जनप्रतिनिधि चुन्ने प्रक्रियाका रुपमा मात्रै नलिएको स्पष्ट पारे । “मैले यसलाई सामान्य प्रतिनिधि चुन्ने चुनावका रुपमा मात्रै लिएको छैन ।” उनले भने, “यो युगौंदेखि उपेक्षा र उत्पीडिनमा परेका जनताको नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर समेत हो ।” प्रधानमन्त्रीले स्थानीय चुनावमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउँदै यसबाट महिलाको सशक्तिकरण, उत्थान र जागरण हुने बताए । महिलाको मात्र नभएर समाजमा उपेक्षित र पछाडि पारिएका समुदायले पनि आफ्नो नेतृत्वको विकास गर्ने ठूलो अवसर चुनाव रहेको प्रधानमन्त्रीले बताए । “यो ३५ हजार जनताका प्रतिनिधि चुन्ने चुनावलाई सामान्य अर्थमा लिइनु हुँदैन” उनले भने, “बरु यो त जनताको ढोकामा विकास र सरकारको नारालाई साकार पार्ने युगान्तकारी अवसर हो ।” चुनावले नागरिक र राज्यबीचको दूरी घटेर शान्तिपूर्ण र समानतामा आधारमा समाज निर्माण हुने विश्वास रहेको प्रधानमन्त्रीले बताए ।

मदिरा नियन्त्रण नीतिमा पुनर्विचार गर्नुपर्ने सरोकारवालाहरुको माग

काठमाडौं, फागुन  १६ । सरकारले मदिराको प्रयोग र विक्रीवितरणमा नियन्त्रण गर्ने गरी ल्याएको मदिरा नियन्त्रण नीतिमा पुनर्विचार गर्नुपर्ने मागसहित सरोकारवालाहरुले स्वास्थ्यमन्त्री गगन थापाको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य मन्त्रालयको पहलमा गत साताको मन्त्रिपरिषद् बैठकवाट पारित् ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण निती २०७३’ले देशभर व्यवसाय गरिरहेका २ लाख बढी व्यवसायी प्रभावित हुने व्यवसायीले बताएका छन् । यो नितीले व्यवसायीहरु पेशावाटै पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै सरकारी नितीको केही विषय हटाउनुपर्ने व्यवसायीको माग रहेको छ । सरकारले अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा मदिरा व्यवसाय धरापमा पार्ने उद्देश्यले नीति ल्याएको नेपाल मदिरा व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले बताए । यो खबर आजको अभियान दैनिकमा छ ।

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, आयोजनाले गति लिन थाल्यो

गोरखा, फागुन १४ । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छ । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण सुरु भएको छ । मुआब्जा समितिका संयोजक समेत रहनुभएका गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैंक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७२० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करिब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले रु चार करोड ७२ लाख ७२१ मुआब्जा रकम वितरण गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घ्याल्चोकको १९५२४ वर्गमिटर जग्गा र दर्बुङको १८,७५१.८३ वर्गमिटर जग्गाको मुआब्जा वितरण गरिएको हो । बिहीबार मुआब्जा पाएका प्रभावितले थोरैमा रु एक लाख र धेरैमा रु ८० लाखसम्म पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोज्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । अहिलेसम्म ९६ जनाको शून्य मौज्दातमा खाता खोलिएको शर्माले जानकारी दिनुभयो । घ्याल्चोकको सिउरेनीटारमा रहेको आयोजना विकास समितिको कार्यालयमा मुआब्जा लिने प्रयोजनका लागि निवेदन लिने काम भइरहेको छ । आयोजनाको विद्युत् गृह बन्ने स्थान अर्थात् तल्लो क्षेत्रका गाविसबाट डुबान पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । सरकारले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड निकासा गरिदिएपछि मुआब्जा वितरणले गति लिएको हो । गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा तोक्न बाँकी छ । गोरखा र धादिङका अन्य क्षेत्रको भने यसअघि नै मुआब्जा रकम तोकिएको थियो । प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने गरी मुआब्जा तोकिएको भए पनि प्रभावित क्षेत्रका बासिन्दाले उचित मुआब्जा नदिएको भन्दै गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकन गर्न निवेदन दिएपछि त्यसउपर सुनुवाइ भएको छैन । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष तथा प्रभावित क्षेत्रका बासिन्दा हरेराम ढकालले मुआब्जा पुनरावलोकनको माग सुनुवाइ नहुँदै मुआब्जा समितिले मुआब्जा वितरणमा हतार गरेको आरोप लगाउनुभयो । जग्गाको मुआब्जा दिएर मात्रै नपुग्ने भन्दै ढकालले घर, गोठ, रुख, फलफूललगायतको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग रहेको बताउनुभयो । रासस

नयाँ शक्तिमा चर्काे विवाद, बाबुरामविरुद्ध ९ जना केन्द्रिय सदस्यले निकाले यस्तो विज्ञप्ति

काठमाडौं, फागुन १२ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ पार्टी निकायमा कुनै छलफल नगरी पार्टी निति विपरित स्वेच्छारी ढंगले चलेको भन्दै नयाँ शक्ति नेपालका ९ जना केन्द्रीय परिषद सदस्यले विज्ञप्ति निकालेका छन् । १९ वर्ष पछि संविधान बमोजिम हुन लागेको स्थानीय निकायको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा स्थानीय चुनावका विरुद्ध मधेसी मोर्चासँग मिलेर विज्ञप्ति निकालेको प्रति आफूहरुको गंभिर ध्यान आकर्षण भएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी सिंगो देशको आर्थिक संवृद्धिको लागी गठन भएको पार्टी हो , सबै उत्पिडित वर्ग , जाति , क्षेत्र र समुदायको समतामुलक सम्वृद्धिको लागि गठन भएको पार्टी हो । कुनै क्षेत्र वा समुदायको एजेण्डा बोकेर हिड्न पाटी यो होइन । नयाँ शक्ति पार्टीलाई नै चुनाव विरोधी देखाउने गरि आएको सो विज्ञप्तिमा सहि गर्ने आफ्नो एकल निर्णय फिर्ता गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईलाई हामी हार्दिक आव्हान गर्दछौं ।’ साथै उनीहरुले आगमी केन्द्रीय परिषदको बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धि सस्थागत निर्णय गरेर मात्र अघि बढ्न आग्रह गरेका छन् । यस्ताे छ विज्ञप्ती

जुम्ला बहुमखी क्याम्पसमा तालाबन्दी

जुम्ला, फागुन १२। जुुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो । गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयका विरुद्ध क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको अखिल क्रन्तिकारीका जिल्ला अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार क्याम्पस प्रशासन एकलौटी ढङ्गले अगाडि बढेको भन्दै आपत्ति जनाउनुभयो । अखिल क्रन्तिकारीले आफैँले तालाबन्दी गरेपनि प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्न स्ववियु निर्वाचन हुन लागेपनि पटक पटक विद्यार्थी सङ्गठनले क्याम्पसमा तालाबन्दी गर्दा विद्यार्थीको पढाइमा नराम्रो असर पारेको देखिन्छ, त्यसैले अब निकासको बाटोतिर विद्यार्थी नेता लाग्न अति आवश्यक देखिन्छ भनेको छ । क्याम्पस प्रमुख वसन्तराज भण्डारीले चुनावी प्रयोजनका लागि मात्र गरिएका संयुक्त भर्ना खारेज गर्ने निर्देशन भएअनुसार निर्णय गरिएको बताउनुभयो । मतदाता नामावली प्रकाशन गर्ने तयारीमा रहँदा यो निर्णय विरुद्धमा भने अखिल क्रान्तिकारीले तालाबन्दी गरेको जनाउनुभयो । जुम्लाका सबै विद्यार्थी सङ्गठनबीच माघ २१ गते बैठक बसेर त्रिभुवन विश्वविद्यालयले गरेको परिपत्र सबैले मान्ने सहमति भएको थियो । जुम्ला, दाङ, सिराहामा यो समस्या भएकाले बुधबार त्रिभुवन विश्वविद्यालयमा यसका बारे छलफल भइरहेको उहाँले जनाउनुभयो । रासस

पुनःनिर्माणमा राजनीति घुस्योः सभापति अधिकारी

काठमाडौँ,फागुन १२् । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा राजनीति घुसेको आरोप लगाउनुभएको छ । धादिङको सलाङ–५ मैदानमा अवस्थित पञ्चमुखी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अधिकारीले सो आरोप लगाउनुभएको हो । उहाँले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरुको पुनःनिर्माणका गठन भएको निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्दै विद्यालय पुनःनिर्माणमा दाताहरुको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्न विद्यालय सञ्चालकलाई सुझाव दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री इटनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग जुटाउने जापानी संस्था किताक्यूसु वाइएमसीएका महासचिव केनिचिरो ओगावाले जापानमाा एक÷एक रुपैयाँ गरेर सङ्कलन गरिएको रकमको सदुपयोग भएको बताउनुभयो । रासस

शिवरात्रिमा पशुपति दर्शनका लागि सजिलो बाटो

काठमाडौं, फागुन ११ । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । ‘पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ’ उनले भने । दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ । पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ । मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ । महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।

ब्रेस्ट बढाउन अायशाले गरिन सर्जरी

फागुन ११ । बलिउडमा ‘सोचा न था’ बाट करियर यात्रा सुरु गरेकी नायिका आयशा टाकिया हाल भने चलचित्रको पर्दाबाट केही टाढा छिन् । वैवाहिक जीवन अनि परिवार सन्तानलाई समय दिनुपर्ने भन्दै उनले चलचित्रको दुनियाँबाट केही समय ओझेल परेकी थिइन् । उनी पुनः पर्दामा आउने भएकी छिन् । उनी फेरि ग्ल्यामरको संसारमा फर्किने भएकी छिन् । झण्डै ७ लामो ग्यापपछि आयशा एक म्यूजिक भिडियोमार्फत पुनः पर्दामा आउने भएकी छिन् । उनले ग्ल्यामरस दुनियाँमा आउनका लागि आफ्नो ब्रेस्टको साइज पनि बढाएकी छिन् । हुन त उनले सर्जरीकाे कुरालाइ भने खुलेर स्वीकार गरेकी छैनन् । तर उनका पहिलेका तस्वीर र पछीका पस्वीरहरूबाट सहजै अनुमान लगाउन सकिन्छ ।

मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिए

विराटनगर, फागुन ११ । मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १५५ इकाइबाट १४ हजार ३७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । मोरङको वयरवन गाविसमा सबैभन्दा बढी ६०७ जना नयाँ मतदाता र उर्लाबारी नगरपालिका– ७ मा एकजना पनि नयाँ मतदाता नथपिएको सो कार्यालयले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनका लागि १५५ इकाइ अर्थात वडामा टोली खटिएका थिए । मतदाता सङ्कलन गत सोमबारदेखि बन्द भइसकेको र अब फागुन १७ गतेदेखि २० गतेसम्म नाम सच्चयाउन, दाबी विरोध गर्नका लागि मतदाताको नामावली क्षेत्रीय कार्यालय, विराटनगरमा सार्वजनिक गरिने र २१ गते अन्तिम नामावली सार्वजनिक गर्ने सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

अखिल क्रान्तिकारीले पिएन क्याम्पसमा अघि सार्यो २४ वर्षे प्रविणालाई

पोखरा, फागुन ८ । पश्चिमाञ्चलको चर्चित शैक्षिक केन्द्र पृथ्वीनारायण क्याम्पसमा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)ले प्रविणा अधिकारीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ। १२ हजार भन्दा वढि विद्यार्थी अध्ययन गर्ने सो क्याम्पसमा लोकप्रिय विद्यार्थी नेतृ प्रविणालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार वनाइएको क्रान्तिकारीका केन्द्रीय सचिव अमरदिप पराजुलीले वताए। कास्की जिल्ला लाहाचोककी स्थायी वासिन्दा रहेकी अधिकारी सोही क्याम्पसकी स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन्।अखिल क्रान्तिकारीको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेरहद लगाएपछि क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी २४ वर्षीय प्रविणा उम्मेदवार वनेकी हुन्। क्रान्तिकारीको बलियो पकड रहंदै आएको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले परिवर्तन चाहेकाले यसपटक क्रान्तिकारीले जित्ने प्रविणाले दावी गरिन्। ‘पृथ्वीनारायण क्याम्पसलाई हामी अन्तर्राष्ट्रिय स्तको शैक्षिक हव वनाउन चाहन्छौं।’–अध्यक्षकी उम्मेदवार प्रविणाले भनिन्। स्ववियु चुनाव १८ गते हुँदैछ ।

निजि क्षेत्रबाट १०५ मेगावाट बिजुली उत्पादन, एक वर्षभित्र दोब्बर उत्पादन हुने

काठमाडौं, फागुन ८ । यस वर्ष निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट १०५ मेगावाट बिजुली उत्पादन थप भएको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालले बताएको छ। सरकारी अधिकारीहरुले चाहिँ साना आयोजनाबाट पहिलोपटक यति धेरै मात्रामा विद्युत उत्पादन भएको भन्दै त्यसले लोडसेडिङ अन्त्य गर्न निकै सघाउ पुर्याइरहेको जनाएका छन्। एक वर्षभित्र निजी क्षेत्रले अहिलेको भन्दा दोब्बर बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। करिव दुई वर्षअघिको विनाशकारी भूकम्पका कारण २ सय ६२ वटा साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो। उपलब्धि सरकारले १४४ मेगावाटको कालिगण्डकी परियोजना संचालनमा ल्याएयता एकै वर्षमा १०५ मेगावाट विद्युत उत्पादन भएको यो पहिलोपटक हो। यसअघि ५० मेगावाटसम्मका विभिन्न परियोजनाहरुले ३२५ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेका थिए। भूकम्पका कारण सञ्चालनमा आउन नसकेका परियोजनाहरु सञ्चालनमा आएकाले पनि उत्पादन बढेको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्।   उनले भने, ‘भूकम्प र नाकाबन्दीका कारण गत साल नै पूरा हुनुपर्ने आयोजनाहरु पनि यो वर्ष आएर पूरा भएका छन् र अब आउने वषर्मा सम्पन्न हुने चरणमा छन्।’ माथिल्लो मर्स्याङ्दी, मादी, माई, दरौंदी, म्याग्दी, खानीखोला, हेवाखोला आदि गरेर १० वटा नयाँ परियोजना यस आर्थिक वर्षदेखि सञ्चालनमा आएका हुन्। उत्पादन तत्काललाई राजधानीलगायत पोखरा, चितवन आदि सहरमा लोडसेडिङ मुक्त बनाउन साना क्षेत्रको उल्लेख्य भूमिका रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन्। ‘यसपटक निजी क्षेत्रबाट पनि धेरै विद्युत उत्पादन थप भएको कारणले गर्दा उर्जा संकटका कारण जुन असहज परिस्थिति थियो त्यसलाई सामान्यीकरण गर्न र लोडसेडिङ न्यूनिकरण गर्न हामीलाई धेरै सहयोग पुगेको छ।’ आउने वर्ष ५० मेगावाटसम्मका साना परियोजनाले अहिलेको तुलनामा दोब्बर बिजुली उत्पादन गर्ने अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्। उनले भने, ‘करिव करिव २ सय मेगावाट जति अब अर्को वर्षदेखि उत्पादन हुने सम्भावना देखिन्छ। त्यसपछिको वर्षमा भनेको ८ सय मेगावाटभन्दा बढी उत्पादन पुर्याउने हाम्रो योजना छ।’ आउने वर्ष काबेली परियोजनाबाट २५ मेगावाट विजुली थपिने छ र दरौंदिका दुई छुट्टा छ्ट्टै परियोजनाबाट ५२ मेगावाट र मादी परियोजनाबाट २० मेगावाट विद्युत उत्पादन हुने गुरागाईँले बताए। उनका अनुसार निजिक्षेत्रका अन्य १५ परियोजना आउँदो वर्ष सञ्चालनमा आउने छन्। बिबिसी नेपालीबाट