लिदी पहिरोः थप ३ शव भेटियो, ११ जना अझै बेपत्ता

सिन्धुपाल्चोक: गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिराेमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन्। तीमध्ये १४ बालबालिका छन्। पहिराेमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा बेपत्ताको खोजी भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

स्वास्थ्यकर्मीको मनोबल नगिराउनूः मुख्यमन्त्री पौडेल

वाग्मतीः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न अनुरोध गर्नुभएको छ । कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं नागरिकमाथि दुव्र्यवहार हुने गरेको सन्दर्भमा आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारीसंँग जुधिरहेको हाम्रो देशमा महामारीविरुद्धको युद्धमा अग्रमोर्चामा लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेलाबेलामा दुव्र्यवहार हुनेगरेकामा दुःख व्यक्त गर्नुभएको छ । ‘घरबेटीले नर्सलाई कोरोना सार्न सक्ने भन्दै कोठा छोड्न दवाव दिएको, स्वास्थ्यकर्मीहरुको सवारी साधन रोकेर दु्रव्यवहार गरेको, विभिन्न बहानामा हातपात गरेको तथा अपशब्दहरु प्रयोग गर्ने गरेको एवं संक्रमित चिकित्सकको मनोबल गिर्नेगरी बहीष्करण गरेका घटनाहरु बाहिरिरहेको छ, स्वास्थ्योपचारमा अहोरात्र खटिने आम स्वास्थ्यकर्मीहरुको मनोबल गिराउनुका साथै संक्रमित नागरिकहरुको मनोविज्ञानमा गम्भीर असर पर्न सक्नेतर्फ अलिकति पनि नसोची विवेकशून्य भएर गरिएका त्यस्ता क्रियाकलापको जति निन्दा गरे पनि कम हुन्छ, आपराधिक क्रियाकलाप गर्नेहरु कार्वाहीका भागीदार हुनुपर्छ र हुने नै छन्’, मुख्यमन्त्रीले सन्देशमार्फत भनेका छ । पौडेलले सन्देशमा संक्रमितलाई दुव्र्यवहार नगरी माया, प्रेम र सद्भाव व्यक्त गरी हौसला प्रदान गर्न सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइमा अनुरोध पनि गरेका छन् ।

लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो, बेपत्ता २६ को खोजी जारी

सिन्धुपाल्चोक : जिल्लाको जुगल गाउँपालिका-२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरामा बेपत्ता २६ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

बागलुङः निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उनका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षीया नाति प्रवेश विकको मृत्यु भएको हो । पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाइते भएकी छन् । उनको पहिरोबाट उद्धार गरी उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए । घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् । शुक्रबार राति साढे दुई बजेको समयमा पहिरो गएको थियो । राति सुतेको बेलामा पहिरो जाँदा घरमा सुतेका ६ जना मध्ये दुईको मृत्यु, एक घाईते र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

जसपाको निर्णय कुण्ठाग्रस्त सोचको दिवालियापनः प्रधानमन्त्रीको सचिवालय

काठमाडौंः जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी ओलीको सचिवालयले आपत्ति जनाएको छ । उक्त पार्टीको साउन २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ रहेको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’ ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’ थापाले अगाडि भनेका छन् । ‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन्’, थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’

घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ५ घाइते

डोटीः आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो । घर भत्किँदा लोगे, उनकी आमा ताना लुहार, एक छोरी, भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । गएराति करिब एक बजे घर भत्किएको बताइएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

विप्लवका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता पक्राउ

सुर्खेत : कर्णालीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका जिल्ला सेक्रेटरीसहित ३ जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका-६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो ।

सुटकेश र जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत

काठमाडौं :  काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै हत्या गरेर आइतबार बिहान भेटिएको सुटकेश र जेब्रा झोलामा राखिएको श’वको सनाखत भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव रोल्पाका कृष्णबहादुर बोहरा भएको खुलेको हो । हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले यसबारेमा थप विस्तृतमा भन्‍न सक्‍ने अवस्थामा नरहेको भन्‍दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताए। सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन ।

पर्सामा थप ७१ जनामा कोरोना पुष्टि

वीरगञ्जः शनिबार राति अबेर आएको पीसीआर परीक्षण रिपोर्टअनुसार पर्सा जिल्लामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना नेपाल प्रहरी, एक जना भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारीसहित ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पीसीआर परीक्षणमा एक पोजिटिभसहित पर्साका ७१ जना र बारा जिल्लाका तीन जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार ६० जना पुरूष र १५ जना महिलासहित ७५ जना १२ वर्षदेखि ६८ वर्ष उमेर समूहका नयाँ सङ्क्रमित पुष्टि भएको हो । सङ्क्रमित देखिएका ७५ जनामध्ये आठ जना सङ्क्रमितमा ज्वरो र खोकीका लक्षण रहेको बताइएको छ । जसमध्ये २९ जना नयाँ सङ्क्रमितमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएका र ११ जना आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएका रहेका छन् ।

कस्तो छ आगामी ३ दिनको मौसम?

काठमाडौं : नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ। आज रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्। ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भनिन्। मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ। मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ। आज रातिदेखि दुई/तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३० दशमलव छ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। साउन २४ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साउन २५ गते (आइतबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन २६ गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । परीक्षा बोर्डको अनुसार विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डले जनाएको छ । यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बोर्ड जनाएको छ । यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ ।

नेपालका ६ जिल्ला कोरोना `फ्री´

काठमाडौं : नेपालमा ६ वटा जिल्ला कोरोना भाइरस (कोभिड-१९) काे सङ्क्रमणबाट मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् । महोत्तरी, पर्सा, रौतहट, काठमाडौं भने ५ सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लाे समय काठमाडौं पनि काेराेना सङ्क्रमणकाे उच्च जाेखिममा रहेकाे छ । आज देशभर ४ सय ६४ जनाको पीसीआर पोजिटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार ४६४ जनामा कोरोना पुष्टि, ४२५ संक्रमित डिस्चार्ज

काठमाडौं : शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

लमजुङमा पहिरोले घर पुर्यो, एकै परिवारका ३ जनाको मृत्यु

फाइल फोटो । काठमाडौंः लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अविरल बर्षाले बिहीबार राति पहिरो गएर घर पुरिँदा बेसीसहर नगरपालिका– ७ सातबिसेमा बिहीबार २० वर्षीय दीपक तामाङ, २५ वर्षीया बिमाया तामाङ र ८ वर्षीय बालक छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बूढानीलकण्ठ विद्यालयले लकडाउन अवधिको शुल्क नलिने

काठमाडौंः बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी ९लकडाउन० का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।

माधवपछि झलनाथलाई भेटिन् यान्छीले, के भयो कुराकानी ?

काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेट गरेकी छन् । मंगलबार बिहान खनाल निवास डल्लुमा उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको हो । गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट केपी ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन । पार्टी विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएकी छन् । खनालसँग के विषयमा कुराकानी भयो भन्ने कुरा सार्वजनिक नभए पनि उनले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । यान्छीले एकताबद्ध भएर अघि बढ्न नेकपाका नेताहरूले सुझाव दिने गरेको बताइन्छ । खनालनिकट स्रोतले राजदूत यान्छीसँग दुई देशको आपसी हितका बारे कुराकानी भएको बताएको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।