काठमाडौं महानगरको मतगणना भोलिदेखि सात ठाउँबाट हुने
काठमाडौं । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको बताए ।
आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।
आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । तर मतगणना सुस्त भएको जनगुनासो आइरहेको छ । यद्यपि मुख्य निर्वाचन अधिकृत खतिवडाले जनचासोलाई ख्याल गर्दै थप व्यवस्थित गर्दै अघि बढ्ने बताए ।
त्यस्तै अनाधिकृत रुपमा महानगरको सवालमा आएका गलत सूचनामा भर नपर्न पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभागृहबाट भइरहेको छ ।
ऋषि धमला भन्छन् : पत्रकार आचार संहिता बल्ल थाहा पाएँ, अब सुध्रन्छु
काठमाडौं । सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दिएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे ज्ञान नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि बोलाएको हो ।
माओवादीले आयोजना गर्यो केन्द्रीय आयोगहरुको संयुक्त अन्तर्क्रिया
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय आयोगहरुमाझ छलफल गरेको छ । संगठनात्मक सुदृढिकरण तथा आसन्न निर्वाचनलाई लक्षित गरेर अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हो । केन्द्रीय समितिको दोश्रो बैठकको निर्णय अनुसार माओवादीले यसअघि सबै भौगोलिक र गैर भुगोलका प्रदेश समितिका लागि प्रशिक्षण सम्पन्न गरिसकेको छ । आयोगहरुबीचको संयुक्त छलफलमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति तथा आसन्न निर्वाचनको तयारीबारे पार्टीको दृष्टिकोण स्पष्ट पारेका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका सदस्यहरु उपस्थित छन् ।
शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान
शिक्षक सेवा आयोगले बिभिन्न रिक्त शिक्षक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको हाे । आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा रिक्त प्रथम र द्वितीय श्रेणीमा शिक्षक बढुवा गर्दै पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरिएको आयोगले जनाएको छ। चैत मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका सम्भाव्य उम्मेदवारहरूबाट माघ १२ देखि आन्तरिक प्रतियोगितात्मक परीक्षाका हकमा online.tsc.gov.np बाट र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेश गर्न पनि आयोगले आग्रह गरेको छ।
सिमकोट विमानस्थलमै रोकिए सीता एयरका दुई वटा जहाज
हुम्ला । हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन् । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुहिरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् । सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । दुवै जहाज अवतरण गरेलगत्तै बाक्लो हिउँ पर्न सुरु हुनु र कुहिरो लागेपछि जहाजले उडान भर्न सक्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएको छ । हिउँ पर्न सुरु भएपछि सीता एयरका कर्मचारीले दुवै जहाजलाई पालले छोपेर राख्नुपरेको थियो । मौसममा केही सुधार आएपछि सोमबार बिहानबाट रन वेको हिउँ गाडीबाट पन्छाएर सफा गर्ने कार्य भइरहेको छ । त्यसपछि मात्र दुवै जहाजले उडान भर्न पाउनेछन् । गतवर्ष यस्तै गरी हिमपातकै कारण तारा एयरका दुई वटा जहाजले सिमकोटमै रोकिनुपरेको थियो ।
छ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। त्यैगरी जल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ। यस्तै ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ। राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
टिपर र मोटरसाइकल ठाेक्किँदा चितवनकी एक महिलाकाे मृत्यु
मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल आपसमा ठाेक्किँदा एक जना महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा भएकाे दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
गण्डकीमा वैकल्पिक सरकार गठनका लागि आह्वान, २४ घण्टाको समय
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले शुक्रबार एक सूचना जारी गर्दै २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी हुन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो । प्रदेश प्रमुखको आह्वानपछि विपक्षी दलले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका रुपमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई अडाडि सारिएको छ । गण्डकीमा हाल सांसद संख्या ५९ कायम छ । बहुमतको लागि सरकार बनाउन ३० सांसद भए पुग्छ । तर विपक्षीले ३१ सांसदको हस्ताक्षर रहेको दाबी गरेका छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । यो प्रक्रिया अनुसार सरकार बने फेरि ३० दिनभित्र मुख्यमन्त्रीले उपधारा ६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके वा सरकार बन्न नसके उपधारा ७ बमोजिम प्रदेश मध्यावधि घोषणा हुनेछ ।
महोत्तरीमा अदालतबाटै थुनुवा फरार
महोत्तरी । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका-४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाबाट म्याद थपका लागि गएका कमलेशले प्रहरीलाई शौचालय जाने भन्दै शौचालय पुगेपछि शौचालयको पर्खाल नाघेर भागेको जनाइएको छ । उनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागू औषधसहित पक्राउ परेका थिए । उनको खोजतलाशमा अहिले ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरी उनको खोजतलाश भइरहेको जनाइएको छ ।
राष्ट्रपतिले जारी गरिन् जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । अध्यादेशअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । जसपा (महन्त ठाकुर र उपेन्द्र महतो पक्ष)सँगको सम्बन्ध थप मजबुम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका हुन् ।
राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ १ यता अपलोड भएका सबै विज्ञप्ति अचानक हराएपछि…
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएका विज्ञप्तिलगायतका अन्य सूचना हराएका हुन्। वेबसाइटमा शनिबार राति १ ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः ३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ। उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए। यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए। ु
‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि सुरू
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौं सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे । उनका अनुसार काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । काठमाडौं महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक÷एक खोप केन्द्र रहेका छन् । कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले यही जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ । यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।
कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो । महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् । महानगरले शुक्रबार यी अस्पतासँग कोभिड सङ्क्रमणसँग लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै सम्झौता गरेको हो । यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकिएको छ । सबै सम्झौता महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन् । शुक्रबार सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । आजदेखि छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रु दुई करोड उपलब्ध गराइनेछ । क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ श्ययाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्नेछ । यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो । त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ । यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ । महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ ।
उपत्यकामा ३११३ संक्रमित थपिए, अन्य जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११३ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२७०, ललितपुरमा ४६२ र ३८१ संक्रमित थपिएका हुन् । शनिबार देशभर थप ८४१८ जनामा संक्रमण पुष्टि हुँदा ५३ जनाको मृत्यु भएको छ । यस्तो छ काठमाडौं उपत्यकामा कोरोनाको अवस्थाः शनिबार अन्य जिल्लामा कति संक्रमित थपिए ?
प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रमण
काठमाडौं । प्रतिनिधिसभाका १८ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ । त्यस्तै, राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको छ । बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद बैठक बोलाएपछि संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायतकाे पीसीआर परीक्षण गरिएको थियो ।
जनता समाजवादी पाटीका चार सांसद पदमुक्त
बुटवल : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार पाण्डे रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुनुहुन्छ । प्रदेशसभा सचिवालयले विहिवार सूचना प्रकाशित गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको पत्र जसपा लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभामा दर्ता गरेको र सोही पत्र बमोजिम सांसदहरु पदमुक्त भएको उल्लेख गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले गएको वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार पाण्डे, विजयवहादुर यादव र सुमन रायमाझीले पनि हस्ताक्षर गरेका थिए । जसपाकै अर्की सांसद कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको थिएन । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको ४ घण्टा नवित्दै जसपाका सांसदहरु लुम्विनी प्रदेशको मन्त्री पदमा नियुक्त भएका थिए । उनीहरुमध्ये ३ जना मन्त्री र सुमन रायमाझी राज्यमन्त्रीमा बैशाख ६ गते नै नियुक्त भैसकेका छन् । उता जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गरी चारजना सांसदलाई कारवाही नगरिएको भन्दै बिहीबार नै विज्ञप्ती जारी गरेका छन् । जसपाको केन्द्रिय तहमा देखिएको आन्तरिक विवादको उत्कर्ष लुम्विनी प्रदेश सभासम्म आईपुगेका छन् ।