सिन्धुपाल्चोकका जोखिमयुक्त तीन सय बस्ती स्थानान्तरण गर्न नेकपा कार्यदलको माग

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदनसमेत निर्माण गरेको छ।

सोही प्रतिवेदनमा पार्टीका शीर्ष नेता, जिल्ला तहका नेता तथा जनप्रतिनिधिबीच शनिबार सुकुटेमा अन्तक्रिया कार्यक्रम गरिएको छ।

सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनिधिबीच छलफल गरेको छ।

नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरणका लागि जिल्लास्तरीय कार्यदल नै गठन गरी नेताहरुलाई बाढीपहिरोग्रस्त क्षेत्रमा खटाएको थियो। सात सदस्यीय कार्यदलले बाढीपहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तक्र्रिया गरी सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ।

जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरणका लागि वैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए।

शनिबारको कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनिधिसभा ससदस्य एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका मन्त्री अरुण नेपाल, युवराज दुलाल, प्रदेशसभा सदस्य सरेश नेपाललगायत नेकपाका स्थानीय जनप्रतिनिधि र पार्टी नेता सहभागी थिए।

जिल्लाभर ३०० भन्दा बढी बस्ती जोखिममा रहेको र ती बस्ती स्थानान्तरणका लागि नेकपाले कार्यदल नै बनाएर राजनीतिक तहबाट पहल थालेको नेकपाका केन्द्रीय सदस्य एवं कार्यदलका संयोजक माधव सापकोटाले बताए।

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको माग

काठमाडौंः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका छन् । राउतले संघीय सरकारलाई पत्राचार गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका हुन् । मुख्यमन्त्री राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा कोरोना संक्रमण, थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई ध्यानमा राख्दै निर्वाचन स्थगित गर्न माग गरेका छन् । सरकारले असोज २४ गते निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन निर्वाचन गर्ने तयारी गरेको छ । मनोनयनको दिनसम्म एकता हुनेमा आशावादी छौ– राजेन्द्र राना (राजु)

राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए । राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रूपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाए । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए । गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्ययोजनाबारे उनले निरन्तर बैठक गरिरहेका छन् । जनवर्गीय सङ्गठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी साङ्गठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय सङ्गठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

इंग्ल्याण्डमा फेरि लकडाउन हुन सक्ने

 लण्डन : बेलायत सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, ‘हामीले राष्ट्रियरूपमा लकडाउन गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।’ ‘हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं,’ उनले भने । शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिएका हुन् । बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड-१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बीचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भएपनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ । ह्यान्ककले भने, ‘हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोनाभाइरसका साथ अस्पतालमा भर्ना भएका व्यक्तिहरूको सङ्ख्या हरेक आठ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका कार्य गर्नु आवश्यक छ ।’ नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ ।

पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा

सिन्धुपाल्चोकः वर्षाका कारण जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ । बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ । काल्चेका ४ घर क्षतिग्रस्त भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् । ३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै पहिराको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि दुई घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताए । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिराका कारण उच्च जोखिममा परेका छन् । पहिराबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकाले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । सङ्कटको अवस्थामा वडाभित्रका सरकारी भवन संरचनामा बस्न स्थानीयवासीलाई अनुरोध गरिएको थापाले बताए ।

आजबाट लामो दूरीका गाडी सञ्चालन, कस्ता छन् नियम?

काठमाडौं : झण्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आजबाट खुला भएका छन् । यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले बुधबार विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ । साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुरोध गरिएको छ।  

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको शुभकामनाका साथै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा सुस्वास्थ्य र खुसीको कामना गरेका छन् । सन् १९५० को सेप्टेम्बर १७ मा जन्मिएका मोदी ७० वर्ष पुगेका छन् । १३ वर्ष गुजरातको मुख्यमन्त्री भएका उनी हाल भारतको प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकालमा रहेका छन् ।

नेकपाले बोलायो सचिवालय बैठक, पेरिसडाँडामा बस्ने

फाइल फोटो । काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक शुक्रबार ११ बजे बोलाउने सहमति भएको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको बैठक शुक्रबार पेरिसडाँडामा बस्नेछ । पेरिसडाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो । एकतापछि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय तथा बैठक हुने गरेका भए पनि पार्टीको तहमा यो नै पहिलो बैठक हो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि बैठकस्थल बालुवाटारबाट पेरिसडाँडामा बस्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।  

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ

काठमाडौंः ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसी रेहका छन् । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा प्याज मंहगोमा बेचेको भेटिएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले केसीलाई पक्राउ गरेको हो । अनुमगनको क्रममा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरीपछि ६ जना प्याज व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आउन भनिएको छ । सो क्रममा दुई सय १९ बोरा प्याज सिल गरिएको छ ।

विश्व ज्ञान सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने, २४ देशका २५० बढी वैज्ञानिक सहभागी हुने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान भर्चुअल सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन् । सम्मेलन असोज २३ देखि २५ गतेसम्म हुनेछ । सम्मेलनमा संयुक्त राष्ट्र संघ अन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओ लगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने एनआरएनए अध्यक्ष कुमार पन्तले जानकारी दिए । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने छन्। विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमको काउन्टर

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमले पनि काउन्टर राखेको छ । कम्पनीले विदेशबाट आउनेका लागि बिमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुरु गरेको हो । कम्पनीले आफ्ना ग्राहकहरु लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउनेहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मंगलबारदेखि विमानस्थलको आगमन क्षेत्रमा नयाँ काउन्टर सुचारु गरेको हो । नयाँ काउन्टर मार्फत् विदेशबाट आउने ग्राहकले स्मार्टको सिम कार्ड तथा रिचार्ज कार्ड पाउने कम्पनीका मार्केटिङ प्रमुख तर्क भट्टले जानकारी दिए । उनका अनुसार अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टको उपभोग समेत गर्न सक्नेछन् । नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकसँग जोडिन र गुणस्तरीय सेवा लिन ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनीले लिएको छ । स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ । यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ । २८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा देशका अन्य शहरहरुमा पनि विस्तारको तयारी भईरहेको कम्पनीले जनाएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १० महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यी हुन् मुख्य निर्णयः – असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने । – असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने । – असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने । – पूर्व अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने र मन्त्री सरह सेवा सुविधा उपलब्ध गराउने । – एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने । एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने । एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने । पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउने । एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पु¥याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम संचालन गर्ने । – सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने । – नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने । उनीहरूले ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्ने । आयोजनाले व्यवस्थापन गरेको क्वारेन्टिनमा उनीहरू बस्ने प्रतिबद्धता भएमा मात्र कामदार, जनशक्तिलाई नेपाल आउन अनुमति दिइने । – हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखि नेपाल आउन अनुमति दिने । नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउनुपर्ने । – अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय । नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकार गतिविधि समेत यस अवधिमा बन्द रहनेछन् । तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेश भने खुला रहनेछन् । इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय । चीनतर्फ रसुवाको नाका खुला । – शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने । सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने ।

बलात्कार घटनामा लापरवाही गर्ने प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगरः कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताए । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ । ‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भने, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।’ उनका अनुसार किशोरीले आफूलाई पाँच÷छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउँद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएकोे छ ।

धितोपत्र बजार : नेप्से परिसूचकमा आज उच्च वृद्धि

काठमाडौं : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ । आज कुल ४ अर्ब माथिको शेयर कारोबार भएको छ । स्टकका अनुसार आज कुल १८६ कम्पनीका ९६ लाख ८६ हजार नौ कित्ता शेयर रु चार अर्ब १८ करोड १० लाख ३६ हजार ११५ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ मध्ये दुई उपसमूहको शेयर मात्र ओरालो लागेको छ । बीमा उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा १२५.८९ र जीवन बीमा ८८.६८ अङ्कले घटेको छ । यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८ र सामूहिक लगानी कोषको एकाइ ०.०८ अङ्कले बढेको छ । कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६७ करोड ४२ लाख ४२ हजार २५४ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु १७ करोड ७५ लाख २८ हजार ५०२, नेशनल लाइफ इन्स्योरेन्सको रु १६ करोड ५१ लाख ९४ हजार २०६, नेपाल लाइफ इन्स्योरेन्सको रु १५ करोड ७५ लाख ५७ हजार ४५२, नेको इन्स्योरेन्सको रु १४ करोड ६७ लाख पाँच हजार ४०७, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको रु १४ करोड ६० लाख १३ हजार ६८०, एनआइसी एसिया बैंकको रु ११ करोड ५२ लाख ८० हजार ८४५, शिवम् सिमेन्ट्स लिमिटेडको रु ११ करोड ४८ लाख नौ हजार ७८६, हिमालयन डिष्टिलरीको रु १० करोड ४६ लाख ५८ हजार ५४८ र नेपाल बैंकको शेयर रु आड करोड ८८ लाख ३९ हजार ३८५ मा खरिदबिक्री भयो । आज सबैभन्दा बढी पाँचथर पावर कम्पान्ट, जोशी हाइड्रोपावर रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, नाग्दी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयर धनीले सर्वाधिक १०/१० तथा चिलिमे हाइड्रोपावर कम्पनी ९.९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै प्रभु इन्स्योरेन्स ४.४१, प्रुडेन्सियल इन्स्योरेन्स ४.०१, मल्टीप्रपोज फाइनान्स ३.७०, सगरमाथा इन्स्योरेन्स ३.४६, सूर्या लाइफ इन्स्योरेन्स ३.४४, लुम्बिनी जनरल इन्स्योरेन्स ३.३६, नेपाल फाइनान्स ३.२८, नेको इन्स्योरेन्स ३.२६, प्रिमियर इन्स्योरेन्स ३.२३ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९६ प्रतिशतले गुमाए ।

काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड, ‘हट स्पट’ बन्दै

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरसले नयाँ रेकर्ड राखेको छ । शनिबार अहिलेसम्मकै उच्च २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएसँगै कोरोनाले उपत्यकामा नयाँ रेकर्ड राखेको हो । काठमाडौं उपत्यकाको काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै २४ घण्टाको सबैभन्दा बढी हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरूको बढ्नु, सार्वजनिक यातायातको संचालनलगायतका कारणले उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् । काठमाडौं उपत्यकामा संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण बढेको भन्दै उपत्यकामा तीन वटै जिल्ला निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) जनाएको छ । संक्रमितको ठेगाना, सम्पर्क नम्बरसहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या पर्ने ग।रेको छ । काठमाडौंमा पाँच बढी स्थानमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका छन् । बढी जोखिम क्षेत्र कोटेश्वर, कुलेश्वर–बल्खु क्षेत्र, बालाजु क्षेत्र, असन, महाबौद्ध क्षेत्र, महाराजगञ्ज, हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी, मैतीदेवी, घट्टेकुलो आदी ।