अर्थ मन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको महतको सचिवालयले जनाएको छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

अर्थमन्त्री महतको सचिवालयका अनुसार एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो । भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गर्नुभयो । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भयो ।

सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।

भोलि आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइने

काठमाडौं। भोलि वैशाख २४ गते आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ । सञ्चार तथा सूचनाा प्रविधि मन्त्रलायको आयोजनामा आइतवार दिउँसो ठीक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने दुुई जनालाई बरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्वोधन गर्नेछन् ।

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउन सक्ने अधिकार सर्वोच्च अदालतलाई नभएको लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतलाई महान्यायाधिवक्ताको निर्णय उल्ट्याउन सक्ने अधिकार नभएको दाबी गरेका छन्। युवराज पौडेलले दायर गरेको रिटका विपक्षी भएकाले सर्वोच्च अदालतले रविसँग पनि लिखित जवाफ मागेको थियो। लिखित जवाफ पेश गर्दै लामिछानेले राहदानी महान्यायाधिवक्ताले आफूविरूद्ध राहदानी कसुरमा मुद्दा नचलाउने भन्दै गरेको निर्णयविरूद्ध परेको रिट खारेज हुनुपर्ने माग गरेका छन् संविधानले सरकारवादी हुने मुद्दा चलाउने कि नचलाउने भनी निर्णय गर्ने अन्तिम अधिकार महान्यायाधिवक्तालाई दिएकाले अदालतले न्यायिक हस्तक्षेप गर्न नमिल्ने उनको तर्क छ। ‘अमेरिकी नागरिक भएका बेला मैले बनाए पनि राहदानी प्रयोग गरी विदेश नगएको, राहदानीसम्बन्धी कसुर गर्ने मनसाय नभएको र उक्त राहदानी फिर्ता गरेपछि महानिर्देशकले रद्द गरेको तथा मेरो बयानलाई आधार लिई जिल्ला सरकारी वकिलदेखि महान्यायाधिवक्तामा तह९तह टिप्पणी उठी मेरा राहदानी कसुरमा मुद्दा नचल्ने निर्णय भएको तथ्य ख्याल नगरी निवेदकले मिथ्या आरोप लगाएका छन्,’ लामिछानेको लिखित जवाफमा भनिएको छ, ‘नेपालको संविधानले नेपाल सरकारको तर्फबाट मुद्दा चलाउनेरनचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार प्रदान गरेको छ।’ सर्वोच्च अदालतले पनि महान्यायाधिवक्ताको निर्णय उपर प्रश्न गर्ने अधिकार कसैलाई नभएको भन्ने सिद्धान्त प्रतिपादन गरेको रविको लिखित जवाफमा उल्लेख छ। रिट निवेदक पौडेलले भने रौतहटका मोहम्मद अफताव आलमको मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएको नजिर दिँदै रविको मुद्दामा पनि उनको निर्णय बदर गर्न माग गरेका छन्। रविले भने आलमको मुद्दामा जस्तो आफ्नो मुद्दामा कोही पीडित नभएको तर्क गरेका छन्। ‘कुनै कसुरमा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्दा त्यसले समाज र आम नागरिकमा पार्ने प्रभाव, सरकारी राजश्वको प्रयोग, पीडित पक्ष रहेको मुद्दामा पीडितलाई पर्ने प्रभाव र पीडित न्यायबाट बञ्चित हुन सक्ने अवस्था समेतका विभिन्न पक्षको व्यापक र गहन अवलोकन गरी महान्यायाधिवक्ताबाट निर्णय हुनुपर्छ भन्ने कुरामा दुइमत छैन,’ लामिछानेको लिखित जवाफमा उल्लेख छ। आफ्नो राहदानी प्रकरणको विषयमा पनि पीडित पक्ष नभएको, अन्यायमा पर्न जाने पक्ष नरहेको, सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र दुरूपयोग हुन सक्ने तथ्यगत अवस्था नरहेको लगायतका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउनु नै उपयुक्त रहेको लामिछानेको भनाइ छ। न्यायिक परीक्षणबाट महान्यायाधिवक्ताको निर्णय बदर गर्ने नजिर बस्यो भने सरकारी वकिलको मुद्दामा अभियोजन गर्ने स्वायत्तता समाप्त हुने लामिछानेको तर्क छ। ‘न्यायिक परीक्षणपछि मात्र अभियोजन निर्णयले पूर्णता वा परिपक्वता हासिल गर्ने संत्रासमा सरकारी वकिल रहनुपर्ने अवस्था सिर्जना हुनाले संस्थागत र कार्यगत स्वायत्तता समाप्त हुन पुग्छ,’ लामिछानेले लिखित जवाफ दिएका छन्, ‘मुद्दा चल्नेरनचल्ने निर्णय उपर अदालतमा पुनरावेदन लाग्ने हो कि भन्ने अभ्यासको सुरूआत हुन जान्छ। तसर्थ निवेदनपत्रमा निवेदकले लिएको दाबी स्थापित न्यायिक सिद्धान्त र अभियोजनात्मक पद्धतिको समेत प्रतिकूल हुँदा रिट निवेदन खारेजभागी छ।’ चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध झूटा व्यहोरा दिएर राहदानी बनाएको कसुरमा मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए। अमेरिकी राहदानी भएका बेला झुटा विवरण पेस गरी नेपाली राहदानी पनि लिएको भन्दै लामिछानेमाथि छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दै प्रहरीले लामिछानेमाथि मुद्दा चलाउन नपर्ने सुझाव जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको थियो। जिल्लाले उक्त प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयलाई दिएको थियो। उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। झूटा विवरण दिई राहदानी लिएको स्थापित तथ्य हुँदाहुँदै महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उक्त निर्णयविरूद्ध अधिवक्ता युवराज पौडेल ९सफल० ले सर्वोच्चमा रिट दिएका थिए। सर्वोच्चको एकल इजलासले रिट निवेदकले मागेको अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्य मागबारे रिटको अन्तिम टुंगो लाग्ने बेला सम्बोधन हुने भनेको थियो। साथै विपक्षीलाई लिखित जवाफ पेश गर्न पनि भनेको थियो।

त्रिभुवन विमानस्थलको कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या, हवाई सेवा अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध हवाई सेवा सञ्चालन भएको छ। विमानस्थलको कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या आएपछि दिउँसो २ः३० देखि ३ः२० सम्म उडानमा समस्या आएको हो। जहाजसँग कम्युनिकेसन गर्ने प्रविधिमा नै समस्या आएपछि उपत्यकाबाहिरबाट आएका उडानलाई समेत डाइभर्ट गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले समस्या समाधान भइसकेको छ। एटिसी टावर र पाइलटबीच हुने मुख्य माध्यम ‘कम्युनिकेसन फ्रिक्वेन्सी’मा समस्या आएपछि उडान र अवतरण अवरुद्ध भएको थियो। वातावरणीय समस्याका कारण फ्रिक्वेन्सीमा समस्या आएको हुन सक्ने प्रवक्ता सिटौलाको अनुमान गरिएको छ । उनका अनुसार ३ः२० यता उडान र अवतरण सञ्चालन भएको छ।

पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ। आज भएको उपनिर्वाचनअन्तर्गत बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ। निर्वाचन छिटफुट विवाद बाहेक शान्तिपूर्ण रुपमा जारी रहेको छ । आयोगले कुनै कारणवश ढिलाइ नभएको अवस्थामा १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने बताएको छ।

भेरी नदीमा निर्माण भैरहेको बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

सुर्खेत । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भएको छ भने ८ जना घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सुडान द्वन्द्व : ८५ जनाले ज्यान गुमाए, नेपाली सुरक्षाकर्मी सकुशल

काठमाडौं। सुडानमा जारी द्धन्द्धमा परि ८५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ द्धन्द्ध फैलदा शान्ति कार्यमा रहेका नेपालीको सुरक्षबारे चिन्ता थपिएको छ । अहिलेसम्मका विवरण अनुसार अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्। त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा परि हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन्। यसबीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरेका छन् । द्धन्द्धरत एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविराम गर्न भने मानिराखेका छैनन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित राखेको जनाएको छ। सुडानमा अफ्रिका र अरब इस्लामिक संस्कृति, धर्म र जातिहरूको टकरावले ५० वर्षको देखि गृहयुद्ध भैरहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७९ पैसा र बिक्री दर १६३ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । “मिति २०८०-०१-०८ देखि मिति २०८०-०१-१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,” निर्णयमा उल्लेख छ । त्यस्तै, उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको छ । वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उनले बताईन् । बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताईन । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्। बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

फास्टट्रयाक अनुगमनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फास्टट्रयाक अनुगमनमा निस्केका छन् । उनी फास्टट्रयाक अनुगमन गर्न बाराको निजगढ पुगेका हुन् । तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले जानकारी दिए । विकास निर्माण कार्यमा ढिलाई नहोस् भनेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरबका आयोजनाहरू अनुगमन गर्दै आइरहेका छन् । उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

बालबालिकाले ३५ प्रकारका क्यान्सरको औषधि निःशुल्क पाउने

काठमाडौँ । नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिए । ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी) ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । स्वास्थ्य सचिव गुरागाईंले सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । ती औषधि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार प्रयोग हुनेछन् । “यस अगाडिदेखि नै कान्ति अस्पतालको नेतृत्वमा क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने काम भइरहेको थियो,” उनले भने, “बालबालिकालाई लक्षित गरेर हामीले निःशुल्क रूपमा क्यान्सरविरुद्धको औषधि प्राप्त गर्नेछौँ ।” नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधि निःशुल्क उपलब्ध गराइनेछ । ती देशमा जाम्बिया, इक्वेडर, उज्बेकिस्तान, जोर्डन र मङ्गोलिया पनि रहेका छन् । अर्को वर्ष थप छवटा देश गरेर १२ वटा राष्ट्रले बालबालिकाका लागि क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछन् । नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधि निःशुल्क वितरण भइरहेको छ । यो गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकासित समाचार हो ।

सेती खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

पोखरा । पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको हो। सेती खोंचमा खसेकी पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा–१५ मा रहेको हरियो खर्कको खेल मैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् । प्रहरीको टोलीले उद्धार गरेर निकालेपछि बालिकाको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ । आजको विनिमयदर

आजको मौसम पूर्वानुमान : तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बांकी भु–भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

इन्डियन प्रिमियर लिग : सनराईजर्स हैदराबादको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) सनराईजर्स हैदराबादले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार राती इडन ग्राडेनमा भएको खेलमा हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २३ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो। कोलकत्ताका कप्तान नितिश राणा र रिंकु सिंहले सानदार अर्धशतक बनाए पनि टिमको हार टार्न भने सकेनन् । कप्तान राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित ७५ रनको बनाउँदा रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे । छैटौं विकेटका लागि रिंकु र राणाले ६९ रनको साझेदारी गरेका थिए । ओपनर नारायण जगदीशनले २१ बलमा ३६ रनमा आउट भए । चौथो विकेटका लागि जगदीशन र कप्तान राणाले ६२ रनको साझेदारी गरेका थिए । शार्दुल ठाकुर १२तथा वेंकटेश ऐर १० रनमा आउट भए । हैदराबादका लागि मार्को यानसन र मयंक मारकान्डेले समान २–२ विकेट लिए । भुवनेश्वर कुमार,टि नटराजन र उमरान मलिकले समान ११ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनायो । हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय रनको शतकीय ईनिङ खेले । ह्यारीले ५५ बलमा आफ्नो शतक पूरा गरेका थिए । हैदराबादमा आबद्ध इंग्ल्यान्डका युवा क्रिकेटर ब्रुकले आईपीएलमा पहिलो शतक प्रहार गरेका हुन् । कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए । कोलकत्ताका लागि आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए । चौथो खेलमा दोस्रो जित हात पारेको हैदराबाद लिगको सातौं स्थानमा रहेको छ । चौथो खेलमा दोस्रो हार व्यहोरेको कोलकत्ता ४ अंकका साथ चौंथो स्थानमा रहेको छ ।