कोशीमा कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मीक बैंठक बोलाएका हुन् ।

उनले दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै गलत गतिबिधि बारे बैठकमा छलफल हुने बताए। पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उनको भनाई छ ।

पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने गलत सन्देश गएको भन्दै सभापति थापाले अनुशासनहीनताको बिषयमा पार्टीले उपयुक्त निर्णय लिने बताए ।

भूकम्प प्रभावित बझाङमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। त्यहाँ प्रधानमन्त्रीले विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरूको अवलोकन गर्ने छन् । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ । प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट भूकम्पबाट क्षति पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि सहयोग घोषणा गर्नेछन् । साथै मृतकका परिवारलाई राहत दिनेबारे पनि प्रधानमन्त्रीले बोल्नेछन् ।

प्रवक्ता सापकोटाद्धारा अध्यक्ष प्रचण्डको न्युयोर्क र चीन भ्रमणबारे जानकारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा रहेको तर घोषणा हुन बाँकी रहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको न्युयोर्क भ्रमणको सन्र्दभमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया सुरु भएयता चारपटक निर्वाचन भइसकेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुगेको घोषणा गर्न मात्र बाँकी रहेको बताएका हुन्। पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले आजबाट हुन लागेको न्युयोर्क भ्रमण र चीन भ्रमणबारे जानकारी दिएका छन् । ‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुर्‍याउन र घोषणा गर्न बाँकी मात्र हो।’तर यसलाई टुंगोमा पुर्‍याउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सम्बन्धमा अपिल गर्ने जानकारी दिए। ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन राष्ट्रिय वातावरण नै अनुकूल बनाउनुपर्छ, तर अन्तर्राष्ट्रिय भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यसमा विषयमा हाम्रो विशेषतासहितको मौलिक शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर अध्यक्षज्यूले संयुक्त राष्ट्रसंघमा अपिल गर्नुहुनेछ।’शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ। अमेरिकमा रहँदा अल्पविकसित देशको नेतृत्व नेपाल भएकाले अहिले देशको विकास निर्माण र आर्थिक प्रगति र सहयोग बारे कुरा हुने जानकारी दिए । साथै उनले सम्मेलनमा जलवायु परिर्वतनका असर र प्रभावबारे पनि गहिरोगरी कुरा उठाइदने बताए । उनले पार्टीले अहिले संचालन गरेको अभियान राजनीतिक सांस्कृतक पुर्नगणना भएको बताए । यो अभियानले समाजवादी क्रान्तिको आधार तय गर्न, कृषिमा गर्नुपर्ने खोज अनुसन्धान गर्न र लगानीलाई जोड दिन , उद्यौकिकरण गर्ने , राष्टिय सुरक्षाको सवालमा र विज्ञान तथा प्रवृधिको विकासँगै विचारको विकासलाई जोड दिएको बताए।

काठमाडौं तीनकुनेको सामुहिक हत्याकाण्डः अनुसन्धान समिति गठन

काठमाडौं । तीनकुनेमा भएको सामुहिक हत्याकाण्डको छानबिनका लागि प्रहरी अधिकृतसम्मिलित अनुसन्धान समिति गठन भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। थापाका अनुसार सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा के।सी। र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र के।सी।रहेका छन्। घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न हुन अनुरोध गरिएको थापाले बताए। गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा कार्यरत कुमार भुजेलको परिवारका तीनजना सहित चार जनाको शव फेला परेको थियो। प्रहरीका अनुसार दोलखाका ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको शव फेला परेको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ। प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ।

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताएका छन् । साथै उनले निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्दै सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुने रहेको स्पष्ट पारे । नेपाल उद्योग परिसंघ (सिएनआई) को बीसौँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट पनि गरे । प्रधानमन्त्रीले भने, ‘‘सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ ।’’ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ बीसौँ सभाका अध्यक्षज्यू, माननीय अर्थमन्त्रीज्यू, कार्यक्रमका अतिथिहरू, निजी क्षेत्रसम्वद्ध संघरसंगठनका प्रमुख एवं प्रतिनिधिहरू, कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी–व्यवसायी मित्रहरू, सञ्चारकर्मी साथीहरू, उपस्थित आदरणीय महानुभावहरू । सर्वप्रथम नेपाल उद्योग परिसंघको बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु । उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा गर्दै आएको परिसंघ कामबाट आफूलाई मुलुकको औद्योगिक विकासको अभिन्न अंगको रूपमा स्थापित भएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । सन् २००२ मा स्थापित नेपाल उद्योग परिसंघले अर्थतन्त्रको विकासका लागि प्रभावकारी एवं उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । यसलाई थप प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिएको छु । परिसंघले निश्चित समूह वा व्यक्ति लक्षित नीति नियमका लागि भन्दा पनि समग्र मुलुकको अर्थतन्त्रको विकास, औद्योगिक उत्पादन तथा आन्तरिक उत्पादन, उद्योगहरूको संरक्षण एवं प्रबद्र्धन गर्नुपर्ने विषयमा केन्द्रित भएर नीतिगत सुझाव दिने गरेको मैले पाएको छु । त्यसैगरी, परिसंघले निरन्तर रूपमा आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिँदै आएको पनि मैले अनुभव गरेको छु । वास्तवमा परिसंघ जस्ता संस्थाको दायित्व पनि समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता छ । समग्र अर्थतन्त्रको विकास एवं विस्तार हुँदा मात्रै मुलुकले फाइदा पाउँछ, रोजगारी बढ्छ र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ । परिसंघले १६ औँ योजना तर्जुमा गर्न अध्ययन गरेर राष्ट्रिय योजना आयोगलाई सुझाव प्रतिवेदन दिएको जानकारी पाउँदा खुसी लागेको छ । आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न परिसंघले दिएको सुझाव सरकारका निम्ति महत्वपूर्ण सन्दर्भस्रोत रहनेछ । सरकारले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गर्दछु । सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ । यो अभियानमार्फत औद्योगिकरण, उत्पादन बृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर बृद्धि तथा निर्यात प्रबद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणको यो अभियानलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । म प्रधानमन्त्रीमा नियुक्त भएको दिनमा पनि भनेको थिएँ– मेरो पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुनेछ । निजी क्षेत्रसँगको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुन सक्दछ । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारीरूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ । मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधैँ चिन्ता व्यक्त गर्दै आइरहेको छ । स्वागत मन्तव्यका क्रममा परिसंघका अध्यक्ष राजेशजीले यो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ । म गम्भीर छु । अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । अर्थतन्त्र सुधारको काम सरकार एक्लैले गर्न सक्दैन, तसर्थ, निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु । सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । तसर्थ, कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु । मुलुकको अर्थतन्त्रलाई बजेटको प्रभावकारी कार्यान्वयनबाट सुधारमा लगिनेछ । हामीले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुवात गर्न खोजेका छौं । अर्थतन्त्र सुधारका लागि सरकार परिसंघजस्ता संस्थासँग सहकार्य गरेर अगाडि बढ्दछ । वर्तमान सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै कानूनी, नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ । अन्त्यमा, संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले लिएका निर्णय र चालेका कदममा परिसंघले विगतमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यहाँहरूको साधारण सभाले अर्थतन्त्रको पुनरोत्थानमा महत्वपूर्ण निर्णयहरूको योगदानसहित बिदा हुन्छु । धन्यवाद ।

मुद्दा अदालतमा गए पनि सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि) बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिए । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्‍याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। उनका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ । उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ । अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप छ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललको कार्यालय काठमाडौमा बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाउनु अघि सीआइबीकी प्रमुख किरण बज्रचार्यले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतिवेदन बुझाउन लागेको जानकारी दिएका हुन् । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्याद सम्बन्धी प्रावधानका कारण सिआइबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउन लागेको बज्राचार्यले बताए । ४२ जना प्रहरी अधिकारी सम्मिलित रहेको अनुसन्धान टोलिद्वारा आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५७ दिन पुगेकोछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्राबधान रहेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान र नेपाल प्रहरीको टोलिले सिनामंगलबाट तस्करीको सो परिमाणको सुन बरामद गरेको थियो । यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् जसमध्ये २३ नेपाली, ९ बिदेशी रहेका छन भने १८ जना फरार छन् । फरारमध्ये १४ बिदेशी र ४ नेपाली रहेका छन । सीआईबीका अनुसार पक्राउ परेका चिनियाँसहित ९ विदेशी र २३ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको हो । तस्करी भएको सुन हङ्गकङ्ग बाट आएको र भारत तर्फ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ । सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व,भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष सहित अनुसन्धान प्रतिबेदन बुझाउन लागेको हो ।  

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज सुनुवाई हुने

काठमाडौं । कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी मूख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले यही भदौ ७ गते विश्वासको मत संविधान सम्मत नदेखिएको भन्दै प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम नगर्न आदेश दिएको थियो । सर्वोच्चले उक्त मुद्धालाई अग्राधिकारमा राख्दै विपक्षीलाई भदौ १३ गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको थियो ।

आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखासरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै, बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार हाल मौसमको देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पाकिस्तानले गुमायो चार विकेट

काठमाडौं। एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले चार विकेट गुमाएको छ । पाकिस्तान क्रिकेट रंगशालामा टस जितेर पहिलो बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ । पाकिस्तानले दुवै ओपनर गुमाएको छ । अहिले पाकिस्तानले २७.५ ओभरका दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य रहन्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य नरहने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन्। उनले जता हेर्‍यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताए । नेता कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताए। नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए । नेता कोइरालाले कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गरे ।

कोशीमा नयाँ सरकार गठन हुँदै, गठबन्धनबाट उद्धव थापाले दाबी पेस गर्ने

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदै छ। उक्त समयभित्र गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा सरकार नेतृत्वको दाबी पेस गर्न लागेका हुन्। ९३ सदस्य रहेको कोशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ। तर गठबन्धनमा रहेका चार दलको बहुमत सभामुखसमेत जोड्दा मात्रै पुग्छ। प्रदेशसभामा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यी सबै जोड्दा ४७ नै पुग्छ। भने एमालेका ४० सांसद रहेका छन्। तर मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि विश्वासको मत लिनुपर्ने हुन्छ । अन्यथा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका नेताको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। विश्वासको मत विभाजन गरिँदा दुवैतर्फ बराबरी संख्या भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने प्रावधान छ।

एमालेको संसद अवरोधले मिटर ब्याजी विरुद्धको कानुन बन्न पाएन : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण जनताको हितसँग जोडिएका महत्वपूर्ण कानुन बन्ने बाटो रोकिएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लगायतका दल राप्रपा र रास्वपाले संसद् अवरोध गर्दा मिटर ब्याजपीडितको पक्षमा कानुन बनाउन ल्याएको अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताएका छन् । विधेयक पारित हुन नसकेपछि कानुनी शून्यता हुन गएको उनको भनाइ छ । प्रतिनिधिसभाको बुधबारको बैठक एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरूले प्रधानमन्त्री प्रचण्डको केही दिन पहिले दिएको अभिव्यक्तिको विरोधमा अवरुद्ध गरेका थिए । शुक्रबारसम्म प्रतिनिधिसभा बैठक स्थगित भएपछि पुनले भने, ‘आज मिटरब्याजसम्बन्धी समस्यालाई समाधान गर्न जारी भएको अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पास गर्ने अन्तिम दिन हो । यसलाई पास गरौं र राष्ट्रिय सभामा पठाऔं अनि त्यो विषयमा छलफल गरौँला भन्ने आग्रह गरेका थियौं । देशभरमा मिटरब्याजपीडित आन्दोलन भइरहेको अवस्थामा कानुनी शून्यता हुने भयो । कोही थुनामा रहेका छन्, कोही मुद्दा चलिरहेकाले अवस्था जटिलता बनेको छ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेपछि माओवादी केन्द्र, कांग्रेस र एमाले नेताहरूले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । उक्त छलफलमा संसद्लाई अब कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल भएको पुनले बताए । एमालेसहितका दलको अबरोधका कारण बुधबारको पहिलो बैठक अबरुद्ध भयो भने दोस्रो पटकका लागि तोकिएको बैठक बस्नै सकेन । सभामुखले शुक्रबारका लागि बैठक सारिदिएका छन् ।

रुकुममा जिप दुर्घटना : कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित नौ जना घाईते

रुकुम पश्चिम । शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित नौं जना घाईते भएका छन् । दुर्घटनामा परेर माननिय खड्काको बाँया खुट्टामा चोट लागेको उनका स्वकिय सचिव हुकुम बिसीले जानकारी दिए । उक्त दुर्घटनामा परेर चौरजहारी नगरपालिका ९ मा रहेको आधारभूत विद्यालय भुवा टाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननिय खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी सहित गाडिमा सवार नौ जना घाईते भएका छन् । प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ । भोलि आईतबारका दिन रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागि हुन त्यसतर्फ जाने क्रममा गाडि दुर्घटना भएको हो । गाडिको स्टेरिङ अकस्मात घुमेपछि गाडि अनियन्त्रित भएर पल्टिएको गाडि चालक गिरीको प्रतिक्रिया रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ लिएको छ ।

भारतको नयाँ संसद्‍मा राखिएको नक्साबारे कुरा उठाएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् अघि राखिएको नक्साबारे आफूले कुरा राखेको बताएका छन् । उनले आफू त्यसअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए । “भारतीय नयाँ संसद्अघि गएकै छैन, पुगेको छैन । त्यहाँ गरेर मोदीजी र मैले हात हल्लाएँ भनेको मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,” उनले भने । उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए । “यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने । यो बारेमा छलफल गर्दै जान सकिन्छ,” उनले भने । प्रचण्डले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए । अहिले आफूलाई अफ्ठ्योरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न आग्रह गरे ।

तीन दलको अबरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)​ ले बैठक अवरूद्ध गरेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । ​ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक प्रति असन्तुष्टि जनाउँदै तीन दलले सदन अवरूद्ध पारेका हुन् । उनीहरूले प्रमाणीकरण भएको विधेयक निष्क्रिय पारेर संशोधनसहितको विधेयक सदनमा ल्याएर अघि बढाउन माग गरेका छन् ।