ताप्लेजुङ सदरमुकाममा आगलागीः ७ करोड बढीको क्षति

ताप्लेजुङः सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट ७ करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ ।

आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट ८ घर जलेका छन् । अन्य केही घरमा आंशिक क्षति भएको थियो । ८ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् ।

आगलागीले ८ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो ।

राति करिब १०ः३० बजेदेखि सुरू भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।

शान्तिपुर बसपार्कको १ घरमा आगलागी, वडाध्यक्षका छोराको ज्यान गयो

गुल्मीः जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागी हुँदा एक वजनाको मृत्यु भएको छ । बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको मृत्यु भएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी खिए । खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । गाउँपालिका अध्यक्ष खत्रीका अनुसार आगलागीमा घाइते भएका उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको छ । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसक्दा उनको ज्यान गएको हो । ‘आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ गाउँपालिका अध्यक्ष खत्रीले भने । खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष समेत रहेका खत्रीले जानकारी दिए ।  आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गरे सेनाको प्रशंसा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने नवआयुक्त अधिकृतलाई पठाएको सन्देशमा उनले भविष्यमा आउन सक्ने विभिन्न किसिमका महामारीको सामना गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई सजग तथा सतर्क रहँदै आपसी समन्वयमा रहन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य छ, भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न सबै सुरक्षा निकायले समन्वयमा रहेर काम गर्नुस् ।’ सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन, पूर्वाधार विकास, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा जनतासँग सहकार्य गर्दै आएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सेनाले नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ, नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एवं बहुआयामिक सङ्गठनका रुपमा विकसित भइरहेको छ ।’ प्रधानमन्त्रीको उक्त सन्देश समारोहमा पढेर सुनाइएको थियो । समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नवआयुक्त अधिकृतलाई बधाई ज्ञापन गर्दै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिन निर्देशन दिए । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सीमित व्यक्तिको उपस्थितिमा सुरक्षात्मक उपाय अपनाई उक्त समारोह गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अब आधा सिलिन्डर मात्रै ग्यास वितरण गरिने

काठमाडौंः नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पुर्याउने निगमले जनाएको छ । कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो । निगमका अनुसार अहिले पनि दिनमा एक लाख सिलिन्डर बजारमा गइरहेको छ । सुरक्षाका हिसाबले आधा सिलिन्डर प्रयोगमा ल्याउँदा फरक नपर्ने निगमले जनाएको छ । भरी हुँदा १४.२ किलोको सिलिन्डर पाइन्थ्यो भने उपभोक्ताले अब ७.१ किलोग्राम तौलको सिलिन्डर पाउने छन् ।

‘लकडाउन’ सँगै मिर्गौलाका चार हजार ६ सय बिरामी समस्यामा

काठमाडौंः राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित छ । देश लकडाउन छ, सर्वसाधारण घरघरमा ‘सेल्फ क्वारेन्टाइन’मा छन् । यो विषम परिस्थितिमा चार हजार ६ सय मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका छन् । मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ । सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरूको जीवन नै जोखिममा परेको छ । सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन् । पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन् । कतै अस्पतालमै पर्याप्त उपकरण अभाव हुँदा डायलाइसिसमा समस्या छ । तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्‍याएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

चीनमा देखियो नयाँ भाइरस, एक जनाको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहट्दै चीनमै अर्को भाइरस देखिएको छ । युनान प्रान्तमा देखा परेको यो नयाँ भाइरसका कारण २३ मार्चमा एक जनाको ज्यान गएको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा उल्लेख अनुसार मृतक ३२ वर्षका थिए र परीक्षणका क्रममा ‘हान्टा भाइरस’ संक्रमणको पुष्टि भएको थियो । कामका लागि सानडोङ प्रान्त पुगेका उनी चार्टर वसबाट सोमबार मात्र फर्किएका थिए । बसमा सवार अन्य ३२ जनाको परी परीक्षण गरिएको छ । सीडीसीको रिपोर्टअनुसार यो भाइरस मुसाबाट फैलिन्छ । यदि कुनै व्यक्तिले मुसाको मलमूत्र वा र्‍याल छोएपछि अनुहारमा हात लगियो भने संक्रमित हुने खतरा रहन्छ । तर हान्टा भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दैन । साथै संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ सातासम्म समय लाग्न सक्छ । यदि कोही व्यक्ति संक्रमित भयो भने ज्वरो, रुघा, वान्ता हुने जस्ता लक्षण देखिनेछ । र, संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रिएमा फोक्सोमा पानी जम्मा हुने, श्वास प्रश्वासमा कठिनाइ आउने हुन्छ । जनवरी २०१९ मा हान्टा भाइरसका कारण पाटागोनियामा ९ जनाको मृत्यु भएको थियो । त्यसबेला ६० जनामा संक्रमण भएको र उनीहरु मध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । –एजेन्सी

बुटवलमा कोरोना संक्रमणको आशंकामा एक युवक अस्पताल भर्ना

बुटवलः कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जना अस्पताल भर्ना भएका छन् । २१ वर्षीय एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसँग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ डा. थापाले भने, ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’

चीनबाट सामान आउन सुरु, अब कुनै सामान नरोकिने

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आइरहेको जानकारी दिए । उनका अनुसार केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकाता हुँदै नेपाल आउन सुरु गरेको हो । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आइरहेको जानकारी दिँदै व्यवसायीहरूले सामान लोड गरिरहेको पूर्वअध्यक्ष दाहालले जानकारी दिए । चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिँदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए । चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिए । गोरखापत्र अनलाइनबाट

जरुरी कामबाहेक बाहिर ननिस्कन काठमाडौंबासीलाई आग्रह

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर ननिस्कन काठमाडौंबासीलाई आग्रह गरेको छ । बिहीबार एक बिज्ञप्ती प्रकाशित गरी कार्यालयले उक्त आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्म अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको जानकारी दिए ।

होलीको टीसर्ट १ रुपैयाँमै पाइने!

काठमाडौंः मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ । रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ । १ रुपैयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ ।  

कुलमानको दावीः ‘विद्युत प्राधिकरणको वार्षिक नाफा ९ अर्ब नाघ्यो’

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको छ । आज काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको जानकारी दिए । उनले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत बताए । १६ वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणात्मक नाफा गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमानले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।

राष्ट्रपति ट्रम्प भारत आउँदै

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फागुनमा भारत यात्रामा आउने भएका छन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५ (फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुने छन् । अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुने छिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् । अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो । भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउने छन् ।

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो । प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक छन् । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

म्याग्दीको खोप्राबाट नारच्याङ आउँदै गरेका ४ पर्यटक अलपत्र

बेनीः म्याग्दीको पर्यटकीय स्थल खोप्राको भ्रमणमा पुगेका ४ पर्यटक नारच्याङ फर्किने क्रममा बीचबाटोमा अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्र हुँदै नारच्याङ गाउँ आउन लागेका ४ नेपाली पर्यटक बाटो बिराएर अलपत्र परेका छन् । नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर अंकीत शाह समेत चार जना पर्यटकहरु बिहीबारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाडौंका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भू–भागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको छ । विहानैदेखि खोजीकार्य सुरु गरिएपनि अहिलेसम्म उनीहरुलाई भेट्याउन नसकिएको प्रजिअ ढकालले जानकारी दिए । आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरिएको र अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको प्रजिअ ढकालले बताए । स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि नारच्याङबाट माथिल्लो भेगतिर लागेका छन् । मोबाईलको सम्पर्कबाट आफुहरु अल्पत्र परेको खबर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिए ।

ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेतः सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको पिपिरामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त–७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ख–७६७० नम्बरको ट्रकले ठक्कर दिँदा जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकसँगै ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु भएको सुर्खेतमा प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज पन्तले जानकारी दिए । चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाउनु परेको थियो ।

बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छः मन्त्री अर्याल

काठमाडौंः भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताएकी छन् । मन्त्रालयले करिब दुई वर्षको अवधिमा हासिल गरेका मुख्यमुख्य उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सो जानकारी दिइन् । उनले भनिन्, “सरकारले विधि पुर्‍याएर राम्रो नियतले कार्यसम्पादन गरेको छ, आगामी दिनमा अदालतमा कुनै समस्या नआओस् भनेर सूक्ष्मरुपमा प्रमाण जुटाइरहेको छ ।” उक्त प्रकरणमा मन्त्रालयका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेको छ । सरकारले व्यक्तिको नाममा रहेको दुई हजार ८२९ वर्गमिटर जग्गा आफ्नो नाममा फिर्ता ल्याएको छ । देशका विभिन्न स्थानमा फरकफरक समयमा व्यक्तिका नाममा दर्ता भएका सरकारी, सार्वजनिक र गुठी जग्गा तथा जमिन मन्त्रालयले फिर्ता ल्याएको हो । सरकारले ऐतिहासिक सम्पदास्थल, विभिन्न मन्दिर तथा धार्मिक गतिविधि सञ्चालनका लागि गठन गरिएका गुठीअन्तर्गत रही हराएका तथा अन्य अतिक्रमित जग्गाको पनि खोजी गरिरहेको छ । मन्त्री अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदनमा सरकारको नाममा जग्गा कायम गर्ने तथा गुठी कायम गर्नेसम्बन्धी काम अगाडि बढाइएको जानकारी दिइन् । सरकारले भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि समाधान गर्ने गरी तर्जुमा गरेको भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि तयारी गरिएको जानकारी दिएको छ । भूमिहीनलाई भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी निर्माण गरिएको उक्त ऐन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको छ । एकीकृत भूमि ऐनको तर्जुमा कार्य प्रारम्भ भएको, भूमिसम्बन्धी नियमावली (अठारौँ संशोधन)को मस्यौदा तयार भएको, भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी नियमावली संशोधन भएको जानकारी दिइएको छ । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन निर्देशिकाको मस्यौदा तयार गरिएको छ । भूमिको व्यवस्थित र वैज्ञानिक उपयोग सुनिश्चित गर्ने, व्यवस्थित भू–उपयोग कार्यक्रम लागू गर्ने, कृषियोग्य जग्गाको संरक्षण र व्यवस्थित आवास सुनिश्चित गर्ने गरी भू–उपयोग ऐन, २०७६ स्वीकृत भएको बताइएको छ । राष्ट्रिय भूमि नीति, २०७५ जारी भएको कार्यलाई उपलब्धिका रुपमा लिइएको छ । मन्त्रालयले सहकारी नियमावली, २०७५ जारी गरी सहकारी संस्थाको सघन अनुगमन कार्यविधि, साधारणसभा सञ्चालन कार्यविधि, स्थिरीकरण कोषसम्बन्धी कार्यविधि स्वीकृत, सहकारी संस्था एकीकरण कार्यविधि, सहकारी प्रवद्र्धन कोषसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका २०७५ लागू गरिएको छ । सहकारी संस्थाको वचत तथा ऋण परिचालनसम्बन्धी ऐन तर्जुमा कार्य प्रारम्भ भएको मस्यौदा तयार गरिएको छ । अन्तर सहकारी कारोवारसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको छ । सहकारी क्षेत्रमा ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था रहेकामा करिब २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ । कृषकका उत्पादित वस्तुलाई सुरक्षितरुपमा भण्डारण गर्न २४ वटा सङ्कलन केन्द्र निर्माण गरिएको छ भने २४ वटा केन्द्र निर्माणाधीन छन् । भूमि व्यवस्थापनतर्फ करिब ३० लाख जग्गा धनीको करिब दुई करोड ५० लाख कित्ता जग्गाको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने र कारोवारमा शुद्धता वृद्धि हुने गरी हालसम्म १०८ वटा मालपोत कार्यालयमा आधुनिक प्रविधिबाट सेवा उपलब्ध गराइएको छ । जग्गासम्बन्धी सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष पहुँच वृद्धि हुने गरी ११ कार्यालयका सेवा प्रवाहमा सरलीकरण गरिएको छ । कार्यालयको काम कारवाहीको प्रत्यक्ष निगरानी गर्न सकिने गरी २० वटा मालपोत कार्यालयमा क्यामरा जडान गरिएको छ । त्यसैगरी ११ वटा मालपोत कार्यालयलाई आधुनिक प्रविधियुक्त कार्यालय (नमूना कार्यालय) का रुपमा विकसित गरिएको छ भने साविकमा मालपोत कार्यालयबाट प्रचलनमा ल्याएका ठूला आकारको लिखत फारमलाई सरलीकरण गरी ‘ए फोर’ साइजको बनाइएको छ । गाउँब्लक र विशेष नापी गरी करिब २६ हजार १७७ हेक्टर पुनःनापी सम्पन्न गरिएको छ भने ५३२ स्थानीय तहको भू–उपयोग नक्सा डाटा तयार गरिएको छ । त्यस्तै ३६९ स्थानीय तहको नक्सा डाटा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपाल तथा चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर गरी आगामी पाँच वर्षका लागि निःशुल्क भू–उपग्रह चित्र (स्याटलाइट इमेज) प्राप्त हुने व्यवस्था मिलाइएको छ । रासस