कुकुरलाई बन्ध्याकरण गराउँदै जुकाको औषधि खुवाइयो

काठमाडौंः भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उनले बताए । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ ।

“छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा. श्रेष्ठले भने ।

आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिएका छन् । बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् । रासस

१४ मुलुकका २९ वायुसेवा कम्पनीले नेपालमा उडान भर्दै

काठमाडौंः भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो । नेपालबाहेक १३ वटा मुलुकका २६ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । १३ वटा मुलुकम छिमेकी मुलुक भारत चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्की रहेको उनले बताए । यो समाचार आजको आर्थिक दैनिकमा छापिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै

काठमाडौंः दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तर्राष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक पाँच सय हाराहारी जहाजको ओहर दोहर हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताउनुभयो । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताए । विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँै प्यारालल ट्याक्सी वेको बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् । महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उनको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तर्राष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ । विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्नसकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तर्राष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ । विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ । रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । ‘अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार तीव्र

चितवनः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उनले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिए । भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको उनले बताए । रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताए । उनका अनुसार प्रतिटिपर रु ५२५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए । उनले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको जानकारी दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएकाले सम्झौतालाई प्रभाव पार्ने गरी माटो खन्ने काम भएमा ठेक्का रद्द गरेर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको पौडेलले बताए । सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ । रासस

बुहारीसँगको हिमचिमले जेल पुर्‍यायो

तनहुँः तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो। सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन्। मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो। भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको, घुम्‍नका लागि काठमाडौंसम्म जाने गरेको र घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए। रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए। मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए। मङ्गलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए। रासस

इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

काठमाडौंः इटालियन सिरिएमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् । रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् । जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो । १८ खेलपछि इन्टर र युभे दुवैको समान ४५ अङ्क रहेको छ । इन्टरको जीतमा रोमेलु लुकाकुले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल गरे । नापोलीका लागि आर्काडिउस मिलिकले एक गोल फर्काए । म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएपछि लुकाकुले लिगमा १४ गोल गरिसकेका छन् । उनीभन्दा अघि १९ गोलसहित लाजियोका सिरो इमोबाइल मात्र रहेका छन् । १३ गोलसहित रोनाल्डो तेस्रो स्थानमा रहेका छन् । उता, ज्लाटान इब्राहिमोविचको पहिलो खेलमा एसी मिलान साम्पडोरियासँग गोलरहित बराबरीमा रोकियो । सोमबार भएका अन्य खेलमा फ्लोरेन्टिना र बालोग्नाले १–१ को बराबरी खेल्यो, एटलान्टाले पार्मालाई ५–० ले हरायो भने उडिनेजेले लिसलाई १–० ले पराजित गर्यो । एजेन्सी

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । बिहान साढे १० बजेतिर महासचिव विष्णु पौडेलसहित देउवा निवास पुगेका अध्यक्ष प्रचण्ड करिब आधा घण्टा कुराकानी गरेर फर्किएका थिए । भेटवार्तामा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनबारे कुराकानी भएको छ । प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्ने विषयमा परामर्श गरेका थिए । सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको प्रचण्डलाई प्रतिक्रिया दिएका थिए ।

पर्वतमा विश्वकै कीर्तिमानी अग्लो र लामो पुल निर्माण हुँदै

बागलुङः पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो । कुश्माको तीन स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको लागत निकालिने सर्वेक्षणमा खटिएका इञ्जिनीयर हेमराज शर्माले जानकारी दिए । “तीनवटै स्थानबाट ५०० मिटरभन्दा धेरै लम्बाइ देखिएको छ”, उनले भने, “उपयुक्त स्थान छनोट गरेर खाका दिन्छौँ ।” शर्माले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने जानकारी समेत दिए । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीँ उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ”, उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।” कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको जानकारी दिए । “बलेवाको विमानस्थललाई समेट्नुपर्‍यो”, उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ । करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् । पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ”, बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको खाका तयार हुन लागेको जनाइएको छ । दुई ठूला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेवास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् । मुलुककै अग्लो दाबी गरिएको ३४४ मिटर लम्बाइ र १३५ मिटर उचाइको कुश्मा–ज्ञादी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बागलुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ । कुश्मा–मुडिकुवाले कुश्मा र फलेवास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ । कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब रु १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काइ साइक्लिङलगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा–७ खरेहा र कुश्मा–९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ । पर्वतकै कुश्मा–१ पाङबाट बागलुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै कीर्तिमानी पुल बन्नेछ । पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बागलुङवासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको सङ्ख्या आठ पुग्ने छ । रासस  

आउँदो सिजनको आइपीएलका लागि सीएसकेको बेस्ट प्लेइङ ११

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स ९सिएसके० सर्बाधिक सफल टिम मध्येको एक हो । उसले १२ औँ संस्करणसम्म आइपुग्दा ३ पटक उपाधि जित्न सफल भएको छ । चेन्नई टिमको नेतृत्व भारतीय क्रिकेट टिमका अनुवभी एवं चर्चित विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले गर्दै आएका छन् । उनकै कप्तानीमा चेन्नईले हरेक सिजनमा शानदार प्रदर्शन गर्दै आएको छ । आगामी सिजनमा पनि चेन्नईले उत्कृष्ट प्रदर्शन गर्नका लागि तयारी सुरु गरिसकेको छ । चेन्नई गत संस्करण आइपीएलमा मुम्बई इन्डियन्सविरुद्ध झिनो रन अन्तरले पराजित हुन पुगेको थियो । योपटक पनि चेन्नईले टिममा खासै खेलाडी परिवर्तन गरेको छैन । उसले आइपीएल २०२० का लागि स्पिनर पियूष चावला, साम करन, जोस हेजलउड, आर किशोरलाई ‘अक्सन’बाट खरिद गरेको छ । धेरै खेलाडी परिवर्तन नगरेको सिएसकेको टिम योपटक पनि सन्तुलित देखिन्छ । भारत सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइपीएल २०२० का लागि सिएसकेको ‘बेस्ट प्लेइङ ११’ यस्तो हुनसक्छ– शेन वाट्सन, फाफ डुप्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी, केदार जाधव, रवीन्द्र जडेजा, डिजे ब्रावो, दीपक चाहर, लुंगि एन्गीडी र पियूष चावाला । सिएसकेसँग अरभजन सिंह, मिचेल सान्टनर, इमरान ताहिर, सार्दुल ठाकुर, साम करन, जोस हेजलउड लयाग स्टार क्रिकेटर पनि छन् ।  

‘काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य छैनन्, संगठनमा दाग लगाई बसिरहन्न’

काठमाडौंः महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य नहुने चेतावनी दिए । उनले कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिए । ‘म उच्च व्यावसायिक क्षमता र ईमान्दारीता बोकेको, जनभावना अनुरूपमा कार्य गर्ने सिपाहीलाई पनी सलाम गर्छु सम्मान गर्छु,’ उनले चेतावनी दिँदै भने, ‘तर, काँधभरी फुली लगाएर जनताको आशाभरोसा भएर पनी लोभ–लाभ र कमजोर, तुच्छ व्यावसायिकता बोकेका नालायकहरु स्वीकार्य छैनन् ।’ उनले भने, ‘म तपाई दशौं हजार मेरो प्रत्यक्ष निगरानीमा छु । तपाईहरुको आँखाले म कहीँ कुनै लोभ–लाभमा परेको देखे औंल्याउनुस्, तपाईहरुलाई नै स्यालुट गरेर बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न ।’ उनले आफू महानगरीय प्रहरी कार्यालयको प्रमुख भएर आए देखिनै एक्स्क्युज भन्ने शब्द व्यक्तिगत शब्दकोषबाट हटाएकोले गल्ती गर्ने प्रहरी कर्मचारीलाई एक्स्क्युज नहुने गरी कारवाही गर्ने चेतावनी दिए । समाजमा शान्ति सुरक्षा कायम गरी अपराधको अनुसन्धान गर्ने क्रममा कसैको पनि अनुहार नहेरी कानूनअनुसार सबैलाई कारवाही गर्न उनले निर्देशन दिएका छन् ।

वामदेवलाई उपाध्यक्ष बनाउने नेकपाको निर्णय

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । एकहप्तासम्म चलेको स्थायी कमिटी बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । पुस २३ गते बस्ने केन्द्रीय कमिटी बैठकले यो प्रस्ताव पारित गरेमा गौतम नेकपा उपाध्यक्ष हुनेछन् । साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस!

काठमाडौंः गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा रु १५ हजार घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो । यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

नेकपा स्थायी कमिटी बैठकः पार्टी पुनर्निर्माणबारे यस्ताे छ भुषालको बेग्लै प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता घनश्याम भुसालले पार्टी पुनर्निर्माणसम्बन्धि बेग्लै प्रस्ताव पेश गरेका छन् । आइतबारदेखि शुरुभएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले लिखित प्रस्ताव पेश गरेका हुन् । नेता भुसालले पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेतृत्वलाई धरातलमा उभ्भिन आग्रह गरेका छन् । पार्टी पुनर्निर्माणबारे यस्ताे छ भुषालको प्रस्ताव : कमरेड अध्यक्ष, क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पथ्र्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन् । एउटा राजनीतिक पार्टीले सामना गर्नु पर्ने अनगिन्ती समस्या हुन्छन् तर तिनको अध्ययन र समाधान भने विचार र सङ्गठनको एउटा निश्चित ढाँचाबाट गर्छ । अहिले समस्या नयाँ नयाँ रुपमा आएका छन् तिनको समाधान पुरानै ढाँचाबाट समाधान खोज्दा हामी अझ समस्याग्रस्त हुँदै जानेछौँ । त्यसर्थ, हामीले आफुलार्ई नयाँ ढाँचामा उभ्याउन हिम्मत गर्नै पर्छ । आज नेपाल कम्युनिष्ट पार्टी जुन ऐतिहासिक जहाँ उभिएको छ त्यो असाधारण सम्भावना र चुनौतिको बिन्दु हो । हामीले जे गर्दै छौँ त्यो विश्वकै कम्युनिष्ट आन्दोलनमा मौलिक छ । जसरी हाम्रा उपलब्धीहरु हाम्रो आफ्नो बाटो र अनुभवमा आधारित छन् त्यसैगरी हाम्रा चुनौति पनि अरुका भन्दा फरक छन् । राजनीतिक पार्टीहरु सत्तामा पुगेपछि जनतासँग आफैले गरेका बाचाहरुको कठिनतम परिक्षामा सामेल हुन्छन् । आज हामी त्यहि परिक्षामा छौँ । गएका दुई बर्ष हामी अलमलिएको जस्तो देखिएका छौँ । बाँकि समयको हरेक क्षण हाम्रालागि असाधारण महत्वका छन् । नेपालको कम्युनिष्ट पार्टीको मौलिकता के छ भने हामीले अन्य बुर्जुवा पार्टीहरुसँग सहकार्य गरेर जनवादी क्रान्ति सम्पन्न गरेका छौँ, हाम्रै नेतृत्वमा संविधान घोषणा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ र कम्युनिष्ट पार्टीको बहुमतका साथ संघीय, प्रादेशिक र स्थानीय तहमा पर्याप्त बहुमतका साथ सरकार बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आवश्यकता अनुरुप कैयन् कानूनहरु बनाइएका छन् । विदेश सम्बन्धमा हामीले, हाम्रो सरकारले जुन बाटो तय गरेको छ त्यो ऐतिहासिक महत्वको छ । आगामी दिनमा त्यसको महत्ता अझै स्पष्ट हुँदै जानेछ । सङ्क्षेपमा, हामीले गणतन्त्रलाई संस्थागत गरेका छौँ, राजनीतिक स्थीरता कायम गरेका छौँ र लामो समयपछि वैदेशिक मामिलामा मुलुक ठिक ठाउँमा उभिन शुरु गरेको छ । हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरुले भविष्यका चुनौतिलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्तिहरु ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनु भन्दा क्रान्तिकारी भैरहनु धेरै गाह्रो हुन्छ ।क्रान्तिबाट आएको हाम्रो पीँढीले अझ बढी त्याग गर्न आफु तयार भएको र त्यसका लागि तयार रहन आम जनतालाई आह्वान गर्नु पथ्र्यो । किनकि त्यसले हामीलाई क्रान्तिमाथि खेलबाड हुनसक्ने खतराबाट जोगाउँछ । क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब–किताब चुक्ता गरिहाल्दैन बरु खातामात्रै खोल्छ । यस कुरामा भने हाम्रा विगत दुइवर्ष सन्तोषजनक रहेनन् । यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौँ भन्ने देखिन्छ । कमरेडहरु ! खासगरी नेतृत्वका कमरेडहरु ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ति टेकौँ ! गएको दशवर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिकरुपमा डो-याएको छ । सामन्तवाद अन्त्य भएको र समाज पुँजीवादी भएको तथ्यलाई हामीले देखेको हुँदा त्यो निष्कर्षमा पुगेका थियौँ । तर त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई हामीले राजनीति र सङ्गठनका क्षेत्रमा स्थापित गर्न सकेनौँ । पूर्व नेकपा एमाले र नेकपा माओवादी मात्रै होइन आजको एकिकृत पार्टीले पनि त्यो काम जिम्मेवारी पूर्वक गर्न सकेन । सिद्धान्तको सत्यतालाई सैद्धान्तिकरुपले मात्रै पुष्टि गर्ने पद्दति माक्र्सवादी पद्दति होइन । माक्र्सवादले हरेक सैद्धान्तिक निष्कर्षको परिक्षण वास्तविक जीवनमा खोज्छ । हामीले अहिले ‘नेपाल अर्ध सामन्ती–अर्ध औपनिवेशिक रहेन, यो पुँजीवादी भैसक्यो, जनवादी क्रान्ति सम्पन्न भयो, हाम्रो आगामी कार्यभार समृद्धि र समाजवाद हो’ जस्ता पदावलीहरुलाई दोहोर्‍याइरहेका छौँ, त्यसै वरिपरी चक्कर लगाइरहेका छौँ । त्यस बाहिर हेर्नै छोडेका छौँ । त्यसले गर्दा सिद्धान्त, राजनीति र सङ्गठनका क्षेत्रमा एकसाथ गतिरोध, अस्पष्टता र अराजकता देखिँदैछ । नेपाली समाज पुँजीवादी हो तर यो उत्पादक÷राष्ट्रिय पुँजीको वर्चस्व भएको समाज होइन । बरु यो अनुत्पादक÷दलाल पुँजीको वर्चस्व भएको पुँजीवाद हो । राष्ट्रिय पुँजीको विकास नगरी समाजवादको आधार तयार हुँदैन तर राष्ट्रिय पुँजीको विकासले मात्रै समाजवादको ग्यारण्टी गर्दैन । त्यसैले हाम्रा अगाडि राष्ट्रिय पुँजीको विकास गर्ने र अर्कोतर्फ समाजवादको आधार तयार गर्ने कार्यभार छ । यो कार्यभार नै आज बाँचेको हाम्रो पीढीको अभिभारा हो । यसलाई आवश्यकरुपले विस्तार गर्दा रणनीति, कार्यनीति, कार्यभार, न्यूनतम र अधिकतम कार्यक्रमजस्ता विषय स्वतः समाधान हुनेछन् । यो पुुँजीवादको खास चरित्र दलाल पुँजीवादी छ भन्नुको अर्थ के हो भने आर्थिक क्षेत्रमा मात्रै होइन, त्यसले आफुजस्तै राजनीति, कानूनी तथा न्यायिक व्यवस्था, कर्मचारीतन्त्र, बौद्धिक तथा नागरिक समाज, संस्कृति र सामाजिक चेतनाका बहुविध रुपहरु बनाएको छ । हरेक उत्पादन पद्धतिले आफुलार्ई निरन्तर पुनरुत्पादन गरिरहन्छ । दलाल पुँजीवादले पनि आफु अनुकुलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियानकर्ताहरु पनि जन्माइरहन्छ । आजको कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्छ, र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ । नत्र दलाल पुँजीवादले कम्युनिष्ट पार्टी स्वयंलाई निलिदिनेछ । कमरेडहरु ! गम्भिरतापूर्वक विचार गरौँ, हामी कता जादैछौँ ! आजको मार्क्सवादी सिद्धान्तको आँखाले हाम्रो इतिहास र आजको समाजलाई हेर्दा समाजवादको हाम्रो बाटो निशन्देह यस्तो हुनेछ : पार्टीका हरेक सदस्य आजको क्रान्तिकारी विचार–सिद्धान्तले सचेत हुन्छन्, ती सदस्यहरु सङ्गठित हुन्छन् र त्यो सङ्गठनले आफ्नो सम्पूर्ण पङ्तिलाई समाजका सबै क्षेत्रमा योजनाबद्धरुपले परिचालित गर्छ । पार्टीका सबै सदस्यहरुको परिचालनले समाजमा गति पैदा हुन्छ, घटनाहरु उत्पन्न गर्छ, ती घटनाहरुले आम नागरिकमा पार्टीको पक्ष–विपक्षमा बहस सिर्जना गर्छ । पार्टीको पक्षमा रहनेहरुलाई क्रमशः सङ्गठित गरिन्छ । अब हिजोको भन्दा सङ्गठन फैलिन्छ, बलियो हुन्छ । अब फेरि हिजोभन्दा ठूलो दायरामा पार्टीको गतिविधि हुन्छ र फेरि नयाँ र ठूला घटनाहरु पैदा हुन्छन् । यो क्रममा हाम्रो पार्टीको विचार, सङ्गठन र परिचालनले दलाल पुँजीलाई साँघुु-याउने, राष्ट्रिय पुँजीको विस्तार गर्ने र सामाजिक न्यायलाई जोड दिँदै समाजवादका आधारहरु तयार गर्ने काम गर्छ । ज्ञातव्य के छ भने पार्टीले यो काम लोकतान्त्रिक बाटो र पद्दतिभित्रै गर्छ । यही र मूलभूतरुपमा यहि बाटो नै नेपालका माक्र्सवादी वा समाजवादीहरुको बाटो हो । लेनिनले करिब सवासय वर्ष पहिले पार्टी सदस्यको योग्यताबारे छलफल गर्नु भएको थियो । आज हामीले क्रान्तिको उपरोक्त प्रक्रियामा अगाडि बढ्ने पार्र्टीका हरेक सदस्यको आधारभूत योग्यता तोक्नु पर्र्ने भएको छ । पार्टीका विचारप्रति सचेत हुनुका साथै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्ने पार्टीका ‘हरेक सदस्य नकमाएको सम्पत्तिमा बाँच्दैनन वा आफ्नै कमाइमा बाँच्छन्, राज्यले तोकेको कर तिर्छन् र नागरिकले तिरेको राजस्व राज्यले दुरुपयोग नगरोस्् भन्ने कुरामा हरबखत सचेत रहन्छन्’ जस्ता प्रावधानहरु विधानमै उल्लेख गर्नु पर्छ । त्यसले पार्टीलाई र पार्टीमार्फत् राज्य र समाजलाई राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने दिशामा अगाडि बढाउने छ । आज नेकपा जुन शक्तिका साथ उपस्थित छ यसलाई उपरोक्त प्रक्रियाअनुसार अगाडि बढाउने हो भने हरेक वर्ष पार्टीले असाधारण उपलब्धिहरु प्राप्त गर्न सक्छ । हाम्रो केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्म आठलाख सदस्यलाई सङ्गठित गरेर, त्यसका वरिपरी जनसङ्गठनसमेत अन्य संरचनामा रहेका अरु १०/१५ लाख सङ्गठित व्यक्तिहरु संघीय, प्रादेशिक र स्थानीय सरकार र जनप्रतिधि संस्था, जनसङ्गठनहरु र अन्य सामाजिक संघ–संस्थामार्फत् परिचालित हुँदा जुन उर्जा पैदा हुन्छ त्यसले मात्रै सामाजिक रुपान्तरणको आजको कार्यभार पूरा गर्न सकिनेछ । यस क्रममा पार्टीको हरेक व्यक्ति र कमिटीको काम राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्न व्यक्ति वा कमिटीले गरेको योगदानका आधारमा मूल्याङ्कन हुनेछ । त्यस्तो मूल्याङ्कन गर्ने परिपाटी स्थापित भएको पार्टीमा मात्रै आन्तरिक लोकतन्त्र र सदस्यको क्रान्तिकारी योग्यताको ग्यारण्टी गर्न सकिने छ र त्यस्तो पार्टीले मात्रै क्रान्तिको ग्यारण्टी गर्छ । कमरेड अध्यक्ष पार्टी स्थायी कमिटीको चालु बैठकमा तपाईँले प्रस्तुत गर्नुु भएको प्रतिवेदनमा कैयन् महत्वपूर्ण विषयहरु समेटिएका छन् । खास गरी ‘पार्टीका आगामी कार्यक्रमका रुपरेखा’ अन्तरगत उल्लेख गरिएको कार्य योजना पार्टी कमिटी र सदस्यहरुको परिचालन र विभिन्न तहका अधिवेशनमा केन्द्रित छन् । ती सबै आफैमा उपयुक्त छन् । उहि काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिए झैँ, आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ । बरु यथास्थितिकै विस्तार हुनेछ । त्यसैले मेरो के प्रस्ताव छ भने केन्द्रिय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिष्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शिर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गरियोस् । त्यस कार्यशालामा पार्र्टीका सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रिय कमिटीमा ती निष्कर्षहरु पेश गरियोस् । केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस् । पार्टी बैठकको मर्यादाक्रमको ढाँचामा सबै विषयमा त्यहि गम्भीरताका साथ छलफल नै नहुने हुँदा कार्यशाला नै उपयुक्त हुनेछ । यो कामले केहि समय लिए पनि एक पटक पार्टीका विचार, सङ्गठन र कार्यक्रमका बारेमा छलफल गर्न र आम सहमति कायम गर्न सकियो भने पार्टी वास्तविक अर्र्थमा पुनर्गठन हुनेछ र क्रान्तिका चौतर्फी कार्यभार बहन गर्न सक्षम हुनेछ । घनश्याम भूसाल

कुरिनटारमा बलेरो दुर्घटना हुँदा ३ घाइते, १ जनाको अवस्था गम्भीर

कुरिनटारः कुरिनटारमा बलेरो दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । मुग्लिन तर्फबाट कुरिनघाट जादैँ गरेको ना ४ च ६९४० नम्बरको बोलेरो पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा अनियन्त्रित भई पल्टिदाँ तीन जना घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । उनिहरुलाई शसस्त्र प्रहरीले उद्धार गरि ट्रमा सेन्टर पुर्याएका थिए । गम्भिर घाइते दुई जनालाई भरतपुर र काठमाण्डौं पठाइएको छ । बलेरो कुरिनटारमा बिहान करिव १० बजेर १५ मिनेटमा सडकमा पल्टिएको थियो । घाइतेहरुको परिचय खुल्न सकेको छैन । उक्त बलेरो बिरामी बोकेर कुरिनघाट पोलिक्लिनिक तर्फ जादैँ गर्दा दुर्घटना भएको बुझिएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

चितवनमा अटो पल्टिँदा ५ को मृत्यु, १ जना गम्भीर घाइते

चितवनः अटो पल्टिँदा चितवनमा पाँच जनाको ज्यान गएको छ । जिल्लाका राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ज्यान गुमाउनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका–३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए । अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ । साँझा ६ः१५ बजे भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा ३ पुरुष र २ महिला रहेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए । तीन जनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिए ज्ञानेन्द्र शाही

काठमाडौः ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई ‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिएको जानकारी दिए । उनले शाहीसँग सिद्धान्त नमिलेका कारण निस्कासन गरिएको बताए । नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजीलगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।