बाढी–पहिरोको वितण्डाः मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिइने

धनुषा, असार २८ । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको ८ वटै जिल्लाको जनजीवन आक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १० दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भईरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

ऋण उपलब्ध गराइदिने बहानामा बैंक प्रबन्धकद्वारा महिला बलात्कृत

मोरङ, असार २३ । विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । बलात्कार आरोपमा धनपालथान गाउँपालिका–४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोला पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले ४ लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ । पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

एकदिवसिय विश्वकप क्रिकेटको चौथो स्थानमा पाकिस्तान

काठमाडौं असार १५ । पाकिस्तान आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । विश्वकपबाट बाहिरि सकेको अफगानिस्तानको यो लगातार आठौं हार हो । दुई सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९।४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको जितमा इमाद वासिमले अविजित ४९ रन बनाए । बाबर आजमले ४५, इमाम उलहकले ३६, हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ र वाहब रियाजले अविजित १५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र मोहमद नावीले दुई दुई विकेट लिए । रसिद खानले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२ रन बनाए । रहमत शाहले ३५, इक्राम अलिखिल २४, समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६ र कप्तान गुलबदिन नाइब १५ रन बनाएका थिए । पाकिस्तानका सहिन शाह अफ्रिदीले चार विकेट हात पारे । वाहब रियाज र इमाद वासिमले दुई दुई विकेट लिए । सदाव खानले एक विकेट लिए । जितसँगै पाकिस्तानले आठ खेलबाट ९ अंक बनाएको छ । अंक विहिन अफगानिस्तानले तालिकाको अन्तिममा छ ।

गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत छः मन्त्री अर्याल

काठमाडौं, असार ६ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताएकी छिन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार कति पनि विचलित छैन ।” अर्को प्रसङ्गमा उनले देशको आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताउँदै भनिन्, “३३५ वटा स्थानीय तहको नापनक्शा गर्ने काम भूउपयोगका माध्यमबाट भइसकेको छ, बाँकीको छिटोभन्दा छिटो पूरा गरिनेछ ।” सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध छ भन्दै उहाँले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन् । सरकारी र सार्जजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम शुरु भइसकेको उनले जानकारी दिइन् । मोहियानी हकलाई स्थापित गर्ने सन्दर्भमा कानून बनाउनेतर्फ सरकार अघि बढेको बताउँदै उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट शुरु गरिने बताइन् । भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै उनले भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन् । भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने विषयलाई विशेष प्राथमिकता दिइने बताउँदै उनले समान प्रकृतिका सहकारीलाई एकीकृत गर्ने काम शुरु भइसकेको जानकारी दिइन् । मन्त्री अर्यालले भनिन्, “आधुनिक नापनक्शाका प्रविधि अवलम्बन गरी शुद्ध, विश्वसनीय नापजाँच, भूसूचना उत्पादन र वितरण, जग्गा प्रशासनलाई सरल, सहज, पारदर्शी तुल्याई कम्प्युटर अनलाइन प्रविधिबाट सेवा प्रवाह सुनिश्चित गरिने छ । सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले आधुनिक प्रविधियुक्त जनशक्ति विकासमा पनि जोड दिइने बताइन् ।

चोरको समूहबाट महोत्तरीमा युवतीको विभत्स हत्या

महोत्तरी, असार ६ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन्। गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा बिहीबार अन्दाजी एक बजेतिर ८–१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठले टोल छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए। चोरहरुले युवती श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो। तर त्यहाँ उनको उपचारपश्चात थप उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा शुक्रबार बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

वार्नरको विस्फोटक ब्याटिङ, अष्ट्रेलियाले दियो बंगलादेशलाई विशाल लक्ष्य

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा डेभिड वार्नरको विस्फोटक प्रर्दशनमा अष्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो । उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यति मात्र होइन वार्नर चालू विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमासमेत उक्लिएका छन् । अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै, मार्कस स्टोइनिस १७ र एलेक्स केरी ११ रनमा अविजित रहे । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए । अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा । बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

विश्वकप क्रिकेटः १६६ रनमा आउट भए वार्नर

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नर १६६ रनमा आउट भएका छन् । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रनको बिस्फोटक प्रदर्शन गरे । जारी विश्वकपमा उनको यो सर्बाधिक ठूलो स्कोर हो । वार्नरलाई सौम्य सरकारले आउट गरे । उनीसँगै अष्ट्रेलियालाई दोस्रो झड्का लागेको छ । अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा । बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’

काठमाडौं, असार ५ । प्रदर्शनरत नेपाली चलचित्र ‘जात्रै जात्रा’को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ। तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । फिल्म करिअरको करीब ५–६ वर्षमा खासै मुश्किल समय नगुजारेकी वर्षाले हालै एक कठिन परिस्थितिको सामना गर्यो । चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा रहँदा उनी नराम्रोसँग ट्रोलको शिकार भइन् । यसको कारण थियो, उनको पहिरन। उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको थियो भने वक्षस्थलको आधाभन्दा बढी भाग स्पष्ट देखिएको थियो । उनको यस पहिरनले दर्शक अचम्मित भए । किनकि यसअघि वर्षा यस प्रकारको पहिरनमा देखिएकी थिइनन् । ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाए । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बने । यसले उनको व्यक्तिगत जीवनमा नराम्रो असर गर्‍यो । तर, उनलाई श्रीमान् संजोग कोइरालाले नै साथ दिए । संजोगले उनलाई जस्तोसुकै परिस्थितिमा साथ दिने भन्दै स्टाटस लेखे । ‘जात्रै जात्रा’ टिमले पनि वर्षालाई हौसला दिँदै स्टाटस लेख्यो । केही सेलिब्रेटीले पनि उनलाई सपोर्ट गरे। पर्दामा प्रायः साधारण युवती वा विवाहित महिलाको भूमिका निभाउँदै आएकी वर्षा पहिरनलाई लिएर भएको विवादबारे भने लामो समय मौन रहिन् । तर, मंगलबार राजधानीमा भएको चलचित्र ‘जात्रै जात्रा’ को स्पेशल शोमा सञ्चारकर्मीले पहिरनलाई लिएर भएको विवादबारे उनको भनाई जान्न खोजे । ‘जीवन जात्रा हो’ लेखिएको टिर्सट लगाएकी उनले आफूलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिँदै यसको जवाफ दिन जरुरी नभएको बताइन् । ‘म त्यस पहिरनमा कन्फटेबल छु । मेरो वरिपरि भएका मानिसहरुलाई समस्या छैन । मेरो परिवारलाई केही समस्या छैन । मलाई माया गर्ने दर्शकहरुलाई केही समस्या छैन भने मलाई यसको जवाफ दिन आवश्यक छ भन्ने लाग्दैन’, उनी कड्किइन् । वर्षाले आफ्नो व्यक्तिगत जीवनमा भने ट्रोलले केही फरक पारेको बताइन् । आफूलाई मन परेको पहिरन लगाउन पाउने स्वतन्त्रता सबैमा रहेको पनि उनी बताउँछिन् । अहिले वाक स्वतन्त्रताको कुरा उठिरहेको अवस्थामा पहिरनमा पनि स्वतन्त्रता हुने बताउँदै वर्षा अगाडि भन्छिन्, ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुस् र, दुनियाँको कुरा नसुन्नहोस् ।’ वर्षाको पहिरनको विवाद भएपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेखेका ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले यसलाई आफूले साधारण रुपमा लिएको बताए । यस विषयमा अभिनेता विपिन कार्की भने मौन रहे ।

विश्वक क्रिकेटः दक्षिण अफ्रिकाद्वारा न्यूजिल्याण्डलाई मध्यम लक्ष्य

काठमाडौं, असार ४ । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारि ४९ ओभरमा ५ विकेट गुमाएर २४१ रन बनायो । उसका लागि रस्सि भान डर दुसेनले नट आउट ६७, हशिम अमलाले ५५, एडन मार्कमले ३८, डेभिड मिलरले ३६, कप्तान फाफ डुप्लेसीसीले २३, क्विन्टन डि ककले ५ र क्रिस मोरिसले नट आउट ६ रन बनाए । बलिङमा लकि फग्र्युसनले ३, मिचेल सान्टर, कोलिन डि ग्राण्डहोम र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।  वर्षाका कारण ढिलो गरि टस भएको खेल ४९ ओभरमा झारिएको छ । दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ । गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ ।

विश्वकपः न्यूजिल्याण्डले टस जित्यो, टिममा को–कोले पाए मौका?

काठमाडौं, असार ४ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । वर्षाका कारण ढिलो गरि टस भएको खेल खेल ४९ ओभरमा झारिएको छ । आज  टिममा को-कोले पाए मौका? हेर्नुस् दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ ।  गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ ।

गेल र रसेल फेल हुँदा पनि वेस्ट इडिन्जले दियो विशाल लक्ष्य

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए । इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावाेले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए । केही बेरमा बंगलादेशले जवाफी ब्याटिङ गर्नेछ ।

प्रहरीले पोखराका ‘ड्रग्स डिलर’ जोन पक्रन उत्तम चोकमा गोली चलायो

काठमाडौं, जेठ २९ । प्रहरीले लागूऔषध कारोबारी समाउन पोखराको उत्तम चोकमा गोली चलाएको छ। प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चालउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका हुन् । प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए। कास्की प्रहरीमा ज्यानमार्ने उद्योग र सार्वजनिक मुद्दामा पटके अभियुक्त हुन्। प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली उपर जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो। उनको दायाँ घुडामा गोली लागेको छ । पक्राउ गर्न गएको प्रहरी टोली उपर नै आक्रमण गरेपछि प्रहरीले जोनलाइ गोली हानेर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार घाइतेको अवस्था सामान्य छ । घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

चितवन दूधमा आत्मनिर्भर

चितवन, जेठ २९ । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा. विजय श्रेष्ठका अनुसार विश्व खाद्य संगठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । श्रेष्ठले भने, “जिल्लामा छ लाख २५ हजार जनसङ्ख्या छन्, जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ ।” उनको भनाइमा जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जानें संकलन गरेको तथ्यांकअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नत जातका भैंसी छन् । स्थानीय तहको पशुसेवा शाखामार्फत तथ्याङ्क लिइएको हो । चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील छन् । उनले सरकारले सहयोग गरेमा पाँच वर्षभित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने जानकारी दिए । गाई, बाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दूध र गाईसमेत बाहिरबाट नेपालमा ल्याउन नपर्ने गरी यही उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ । यसैगरी किसानलाई दिइने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान पर्याप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिइने, भ्याक्सिन समयमा नपाउनेजस्ता समस्या भएको न्यौपानेले जानकारी दिए । यस जिल्लालाई आज दूधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिंदै छ । यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो । पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रूपमा घोषणा गरिंदै छ । रासस

विश्वकप २०१९ मा रोयको पहिलो शतक, इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन

काठमाडौं, जेठ २५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध इंग्ल्याण्डका ओपनर जेसन रोयले शतक बनाएका छन् । उनले १२ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् । जारी विश्वकपमा शतक बनाउने रोयले चौथो खेलाडी हुन् । विश्वकप २०१९ मा जो रुट, जोस बटलरले पाकिस्तानविरुद्ध र रोहित शर्माले दक्षिण अफ्रिकासँगको खेलमा शतक पूरा गरेका थिए ।  बंगलादेशविरुद्ध इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो विकेटका लागि इंग्ल्याण्डले १०० बढी रनको सोझेदारी गर्यो । उसले पहिला किकेटका रुपमा ओपनर जोनी बेयरिस्टोलाई गुमाएको छ । उनी १९.१ ओभरमा बंगलादेशका कप्तान मोसरुफे मुर्तुजाको बलमा क्याच आउट भए । मेहदी हसन मिराजले उत्कृष्ट क्याच गर्दा बेयरिस्टो ६ चौकाको मद्दतमा ५० बलमा ५१ रन बनाएर पवेलियन फर्किए । जारी विश्वकपमा बेयरिस्टोको यो पहिलो अर्धशतक हो ।   

दुबईमा भयानक बस दुर्घटना, १७ जनाको मृत्यु

एजेन्सीः ओमानबाट दुबई गइरहेको बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु छ। दुर्घटनाको पुष्टि भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् । दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयअनुसार करिब ६ बजे भएको हो । बस दुबईका शेख मोहम्मद बिन जाएद सडकमा नियन्त्रण गुमाएर साइनबोर्डमा ठोक्किन पुगेको थियो। बस चलाउने कम्पनी म्वासालतलले मस्कट–दुबई मार्गमा सेवा बन्द गरेको छ । भारतीय दूतावासको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ज्यान गुमाउनेका परिवार अस्पताल पुगेका जनाइएको छ । मृतकको पहिचानका लागि प्रहरी सक्रिय छ ।

भरतपुर महानगर र कोरियन सरकारबीच ‘ल्याण्डफिल साइट’ निर्माणका लागि सम्झौता

चितवन, जेठ २४ । कोरिया सरकारले भरतपुर महानगरपालिकामा ‘ल्याण्डफिल साइट को डीपीआर प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंमा नेपाल सरकार र कोरियन सरकारबीच ल्याण्डफिल साइटको मास्टर प्लानको लागि सम्झौता भएको छ । यो सम्झौतासँगै अब भरतपुर महानगरपालिकामा पनि ल्याण्डफिल साइटको डीपीआरको प्रक्रिया अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले भने, ‘भरतपुर महानगरपालिका र कोरियन सरकारको मातहतमा रहेको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग यसअघि एमओयु भएको थियो, अब डीपीआरको प्रक्रिया अघि बढ्ने भएको छ ।’ नेपाल सरकारसँग आज काठमाडौंमा भएको सम्झौतासँगै भरतपुर महानगरको पनि फोहोर व्यवस्थापनको हुन नसक्नुको समस्या दीर्घकालीन रुपमा समाधान हुने महानगर प्रमुख दाहालले बताइन् । नेपाल सरकारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्य र कोरियाको केआइटीआई संस्थाका डाइरेक्टरले नेपालमा ल्याण्डफिल साइटको मास्टर प्लान निर्माणको लागि हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्झौतापछि उनीहरुले भरतपुर महानगरको ल्यान्डफिल साइटको मास्टर प्लानको प्रक्रिया अगाडि बढ्यो भनेर जानकारी गराको बताइन् । उनका अनुसार फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न भरतपुर महानगर आतुर छ । सम्झौतापछि भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकाबीच नेपालको फोहोर व्यवस्थापन सुधारको लागि गुरुयोजना निर्माण र सुरुवात्सम्बन्धी सेमिनार भएको थियो । सेमिनारमा महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरमा देखिएका फोहोर समस्याबारे जानकारी गराएकी थिइन् । उनले कोरियाको संस्थासँग भएको सम्झौताअनरुप नै ल्यान्डफिल साइटको मास्टर प्लानको काम धमाधम अघि बढ्ने र समयमै सकिने आशासमेत गरिन् । भरतपुर महानगरले गरेको यस अघिको एमओयुमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरेका थिए । एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहोर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भनिएको थियो । यसअघि भएको सम्झौताअनुसार फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने बताइएको थियो । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको थियो । महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी मास्टर प्लान बनाउने बताइन् । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् । हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीनरुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिघा जग्गा छुट्याइएको छ । महानगरले वनलाई क्षतिपूर्तिबापत माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ ।