इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३७४ रनको लक्ष्य

काठमाडौं, वैशाख २८ । पाकिस्तानसँगको पाँच एकदिवसीय खेल अन्तर्गत दोस्रो म्याचमा इंग्ल्याण्डले ३७४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३७३ रन बनायो ।

इंग्ल्याण्डका लागि जोस बटलरले शानदार शतक प्रहार गरे । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ५५ बलमा नट आउट ११० रन बनाए । यस्तै, जसन रोयले ९८ बलमा ८७, कप्तान इयोन मोगर्नले अविजित ४८ बलमा ७१, जोनि बयरिस्टोले ४५ बलमा ५१ र जो रुटले ५४ बलमा ४० रन बनाए ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी, हसन अलि र यासिर शाहले एक–एक विकेट लिए । पाकिस्तान–इंग्ल्याण्डबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । आउँदो मे ३० देखि हुने एकदिवसीय विश्वकप अघि यी दुई टिमको यो अन्तिम सिरिज हो । 

आइपीएलः मनिष पाण्डेको लगातार दोस्रो अर्धशतक

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्स विरुद्धको खेलमा पनि सनराइजर्स हैदरावादका मनिष पाण्डेले अर्धशतक पूरा गरेका छन् । उनले आज २७ बलमा अर्धशतक पूरा गरेका हुन् । ५० रन बनाउँदा मनिषले ८ चौका प्रहार गरे । आजको खेलमा हैदरावादले टस हारेर ब्याटिङको मौका पाएको छ । राजस्थान र हैदरावाबीच जारी आइपीएलमा यो दोस्रो खेल हो । पहिलो खेलमा २९ मार्चमा हैदरावादले राजस्थानलाई ५ विकेटले पराजित गरेको थियो । हालसम्म आइपीएलमा यी दुई टिमबीच १० पटक भिडन्त भएको छ । जसमा ६ मा हैदरावाद र ४ खेलमा मात्र राजस्थानले जीत निकालेको छ । राजस्थानले ४ वर्षयता हैदरावादलाई हराउन सकेको छैन । हैदरावादविरुद्ध राजस्थानले अन्तिम पटक १६ अप्रिल सन् २०१५ मा जीत हासिल गरेको थियो । राजस्थानलाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि राजस्थान यो खेलमा पराजित भए प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । यता हैदरावादलाई पनि प्लेअफमा पुग्नुपर्ने चुनौती छ । अंक तालिकामा हैदारावाद १४ अंकका साथ पाँचौ र राजस्थान ८ अंक बटुल्दै सातौं स्थानमा छ ।

अष्ट्रेलियाकी क्लेयर बनिन् ‘पुरुष वान डे क्रिकेट’ मा अम्पायरिङ गर्ने पहिलो महिला

काठमाडौं, वैशाख १४ । अष्ट्रेलियाकी क्लेयर पोलोसेक पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने पहिलो महिला बनेकी छन् । ३१ वर्षिया क्लेयर आइसीसी विश्वकप क्रिकेट लिग डीभिजन २ को फाइनलका लागि यो अवसर मिलेको हो । उनले अम्पायरको भूमिका निर्वाह गर्ने खेल आज (शनिबार) नामीबिया र ओमानबीच भइरहेको छ । क्लेयरले यसअघि महिला क्रिकेटको १५ एकदिवसीय खेलमा अम्पायरिङ गरिसकेकि छन् । उनले पहिलो पटक २०१६ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको वान डे महिला क्रिकेटमा अम्पायरिङ गरेकि थिइन् ।

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा उपचारको क्रममा निधन

काठमाडौं, वैशाख ५ । रंग पत्रकारका अभिभावक तथा कामना न्यूज पब्लिकेसन्स प्रालिका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बिहान बिहान ११ः५९ बजे उपचारको क्रममा निधन भएको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल स्तब्ध र दुःखी भएको छ । श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वि.सं.२०१६ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टरनेसलन प्रेस इन्ष्टिच्यूट अन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष रहेका थिए । नेपालमा रंग पत्रकारिताको सुरुवात उनले कामना मासिक मार्फत गरेका थिए । संचार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुको जिम्मेवारी सम्हालेका उनी लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक रहेका थिए । श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याएका योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहने छ । चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

मुक्तिनाथ विकास बैंक द्दारा महानगरीय प्रहरी वृत्तलाई सहयोग

काठमाडौं, बैशाख ०३ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई सहयोग गरेको छ ।बैंकले काठमाडौं महानगरपालिका १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंक मार्केटिङ तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।  यो समाचार रातो पाटीबाट लिइएको हो ।

कपिलवस्तुमा सवारी दुर्घटनाः एकको मृत्यु, १७ जना घाइते

बुटवल, बैशाख ०३ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार भइरहेको छ । दुबै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखराको लेकसाइडस्थित एक होटल जबर्जस्ती करणीको अभियोगमा ४ पक्राउ

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । रासस

मंगलबार र बुधबारसम्म मेघगर्जनसहित वर्षा र हुरी हुने सम्भावना

काठमाडौं, वैशाख ३ । मंगलबार भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार बिहान साढे ८ बजेतिर दिएको जानकारी अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ। ‘अहिले यो वायु भारतको हरियाणा क्षेत्रमा आइपुगेको छ,’ उनले भने, ‘एक–डेढ घण्टादेखि दुई–तीन घण्टासम्ममा नेपाल भित्रिने छ।’ यो वायु प्रवेशपछि मंगलबार विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना छ। अपराह्नसम्म यो वायु पश्चिमको पहाडी क्षेत्रमा प्रवेश गर्ने छ। यसैगरी उक्त पश्चिमी वायु बुधबार पूर्वी क्षेत्रमा सर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए । बुधबार चाहिँ पूर्वी तराईमा हुरीबतासको सम्भावना छ,’ उनले भने। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुने छ । र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबतास सहित असिना पानी पर्ने सम्भावना छ। यस्तै राति पश्चिमका धेरैजसो स्थान र मध्ये तथा पूर्वका केही ठाउँमा मेघ गर्जन, चट्याङ, हुरीबताससहित असिना पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार र बुधबार दुई दिनसम्म रहने छ। ‘तर त्यसपछि यसको प्रभाव पूरै हट्ने चाहिँ होइन,’ उनले भने, ‘यसको धेरथोर असर अरू केही दिनसम्म जारी रहने छ।’ आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताए।

नेपाल एयरलाइन्सले ११ वर्षपछि जापान उडान गर्दै

काठमाडौं, चैत २६ । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । सहप्रवक्ता कोइरालाले भने, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताए । पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

बाफलमा युवकको हत्यामा संलग्न एक युवक पक्राउ

काठमाडौं, चैत २५ । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । दुवैको घर परिवारबारे प्रहरी कुनै खबर पाउन सकेको छैन। घटनास्थल आसपास बस्ने व्यक्तिलाई पनि उनीहरुको हुलियामा थाहा थियो । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगिएको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको थियो । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको थियो । हाल शवको पोष्टमार्टमपछि रिपोर्ट आउने प्रक्रियामा छ । अभियुक्त भन्छन्– उसैले हानेको हो पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् । ‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिकरुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन । ‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’ स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए । कुकुरको संकेत अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेको थिएन । स्रोतका अनुसार घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेको थिएन । त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको प्रहरीको भनाइ थियो । अनलाइनखबरबाट

चिकित्सकको आन्दोलनः १ लाख बिरामी उपचारबाट वञ्चित

काठमाडौं, चैत २५ । संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भए । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ । वीर अस्पतालको टिकट काउन्टर अगाडि आइतबार अलपत्र बिरामी । कर्मचारी समायोजनमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले शुत्रबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार गरेकाले बिरामीले उपचार पाइरहेका छैनन् । सरकारी चिकित्सकको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका कारण आइतबार पनि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा सेवा प्रभावित भयो । आन्दोलनले देशभर १ लाखभन्दा बढी बिरामी मर्कामा परे पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन । आफूहरूलाई संघअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित चिकित्सकहरू शुक्रबारदेखि अनिश्चितकालीनसेवा बहिष्कारको आन्दोलनमा उत्रिएका हुन् । अध्ययनलगायतका वृत्ति विकास नरोकिनुपर्ने पनि उनीहरूको माग छ । सरकारी चिकित्सक संघ (गोदान) ले देशभर आकस्मिकबाहेकका पूर्वनिर्धारित शल्यक्रिया, विभिन्न विशेषखाले परीक्षणलगायत नभएको जनाएको छ । ‘बाध्य भएर गरिएको आन्दोलनले आइतबार देशभरका सरकारीस्वास्थ्य निकायमा पुग्ने एकलाखभन्दा बढी व्यक्ति मर्कामा परेको तथ्यांक छ,’ गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने । उनले आइतबारसम्म पनि सरकारले समस्या समाधानका लागि कुनै सकारात्मक पहल नगरेको बताए । सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने निर्णयसमेत गरेको डा। पाण्डेलेजनाए । सरकारी चिकित्सकहरूले आइतबारै सरकारी स्वास्थ्य संस्थाअगाडि धर्नासमेत दिएका थिए । देशभर करिब १४ सय सरकारी चिकित्सक छन् । मुलुकमा ८४ वटा जिल्ला अस्पताल, १० वटा अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल छन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

आइपीएलः ‘सुपर ओभर’ मा कोलकातालाई हराउँदै दिल्ली विजयी

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध दिली क्यापिटल्स विजयी भएको छ । निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएको थियो । ११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन सक्यो । कागिसो राबाडाको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए । बाँकी तीन बलमा राबाडाले ३ रनमात्र दिए । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो । दिल्लीका लागि पृथ्वी शले आईपीएलमा पहिलो शतक बनाउन एक रनले चुके । उनी ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरी ९९ रनमा आउट भए । यस्तै, कप्तान श्रेयश अय्यरले ३२ बलमा ४३, शिखर धवनले १६ र ऋषभ पन्तले ११ रन बनाए । अन्तिम ओभरमा दिल्लीलाई ६ बलमा ६ रन आवश्यक थियो । हनुमा बिहारी र कोलिन इन्ग्रामलाई कोलकाताका कुलदीप यादवले रोक्न सफल भए । पाँचौँ बलमा कुलदीप आउट हुँदा दिल्लीलाई जितका लागि २ रन आवश्यक थियो । तर, इन्ग्रामले एक रनमात्र लिन सके र खेल बराबरी बराबरी भयो । यसअघि, टस हारेर ब्याटिङको निम्तो कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो । उसका लागि आन्द्रे रसलले ६२, दिनेश कार्तिकले ५०, क्रिस लिनले २०, रविन उथप्पाले ११, निखील नायकले ७ रन बनाए । बलिङमा ४ ओभरमा २९ रन दिएर सन्दीपले १ विकेट लिए । यस्तै, कागिसो रबाडा, हर्षल पटेल र अमित मिश्राले एक–एक विकेट लिए ।

आइपीएलः बल्ल पाए सन्दीपले मौका, चम्किँएलान् आज?

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सविरुद्ध दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पिर सन्दीप लामिछानेले मौका पाएका छन् । सुरुवातका २ खेलमा बेन्चमा बेसेका सन्दीपले तेस्रो खेलमा भने अन्तिम ११ मौका पाएका हुन् । गत वर्ष आइपीएलमा उनले ३ खेलमा ५ विकेट लिदैं सबैको ध्यान आकर्षण गरेका थिए । आइपीएलपछि निकै व्यस्त रहेका सन्दीपले यो बिचमा विश्व क्रिकेटका चर्चित लिग खेलिसकेका छन् ।

आइपीएलः दिल्लीले टस जित्यो, कोलकातालाई ब्याटिङको निम्तो

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि फिरोज शाह कोटला रंगशाला दिल्लीमा हुँदैछ । कोलकाता २ खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदा दिल्ली २ मा एक खेलमा मात्र जित हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ । कोलकातामा दिनेश कार्तिक र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् । आजको को-कोले पाए मौका? हेर्नुस्

आइपीएलः मुम्बईद्वारा पन्जावलाई १७७ रनको लक्ष्य

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जावलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १७६ रन बनायो । उसका लागि क्विन्टन डी ककले सर्बाधिक ६०, कप्तान रोहित शर्माले ३२, हार्दिक पान्ड्याले ३१, युवराज सिंहले १८, सूर्य कुमारले ११, किरण पोलार्डले ७ रन बनाए । बलिङमा पन्जावका मुर्गन आश्विन, मोहम्मद सामी, हार्दुस भिल्जोइनले दुई–दुई, एन्डु टाय एक विकेट लिए । मुम्बईमा रोहित शर्मा र पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् । आजको खेलमा पन्जाबले एक खेलाडी मात्र परिर्वतन गरेको छ । उसले बरुण चक्रवर्तीको स्थानमा मुर्गन आश्विनलाई मौका दिइएको छ । यता मुम्बईले भने  टिममा कुनै परिर्वतन गरेको छन् । को–को छन् टिमा? मुम्बईः रोहित शर्मा, युवराज सिंह, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, क्विन्टन डि कक, किरण पोलार्ड, मयंक मर्कन्डे, मिचेल मैक्लनघन, लसिथ मलिंगा र जसप्रित बुमराह । पन्जावः रविचन्द्रन आश्विन, क्रिस गेल, लोकेश राहूल, मन्दीप सिंह, डेबिड मिलर, मोहम्मद सामी, हार्दुस भिल्जोइन, सरफराज खान, मयंक अग्रवाल, एन्डु टाय, मुर्गन आश्विन ।

भारत विरुद्धको छैठौं खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाडौं, चैत १६ । भारतकाे आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपालको यू-१९ क्रिकेट टिमले ब्याटिङको मौका पाएको छ । यसअघिका ५ खेलमध्ये ४ मा जीत निकालेको नेपालले आजको खेल पनि आफ्नो पक्षमा पार्ने लक्ष्यकासाथ ब्याटिङ गरिरहेको छ । अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्न पाउने छ ।