ऐतिहासिक बगदरबार भत्काउन नमिल्ने

काठमाडौं, चैत ८ । काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो।

बागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो।

उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएको छ। महानगरसँग बागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। उक्त आदेशमा बागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो।

उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकोमा १०० वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परमादेशमा उल्लेख थियो।

भूकम्पपछि बागदरबार भत्काउन लाग्दा विरोध भएपछि कामपाले प्रबलीकरण गर्ने निर्णय गरेको थियो तर महानगर प्रमुखमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले फेरि बागदरबार भत्काउने निर्णय गरेर ठेक्का प्रक्रिया अघि बढाएका थिए।

उनले यो भवन बागदरबार नभएर हरि भवन भएको तर्क अघि सारेका थिए। करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ। प्राचीनकाल, मध्यकाल र आधुनिक गरी तीन कालखण्डको ढाँचामा उक्त भवन निर्माण गर्ने कामपाको योजना थियो।

यसअघि पनि सम्पदा बचाऔँ अभियानकर्मीले उक्त दरबार संरक्षण गर्न आग्रह गर्दै आएका थिए। भत्काउने काम शुरु भएको तीन महीनामा सक्ने र एक अर्ब ५० करोड रुपैयाँको लागतमा पुनःनिर्माण गरिने कामपाको योजना थियो।

भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारका राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन्।

भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताउँछन्। उनी भन्छन्, ‘अहिलेको भवन बागदरबारको भवन होइन, बागदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो। हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बाग दरबार भन्दा पनि फरक पर्दैन।’

वि.सं. १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो। त्यसको एक वर्षपछि वि.सं. १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंहको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनःसरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ।

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए। वि.सं.१९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे। त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरि शम्शेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो।

विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो। वि.सं. २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो। रासस

प्रचण्ड र पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेट, यस्तो भयो कुराकानी

काठमाडौं, चैत ७ । नेकपा माओवादीको शान्ति प्रक्रियामा अवतरणको बेला महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राजदूत स्कट र प्रचण्डबीच भेट भएको छ । उपचारका लागि अमेरिकामा रहेका प्रचण्डसँग भेटबारे सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै डेलिसीले शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डसँग लामो सहकार्य गरेको सम्झना गरेका छन् । ‘म राजदूत छँदा उहाँ माओवादी नेता हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रिया टुंग्याउन नजिक रहेर काम गरे ।’ डेलिसीले लेखेका छन, ‘हाम्रो प्रायजसो भेट हुन्थ्यो, छलफल हुन्थ्यो । हाम्रा छलफल गतिशील हुन्थे, कतिपय अवस्थामा मतभेद पनि । तर हामी शान्तिको बाटो पहिल्याउने विषयमा हामीले सँगै काम गर्यौ ।’ डेलिसीले झण्डै सात वर्षपछि प्रचण्डसँग भेट भएको बताउँदै डेलिसीले नेपालले अहिले शान्ति र मेलमिलापको यात्रालाई पूर्णता दिने अवस्थामा पुगेकोमा खुशी भएको बताएका छन् । ‘अब विगतमा झुण्डिने होईन’ डेलिसिले लेखेका छन, ‘बरु भविष्यका चुनौतीबारे छलफल गर्दै सुदृढ र समृद्ध नेपालको निर्माणबारे हामीले कुरा गर्यौं ।’ डेलिसिले देशको नेता भएको हैसियतले प्रचण्डले नेपालका सामु रहेका चुनौती हल गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् । स्कटले हाल सोरअवे फाउण्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

स्काभेटर दुर्घट्नामा चालकको मृत्यु

ओखलढुंगामा, चैत ६ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका, ४ मा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाकै १८ वर्षीय चालक जीवन श्रेष्ठ रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घट्ना मंगलबार साँझ भएको हो । सडकबाट ८ सय मिटर तल खसेको स्काभेटरका चालकको अवस्था तत्काल पत्ता लाग्न सकेको थिएन । प्रहरीले हराइरहेका चालक श्रेष्ठको शव भीरमा अड्किइरहेको अवस्थामा बुधबार बिहान फेला पारेको बताएको छ । उनको शव भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार विद्युतको पोल राख्न निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर भिरबाट खसेको हो। चालक श्रेष्ठको शव फेला परे पनि आफन्तले उठाउन मानेका छैनन् । उनीहरुले आयोजनाका ठेकेदार आएर बिमासहितको रकम र क्षतिपूर्ती नदिएसम्म शव नउठाउने अडान राखेका छन् ।

एसिया छनोटको खेल तालिका सार्वजनिक, नेपालको प्रतिस्पर्धी को–को?

काठमाडौं, चैत ६ । सिङ्गापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एसिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक गरिएको छ । आइसिसीले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ । एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म यूएइमा आयोजना हुनेछ ।

आइपीएलको ‘समूह चरण’ खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, चैत ५ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करणको ‘समूह चरण’ को खेल तालिका सार्वजनिक गरेको छ । यद्यपि, अझैं पनि बीसीसीआईले प्लेअफ र फाइनल खेलको मिति भने तोक्न सकेको छैन । यसअघि, लोकसभा चुनावका कारण बीसीसीआईले ५ अप्रिलसम्मको खेल तालिका सार्वजनिक गरेको थियो । हेर्नुस् आज सार्वजनिक आइपीएलको खेल तालिका-

नख्खु विस्फोटमा प्रयोग पदार्थ अति खतरनाक, कहाँबाट ल्यायो विप्लव समूहले?

काठमाडौं, चैत ५ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो । नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन। सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए। सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। प्रेसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो। रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए । सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज गर्यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’ चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन । भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

सरकार कार्यकर्तामुखी भएको डा. आरजु देउबाको आरोप

धनगढी, ४ चैत । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले वर्तमान सरकार जनतामुखी नभएर कार्यकर्तामुखी भएको आरोप लगाएकी छन् । आईतबार धनगढी उपमहानरपालिका ११ र १३ नम्बर वडामा काँग्रेस कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्दै देउबाले अहिले नेकपाको सरकार भ्रष्ट्राचार तर्फ लम्कदै गरेका आरोप लगाएकी हुन्  । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाँड्दै सरकारको ढुकुटी सकिरहेको उनको भनाई थियो । दुई दुई तिहाईको सरकार  र जनताको सम्बन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ । आफू कैलाली निर्वाचन क्षेत्र ५ बाट पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने दावी नेतृ देउवाले गरिन । निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताउदै पार्टी गतिबिधि बिरोध पार्टी भित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने नेतृ देउवाको दाबी छ । कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रीयता नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानमा लाग्नुपर्ने उनले नेता कार्यकर्तासँग आग्रह गरिन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए । उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पुर्जा भएको जमीन भारतद्वारा कब्जा

कञ्चनपुर, चैत ४ । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । ‘विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।’ सुनारले भने, ‘खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।’ पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । ‘सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।’ आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।’ उनले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोखे । विसं२०३१ देखि गाउँमा बस्दै आएका स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए । “सीमाको विवाद यथावत रहँदा बेला÷बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उनले भभने, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास÷बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ । नोटः समाचारमा देखाइएको फाइला फोटो हो ।

तीन दिनसम्म वर्षा हुने

काठमाडौं, चैत ४ । देशका पहाडी भूभागमा सोमबारदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित हल्का पानी पर्ने संभावना रहेको जल तथा मौसम नुमान शाखाले जनाएको छ । सोमबार, मंगलबार र बुधबारसम्म देशका पुर्वी भू–भाग र पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । सोमबार देशको पूर्वी भागमा हल्का बर्षा हुने, मंगलबार पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ । यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन– ‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’ आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । यस्तै मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

परराष्ट्रमन्त्री आज अर्जेन्टिना जाँदै

काठमाडौं, चैत ४। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अर्जेन्टिना प्रस्थान गर्ने भएका छन् । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिनुहुने कार्यक्रम छ । त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवाली अर्जेन्टिनामा रहँदा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत तय भएको जनाइएको छ । सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारीको समेत सहभागिता रहने छ । उनी चैत ९ गते स्वदेश फर्कने छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, के–के विषयमा हुँदैछ छलफल?

काठमाडौं, चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो । आज पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।

प्रधानमन्त्री मोदीको नाम अब ‘चौकीदार नरेन्द्र मोदी’

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब ट्वीटरमा ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने भएको छ । उनले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । प्रधानमन्त्री मोदीले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् । यस्तै, भाजपा अध्यक्ष अमित शाहले पनि आफ्नो नाममा चौकिदार जोडेर ‘चौकीदार अमित शाह’ बनाएका छन् । मोदी क्याविनेटका सबै मन्त्री तथा अन्य भाजपाका नेताहरुले पनि आफ्नो ट्वीटर नामको अगाडि चौकीदार थपेका छन् ।

माछापोखरी सुक्न थालेपछि कृषक चिन्तित

इनरुवा, चैत ३ । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भएपनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए । त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए । रासस

श्रीलंका विरुद्धको ‘वान डे सिरिज’ दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं, चैत ३ । श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले ५–० ले जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै श्रीलंका विरुद्धको सिरिज अफ्रिकाले जितेको हो । श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पक्ष्याउने क्रममा १३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिन पुगेको थियो । अफ्रिकाको जितका लागि एडेन मार्करामले नटआउट ६७, रस्सी भान डर डुसेनले अविजीत २८, फाफ डुप्लेसीले २४ र क्विन्टन डी ककले ६ रन बनाए । बलिङंमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एकएक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२५ रन बनायो । उसका लागि कुसल मेन्डीसले ५६, प्रिमिअल पेरिराले ३३, एन्जेलो पेरेराले ३१, इसुरु उडानाले ३२, ओसाडा फर्नाडोले २२ र धनन्जय डी सिल्भाले १२ रन बनाए । बलिङमा अफ्रिकाका कागिसो रबाडाले ३, इमरान ताहिर, एनरोच नोर्टजले २–२, लुंगी एन्गीडी र फेलकवायोले १–१ विकेट लिए ।

अमेरिका विरुद्धको टी–२० सिरिज यूएईले जित्यो

काठमाडौं, चैत २ । अमेरिका विरुद्धको टी-२० सिरिज यूएईले जितेको छ । अन्तिम खेलमा अमेरिकालाई २४ ले हराउँदै यूएईले २ खेलको सिरिज जितेको हो । यूएईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि स्टेभिन टेलरले ४९, जेभियर मार्शलले ३१, जोसरन मल्होत्राले २१, एलमोर हचिन्सनले १६ रन बनाए । बलिगंमा यूएईका सुल्तान अहमदले ३, जाहूर खानले २ र रोहन मुस्तफाले १ विकेट लिए । यसअघि, टस जितेर ब्याटिगं रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । उसका लागि साइमन अनवारले ६२, रोहन मुस्तफाले ४५, मोबम्मद बुटाले १७, सीपी रिजवानले १२ र अहमद राजाले नटआउट १३ रन बनाए । बलिङमा अमेरिकाका टिमिल पटेल, हेडन वेल्डसौरभ नेटवर्वालले दुईदुई र जसदीप सिंहले एक विकेट लिए । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

भाषा संस्कृतिको संरक्षण राष्ट्रिय दायित्वको विषय होः सभामुख महरा

दाङ, चैत्र २ । सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए । संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे । आफू पनि मगर समुदायकै बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे । यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफूले ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेको भन्दै यस बर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।