मधेशका सबै समस्या समाधान गर्न सकारात्मक छुः प्रधानमन्त्री ओली

 काठमाडौ‌, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका सबै प्रकारका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) का नेतासँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्, सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।’

 प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र संघीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

उनले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको बताए । ‘अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ ढङ्गले सोचौं, नयाँ ढंगल अघि बढौं ।’

उनले राजपाले उठाएका मागमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। भेटमा राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।

करको दायरा वृद्धि गरिएको छः अर्थमन्त्री

राँझा, पुष ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे । ‘करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।’ अर्थमन्त्री खतिवडाले भने, ‘भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।’ उनले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताए । कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले भनेयो, “कानून, विधि र नियमसंगत काम गर्नुहोला, राजनीतिक दबाब आए मलाई भन्नुस्, पछि तपाई उन्मुक्ति पाउनुहुन्न ।” उनले सङ्क्रमणकालमा केही महिना द्विविधा भए पनि आगामी दिनमा सबै कुरा सहज हुने बताउँदै करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरे । विगतमा खुम्चिएको राजश्व संकलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उनको भनाई छ । सो अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको चारतले भवन चार करोड ४५ लाख भारुमा निर्माण भएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी गराए । रासस

अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैनः न्यायाधीश मल्ल

काठमाडौं, पुष ६ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छन्। महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन् । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम गर्ने तथा निर्देशन दिने प्रणाली सत्य र तथ्य हुनुपर्नेमा जोड दिइन् । उनले महिला, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी कानूनअनुसार मुद्दा नै दर्ता नभएकाले कानून कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताइन् । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विश्वभक्त पोखरेलले घरेलु तथा यौन हिंसाविरुद्धको नयाँ कानूनमा क्षतिपूर्ति पाउने हक उल्लेख गरेको जानकारी गराए । उनले पीडकको तर्फबाट क्षतिपूर्ति पाउन नसक्ने अवस्था भए पनि पीडितका लागि पीडित सहायता कोष बनाउने पनि उल्लेख छ तर पीडित कोष बनिनसकेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले संविधानअनुसार कानून निर्माणको क्रम अझै जारी छ, न्यायको क्षेत्रमा महत्वपूर्ण पक्ष कानूनी सहायतालाई परियोजनाको रूपमा नभई दिगो सेवाका रूपमा विस्तार गर्नुमा जोड दिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले देशका पाँच जिल्लामा उक्त अध्ययन गरिएको जानकारी गराए । उनले अध्यन नगरिएका जिल्लामा नवलपरासी, ललितपुर, बाँके, मकवानपुर, मोरङ रहेको बताए । रासस

भुपेश बघेल छत्तीसगढका नयाँ मुख्यमन्त्री बन्ने

रायपुर, पुष १ । भारतमा सम्पन्न विधानसभा निर्वाचनमा बहुमत प्राप्त गरेको भारतीय कांग्रेसले छत्तीसगढको मुख्यमन्त्रीका रुपमा भूपेश बघेललाई अघि सारेको छ । आइतबार सम्पन्न विधायक दलको बैठकमा बघेललाई संसदीय दलको नेत ाचयन गरिएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । बघेलले भोली पद तथा गोपनियताको शपथ लिने छन् । संसदीय दलको नेता चयन भएपछि मिडियासँग कुरा गर्दै बघेलले मन्त्रीहरु चयनबारे पछि निर्णय लिइने बताए । यसका साथै उनले झीरम घाटी काण्डका बारेमा जाँचबुझ समिति बनाउने घोषणा समेृत गरेका छन् । भोली हुने सपथ ग्रहण समारोहमा राहुल गान्धीदेखि कैयन अन्य शीर्ष नेता उपस्थित हुने कार्यक्रम छ । सन् २०१३ मा झीरम घाटीमा कांग्रेसका नेता नन्द कुमार पटेल, महेन्द्र कर्मा, विद्याचरण शुक्ल र उदय मुदलियार समेत २८ जनाको मृत्यु भएको थियो । बघेलले मन्त्रीपरिषद्को पहिलो बैठकबाट किसानहरुको ऋण माफी र बिजुलीको बिल आधा गर्ने विषयमा निर्णय हुने पनि बताए ।

श्रीलंकाका अपदस्त प्रधानमन्त्री विक्रमासिंघे पुनर्बहाली

कोलम्बो, पुष १ । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्। सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराउनुभएको एक सांसदले जानकारी दिएका छन् । विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैंले बर्खास्त गरेका विक्रमासिङ्घेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका थिए । राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए । संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएका हुन् । विक्रमासिङ्घेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लडेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । विक्रमासिङ्घेका एकजना प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन् २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उनले प्राथमिकताका साथ काम गर्ने बताए । रासस

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति लहान, पुस १ गते । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो । आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिनुभयो । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो । घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । सामान बरामद प्रहरीको टोलीले सदरमुकाम सिरहाबाट गए राति करीब दुई लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद् गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा बजारबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दूधको पाउडर, खाने तेल, भुजिया, बिस्कुट, विभिन्न मसला, अगरबत्तीलगायत करीब दुई लाख मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ । बरामद भएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

दीपक मनाङ्गेको मुद्दा फेरि सुनुवाइ हुने

काठमाडौं, मंसिर २८ । सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाई हुने भएको हो । तत्कालीन पुनरावेदन अदाललत पाटनले गरेको फैसलामा सर्वोच्च अदालतमा पुनरावलोकन गर्न पाउने अधिकार हुँदाहुँदै नपाएको उल्लेख गर्दै मनाङ्गेका तर्फबाट इन्दिरा गुरुङले पुनरावलोकन निवेदन दर्ता गराएकी थिइन् । विसं २०६१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा मिनल गुरुङ (चक्रे मिलन) को दायाँ हात पूरै काटेपछि मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दामा तत्कालीन पुनरावेलन अदालत पाटनले पाँचवर्ष जेल सजाय सुनाएको थियो । मनाङ्गे अहिले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलापछि कैद सजाय भुक्तान गर्दै जेलमा छन् । त्यसैसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनः सुनुवाई हुने भएको छ । रासस

सप्तरीमा आगलागीबाट १३ घर जले, ४० लाखको क्षति

सप्तरी, मंसिर २८ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताए । बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उहाँसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् । राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । रासस

अब भीमदत्त र परशुरामले सहकार्य गर्ने, यस्तो भयो समझदारी

कञ्चनपुर, मंसिर २८ । कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पर्यटन प्रवद्र्धन, अनुभवन आदानप्रदान , विकास निर्माण कार्यमा सहकार्यका लागि दुबै नगरपालिकाले सहकार्यका लागि सम्झौता गरेका हुन् । भीमदत्त नगरपालिका कार्यालयमा शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुबै नगरपालिकाका प्रमुखले समझदार पत्रमा हस्ताक्षर गरी समझदारी पत्र एक आपशमा आदानप्रदान गरेका छन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरप्रसाद शर्मा र परशुराम नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश ठगुन्ना रोहवरमा गरिएको समझदारी पत्र ९ खण्डमा विभाजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विकास निर्माणमा सहकार्य र आपशी अनुभव आदानप्रदानका लागि परशुराम नगरपालिकासित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए । ‘दुबै नगरपालिका प्राकृतिक रुपमा स्रोत साधन सम्पन्न छन्, मुलुक, नगर, गाउँ समृद्धिका लागि स्रोत साधनको परिचालन आवश्यक छ’ हस्ताक्षर कार्यक्रममा नगर प्रमुख विष्टले भने, ‘जनताको अपेक्षा अनुसार विकास निर्माणका कार्य अपघ बढाई रहेका छौ, समृद्धिका विभिन्न आधार पहिचान गरी अघि बढेका छौ, आपशी सहकार्य र समन्वयमा पर्यटन प्रवद्र्धन पूर्वाधार विकास लगायतका कार्य गर्न समझदारी गर्न समझदारी गरिएको छ ।’ विकासका लागि सहकार्य आवश्यक भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले परशराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यको प्रस्ताव सहर्ष स्वीकार गरेकोमा धन्यवाद दिए । ्‘अब समझदारी अनुसार हस्ताक्षर गरिएका प्रतिवद्धता पूरा गर्न लाग्छौ’ नगर प्रमुख विष्टले भने, ‘धार्मिक, साँस्कृतिक, ऐतिहासिक परशुराम क्षेत्रका भ्रमण, अवलोकन, प्रचारप्रसार र पूर्वाधार विकासका लागि तयारी गरेर जानु पर्छ ।’ महाकाली नदीको बहु उपयोगका लागिका लागि दुबै नगरपालिकाले सहकार्य गरी अघि बढ्ने उल्लेख गर्दै उनले महाकाली नदीमा साहसिक जलयात्रा (र्याप्टीङ) सञ्चालनका लागि छलफल अघि बढेको बताए । चुरे क्षेत्रमा पर्ने बड्डी मलास क्षेत्रलाई अध्ययन केन्द्र बनाउन सकिने नगर प्रमुख विष्टले बताए । ‘बड्डी मलास क्षेत्र अध्ययन केन्द्र हुन सक्छ, त्यहाँसम्म बाटो पुगाउन आवश्यक छ’ नगर प्रमुख विष्टले भने, ‘झिलमिला ताल, दरबारका भग्नावशेष संरक्षण लगायतका कार्य गरिनु पर्छ, त्यसका लागि पनि सहकार्य गरेर जान्छौ ।’ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिने नगर प्रमुसख विष्टले बताए । भीमदत्तले नगरसित सीमा जोडिएका वा नजोडिएका स्थानीय तहसित सहकार्यका लागि समझदारी गरी जाने नगर प्रमुख विष्टले बताए । परशुराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षरपछि पर्यटन, पूर्वाधार, विकास निर्माण, वन पैदावार, जैविक विविधता संरक्षण, चोरी शिकारी नियन्त्रण लगायतका कार्यमा सहकार्य गरिने बताए ।

एनआरएनले आधुनिक कृषि बजार बनाउने, कृषि मन्त्री खनालसँग भयो यस्तो छलफल

काठमाडौं ,  मंसिर २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहात मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्म निर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाई छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछन् । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिन । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाई छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए । कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने ५ वटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ । काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जानकारी दिए । त्यहाँको २ सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सारेर कालिमाटीलाई कोल्ड स्टोर, पर्याप्त पार्किङ सहितको पाँच तले आधुनिक बजार बनाउने कृषि मन्त्री खनालको योजना छ । त्यसो गर्न अहिलेका कालिमाटीका तरकारी व्यवशायी अग्रिम रकम भुक्तान गर्न पनि तयार भएका छन् ।

सुदूरपश्चिममा हिमपातका कारण जनजीवन प्रभावित

बैतडी, मङ्सिर २८ । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए । उनले भने, “दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।” डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुशी भएका छन् । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । रासस

प्रधानमन्त्री भन्छन्, ‘हाम्रा लागि संघीयता नयाँ खेल हो, यसमा हामी च्याम्पियन सावित हुनेछौं’

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै उनले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गरे । उनले संघीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीययता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’ सङ्घीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्नेमा चर्चा गर्दै उनले भने, “हामी गलत बाटोमा गएका छैनौँ । संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ ।” आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठकमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराएका थिए । बैठक सोमबार १० बजे सिंहदरबारमा पुनःबस्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न परिषद्को बैठक माग गरिएको थियो । नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री तथा सचिव पनि आमन्त्रित हुन्छन् । रासस

आइडलको उपाधि भिडन्त नजिकियो, रविको होर्डिङ बोर्डले धनगढी रंगियो ! [फोटोफिचर]

काठमाडौं, मंसिर २० । ‘नेपाल आइडल सिजन २’ का प्रमुख दाबेदार रवि ओडलाई जिताउन उनको गृह प्रदेश सुदूरपश्चिम अहिले जोडतोडका साथ लागेको छ । ठाउँठाउँमा रविबारे लेखिएका पोस्टर टाँसिएका छन् । यो पनि- नेपाल आइडलः रविले अाज ‘टप फोर’ मा पुग्न यस्तो गीत गाउँदै (प्रोमोसहित) उनका समर्थक एवं प्रशसंक प्रचारप्रसारमा व्यापक खटिएका छन् । विशेष गरि रविले अडिसन दिएको धनगढीको मोहोल बेग्लै छ । त्यहाँ जहाँ हेरे पनि रवि ओड मात्रै देखिन्छन् । नगरका अधिकांश भागमा रविका पोस्ट रंगिएका छन् । तस्विरः मिलन बाब्ली  रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कहाँ हराए रेडलाईट एरियाबाट उद्धार गरि आश्रयगृहमा राखिएका ८ नेपाली महिला ?

नयाँ दिल्ली, मंसिर २० । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन्। दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ। ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो। गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए। उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन। सरकारी आश्रयगृहबाटै महिलाहरू हराएको विषयमा दिल्लीस्थित महिला आयोगले चासो देखाएको छ। आम आद्‍मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडी प्रदर्शन गरिरहेको बीबीसी हिन्दी संवाददाता कमलेशले बताइन्। उनका अनुसार हराएका महिलाहरू बारे प्रहरीले थप तथ्यहरू भने पत्ता लगाउन सकेको छैन। भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको बताए। उनले भने, ‘हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ।’ बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ। अधिकारवादीहरूले नेपालबाट भारतमा यौन व्यवसायका लागि महिलाहरूको बिक्री हुने गरेको बताउँदै आएका छन्। पछिल्ला वर्षहरूमा नेपाली महिलाई अवैध रूपमा खाडी मुलुक पठाउनका लागि समेत भारतको बाटो प्रयोग हुने गरेको पाइएको छ। तीन महिना अघि पनि दिल्ली महिला आयोगले अवैध रूपमा खाडी पठाउन लागिएका ७१ नेपाली महिलाको उद्धार गरेको थियो। भारतस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यसरी अवैध रूपमा महिलालाई खाडी पठाउन फर्जी कागजातको समेत प्रयोग हुने गरेको पाइएको थियो। बिबिसी नेपालीमा प्रकाशित समाचार Image:आवतजावतका लागि प्रयोग हुने आश्रयगृहको गेट।

फोहोरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलार्इ जिम्मा दिइयो

तुलसीपुर, मङ्सिर ४ । घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो । उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । रु २० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ । घोराही उपमहानगरपालिका–१६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ । अब लगत्तै निर्माण प्रक्रिया थालिने र १४ महीनामापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ । घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने भएको छ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर सङ्कलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उत्पादनपश्चात् कूल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । तत्कालीन घोराही नगरपालिकाले करीब तीन वर्ष पहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो । रासस

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

म्याग्दी, मङ्सिर ४ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नुपर्ने छ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहने छ । बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ । “स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन । जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनियर जगत प्रजापतिले बताए । दुई वडाको सीमा विवाद समाधान म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् । विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ । रासस