सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

कैलाली, कार्तिक १७ । सुदूरपश्चिम प्रदेशको खाद्य भण्डार कैलाली र कञ्चनपुरमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि हुने भएको छ  । कृषि ज्ञान केन्द्रहरूले उत्पादन बढेको प्रारम्भिक आँकडा दिएका छन्  ।

कैलाली र कञ्चनपुर हेर्ने कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहोराले कैलाली र कञ्चनपुरमा १५ प्रतिशतले धानको वृद्धि भएको प्रारम्भिक अनुमान गरे । ‘यकिन तथ्य आउन केही समय लाग्छ,’ उनले भने, ‘किसानहरूको कुरा र धान रोप्ने बेला गरिएको अनुगमनबाट बढेको छ भन्न सकिन्छ ।’

वर्षा राम्रो भएकाले धानबालीमा लाग्ने रोगहरू नलागेकाले उत्पादन बढेको उनले बताए । ‘धान रोप्ने बेलामा मलको अभावसमेत भएन,’ उनले भने । नयाँ प्रविधिले पनि उत्पादनमा वृद्धि भएको हो । स्थानीय किसानले पनि एक बिघामा ५ देखि ७ बोरासम्म धान उत्पादन बढ्ने बताएका छन् ।

कैलालीको भजनीका गंगा चौधरीले यो वर्ष बाढी तथा रोगले असर नपारेको बताए । कैलालीको धेरै धान उत्पादन हुने दक्षिणी भेग डुबान क्षेत्रमा पर्छ । वर्षा बढी भए ३० प्रतिशत बाली क्षति पुर्‍याउने गरेको छ । ‘यसपटक अधिक वर्षा पनि नभएकाले बाली जोगियो,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका कृषि मन्त्रालयका योजना अनुगमन मूल्यांकन महाशाखाका उपसचिव यज्ञराज जोशीले धान वृद्धिको मुख्य कारण मौसम र रोग किरा नलाग्नु भएको बताए । यो वर्ष सिञ्चित क्षेत्रसमेत विस्तार भएको उनले बताए । उनका अनुसार अहिले किसानले प्रतिहेक्टर ७ देखि ८ टनसम्म धान फलाउन थालेका छन् ।

कैलाली जिल्ला प्रदेश ७ को मात्रै नभएर नेपालकै प्रमुख अन्न उत्पादन हुने जिल्ला पर्छ । ७२ हजार हेक्टरमा धान बाली लगाइन्छ । ४४ हजार हेक्टर भूमि सिञ्चित छ । कैलालीमा धानको उत्पादकत्व दर ४।०५ टन छ । गत वर्ष २ लाख ९२ हजार ६ सय ९९ टन उत्पादन गरेको थियो । जिल्लाको वार्षिक खाद्यान्न उत्पादन २ लाख ५८ हजार ३५७ टन हो । जसमध्ये वार्षिक १ लाख १७ हजार ९५४ टन खाद्यान्न बचत हुने गरेको छ । कैलालीको बचत खाद्यान्न प्रदेश ७ का पहाडी जिल्लामा जान्छ ।

विवरण संकलन नभए पनि कञ्चनपुरमा विगतको तुलनामा १५ प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान छ । कञ्चनपुरमा धान प्रतिहेक्टर ३ टन हुन्छ । यस वर्ष साढे ३ टन पुग्ने वरिष्ठ कृषि अधिकृत बोहोराले बताए ।

कञ्च्नपुरमा करिब ५० हेक्टरमा धान खेती गरिन्छ । यस वर्ष रोगको प्रकोप पनि छिटफुट मात्रै भयो । धानबाली भित्र्याउने बेला वर्षा नहुँदा नोक्सान भएन । कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान पकेट क्षेत्र कार्यक्रम पनि सञ्चालित छ । जिल्लाकै औसतभन्दा उक्त क्षेत्रमा झन्डै दोब्बर उत्पादन हुन पुगेको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा अनुकूल मौसम र उपयुक्त बीउको प्रयोगले धान उत्पादन वृद्धि हुने अनुमान छ । १५ देखि २० प्रतिशत बढ्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यस वर्ष तीन वर्षयताकै राम्रो उत्पादन हुने दाबी गरिएको छ । बझाङमा यस वर्ष करिब ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाभर करिब २८ हजार टनभन्दा बढी धान फल्ने प्रारम्भिक अनुमान छ । यो गत वर्षभन्दा करिब ५ हजार टन बढी हो ।

गत वर्ष २३ हजार ५ सय टन उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताए । ‘३ वर्षयताकै धेरै उत्पादन हुने अनुमान गरेका छौं । १५ देखि २० प्रतिशत उत्पादनमा वृद्धि हुन्छ,’ उनले भने । अहिलेसम्म करिब ९० प्रतिशत धान भित्र्याउने काम सम्पन्न भइसकेको छ । कात्तिकभित्र सबै धान भित्र्याइसक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कान्तिपुर दैनिकबाट

१६ लाख बढीको रिचार्ज कार्डसहित एकजना पक्राउ

दाङ, कार्तिक १५ । दाङमा रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई पक्राउ परेका छन् । रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुन पक्राउ परेका हुन् ।   असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीले उजुरी परेको २१ दिनपछि १६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित पुनलाई पक्राउ गरेको हो ।   पुनले ससुराली प्युठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ड कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए । पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको र चोरी मुद्दा दर्ता गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

दुई छोराको हत्यापछि बाबुद्वारा आत्महत्या

कलैया, कार्तिक ४ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।   रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए । मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । -रासस

बलिउडका सर्वाधिक ५ महँगा निर्देशक !

कविर खानः कविर खान फिल्म निकै सानदार बनाउँछन् । उनी धेरै पारिश्रमिक लिने निर्देशक पनि हुन् । उनी हरहमेसा आफ्नो फिल्मको बारेमा सोच्ने गर्दछन् । उनी निर्देशकको अलवा लेखन र छायाँकार पनि हुन् । कबिर एक बर्षमा ४०० करोड भन्दा बढी कमाउने निर्देशक हुन् ।   राजकुमार हिरानीः हरेक फिल्ममा नैतिक सन्देश दिने राजकुमार हिरानीको बिषेशता नै हो । उनी फिल्ममार्फत युवा र किशोर दर्शकमा पुग्ने कोसिस गर्दछन् । उनले आमिर खानका साथ ३५० करोड भन्दा पनि बढी आम्दानीका लागि प्रेरणात्मक फिल्ममा काम गरिरहेका छन् ।   रोहित सेट्टीः रोहित पनि बलिउडका धनी निर्देशक बनेका छन् । उनलाई तीन चलचित्रले यो स्थानमा पुर्याएको हो । उनका फिल्म ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’ र ‘सिंघम स्क्रिन’ उनका महत्वपूर्ण फिल्मका उदाहरण हुन् । उनी बढी कमाउने निर्देशकमा पर्दछन् ।   फरहान अख्तर र जोया अख्तरः यी दुवैले बलिउडमा राम्रा फिल्म बनाएका छन् । फरहान र जोया दिदीभाई हुन् । यी दुवै एकसाथ लोकप्रिय छन् । दर्शकको मनोरञ्जन ध्यानमा राखेर यी दुवैले फिल्म बनाउने गरेका छन् ।   उनीहरुका फिल्मले बलिउडमा एक नयाँ आयाम बनाएका छन् । यीनको फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी नामिलेगी दोबारा’ बलिउडमा सुपरहित साबित भयो । यी दुवै पनि बलिउडमा धेरै कमाउने निर्देशकमा पर्दछन् । अरबाज खानः फिल्मबाट दर्शकको मन जित्ने निर्देशक हुन् अरबाज खान । जसको उदारण ‘दबंग’लाई लिन सकिन्छ । धेरै हिट फिल्म नदिए पनि उनी धेरै पारिश्रमिक लिने निर्देशकमा पर्दछन् । -एजेन्सी 

ए डिभिजन लिगका आज दुई खेल : शनिबारदेखि स्थगन

काठमाडौँ, असोज २६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुने छ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो । लिग फुटबलअन्तर्ग शुक्रबार पहिलो चरणका खेल सकिँदैछ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । “पहिलो चरणका खेलहरु शुक्रबार सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ ।”– लिग निर्देशक सञ्जिव मिश्रले भने । लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउने छन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । रासस

असिनाले धानबाली सखाप

डोटी, असोज २६ । जिल्लाको जोरायल गाउँपालिका-१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ।असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए ।   उनले भने ‘असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।’ दसैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । -रासस

मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !

कञ्चनपुर, असोज २६ । जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।   से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।   घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।   सरसफाइ अभियान कृष्णपुर नगरपालिकाले नगर सरसफाइ अभियान थालेको छ । ‘नगर सफा राखौँ, जीवन स्वस्थ रहौं, कृष्णपुर नगरवासीको ऐक्यवद्धता, सरसफाइमा हामी सबैको प्रतिबद्धता’ नाराका साथ नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।     नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, उपप्रमुख रमिता वडायक, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाललगायतको टोली गुलरिया बजार सफाइमा जुटेको छ । -रासस

नेता खाँणको भविष्यवाणी- ‘आउँदो १० वर्षमा विश्वबाटै वामपन्थीको विलय हुन्छ’

बारा, असोज २५ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विश्वबाट चाँडै नै वामपन्थी विलय भएर जाने भविष्यवाणी गरेका छन् । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा वामपन्थी सरकार नरहने दावी गरे । उनले भने, ‘विश्वमै वामपन्थी सरकार रहदैन भने नेपालमा त झन टिक्ने कुरै छैन ।’ वनले ओली नेतृत्वको सरकार बोलीमा मात्र सीमित भएको आरोप लगाउँदै सरकारले हत्या हिंसा बलात्कार महंगी भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए ।

साउथ चलचित्रमा सुपरस्टार अमिताभको लुक्स सार्वजनिक !

मुम्बई । बलिउडका सुपरस्टार अमिताभ बच्चनले साउथ इन्डियन चलचित्रमा डेब्यु गरेका छन् । यस फिल्ममा उनको लुक्स जन्मद‍िनको अवसरमा सार्वजनिक गरिएको छ । फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोल गरेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ । भिडियोमा अमिताभ सेताम्मे दाह्री–जुँगा र निधारमा रातो टिका लगाएर देखिएका छन् । यो फिल्ममा सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । उक्त फिल्ममा अमिताभले मात्र केमियो रोल गरेका छन् । हालैमा यसको छायांकन हैदराबादमा भएको थियो । चिरञ्जीवीको यो फिल्ममा नाम सई रा नरसिम्हा रेड्डी छ । सो फिल्मको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । आफ्नो भूमिकाको बारेमा केही दिन अगाडि अमिताभले आफ्नो ब्लगमा बताएका थिए । उनले लेखेका थिए, ‘म इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु ।’ यो चलचित्र चार भाषा तेलुगू, तम‍िल, कन्नड र मलयालममा रिलिज हुने छ । ‘सई रा नरसिम्हा रेड्डी’ का निर्देशक सुरेन्दर रेड्डी हुन् । एजेन्सीको सहयोगबाट

ट्वान्टी-२० विश्वकपः चीनलाई तेस्रो झड्का, सन्दीपले लिए लगातार २ विकेट ! [LIVE]

काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसैबीच, नेपालाई तेस्रो सफलता मिलेको छ । दोस्रो र तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् ।  यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

कैलालीको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

कैलाली, असोज २३ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२, लालमोटिया डाँडानजिक एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरिया रहेका छन् । फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्रयाक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन् । घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सरकारविरुद्ध क्रान्तिकारी माओवादीको ‘मार्चपास’

काठमाडौं, असोज २३ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारविरुद्ध काठमाडौंमा मार्चपास गरेको छ। नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयकलगायतकाे विराेधमा ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीले जनाएका छ। मार्चपासको नेतृत्व पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरेका थिए। रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको थियाे ।

शिक्षकलार्इ उत्कृष्ट नतिजा निकाल्न महानगर प्रमुख रेणु दाहालको निर्देशन

चितवन, असोज २३ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न निर्देशन दिएकी छन् । आज भरतपुर महानगरपालिका शैक्षिक महाशाखाले आयोजना गरेको सामुदायिक माध्यामिक विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा आर्थिक वर्ष २०७५-०७६ को वार्षिक बजेट तथा कार्यक्रम प्रबोधीकरणमा महानगर प्रमुख दाहालले प्रधानाध्यापकहरुलाई पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गरिन् । उनले भने, ‘नतिजाको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कृत गरिने छ ।’ कार्यक्रममा उनले विद्यालयमा दरबन्दी मिलान गरी आवश्यक विद्यालयमा दरबन्दी पठाइने विश्वास समेत गराए । उनले भने, ‘भौतिक निर्माणको लागि विशेष पहल गरिने छ, विद्यालय समायोजनलाई प्राथमिकता दिएर थोरै विद्यार्थी भएको विद्यालयलाई ठूला विद्यालयसँग समायोजन गरिने छ ।’ कार्यक्रममा उनले पाठ योजना, विद्यार्थीहरुको गृहकार्य प्रशिक्षण, शैक्षिक सामग्रीको प्रयोग गरी गणस्तरीय शिक्षा प्रदान गर्न जोड दिए । उनले सबैको सामूहिक प्रयासबाट सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा हासिल गर्न सकिनेमा महानगरपालिका विश्वस्त रहेको बताए । उनले भरतपुर महानगरपालिका शिक्षाको अलवा पूर्वाधार विकास, स्वास्थ्य, सामाजिक विकास, कृषि पर्यटनको क्षेत्रमा तीव्र विकासको बाटोमा अगाडि बढिरहेको जानकारी दिए । भरतपुर महानगरपालिकाले मेघा प्रोजेक्टको रूपमा सिटीहल निर्माण गर्न प्रक्रियामा लागिरहेको र सबैभन्दा उचित ठाउँ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाताभित्र रहेको बताए । उनले भने, ‘यसको लागि महानगरवासीको सहयोग र समर्थनको अपेक्षा पनि गर्दछु ।’ कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले विद्यालयका प्रअहरूलाई शैक्षिक गुणस्तर वृद्धिमा दृढ भएर अगागि बढ्न आग्रह गरे । उनले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, शिक्षिकाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले इमानदार भएर कार्य सम्पादन गर्न आग्रह गरे । उनले भरतपुरमहानगरपालिका शिक्षा क्षेत्रको गुणस्तरीय विकासको लागि सधैं क्रियाशील रहेको बताएकी छन् । नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र पर्वाधार विकासका लागि महत्वपूर्ण नीति र योजनाहरू प्रस्तुत गरेकोमा महानगरलाई धन्यवाद दिए । उनले यसलाई व्यवहारमा कडाइका साथ उतार्न आग्रह गरे । नारायणी नमुना मावि त्यसै नमुना नभएको भन्दै महानगरपालिकाका सबै विद्यालयहरू नमुना बन्नुपर्ने बताए । उनले सरकारका कतिपय ऐन नियमहरू विद्यालयमैत्री नभएको हुँदा परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले भरतपुर महानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गतिविधि सञ्चालनमा सहजीकरण गर्न महत्वपूर्ण छलफल गरेकोमा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सबै इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएका बताएकी छन्। भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख भूमिलाल सूवेदीले भरतपुर महानगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताएकी छन्। उनले छात्रवृत्ति कार्यविधि निर्माण तथा शिक्षक कर्मचारी दरबन्दी मिलान प्रक्रिया सुरू गरिएको बताइन् । महानगरले गुणस्तरीय र व्यावहारिक शिक्षा नीति लिएको बताउँदै उनले विद्यालयको क्षैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासमा जोड दिएको जानकारी गराएकी छन् । उनले नगर शिक्षा समिति गठन गरी प्रक्रिया अगाडि बढाइरहेको बताइन् । कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले आ–आफ्नो विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा जानकारी गराउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सहयोग चाहिएको बताएका थिए । कार्यक्रममा महानगरका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । भरतपुर महानगरपालिकाभित्र १२३ वटा सामुदायिक विद्यालय, ९६ वटा निजी विद्यालयहरु छन् । महानगरमा ९७४ जना तालिम प्राप्त शिक्षक छन् । शिक्षक विद्यार्थीको अनुपात २१.६ प्रतिशत छ ।

सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन : प्रचण्ड

काठमाडौं, असोज २० । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैले कमजोर पार्न नसक्ने र कमजोर पार्न नहुने बताएका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएका छौं । बामपन्थीहरुको दुईतिहाईको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’ कार्यक्रममा प्रचण्डले पार्टीभित्रका विवाद समाधान हुने बताए । ‘हाम्रो बीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौं । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’ प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षाअनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं ? हामीले सक्नैपर्छ ।’ ‘म फर्केलगत्तै प्रधानमन्त्रीजीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर, सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’ ‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गेयरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर, अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौति त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’ प्रचण्डले अवसरसँगै चुनौति पनि आउने भएकाले कार्यकर्तालाई संयमित भएर अघि बढ्न अपील गरे । उनले भने, ‘जहाँ ठूला सम्भावना हुन्छन्, त्यहाँ चुनौति पनि ठूलै हुन्छन् । हामीले त्यसलाई पार लगाउन सक्नुपर्छ । पार्टी एकता हुनै नदिने षड्यन्त्र चिर्यौं, सरकार असफल बनाउने षड्यन्त्र पनि चिर्छौं ।’

रोनाल्डो यो पटक पनि टिममा अटाएनन्

एजेन्सी । यही महिना हुने पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि क्रिष्टियानो रोनाल्डो पोर्चुगलको टिममा पर्न असफल भएका छन् । युभेन्टसका स्टार खेलाडी रोनाल्डोलाई गएको महिना भएको युइएफए नेशन्स लिग अन्तर्गत पनि राष्ट्रिय टिमबाट आराम दिइएको थियो ।     त्यो बेला पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई युभेन्टसमा समायोजन हुनका लागि समय चाहिएकाले आराम दिइएको बताएका थिए ।     रोनाल्डोलाई नेशन्स लिग अन्तर्गत अक्टोबर ११ मा हुने पोल्याण्डसँगको खेल तथा अक्टोबर १४ मा हुने स्कटल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि पनि टिममा राखिएको छैन ।     रोनाल्डोले भविष्यमा राष्ट्रिय टिममा योगदान दिने र त्यसबाट कसैले रोक्न नसक्ने प्रशिक्षक सान्तोसले बताएका छन् । रोनाल्डोमाथि लागेको बलात्कारको आरोप र त्यसको अनुसन्धानमा समय दिनु पर्ने भएकाले उनलाई राष्ट्रिय टिममा आराम दिइएको अनुमान छ ।

५४ प्रतिशत नेपालीलाई इन्टरनेट थाहा छैन

काठमाडौं, असोज १९ । नेपालका आधाभन्दा बढी जनसंख्यालाई इन्टरनेटबारे जानकारी नभएको एक अध्ययनले देखाएको छ । सूचना तथा प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने संस्था लर्न एसियाले गरेको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगको अवस्था (आप्टरएक्सेस) सम्बन्धी सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो ।     सर्वेक्षणले ४६ प्रतिशत नेपालीलाई मात्रै इन्टरनेटबारे जानकारी भएको देखाएको छ । त्यसमध्ये इन्टरनेट प्रयोग गर्ने ३४ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गर्छन् ।   २० भन्दा बढी मुलुकमा गरिएको यस्तो सर्वेक्षणले इन्टरनेटको सामान्य जानकारीसमेत नहुनेमा भारतीय ६५ प्रतिशत, पाकिस्तानी ६३ प्रतिशत, बंगलादेशी ६७ प्रतिशत रहेका छन् । त्यस आधारमा नेपाल छिमेकी मुलुकभन्दा अगाडि देखिएको छ । सर्वेक्षणअनुसार धेरै नेपालीले लामो समयसम्म इन्टरनेट प्रयोग गर्ने र सामाजिक सञ्जालको समाचारलाई विश्वास गर्ने गरेकोसमेत पाइएको छ ।     अप्रिल २०१७ देखि जुन २०१८ सम्म एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रका १८ वटा देशमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३८ हजार व्यक्तिसँग ९० मिनेट लामो प्रत्यक्ष अन्तर्वार्ता गरिएको बताइएको छ ।     सर्वेक्षणले नेपालमा सातै प्रदेशका सयवटा वडामा १५ देखि ६५ वर्ष उमेरसमूहका २ हजार व्यक्ति तथा घरपरिवार समेटेको दाबी गरेको छ । सर्वेक्षणमा समेटिएका १८ वटा देशमध्ये नेपाल कुल राष्ट्रिय आयका आधारमा मोजाम्बिक र रुवान्डाभन्दा मात्रै अघि छ । नयाँ पत्रिकामा खबर छ ।