चन्दा असुल्दै हिड्ने विप्लवका २ कार्यकर्ता पक्राउ

धनुषा । जनकपुरबाट चन्दा उठाउँदै हिड्ने विप्लव समूहका दुइजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका–२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१, भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की छन् ।

 

 

केहि व्यक्तिहरुले चन्दा उठाइरहेको जानकारी गराएपछि दुवैजनालाई बिहीबार दिउँसो साढे एक बजे जनकपुर उपमहानगरपालिका–७, बाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए ।

 

 

उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकलसहित चन्दा रसिदलगायतका सामान बरामद गरिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ घाइते

भद्रपुर, असोज १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा बि भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । उनका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टंक रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनैजनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । रासस

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र

कास्की, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए । जिल्ला संयन्त्रमा साविक नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ । अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ । बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास नेकपाको छ । नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका ८ वटै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । रासस

नेपाल भित्रिदैं गरेको २ करोड रुपैयाँको चिनियाँ मदिरा नष्ट

हुम्ला, असोज १४ । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ ।   जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।   गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । -रासस 

१३ लाख नगदसहित दोहाका नागरिक विमानस्थलमै पक्राउ

काठमाडौं, असोज १४ । नेपालबाट विदेशी मुद्रा तस्करी हुनु नौलो रहेन । तर शनिबार एकजना कतारका नागरिक नेपाली रूपैयाँ तस्करी गरिरहेको अवस्थामा विमानस्थलमा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह १६ लाख २५ हजार नेपाली रुपैयाँ सहित एकजना कतारका नागरिक पक्राउ परेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमा दोहा जान लागेका कतारका नागरिक वर्ष ३९ का मोहमद इसा मट सकुर्तीको साथबाट नेपाली रुपैयाँ बरामद भएको हो । कतारको राहदानी नम्बर ०१४३५८९३ रहेका सकुर्तीको साथमा रहेको कालो हेन्ड व्यागको चेकजाँचमा रकम बरामद भएको हो । प्रहरीका अनुसार होल्ड व्यागेज एक्सरे चेकिङमा रकम नगद परेपछि उनलाई विमानस्थल सुरक्षा गार्ड कार्यालयमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने !

काठमाडौं असोज १२ । शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सरकारी संस्थानहरूले सुपथ मूल्य पसल सञ्चालन गर्दैछन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म रहने छन्। सुपथ मूल्य पसलको संयोजन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको छ भने साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले भाग लिएका छन् । ती पसलहरूमा संस्थानहरूमा उपलब्ध खाद्य सामग्रीहरू बिक्री वितरण हुने छन् । बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालन गरिएको विभागले जनाएको छ । साथै घुम्ती पसल पनि सञ्चालन गरिने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन् । उनका अनुसार सरकारी संस्थानमात्रै नभई विभागमा दर्ता सहकारी पसलहरूले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता जनाउने छन् । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ। यस्तो छ छुटको व्यवस्था साल्ट ट्रेडिङ कर्पोरेसन साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकाका नौ स्थानमा स्टल सञ्चालन गर्दैछ। त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्ने छ। उपत्यकाबाहिर भने आफ्ना डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने कर्पोरेसनले जनाएको छ । नुनमा २ रुपैंया छुटसहित १८ रुपैंया प्रतिकेजीमा वितरण गर्ने छ। नेपाल खाद्य संस्थान खाद्य संस्थानले पनि उपत्यकाका सुपथ मूल्य पसलको स्टलमा आफ्नो सहभागिता जनाउँदै छ । देशभरका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ। संस्थानले सोना मन्सुली चामल ४५ रुपैयाँ, जिरा मसिनो चामल ६० रुपैयाँ मूल्य रहेकामा ५ रुपैयाँ छुटमा बिक्री वितरण गर्ने छ। बास्मती चामल ९१ रुपैंयामा १० छुट, गोरखनाथ चामल ४८ मा ५ छुटसहित बिक्री गर्ने संस्थानले जनाएको छ। त्यस्तै जापानिज चामल ८० मा ५ रुपैंया छुट, जुम्ली सिमी १ सय ३० मा १० छुट, जुम्लाको तिते फापर ८० मा १० रुपैंया छुट गरी बिक्री गर्ने खाद्य संस्थानले वाणिज्य विभागलाई जानकारी दिएको छ। संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ । खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ । दुग्ध विकास संस्थान दुग्ध विकास संस्थानले उपत्कामा सञ्चालन हुने सुपथ मूल्य पसल र देशभर रहेका आफ्नो कार्यालयबाट आफ्ना उत्पादन सहुलियत मूल्य बिक्री वितरण गर्ने छ । संस्थानले चाडबाड लक्षित सहुलियत अनुसार घ्यू प्रतिलिटर ९ सय रुपैंया रहेकोमा ५०, पनीर ६ सय २० मा २० रुपैंया छुटसहित बिक्री वितरण गर्ने छ । त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्ने छ। सहकारी पसल सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन् । घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ। त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ। चिनी भ्याटबाहेक ५७ रुपैंयामा उपलब्ध गराउने छ। मसला प्रतिकेजी २० रुपैयाँ छुटसहित उपलब्ध गराइने बताइएको छ। सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुंगलमा सञ्चालन हुनेछन् । यस्तै भक्तपुर, ललितपुर विभन्नि स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन हुँदैछन् । नेपालखबरबाट

दशै‌मा घर जानेहरुका लागि यातायात विभागको यस्तो छ अाग्रह !

काठमाडौं, असोज १२ । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दशैंमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दशैंमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपाती पछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् । ‘फुर्सद हुनेहरू पहिले गइदियो भने पछिलाई चाप कम हुन्छ, सहजरूपमा जान पनि पाउन सकिन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ ।’ यो वर्ष दशैंका लागि नयाँ बस नथपिने उनले बताए । सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन् । यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भएपनि यात्रुलाई सुविधा दिने बताएको थियो । तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए । अहिले अब नयाँ गाडी थप्न सक्ने अवस्था छैन । तर, हामी भएकै गाडी चलाएर यात्रु ओसार्छौँ । दिउँसो यात्रु बोकेर गएका गाडी राति नै फर्किन्छन् र भोलिपल्ट फेरि यात्रु बोकेर जान्छन् । राति यात्रु लिएर छुटेका बस पनि दिउँसो नै फर्किन्छन् र फेरि बोक्छन् । नयाँपत्रिकाबाट

अध्यक्ष प्रचण्डको घोषणा पूरा हुँदै, शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, असोज १२ । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई संकलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।   सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताए । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।   सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताए । सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताए ।   युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनले बताए । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताए ।   ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताए । -रासस

संसदको दुबै अधिवेशन अन्त्य, यस्तो रह्यो ५ महिने प्रगति ?

काठमाडौं, असोज ११ । संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजबाट सकिएको छ । प्रतिनिधिसभाका कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि संसद बैठक स्वतः अन्त्य भएको जानकारी गराएका हुन् । वैशाख २३ बाट आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो । यो अवधिको १ सय ३५ दिनमा ८९ पटक बैठक बसेर १ सय ९३ घण्टा संसदीय काम कारवाही भएको प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए । यो अवधिमा ४ पटक मात्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो । यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, १८ वटा विधेयक पारित गरिएको सभामुख महराले जानकारी दिए । संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारका प्रतिवद्धता कार्यान्वयन भएनभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह गरे ।

‘मेरा देश डुब्न लाग्यो, कोही छौं कि माझी किनारा लगाइदेऊ’ : नेता नेपाल

काठमाडौं, असोज ११ । ‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ कोही छौं कि माझी किनारा लगाइदेऊ’ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् । उनले एउटा गीतबाट आफ्नो सम्बोधन सुरु गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट ज्यान गुमाउन पुगेकी सम्झना दासको प्रसंग झिकेर देशमा दण्डहिनता मौलाएको, भ्रष्टाचारीले टाउको ठाडो गराएको र जनता झनै निराश हुँदै गएको बताए । नेता नेपालले अब जनताले भाषणमा नभई व्यवहारमा काम र परिणाम हेर्न चाहेको बताए । भरखरै आफुले पढेको ‘रजगज’ नामक उपन्यासको प्रसंग उठाउँदै उनले देश झनै कहाली लाग्दो अवस्थामा पुगेको बताए । भ्रष्टहरुनै उच्च तहमा पुगेको, कालाे सूचिमा परेका नै पुरस्कृत भएको अवस्थाले आफुहरुकाे शिर निहुरिएको बताए । उनेले प्रश्न गरे, ‘यो बेथिति देख्दा जनता के सोच्दा हुन् ?’ उनले राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरेहेको अवस्थामा, शान्ति र सुरक्षा कमजोर भएको अवस्था गृह प्रशासन मौन रहेकोमा चिन्ता व्यक्त गरे । उनले, ‘गृहमन्त्री कहाँ छन् थाहा छैन, गृह प्रशासन कहाँ छ थाहा छैन, खुलेआम देश टुक्राउनेलगायतका भिडियो सार्वजनिक भइरहदा, राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरहदा गृह प्रशासन किन मौन रह्यो जनता जान्न चाहान्छन् ।’ नेता नेपाल सरकारले गरेका राम्रा कामको प्रसंसा गर्दै यो बीचमा देखिएका जनताका असन्तुष्टी र सुशासनमा देखिएका समास्या हल गर्न आग्रह गरे ।

सदन छाेडेर सडकमा आउन बाध्य नपारियोस् : महतो

विरगन्ज, असोज ११ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताको धैर्यताको बाँध टुट्ने समय आउँदै गरेकोले कुनैपनि बेला आन्दोलनको घोषणा हुनसक्ने बताएका छन् । बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्ना मागहरु पुरा गर्न सरकार संवेदनशील नभए सदन छाडेर सडकमा आउने चेतावनी दिएका हुन् ।  दुईतिहाइको सरकारले अहंं‌कारमा शक्तिको दुरुपयोग गरिरहेकाले बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था आउन लागेको महतोको भनाई छ । नेता महतोले वर्तमान सरकार मधेस विरोधी रहेको पनि दाबी गरे ।उनले बारामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण अलपत्र पारेर सरकारले षडयन्त्र गरेको आरोप लगाए । साथै उनले विमानस्थल निर्माणका लागि रुख काटनुपर्ने घोषणा गरेर सरकारले विवाद उत्पन्न गराएको बताए ।

भवन हस्तान्तरणका विषयमा झडप हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

सिरहा, असोज ११ । सिरहाको मिर्चेयामा वडा नम्बर ८को कार्यालयको नवनिर्मित भवन हस्तान्तरणका विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । झडपमा मिर्चैया नगरपालिका ८ भगवतपुरका मनोजकुमार यादव, विष्णु यादव, रामअशिष यादव र उनको भाइ मनिकलाल यादव घाइते भएका हुन् । घाइतेहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नर्सिङ होममा उपचार भइरहेको छ । हन्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानर राखेको भन्दै विवाद र झडप भएको हो । वडाध्यक्ष रामजगत शाहले हन्तान्तरणमा उदघाटनको ब्यानर राखिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामअशिष यादवमाथि आक्रमण गरेको स्थानीयले बताए । विवादपछि भवन हस्तान्तरण कार्यक्रम स्थगित भएको छ । उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । मिर्चेयामा नगरप्रमुख नेकपाका छन् भने वडाध्यक्ष नेपाली कांग्रेसका छन् । फरक पार्टीका भएका कारण विकास निर्माण सम्वन्धी काममा पटक पटक विवाद हुँदै आएको छ ।

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, असोज ११ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहीबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने । अहिले नेकपा नेतृत्वको दुई तिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपे, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानून अनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।” नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो”, नेम्बाङले भने । संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्छन्, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उहाँले थप्नुभयो, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ?” रासस

मन्त्री लालबाबु पण्डितको प्रस्ताव जथाभावी फोहर फाल्नेलाई बढी कर

भक्तपुर, असोज, ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले यस्तो विचार व्यक्त गरेका हुन् । स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै मन्त्री पण्डितले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुऱ्याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गरे । नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै, हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा मन्त्री पण्डितको जोड थियो । कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको उल्लेख गरेका छन् । उहाँले पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै बस्नेतले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरेका छन् । कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्ने औंल्याए । यसैबीच अभियन्ता पुस्कर गजुरेलले विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानको ३० औँ हप्तामा आज दुई टन फोहर सङ्कलन भएको र हालसम्म ३०९ टन फोहर सङ्कलन गरिएको जानकारी दिए । रासस

महिलालाई अगाडि ल्याए मात्रै समतामूलक समाज निर्माण- प्रचण्ड

काठमाडौं, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना भएको अर्थ रहने बताएका छन् ।   राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उनले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदाहरणका रुपमा प्रस्तुत भएको बताए।   प्रचण्डले भने, ‘आजै मात्रै भएको संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आउनुभएको छ । झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ । परिवर्तनको आन्दोलनमा साच्चै भूमिका खेलेका र सशक्त क्षमता भएका महिला समितिको सभापतिमा निर्वाचित हुनुभएको छ ।’   साथै, उनले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताएका छन् । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यो कुनै संयोगले आएको नभई नेपालको राजनीतिक नेतृत्वले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने सोचले सम्भव भएको बताए ।   नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रिया पनि मौलिक प्रकृतिको रहेको दोहो¥याउँदै अध्यक्ष प्रचण्डले मुलुकभित्रका राजनीतिक दल र नेतृत्वद्वारा परिस्थितिको विश्लेषण गरिएर निकालिएको निष्कर्षकै आधारमा राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया अघि बढेको बताए ।   उनले नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय, छिमेकी देश तथा विश्वभरीको लोकतन्त्रप्रति समर्पित बुद्धिजीवि र व्यक्तित्वको सहयोग, समर्थन र सद्भाव शुरु देखिनै रहेको बताए ।   अध्यक्ष प्रचण्डले भने, ‘नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाको साथसाथै नेपालको मौलिक प्रकृतिको शान्ति प्रक्रिया पनि नेपालको मात्रै सम्पत्ति नभएर अब यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका पक्षधरको पनि एउटा सम्पत्तिका रुपमा रहेको छ । हामीले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको विशेषतासहित सबैलाई उदाहरण हुने गरी सफल पारेका छौँ ।’   संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा विधायन व्यवस्थापन समितिले ‘समावेशी लोकतन्त्रः समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक लोकतन्त्र मेलाको आयोजना गरेको हो । मेला शनिबारसम्म चल्नेछ । -रासस

यौनशोषणको आरोपमा अमेरिकाकै ठूलो टिभी च्यानलका प्रमुख बर्खास्त

अमेरिका, भदौ २५ । अमेरिकाको सबैभन्दा ठूलो र लोकप्रिय टिभी च्यानल सीबीएसका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत लेस्ली मूनवेसलाई यौंनदूव्र्यवहारको आरोपमा पदबाट बर्खास्त गरिएको छ । कम्पनीले यौन दुर्व्यवहारको बढ्दो आरोपलाई थेग्न नसकेपछि उनले पदबाट हटाएको बताएको छ । सीबीएसलाई यो स्थानसम्म महत्वपूर्ण भूमिका निभाएका मूनवेस यौनदूव्र्यवहारको आरोप लाग्नु अघिसम्म हलिउडका पनि सम्मानित व्यक्तित्व थिए । उनीमाथि यस्तो आरोप गत जुलाईको अन्त्यमा लागेको थियो । तर यो घटना एक दशक भन्दा पहिलाको हो । द न्यूयोर्क पत्रिकामा पछिल्लो समय दुईवटा लेख प्रकाशित छन् । जसमा एक लेख २७ जुलाई र अर्को आइतबार प्रकाशित भएको छ । यी लेखमा उनीमाथि यौनशोषणको गम्भीर आरोप लगाइएको छ । त्यसपछि उनलाई पदबाट हटाइएको भनिएको छ । तर उनले भने आफैले राजीनामा दिएको दावी गरेका छन् । ६८ वर्षीय मूनवेसका विरुद्ध १२ जना महिलाले यौनशोषणको आरोप लगाएका छन् । सीबीएसका अनुसार मूनवेसको नेटवर्कको अध्यक्ष र सीइओ पदबाट दिएको राजीनामा तत्काल लागू हुनेछ । यसका साथै उनले मीटू आन्दोलन र कार्यस्थलमा महिलाको सामनताको समर्थनमा दुई करोड डलर सहयोग गर्ने छन् । नेटवर्कका अनुसार आरोपहरुमाथि मूनवेसविरुद्ध आन्तरिक छानविन शुरु भएको छ । मूनवेसलाई अब कम्पनीबाट कुनै किसिमको सेवासुविधा उपलब्ध हुने छैन । तर भविष्यमा अनुसन्धानपछि आउने परिणामका आधारमा उनीमाथि अर्को निर्णय हुने छ ।