सामाजिक सुरक्षाभत्ता वितरणलाई व्यवस्थित बनाइँदै

काठमाडौं । लोपोन्मुख सूचीमा रहेका विभिन्न दश जातिलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ अनुसार कुसुण्डा, राउटे, हायु, किसान, मेचे, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कुसवाडिया (पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया) लाई त्यस्तो भत्ता दिन लागिएको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुण्डाको सङ्ख्या २७३ छन् । राउटेको सङ्ख्या ६१८ छ । हायुको सङ्ख्या छ हजारको हाराहारीमा रहेको बताइए पनि जनगणनामा दुई हजार ९२५ उल्लेख छ । जनगणनामा वनकरिया भाषा बोल्नेको सङ्ख्या ६९ उल्लेख छ । दोलखामा २३५ को सङ्ख्यामा सुरेल छन् । पछिल्लो जनगणअनुसार राजी जातिको सङ्ख्या चार हजार २३५ छ ।

सरकारले कुल ०.५० प्रतिशत भन्दा कम जनसङ्ख्या भएका जात जातिलाई अल्पसङ्ख्यकमा राखेको छ । केन्द्रीय पञ्जिकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदी सामाजिक सुरक्षाभत्ता वितरण गर्ने प्रक्रियालाई नयाँ विधेयकले व्यवस्थित गर्ने बताउँछन् ।

‘विद्यमान व्यवस्थाअनुसार पनि सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ । त्यसलाई नयाँ विधेयकले थप व्यवस्थित बनाउनेछ’ सुवेदीले भने । सामाजिक सुरक्षाभत्ता वितरणलाई पारदर्शी, मर्यादित बनाउने लक्ष्यसाथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सामाजिक सुरक्षाभत्ता वितरण प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्यले नयाँ विधेयक ल्याइएको जानकारी दिए ।

संविधानको धारा ४३ मा उल्लेख भए बमोजिको सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न उक्त विधेयक प्रस्तुत गरिएको हो । विधेयकमा ‘आफ्नो हेरचाह आफै गर्न नसक्ने’ व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । त्यसमा अल्जाइमर, पार्किन्सस, स्पाइनल कर्ड, इञ्जुरी, ब्रेन ह्यामरेज, सुस्त मनस्थिति, पक्षघात, मानसिक अवस्था ठीक नभएको, अटिजम जस्ता रोगबाट ग्रसित भई आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा रहेका भनी चिकित्सकबाट प्रमाणित भएका व्यक्तिलाई भत्ता दिइने छ ।

कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्त भएको, निर्वाचित वा मनोनित भएको, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको र अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक वा सुविधा पाइरहेको व्यक्तिलाई त्यस्तो भत्ता दिइने छैन । सामाजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकले स्वेच्छाले घोषणा गरेमा त्यस्ता नागरिकलाई स्थानीय तहले सम्मान गर्ने व्यवस्था गरिएको छ ।

ती जातजातिलाई सरकारले हाल मासिक रु दुई हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्छ । ज्येष्ठ नागरिक र एकल महिलालाइ एक एक हजार सामाजिक सुरक्षाभत्ता दिइएको छ । पूर्ण अशक्त अपाङ्गता भएका नागरिकलाई मासिक रु दुई हजार, आशिंक रुपमा अपाङ्गता भएकालाई रु ६००, लोपोन्मुख आदिवासी जनजातिलाई रु दुई हजार, कर्णाली र दलितका बालबालिकालाई रु चार सय तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च वापत रु एक हजार प्रदान गर्दै आएको छ ।

एकल महिलामा विवाह नगरी बसेका ६० वर्ष पुगेका महिला, विवाह गरेका तर सम्बन्ध विच्छेद भएका ६० वर्ष उमेर पुगेका महिला, महिला बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकलाई त्यस्तो भत्ता दिइँदै आएको छ ।

कर्णालीका एक आमाका बढीमा दुई बालबालिका, देशभरिका दलित परिवारका एक आमाका बढीमा दुई बालबालिकालाई मासिक भत्ता दिइँदै आएको छ । विवरण ढाँटी सामािजक सुरक्षाभत्ता लिएमा, कुनै व्यक्तिले प्राप्त गरेको सामाजिक सुरक्षा निजको संरक्षक वा स्याहार गर्ने व्यक्ति वा अन्य व्यक्तिले दुरुपयोग गरेमा वा उसको हित विपरित प्रयोग गरेका, भत्ता वितरण गर्नेले दुरुपयोग गरेमा, गलत विवरण पेश गरेमा कारवाही हुने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा पाउने व्यक्ति बसाइसराइँ गरी अन्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, मृत्यु भएमा त्यस्तो भत्ता पाउने छैनन् । त्यस्तै कुनै पनि प्रदेश तथा स्थानीय तहले दोहोरो पर्ने गरी त्यस्तो कुनै पनि भत्ता वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । रासस

सेमिफाइलमा नेपाल पराजित

काठमाडौं, साउन ३१ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् । पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिनेटमा क्रिटिना देवीले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । जितसँगै भारत फाइलन प्रवेश गरेको छ । भारतले फाइललमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानका लागि बङ्गलादेश र भुटानबीचको पराजित हुने टोलीसँग भदौ २ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो । प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।

हस्तकला व्यापार मेला

काठमाडौँ, साउन ३१ । हस्तकला सामग्रीको बजार विकास, विस्तार तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा १६ औं हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता हुने भएको छ । मेलाका बारेमा जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म भृकुटीमण्डमा उक्त मेला सञ्चालन हुने जानकारी दिएको छ । सो अवसरमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले मेलाले अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले देशभित्रका निर्यातकर्ता तथा विदेशी आयातकर्तासँग व्यावसायिक सम्बन्ध स्थापित गर्न अवसर प्रदान गर्ने बताए । उनले हस्तकलाका क्षेत्रमा रहेको एक अर्को देशको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान गर्न मेला महत्वपूर्ण भएको बताए । अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एशियाली मलुक जापान, चीन, भारतलगायत झण्डै ८० मुलुकका करीब रु १० अर्ब मूल्य बराबरको हस्तकला सामग्री निर्यात हुँदै आएको अध्यक्ष शाक्यले बताए । यस्तै आन्तरिक बजारमा पनि सोही परिणामको कारोबार रहेको उनले जानकारी दिए । महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार डङ्गोलले सरकारी निकायमा हस्तकला सामग्री १० प्रतिशत मूल्यबढी तिरेर खरिद गर्न सकिने नीति भए पनि सार्वजनिक खरिद ऐनका कारण सो सामग्री बिक्रीमा समस्या देखिएको बताए । हस्तकला व्यापार, व्यवसाय प्रवद्र्धन गर्न सरकारी सहयोग पर्याप्त नभएको उनले गुनासो गरे । हस्तकलाका क्षेत्रमा करीब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेको महासङ्घले जनाएको छ । त्यस्तै मेलाका क्रममा लोपोन्मुख कलाकृतिको जगर्ना र मौलिक कलाको संरक्षण गर्न नयाँ पुस्ताका कलाकार÷कालीगढलाई आफ्नो पेशाप्रति आकर्षित गरी कला पुस्तान्तरण तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग गरी अझ समुन्नत बनाउन हस्तकला प्रतियोगितासमेत हुने महासङ्घले जनाएको छ । मेलामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र समसामायिक विधातर्फ ‘ढाका बुनाई’ प्रतियोगिता गरिने महासङ्घका उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि उहाँले जानकारी दिए । नेपालको निर्यात व्यापारका साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । मेलामा करीब २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्रीका साथै हस्तकलाका वस्तुगत प्याभिलिएनसहित २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने छन् । मेलामा उत्कृष्ट हुने एक प्याभिलिएन र एक प्रदर्शनी कक्षलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा करीब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रधानन्यायाधीशको छोराको विवाहमा ९० लाख खर्च !

काठमाडौं, साउन ८ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहेका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उनीमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पुर्याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् । जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखी छोरीको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उहाँ विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ-‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो । प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ।’ नेपाल समाचारपत्रमा खबर छ ।

उप क्षेत्रीयदेखि जिल्लासम्मका ७७ वटा विकास समिति खारेज

काठमाडौं- सरकारले अञ्चल, उपक्षेत्रिय र जिल्ला अस्पतालमा रहेका ७७ वटा विकास समिति खारेज गरेको छ। मन्त्रीपरिषदको असार ३२ गतेको बैठकले ७७ वटा अस्पताल विकास समिति खारेजको निर्णय गरेको हो। बैठकले विकास समिति गठन आदेश, अस्पताल व्यवस्थापन समिति कार्यविधि २०७३ र स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ विघटन तथा खारेज गर्ने निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णय कार्यान्वयन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ६ गतेको सचिवस्तरिय निर्णय समेत गरेको छ। खारेज भएका विकास समिति, कार्यविधि र निर्देशिकाबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन, विकास समिति तर्फका कर्मचारीहरुको व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह सम्बन्धी कार्य सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट हुने र विघटित समितिहरुको नाममा रहेको चल अचल सम्पत्ति प्रदेश तथा स्थानीय तहले तोकेको नियकालाई हस्तान्तरण गर्ने निर्णय भएको छ। यसका साथै विघटन तथा खारेज भएका स्वास्थ्य संस्थामा मनोनय वा नियुक्त भएका पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन्। सरकारले यस्ता पदाधिकारी जिम्मा रहेको संस्थाको अभिलेख तथा सम्पत्ति सम्बन्धित स्वास्थ्य संस्थालाई बरबुझारथ गर्न पनि निर्देशन दिएको छ।

‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’, आर्सेनल मिडफिल्डर ओजिजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बर्लिन, आर्सेनल मिडफिल्डर मेसट ओजिजले जर्मनी टिममा खेल्दा ‘रंगभेद र अपमान’को आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिज टर्कीस मूलका जर्मन खेलाडी हुन । मेसटले सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर आफ्नो प्रशंसा भएको तर अहिले भने जाती र नश्लको कुरा उठाएको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् । २९ वर्षीय मेसटले गत मई महिना लण्डनमा टर्किस राष्ट्रपति रिकेप ताय्यीपसँग तस्वीर खिचाएपछि उनको आलोचना भएको थियो । विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शनपछि घृणा व्यक्त गरिएका इमेल र धम्की पाएको मेसटले जनाएका छन् । “हामीले जित्दा म जर्मन भएँ तर हार्दा भने म आप्रवासी ठानिए” उनको भनाई उद्दृत गर्दै विविसीले जनाएको छ । जर्मन फुटबल टीमका प्रमुखले भने अहिलेसम्म ओजिजको दावीमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपी जर्मन चान्सलर एन्जेला मार्कलले भने उनको निर्णयको सम्मान गरेको उनका प्रवक्ताले सोमबार जनाएका छन् । ओजिज सन् २०१४ देखि जर्मनका तर्फबाट विश्वकप खेल्दै आएका छन् । उनका प्रशंशकहरुले उनलाई सन् २०११ देखि राष्ट्रिय टीमका लागि भोट गर्दै आएका थिए । विश्वकपमा भने जर्मनी रुससँग हारसँगै बाहिरिएको थियो । ओजिजले अब जर्मन राष्ट्रिय टीमको टीशर्ट समेत नलगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लामो दुखेसो पोखेका ओजिजले जर्मनीहरुका लागि मेरो कुनै महत्व नभएको बताएका छन् । जर्मनीमा आप्रवासीहरुमाथि हुने व्यवहारले विवाद निम्त्याउँदै आएको छ । ओजिजको नियती भोग्ने थुप्रै अन्य आप्रवासी रहेका छन् । जर्मनीलाई कर तिर्दा र उनीहरुको फाइदा हुँदा सम्म राष्ट्रियताको प्रश्न नउठने तर उनीहरुलाई फाइदा नहुँदा भने त्यही कुराले आलोचना गरिने विषयले अहिले चर्चा पाएको छ । ओजिजले अब के गर्छन् भन्ने कुरा स्पष्ट छैन ।

काम नलाग्ने हुनसक्छ आइफोन भारतमा

नयाँ दिल्ली । आइफोन समाजमा स्टेटस सिम्बलको रूपमा स्थापित भइसक्यो । हातमा एप्पलको आइफोन हुनु प्रतिष्ठाको विषय मानिन्छ । तर भारतमा भने आइफोन प्रयोगकर्ताहरूमाथि एउटा समस्या आइलागेको छ । आइफोन निर्माता कम्पनी एप्पल र भारतीय दूरसंचार विनियामक प्राधिकरण (ट्राइ) बीच जारी द्वन्द्वको असर प्रयोगकर्ताहरूमा पर्न सक्ने बताइएको छ । एप्पल र ट्राइबीचको यो द्वन्द्व डु-नट-डिस्टर्ब (डीएनडी) भन्ने एपका कारण सुरु भएको हो । ट्राइले एप्पलका लागि यस एपको डीएनडी-२.० भन्ने नयाँ भर्सन डिजाइन गरेको थियो जसलाई एप्पलले आफ्नो एप-स्टोरमा ठाउँ दिएन । ट्राइ एप्पलले यस एपलाई एप्पलले स्थान देओस भने चाहन्छ ताकि प्रयोगकर्ताहरूसम्म आउने स्प्याम कल तथा म्यासेजलाई रोक्न सकियोस् । तर एप्पलले भने यस एपले प्रयोगकर्ताका कल तथा म्यासेजलाई रेकर्ड गर्ने अनुमति माग्दछ जसले गर्दा उनीहरूको गोप्यता भङ्ग हुन सक्छ । दूरसंचार प्राधिकरणले हालै जाली कल तथा स्प्याम म्यासेज रोक्न टेलिकम सेवा प्रदाता कम्पनीहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ । उसले मोबाइलफोन अपरेटिङ सिस्टममा यस्ता प्रकारका कल तथा संदेशहरू आउनबात रोक्न आफ्नो निधारित मापदण्डमा रहेका एप डाउनलोड गर्न मिल्ने बनाउनु पर्ने नियम बनाएको छ । यदि एप्पलले यसो नगरेको खण्डमा भारतका टेलिकम सेवा प्रदायक कम्पनीहरूले एप्पलका फोनहरूमा आफ्नो सेवा बन्द गर्न सक्नेछन् । भारतीय दूरसंचार प्राधिकरणले जारी गरेको नया नियम अनुसार सबै प्रयोगकर्ताहरूले अनिवार्य रूपमा डीएनडी एप डाउनलोड र इन्स्टल गर्नु पर्नेछ र हाल यो एप एण्ड्रोइड प्लेटफर्ममा मात्र उपलब्ध रहेको छ र छ महिनाभित्र आइफोनमा यो उपलब्ध नभएको खण्डमा ती फोनहरूको दर्ता खारेज गरिने छ । र त्यस्तो अवस्थामा ती फोनहरूमा भारतीय सिम राखेर थ्री-जी या फोर-जी चलाउन मिल्ने छैन ।

स्कूल जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका !

काठमाडौं, साउन १ । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने । उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् । ‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ । नयाँ पत्रिकामा खबर छ ।

एकै जिल्लामा चौध सय बालबालिका विभिन्न जोखिममा !

जाजरकोट, साउन १ । जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिनुभयो । यस्ता बालबालिका बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले जानकारी दिनुभयो । यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्या भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको पाइएको छ । आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ । कुशे गाउँपालिका भित्रका सबै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यो आवमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ । यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको वजेट विनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ । आजदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको कामसमेत प्रभावित हुने देखिन्छ । -रासस

थाइ गुफाबाट सकुशल उद्धारपछि बाँकी टिमले थाल्यो अभ्यास खेल

एजेन्सी । १६ दिनसम्म थाइल्याण्डको एक गुफामा फसेको फुटबल टोलीको सकुशल उद्धारपछि अहिले खबरले विश्वभरी निकै चर्चा पाएको छ । १३ सदस्यीय उक्त टोलीलाई केहीदिन अघिमात्रै उक्त गुफाबाट सकुशल उद्धार गरिएको हो । अहिले उद्धार गरिएको फुटबल टोली फेरि पूरानै दिनचर्यामा फर्कने प्रयासमा छ । उक्त फुटबल टोलीले अभ्यास पनि शुरु गरिसके छ । ‘वाइल्ड बोर्स’ का बाँकि सदस्यले आफ्ना साथीहरु सुरक्षित फर्किएकाले फेरि फुटबल अभ्यास शुरु गरेका छन् । २३ जुलाइमा फुटबल अभ्यासका खेलिसकेपछि वर्षाबाट जोगिनका लागि यो टिमका १२ सदस्य र एक फुटबल प्रशिक्षक थाइल्याण्डको लुअंगा गुफामा पुगेका थिए । भारी वर्षाका कारण फुटलटोली रहेको गुफामा पानीको वहाव बढेपछि उनीहरु त्यहिँ फसेका थिए । उनीहरुलाई संसारभरीका दक्ष ९० जना गोताखोरीको मद्दतले अहिले गुफाबाट निकालिएका छन् । गुफाबाट उद्धार गरेपछि अहिले उक्त फुटबल टोलीका सदस्यको अस्पतालमा स्वास्थ्य परिक्षणको कार्य भइरहेको छ । गुफामा फसकेका अधिकांश बालक ११ देखि १६ उमेर समूहका थिए । टिमका सबै सदस्य जिवीतै रहेको खबर सुन्ने वित्तिकै को ‘वाइल्ड बोर्स’ को बाँकि टिमले अभ्यास स्थिगत गरेको थियो । बिहिबारदेखि फेरि स्थिगत गरिएको अभ्यास खेल शुरु भएको छ । वाइल्ड बोर्सका प्रमुख प्रशिक्षकले भनेका छन्, ‘आफ्ना सहकर्मी सुरक्षित भएको खबर मिलेपछि अन्य सदस्य खूब उत्साहपूर्वक अभ्यास सत्रा सहभागि भएका छन् । मेरो प्राथना छ गुफाबाट उद्धार गरिएका टिमका सदस्य छिटो स्वस्थ हुन् र मैदान प्रवेश गरुन् ।’ -एएफपी

नेपालले ४४ देशबाट आयात मात्र गर्छ, निर्यात शून्य !

काठमाडौं, असार २९ । मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य छ । त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छ ।  यसैमा अर्को रोचक तथ्य के छ भने, नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ । नागरिकमा खबर छ ।

मन्त्री खनाल र राजदुत भेटघाट

काठमाडौं, असार २८ । कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ । जापानी राजदुतसँगको छलफलमा मन्त्री खनालले नेपालका लागि रााजदुतमा नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्नका लागि शुभकामना दिनुभयो । भेटमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियाना रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खनालमा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । जवाफमा राजदुत मासामिचिले नेपालसँग अर्गानिक खेती र प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताउनुभयो । त्यस्तै जर्मन राजदुतसँगको भेटमा मन्त्री खनालले निक्कै लामो समयदेखि जर्मन सरकारसँग मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै भविष्यमा पनि त्यो सम्बन्ध थप मजवुत हुने बताउनुभयो । पोष्ट हार्भेष्टिङ एवं कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालको भनाई छ । राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने एक सम्मेलनमा सहभागिताका लागि मन्त्रीलाई निमन्त्रण दिनुभएको छ ।

प्रचण्डलाई भेट्न विश्व बैंकका प्रतिनिधि खुमलटारमा

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भेटवार्ता गरेका छन् । सो भेटमा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोस पनि सहभागी थिए । बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो । अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीसँग स्थानीय, प्रादेशीक र संघीय गरी तीनवटा सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् । ’ भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताउनुभयो । जर्वोसले भन्नुभयो, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गछौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।’ नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो । म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिर मात्र नभएर एक यात्रा बताउनुभयो ।

५० करोडको पाइप खरिदमा २५ करोड स्वाहा !

काठमाडौं, असार २८ । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ । ‘संस्थानले एकै प्रकृतिको कामलाई दुई टुक्रा पारेको छ, दुई ठेकेदार कम्पनीसँगको मिलेमतोमा इस्टिमेट तयार पारी सोही रेटमा टेन्डर आह्वान गरेको र ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने मापदण्ड पनि दुई कम्पनीसँग मिल्ने गरी मात्र बनाएको पाइयो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी मिलेमतोमा ठेक्का पाएको कम्पनीले ५० करोड लागतमा किन्नुपर्ने पाइपको भन्सार पास गरेको प्रज्ञानपत्र हेर्दा जम्मा २५ करोडमा खरिद भएको देखिन्छ ।’ छानबिन समितिका एक सदस्यले भने, ‘दुवै कम्पनीले सम्झौताअनुसार ल्याउनुपर्ने पाइप र पाइप फिटिङका सामान ल्याइसकेको देखिन्छ, खरिद गरी ल्याएको पाइपको गुणस्तर पनि सम्झौताअनुसारकै छ, तर सबै सामान ल्याएको भन्सार पास हेर्दा कुल लागत २५ करोड मात्र देखिन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्डलाई हराउन जादू देखाउने खेलाडी यी हुन् ?

मस्को, असार २८ । क्रोएसिया पूर्व विश्वकप विजेता इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक रुसमा जारी विश्वकप फुटबलको फाइलनमा पुगेको छ । गएराती भएको खेलमा इग्ल्याण्डलाई २ १ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। १०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो। क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ। सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो। युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए। यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए। खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयास सफल हुन सकेन। इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरी फाइनल पुग्न सकेको छैन। इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो। यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको थियो। -एजेन्सी

नहरमा डुबेर बालकको मृत्यु

मोरङ, असार २२ । मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । -रासस