चारकिलो गाँजासहित युवक पक्राउ

लहान,  कात्तिक २० । प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट, कात्तिक १९ । नुवाकोटमा रहेका बाह्र स्थानीय तहमध्ये पाँच स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् ।

मदिरा निषेधबाट २ लाख जरिवाना उठ्यो अजयमेरुमा

डडेल्धुरा, कात्तिक १५ । नव निर्वाचित गाउँपालिका अध्यक्षको मदिरा निषेध गर्ने घोसषाबाट दुई लाखको राजस्व उठेको छ । डडेल्धुराको अजयमेरु गाऊँपालिकामा दुई लाख बढी रकम जरिवाना बाट उठेको अध्यक्ष उमेश भट्टले बताए । “निर्वाचित भए लगत्तै गाऊँपालिकालार्इ मदिरा मुक्त क्षेत्र घोषणा गरेका हौ” भट्टले भने “चोरीछिपी बेचनेहरुमाथि कारवाही गर्दा जरिवाना रक़म २ लाख उठेको छ” गाऊँपालिकामा मदिरा सेवन महामारी जस्तै बनेकोले निषेध गर्नुपरेको उनले बताए । त्यसै पनि आर्थिक अवस्था कमज़ोर हनेक, त्यसमा झनरक्सीको लत लागेपछि कतिपय परिवार झन गरीब हुने र यसको मार महिला तथा बालबालिकामा पर्ने गरेको भट्टले बताए । अहिले मदिरा बिक्री तथा सेवन धेरै कमी आएको उनको भनाइ थियो ।

युथ एसिया कप क्रिकेटः नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

कार्तिक १५ । कार्तिक २३ बाट मलेसियामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले कात्तिक २४ गते बंगलादेशसँग मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र टेस्ट मान्यता प्राप्त बंगलादेशसँगै प्रतियोगितामा अर्को टेस्ट राष्ट्र भारतको युवा टोली र आयोजक मलेसिया समूह ‘ए’ मा परेका छन् । नेपालले वायुमास ओभलमा कार्तिक २५ गते भारतसँग दोस्रो खेल खेल्नेछ । यसैगरी कार्तिक २७ गते नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा मलेसियाको सामना गर्ने छ । नेपालले मलेसियासहित भारत र बंगलादेशमध्ये एकलाई पराजित गर्न सकेको अवस्थामा सेमिफाइनलको यात्रा तय गर्न सक्ने छ । चार्चार टोली सम्मिलित दुवै समूहबाट विजेता र उपविजेता टोली प्रतियोगिताको अन्तिम चारमा पुग्नेछन् । सेमिफाइनलका विजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तानसहित पश्चिम एसियाको विजेता एक टोली (टुंगो लाग्न बाँकी) रहेका छन् । नेपाली टोली प्रतियोगिताको तयारी स्वरूप हाल बंगलादेशमा छ । नेपाली टोलीले बंगलादेशसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपाली टोलीले बंगलादेश विरुद्ध बिहीबार, शनिबार र आइतबार अभ्यास खेल खेल्ने तय भएको छ । बंगलादेशको अभ्यास खेलपछि स्वदेश फर्किएर नेपाली टोली प्रतियोगिता खेल्न मलेसिया प्रस्थान गर्नेछ । एजेन्सी

च्याम्पियन्स लिगः म्यानचेष्टर युनाइटेडको लगातार चौथो जित

कात्तिक १५ । लगातार चौथो जित हात पारेर पनि इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा नकआउट पुग्न अझै १ अंक जोड्नुपर्ने भएको छ। गएराती भएको खेलमा वेनफिकालाई २–० ले पराजित गर्दै ४ खेलबाट १२ अंक जोडेको युनाइटेड समूह ‘ए’ को शीर्ष स्थानमा छ। तर अर्को खेलमा सिएसकेए मस्कोले बासेलले २–१ ले हराएपछि युनाइटेडले कुर्नुपर्ने भएको हो । बाँकी दुई खेलबाट १ अंक जोडेपनि युनाइटेड प्रिक्वाटरमा पुग्नेछ। युनाईटेडलाई जित दिलाउन डाले ब्लाइण्डले एक गोल गरे भने वेनफिकाका गोलरक्षक मिल स्लिभरले आत्मघाती गोल उपहार दिए । युनाइटेड गत सिजन युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनौट भएको थियो । बासेललाई हराएपछि मस्कोले पनि ४ खेलबाट ६ अंक जोडेको छ। हारपछि पनि ६ अंकरहेको बासेलको गोल अन्तरमा अगाडी रहदै दोस्रो स्थानमा छ। लगातार चौथो हारपछि वेनफिका अंकविहिन छ। एजेन्सी

निर्वाचन आयोग भन्छः चुनाव प्रचारमा ‘घोडा प्रयोग गर्न पाइन्छ’

काठमाडौं, कात्तिक १४ । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् । वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ । ‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ’, लामाले भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ । उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’ शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउछन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ । कर्णाली क्षेत्रका दुई जिल्ला हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । मोटरबाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता–कार्यकर्ता पनि उम्मेदवारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन् । हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आई पैदल हिँडेर गाउ‘ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले थपे, ‘पॉच वर्ष उद्योग चलाएर चुनाव लड्नेलाई ठिकै छ, पार्टी चलाएर बस्ने इमानदार नेतालाई एकदमै गाह्रो छ ।’ काठमाडौं तथा नेपालगन्जबाट हुम्ला, डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रतिव्यक्ति ९ हजारदेखि १५ हजारसम्म छ। दुर्गममा थोरै भोटले हारजित हुन्छ । त्यसैले आफ्ना पार्टी नेता९कार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेदवारको चुनौती बनेको छ । प्रदेशसभातर्फ मुगु ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवारीको तयारी गरेका राजु कार्कीले दसैंतिहार सेरोफेरोमै पाँच चार्टर गरेर मतदाता ओसारे । त्यस्तै, खत्याड क्षेत्रका झन्डै ३ सय मतदाता उनकै पहलमा गाउ‘ फर्किए । तर, वाम गठबन्धनपछि मुगुका प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा एमाले उम्मेदवार मात्र उठ्ने सहमति भयो । ‘मैले हवाइ र स्थलमार्गबाट करिब ३ सय मतदाता फर्काउन सघाएँ,’ उनले भने, ‘उम्मेदवारी नपाएपछि त्यो खर्च वाम गठबन्धनका लागि भयो भन्ने ठानेको छु ।’ गत संविधानसभामा सदस्य उम्मेदवार भई पराजित एमाले हुम्ला अध्यक्ष दल रावल मोटरबाटोले नछोएको दुर्गम हिमाली जिल्लाका चुनाव निकै महंगो हुने गरेको बताउछन् । अघिल्लो निर्वाचनमा आफूले सबैभन्दा कम दुईपटक जहाज चार्टर गरेको उनको दाबी छ । ‘नेता–कार्यकर्ताको दबाब त असाध्यै हुन्छ । तर, सामान्य उम्मेदवारले सक्दैन,’ उनले भने, ‘चुनावी खर्च थामिनसक्नै छैन ।’ अहिले उनी हुम्ला प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् । डोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार धनु बुढा अहिले चुनावी प्रचारप्रसारका लागि माथिल्लो भेगमा छन् । तर, उनले काठमाडौं र नेपालगन्जमा रहेका शुभेच्छुक कार्यकर्तालाई हवाइ चार्टर गरेर चुनावअघि जिल्ला ल्याउने व्यवस्था मिलाइसकेको एमाले डोल्पाले जनाएको छ । गत संविधानसभा निर्वाचनमा उनले करिब दर्जनपटक जहाज चार्टर गरेर मतदाता ओसारेका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार अंगद बुढाले पनि जिल्ला फर्किने आफ्ना मतदाताको सूची तयार गरिरहेका छन् । ‘मुख्य प्रतिस्पर्धी उम्मेदवार हो भने कम्तीमा ५र७ जहाज चार्टर नगरी चुनाव जित्ने स्थिति छैन । उम्मेदवारको मुख्य खर्च मतदाता ओसार्नै छ,’ डोल्पा कांग्रेसका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य एवं हुम्ला ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार जीवनबहादुर शाही १२ देखि १५ हजारसम्म भाडा तिरेर मतदाता ल्याउनु निकै खर्चिलो हुने बतउँ‘छन् । ‘एकातिर हिउ‘ पर्न लागेको छ । चुनाव आउन थालिसक्यो । ठूलो भूगोल छ, उत्तिकै दुर्गम,’ उनले भने, ‘हामीलाई त चुनाव सजाायजस्तै भएको छ ।’ शाहीले ६० मतदाता रहेको नाम्खा गाउ‘पालिका ४ स्थित चालागाउ‘ पुग्न तीन दिन हिँड्नुपर्ने उल्लेख गर्दै भने, ‘सुगम र सहरका धनीलाई सस्तो अनि दुर्गमका गरिबका लागि चुनाव महँगो छ । -कान्तिपुर दैनिकबाट

अजय देवगनको सर्वाधिक सफल चलचित्र ‘गोलमाल अगेन’

नयाँ दिल्ली, कार्तिक १३ । ‘गोलमाल अगेन’ ले प्रदर्शनको दोस्रो सातामा पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यो फिल्म अजय देवगनको करिअरको सर्वाधिक सफल फिल्म सावित भएको छ । अक्टोबर २० मा रिलिज भएको फिल्मले लगातार सानदार प्रदर्शन गरिरहेको छ। बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, फिल्मले सुरुका नौ दिनमा १ सय ५३ करोड भारु कमाइ गरेको छ । भारत बाहिर पनि ‘गोलमाल अगेन’ ले राम्रो व्यापार गरेको देखिएको छ । शनिबारसम्ममा बाहिरबाट ३४ करोड ९३ लाख भारु कमाएको छ । यस हिसाबले फिल्मको कुल कमाइ १ सय ८८ करोड ८७ लाख पुगिसकेको छ । यो साता कुनै ठूलो फिल्म रिलिज नभएको फाइदा ‘गोलमाल अगेन’ ले लिने देखिएको छ । अर्थात् यो फिल्म छिटै २ सय करोड क्लबमा सामेल हुनेछ। ‘गोलमाल अगेन’ लाई करिब ३ हजार ५ सय स्क्रिनमा रिलिज गरिएको थियो । फिल्मको बजेट १ सय करोड भारु रहेको बताइएको छ । जसमा ८० करोड निर्माण लागत र २० करोड प्रमोसन खर्च थियो । रोहित शेट्टीले अजय देवगनलाई लिएर ‘गोलमाल’ सिरिजको चार भाग बनाइसकेका छन् । चौथो भागको सफलतासँगै यसको पाँचौं भाग ल्याउन फिल्मको टिम हौसिएको छ। एजेन्सी

अस्पतालको फोहोरले महामारीको खतरा

कैलाली, कात्तिक १३ । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालले फोहोर व्यवस्थापन नगर्दा महामारी फैलने खतरा बढेको छ । समयमै फोहोर व्यवस्थापन नहुँदा महामारी फैलने खतरा बढेको हो । अस्पतालबाट निस्कने फोहोरको समयमै व्यवस्थापन नगरिदा अस्पताल परिसरमा दुर्गन्ध समेत फैलिएको छ । औषधीजन्य तथा अन्य वस्तुबाट हुने फोहोरको व्यवस्थापनमा अस्पताल प्रशासनले चाँसो नदिदाँ त्यस क्षेत्र वरिपरिको वातावरण दुर्गन्धीत बनेको छ । अस्पतालबाट निस्किने सम्पूर्ण फोहोर अस्पताल नजिकै खुला रुपमा जलाउँदा त्यस वरिपरिका बासिन्दालाई पनि समस्या भएको छ । अस्पताल आसपासमा विभिन्न सरकारी कार्यालयदेखि स्थानीय बासिन्दाका घर रहेका छन् । तर, पनि अस्पतालले भने स्थानीयको समस्यामा ध्यान दिएको छैन । अस्पालबाट निस्किने फोहोरले गर्दा दैनिक हुने कार्यमा समस्या भइरहेको अस्पताल नजिकै रहेको सुदूरपश्चिमाञ्चल मेडिकल स्टोरका निमिक्त प्रमुख लक्ष्मीप्रशाद श्रेष्ठले बताए । दैनिक कार्य मात्रै प्रभावित नभई अस्पताल नजिकै रहेका कार्यालय तथा स्थानीयले फोहोरको गन्धका कारण झ्याल ढोका नै बन्द गरेर काम गर्नु पर्ने बाध्यता छ । पटकपटक अस्पताल प्रशासनलाई अन्तै लगेर फोहोर जलाउन आग्रह गरे पनि समस्याको कुनै सुनुवाई नभएको उनको गुनासो छ । प्रदेश नं.–७ का सबै जसो जिल्लाका विरामी यहि अस्पतालमा उपचारका लागि आउने गर्दछन् । तर, अस्पताल भने अव्यवस्थित तथा दुर्गन्धीत छ । अझ भन्नुपर्दा अस्पतालमा आएका स्वस्थ व्यक्तिलाई पनि विरामी बनाउने वातावरण छ । अस्पतालको यस्तो अवस्था देखिएपछि विरामी तथा उनका आफन्तले अस्पताललाई व्यवस्थित र सफा सुग्घर बनाइ राख्न आफन्तको पोष्टमार्टम गर्न अस्पताल आउनुभएका दिपक जाब्लीले आग्रह गरे । अस्पतालले भने विगतमा उपमहानगरपालिकाले फोहोर उठाउदै आएको तर सात महिना देखि नउठाउदा यस्तो समस्या भएको बताउछ । बेला बेला पत्राचार गरेर आग्रह गर्दा पनि समस्या समाधान गर्न उपमहानगरपालिका कार्यालयले अहिले सहयोग नगरेको अस्पतालका फोहोर व्यवस्थापन इन्चार्ज समेत रहेकी यशोदा ढकालले बताइन् । उप–महानगरपालिका कार्यालयले गत वैशाखसम्म फोहोर उठाएको थियो । तर, अहिले भने ठाउ अभावमा अस्पतालको फोहोर उठाउन नसकिएको बताउछ । उप–महानगरपालिकाले अस्पातलको फोहोर उठाउने जिमा नलिएको भए पनि सहयोगका हिसावले अहिलेसम्म उठाउदै आएको बताइएको छ । अस्पातलको फोहोर अन्यभन्दा जोखिम हुने गर्दछ । त्यहिमाथि अस्पातलले फोहोरको विभाजन नगर्दा फोहोर उठाउन समस्या भइरहेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले बताए । समय मै फोहोर व्यवस्थापन नगर्दा संक्रामक रोग फैलीने खतरा बढेको छ । तर, कुनै पनि निकायले पनि यसको समाधानमा चासो नदिदा महामारि फैलिने जोखिम बढेको छ । अस्पतालको फोहोर जलाउने इन्सीलेटर पनि प्रयोग विहिन छ । जसले गर्दा, झनै संक्रामक रोगहरुको खतरा बढेको छ । त्यसैले समयमै अस्पताल प्रशासन र सम्बन्धीत निकायले फोहोर व्यवस्थापनबारे चनाखो हुन जरुरी रहेको विरामी तथा उनका आफन्तको आग्रह छ ।

गुल्मीमा वाम गठबन्धन कांग्रेस भन्दा २२ हजार मतले अगाडी

प्रेम सुनार/ गुल्मी, कात्तिक १२ । ५ नम्वर प्रदेश अन्तरगतको गुल्मीमा प्रतिनिधी सभा र प्रदेशसभाका लागि हुन गई रहेको निर्वाचनमा कुन कुन पाटीको को को नेताले जित्ने हुन भन्ने चर्चा चुलिदै गएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन हुँदा पनि १२ स्थानिय निकाय मध्ये ७ स्थानिय निकाय नेकपा एमालेले एक्लैले जितेको थियो । २०५१ देखि लगातार लालकिल्लाका रुपमा स्थापित यस जिल्लालाई २०७० को संविधान सभा चुनावमा आएर क्षेत्र नम्वर २ मा कांग्रेस नेता चन्द्र भण्डारी र र क्षेत्र नम्वर १ मा कृष्ण छन्त्यालले जितेर लालकिल्ला भङ्ग गरी कांग्रेसको विरासत फर्काएका थिए । क्षेत्र नम्वर ३ मा मात्र नेकपा एमालेका नेता गोकर्ण विष्टले जितेका थिए । अहिले दुई वटा मात्रै क्षेत्र र चार वटा प्रदेश बनेका छन् । २०७० मा गुमेको मत स्थानिय तहको निर्वाचनमा आएर नेकपा एमालेले पनि बडायो र माओवादी केन्द्रले पनि आफ्ना मतदाता फर्कायो । तिनै मत आगमी निर्वाचनमा पनि अथावत रह्यो भने नेपाली कांग्रेस र अन्य साना दल भन्दा वाम गठबन्धन २२ हजार भन्दा बडि मतले अगाडी देखिएको छ । स्थानिय तहको निर्वाचनमा चार वटै प्रदेशमा खसेको मत संख्या जोड्दा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन २२ हजार २ सय १४ मतले अगाडी छ । जिल्लामा मतका आधारमा २०५१ साल देखि नै वामपन्थीहरु अगाडी छन् । ०५१ र ५६ सालमा गुल्मीका तीव वटै निर्वाचन क्षेत्र एमालले जितेको थियो । भने ०६४ सालको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र माओवादी र एउटा निर्वाचन क्षेत्र एमालेले जितेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । तर एमालेले एउटा मात्र निर्वाचन क्षेत्र जितेपनि मतको आधारमा वाम पन्थीहरु अगाडी नै थिए । यस्तो छ स्थानीय तहको मत कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६ समावेश गरि प्रदेश सभा १ निर्माण भएको छ । यो प्रदेशमा स्थानीय निकायको निर्वाचनको सदर मत ३५ हजार दुई सय ९१ हो । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात बाम गठबन्धनको २० हजार चार सय ६३, नेपाली काङ्ग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन काङ्ग्रेस भन्दा पाँच हजार सात सय ५८ मतले अगाडी रहेको छ । रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४ सम्म गरि प्रदेश सभा २ को निर्माण गरिएको छ । यस प्रदेश सभामा स्थानीय निकायको निर्वाचनमा ४५ हजार २६ कुल सदर मत रहेको छ । जसमध्ये बाम गठबन्धनले २२ हजार चार सय १६, नेपाली काङ्ग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए । प्रदेश नम्बर २ मा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा सात हजार दुई सय २२ मतले अगाडी देखिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नं १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका गरी प्रदेश सभा ३ निर्माण भएको छ । गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए । स्थानीय तह निर्वाचनमा यो प्रदेशको कुल सदर मत २८ हजार ५३ रहेको थियो । जसमध्ये बाम गठबन्धनले १५ हजार आठ सय ७७, नेपाली काङ्ग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेको नायव सुब्बा पाण्डेले बताए । यो प्रदेशमा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा तीन हजार आठ सय ६२ मतले अगाडी रहेको छ । गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ मा धुर्कोट, मदाने र मालिका गाउँपालिका रहेका छन् । स्थानीय निकायको निर्वाचन अनुसार यस सभामा ३२ हजार तीन सय ३८ मत सदर भएको छ । जसमध्ये एमाले र माओवादीको कुल मत २० हजार आठ सय ९५ र काङ्ग्रेसको ११ हजार तीन सय २३ रहेको छ । अन्य दलहरुले एक सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा गठबन्धन सबैभन्दा धेरै नौ हजार पाचँ सय ७२ मतले अगाडी रहेको छ ।यसरी स्थानिय तहको निर्वाचनमा चार वटै प्रदेशमा खसेको मत संख्या जोड्दा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन २२ हजार २ सय १४ मतले अगाडी छ । गुल्मीमा झण्डै दुई लाख मतदाता गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए । गएको स्थानीय निकाय चुनावमा गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् । प्रतिनिधिसभा सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ अनुसार गुल्मीमा दोस्रो चरण अन्तगरगत मंसिर २१ मा निर्वाचन हुन लागेको हो । जसका लागि कार्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै १७ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजूरी उपर जाँजबुझ गरी निर्णय गरी नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, पुन उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अनुगमन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिए । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय नजिकिएको छ । जसका कारण जिल्लामा चुनावी सरगर्मी बढ्दै जान थालेको छ । स्थानीय निकायको चुनावमा काङग्रेस माओवादीबिच भएको तालमेल अहिले एमाले माओवादी सहितका बिचमा भएको छ । यी हुन् वाम गठबन्धनका हस्ती गुल्मीको क्षेत्र नम्वर १ र २ को प्रतिनिधी सभामा क्रमशः नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टले उमेदवारी पाउने भएका छन् । ज्ञवालीका प्रतिष्पर्धी कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी रहेका छन् । त्यस्तै विष्टका प्रतिष्पर्धी कांग्रेस महासमिति सदस्य चन्द्र केसी हुने चर्चा छ । त्यस्तै प्रदेश सभाको १ मा माओवादी केन्द्रका नेता तथा पुर्व सांसद सुदर्शन बराल र सोही पार्टीका अर्का नेता युवाराज केसीको नाम चर्चामा छ । प्रदेश सभा २ मा नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठ सर्वसम्मत भएका छन् । ३ नम्वर प्रदेशमा एमाले नेता खड्ग केसीले उमेदवारी पाउने बताईएको छ । ४ नम्वर प्रदेशमा माओवादी केन्द्रका नेताद्धयः दिनेश पन्थी र बुद्धि जिसीको नाम चर्चामा छ । प्रदेश सभाको उमेदवारीमा कांग्रेसबाट धेरैको नाम चर्चामा भए पनि एकिन हुन सकेको छैन् । अन्य दलहरुबाट पनि धेरैको नाम चर्चामा भए पनि टुङ्गो लागेको छैन् ।

प्रहरीले पत्र काटेपछि दरबारमार्गका व्यवसायी ‘फरार’ !

काठमाडौं, कात्तिक १२ । लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरु सम्पर्कमा आएका छैनन् । ‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’परिसरका डिएसपी बेलबहादुर पाण्डेले भने, ‘तर व्यवसायी फरार छन् ।’ उनका अनुसार ब्यवसायीहरु पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । व्यवसायी फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ । आपूर्ति ब्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौं १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरिएको थियो । यता दरबारमार्ग क्षेत्रका ब्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरु फरार नभएको दावी गरे । उनले प्रहरीले भन्नेवित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए । -कान्तिपुर दैनिकबाट

सय दिन नपुग्दै जनप्रतिनिधीहरुले दिए ५६ जना विपन्नलाई रोजगार

तस्वीर: मुसिकोट पौदी अमराई सडक खण्डको श्रृंगामा काम गर्दै उनै लेन्थ वर्करहरु ‘मासिक १० हजारका दरले तलब पाउने भएपछि अब त सजिलै छोराछोरी पाल्ने भएँ’–वडा नं.१, अरेवा गाउँकी विपन्न महिला पार्वती विकले भनिन– ‘श्रीमान लफङ्गिएर हिँडेर असाध्यै दुःख पाएकी थिएँ, जागिर दिए उनीहरुको जय होस् ।’ उनीसँगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरुमध्ये अधिकांश दलित, अति सीमान्तकृत कुमाल, जनजाति र अति विपन्न अन्य समुदायका छन् । सन्ध्या बस्नेत गुल्मी, कार्तिक १० । गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुग्दै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन्। प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । ‘मासिक १० हजारका दरले तलब पाउने भएपछि अब त सजिलै छोराछोरी पाल्ने भएँ’–वडा नं.१, अरेवा गाउँकी विपन्न महिला पार्वती विकले भनिन– ‘श्रीमान लफङ्गिएर हिँडेर असाध्यै दुःख पाएकी थिएँ, जागिर दिए उनीहरुको जय होस् ।’ उनीसँगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरुमध्ये अधिकांश दलित, अति सीमान्तकृत कुमाल, जनजाति र अति विपन्न अन्य समुदायका छन् । नगर कार्यसमिति सदस्य प्रकाश काफ्लेले एकजना महिला, गरीब विपन्नलाई एउटामात्रै सीप प्रदान गरेर आत्मनिर्भर बनाउन लागिएको जानकारी दिए । ‘गरीब वेरोजगार छु भन्नु हुन्छ भने आउनुहोस् नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनुहुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही सीपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मनिर्भर बनाउने छौं ।’ उनीहरुले कार्यभार सम्हालेदेखि मुसिकोटका सवै सडक सुचारु छन् । मेयर सापकोटाले पहिलो प्राथामिकता गरीब विपन्नको उत्थानमा रहेको बताए भने– ‘हामी गरीब विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं, उनीहरुलाई अबको केही वर्षभित्रैमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।’ नगर कार्यसमिति सदस्य प्रकाश काफ्लेले एकजना महिला, गरीब विपन्नलाई एउटामात्रै सीप प्रदान गरेर आत्मनिर्भर बनाउन लागिएको जानकारी दिए । ‘गरीब वेरोजगार छु भन्नु हुन्छ भने आउनुहोस् नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनुहुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही सीपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मनिर्भर बनाउने छौं ।’ उनका अनुसार व्यवसायिक कृषिखेती, सिलाई बुनाई, मुसिकोट नगरपालिकाभित्र आवश्यक सबै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।  

राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर

 काठमाडौँ, कार्तिक ११ । नेपाल राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर-

एकताको सन्देश प्रभावकारी बनाउन प्रचण्ड र ओलीको विशेष निर्देशन

काठमाडौं, कात्तिक ११ ।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन् । एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्‍याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ ।  एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन् । १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला अभियान पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन सकिएलगत्तै २६ कात्तिकसम्म अभियान सञ्चालन हुने विशेष निर्देशनमा उल्लेख छ । अभियानमा ओली र प्रचण्डसहितका विभिन्न नेताहरूको सहभागिता र सम्बोधन हुने उल्लेख छ । दुवै पार्टीका नेताको केन्द्रदेखि जिल्लासम्म संयुक्त सम्बोधन विशेष निर्देशनमा केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्यहरूले दुवै पार्टीको केन्द्रीय तहका बैठकमा सम्बोधन गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, एकता समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यले प्रदेश र जिल्लास्तरीय बैठकमा अनिवार्य रूपमा संयुक्त सम्बोधन गर्नुपर्ने भनिएको छ । भ्रम चिर्न जिल्लामा संयुक्त भेला एकता र तालमेलको महत्व र भ्रम चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । ‘पार्टी एकता र चुनावी तालमेलको महत्व तथा यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला आयोजना गर्ने,’ विशेष निर्देशनमा उल्लेख छ । लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न चुनौती ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रका लागि प्रतिस्पर्धामा उत्रिन चुनौती पनि दिएका छन् । ‘हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्ता लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिस्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन्,’ विशेष निर्देशनमा भनिएको छ, ‘त्यसैले संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिस्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एवं आमजनतालाई अपिल गर्छौँ ।’

वैद्यको विशेष पत्रकार सम्मेलन

काठमाडौं, असोज २९ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आज विषेश पत्रकार सम्मेलन गर्ने भएको छ । अघिल्लो साता सम्पन्न पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले पारित गरेका नयाँ नीति तथा सिद्धान्तहरु सार्वजनिक गर्न विषेश पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । उक्त सम्मेलनले यसअघि पार्टीको सर्वोच्च पद अध्यक्षलाई परिवर्तन गरी महासचिव बनाउने निणर्य गरे थियो । त्यही अनुरुप अहिले मोहन वैद्य पार्टीको महासचिव भएका छन । महासचिव मोहन वैद्य ‘किरण’लगायतका नेताहरुको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा सम्पन्न राष्ट्रिय सम्मेलन, आगामी निर्वाचन र उम्मेदवारीलगायतका विषयमा जानकारी गराइने नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।

कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’

काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक मन्त्रीको कुर्सीमा आसीन भएका हुन् । राष्ट्रपति भण्डारीले थापासँगै अन्य तीनजनालाई मन्त्रीको सपथ दिलाएकी छन् । राप्रपा सांसदत्रय जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले मन्त्रीको सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाबाट थापालाई उपप्रधानन्त्री, चन्द, गिरी र विक्रमबहादुर थापालाई मन्त्री र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन । थापाको ‘मुसा प्रवृत्ति’ देउवा पहिलोपटक प्रधानमन्त्री भएको वेला थापाले कानुन, न्याय, तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्री बन्ने यात्रा सुरु गरेका थिए । थापाले विगतमा आफू मन्त्री भएकै वेला संसद्मा पुगेर आफ्नो प्रधानमन्त्रीविरुद्ध मतदानसमेत गरेका छन् । थापा १८ असोज ०५४ मा राप्रपा–एमाले गठबन्धन बनेर प्रधानमन्त्री बनेका आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । तर, चन्द नेतृत्वको सरकारविरुद्ध राप्रपाकै सूर्यबहादुर थापा समूहले कांग्रेसको समर्थनमा अविश्वास प्रस्ताव पेस ग¥यो । कांग्रेसले सूर्यबहादुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमति जनाएको थियो । थापाले प्रधानमन्त्री चन्दविरुद्ध मत हाले । आफ्नै मन्त्रीले आफूविरुद्ध संसद्मा मत हालेपछि चन्दले संसद्लाई सम्बोधन गर्दै ‘मुसा प्रवृत्ति’ को कुरा उठाएका थिए । थापाको सत्ता यात्रा १) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री २) लोकेन्द्रबहादुर भन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री ३) सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र र कृषिमन्त्री ४) सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री ५) सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री ६) तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री ७) केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री ८) पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री ९) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त  -नयाँ पत्रिकाबाट

हवाई टिकटमा व्यापक अनियमितता

बाजुरा, असोज २० । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु.तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ । कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् । हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको पत्रकार अनिल शाहीले बताउनुभयो । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ । आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ । महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित हुँदा थप सास्ती भोग्न बाध्य छन् । चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनुपर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् ।