पुन धौलागिरिमा निर्वाचित एक्ली महिला

म्याग्दी, मंसिर २७ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बनेकी छन् ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी भएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ली सांसद बनेकी हुन ।

दस हजार ८६८ मत प्राप्त गरेर विजयी भएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतान्तरले पराजित गरेकी हुन । धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७७४ मत खसेकामा काँग्रेसका उम्मेदवार फगामीले सात हजार ९९० मत प्राप्त गरे ।

प्रदेश नं ४ मा पर्ने धौलागिरिमा प्रत्यक्षतर्फ पुनसहित दुईजना मात्र महिला उम्मेदवार बनेका थिए । बागलुङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सूर्य पाठकसँग पराजित भइन् ।

दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी ४७ वर्षीय पुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेका । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गरेकी पुन म्याग्दीको शिक्षित र अगुवा महिला मानिन्छि ।

उनी विसं २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिं पुन र २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेलसँग पराजित भएकी थिइन । एमालेका पूर्वजिल्ला उपसचिवसमेत भइसकेकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन ।

प्रदेश (क) मा वाम गठबन्धनका रेग्मी निर्वाचित

  दैलेख, मंसिर २३ । प्रतिनिधिसभा १, प्रदेशसभा (क) मा वाम गठबन्धन अन्तर्गत नेकपा माओवादीका धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिनुभयो ।

यी हुन कांग्रेसको लज्जाष्पद हारका मुख्य कारणहरु

मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको हविगत किन यस्तो भयो ? ‘०४८ सालदेखि नै कम्युनिस्ट मत बढ्दै थियो, ०५६ मा एमाले नफुटेको भए त्यतिबेलै बहुमत ल्याउँथ्यो,’ प्राध्यापक कृष्ण खनालले भने, ‘अहिले एमाले र माओवादीबीच गठबन्धनको कुरा मात्रै भएन, एकता नै हुने भनियो, जसले कम्युनिस्ट जनमतमा निकै उत्साह ल्यायो । मत क्रस भएन ।’ वाम गठबन्धनलाई चुनौती दिने कार्यक्रम र रणनीतिमा कांग्रेस असफल भएको उनको बुझाइ छ । ‘कांग्रेसले कहिल्यै वैचारिक फाइदा लिन सकेन । कम्युनिस्टहरूको विभाजन र कलहको मात्रै फाइदा लिँदै आएको हो, त्यो अवस्था अहिले भएन,’ खनालको विश्लेषण छ, ‘जसरी विचार र आस्थाका आधारमा कम्युनिस्ट गठबन्धन बन्यो, त्यसरी नै कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउनुपथ्र्यो । एउटा राप्रपालाई लिएर लोकतन्त्रवादी भइन्छ ?’ कांग्रेस नेतृत्वमा सरकार बने पनि आम जनताको भावनाअनुसारको प्रतिष्ठा बनाउन नसक्नुलाई महतले अर्को मुख्य कारण मानेका छन् प्रारम्भिक नतिजालाई लिएर कांग्रेसभित्रै नेतृत्वको आलोचना भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी यो स्थितिमा कसरी पुग्यो ?’ उनले कान्तिपुरसँग भने, ‘यसको गम्भीर समीक्षा हुनुपर्छ ।’ तर पार्टी सभापति देउवा र उनी निकट नेताहरू एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई मुख्य आधार ठान्दै अन्य कारण खोल्न चाहँदैनन् । पौडेल समूह र देउवाइतरका अन्य नेताहरूले भने चुनावी परिणामलाई नेतृत्वको असफलतासँग जोडेर हेर्न थालेका छन् । नेता रामशरण महत कांग्रेस यो स्थितिमा आइपुग्नुमा मुख्य तीन कारण देख्छन् । वाम गठबन्धन पहिलो कारण भए पनि पार्टी नेतृत्वको तदर्थवादी कार्यशैली र सरकारको नकारात्मक प्रतिष्ठाले कांग्रेसप्रतिको आकर्षण घटेको उनको मूल्यांकन छ । ‘वाम गठबन्धन बन्दैमा भोटमा असर पर्दैन भन्ने हामीलाई लागेको थियो, तर त्यसो भएन । मनोवैज्ञानिक असर प्रमुख रूपमा परेको देखियो,’ उनले भने, ‘तर यो नतिजा पार्टी नेतृत्वको असफलता पनि हो ।’ कांग्रेस नेतृत्वमा सरकार बने पनि आम जनताको भावनाअनुसारको प्रतिष्ठा बनाउन नसक्नुलाई महतले अर्को मुख्य कारण मानेका छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, प्रहरी नायब महानिरीक्षक प्रकरणजस्ता अलोकप्रिय निर्णयलगायतले जनमानसमा सरकारको छवि राम्रो बनेको थिएन । ‘यस्तो नतिजा आउनुको नैतिक जिम्मेवार हामी केन्द्रीय नेताहरू सबै होऔंला, तर पार्टी र सत्ताको नेतृत्वमा बसेका नेताले नै प्रमुख जिम्मेवारी लिनुपर्छ ।’ राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको विश्लेषण पनि महतको जस्तै छ । ‘कांग्रेस यो निर्वाचनमा खस्कन्छ भन्ने त थियो नै, तर यति तल आउँला भन्ने चिताएको थिइनँ,’ आचार्यले भने, ‘कांग्रेसले नीति र संगठनबारे गम्भीर समीक्षा गर्नुपर्छ ।’ उनी पनि कांग्रेस नेतृत्वको सरकारले जनभावनाअनुसारको निर्णय गर्न नसक्नुलाई कमजोरी ठान्छन् । भारतले लगाएको नाकाबन्दीमा कांग्रेस रक्षात्मक स्थितिमा बस्नुले पनि भोट घटाएको उनको तर्क छ । ‘संविधान संशोधन, नाकाबन्दी, तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगलगायत कारणले पनि कांग्रेसलाई कमजोर बनायो,’ उनले भने, ‘यसका साथै कांग्रेसको निर्वाचनमा जाने एजेन्डा पनि केही भएन ।’ कम्युनिस्ट सरकार बनेमा ‘अधिनायकवाद’ आउने भन्दै जनतालाई आफूतिर तान्न खोजे पनि त्यसलाई आम मतदाताले पत्याएनन् । कांग्रेसले वाम गठबन्धनविरुद्ध ‘अधिनायकवाद’ को मनोवैज्ञानिक प्रभाव प्रयासबाहेक केही एजेन्डा जनमानसमा लैजान सकेन । कम्युनिस्ट सरकार बनेमा ‘अधिनायकवाद’ आउने भन्दै जनतालाई आफूतिर तान्न खोजे पनि त्यसलाई आम मतदाताले पत्याएनन् । अर्का विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘अधिनाकवाद भन्नेबाहेक कांग्रेसले अरू एजेन्डा ल्याउनै सकेन, जसलाई आम जनताले पत्याएनन्, नेपालका कम्युनिस्ट पार्टीहरू लोकतान्त्रिक अभ्यास गरेर आएका थिए ।’ कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड चुनावी परिणामबारे प्रतिक्रिया दिन नै हच्किए । समानुपातिक सूचीमा बसेर निर्वाचन परिचालनको जिम्मेवारी लिएका खाँडले कांग्रेसले प्रत्यक्षतर्फ ८० सिट ल्याउने दाबी गर्दै आएका थिए । आफू राजधानीबाहिर रहेको भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए । उम्मेदवार चयनमा पनि कांग्रेसले अधिकांश पुरानै अनुहार छनोट गरेको थियो, जसले जनतामा आकर्षण बढाउन सकेन । सरकारसँगै पार्टी सञ्चालनमा सभापति देउवाको ‘तदर्थवादी’ शैलीले पनि ‘काम गरेको’ कांग्रेस नेताहरू बताउँछन् । देउवाले पार्टी सभापतिमा निर्वाचित भएको दुई वर्ष बित्दा पनि पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । ४२ वटा विभागहरू अहिलेसम्म गठन भएका छैनन् । पार्टीका संरचनाहरूले मात्रै पूर्णता पाएको भए झन्डै एक हजार जनाले जिम्मेवारी पाउँथे । ‘पार्टीलाई देउवाले आफ्नो सम्पत्तिजस्तो ठाने, आफ्नो अनुकूलताअनुसार मात्रै निर्णय लिने परम्पराले नै पार्टी कमजोर भयो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘संगठन नै कमजोर बनेपछि निर्वाचनमा कमजोर हुनु स्वाभाविक हो ।’ कांग्रेस नेता महतले पनि संकटका बेला पार्टी नेतृत्वले आम जनताको मनोविज्ञान बुझ्न नसक्दाकै परिणाम अहिले देखिएको बताए । निर्वाचनपछि को प्रधानमन्त्री बन्ने होड पार्टीमा देखिनुलाई उनले दु:खद ठाने । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतले प्रधानमन्त्रीको दाबी गर्दै मत मागेका थिए । एमाले अध्यक्ष केपी ओलीले देउवालाई अन्तिम प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेका बेला स्वयं देउवाले फेरि आफैं प्रधानमन्त्री बन्ने उद्घोष गरेका थिए । ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको उल्लेख गर्दै देउवाले आफू नै प्रधानमन्त्री बन्ने बताउँदै आएका थिए, जसलाई कांग्रेस कार्यकर्ताले अस्वाभाविक रूपमा लिएका थिए । पार्टी एकताको सन्देश दिन पौडेललाई भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने दबाब पौडेल पक्षीय नेताहरूले गरेका थिए, तर देउवाले मानेनन् । प्राध्यापक खनालकै शब्दमा कांग्रेस जति पराजित भए पनि नेताहरूले त्यसको पीडा महसुस गर्ने छैनन् । ‘कांग्रेस हारेकोमा होइन, आफूहरू कति समयसम्म सत्ताबाहिर बस्नुपर्ने हो भन्ने चिन्ता नेताहरूमा छ,’ खनालले भने, ‘गैरकम्युनिस्ट मत एकत्रित गर्न सकेको भए र मधेसको आधार जोगाउन सकेको भए कांग्रेस अहिले पनि बलियो हुन्थ्यो । त्यसलाई कांग्रेसले गुमायो ।’ कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेको रिपोर्ट साभार गरिएको

बैतडीमा वाम गठबन्धन ३४३ मतले अगाडि

बैतडी, मंसिर २१ । बैतडी वाम गठबन्धनका दामोदर भण्डारीले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका नरबहादुर चन्दलाई ३४३ मतले पछि पारेका छन् । भण्डारीले १८६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चन्दले १५२६ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश क मा वाम गठबन्धनकै प्रेमप्रकाश भट्टले ११८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी ८२३ पाएका छन् । त्यसैगरी, प्रदेश ख मा पनि वाम गठबन्धनका लिलाधर भट्टले १३२० र लोकतान्त्रित गठबन्धनका गणेश चन्द ११९५ मत प्राप्त गरेका छन् ।  

सल्यानको सामान्य घटनालाई अतिरञ्जित गरियो, एमालेसँग विवाद छैन– रमेश मल्ल

सल्यान, मंसिर २० । सामान्य विवादलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा आएका भ्रामक समाचारहरुप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । साथै मतदातालाई प्रभावित गर्न खोजिएको भन्दै त्यसकाे खण्डन गरेको छ । सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा माओवादी केन्द्रद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका कर्णबहादुर बुढाथोकी नेतृत्वकाे एक समूह र वाम गठबन्धनका कार्यकर्ताबीच मंगलबार साँझ सामान्य विवाद भएको घटनालाई विभिन्न सञ्चारमाध्यमले बढाइचढाइ गरी प्रकाशन एवं प्रचारण गरेकाे समाचार सतप्रतिशत झूठो र भ्रामक भएको माओवादी केन्द्रका नेता रमेश मल्लले एभरेष्टदैनिकलाई बताए । ‘मंगलबार साँझ माओवादीबाट अलग भएका बुढाथोकी नेतृत्वकाे स्वतन्त्र समूहका केही व्यक्ति र वाम गठबन्धनका कार्यकर्ताबीच सामान्य विवाद भएको हो ।’, नेता मल्लले भने, ‘मतदानको मुखमा मतदातालाई प्रभावित गर्न र भ्रम सृजना गर्ने उदेश्यले गरिएका प्रचारको हामी जोडदार रुपमा खण्डन गर्दछौं । र यस्ता प्रचारकाेपछि नलाग्न सबैलाई आग्रह गर्दछु ।’ सल्यानमा मात्रै नभएर देशभर माओवादी केन्द्र र नेकपा एमालेबीच कुनै विवाद र असझदारी नरहेकाे परिस्थितिमा हुँदै नभएको घटना र माओवादीबाट अलग रहेका बुढाथोकीलाई उधृत गर्दै आएका समाचार प्रति मल्लले गहिरो खेद व्यक्त गरे । केही सञ्चार माध्यममा मौन अवधिमा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको समाचार छ । उक्त स्थानमा सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए भनिएको छ । आक्रमणमा परि माओवादी केन्द्रका स्थानीय नेता जीवनबहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएको झूठो र भ्रामक समाचार छ ।

रुपन्देहीका सबै मतदान केन्द्रमा कर्मचारी पुग्न थाले

भैरहवा, मंसिर १९ । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भैरहवाको मतदान केन्द्रहरुमा निर्वाचन सामग्री सहित कर्मचारी पुग्न थालेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टेशनरी सामानलगायतका सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल अर्यालले जानकारी दिए । उनले मतपत्र सहितका महत्वपुर्ण निर्वाचन सामग्री मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको र त्यहाँबाट सुरक्षाकर्मीको रोहबरमा मतदान स्थलमा पठाइएको जानकारी दिए । ५ प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि २ सय ८ मतदानस्थल र ५ सय ९८ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४ हजार ७ सय ८४ कर्मचारी खटाइएको छ । १ उपमहानगरपालिका ५ नगरपालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।

बिग बोस शोबाटै विकास र शिल्पाको मित्रता गाँसियो

मंसिर १३ । बिग बोस एक यस्तो शो हो, जसको बारेमा तपाईंले पहिले नै कुनै कुरा सोच्न सक्दैन किनकी यहाँ सदस्यहरुको एकअर्कामा सम्बन्ध बन्ने र बिग्रन् गरेका हुन्छ । दर्शक यस कुरालाई केही सोच्न सक्दैन कि आउने कुनै एपिसोडमा उनलाई कस्तो सरप्राइज दिइन्छ । घरभित्र कोही व्यक्ति मित्र त कोही दुश्मन बन्न थाल्छ । यो वास्तविक शोको ११ औं सिजनको सुरुवातमा दुश्मनको नजरमा आएकी शिल्पा शिंदे र विकास गुप्ता अहिले राम्रो साथी बनिसकेका छन् । भाउजूको घरलाई लिएर शिल्पा र विकासबीच दुश्मन रहेको थियो । पहिलो दिनदेखि नै दुईजना लडिरहेकै हुन्थ्यो । अब दुईजनाबीच राम्रो मित्रता गाँसिसकेको छ । शोमा उनको ब्याण्ड धरै बलियो हुँदै गइरहेको छ । यसैकारण दुईजना घरभित्र बिहे गर्न सक्दछन् । हो, तपाईं सही सुन्नुभयो । यसअघि तपाईंले के सोच्नुहुन्छ त्योभन्दा अघि हामी नै बताउँछु कि यस्तो एउटा टास्कमा हुनेवाला छ जुन सत्य होइन । विकास गुप्ताको नजिकको सुत्रले बलिउड लाइफको यो कुराको जानकारी दिएको छ ।

नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

कावासोती,मंसिर १३ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ । नवलपुर प्रहरी प्रमुख दिपेद्र जीसीका अनुसार दुई पक्षबीच झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा गस्ती गरेको थियो । आक्रमणको दोष दुबै पक्षले एकअर्कालाई दिएका छन्

शीर्षस्थलाई ‘स्विङ भोटर’ ले हैरानी

इलाम,मंसिर १३ । इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको बाहुल्य रहेको यो जिल्लामा हाल उदाएका चलायमान नयाँ पुस्ता दलहरूका लागि साझा टाउको दुखाइ बन्न पुगेका छन्। २०४८ यता एकपल्ट झिनो अन्तरले बाहेक सधैं जित्दै आएका एमाले उम्मेदवार झलनाथ खनाल र २०५६ यता एकछत्र चलाउँदै आएका सुवास नेम्बाङका अघिल्तिर बदलिँदै गएका स्थानीयको मनोभाव चुनावी सफलताका चुनौती ठानिएको छ। संघ र प्रदेश चुनावका लागि मिश्रित चिह्नमा मतदान हुन सक्ने डर एमाले-कांग्रेसलाई छ। अनि कतिपय युवाले भर्खरै खुलेका वैकल्पिक पार्टीलाई समानुपातिकतर्फ मतदान गर्ने भनी खुलेरै व्यक्त गर्ने विचारहरू उनीहरूको प्रचार अभियानमा असर पुर्‍याउन सफल देखिन्छन्। ‘नयाँ पुस्ताका भाइबहिनीहरू नयाँनयाँ पार्टीतिर आकर्षित देखिन्छन्, प्रत्यक्षमा बलियो उम्मेदवार नभएकाले समानुपातिकमा भए पनि भोट हाल्ने तिनको विचार खुलस्त भन्छन्’, शान्तिपुरका महेश लेप्चा भन्छन्, ‘पुरानै अनुहार कत्ति हेरिरहने भन्ने तिनीहरूलाई परेको देखिन्छ।’ केन्द्रमा प्रभावशाली, तर जिल्ला ‘उपेक्षित’ पूर्वप्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष खनालसँग एमाले पार्टी निर्माण, जनआन्दोलन सफलताको लागि निर्णायक भूमिका, शान्ति प्रक्रियामा सहजीकरणको जस छ। एमाले संसदीय दलका उपनेता नेम्बाङलाई जनआन्दोलन २०६२ को केन्द्रीय परिचालन समितिमा रहेको, संविधानसभा अध्यक्षका रूपमा संविधान निर्माणको नेतृत्व गरेको ख्याति छ। यिनै विरासतका कारण आजपर्यन्त राष्ट्रिय राजनीतिमा प्रभावशाली यिनलाई स्थानीय क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्न नसकेको आरोप बराबरी लाग्दै आएको छ। उनीहरूका प्रतिस्पर्धी उम्मेदवारले यही ‘कमजोरी’ लाई जोडतोडका साथ चुनाव प्रचारक्रममा उठाइरहेका छन्। खनालविरुद्ध कांग्रेसका उम्मेदवार भूपेन्द्र कट्टेल भन्छन्, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो जिम्मेवार पदमा पुगेर पनि उहाँले जिल्लाको विकासलाई उपेक्षा गर्नुभयो, अब म संसद्मा गएर पूरा गर्छु।’ खनाल भने विपक्षीको यो आरोप सरासर प्रतिवाद गर्छन्। यसबीच जनताका आकांक्षामा पर्याप्त बदलाव आएको स्विकारे पनि उनले जिल्लाको विकासलाई लिएर जनतामा कुनै असन्तुष्टि नरहेको दाबी गरे। ‘इलाममा पूर्वाधार विकास, शिक्षा, स्वास्थलगायत क्षेत्रमा हामीले जे गरेका छौं जनता सन्तुष्ट छन्। मलाई चाहिएजस्तै जनता पाएको छु, जनताले उनीहरूलाई चाहिएजस्तो नेता पाएका छन्,’ खनालले भने, ‘त्यसैले जनताको माया पटक-पटक मैलाई छ। यो रहिरहन्छ।’ पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई वाम गठबन्धनको पुट हुँदा हुँदै पनि विगतका निरन्तर जितका बीच जिल्लालाई उपेक्षा गरेको आरोप लागिरहेको छ। यता संविधान निर्माण आफ्नो नेतृत्वमा सफल भएको भन्दै संविधानसभा अध्यक्ष नेम्बाङ अब त्यसको सफल कार्यान्वयनमा फेरि सघाउन आग्रह गर्र्दैछन्। ‘संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनको नेतृत्व चाहिएको छ,’ पूर्वसभामुख नेम्बाङले मतदातासामु भने, ‘राष्ट्रियता र विकास दुवैको ग्यारेन्टी वाम नेतृत्वबाट मात्रै सम्भव छ। त्यसकारण भोट हामीलाई।’ उनले नयाँ पार्टी र अनुहार देखापरे पनि जनताको विगतदेखिको विश्वासलाई तिनले फरक नपर्ने, उल्टै वाम गठबन्धनका कारण दोहोरो अन्तरको जित सुनिश्चित हुने दाबी गरे। नेम्बाङले यसो भन्दै गर्दा उनका कांग्रेस प्रतिस्पर्धी केशव थापा आफूलाई विकासप्रेमी उम्मेदवारका रूपमा अघि सार्दैछन्। इलामे जनताले परिवर्तन चाहेको भन्दै उनले सधैं एउटै प्रयोग काम नलाग्ने तर्क दिए। ‘पूर्वपश्चिम राजमार्गदेखि एक किमि उत्तर आउँदा दक्षिणी इलाम दुर्गम र अँध्यारो छ, त्यसैले जनताको सुख र विकासका लागि अब हामीलाई भोट,’ उनले भने, ‘जनताले नेम्बाङबाट सपना मात्र पाए विकास पाएनन्, नेम्बाङकै कारण सुकिलुम्बा विमानस्थल, कोल्डस्टोर, गैंडे महमाई सडक अलपत्र भएका हुन्।’ उनले स्विङ भोटरहरूको संख्या बढ्दै गए पनि मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने प्रस्ट्याए। विकास भएन, विकास भयो नेम्बाङले भने इलामको दुर्गम भेगमा आफ्नो एक्लो प्रयासबाट पूर्वाधार निर्माणमा छलाङ मारेको दाबी गरेका छन्। उनले २०५६ सालमा उम्मेदवार बन्दा क्षेत्रमा विद्युत्को एउटा बल्ब पनि नझुन्डिएको, एक किलोमिटर राम्रो बाटो नभएको, पक्की पुल नभएको र एक लाइन टेलिफोनसमेत नभएको भन्दै आफ्नो नेतृत्वपछिका परिवर्तन हेर्न चुनौती दिए। ‘मैले चुनाव जित्नुअघि कांग्रेसकै नेतृत्व थियो, त्यसबेला केही भएन,’ उनले भने, ‘यो बीचमा भएका परिवर्तनका लागि हामीले उचित मूल्यांकन पाउनुपर्छ। बाँकी पहलहरू भइरहेका छन्, त्यसका लागि हाम्रो प्रयास जारी छ।’ नेम्बाङले यसो भन्दाभन्दै पनि थापाले पक्की सडक, बिजुली, सञ्चार, शिक्षा, स्वास्थलगायत क्षेत्रमा नेम्बाङले केही नगरेको दाबी गर्दै आफूलाई एकपल्ट जिताएर हेर्न मतदातासामु बिन्ती गरे। पहिलो संविधानसभा चुनावमा थापा नेम्बाङसँग ३७ सय भोटले पराजित रहे। दोस्रो चुनावमा थापा क्षेत्र ३ जाँदै गर्दा अर्का उम्मेदवार भेषराज आचार्यले मतान्तर खुम्च्याएर १२ सयमा झारे। तीन क्षेत्रमध्ये नयाँ संरचनामा थपिएका गाउँपालिका र नगरपालिकाका कारण अब कांग्रेस पहिलेभन्दा सुविधाजनक ढंगले जित्नेमा ढुक्क छ। खनाललाई पनि यत्तिकै सुख कहाँ छ र ! सिमानाका समस्या बारेमा चासो नदिएको, पशुपतिनगरमा अध्यागमन बनाउने आश्वासन पूरा नगरेको, गाउँको सडक बनाउने आश्वासन पूरा नगरेकोजस्ता स्थानीयको आक्रोश खेप्दै हिँडेका छन्, उनी। सूर्योदय नगरपालिका ११ माघेका नरेन्द्र भट्टराईले भने, ‘ घरमै आएर बाटो बनाइदिन्छु, सुख सुविधा दिन्छु भन्नुभएको थियो, तर काम भएन।’ पुरानो संरचनाको क्षेत्रका असन्तुष्टि झेल्दै हिँडेका यी शीर्षस्थ नेताहरूलाई स्थानीय तह पुनः संरचनापछि थपिएको माबु, प्याङ, नयाँबजारलगायत नयाँ गाउँले भने उत्साह थपिदिएका छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाल नयाँ क्षेत्रमा आएसँगै पार्टी प्रवेश तीव्र भएको छ। उनले भने, ‘नयाँ क्षेत्रमा त बेग्लै खालको उत्साह देखिएको छ।’ खनालसँग प्रतिप्रर्धामा रहेका कांग्रेसका भुपेन्द्र कट्टेललाई मतदाताले नचिनेको कारण पनि खनालले सहजै बाजी मार्ने कतिपयको अनुमान छ। तर पूर्वइलाममा लामो समयदेखि स्थानीय उम्मेदवारको माग रहेकाले कट्टेल त्यस क्षेत्रका दह्रो प्रतिस्पर्धी रहेको कांग्रेस नेता बेनुपराज प्रसाईंको विश्लेषण छ। प्रसार्इंले खनाललाई प्रतिनिधिसभा निर्वाचनमा पराजित गरेका थिए। उनले भने ‘कट्टेललाई जिताउन क्षेत्र नं १ का सबै कांग्रेस र मतदाता लागेका छन्, त्यसैले उनी दह्रा प्रतिप्रर्धी हुन्।’ स्थानीय चुनावको अनुभव स्थानीय तहको निर्वाचनपछि भने कांग्रेस निक्कै कमजोर देखिएको छ। पछिल्लो समयमा थपिएको सहित इलामको निर्वाचन क्षेत्र १ मा एक लाख एक हजार ६२ मतदाता छन्। स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रबाट एमालेले ३२ हजार एक सय ९७ मत प्राप्त गरेको थियो भने कांग्रेसले २४ हजार सात सय ६५ मत प्राप्त गरेको थियो। कांग्रेसले एमालेसँग भिड्दा पनि अहिलेको अवस्थामा सात हजार चार सय ३२ मत क्षतिपूर्ति गराउनुपर्र्नेछ। वाम एकताको कारण थपिएको चार हजार दुई सय ९० को कारण इलामको निर्वाचन क्षेत्र १ मा खनाल अहिले पनि ११ हजार सात सय २२ मतले अघि देखिएका छन्। नेम्बाङ र थापा चुनावी मैदानमा रहेको क्षेत्र २ मा पनि स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसबीच ठूलै मतान्तर देखिएको छ। अहिले एक लाख दुई हजार नौ सय ८४ मतदाता रहेको सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमालेले २९ हजार सात सय नौ र कांग्रेसले बागी उठेको उम्मेदवार सहितको मत जोड्दा २७ हजार आठ सय २४ मत प्राप्त गरेको थियो। यो क्षेत्रमा एमाले एक हजार आठ सय ८५ मतले अघि देखिन्छ। वाम गठबन्धनको मत एमालेमा आएमा अरू चार हजार चार सय ८० मत एमालेको पोल्टोमा पर्नेछ। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सानातिना पार्टी परिवर्तनले एमालको वर्चस्वलाई यसपटक कसैले चिर्न नसक्ने कतिपयको अनुमान छ। यद्यपि संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष देवेन्द्र राई र लिम्बूवानको जिल्ला नेतृत्व कांग्रेसमा प्रवेश गरेकाले जिल्लाभर कांग्रेसको प्रभाव कम नहुने फोरमका निवर्तमान सहसचिव राजकुमार राई बताउँछन्।

विस्तृत शान्तिसम्झौताको ११ वर्ष पुरा, : के थिए सम्झौताका मुख्य बुँदा ?

काठमाडौं, मंसिर ५ ।  सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । विस्तृत शान्तिसम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका सबै काममा खासै प्रगति भएको छैन । संविधान निर्माण प्रक्रियाको सञ्जालमा जेलिएको शान्तिप्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेन । द्वन्द्वपछिका सामाजिक पुनस्र्थापनाका लागि आवश्यक पूर्वाधारमा सुस्तता छ । राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत संक्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन । सम्झौताको मूल मर्मअनुसार मुलुकमा गणतन्त्रात्मक व्यवस्था लिपिबद्ध भएको छ । एकात्मक राज्य व्यवस्थालाई संविधानले संघीय संरचनामा बदलेको छ । तर, संघीय स्वरूपअनुसारका संरचना निर्माणमा भने ढिलाइ भइरहेको छ । तत्कालीन राजाको नाममा दर्ता भएको सम्पत्ति ट्रस्ट बनाइएको छ । शान्तिसम्झौतापछिका अवधिमा राज्यका निकाय, तह, संगठन र संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको आधार बनेको छ । संविधान निर्माणसँगै तीन तहका सरकारको कल्पना गरिएको थियो । जसमध्ये प्रदेश र संघको निर्वाचनको मिति १० र २१ मंसिरमा हुँदै छ । द्वन्द्वमा भत्किएका भौतिक संरचना अझै पुनर्निर्माण हुन सकेन १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचना अझै अलपत्र छन् । यसबीचमा १० वटा सरकार गठन भएका छन् । तर, भत्केका संरचनाको पुनर्निर्माण र मर्मतसम्भार हुन सकेको छैन । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार द्वन्द्वमा ३८ अर्ब ३३ करोड १२ लाख ५० हजार रुपैयाँका कुल १३ हजार ७७७ संरचनामा क्षति भएको थियो । जसमध्ये अहिलेसम्म १३ अर्ब ६९ करोड ८० लाख ४१ हजार रुपैयाँबराबरका ४३ सय ३५ संरचनाको काम सम्पन्न भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर रामाशीष यादवले बताए । अझै २४ अर्ब ६३ करोड ३२ लाख ९ हजार ४ सय ४२ आयोजना बनाउन बाँकी छ । द्वन्द्वपीडित परिवारलाई मात्रै १७ अर्ब  माओवादी द्वन्द्वसहित जनआन्दोलनसम्मका पीडित परिवारले अहिलेसम्म १७ अर्ब ८७ करोेड २८ लाख २५ हजार रुपैयाँ लिएका राहत तथा पुनस्र्थापना एकाइले जानकारी दिएको छ । यसरी राहत लिनेमा विभिन्न १७ शीर्षकमा परेका पीडित र पीडित परिवार रहेका छन् । जसमा द्वन्द्वमा मृत्यु भएका, बेपत्ता भएका, जनआन्दोलनमा मृत्यु भएका परिवारलाई राहत दिएको राहत तथा पुनस्र्थापना एकाइका अधिकृत पीतनाथ लुइँटेलले बताए । त्यसैगरी, विस्थापित भएकालाई आर्थिक सहायता, व्यक्तिगत सम्पत्ति क्षति भएकालाई आर्थिक सहायता, अपहरणमा परेका, जनआन्दोलनका घाइते र तिनका सन्तानलाई छात्रवृत्तिलगायत छन् । द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका प्रत्येक परिवारलाई १० लाख माओवादी द्वन्द्वमा १७ हजार ८८६ को मृत्यु र १७ सय ३० बेपत्ता गरी १९ हजार ६१६ जनाको मानवीय क्षति भएको थियो । ती दुवै खालका पीडित परिवारलाई राज्यले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत दिएको छ । तर, अहिलेसम्म मृत्यु भएकामध्ये १४ हजार ४१८ जनाका परिवारले मात्र राहत लिएका छन् । बेपत्ता भएका १७ सय ३० मध्ये १५ सय ३० जनाका परिवारले राहत लिएका छन् । राहत लिन नआएका पीडित परिवारले प्रमाण लिएर आएमा जुनसुकै समयमा पनि राहत पाउन सक्ने लुइँटेलले बताए । पुनर्निर्माणसँगै मर्मतसम्भारमा ढिलाइ  सरकारले माओवादी द्वन्द्व सुरु भएको १ फागुन ०५२ देखि विस्तृत शान्तिसम्झौता भएको ५ मंसिर ०६३ सम्म भत्किएका भौतिक संरचनाको मात्र पुनर्निर्माण तथा मर्मतसम्भार गर्दै आएको छ । तर, भत्किएका भौतिक संरचनाको पुनर्निर्माण भने निकै सुस्त छ । तत्कालीन विद्रोही माओवादीले सरकारी कार्यालयलाई तारो बनाउँदै आक्रमण गरेपछि धेरै भौतिक संरचनामा क्षति पुगेको हो । यस वर्ष ५० लाखभन्दा ठूला आयोजना केन्द्रबाट बनाइने सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँभन्दा धेरै लगानीका ठूला आयोजनाको पुनर्निर्माण शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत बन्ने उल्लेख गरेको छ । चालू आवमा १११ आयोजनाका लागि ७६ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर रामाशीष यादवले बताए । ५० लाखभन्दा साना खालका आयोजना सम्बन्धित स्थानीय तहले बनाउनेछन् । के थिए सम्झौताका मुख्य बुँदा ? -सशस्त्र लडाइँको औपचारिक अन्त्यको घोषणा -माओवादी सेना र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्र संघद्वारा प्रमाणीकरण र अनुगमन -माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पत्ति फिर्ता -मानवअधिकार र अन्तर्राष्ट्रिय मानवअधिकरसम्बन्धी कानुनहरूको पूर्ण पालना -राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य -उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन -माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनस्र्थापना -युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना -हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी

एसीसी यू-१९ क्रिकेटका सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं, कात्तिक ३० । एसीसी अण्डर नाईन्टिन एसिया कप क्रिकेटका सेमिफाइनल खेल आजबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले शुक्रबार हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ । समूह चरणमा बंगलादेशसँग हारेको नेपालले भारत र मलेसियालाई हराउँदै पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो । पाकिस्तान, श्रीलंका र युएई सम्मिलित उक्त समूहबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको थियो । उमेर समूहका हरेक प्रतियोगिताका उपाधि दावेदारहरु नेपाल र अफ्गानिस्तानबीचको शुक्रबार हुने खेललाई निकै चासोका साथ हेरिएको छ ।

विश्वकप छनोटको अन्तिम खेल आज हुँदै, एसियाबाट पाँच राष्ट्र छानिए

काठमाडौं, कात्तिक ३० । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । उता हिजो भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया पनि विश्वकपमा छनोट भएको छ । पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३-१ को जित हासिल गर्दै रुसको टिकट काटेको हो । यो सँगै विश्वकप फुटबलमा एसियाली समूहबाट ५ राष्ट्रले सहभागिता जनाउने भएका छन् । यसअघि ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

सिरहा जिससमा वाम गठबन्धनको समूह नै विजयी

लहान, कात्तिक २८ । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (एमाले)का सरोजकुमार यादव विजयी हुनुभएको छ । समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८÷१८ मत प्राप्त गर्नुभएको छ भने संयोजक पदका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजक पदका प्रतिस्पर्धी नेपाली काँग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका कृष्णमाया कामी, नेकपा (एमाले)बाट गीताकुमारी पासवान र नुरजहाँ खातुनले १८÷१८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँहरुका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी पुनातादेवी पासवान र रामप्यारी महतो कोइरीले १४÷१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । त्यस्तै, समितिका अन्य सदस्य पदमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साहले १८÷१८ मत ल्याइ विजयी हुनुभएको छ भने उहाँहरुका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका नागेन्द्रप्रसाद यादव र नेपाली काँग्रेसका सुरेन्द्र साहले चार–चार मत तथा फोरमका राजकुमार महतो र रामरतन कामतीले नौ–नौ मत प्राप्त गर्नुभयो साथै, दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना जिल्ला सभासद् सदस्यमध्ये ३३ जनाले मतदान गर्नुभएको थियो ।

संकटामा भक्तजनको घुइँचो

इभा राजवाहक काठमाडौं, कार्तिक २५ । न्यूरोड गेटमा रहेको संकटा मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेका छन् । कार्तिक महिनाको मंसिर कृष्ण अष्टमी भएकोले अाफ्नो सुख–शान्ति, ग्रह शान्ति, शनि, राहु, केतुको पुजा, होम पूजा गराउन अत्यन्त शुभ रहेकाले भक्तजनहरुको घुइँचो लागेको हो । अाज शनिबार कार्तिक महिनाको अन्तिम शनिबारको दिन सङ्कटामा भक्तजनको भीडमा साना साना बालबालिकाहरु अाफ्नो दिनभरिको गुजारा चलाउनका लागि बिहानको चिसोमा चामल तथा पैसा स‌ङ्कलन गरिरहेका छन् ।    

चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन : प्रम

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए । प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै प्राडा केसीलाई विश्वस्त हुन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा डा केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकोमा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेको बताइएको छ । डा केसीले शिक्षा मन्त्रालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबिबिएस परीक्षामा भएको चिट काण्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको जानकारी दिए । प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलिफोन गरी काउन्सिलबाट पत्र फिर्ता ल्याउन निर्देशनसमते दिएको भेटमा सहभागी डा अभिषेकराज सिंहले जानकारी दिए ।

हरिहर आश्रममा बालाचतुर्दशी मेला हुने

पोखरा, कात्तिक २३ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पोखरा–२० भलामस्थित हरिहर आश्रममा विगत जस्तै यस वर्ष पनि बालाचतुर्दशी मेला लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी भेगमा अवस्थित सो धार्मिक क्षेत्रमा मंसिर १ गते उक्त आश्रम परिसरमा मेलासँगै सत्बिज छर्ने कार्यक्रम रहेको हरिहर सेवा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विसं १९०६ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्टदेव हरिहर भगवान्को पूजा आराधना गर्नु र मन्दिर वरिपरिको वन गुलजार पार्नु भनी अदल तोकिएको सनदपत्रमा उल्लेख रहेको हरिहर गुफा सेवा समितिका सचिव गणेश खत्रीले बताए । उहाँका अनुसार पोखरा र आसपासका विभिन्न स्थानबाट मेलामा आउने भक्तजनको सुविधानका लागि समितिको पहलमा यातायात सुविधा, मन्दिर परिसरसम्म पुग्ने बाटो सरसफाइ, खानेपानी, स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । हरिहर सामुदायिक वन क्षेत्रभित्र लगभग ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो आश्रम परिसरमा हरिहर, पञ्चमुखी हनुमान, गणेश, अम्वरेश्वरलगायतका शिवालय स्थापना गरी परापूर्वकालदेखि नियमित पूजा आराधना हुँदै आएको छ । बालचतुर्दशी मेलामा प्रत्येक वर्ष १० हजारभन्दा बढी श्रद्धालु भक्तजन सद्बिज छर्न आउने गरेको र उहाँहरुले प्रदान गरेको दानबाटै ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै आएको मेला प्रचारप्रसार समितिका संयोजक रेशम खत्रीले जानकारी दिए । आश्रममा हाल ११ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् ।