नेपाललाई चौथो सफलता, ऐरीले लिए लगातार दोस्रो विकेट

काठमाडौं, फागुन २६ । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको चौथो विकेट पतन भएको छ ।

जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा १९४ रनमा अलआउट भयो।

अफगानिस्तानका मोहम्मद नाभीलाई दिपेन्द्रसिंह ऐरीको बलमा ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका हुन् । यसअघि तेस्रो विकेट पनि दिपेन्द्रसिंह ऐरीले नै लिएका थिए । अफगानिस्तानका रहमद शाहलाई उनले ४६ रनमा आउट गराएका थिए ।

यसअघि सन्दीप लामिछानेले अफगानिस्तानका जामिद अह्मादीलाई २६ रनमा आउट गराएका हुन् ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले २१ रन बनाएका अफगान कप्तान रसिद खानलार्इ आउट गराएका हुन् ।

पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा

जाजरकोट, फागुन २६ । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा थपिएको जुनीचाँदे गाउँपालिका–४ का रेशमबहादुर खड्काले बताउनुभयो । अन्य चार जना डाक्टर बिदामा बसेका कारण दैनिक उपचारमा समस्या भएको छ । विशेषज्ञ, डाक्टर गरी ५९ जनाको दरबन्दी भएको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा जिल्लावासीले हैरानी भोग्नुपरेको छ । स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० श्ययामा विस्तार गरे पनि १५ श्ययाको कार्यक्रम पठाउँदा काम गर्न समस्या भएको अस्पतालको भनाइ छ । जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर ११ को दरबन्दी खाली रहेको छ । त्यस्तै चार जना डाक्टरको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याप, एचएको दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट दुई जना डाक्टरको दरबन्दी भए पनि अहिले केन्द्र अस्पतालविहीन भएको छ । त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्या रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठूलो समस्या छ । आवश्यक उपकरणको अभावमा जिल्लाका सबै स्वास्थ्य संस्थामा समस्या भएको छ । जाजरकोट सदरमुकाममा अस्पतालको प्रसूति गृह लगाएतका भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले सास्तीपूर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासी देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् ।

प्रमाणपत्र देखाउन मानेनन् पराजुलीले, यस्तो छ पराजुलीको जवाफ

काठमाडौं, फागुन २६ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नागरिक अभियन्ता डा. गोविन्द केसी र उनको समूहलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन अस्वीकार गरेका छन् । डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल र अभियानका सहयोगी प्रितम सुवेदीले पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको तथ्यमा गम्भीर शंका उत्पन्न भएको भन्दै निवारणका लागि सक्कल प्रमाण पेस गर्न उनको निजी सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ लिन शुक्रबार सचिवालय पुगेका सुवेदीलाई त्यहाँका कर्मचारीले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै ‘यो प्रमाणपत्र देखाउन मिल्दैन’ भनेर फर्काइदिएका थिए । ‘प्रमाणपत्र प्रस्तुत गर्न प्रधानन्यायाधीशले देखाएको अनिच्छाबाट उनको शैक्षिक योग्यताका सम्बन्धमा उठेका प्रश्न झन् सान्दर्भिक भएका छन् । यसले उनका कागजपत्र किर्ते रहेको आशंका झन् मझबुत बनाएको छ,’ अधिवक्ता अर्यालले भने, ‘नेपालको प्रमाण कानुनमा भएको व्यवस्थाअनुसार पनि उनको यो कार्यले प्रमाणपत्र सक्कली होइनन् भन्ने आधार सिर्जना गरेको छ ।’ प्रमाण ऐन २०३१, दफा ७ को (ख) मा ‘कुनै व्यक्तिको साथमा रहेको लिखत पेस गर्न निजलाई अदालतले आदेश दिँदा निजले पेस नगरेमा सो लिखत पेस भएको खण्डमा निजको विरुद्ध प्रमाण लाग्न सक्ने किसिमको छ भनी अदालतले अनुमान गर्न सक्ने’ उल्लेख छ । ‘यो ‘अदालतले आदेश दिँदा’ भन्ने वाक्यांशको सन्दर्भ अवस्थाअनुसार फरक पर्न सक्छ,’ अर्यालले भने, ‘नागरिकले माग्दा पनि ओहदामा बसेकाले प्रमाण दिन सकेनन् भने त्यो प्रमाण सद्दे रहेनछ भन्ने नै अर्थ लाग्छ ।’ प्रधानन्यायाधीशकै प्रवेशिका प्रमाणपत्र नक्कली भएका तथ्य फेला परेको भन्दै केसीको समूहले पराजुलीविरुद्ध मुद्दा दर्ता गर्नुअघि एक पटक उनैलाई त्यसबारे निवेदन दिएर सत्य जान्न खोजेको जनाएको छ । ‘तर, उहाँ देखाउन असफल हुनुभएको छ,’ अर्यालले भने, ‘हामी उहाँविरुद्ध जुनसुकै समयमा ठगी र किर्ते अभियोगमा फौजदारी मुद्दा दायर गर्न स्वतन्त्र छौं ।’ -कान्तिपुर दैनिकबाट

झापा ११ फाइनलमा

झापा, फागुन २५ । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । झापाका तर्फबाट योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए । यता थ्रीस्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए । प्रतियोगिताको म्यानअफ दि म्याच झापाका देवेन्द्र तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरेका छन् । शनिबार विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरी अस्पताल भर्ना

कैलाली । रिहाइको माग गर्दै ६ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी तथा कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि आज सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए । टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाले ३ बुँदे माग राख्दै आईतबारदेखि अनसन थालेका थिए । उनीहरूले कैलाली १ का सांसद समते रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवालाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।

विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् । रासस

एक सय ५० ऐन संशोधन हुँदै

काठमाडौं, फागुन २५ । सरकारले विभिन्न मन्त्रालय गाभेर ३० बाट १७ मा झारेपछि १ सय ५० भन्दा धेरै ऐन संशोधन गर्नुपर्ने भएको छ। मन्त्रालय गाभिएस“गै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न मन्त्रालयसम्बद्ध ऐन संशोधनको गृहकार्य अघि बढाएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४ बमोजिम प्रचलित मन्त्रालयको नाममा गर्नुपर्ने हेरेफेर र सो नियमावलीअनुसार विद्यमान ऐनमा परेको असर र संशोधन गर्न अध्ययन थालिएको कानुन मन्त्रालय तर्जुमा शाखाका उपसचिव हुमबहादुर केसीले जानकारी दिए । उनका अनुसार ऐन संशोधन गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७४ को विधेयक तयार भइसकेको छ। अहिले मन्त्रालयको कानुन तर्जुमा शाखाले सबै मन्त्रालयसम्बद्ध ऐनमा गर्नुपर्ने संशोधनबारे अध्ययन गरिरहेको छ । मन्त्रालयका अनुसार हाल कार्यान्वयनमा रहेका कुल ऐनको संख्या ३ सय ४६ छ । मन्त्रालयले तीमध्ये कुन कुन ऐन संशोधन गर्नुपर्ने हो अध्ययन गर्दै संशोधन अघि बढाएको हो । ‘अहिले हामी ३ सय ४६ ऐनका ४ हजारभन्दा धेरै पेज एक एक अध्ययन गरिरहेका छौं, अध्ययनमा १ सय ५० ऐन संशोधन गर्नुपर्ने देखिएको छ’, उनले भने । गाभिएका मन्त्रालयले पनि आफू मातहतका ऐनमा गर्नुपर्ने संशोधनको विवरण समेटेर कानुन मन्त्रालयमा पठाइरहेका छन्। कानुनका कर्मचारीले सोहीअनुसार संशोधन अघि बढाएको बताएका छन् । उपसचिव केसीका अनुसार ऐन संशोधन हुने विषयमा नीतिगतभन्दा पनि प्राविधिक विषय धेरै छन् । यसअघि संविधान जारी भएपछि पनि २०७२ साल फागुनमा कानुन मन्त्रालयले तत्काल कायम ३ सय १५ कानुनमध्ये १ सय ९३ कानुन संशोधन गरेको थियो । सरकारले कार्यविभाजन नियमावली कार्यान्यन गरेस“गै ऐन संशोधन प्रक्रिया थाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सम्बन्धित मन्त्रालयहरूलाई निर्देश दिएको छ । कानुन मन्त्रालयले अब छिट्टै संशोधन गर्नुपर्ने ऐनको निक्र्यौल गर्दै संशोधन विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा पेस गर्ने तयारी गरेको जानकारी दिएको छ ।

सभामुख पदका लागि आज उम्मेदवार मनोनयन दर्ता

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदका लागि शुक्रबार उम्मेदवारको मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ । कार्यतालिका अनुसार संघीय संसद्का महासचिव समक्ष सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी दिनुपर्ने छ । मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले आजै दिउँसो साढे १ बजे सार्वजनिक गर्ने छ । प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परे पनि प्रस्ताव निर्णयार्थ पेश हुनेछ । एकभन्दा बढी प्रस्ताव परेमा प्रतिनिधिसभामा मत विभाजन हुनेछ । शनिबार दिउँसो १ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिका छ । प्रतिनिधिसभाको हालको अंक गणितअनुसार सभामुखमा निर्वाचिन हुन सभाको बहुमत अर्थात् कम्तिमा १ सय ३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य छन् । वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रबाट र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने भएको छ । गठबन्धनबीच रहेको अंक गणितअनुसार सभामुखमा गठबन्धनका उम्मेदवारको जित निश्चित प्रायः छ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखकाे उम्मेदवार बनाउने तयारी गरेकाे छ ।

अंश र वंशमा समान अधिकार आवश्यक : मन्त्री पोखरेल

काठमाडौं, फागुन २४ । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ । संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँले हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिनुभयो । आयोजकलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “यसरी निश्चित बिदामा केन्द्रित भएर गरिएको प्रदर्शनीले महिलाको अभिलेख र इतिहासबारे जानकारी दिनका लागि ठूलो भूमिका खेल्छ ।” संकृति सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा धेरै महिला छन् केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आजबाट शुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्मका लागि रहनेछ । प्रदर्शनीमा नेपालका विभूति हरित तारा भृकुटी, भगवान् बुद्धको जननी माया देवीको फोटो रहेको छ । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, समाजसेवी एवं प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ ।

मकैको घोगामा दाना नलाग्दा किसान मारमा

वीरगञ्ज, फागुन २२ । भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् । निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता नगरपालिकाको कुडवा र बाजुपट्टिका किसान मारमा परेका छन् । यस्तै, आदर्शनगर कोतवाल गाउँपालिकाको चिउटाहा र कोतवाली, बारागढी गाउँपालिकाको पथरा, पिपरा, वसन्तपुर र खोपवा, करैयामाई गाउँपालिकाको करैया, इटहर, बिल्हीलगायत गाउँका किसानले लगाएको करिब दुई हजार हेक्टर क्षेत्रफलमा लगाएको मकैको घोगामा दाना नलाग्दा किसानले करोडौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको जिल्ला कषि विकास कार्यालयका कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । “घोगा लागे पनि दाना नलाग्ने कारणबारे अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो । जिल्लामा किसानले चार हजार ६३५ हेक्टरमा हिउँदे मकैबाली लगाएका छन् भने त्यसमध्ये दुई हजार हेक्टरमा रहेको मकैको घोगामा दाना नलाग्दा किसानलाई रु दुई करोडभन्दा बढीको घाटा भएको कार्यालयले जनाएको छ । सरकारबाट सूचीकृत भएका ड्रागन, बन्नी, श्रेष्ठा, यनएम एच १२४७, ७३१, ७१३ लगायत जातका मकैको घोगामा दाना नलागेको कार्यालयले जनाएको छ । भारतको हैदरावादस्थित निजी बीज उत्पादन कम्पनीबाट नेपाल आयात गरिएका बीउ कलैयास्थित अरविन्द एग्रो सेन्टरले, ड्रागन बन्नी र श्रेष्ठा जातका मकैको बीउ स्थानीय एग्रोभेटले किसानलाई बिक्री गर्ने गरेको पाइएको छ । मकैको घोगामा दाना नलागेपछि क्षेत्रीय कृषि अनुसन्धानका निर्देशक रमन पौडेल नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सोबारे पीडित किसानसँग जानकारी लिएको छ । प्रदेश नं २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले यसबारेमा छानबिन गरिने बताउनुभएको छ । रासस

किन बोलायो फोरमले पार्टीको आकस्मिक बैठक

काठमाडौं, फागुन २१ । केपी ओली नेतृत्वको सरकारमा सहभागिताबारे छलफल गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको पदाधिकारीको आकिस्मक बैठक बोलाएका छन् । वाम गठबन्धनसँग अन्तिम सहमति गर्नुअगाडि पार्टीमा छलफल गर्न अध्यक्ष यादवले मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएका हुन । बैठकका लागि काठमाडौंबाहिर रहेका नेताहरूलाई पनि मंगलबार बिहानसम्म काठमाडौं आउन भनिएको छ । संविधान संशोधन, सरकारमा सहभागिता लगायतका विषयमा वाम गठबन्धनसँग भएको वार्ताको ब्रिफिङ र सहमति गर्ने बारे पार्टीको औपचारिक धारण बनाउन अध्यक्ष यादवले बैठक बोलाएको बताइएको छ । वामगठबन्धन र फोरमबीच लगातार छलफलहरु भएपनि अहिलेसम्म सहमति भने भएको छैन । वामगठबन्धन फोरमलाई सरकारमा सहभागी गराई दुई तिहाईको बलियो सरकार बनाउने प्रयासमा छ । फोरमले अहिले तीन उपप्रधानसहित तीन मन्त्रालय मागिरहेको छ । भने वाम गठबन्धन दुई मन्त्रालय दिन सहमत छन् । साथै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री भने नराख्ने बताउदै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

काठमाडौं, फागुन २१ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा सोमबार दिउँसो आइपुगेका छन् । उनी बिशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित बिशेष बिमानबाट काठमाडौं आइपुगेका हुन । प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन्। ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज आयोजना गरेका छन् । त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन्। भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्। अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो। पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्। कान्तिपुरबाट

चर्चित लोकगायक पशुपति शर्मा गीत गाउँदै दर्शकहरुसँगै झुमे

लमजुङ । लोक सांगितिक क्षेत्रका चर्चित लोक दोहोरी गायक पशुपति शर्माको सांगितिक प्रस्तुती हेर्न घण्टौँ कुरेर बसेका थिए, लमजुङे नागरिक । जब दिउँसो ४ बज्यो, उनी मञ्च उक्लिए । दर्शकले उनीप्रति न्यानो माया मिसाउँदै ताली वर्षाए । ‘मलाई अमेरिका यही, क्याम्पस पढ्न आउनी, बत्ती बाल्नुपर्दैन यो ठाउँमा, कोटी हो कोटी हो’ लगायतका आफ्ना चर्चित गीत उनले दर्शकलाई सुनाए । दर्शकहरु झुमेर नाचे । उनको प्रस्तुतीको खुलेरै प्रंशसा गरे । उनले गाएनन् मात्र दर्शकसँगै गाउँदै नाचे पनि । उनले ठट्यौली कुरा गर्दा दर्शकदीर्घामा हाँसोको फोहोरा फुटेको थियो । आठौँ सुन्दरबजार महोत्सवको आठौँ दिन आफ्नो प्रस्तुती दिन गायक पशुपति आइतबार सून्दरबजार पुगेका हुन । महोत्सवमा गायक शर्मासँगै गायिका शान्ति सुनार, गायक रञ्जित परियार लगायतका कलाकारको प्रस्तुती रहेको थियो । उनीहरुको प्रस्तुती हेर्न दर्शकहरु साँझसम्म महोत्सव स्थलमा बसेका थिए ।

रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचलाई पाँच वर्ष जेल

काठमाडौं, फागुन १९ । स्पानिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचमाथि अदालतलाई गलत बयान दिएकोमा दोषी पाइएको छ । क्रोएसियाली फुटबल क्लब डायनामो जाग्रेबका पूर्व निर्देशक ड्राभ्को मामिचविरुद्ध चलेको कर छलीको मुद्दामा मोड्रिचले गलत बयान दिएको ठहर । सन् २०१७ को जुनमा सन् २००८ मा डायनामोबाट टोटनहममा भएको उनको स्थानान्तरणको विषयमा सोधपुछ गर्दा मोड्रिचले झुठो बयान दिएको बताइएको छ । मामिचसँगै अन्य तीन जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको थियो । उनीहरुले खेलाडीहरुको बिक्रीबाट पैसा खाएर डायनामो र राष्ट्रलाई हानी नोक्सानी पुर्याएको आरोप लगाइएको थियो । यदी उनी दोषी प्रमाणित भए उनले पाँच वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

राजपाका नेताहरु फोरमसँग सशंकित

काठमाडौं, फागुन १९ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सहयात्रा टुट्ने भएको छ । फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो । आजको नागरिक दैनिकमा खबर छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन् । दुई नेताबीच पछिल्लो चरण्मा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ । यही कारणल राजपाका नेताहरु फोरमसँग सशंकित हुने थालेका छन् । राजपालाई सरकारमा ल्याउन सत्तारुढ दल एमाले र माओवादी केन्द्रले खासै चासो देखाएका छैनन् । ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग वार्ता गरेका छैनन् । राजपाका नेताहरुले फोरमलाई तत्काल सरकारमा नजान सुझाव दिएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मधेस मुद्दा छाडेर फोरम सरकारमा जान लागकोमा मधेसी जनता चिन्तित भएका छन्।’ संविधान संशोधन गर्ने प्रतिवद्धता विगतमा पनि सरकाले पटकपटक गरेको भन्दै यस्ता प्रतिवद्धताको कुनै अर्थ नहुन उनले बताए ।

नेपाललाई अर्को सफलता, युएईको तेस्रो विकेट पतन

काठमाडौं, फागुन १५ । सन २०१९ मा हुने एकदिवसिय विश्वकप क्रिकेटको छनोट खेल्नको वार्मअफ खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । जाम्बाबेमा जारी खेलमा युएईले टस जितेर ब्याटिङ राजेको छ । टस जितेर ब्याटिङमा उत्रिएको युएर्इले ताजा अवस्थामा १६ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ७८ रन बनाएर खेलिरहेको छ । १५ औं ओभरको पहिलो बलमा ललित राजवंशिले युएईका रमीज साहनज शून्य रनमा नै आउट गरेका हुन् । नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए । युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको हो । दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् । नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो । जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।