एकतामा माओवादीलार्इ ६० र एमालेलार्इ ४० पनि हुनसक्छ : नेता पौडेल

बुटवल, चैत २४ । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताउनुभएको छ ।

उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । लाखौँ जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते घोषणा हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विगतको इतिहास, योगदान र योग्यताका आधारमा नेता र कार्यकर्तालाई जिम्मेवारी दिइने भएकाले प्रतिशतमा भागबण्डा नहुने बताउनुभयो ।

माओवादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा मात्र एकता गर्नुपर्ने तर्क अगाडि सारिरहेको प्रसंगमा एमाले उपमहासचिव पौडेलले भने समानताका आधारमा एकता हुने बताउनुभयो । र योगदान, क्षमता र सक्रियतालाई आधार बनाउँदा माओवादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्न सक्ने स्पष्ट पार्नुभयो ।

दुई पार्टी एकताका लागि शुरुदेखि पहल गर्दै आउनुभएका उपमहासचिव पौडेलले जनयुद्ध शब्दावली र निर्वाचन चिह्नको विषय पनि सहज ढंगले टुंगोमा पुगिने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण लगायतका निकाय आफू मातहत राखेर अधिनायकवाद लाद्न खोजेको आरोप नेपाली काँग्रेसका नेताहरुले लगाइरहेका छन् नि भन्ने जिज्ञासामा उहाँले अधिनायकवादको विरोधमा सधैँ लड्दै आएको पार्टी र त्यसका नेताले त्यस्तो कहिल्यै नगर्ने बताउनुभयो ।

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको निधो भई नसकेको पनि बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगितबारे एएफसीको चासाे, काठमाडौं आउँदै टाेली

काठमाडौं, चैत १२ । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगित भएकोबारे बुझ्न एसियाली फुटबल महासंघ एएफसीको टोली आज काठमाडौं आउँदैछ । एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवी कुमारसहितको टोली काठमाडौं आउन लागेको एन्फाले पुष्टी गरेको छ । टोलीले एन्फाको निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न पछिल्ला विवादबारे अध्ययन गरेपछि निर्वाचन गराउने वा अन्य बिकल्पमा जाने भन्नेबारे निर्णय हुने एन्फा स्रोतको दावी छ । यसअघि एन्फाले हिजो मात्रै निर्र्वाचन स्थगित भएको घोषणा गरेको थियो । निर्वाचन समितिले चुनावको २ दिन अगाडि सूचना टाँसेर एन्फाको चुनाव स्थगित भएको जनाएको हो । गत बिहीबार ललितपुर उच्च अदालतले एन्फा चुनाव तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको एन्फाले जनाएको छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो । चुनावमा सहभागी हुने अधिकार छिन्न खोजेको भन्दै हालेको रिटमा न्यायाधीश वनको इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले चुनाव रोक्न भनेपनि अन्तर्राष्ट्रिय फुटबल महासंघले भने तोकिएको मितिमा चुनाव होस भन्ने चाहेको थियो । एन्फा चुनावमा हालका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ । शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सीईओ इन्द्रमान तुलाधर उभिएका छन् । इमेजखबरबाट

रामजानकी मन्दिरमा रामनवमीको जन्मोत्सव अायोजना

जनकपुरधाम । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ । रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ । सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले महोत्सव रामको वास्तविक जन्मोत्सवझैं अनुभूति भइरहेको छ । त्रेतायुगमा चैतशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ । सोही दिनलाई रामनवमी भनिन्छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औँं पुस्ताका मानिन्छन् । ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वान्हरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैबाट उनको नाम राम भएको मानिन्छ । राम परब्रह्मा, परम तप र परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा अधिक शहरको नाम पत्ता लागेको छ । धार्मिक ग्र्रन्थमा शिवको रामभक्ति तथा हनुमान– नारद– अत्रि– अनुसूया– भरत– शवरी आदिको रामभक्ति एवं उपासना अद्वितीय भएको उल्लेख छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणास्रोत मानिन्छ । आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ । रासस

आदिनाथको मूर्तिलाई खटजात्रा गरियो

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई खटजात्रा गरिएको छ । प्रत्येक वर्ष चैते दशैँका दिन उक्त मूर्तिलाई मन्दिरबाट निकालेर नख्खु दोभानसम्म करीव तीन किलोमिटरको दूरीमा जात्रा गरिन्छ । उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट ठूलो संख्यामा भक्तजनको उपस्थिति छ । उक्त मूर्तिमा शिव र पार्वतीको संयुक्त आकृति देख्न सकिन्छ भने नर र नारीको आदिस्वरुप मूर्तिमा प्रतिबिम्बित भएकाले आदिनाथ भनिएको हो । प्राचीन समयमा चोभारमा रोगब्याधीले स्थानीयवासीलाई समस्या भइरहेको बेलामा उक्त मूर्तिलाई ग्वाला (गाई चराउने)हरुले नख्खु दोभानमा चैते दशैँका दिन फेला पारेपछि चोभार डाँडामा प्रतिस्थापन गरिएको हुँदा गाउँलेले अनिष्टबाट मुक्ति पाएको जनविश्वास रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष आजका दिन मूर्तिलाई खटजात्रा गरिन्छ । असोज शुक्ल पूर्णिमादेखि एक महिना कात्तिक शुक्ल पूर्णिमासम्म उक्त मन्दिरमा आदिनाथको मेला लाग्ने गर्दछ । जात्रामा सहभागी भएमा कुनै पनि रोग नलाग्ने, पारिवारिक सुख, शान्ति भई समृद्धि हुने विश्वास छ । मन्दिरबाट मूर्ति निकाल्नका लागि स्थानीय देवदेवीसँग अनुमति लिन अघिल्लो दिन त्यहाँ क्षमा पूजा गरिएको थियो । रासस

जंगलमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

उदयपुर । केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत, खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठले बताउनुभयो । खसीबास र रिस्कु क्षेत्रमा अहिलेसम्म पनि कटारी नगरपालिकाको नेतृत्वमा डढेलो नियन्त्रण कार्य भइरहेको छ । यता कटारीको बेलस्रोत क्षेत्रको जंगलमा समेत भीषण डढेलो लागेर मानव बस्तीतर्फ बढेको कारण यसको नियन्त्रण गर्न स्थानीयवासी जनप्रतिनिधि र सामुुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसमेत परिचालन भएको प्रमुख श्रेष्ठले बताउनुभयो । अहिलेसम्म यस क्षेत्रमा हजार हेक्टर क्षेत्रफल वन क्षेत्र डढेलोको कारण सखाप भइसकेको छ । त्रियुगा नगरपालिका क्षेत्रको हँडिया, जोगिदह लालपता पात्लेबास क्षेत्रको जंगलमा एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रण नहुँदा झण्डै दुई हजार हेक्टर क्षेत्रफलको जंगल डढेलोले प्रभावित बनाएको स्थानीयवासीले बताएका छन् भने जिल्ला वन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । रासस

सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएकोे छ । पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौँ मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेकी छिन् । यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रुपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानूनअनुसार कारवाही चलाइने जानकारी दिनुभयो । केही विद्यार्थीले आफूहरुलाई गाडीमा राखेर परीक्षा दिन पठाएको भनी बयान दिएपछि नक्कली परीक्षार्थीको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । सम्पूर्ण रुपमा लोकसेवाले परीक्षा सञ्चालन गर्ने भएकाले नक्काली परीक्षार्थीको संलग्नताको सूचना प्राप्त भए पनि त्यसबारे अरु कुराको जानकारी नभएको बताएको छ । रासस

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने

पोखरा, चैत्र ७। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए । पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उनले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राखे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुननसक्ने बताए । कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । रासस

यसरी भाइरल बन्दै यी अभिनेत्री

मुम्बई । अहिले सामाजिक सञ्जालको इष्टाग्राममा भाइरल बनिरहेकी छिन् यी अभिनेत्री साक्षी प्रधान । उनी फेरि चर्चा पाउन सफल भएकी छिन् अर्काे कामुक तस्विर पोष्ट गरेर । उनले हरेक पटक नयाँ–नयाँ खालका कामुक तस्विरहरु इष्टाग्राममा पोष्ट गरी भाइरल बन्ने गर्दछिन्। उनले आफ्नो गोप्य अंग फूलले छोप्दै खिचाएको फोटो इन्सटाग्राममार्फत सार्वजनिक गरेपछि भाइरल बनेको छ । तस्बिरमा साक्षी निकै कामुक देखिएकी छन् । उनले यस अगाडि पनि तस्बिर मार्फत सामाजिक संजालमा तहल्का मच्चाएकी थिइन् । साक्षी केही पहिले चलचित्र ‘रागिनी एमएमएसड २’मा पनि बोल्ड भुमिकामा देखिएकी थिइन् । एजेन्सीको सहयोगबाट

राष्ट्रियसभा उपाध्यक्षकाे निर्वाचन अाज, दाहाल र आले भिड्दै

काठमाडौं, चैत ४ । राष्ट्रियसभाको उपाध्यक्षका आज निर्वाचन हुँदैछ । वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो । संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने निश्चितजस्तै छ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्वाचित भइसकेका छन् ।

गृहमन्त्री बादलको निर्देशनपछि ५१ वटा सरकारी गाडी कब्जामा

काठमाडौं, चैत ४ । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो । शनिबार २० चारपाङ्ग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

सोमपालको प्रयासका बावजुद नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं, चैत ४ । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो । खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डे लेडले सर्वाधिक ३९ रनको योगदान गरे भने म्याक्स ओ डोडले २८ रन तथा रोलोफ भान मेर्व र स्कट एडवाड्र्सले समान २५/२५ रन बनाए । बलिङतर्फ नेपालका लागि निकै कसिलो बलिङ गरेका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । यस्तै, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट झारे । बसन्त रेग्मीको स्थानमा मैदानमा उत्रिएका शक्ति गौचनले १ विकेट लिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीको मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली टोली लक्ष्य पूरा गर्दै घर फर्कने भएको हो । पहिलो प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले इतिहासमै पहिलोपटक चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो ।

राष्ट्रियसभा उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी, भोलि मतदान

काठमाडौं, चैत्र ३ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र कांग्रेसकी वृन्दादेवी आलेको उम्मेवारी दर्ता भएको छ। शनिबार उम्मेदवारी दर्ताको निर्धारित समयमा दाहाल र आलेको मात्रै उम्मेदवारी परेका हो । अब उपाध्यक्षका लागि आइतबार (भोलि) मतदान हुने निर्वाचन आयोगले जनाएको छ। अध्यक्ष र उपाध्यक्ष दुई मध्ये एकमा महि हुने संवैधानिक व्यवस्था भएकाले राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेशप्रसाद तिमिल्सिना यस अघि नै निर्वाचित भइसकेकाले उपाध्यक्षमा महिलाको मात्र उम्मेदवारी परेको हो। उपाध्यक्षमा उम्मेदवारी दिएकी दाहाल प्रदेश–२ र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन। दुई जनाको उम्मेदवारी परे पनि दाहालको जित सुनिश्चित छ । उनलाई एमाले र माओवादी लगायतका दलको समर्थन रहेको छ ।

सोमपाल र सन्दीप चम्किएपछि नेदरल्याण्ड्सको व्याटिङ धरापमा, सस्तैमा चार विकेट गयो

काठमाडौं, चैत्र ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । जिम्बावेको क्वेक्वे मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले नेदरल्याण्ड्सको सस्तैमा चार विकेट लिएको छ । चौथो विकेट लिने क्रममा सन्दीप लामिछानेले म्याक्स वडउडलाई २८ रनमा पवेलियन फर्काए। उनले सर्वाधिक रन बनाएका थिए। नेदरल्यान्डले ४८ रनमा चौथो विकेट गुमाएको हो। नेदरल्यान्डका पहिला तीन विकेट सोमपाल कामीले लिएका हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका हुन्। उनले यो समाचार तयार पार्दासम्म ११ रन मात्र दिएका छन् भने ६ ओभर बलिङ गरेका छन्। तेस्रो विकेट लिनेक्रममा नेदरल्यान्डका पेटर बोरेनलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्।

मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

बुटवल, चैत २ । प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले शुक्रबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसीलगायत प्रदेश ५ का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एनआइसी एसिया बैंक कामु सीइओमा न्यौपाने नियुक्त

काठमाडौं, चैत्र २। एनआइसी एसिया बैंकको सञ्चालक समितिले कामु सीइओमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सीइओ न्यौपानेलाई नियुक्त गरेको हो । यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए। त्यसैगरी, समिति बैठकले लक्ष्मण रिसालले गरेको राजीनामा स्वीकृत गरेको छ। रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए।

सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण

लहान । संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो । जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उहाँले बताउनुभयो । अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको गुनासो गर्दै प्रमुख सिंहले राजनीतिक दल र स्थानीय प्रशासनबाट उचित सहयोग प्राप्त भए खाली गराइने बताउनुभयो । लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका अन्तर्गत सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्नेमा जोड दिए । इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्रको यकिन गरी तत्काल वन क्षेत्र खाली गराउन प्रशासनको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन र अतिक्रमणकारीलाई कानूनी दायरामा ल्याउन ठोस् कदम चाल्न वन कार्यालयसँग उहाँले आग्रह समेत गर्नुभयो । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायतका राजनीतिक दलका प्रतिनिधिले वन क्षेत्रमा बढ्दो अतिक्रमण र चोरी तस्करी रोक्न आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए । रासस