फिर्ता लगिँदै यामाहा मोटरसाइकल: यस्तो आयो समस्या

काठमाडौं, पुस २३ । मोटर साइकल निर्माता क?म्पनी यामाहा मोटर इंडियाले भारतीय बजारबाट एफ जेड २५ र फेजर २५ मोडलका २३ हजार आठ सय ९७ थान मोटर साइकल बजारबाट फिर्ता झिकाउने समाचार भारतीय मिडियामा आएको छ ।

कम्पनीद्वारा शनिवार दिइएको जानकारी अनुसार यी मोटर साइकलहरूमा इंजिनको हेड कभर खुकुलो हुने गुनासो आएपछि यो निर्णय लिइएको हो।

कम्पनीले जनाए अनुसार तत्कालका लागि जनवरी २०१७ यता निर्मित मोटर साइकलहरू मात्र झिकाइनेछन् ।
यस घोषणा अनुसार एफजेड २५ मोडलका २१ हजार छ सय ४० र फेजर २५ मोडलका दुई हजार दुई सय ५७ मोटर साइकलहरूलाई समस्या निवारण गरे पछि बजारमा फिर्ता पठाइने छ ।

कम्पनीद्वारा जारी बयान अनुसार उपभोक्ताले किनिसकेका मोटरसाइकलमा यस्तो समस्या देखिए अधिकृत विक्रेताकहाँ निःशुल्क मर्मतको सुविधा उपलब्ध गराइने छ ।

कम्पनीले उपभोक्ताहरूसँग आफु निरन्तर सम्पर्कमा रहेको जनाएको छ र उसले आफ्ना अधिकृत विक्रेताहरूलाई समेत खरिदकर्ताहरूसँग सम्पर्क गरी समस्या पत्ता लगाउन आग्रह गरेको छ ।

यामाहा नेपालमा पनि लोकप्रिय मोटरसाइकल ब्रांड हो । यसबारे नेपालमा के हुने बारे आधिकारिक समाचार आउन सकेको छैन ।

विद्यालय शिक्षा सञ्चालन कार्यविधिप्रति महासंघको आपत्ति

काठमाडौ‌, पुस १० । नेपाल शिक्षक महासंघले स्थानीय तहको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन र नियमनका लागि कार्यविधि निर्माण गर्दा महासंघलाई नसमेटेको भन्दै आपत्ति जनाएको छ । महासंघले सोमबार पत्रकारसम्मेलन गरी स्थानीय तहको शिक्षा सञ्चालन र नियमनका सम्बन्धमा बनेको कार्यविधि–२०७४ निर्माण गर्दा महासंघलाई नसमेटेर शिक्षाका धेरै मुद्दा ओझेलमा परेको भन्दै आपत्ति जनाएको हो । सम्मेलनमा महासंघका अध्यक्ष केशव निरौलाले महासंघको सहकार्य र सुझावबिना स्थानीय तहमा शिक्षाका बारेमा सरकारलाई जथाभावी रुपमा अधिकार नबाँड्न आग्रह गरे । “सरकारले बिना गृहकार्य स्थानीय तहलाई अधिकार सुम्पिने काम गरेको छ, नेपालको शिक्षा नीतिलाई समयानुकूल बनाउनुपर्छ भन्नेमा हामी छौँ,” उनले भने । लोकतान्त्रिक गणतन्त्रको मर्म भावना विपरीत कर्मचारी प्रशासनमा शक्ति केन्द्रित गरिनु, शिक्षक कर्मचारीको ट्रेड युनियनको अधिकारलाई कटौती गर्नु तथा सबै नागरिकले निःशुल्क रुपमा शिक्षा हासिल गर्न पाउने अधिकारलाई कुण्ठित गरेको भन्दै महासंघले आपत्ति जनाएको छ । यस्तै निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालयका लागि वैकल्पिक प्रबन्धका बारेमा मौन हुनु, व्यापारीकरण प्रोत्साहन हुने गरी मौजुदा कानुनी व्यवस्थाको समेत खिलापमा जाने गरी अनुगमन नियमनको प्रावधानलाई कमजोर पारेको महासंघले जनाएको छ । रासस

रसुवागढी पुगेर ओलीले भने- यहीँबाट रेल गुड्छ

रसुवा, पुस ५ । चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकार प्रमुख भएपछि यही विषयलाई प्राथमिकता दिने सन्देश दिन मंगलबार रसुवागढी नाका पुगेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा करिक दुई तिहाइ सिट जितेको वाम गठबन्धनका तर्फबाट चाँडै सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो प्राथमिकता सूचीको पहिलो नम्बरमा नेपालमा रेल भित्र्याउने योजनालाई राखेका छन्। मंगलबार नेपाल-चीन जोड्ने मितेरी पुल आएका ओलीसहितका एमाले नेताहरूले रेल आउने बाटो र रसुवागढी नाकाको अवस्थाबारे जानकारी लिए। ‘अबको केही वर्षमा रसुवागढी नाकाबाट रेल को बाटो निर्माण हुन्छ,’ अध्यक्ष ओलीले भने,‘रसुवागढी-काठमाडौं-लुम्बिनी-पोखरा जोडिने रेलमार्ग जतिसक्दो चाँडो निर्माण गरिन्छ।

अख्तियारले मेलम्ची आयोजनालाई सोध्यो – धुलो कहिले हट्छ ?

काठमाडौं, पुस ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले आज छलफल गरेको हो । मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवाँ, धुलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग जानकारी लिँदै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिए । सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रुपमा सेवा पाउने उपायका बारेमा सम्ब्न्धित पक्षलाई निर्देशन दिए । आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यसअनुसार नभएको उल्लेख गर्दै जनताको चासोका विषयलाई छिटो सम्बोधन गर्न आयोजनालाई आग्रह गरे । जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रुपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गरे । राष्ट्रिय गौरवको आयोजना भन्ने तर काम गर्ने प्रवृत्ति चाहिँ पुरानै शैलीको भएको भन्दै अर्का आयुक्त डा गणेशराज जोशीले ढिला गर्ने प्रवृत्तिको अन्त्य गरेर जिम्मेवारीबोधका साथ काम गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे । समस्या देखाएर पन्छने प्रवृत्ति बढ्दै गएको भन्दै अर्का आयुक्त डा सावित्री थापा गुरुङले समन्वय गरेर कार्य सम्पादन गर्नुपर्ने र आम नागरिकले अनुभव गर्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौँको आवश्यकता पूरा गर्न सक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्ने धारणा राखे । मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताए । पुनःनिर्माण गर्नुपर्ने स्थानमा आयोजनाले विशेष प्राथमिकतामा राखी धुलो र धुवाँ हटाउने कार्यलाई प्राथमिकता राखिएको बताए । आयोजनाको सुरुङ निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको र आगामी दुई हप्तामा अम्बाथान–ग्याल्थुम खण्ड ‘ब्रेक थ्रू’ हुने सम्पन्न हुने कार्यकारी निर्देशक देवकोटाको भनाइ थियो । उक्त खण्डमा सय मिटर सुरुङ खन्न बाँकी रहेको छ । देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रू गर्न बाँकी रहने र त्यो पनि केही समय भित्रै सम्पन्न हुने छ । उक्त खण्डमा ५१५ मिटर जति सुरुङ खन्न बाँकी रहेको छ । नरम चट्टान भएका कारण सुरुङ खन्न समस्या आएको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो । कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँको धेरै सवारी चाप हुने स्थानबाहेक अन्य क्षेत्रमा वितरणको पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भइसकेको र भत्काइएका सडक पुनः निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।

काठमाडौंमा मात्रै ३१३ उम्मेदवारको जमानत जफत

काठमाडौं, पुस ४ । गत मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभामा काठमाडौँ जिल्लामा मात्रै ३१३ उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जमानत जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेदवार रहेका थिए । उहाँले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए । प्रतिनिधिसभातर्फ रु १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ । काठमाडौँ जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ । प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन् ।

बस स्टपः सडकमा नियम र सभ्यता सिकाउँदै ट्राफिक

काठमाडौं, पुस २ । सडक सभ्यता सिकाउन र ट्राफिक नियम पालना गराउन प्रोत्साहित गर्ने उदेश्यले उपत्यकामा एक हप्ते ट्राफिक जनचेतना कार्यक्रम सुरु भएको छ । खासगरी बस स्टपहरुमा लाइनमा लागेर सार्वजनिक सवारी चढ्ने संस्कृती विकास गर्ने अभियानको मुख्य उदेश्य छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि एक हप्ते अभियान सुरु गरेको हो । चाबहील, गौशला, कोटेश्वर, बानेश्वर, रत्नपार्क, एनएसी लगायतका क्षेत्रमा ट्राफिक महाशाखाका डिआईजी सर्वेन्द्र खनाल आफैं पुगेर ट्राफिक जनचेतना कार्यक्रममा सहभागी भएका छन् । ‘गाडि चढ्दा लाइन बसेर चढ्ने संस्कृती हामीले विकास गर्न खोजेका हौं,’ डिआईजी खनाल भन्छन्,‘त्यसका साथै अन्य ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन एक हप्ते अभियान सुरु गरिएको हो ।’ राजधानीको बनस्थली चोकमा लामो समयदेखि यात्रुहरु लाइन बसेर सार्वजनिक यातायात चढ्छन् । रत्नपार्क लगायत अन्य स्थानहरुमा पनि हालै लाइन बसेर सार्वजनिक सवारी चढ्ने संस्कृती सुरु भएको छ । राजधानीका सबै जसो स्टेशनमा लाइन बसेर सार्वजनिक सवारी चढ्ने परिपाटी विकास गर्न ट्राफिक महाशाखाले नेतृत्व लिएको हो । खासगरी कार्यालय समयमा महिला र बृद्धबृद्धाहरुलाई सार्वजनिक सवारी चढ्न निकै मुस्किल हुने गरेको छ । कार्यालय समयमा यात्रु धेरै हुने तथा सवारी साधन थोरै हुने भएकाले गाडि चढ्न ठेलमठेल हुने गरेको छ । यस्तो प्रवृत्तीलाई निरुत्साहित गरी पहिला आउने पहिला सवारी चढ्ने गरी ट्राफिक प्रहरीले सिष्टम बसाल्न लागेको हो । महिला र पुरुषको छुट्टै लाइन र बृद्धबृद्धाहरुलाई सुरुमा गाडि चढाउने सिष्टम बसाल्न लागिएको डिआईजी खनालले बताए । ट्राफिक प्रहरीको नेतृत्वका आइतबार राधधानीका अधिकांश स्टेशनहरुमा लाइनमा बसाएर सार्वजनिक सवारी चढ्न बानी बसालिएको थियो । डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई कार्यालय समयमा लाइन बसाल्ने सिष्टम सुरु गर्न महाशाखाले निर्देशन दिएको छ । बिद्यार्थी तथा स्काउटसँग मिलेर महाशाखाले ट्राफिक जनचेतना अभियान अघि बढाएको हो ।

राजनीतिक सहमतिबिना नियुक्ति नगर्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं, पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। शनिबार बिहान बालुवाटारमा भएको भेटमा निर्वाचनले नयाँ जनादेश दिएको सन्दर्भमा कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रिलाई सचेत गराउनु भएको छ।

गार्इको सुकुटीलार्इ जरायाको सुकुटी भन्दै बिक्री गर्ने सात जना पक्राउ

दाङ, मंसिर २६ । गाई काट्दै गरेको अवस्थामा दाङमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय बिरबहादुर थापासहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा तीनजना महिला र चारजना पुरुष रहेका छन । पक्राउ पर्ने अन्यको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ । गाई काटेर सुकुटी बनाउने र त्यसलाई जरायोको सुकुटी भनी बिक्री गर्ने गरेको बयानबाट खुलेको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको पनि सिंहले बताएको छ ।

झापा १ मा कार्कीको अग्रता कायमै

झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीको अग्रता कायमै रहेको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार कार्की नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भन्दा ८२५ मतले अगाडि रहेका छन् । कार्कीे १६०५८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । भने उनलाई शर्माले १५२३३ ल्याएर पछ्याई रहेका छन् ।

काठमाडौँ क्षेत्र १० बाट केसी विजयी

काठमाडौँ, मंसिर २३ । काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ । नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खनाल र नेम्बाङ भारी मतले अगाडि

इलाम, मंसिर २३ । इलाममा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनाल र पूर्व सभामुख सुभाष नेम्बाङ उम्मेदवार भारी मतान्तरले अगाडि रहेका छन् । पछिल्लो ताजा मतपरिणाम अनुसार इलाम क्षेत्र नं १ मा एमालेका उम्मेदवार झलनाथ खनाल १३१७६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन । भने उनलाई नेपाली कांग्रेसका भुपेन्दै खत्रीले ७५९४ मत प्राप्त गरी पछ्याई रहेका छन् । त्यसैगरी इलाम क्षेत्र नं २ मा एमालेका सुभाषचन्द्र नेम्बाङ १३०५७ मत ल्याएर अगाडि छन् भने उनलाई कांग्रेसका केशव थापाले ९१७१ मत प्राप्त गरी पछ्याई रहेका छन् ।

प्रधानमन्त्री देउवा ४६६ मतले पछाडि

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका नेता खगराज भट्ट ४६६ मतले पछि पारेका छन् । १२४० मत गणना हुँदा माओवादीका खगराज भट्टले ८५३ मत प्राप्त गरेका छन् । भने प्रधानमन्त्री देउवाले ३८७ मत ल्याएर उनलाई पछ्याई रहेका छन् ।

इलाममा झलनाथ खनालको फराकिलो अग्रता

इलाम,प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ । हालसम्म दुई हजार ९०६ मत गणना भएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रवीन्द्र मिश्रले पछि पारे प्रकाशमानलाई

काठमाडौं । निकै कडा प्रतिस्पर्धा देखिएको काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय बढी मतको अग्रता लिएका छन् । शुरुमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिए पनि पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार सिंह भन्दा मिश्र चार सय मतले अग्रता लिएका हुन । मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् ।

स्याङजामा तनाब, कर्फ्यू आदेश

स्याङजा, मंसिर २२ । नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भएपछि स्याङजामा तनाव भएको छ । विवाद भएपछि अहिलेसम्म मतगणना हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कफ्र्यू आदेश जारी गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा काँग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन नसकेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस र एमालेले एक अर्काले धाँदली गरेको आरोपसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि विवाद बढ्दै जाँदा मतगणना सुरु हुन नसकेको हो । सो क्षेत्रका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले काँग्रेस र एमालेले एक अर्काले बुथ क्याप्चर गरेको आरोप सहित दायर भएको मुद्दा निर्वाचन आयोगमा पठाईएको भन्दै अब निर्वाचन आयोगले गरेको फैसलालाई नै अन्तिम मानेर अघि बढ्ने बताए । त्यहाँ दुबै पार्टीका कार्यालयलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर पारेको थियो । निर्वाचन अधिकृत माथि समेत हातपात गर्ने प्रयास भएपछि लाठी चार्ज गरेको छ । साथै त्यसले पनि स्थिती सामान्य नबनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले शुरुवातमै फराकिलो अग्रता लिएका छन् । अनन्त ३५२ मतले पुन भन्दा अगाडि छन् । रोल्पा प्रदेश ‘क’ मा माओवादीका नेता कुलप्रसाद केसीले २९३ मत प्राप्त गरेका छन् भने कांग्रेसका शेरबहादुर महराले २७९ मत पाएका छन् त्यसैगरी, प्रदेश ‘ख’ माओवादीका दिपेन्द्रकुमार पुन ५१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र हमालले १३७ मत पाएका छन् ।