यूएईलाई पहिलो झड्का, सोमपालले लिए विकेट

काठमाडौं । यूएई विरुद्धको टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै सफलता पाएको छ । पहिलो ओभरको छैटौ बलमा सोमपाल कामीले यूएइका अस्फाग अहमदलाई आउट गरे । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

बीपीएलः सन्दीपको टोलीद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, पुष २५ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले आफ्नो दोस्रो खेलमा १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । चिट्टागोंग भिकिङ्ग्ससँग भइरहेको दोस्रो खेलमा सन्दीपको टोलीले ५ विकेटको क्षतिमा १५९ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर ब्याटिङ रोजेको सिक्सर्सले आज पनि खराब शुरुवात गर्यो । उसले ३ ओभरको खेल सकिदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । सिक्सर्सका लागि आज कप्तान डेबिड वार्नरले सर्बाधिक ५९ रन प्रहार गरे । यस्तै, अफिफ होसिनले ४५, निकोलस पुरनले (नटआउट) ५१ र अलोक कपालीले (नटआउट) २  रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा चिट्टागोंग रोबर्ट फ्राइलिकले ३, नेम हसन र खालेद अहेमदले समान एक-एक विकेट लिए । सन्दीपले आइतबार भएको पहिलो खेलमा १६ रन खर्चदै २ विकेट लिएका थिए । आज पनि उनले टोलीमा स्थान पाएका छन् । पहिलो खेलमा सिक्सर्स ४ विकेटले पराजित भएको थियो ।

हुम्लामा अत्याधिक हिमपात हुन थालेपछि जनजीवन प्रभावित

हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ। हिमपातका कारण पशु चौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । रासस

आज जापानी विदेशमन्त्री आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुने

काठमाडौंँ, पुस २५ गते । जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँ सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिना अघि जापानको औपचारिक भ्रमण गर्नु भएको थियो । यस अघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गर्नुभएको थियो भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गर्नुभएको थियो । यस्तै, सन् २००२ मा तत्कालीन जापानी प्रधानमन्त्री योसिहिरो मोरीले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । यसैगरी, जापानी विदेश राज्यमन्त्री नोबु कासीले सन् २०१६ को अगस्टमा र जापानी संसदीय उपमन्त्री कियोसी वडावराले सन् २०१७ को जुलाइमा नेपालको भ्रमण गर्नु भएको थियो । सन् २०१७ को जुनमा जापानी वतावरण राज्यमन्त्री टाडाहिको इटोले नेपालको भ्रमण गर्नु भएको थियो । नेपाल जापान सम्बन्ध १८ औं शताब्दीको अन्त्यतिरबाट शुरु भएको भए पनि कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरबाट स्थापना भएको थियो । सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी पराजित

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको मैदानमा हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोन भिड्नेछन्

मन्त्रिपरिषद् बैठकः गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

काठमाडौं, पुष २३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा सरकारले रेग्मीलाई बर्खास्त गरेपछि नयाँ प्रमुखमा वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार साँझै बरफबागस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । बर्खास्त भएका रेग्मीको कार्यकाल अझै ५ महिना बाँकी थियो । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारीलाई गुप्तचर प्रमुख बनाउन खोजेका थिए । तर २०४४ सालमा सेवा प्रवेश गरेका वरिष्ठ एआईजी देवराज भट्टलाई पछि पार्दै २०४६ का ‘बेसिक’ रेग्मी प्रमुखमा बढुवा भएका थिए । यता नयाँ प्रमुख बनेका अधिकारीले एआईजीबाट अवकाश पाउन एक महिना मात्रै बाँकी थियो । सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको छ ।

रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, पुष २३ । टीकापुर हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । आज सर्वोच्च अदालतले चौधरीलाई थुनामै राख्ने गरी आदेश दिएको हो । २०७४ चैत १२ गते उच्च अदालत दिपायलको उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले आज आदेश दिएको हो । ‘उच्च अदालत दिपायलको मिति २०७४-१२-१२ को आदेश मनाशिव नै देखिएको हुँदा सो आदेशलाई पुनः परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतले दिएको आदेश सदर गर्दै दिपायल उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । थुनामै रहेका सांसद रेशम चौधरी सांसदको हैसियतमा रहने वा नरहने भन्ने अन्योलका बीच सर्वोच्चले यस्तो आदेश दिएको हो ।

७१ वर्षमा भारतले उल्ट्यायो इतिहास, अष्ट्रेलियामा पहिलोपटक जित्यो सिरिज

सिड्नी । भारत र अष्ट्रेलियाबीच भएको चार खेलको सिरिज भारतले जितेको छ । भारतले ७१ वर्षको इतिहासमा अष्ट्रेलियामा पहिलोपटक टेष्ट सिरिज जितेको हो । भारतले २–१ ले सिरिज जितेको हो । अन्तिम खेल रद्द भएको थियो । यसअघि इङ्ल्याण्ड, दक्षिण अफ्रिका र न्यूजिल्याण्डका टीमले अष्ट्रेलियामा सिरिज जितिसकेका छन् । यसअघि वर्षाका कारण गावस्कर ट्रफीको चौथो र अन्तिम टेष्टको अन्तिम दिनको खेल रद्द भएको थियो । खराब मौसमका कारण चौथो दिन ६४÷४ ओभरको खेल रोकिएको थियो । उज्यालो नभएको भए तेश्रो दिन पनि १६।÷३ ओभर कम खेलिएको थियो । यो टेष्टमा भारतले टस जितेर ब्याटिङ फैसला लिएको थियो । भारतले सात विकेटमा ६२२ रन बनाएर आफ्नो पहिलो पारी सकेको थियो । अष्ट्रेलिया पहिलो पारी ३ सय रनमा नै अलआउट भएको थियो । भारतले फलोअन देखिएपनि दोश्रो पारीमा बिना विकेट ५ रन मात्रै बनाउन सक्यो । त्यही बेला पर्याप्त उज्यालो नहुँदा तेश्रो सत्रको खेल रद्द भएको थियो । चौथो दिन भने पानी परेपछि पहिलो सत्रका खेल हुन सकेनन । पाँचौ दिन पनि पानी परिरहेको थियो ।

बंगलादेशमा सन्दीपको चमत्कार, अन्तिम ओभरमा पनि विकेट लिए

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बिपीएल) मा स्यालेट सिक्सर्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार शुरुवात गरेका छन् । उनले आफ्नो तेस्रो र अन्तिम ओभरमा विकेट लिएका छन् । उनले कोमिल्ला भिक्टोरियन्सका सोयब मलिकलाई तेस्रो ओभरको अन्तिम बलमा आउट गरे । यस्तै, अन्तिम ओभरको दोस्रो बलमा पनि विकेट लिन सफल भए । ४ ओभर बलिङ गर्दै सन्दीपले १४ रन खर्चिए । यसअघि सिक्सर्सले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो लिगमा सन्दीपको डेब्यू खेल हो । केही दिनअघि मात्र सन्दीपले अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा शानदार प्रदर्शन गरेका थिए । त्यहाँ उनले ४ खेलमा ८ विकेट लिएका थिए । बीबीएलमा सन्दीप मेलबर्न स्टार्समा आवद्ध छन् ।

प्रभु बैंकले कति प्रतिशत बोनस बाँड्ने ?

काठमाडौं, पुस २२ । प्रभु बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २२ गते आइतबार बसेको सञ्चालक समितको १३५ औं बैठकले बोनस र नगद गरि सो परिमाणको लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७४–०७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यससँगै बैंकको शेयरधनीले सात आर्थिक वर्षपछि लाभांश खान पाएका छन् । बैंकले यसअघि आर्थिक वर्ष २०६६–०६७ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले प्रस्ताव गरेको क्त लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुने छ । मेरोलगानीबाट

डीपीएलका तीन महँगा खेलाडी को–को ? हेर्नुस्

काठमाडौं, पुष २१ । धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करणको काठमाडौंमा खेलाडी बोलकबोल (अक्सन) जारी छ । माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि ६ टोलीले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन्। खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्। यो वर्ष डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् । टिमले अहिलेसम्म खरिद गरेका खेलाडी विराटनगर किंग्स कुशल भुर्तेल- १ लाख ६० हजार अर्जुन अधिकारी- ३० हजार किशोर महतो- १ लाख मोहम्मद सांम्सद शेख- ७५ हजार राजेश पुलामी मगर- ७५ हजार महेन्द्रनगर यूनाइटेड अविनाश बोहरा- १ लाख ७० हजार आरिफ सेख-२ लाख ५० हजार अमरसिंह रौटेला- १ लाख २० हजार धनगढी स्टार्स दीपेश श्रेष्ठ- ८० हजार सौरभ खनाल- १ लाख ६० हजार विपिन खत्री- ९५ हजार हरिबहादुर चौहान-९५ हजार अमित श्रेष्ठ- १ लाख ८० हजार रुपेन्देही च्यालेन्जर्स ललितसिंह भण्डारी- २ लाख ५० हजार प्रदीप ऐरी- २ लाख ४० हजार पुरन विक- ४० हजार सन्दीप सुनार- १ लाख १० हजार अनिल खरेल- ३० हजार सुमित महर्जन- ७५ हजार विनोद भण्डारी- २ लाख ५० हजार कृष्ण कार्की- १ लाख काठमाडौं गोल्डेन्स विक्रम भुषाल-१ लाख ६० हजार अविनव यादव- ३० हजार रासिद खान- १ लाख ७० हजार सिवाइसी अत्तरिया जितेन्द्रसिंह ठकुरी- ७५ हजार भुवन कार्की-२ लाख १० हजार दीपेन्द्र रावत- ३० हजार

यी हुन वाईडबडी प्रतिवेदनमा मत बाझिनुका ३ प्रश्नहरू

शुक्रवार बसेको सार्वजनिक लेखा समितिको वैठकमा दुईवटा ठूला जहाज- वाइडबडी खरिद सम्बन्धमा अनुसन्धान गर्न आफैले गठन गरेको छानविन उपसमितिको प्रतिवेदनमाथि सांसदहरूको मत बाझिएको छ। प्रतिवेदनमा मत बाझिनुपछाडिका तीन प्रश्नहरू खास दोषी को? निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार यस प्रकरणमा सुरुदेखि नै संलग्न रहेकाले प्रतिवेदनले औंल्याएजसरी मुख्य दोषी उनी रहेको भन्नेमा सबैजसो सांसदहरू सहमत देखिएका थिए। तर ‘बैना दिने तत्कालिन मन्त्री जीतेन्द्र देवले पहिलो किस्ता दिए बापत नैतिक जिम्मेवारी लिनुपर्ने र अन्तिम किस्ता दिएबापत बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हदैसम्मको कार्वाही हुनुपर्ने’ कुरा प्राकृतिक न्यायको सिद्धान्तविपरित रहेको नेकपाकै सांसद सूर्य पाठकले बताएका थिए। नेकपाका सांसद विशाल भट्टराईले भने विक्रेताको टुङ्गो नलगाइकनै र विचौलिया प्रयोग गरेर विमान किन्ने प्रकृयाको सुरुवात गर्नेलाई ‘नैतिक जिम्मेवार’ मात्र भनिएको भन्दै मन्त्री रवीन्द्र अधिकारीको बचाउ गरेका थिए। उनको भनाई थियो, “मन्त्रीहरूको हकमा समेत जसको पालामा यो सम्झौता भएको छ उसले नैतिक जिम्मेवारी मात्र लिए हुने र जसले अन्तिम किस्ता दिएको छ उसलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनिनु कति न्यायसंगत छ?” के रवीन्द्र अधिकारीले रोक्ने आधार थियो? प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट बोल्ने सांसदहरूले भने ‘अन्तिम किस्ता बुझाउनु अगाडि नै महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५औं प्रतिवेदनमा खरिद प्रकरणमा त्रुटि औंल्याइसकेकोले त्यसलाई नजरअन्दाज गरिनुलाई स्वभाविक मान्न नसकिने’ दावी गरेका छन्। कांग्रेस सांसद मिनेन्द्र रिजालले विमान खरिदको प्रकृया सुरु भएदेखि त्यो हस्तान्तरण हुँदासम्म तौल र मोडलमै परिवर्तन भएको भन्दै त्यसमा पहिलेकै मन्त्रीलाई मात्र जिम्मेवार मान्न नमिल्ने बताएका थिए। तर उपसमितिका सदस्य रहेका सांसद प्रदीप यादव भन्छन्, “त्यस्तो थाहा हुँदा हुँदै किन रोकेर छानविन नगरी अन्तिम किस्ता बुझाउन हतार गरियो? त्यसैले मन्त्री अधिकारी सिधै गलत हुनुहुन्छ।” संसदिय प्रतिवेदनको अर्थ के? प्रधानमन्त्री केपी ओलीले संसदीय उपसमिति सर्वेसर्वा नहुने बताएका थिए। उसका काम कार्वाहीको उत्तरदायित्वमाथि प्रश्न उठेको भन्दै सरकारले बिहीवार नै ४५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उच्चस्तरिय जाँचबुझ आयोग गठन गरेको थियो। तर उपसमितिमा रहेका ७ सदस्यमध्ये तीनजना नेकपाकै छन् भने दुई कांग्रेस र बाँकी दुई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका थिए। नेकपाबाटै प्रतिनिधित्व गरेका सांसदहरूले आफ्नो अनुसन्धान र निष्कर्षमाथि शङ्का नगर्न भनेका छन्। तिनैमध्येका एक प्रेमबहादुर आलेले आवश्यक परे केही सामान्य कुरा परिमार्जन समेत हुनसक्ने बताए। कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकारले नयाँ अनुसन्धान बढायो भन्दैमा संसदीय समिति चुप लागेर बस्नुपर्ने सोच्न थालियो भने संसदकै उपादेयता सकिने भन्दै चेतावनी दिएका छन्। तर संसदीय समितिले अनुसन्धानका लागि निर्देशन र सुझावहरू दिन सक्नेमा अन्तिम निर्णयजसरी प्रतिवेदन ल्याउनुलाई भने कतिपयले अस्वभाविक समेत मानेका छन् । बिबिसिबाट

संचारकर्मी तथा गायक किशन रेग्मीको ‘कुम जोडी नाचौंला’ गीतको भिडियो छायांकन सम्पन्न

काठमाडौँ, पुस २० । वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको ‘कुम जोडी नाचौंला’ गीतको भिडियो बिहीबार ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको हो । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो । जसमा निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् । गायक रेग्मीका अनुसार छायांंकन गरिएको उनको पछिल्लो गीत कुम जोडी नाचौंला डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो चाँडै नै युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक हुँदैछ । युगल गीत कुम जोडी नाचौंला गीतमा किशन रेग्मी संगै रेश्मा केसीको पनि स्वर रहेको छ । शिशिर राना ति कलाकार हुन् जसले मर्ने कसैलाई रहर हुँदैन, ई आँखामा तिमी छौ, लाईदिम् लाईदिम् भछ, जस्ता चर्चित गीतका बाल गायक प्रेम परियारलाई काठमाडौं ल्याएर सांगीतिक भविष्यका लागि सहयोग गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अव्वल चलचित्रकर्मी तथा कलाकारको छवि बनाएका निर्देशक राणाका नोवेम्बर रेन, रामकाहानी, कायरा लगायका चलचित्रमा गरेको अभिनयलाई दर्शकले पछिल्लो समय अत्याधिक मन पराएका छन् । पहिलो पटक कुम जोडी नाचौंला गीतको निर्देशन गरेका राणाले यो गीत आजका स्रोतालाई ध्यानमा राखी मौलिक नेपाली भाषामा निर्माण भएको राम्रो गीत भएकाले आफुलाई गीत मन परेर निर्देशन गरेको बताएका छन् ।

कलाकार तथा समाजसेवी फुर्वाको ‘बिर्सन सक्दिन म’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

मलेसिया, पुस १८ । नेपाली कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तान तामाङको नयाँ म्युजिक भिडियो अङ्ग्रेजी नयाँवर्ष २०१९ को उपलक्ष्यमा युट्युबमा सार्वजनिक भएको छ। नयाँ वर्षलाई पछ्याउदै नेपाली ताराका विजेता सन्तोष लामाको स्वरमा र रोशन भट्टराईको शब्द रहेको ‘बिर्सन सक्दिन म’ नामक यस गीतमा होनहार गायक तथा संगीतकार न्ह्यु बज्रचार्यले संगीत भरेको छ। आँखामा तिम्रो तस्बीर, मुटुमा तिम्रै सम्झना बोलको गीतसँगै सन्तोष लामाको एल्बम अक्षतामा समावेश गरिएको तेस्रो म्युजिक भिडियो हो ‘बिर्सन सक्दिन म’ । भिडियोमा प्रवासमा रहेर पनि कलाकारिता क्षेत्रमा कृयाशील दर्जनौ म्युजिक भिडियो र फिल्ममा समेत अभिनय गरिसकेका समाजसेवी, नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङ आफैले साबित्र थिङ तामाङसँगै मनमोहक अभिनय गरेको छ। नेपालबाटै सुटिङ टिमलाई निम्त्याई मलेसियाको विभिन्न रमणीय, पर्यटकीय ठाउँहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर लावतीको निर्देशन रहेको यस भिडियोको छायांकन, ड्रोन क्यामरामा अमिर माबो र सम्पादन बिकास धमलाको रहेको छ। तलको लिङ्क खोलेर पूरा भिडियो हेर्नुहोस्

राष्ट्रिय क्रिकेट टोलीमा चार नयाँ अनुहार, गर्लान् शानदार प्रदर्शन ?

काठमाडौं, पुष १६ । नेपाल र यूएईबीच यसै महिनाको अन्त्यमा हुन लागेको एकदिवसीय र टी-२० अन्तरदेशीय क्रिकेट शृङ्खलाका निम्ति सोमवार गरिएको प्रारम्भिक छनोटमा चार नयाँ खेलाडीले स्थान पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छानेको २० सदस्यीय टोलीमा अविनाश बोहरा, भीम सार्की, सन्दीप जोरा र पवन सर्राफको नाम समेटिएको हो। युवा खेलाडीहरूमा बोहरा तीव्र गतिका बलर हुन्। त्यस्तै जोरा र सार्की ब्याट्सम्यान तथा सर्राफ अलराउन्डर हुन्। भर्खरै कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न २० ओभरको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा प्रभावशाली प्रदर्शन गरेपछि यी खेलाडीहरू बन्द प्रशिक्षणमा परेको बताइएको छ। बन्द प्रशिक्षण अर्को हप्ता ज्यानुअरी ८ तारिखबाट शुरु हुनेछ। राष्ट्रिय टोलीको अन्तिम १४ सदस्यीय टोलीको घोषणा ज्यानुअरीको दोस्रो हप्तामा गरिने भएकोले यी युवा प्रतिभाहरूले अन्तिम चरणमा छानिन बन्द प्रशिक्षणमा भने प्रभावशाली खेल देखाउनुपर्नेछ। चोटका कारण अलराउन्डर सागर पुनलाई टोलीमा समेटिएको छैन । त्यस्तै टोलीमा नाम भए पनि बलिङ अलराउन्डर सोमपाल कामी पनि घाइते भएकाले उनी खेल्ने नखेल्ने निश्चित हुन बाँकी छ। हाल अष्ट्रेलियामा ‘बिग ब्यास’ नामक व्यावसायिक क्रिकेट खेलिरहेका सन्दीप लामिछाने उतैबाट यूएई जाने बताइएको छ। स्थापित खेलाडीहरू चोटग्रस्त भएको अवस्थामा युवा खेलाडीको राष्ट्रिय टोलीको जर्सी लगाउने मौका बढ्न सक्ने सम्भावना रहेको बताइएको छ। नतिजा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको ६ महिनापछि नेपाली टोली पहिलो पटक यूएईसँग अन्तरदेशीय शृङ्खला खेल्न लागेको हो। जनवरी २५ देखि फेब्रुअरी तीन सम्म हुने शृङ्खलामा दुई देशले तीन वटा एकदिवसीय र तीन वटा २० ओभरको खेल खेल्ने तालिका छ। नौ महिनाअगाडि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय खेल हो। यसअघि नेपालले गत अगस्टमा नेदरल्याण्ड्ससँग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जुन १-१ को बराबरी नतिजामा टुङ्गिएको थियो। प्रारम्भिक टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, करण केसी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रदिप ऐरी, आरिफ शेख, रोहित पौडेल, ललितसिंह भण्डारी, ललित नारायण राजवंशी, सुशन भारी, अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, पवन सर्राफ, सन्दिप जोरा रहेका छन्। बीबीसीबाट

नेता जोशी भन्छन्, ‘कांग्रेस अब पुरानै तरिकाले अगाडि बढ्न सक्दैन’

दमौली, पुष १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले सोमबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताए । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । रासस