फोहोरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलार्इ जिम्मा दिइयो

तुलसीपुर, मङ्सिर ४ ।

घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ ।

एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो ।

उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । रु २० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ । घोराही उपमहानगरपालिका–१६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ । अब लगत्तै निर्माण प्रक्रिया थालिने र १४ महीनामापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ ।

घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने भएको छ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर सङ्कलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उत्पादनपश्चात् कूल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । तत्कालीन घोराही नगरपालिकाले करीब तीन वर्ष पहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो । रासस

गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रयास जारी छः श्रममन्त्री

काठमाडौं, मंसिर ३ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन गन्तव्य मुलुकसँग नयाँ उचाईबाट समझदारी गरिनुपर्ने बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) र वीनरक इन्टरनेशनलद्वारा सोमबार आयोजित ‘वैदेशिक रोजगारीमा जाने कामदारको जिम्मेवारपूर्ण छनोट’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली श्रमिकको सेवा, सुविधा र हकअधिकारलाई स्थापित गर्न पूराना समझदारीलाई समयानुकूल बनाउँदै नयाँ गन्तव्य मुलुकसँग समझदारी कायम गर्ने प्रयत्न भइरहेको बताए । उनले भने, ‘श्रम र पुँजीका कारण दुनियाँ समृद्ध हुँदै गएको छ, श्रमिक पठाउने देशले हिनताबोध गर्नु छैन, आत्मसम्मान र गौरवका साथ गन्तव्य मुलुकसँग समझदारी गर्नु जरुरी छ । श्रमिकले मर्यादित जीवनका साथ काम गर्ने अवसर पाउनुपर्छ ।’ उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवालाको संयुक्त प्रयत्नबाट मात्र सदाचारपूर्ण कामदार छनोट प्रक्रियालाई व्यवहारमा परिणत गर्न सक्ने बताए । उनले भने, ‘सदाचारपूर्ण कामदार छनोट प्रक्रिया वैदेशिक रोजगारीमा मात्र होइन, देशभित्र पनि हुनु आवश्यक छ । देशभित्रैको श्रमिक छनोटका क्रममा पनि अनियमितता देखिएका छन्, देशभित्र श्रमिक लिनेदिने प्रक्रियालाई पारदर्शी बनाउन सरकार गम्भीर रहेको छ ।’ आप्रवासन विश्वव्यापी प्रवृत्ति र संस्कृतिका रुपमा अघि बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले हरेक व्यक्ति तुलनात्मक लाभ र अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम विश्वव्यापी रुपमा तीव्र गतिमा विकसित भइरहेको बताए । मन्त्री विष्टले भने, ‘जुन गतिमा आप्रवासन अघि बढेको छ, त्यही अनुपातमा यससँग सम्बन्धित समस्या देखापरेको छ । आप्रवासनलाई सही ढङ्गबाट व्यवस्थापन गर्न नसकेको खण्डमा मानव ओसारपसार, मानवता विरोधी गतिविधि बढ्ने र मानवाधिकारको विश्वव्यापी मूल्य र मान्यतामाथि नै चुनौती पैदा हुने खतरा बढेको छ ।’ उनले आप्रवासनसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि हरेक मुलुकले आफ्नो सीमाभित्र, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सैद्धान्तिक, नीतिगत र कार्यक्रममा सहमति गर्नु जरुरी भएको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल कृषिप्रधान मुलुक भए पनि कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा बढी भएकाले आप्रवासी श्रमिकको पक्षमा नीति बनाउन सरकारको ध्यानाकर्षण गराए । मुलुकको गरीबी निवारणमा विप्रेषणको योगदानलाई नकार्न नसकिने उनको भनार्इ थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले सदाचारपूर्ण कामदार भर्ना प्रक्रियाका सन्दर्भमा विश्वमा भइरहेका प्रयासलाई नेपाल सरकारले अवलम्बन गरिरहेको जानकारी दिए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले निजी क्षेत्र र सरोकारवालासँगको सहकार्यमा अल्पकालीन, मध्याकालीन र दीर्घकालीन नीति बनाउनुपर्ने बताए । -रासस

रणवीर र दीपिकाको विवाह : निम्तोमा ४० जनाको नाममध्ये क–कसको नाम छैन ?

मुम्बई । इटालीको लेक कोमो हुन गइरहेको रणवीर र दीपिका विवाह बुधबार कोकणी रीतिरिवाजबाट हुने तयारी भएको छ । उनीहरुको विवाहमा निम्तो ४० जना पाहुनाहरुलाई दिएका छन् । तर, तपाईले यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यसमा बलिउडबाट को को सेलिब्रेटीका नाम उपस्थित छैन । पिकविलाको जानकारी अुनसार, शाहरुख खान, आदित्य चोपडा र फराह खानका नाम यी ४० पाहुनाहरुको नाम सूचीमा रहेको छ भन्ने लाग्ला तर यस्तो केही होइन । यी सेलिब्रेटीका नाम इटालीमा हुन लागेको विवाहमा पाहुनाको नाम सूचीमा सहभागी छैन । विवाहको लागि इटाली पुग्नुअघि दीपिका–रणवीरले भन्सारी र फराह खानसँग उनले घरै गई भेटघाट गरेका थिए तर उनले विवाहको लागि भने निमन्त्रणा गरेका छैनन् । विवाहमात्र कुनै निमन्त्रणा नदिएपनि २८ नोभेम्बर मुम्बईमा नै हुने रिसेप्शन पार्टीमा भने यी सेलिब्रेटीहरुलाई निमन्त्रणा दिएका छन् ।

विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

काठमाडौँ, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिने छ । नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैंकले रु चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । त्यस अवसरमा मन्त्री खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएका बताउँदै नेपालको सामाजिक–आर्थिक विकासमा बैंकले निरन्तर सहयोग गरेकामा हार्दिक आभार प्रकट गरे । हरितगृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि जलवायु परिवर्तनका कारण नेपालको खाद्य सुरक्षाको क्षेत्र चुनौतिपूर्ण बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । अर्थमन्त्रीले त्यस्ता चुनौतीलाई परास्त गर्न बैङ्कबाट थप सहायताको अपेक्षा नेपालले गरेको बताए । उपाध्यक्ष साफेरले नेपाल सरकार र बैकका पदाधिकारीको अथक प्रयासबाट एउटा परियोजनामा ऋण लगानी र अर्कोलाई अनुदान प्रदान गर्न सम्भव भएको भन्दै सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताए । गरीबी घटाउन र समावेशी विकासको बाटोमा नेपाललाई अग्रसर तुल्याउन दुवै परियोजना प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । रासस

ब्रेकफेल भएको कारण ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा, कात्तिक २८ । पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ । निस्दी गाउँपालिका–७ ज्यामिरेमा मंगलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिदाँ चालक महतो घाइते बनेका थिए । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । निस्दीको भुटुको चुनढुङ्गाखानीबाट नवलपरासीको सर्दी जाने लोड टिपरको ब्रेकफेल हुन पुगेको हो । यसैबीच आज बिहान पाल्पा जिल्ला सदरमुकाम तानसेनको हुलाङदीमा लु१च ९८२२ नंको उकालोमा चढ्न नसक्दा दुर्घटना भएको हो । पिकअप दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु जीप चालक नवलपरासी जिल्लाको बर्दघाट नपा–४ का ३१ वर्षीय नुरप्रसाद भूषाल, जीपमा सवारमा तानसेन नगरपालिका–१२ का ४२ वर्षीय वीरेन्द्र थापा घाइते भएका हुन् । थापाको अवस्था सामान्य भए पनि भूपालको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । ओभरलोडका कारण उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकमा रोकिएको अवस्था रहेको बा१५च ३८३१ स्कारपियोमा क्षति भएको छ । तानसेनको हुलाङदीदेखि विशाल बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो । रासस

सुदूरपश्चिममा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दार्चुला, कार्तिक २५ । सुदूरपश्चिमका पहाडी जिल्लामा आज दिउँसो भूकम्प गएको छ । १२ बजे ५२ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलकोत्यसको ७ मिनेटपछि भूकम्प गएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ। पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए। भूकम्पको धक्कासँगै घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर निस्किरहेका थिए। भूकम्पबाट क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

दुई लाख तीस हजार अवैध भारतीय नगदसहित एक पक्राउ

काठमाडौं, कार्तिक १९ । प्रहरीले आइतबार साँझ ५ बजे पर्साको वीरगञ्ज महानगरपालिका–८ बाट दुई लाख तीस हजार अवैध भारतीय रुपैयाँ नगद सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जरनाथपुर – ५ घरभई वीरगञ्ज महानगरपलिका – १३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवार रहेका छन् । प्रहरीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनको साथबाट भारतीय मुद्रा दुई हजार दरको नोट एक सय थान र पाँचसय दरको नोट साठ्ठी थान गरी दुईलाख तीस हजार भारतीय रुपैयाँ बरामद गरेको छ पक्राउ परेका कलवारलाई बरामद गरिएको भारतीय रुपैयाँसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रशासनबाट

आजबाट यमपञ्चक सुरुः पहिलो दिन काग तिहार

काठमाडौँ, कात्तिक १९ । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गरार्इ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा ५ दिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो ५ दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहोर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउँछन् । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् । वीपी सङ्ग्रहालय प्रमुख पर्शुराम पोखरेलका अनुसार दशैँका बेला लाग्ने कागेश्वरी मेला भने यो होइन । कागेश्वरी मेलाका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाए जसरी देखाइने गरेको कागको प्रतिमा गायव भएपछि यहाँ कागको नयाँ प्रतिमा स्थापना गरिएको हो । गायव भएको कागको प्रतिमाको खोजी होस् भन्ने जनमाग रहेको उनी बताउँछन् । यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् । राजधानीको जयवागेश्वरीस्थित नेपालमा एकमात्र धनवन्तरी मन्दिरमा वागमती अञ्चल आयुर्वेद औषधालय र जयवागेश्वरी युवा क्लवले पूजा अर्चना सहित विशेष समारोहको आयोजना गरेका छन् ।

‘जीरो’ भएका शाहरुखले ट्रेलरबाटै तोडे रेकर्ड

शाहरुख खानले शुक्रबार आफ्नो जन्मदिन मनाए र साथै महत्वाकांक्षी चलचित्र ‘जीरो’को ट्रेलर पनि सार्वजनिक गरे । यस चलचित्रको ट्रेलरमा आएका प्रतिक्रियाबाट उनी निकै उत्साहित बनेका छन् र उनले आफा फ्यानहरूलाई ट्वीटमार्फत् धन्यवाद पनि भनेका छन् । यस फिल्मको ट्रेलरलाई युट्युबमा दुई दिनभित्र ६ करोड ७५ लाख जनाले हेरिसकेका छन् । यस अर्थमा यो चलचित्र ब्लकबस्टर हुने निश्चित छ । युट्युब भ्युकै कुरा गर्ने हो भने २०१८ को सर्वाधिक कमाइ गर्ने चलचित्र ‘संजु’को हालसम्मको भ्युजलाई समेत ‘जीरो’ले उछिनेको छ । त्यस्तै आमिर खान र अमिताभ बच्चन अभीनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ र रजनीकान्त र अक्षय कुमारको अभिनय रहेको साइ-फाइ सिक्वेल २.० समेतलाई जीरोले पछारिसकेको छ । ट्रेलर भ्युकै करा गर्ने हो भने जीरोभन्दा अगाडि ‘बाहुबली- २’, ‘बागी-२’ र ‘टाइगर जिन्दा है’ मात्र रहेका छन् तर यी चलचित्रका ट्रेलर युट्युबमा अपलोड भएको वर्ष दिनभन्दा बढी भैसकेको छ भने ‘जीरो’ दुई दिन अघि मात्र अपलोड भएकोहो । यस हिसाबले यसले सजिलै ती आँकडाहरू पनि पार गर्ने आकलन गरिएको छ । युट्युबमा हाल शनिबार ट्रेन्डिङ भिडियोको सूचीमा दोस्रो नम्बरमा रहेको यो ट्रेलर आइतबार एक नम्बरमा उक्लिएको छ । निर्माता कम्पनी रेड चिल्लीजका अनुसार रिलिज भएको २४ घण्टाभित्रै युट्युबमा ४ करोड भन्दा बढीले यो ट्रेलर हेरिसकेका थिए । त्यस्तै यो सबैभन्दा छिटो फेसबुकमा १० लाख भ्युज र युट्युबमा १० लाख लाइक पाउने भिडियोमा समेत परेको बताइएको छ । उता फेसबुकमा समेत ‘जीरो’को ट्रेलरले एक करोडभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ । शाहरुखले यो कुरा थाहा पाउनासाथ आफ्ना प्रशंसकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले ट्वीट गर्दै ‘सानो मान्छेलाई यति ठुलो बनाइदिएको’ भन्दै प्रशंसकहरूप्रति यो प्रेमका लागि आभार व्यक्त गरेका छन् । ‘जीरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ र यसमा शाहरुख खानसँगै क्याटरिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ । यस फिल्ममा शाहरुखले बाउन्ने पात्र बउआ सिंहको भूमिका निर्वाह गर्दैछ्न् भने अनुष्काले अपांग केटीको र क्याटरिना सेलिब्रिटीको भूमिकामा देखिने भएकी छिन् ।

बिराटनगर आइपुग्यो भारतीय रेल

बिराटनगर, कार्तिक १८ । प्रदेश नं. १ को अस्थायी राजधानी बिराटनगरसम्म भारतीय रेलको परीक्षण सम्पन्न भएको छ । नेपालको कटहरी जोड्ने रेलमार्ग परीक्षणका लागि भारतीय रेल बिराटनगर- १८ बुधनगरसम्म आइपुगेको हो । बिहारको बथनाहादेखि ८ किलोमिटर दुरी तय गर्दै आइतबार ब्रोडगेज मार्गमार्फत एक घण्टामा नेपाल-भारत सीमा क्षेत्र बुधनगरसम्म रेल आइपुगेको हो । परीक्षणमा एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कस्टम यार्डसम्म १३१०२ डब्लुडिजी ३ ए रेलको इन्जिनमा नेपाली र भारतीय झण्डा राखेर चालक एन.के.यादवले ल्याएका थिए । सफल परीक्षण भएपछि आगामी डिसेम्बर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेसँगै सीमामा रहेको एकीकृत भन्सारसम्म मालबाहक रेल आवत जावत गर्नेछ । औद्योगिक सामान ओसार्न बथनाहादेखि बिराटनगर सीमाना कटहरी गाउँपालिकासम्म, १८ किलोमिटर दुरीको परियोजना सञ्चालन भैरहेको छ । तर, जग्गा अधिग्रहणमा ढिलाई हुँदा नेपालतर्फ अझै १० किमी रेलमार्ग बिस्तार गर्न, कटहरीमा प्लेटफर्म र गोदाम घर निर्माण गर्न बाँकी रहेको छ । भारतको राइटस लिमिटेड परामर्शदाता रहेको रेलमार्ग भारतीय रेल मन्त्रालय अन्तर्गत रहेको इरकोण कम्पनीले निर्माण गरिरहेको छ । हालसम्म नेपालतर्फ ३ किलोमिटर र भारततर्फ पाँच किमी दुरीमा मात्र बिस्तार भएको छ । नयाँ पत्रिकाबाट

सबै पाहुनाको गलामा सयपत्री फूलको माला

पोखरा, कात्तिक १८ । कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो । तर, यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लागाएर समानताको व्यवहार देखाइएको छ । कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई समानरूपमा माला लगाइएको हो । बाटोदेखि सभा हलसम्म मौलिक पोशाकमा सझिएका पङ्तिबद्ध स्थानीय फूल उत्पादन आमा समूहले आगन्तुक पाहुनालाई निधारमा टीका र गलामा सयपत्री फूलको मालाले स्वागत गरेपछि कार्यक्रमस्थल फूलैफूलको पर्व तिहारमय जस्तै देखिएको थियो । विभिन्न तीन वटा फूल उत्पादन आमा समूहका ६१ जनाले बारीमा उत्पादन गरेको फूल टिपेर आगन्तुक अतिथिको स्वागत र सम्मानका लागि माला तयार पारेका र एउटा मालाको रू ५० का दरले खरिद गरिएको उक्त गाउँकार्यपालिका वडाध्यक्ष कल्पना गुरुङले बताए । उनका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको स्वागतका लागि स्थानीय फूल उत्पादन आमा समूहमा आवद्ध ६२ जनाले ८५० वटा सयपत्री फूलका माला तयार गरेका थिए । आमा समूहमध्ये क समूहले दुई सय ७०, ख समूहले दुई सय ५० र ग समूहले दुई सयवटा थप माला सभाहल सजाउनका लागि तयार गरेका र यसबाट उनीहरूले रु ५० हजार आम्दानी गरेको सदस्य गुरुङले बताए । व्यावसायिक फूलखेतीका लागि कुनै ब्याड बनाउन र महङ्गो बीउ किन्नु परेन, गाउँमा उमे्रको स्थानीय जातको फूलको हाँगा काटेर साउनमा बारीमा रोपेको डाँठमा मुजुरा पलाएर यतिखेर फूल फूलेको हो । फूल टिपेपछि हाँगा फेरि रोप्ने गरिएको उत्पादन समूह (ग) का कुलदेवी गुरुङले जानकारी दिए । सो फूल पाँच वर्षअघि मात्र गाउँ प्रवेश गरेको हो । तीन समूहले कूल १० रोपानी जमीनमा पहिलो पटक व्यावसायिक फूलखेती शुरु गरेका थिए । एउटा माला बनाउँदा लगभग ४५ वटा फूलका थुङ्गा प्रयोग गरिएको थियो । फूल उत्पादनको लागत न्यून रहेको र बजार पनि राम्रो भएका कारण उत्पादित फूल बिक्री हुँदैन कि भन्नुपर्दैन अहिले गाउँपालिकाभित्रका साथै पोखराबाटसमेत मालाको माग आएको उनले बताए । नकुहिने भएकाले वातावरणमा समेत असर नपर्ने आयातित खादा र रसायनयुक्त माला गाउँमा प्रवेश निषेध गरिनुका साथै गाउँपालिकाभित्र हुने सम्पूर्ण कार्यक्रममा स्थानीय उत्पादन जैविक माला नै प्रयोग गर्ने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए । गाउँपालिकाले व्यावसायिक फूलखेतीका लागि पहिलो पटक रु एक लाख बजेटसमेत विनियोजन गरेर ताङतिङ आमा समूहलाई प्रेरित गरेको बताउँदै उहाँले आगामी दिन फूल उत्पादनलाई सबै वडामा विस्तार गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।पोखरादेखि ताङतिङसम्म सिधैँ बस सञ्चालन हुने हुँदा सो क्षेत्रमा उत्पादित जैविक फूललगायत विभिन्न किसिमका तरकारी बजारसम्म पु¥याउन र स्थानीय बासिन्दालाई आवतजावतमा समेत सुविधा पुगेको छ । बजारबाट सो स्थानमा पुग्न बसमा लगभग दुई घण्टा लाग्दछ । अधिवेशनमा सहभागी बन्न ताङतिङ पुग्नुभएका कास्कीकै रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय आमा समूहले गरेको मेहतन र स्वागत अविस्मरणीय रहेको बताउनुभयोे । मञ्चमा बस्नेले खाँदा तथा माला लगाउने तर दर्शकदीर्घामा बस्ने टुलुटुलु हेर्ने हाम्रो पररम्परागत संस्कारको विरुद्ध सभाहलमा उपस्थित सबैका गलामा एउटै प्रकारको फूलको मालाले स्वागत गर्न पाउँदा समानताको अनुभूति हुनाका साथै नयाँ परिसिथतिको शुरुवात भएको अन्य सहभागीहरूले बताए । रासस

कार्तिक ३० देखि सानिमा बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, कार्तिक १८ । सानिमा बैंकले यही कार्तिक ३० गतेदेखि १० वर्षअवधिको २ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको निष्काशन गर्ने कूल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता व्यक्तिगत तवर मार्फत बिक्री छ भने २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको हो । सर्वसाधारणमा निष्काशन हुने कूल ४ लाख कित्ता ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ भने ३ लाख ८० हजार कित्ता सर्वसाधारले आवेदन दिन पाउने छन् । १०५ सानिमा डिवेञ्चर २०८५, नाम दिइएको १० वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर अर्ध–वार्षिकरुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन गर्न पाइने छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । बैंकको ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले ऋणपत्रको बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल, सानिमा बैंकको उपत्यका तथा उपत्यका बहिरका शाखा कार्यालयहरुबाट दरखास्त फारमा बुझाउन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन गर्न सकिने छ । पूँजी प्रयाप्तता अनुपात बढाउन र व्यवसाय विस्तारका लागि ऋणपत्र जारी गर्न लागिएको सानिमा बैंकले जनाएको छ । बैंकलाई आवश्यक दीर्घकालीन पूँजीको जोहो गर्न यो ऋणपत्र बिक्री गर्न खोजेको हो। उसको पूँजी कोष अनुपात अहिले १२।९३ प्रतिशत छ । हाल बैंकमा बचत खाताको ब्याजदर ७ प्रतिशत हाराहारीमा मात्र रहेको छ । ऋणपत्रमा १० प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट कात्तिक ७ गते अनुमति प्राप्त गरेको थियो । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि बैंकले ३७ करोडको ७५ सानिमा डिवेञ्चर २०७९ जारी गरेको थियो । बैंकले गत बर्षको खुद नाफाबाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेरोलगानीबाट

छठपछि सरकारविरुद्ध कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्ने भएको छ । कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’ महतले आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्धपी उनले आवश्यक पर्यो भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने बताए । उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रिय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए । महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’ ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार उदासिन बनेको छ । चरम महँगी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन् । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होईन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’ स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ।’ मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने,‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन सकेन। यो पाराले कसरी मुलुक समृद्ध हुन्छ ?’ उनले पछिल्लो समय सरकारका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएकोपनि आरोप लगाए । महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन्।’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’ सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे । फरक प्रसँगमा उनले कञ्चनपुरमा अहिले सरकारले नाटक देखाईरहेको पनि आरोप लगाए । उनले भने,‘१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यत्रो दिन बित्यो, तर रक्षक नै भक्षक भएको पाईयो । प्रहरी पनि सरकारकै संयन्त्र हो नि । सरकारकै छत्रछायाँमा यो भैरहेको छ ।’ सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने,‘त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होईन भने, तिमीहरु सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले गर्यो, के गर्यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो गर्यो त ?’ फरक प्रसँगमा उनले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्नुको कारण निर्वाचनपछि पार्टीको परिणाम कमजोर भएकोले यही मौका छोपेर नेतृत्वको आलोचना गरौं भन्ने हिसाबले भएको भएपनि त्यसलाई आम कार्यकर्ताको पंक्तीले नरुचाएको स्पष्ट पारे । उनले भने,‘हाम्रा नेता तथा कार्यकर्ताहरुले अहिले तपाईहरु एक भएर अघि बढ्नुहोस, आँफैभित्र विवाद गर्ने बेला होईन भनेर भन्नुभएको छ । उहाँहरुले नेताहरुलाई आफ्ना कुराको चर्चा, बहस तथा छलफल केन्द्रिय समितिमा राख्न आग्रह गर्नुभएको छ । त्यतिमात्रै होईन, व्यक्तिलाई होईन पार्टीलाई केन्द्रविन्दु राखौं भन्ने आवाज बुलन्द भएको छ ।’ पार्टीका क्रियाशिल सदस्य हटाएर साधरण सदस्यहरुले नै महासमिति, महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य चयन गर्नेगरि विद्यान मस्यौदा तयार पार्न लाग्नुभएको छ अरे नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो विषय विधान मस्यौदा समितिले टुँगो लगाएको छैन् । अहिलेपनि हामी छलफलमै छौं । के गर्दा राम्रो हुन्छ, त्यही गर्छौं । गुण र दोषको आधारमा हामी निश्कर्षमा पुग्छौं ।’ त्यस्तै उनले सभापतिलाई असिमित अधिकार दिन लागिएको छ भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने,‘अहिले जति अधिकार प्राप्त भएको छ, त्यो अधिकार त प्रयोग गर्न दिईएको छैन् । न त सभापतिले नै अधिकार माँग्नुभएको छ । न त उहाँ सँधै सभापति नै हुनुहुन्छ । किन असिमित अधिकार चाहियो ?’ Source: Hamrakura dot com

पीपीएल : चितवनद्वारा काठमाडौं १३ रनले पराजित

काठमाडौं, कार्तिक १५ । पोखरा प्रिमियर लिगमा बिहीबारको पहिलो खेलमा चितवनले काठमाडौंलार्इ १३ रनले हराएको छ । चितवनले दिएको एक सय ५० रनको अक्ष्य पछ्याउने क्रममा पूरा ओभर खेल्दै काठमाडौंले ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो । काठमाडौंका लागि गौरव टोमारले सर्वाधिक ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल ३० रन र पवन सफारले २८ रनको योगदान गरे । चितवनका लागि करण केसीले ३ विकेट र पारस खड्काले २ विकेट लिए । यस्तै सन्नि पटेल, समित पटेल र भुवन कार्कीले समान १–१ विकेट लिए । टस हार्दै ब्याटको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । चितवनका लागि ब्याट्सम्यान हरिशंकर शाहले ६० रन, अनिल शाहले २७ रन, कप्तान पारस खड्काले १४ रन, समित पटेलले ३१ रन र सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका लागि बसन्त रेग्मी २ विकेट लिए । नन्दन यादव र पवन सफारले १र १ विकेट लिए । जितसँगै चितवन ४ खेलमा ४ अंक सहित तेस्रो स्थानमा छ भने काठमाडौं ३ खेलमा ४ अंक सहित चौथो स्थानमा रहेको छ ।

१६ लाख बढीको रिचार्ज कार्डसहित एकजना पक्राउ

दाङ, कार्तिक १५ । दाङमा रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई पक्राउ परेका छन् । रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुन पक्राउ परेका हुन् ।   असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीले उजुरी परेको २१ दिनपछि १६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित पुनलाई पक्राउ गरेको हो ।   पुनले ससुराली प्युठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ड कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए । पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको र चोरी मुद्दा दर्ता गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

निर्मला पन्तको हत्या प्रकरणः अझैसम्म प्रहरी अनुसन्धान शून्य छ

काठमाडौं, कार्तिक १३ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पुग्न लाग्दा समेत प्रहरी अनुसन्धान अझै शुन्य नै रहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले आवश्यक प्रमाण समेत जुटाउन सकेको छैन । घटना भएको ९८ औँ दिनसम्ममा अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गर्नुबाहेक अन्य कुनै उपलिब्ध हासिल हुन सकेको छैन ।