आइपीएलः ‘सुपर ओभर’ मा कोलकातालाई हराउँदै दिल्ली विजयी

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध दिली क्यापिटल्स विजयी भएको छ । निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएको थियो । ११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन सक्यो । कागिसो राबाडाको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए । बाँकी तीन बलमा राबाडाले ३ रनमात्र दिए ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो ।

दिल्लीका लागि पृथ्वी शले आईपीएलमा पहिलो शतक बनाउन एक रनले चुके । उनी ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरी ९९ रनमा आउट भए । यस्तै, कप्तान श्रेयश अय्यरले ३२ बलमा ४३, शिखर धवनले १६ र ऋषभ पन्तले ११ रन बनाए ।

अन्तिम ओभरमा दिल्लीलाई ६ बलमा ६ रन आवश्यक थियो । हनुमा बिहारी र कोलिन इन्ग्रामलाई कोलकाताका कुलदीप यादवले रोक्न सफल भए । पाँचौँ बलमा कुलदीप आउट हुँदा दिल्लीलाई जितका लागि २ रन आवश्यक थियो । तर, इन्ग्रामले एक रनमात्र लिन सके र खेल बराबरी बराबरी भयो ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो । उसका लागि आन्द्रे रसलले ६२, दिनेश कार्तिकले ५०, क्रिस लिनले २०, रविन उथप्पाले ११, निखील नायकले ७ रन बनाए । बलिङमा ४ ओभरमा २९ रन दिएर सन्दीपले १ विकेट लिए । यस्तै, कागिसो रबाडा, हर्षल पटेल र अमित मिश्राले एक–एक विकेट लिए ।

आइपीएलः कोलकाताविरुद्ध पन्जाबमा को–कोले पाउलान् मौका?

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जाबले आज कोलकता नाइट राइडर्ससको सामना गर्दैछ । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । आजको खेल १२औं संस्करणको छैटौं म्याच हुनेछ । पहिलो खेलमा जीत हासिल गरेका पन्जाब–कोलकाताको भिडन्त रोचक हुने अनुमान छ । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्स र कोलकाताले सनराइजर्स हैदराबादलाई पराजित गरेका थिए । पहिलो खेलमा जीत हासिल गरेका यी दुई टिम आत्मविश्वासले भरिएका छन् । आजको खेलमा को–कोले अन्तिम ११ मा स्थान बनाउन सक्लान्? यस्तो छ सम्भावित टिम– पन्जाब सम्भावित टिमः रविचंद्रन अश्विन (कप्तान), लोकेश राहुल, क्रिस गेल, मयंक अग्रवाल, सरफराज खान, मनदीप सिंह, निकोलस पूरन,  मुजीब उर रहमान, सैम कुरन, मोहम्मद शामी, अंकित राजपूत। कोलकत्ता समभावित टिमः दिनेश कार्तिक (कप्तान र विकेट कीपर), क्रिस लिन, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आद्रे रसल, जो डेनियल, पीयूष चावला, कुलदीप यादव, लकी फर्ग्यूसन र प्रसिद्ध कृष्णा। नोटः

निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने

काठमाण्डौं चैत १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा सुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्नेछ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ । ‘ओसाका उडानका लागि निगमले सबै कागजी प्रक्रिया पूरा गरेको छ, आज या भोलि बुधबारसम्म जापान सिभिल एभिएसनलाई कागजात बुझाउँछौँ, उसको प्रक्रियाअनुसार करीब ४५ दिनमा अनुमति जारी भएपछि निगमलाई सबै तयारी गर्न करीब ४५ दिन समय लाग्छ’, उनले भने। सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पछएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो । ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करिब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ । निगमको आग्रहबमोजिम नारिता विमानस्थलको उच्चस्तरीय टोलीले सोमबार निगमका पदाधिकारीसँग वार्ता गरेको र निगमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता कोइरालाले बताए। ‘नारिता उडानका लागि हामीले कागजी प्रक्रियासँगै उच्चस्तरीय वार्ता पनि गरेका छौँ, यसमा पनि छिट्टै प्रगति हुने देखिएको छ’, उनले भने । निगमले नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिने निगमले जनाएको छ । गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउनुहुँदा हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । एक दशक अघि निगमको काठमाडौँ–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौँ–ओशाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत् उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । सातामा तीन उडान गर्ने योजना छ । ग्राउण्ड ह्याण्डलिङका लागि केही समय लाग्नेछ । निगमले पठाएको कागजात समीक्षा ‘डकुमेण्ट रिभ्यु’ को चरणमा रहेको बताइएको छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ । वाइड बडी जहाजबाट लामो गन्तव्य उडाउने योजनाका साथ निगमले विमानचालकको थप व्यवस्था गर्दैछ । वाइडबडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले १६ चालकका लागि हालै गरेको विज्ञापनमा २८ जनाले निवेदन दिएका छन् । निवेदन दिएकामध्ये एक मात्र नेपाली चालक छन् । विदेशी चालक खर्चिलो भए पनि नेपाली चालक अभावले विदेशीको विकल्प नभएको निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ ।रासस

भारतविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं, चैत १२ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँगको चौथो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्र बनाउन सक्यो । उसका लागि नितीस कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका भीम सार्की, कुसल मल्ल, पवन सराफले दुई–दुई, कमलसिंह ऐरी, सागर ढकाल र राशिद खानले एक–एक विकेट लिए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि कुसल मल्लले सर्बाधिक नटआउट ४८, राशिद खानले ४१, पवन सराफले ३२, कप्तान रोहित पौडेल, भिम सर्कीले १८—१८, रित गौतमले १५, लोकेश बमले १२, कमल ऐरीले ८, आशिफ शेखले ५, अविशेक बसन्तले १ रन बनाए । बलिङमा जे. दुर्गाकुमार, भी. कार्तिक रेड्डी, एम. माधवले दुईदुई र पी. सपरमन्युमले एक विकेट लिए । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो ।

पशुपतिमा थरीथरीका चन्दन

काठमाडौं, चैत १२ । पशुपतिनाथमा श्रीखण्डबाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेन पातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताए । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो । जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ । विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउँछन् । यसबाहेक पशुपति गुठी गोश्वाराबाट मासिक एक धार्नी र तत्कालीन कौषी तोषाखाना (हाल अर्थ मन्त्रालय निवृत्तिभरण व्यवस्थापन कार्यालय) मा मौज्दात रही पशुपतिनाथलाई प्राप्त भएको मासिक एक धार्नी श्रीखण्ड नियमित रूपमा प्राप्त भइरहेको छ । ‘‘यही चन्दन पशुपतिनाथलाई अर्पण हुन्छ र भक्तजनका लागि पनि प्रदान गरिन्छ,’ श्रेष्ठ स्पष्ट पारेका छन् । पशुपतिमा चन्दनको व्यवस्था भए पनि अन्य काठको चन्दन कुन आवश्यकताले बनाउन परेको हो भन्ने खुल्न नसकेको स्वयं अधिकारीहरूको भनाइ छ । विसेट श्रेष्ठ थप्छन्, ‘अन्य काठबाट बनेको चन्दन बिक्री हुन्छ भन्ने सुनिए पनि आधिकारिक रूपमा कोषका कुनै व्यक्ति र निकायको संलग्नता छैन ।’ गुठी संस्थान, पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लछुना शर्मा काफ्लेले श्रीखण्ड बाहेकको अन्य काठबाट चन्दन बनिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताए । काफ्लेका अनुसार असली श्रीखण्डबाटै चन्दन तयार भइरहेको छ भन्नेसम्म गोश्वारालाई जानकारी छ । चन्दन घोट्ने हरि बुढाथोकी २०७२ सालको भूकम्पपछि आफूखुसी चन्दन घोट्न मन्दिर परिसर पसेको बताउँछन् । यसअघि अर्कैले चन्दन घोट्थे । पशुपतिनाथका मूल भण्डारी कविन्द्रलाल राजभण्डारीले चन्दन घोट्नेलाई आफूहरूले आफ्नै तर्फबाट सामान्य खर्च दिने गरेको बताए । यस्ता काठका चन्दनले चर्मरोग पनि देखापर्दै आएको आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रष्टका डा. पदमराज भारती बताउँछन् । उनले महाशिवरात्रिको शिविरमा चन्दनले छालामा फोका तथा दाद आएका विरामी भेटिएको बताए । गोरखापत्रबाट

चलचित्र ‘छपाक’ मा दीपिकाको फस्टलुक पोष्टर सार्वजनिक

मुम्बई, चैत ११ । मेघना गुलजारको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो चलचित्रमा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिने छिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ । ‘छपाक’मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतिपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् । चलचित्रमा उनको चरित्रको नाम ‘मालती’ छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् । चलचित्र ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुने छ । दीपिकाको यो फिल्मलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यानमात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् । ‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ट छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रामण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो । ‘छपाक’ मा विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहने छ । यो फिल्ममा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि छिन् । गएको केही महिनादेखि फिल्मको पूरा टिम स्क्रिप्ट अध्ययनमा व्यस्त थियो । गतवर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाको पछिल्लो चलचित्र ‘पद्मावत’ हो । एजेन्सी

नेकपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ११ । संघीय संसदको दुबै सदनको तेस्रो अधिवेशन सकिए लगत्तै सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणमा सहयोगको पहल थालेको छ । संसदको चौंथो अर्थाट बजेट अधिवेशनको सुरुवातमै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आवको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिने छ । बैठकमा तेस्रो अधिवेशनको समीक्षा हुनुका साथै सरकारको कामबारे समेत सांसदबाट सुझाव तथा प्रतिक्रिया लिने तयारी दलको छ । सरकार र सीके राउतबीचको सहमति, नेत्रविक्रम चन्द समूहको गतिविधिमा लगाईएको प्रतिबन्ध लगायतमा भने पार्टी कै शीर्ष नेताले विरोध गर्दै आएका छन् । कान्तिपुरदैनिकबाट

आइपीएलः पहिलो खेलमा सन्दीपले पाएनन् स्थान, दिल्लीलाई ब्याटिङको मौका

काठमाडौं, चैत १० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आवद्ध दिल्ली क्यापिटल्सले टस हारेर ब्याटिङको मौका पाएको छ । खेल नेपाली समयअनुसार ८ः१५ बजेदेखि मुम्बईमा शुरु हुँदैछ । पहिलो खेलमा सन्दीपले मौका पाउन असफल भएका छन् । कोकोले पाए टिममा मौका? हेर्नुस्

पहिरोले पुरिएर एकको मृत्यु, ४ जना घाइते

बझाङ, चैत १० । बझाङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकाको वडा नं. ४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नं. ४ का ३५ वर्षीया मनादेवि भट्ट रहेकी छन् । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेमा निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट हुन् । घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागि देउरा पठाइएको स्थानीय लोकराज भट्टले जानकारी दिए । सिचाईँ नहरको लागि बालुवा निकाल्दै गर्दा पहिरो खसेको हो ।

निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न आदेश

कञ्चनपुर, चैत १० । जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छोड्न आदेश दिएको छ । थुनचेक बहस शुक्रवा नै सकिएपनि आज मात्रै जिल्ला अदालतले यस्तो आदेश दिएको हो । प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरि साढे १० लाख धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । गत मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको बयानपछि बहस सुरु भएको थियो । बयानपछि थुनचेक बहस शुक्रवार सम्म चलेको थियो । शुक्रवार बहस सकिए पनि समय अभावले आज आदेश आएको हो । पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि ६ जना ३१ लाख धरौटीमा रिहा भईसकेका छन् भने सीआईबीका डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

पानीको मुहान जोगाउन सबै लागौंः खानेपानी मन्त्री

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।” खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।

हर्षोल्लासपूर्वक मनाइँदै होली, यस्तो छ फागु पूर्णिमाकाे इतिहास

काठमाडौं, चैत ६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आएकी मनिता महर्जनले सुनाउँछिन् । यस पर्वका अवसरमा बुधबार काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।  

आइपीएलको ‘समूह चरण’ खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, चैत ५ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करणको ‘समूह चरण’ को खेल तालिका सार्वजनिक गरेको छ । यद्यपि, अझैं पनि बीसीसीआईले प्लेअफ र फाइनल खेलको मिति भने तोक्न सकेको छैन । यसअघि, लोकसभा चुनावका कारण बीसीसीआईले ५ अप्रिलसम्मको खेल तालिका सार्वजनिक गरेको थियो । हेर्नुस् आज सार्वजनिक आइपीएलको खेल तालिका-

नख्खु विस्फोटमा प्रयोग पदार्थ अति खतरनाक, कहाँबाट ल्यायो विप्लव समूहले?

काठमाडौं, चैत ५ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो । नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन। सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए। सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। प्रेसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो। रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए । सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज गर्यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’ चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन । भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

सांसद नविना लामा अस्पताल भर्ना

काठमाडौं, चैत ४ । संघीय संसद प्रतिनिधिसभा सदस्य एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाई भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । सांसद लामाको उपचारमा संलग्‍न चिकित्सक डा. जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन् । सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।

सरकार कार्यकर्तामुखी भएको डा. आरजु देउबाको आरोप

धनगढी, ४ चैत । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले वर्तमान सरकार जनतामुखी नभएर कार्यकर्तामुखी भएको आरोप लगाएकी छन् । आईतबार धनगढी उपमहानरपालिका ११ र १३ नम्बर वडामा काँग्रेस कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्दै देउबाले अहिले नेकपाको सरकार भ्रष्ट्राचार तर्फ लम्कदै गरेका आरोप लगाएकी हुन्  । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाँड्दै सरकारको ढुकुटी सकिरहेको उनको भनाई थियो । दुई दुई तिहाईको सरकार  र जनताको सम्बन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ । आफू कैलाली निर्वाचन क्षेत्र ५ बाट पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने दावी नेतृ देउवाले गरिन । निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताउदै पार्टी गतिबिधि बिरोध पार्टी भित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने नेतृ देउवाको दाबी छ । कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रीयता नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानमा लाग्नुपर्ने उनले नेता कार्यकर्तासँग आग्रह गरिन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए । उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।