सांसद नविना लामा अस्पताल भर्ना

काठमाडौं, चैत ४ । संघीय संसद प्रतिनिधिसभा सदस्य एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाई भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

सांसद लामाको उपचारमा संलग्‍न चिकित्सक डा. जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन् । सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रप्रमुखद्वारा शुभकामना व्यक्त

काठमाडौं, फागुन २४ । शुक्रबार १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नारा तय गरिएको छ। दिवसका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेका छन् । उनले सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् । ‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमको समेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्ने छ’ राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताएका छन् । उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु।’ संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेकोे भनाइ छ। उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा शुभकामना दिएका छन् । स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दे मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् । ‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ। महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउने छ भन्ने मैले विश्वास लिएको छ’, विज्ञप्तिमा उल्लेख छ। नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गगरेका छन् ।

निर्मला हत्या प्रकरणमा संलग्न भएको अभियोगमा ८ जना विरुद्ध मुद्दा

कञ्चनपुर, फागुन २४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ‘६ जना हिरासतमा रहेका छन्’, उनले भने । ‘‘अदालतमा उपस्थित गराइएकासँग बयान लिनेक्रम शुरु भएको छ’’ उनले भने, “बयान लिनेक्रम २–३ दिनसम्म चल्ने देखिन्छ ।” पन्तको साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । रासस

बिग ब्यास लिगः सिड्नीलाई चौथो झड्का

काठमाडौं, माघ २७ । अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सलेले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सले चौथोे विकेट गुमाएको छ । उसले चौथो डेनियल हुगेसलाई गुमाएको हो । उनलाई डेनियल वारेलले आउट गरे । सिड्नीका मोइसेस हेनरिक्स (कप्तान), जेम्स भिन्स, जोस फिलिप र डेनियल हुगेस आउट भइसकेका छन् । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि सर्बाधिक कप्तान ग्लेन म्याक्सवलले ८२, पिटर ह्यान्सकम्बले ३५, मार्कस स्टोनिसले ३४, निक म्याठसनले १३ रन प्रहार गरे । बलिङमा सिड्नीका टोम कुरनले २, सीन अब्बोट र स्टीव ओ कीफेले समान एकएक विकेट लिए । सेमिफाइनल पुग्नका लागि सन्दीपको टोलीले आजको खेल जित्नैपर्ने हुन्छ।

बंगलादेशसँग सिरिज खेल्न न्यूजिल्याण्डद्वारा टोली घोषणा, टिममा हुने छन् यी स्टार

काठमाडौं, माघ २६ । न्यूजिल्याण्ड क्रिकेट टोलीका ओपनर पार्टिल गप्टिल बंगलादेश विरुद्ध हुने तीन एकदिवसीय सिरिजमा फर्किएका छन् । चोटका कारण भारतसँग भइरहेको टी–२० सिरिजमा खेल्न नपाएका पार्टिल बंगलादेशसँगको वान्डेमा भने खेल्ने पक्का भएको हो । क्रिकइन्फोका अनुसार स्पिनर इश सोधी र डग ब्रेसवेल वंगलदेशसँगको वान्डे सिरिजमा हुने छैनन् । यस्तै, न्यूजिल्याण्ड टोली चयनकर्ताले कोलिन मुनरोलाई सिरिजको अन्तिम खेलमा मात्र अवसर दिएको छ । अन्तिम खेलमा मुनरो कप्तान केन विलियमसनको स्थानमा खेल्ने छन् । तेस्रो खेलमा टम लथामले टोलीको नेतृत्व गर्ने मौका पाउने छन् । सिरिजको पहिलो खेल १३ फेब्रुअरीमा हुनेछ । न्यूजिल्याण्ड टोलीः केन विलियमसन (कप्तान), ट्रड एस्टल, ट्रन्ट बोल्ट, कोलिन ग्रेण्डहोम, लक्की फग्र्युसन, मार्टिल गप्टिल, म्याट हेनरी, टम लथम, कोलिन मुन्द्रो, जिमी नीशाम, हेनरी निकोल्स, रस टेलर, मिचेल सेट्नर, टिम साउथी बगंलादेश टोलीः मसरुफ मुर्तुजा, लिटन दास, महुम्मदुल्लाह, मेहदी हसन मिराज, मोहम्मद मिथुन, मोहम्मद सैफउद्दिन, मुशफिकुर रहमान, मुस्ताफिजुर रहमान, नेइम हसन, रुबेल हुसेन, सब्बीर रहमान, साइफुल इश्लाम, शाकिव अल हसन, सौम्य सरकार, तमिम इग्बाल

क्रिकेटर हरभजनको चड्कन खाएर रेस्लर भुइँमै ढले !

नयाँदिल्ली । भारतीय चर्चित क्रिकेटर हरभजन सिंह राष्ट्रिय टोलीमा नपरेको धेरै भइसक्यो । तर रेस्लिङको रिङभित्र उनले देखाएको दादागिरीको अहिले चर्चा व्यापक भएको छ । भज्जी भनेर चिनिने पूर्व स्पिनरलले जालन्धरस्थित भएको रेस्लिङको क्रममा स्टेजमै चढेर रेस्लरलाई नै यसरी थप्पड हिर्काए कि, सबै दंग परे । उनको सोही भिडियो अहिले भाइरल नै बनेको छ । पछिल्लो साता भज्जी ग्रेट खलीको एकेडेमी पुगे । जहाँ उनले कन्टिनेन्टल रेस्लिङ इन्टरटेन्मेन्ट (सिडब्लुई) को प्रमोशनमा भाग लिएका थिए । त्यहीँ उनले आफ्नो थप्पडको जादु देखाएका हुन् । प्रहरीको पहिरनमा आएका दुबेजी नामका रेस्लरले जब बाहिरै रहेका हरभजनलाई बोलाए, हरभजन सिधै रिङमा छिरे । रेस्लरले उनलाई सिधै किक हानेका थिए । तर भज्जीले उनको किक छल्दै यसरी थप्पड हाने कि, त्यसको आवाज बाहिरसम्मै आएको थियो । त्यति मात्रै नभएर भज्जीको थप्पडबाट रेस्लर रिङबाट बाहिर भुइँमै ढले । उनको उक्त भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि अहिले भाइरल नै बनाइएको छ ।

प्रचण्ड भन्छन्, ‘शिक्षा, उपचार र रोजगारी नपाए अदालत जानुहोस्’

सिन्धुपाल्चोक, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यष प्रचण्डले अब शिक्षा, स्वास्थ्य र रोजगारीबाट कोहि पनि बञ्चित नहुने बताएका छन् । बुधवार जनयुद्धको उद्गमस्थल कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिने दाबी गरे । ‘तपाइँका छोराछोरीले पढ्न पाएनन्, कसैले उपचार पाउनुभएन भने राज्य विरुद्ध मुद्धा हालिदिनुस’, प्रचण्डले भने, ‘रोजगारी पाउनुभएन भने अदालत जानुस्, अदालतले सरकारलाई आदेश गर्नेछ ।’ सरकारले आम नागरिकले अनुभुति गर्नेगरि काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला केपी वली नेतृत्वको सरकारले यसबीचमा तीनवटा महत्वपूर्ण काम गरेको उनले बताए । सरकारले दुई छिमेकी भारत र चीनसँगको अप्ठ्यारा समाधान गरेको उनले बताए । चीनसँगका ४ बन्दरगाहा विश्वब्यापारका लागि खुला भएको भन्दै उनले यसलाई सरकारको उपलव्धीका रुपमा प्रस्ट्याए ।

यूएईलाई पहिलो झड्का, सोमपालले लिए विकेट

काठमाडौं । यूएई विरुद्धको टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै सफलता पाएको छ । पहिलो ओभरको छैटौ बलमा सोमपाल कामीले यूएइका अस्फाग अहमदलाई आउट गरे । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ । आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

कोठामै बोलाएर बालिकामाथि बलात्कार, चारजना पक्राउ

भक्तपुर, पुष २६ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौं बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् । यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । रासस

आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

बाजुरा, पुस २५ । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । उनका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगोे सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । रासस

राष्ट्रियसभा बैठकमा कमल वलीको प्रश्नः बमजनलाई प्रहरीले किन पक्रेको छैन ?

काठमाडौं, पुष २५ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल वलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद वलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपत्ति प्रकट गरिन् । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे । रासस

बीपीएलः सन्दीपको टोलीद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, पुष २५ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले आफ्नो दोस्रो खेलमा १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । चिट्टागोंग भिकिङ्ग्ससँग भइरहेको दोस्रो खेलमा सन्दीपको टोलीले ५ विकेटको क्षतिमा १५९ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर ब्याटिङ रोजेको सिक्सर्सले आज पनि खराब शुरुवात गर्यो । उसले ३ ओभरको खेल सकिदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । सिक्सर्सका लागि आज कप्तान डेबिड वार्नरले सर्बाधिक ५९ रन प्रहार गरे । यस्तै, अफिफ होसिनले ४५, निकोलस पुरनले (नटआउट) ५१ र अलोक कपालीले (नटआउट) २  रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा चिट्टागोंग रोबर्ट फ्राइलिकले ३, नेम हसन र खालेद अहेमदले समान एक-एक विकेट लिए । सन्दीपले आइतबार भएको पहिलो खेलमा १६ रन खर्चदै २ विकेट लिएका थिए । आज पनि उनले टोलीमा स्थान पाएका छन् । पहिलो खेलमा सिक्सर्स ४ विकेटले पराजित भएको थियो ।

हुम्लामा अत्याधिक हिमपात हुन थालेपछि जनजीवन प्रभावित

हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ। हिमपातका कारण पशु चौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । रासस

आज जापानी विदेशमन्त्री आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुने

काठमाडौंँ, पुस २५ गते । जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँ सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिना अघि जापानको औपचारिक भ्रमण गर्नु भएको थियो । यस अघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गर्नुभएको थियो भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गर्नुभएको थियो । यस्तै, सन् २००२ मा तत्कालीन जापानी प्रधानमन्त्री योसिहिरो मोरीले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । यसैगरी, जापानी विदेश राज्यमन्त्री नोबु कासीले सन् २०१६ को अगस्टमा र जापानी संसदीय उपमन्त्री कियोसी वडावराले सन् २०१७ को जुलाइमा नेपालको भ्रमण गर्नु भएको थियो । सन् २०१७ को जुनमा जापानी वतावरण राज्यमन्त्री टाडाहिको इटोले नेपालको भ्रमण गर्नु भएको थियो । नेपाल जापान सम्बन्ध १८ औं शताब्दीको अन्त्यतिरबाट शुरु भएको भए पनि कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरबाट स्थापना भएको थियो । सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी पराजित

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको मैदानमा हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोन भिड्नेछन्

मन्त्रिपरिषद् बैठकः गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

काठमाडौं, पुष २३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा सरकारले रेग्मीलाई बर्खास्त गरेपछि नयाँ प्रमुखमा वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार साँझै बरफबागस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । बर्खास्त भएका रेग्मीको कार्यकाल अझै ५ महिना बाँकी थियो । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारीलाई गुप्तचर प्रमुख बनाउन खोजेका थिए । तर २०४४ सालमा सेवा प्रवेश गरेका वरिष्ठ एआईजी देवराज भट्टलाई पछि पार्दै २०४६ का ‘बेसिक’ रेग्मी प्रमुखमा बढुवा भएका थिए । यता नयाँ प्रमुख बनेका अधिकारीले एआईजीबाट अवकाश पाउन एक महिना मात्रै बाँकी थियो । सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको छ ।